सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनी

“यहोवाले मलाई बिर्सनुभएको छैन”

“यहोवाले मलाई बिर्सनुभएको छैन”

म ओरेल्ला भन्‍ने गाउँमा बस्छु। यो गाउँ दक्षिण अमेरिकाको गायनामा पर्छ। यहाँ करिब २ हजार मानिस बस्छन्‌। मेरो गाउँ विकट ठाउँमा पर्छ। यहाँ आइपुग्न सानो हवाईजहाज वा डुङ्‌गा चढ्‌नुपर्छ।

मेरो जन्म १९८३ मा भयो। नौ वर्षसम्म त म स्वस्थ नै थिएँ। तर दस वर्ष पुगेपछि मेरो पूरै शरीर कटकटी दुख्न थाल्यो। झन्डै दुई वर्षपछि बिहान उठ्‌दा म चलहल गर्नै सकिनँ। खुट्टा जत्ति नै चलाउन खोजे पनि चलाउनै सकिनँ। त्यो दिनदेखि म हिँड्‌न सकेकै छैनँ। रोगले गर्दा मेरो शरीर बढ्‌न रोकियो। त्यसैले म बच्चाजस्तै सानो देखिन्छु।

म बिरामी परेपछि घरबाट निस्कन नसकेको केही महिना भइसकेको थियो। त्यही समयतिर दुई जना यहोवाको साक्षी मेरो घरमा आउनुभयो। घरमा पाहुना आउँदा म अक्सर लुक्ने गर्थेँ। तर त्यो दिन भने मैले ती दिदीहरूसित कुरा गरेँ। उहाँहरूले प्रमोदवनबारे बताउनुहुँदा म पाँच वर्षजतिको हुँदा सुनेको कुरा सम्झेँ। त्यतिबेला सुरिनामबाट जेथ्रो भन्‍ने मिसनरी हाम्रो गाउँमा महिनाको एकचोटि आउनुहुन्थ्यो र बुबालाई अध्ययन गराउनुहुन्थ्यो। जेथ्रोले मलाई धेरै माया गर्नुहुन्थ्यो। मलाई पनि उहाँ धेरै मन पर्थ्यो। साथै मेरो बाजेबज्यैले हाम्रो गाउँमा हुने सभाहरूमा मलाई कहिलेकाहीँ लैजानुहुन्थ्यो। त्यसैले ती साक्षी दिदीहरूमध्ये एक जना फ्लोरेन्सले मलाई अझ धेरै सिक्न चाहन्छौ कि भनेर सोध्नुहुँदा मैले हुन्छ भनेँ।

फ्लोरेन्स दिदी अर्को चोटि आउनुहुँदा उहाँको पति जस्तस पनि सँगै आउनुभयो र उहाँहरूले मलाई बाइबल अध्ययन गराउनुभयो। उहाँहरूले मलाई पढ्‌न आउँदैन भन्‍ने कुरा याद गर्नुभएपछि पढ्‌न सिकाउनुभयो। केही समयपछि म आफै पढ्‌न सक्ने भएँ। एक दिन यस दम्पतीले उहाँहरूलाई सुरिनाममा खटाइएको कुरा मलाई बताउनुभयो। दुःखको कुरा, ओरेल्लामा मलाई अध्ययन गराउने अरू कोही थिएन। तर खुसीको कुरा, यहोवाले मलाई बिर्सनुभएको थिएन।

केही समयपछि गाउँमा फ्लोइड नाम गरेका अग्रगामी आउनुभयो। उहाँले झुपडीहरूमा प्रचार गर्नुहुँदा मलाई भेट्‌नुभयो। उहाँले मलाई बाइबल अध्ययन गर्न चाहनुहुन्छ कि भनेर सोध्नुहुँदा म मुस्कुराएँ। उहाँले “किन मुस्कुराउनुभएको?” भनेर सोध्नुभयो। मैले उहाँलाई परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिकाबाट अध्ययन सकिसकेको र ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ * किताबबाट पनि अध्ययन सुरु भइसकेको थियो भनेर बताएँ। मैले फ्लोइडलाई मेरो अध्ययन रोकिनुको कारण बताएँ। उहाँले मलाई ज्ञान किताबको बाँकी अध्याय अध्ययन गराउनुभयो। तर उहाँलाई पनि अर्कै ठाउँमा खटाइयो। मेरो अध्ययन फेरि रोकियो।

तर २००४ मा दुई जना विशेष अग्रगामी ग्रानभिल र जोसुवालाई यहाँ खटाइयो। उहाँहरूले झुपडीहरूमा प्रचार गर्नुहुँदा मलाई भेट्टाउनुभयो। उहाँहरूले अध्ययन गर्न चाहनुहुन्छ कि भनेर सोध्नुहुँदा म मुस्कुराएँ। मैले उहाँहरूलाई ज्ञान किताबको सुरुदेखि अध्ययन गर्न चाहेको कुरा बताएँ। उहाँहरूले सिकाउने कुरा र मेरो पहिलाका अध्ययन सञ्चालकहरूले सिकाएको कुरा एउटै हो कि होइन भनेर म जान्‍न चाहन्थेँ। गाउँमै सभाहरू भइरहेको कुरा ग्रानभिलले मलाई बताउनुभयो। म घरबाट ननिस्केको झन्डै दस वर्ष भइसकेको थियो। तैपनि म सभामा जान चाहन्थेँ। त्यसैले ग्रानभिल मलाई लिन आउनुभयो र मलाई ह्वीलचेयरमा राखेर सभाभवन लैजानुभयो।

केही समयपछि ग्रानभिलले मलाई ईश्‍वरतान्त्रिक सेवा स्कुलमा भाग लिन प्रोत्साहन दिनुभयो। उहाँले भन्‍नुभयो: “तपाईँ अशक्‍त भए पनि बोल्न सक्नुहुन्छ। एक दिन तपाईँले जनभाषण दिनुहुनेछ। त्यो दिन पक्कै आउनेछ।” उहाँका प्रोत्साहनजनक शब्दहरू सुनेर मैले हौसला पाएँ।

मैले ग्रानभिलसँगै प्रचारकार्यमा भाग लिन थालेँ। तर गाउँको कच्ची बाटोमा ह्वीलचेयर गुडाउन सजिलो थिएन। त्यसैले मैले ग्रानभिललाई मलाई गाडामा राखेर लैजान भनेँ। यसो गर्दा सजिलो भयो। अप्रिल २००५ मा मैले बप्तिस्मा गरेँ। त्यसको केही समयपछि भाइहरूले मलाई मण्डलीको साहित्य हेर्न र साउन्ड सिस्टम चलाउन तालिम दिनुभयो।

दुःखको कुरा, २००७ मा बुबा डुङ्‌गा दुर्घटनामा परेर बित्नुभयो। हाम्रो परिवारले ठूलो वियोग सहनुपऱ्‍यो। ग्रानभिलले हामीसँगै प्रार्थना गर्नुभयो र सान्त्वनादायी पदहरू पढेर सुनाउनुभयो। दुई वर्षपछि हामीले अर्को चोट सहनुपऱ्‍यो—ग्रानभिल पनि डुङ्‌गा दुर्घटनामा परेर बित्नुभयो।

शोकमा परेको हाम्रो सानो मण्डलीमा अब कोही एल्डर थिएन र सहायक सेवक एक जना मात्र थिए। ग्रानभिलको मृत्यु मेरो लागि ठूलो चोट थियो। उहाँ मेरो मिल्ने साथी हुनुहुन्थ्यो। मेरो आध्यात्मिक र भौतिक आवश्‍यकता पूरा गर्न उहाँले धेरै मदत गर्नुभएको थियो। उहाँको मृत्यु भएलगत्तैको सभामा मैले प्रहरीधरहरा अध्ययनमा अनुच्छेद पढ्‌ने असाइनमेन्ट पाएको थिएँ। सुरुको दुइटा अनुच्छेद त जसोतसो पढेँ तर त्यसपछि मेरो आँसु थामिँदै थामिएन। म मञ्चबाट ओर्लनै पऱ्‍यो।

अर्को मण्डलीका भाइहरू ओरेल्लामा हामीलाई मदत गर्न आउनुहुँदा मलाई चोट सहन अलि सजिलो भयो। साथै शाखा कार्यालयले हाम्रो गाउँमा कोजो नाम गरेको विशेष अग्रगामीलाई खटायो। खुसीको कुरा, मेरी आमा र भाइले बाइबल अध्ययन सुरु गर्नुभयो र बप्तिस्मा गर्नुभयो। त्यसपछि मार्च २०१५ मा म सहायक सेवकको रूपमा नियुक्‍त भएँ। केही समयपछि मैले पहिलो जनभाषण दिएँ। त्यो दिन ग्रानभिलले भन्‍नुभएको यो कुरा सम्झेँ: “एक दिन तपाईँले जनभाषण दिनुहुनेछ। त्यो दिन पक्कै आउनेछ।” त्यो क्षण सम्झँदा मेरो मुहारमा हाँसो र गहभरि आँसु थियो।

JW ब्रोडकास्टिङ हेरेर मैले मजस्तै अवस्थामा भएका अरू साक्षीबारे थाह पाएको छु। उहाँहरू अशक्‍त भए पनि फलदायी र आनन्दित जीवन बिताउँदै हुनुहुन्छ। मेरो कुरा गर्नुपर्दा, म पनि अझै केही गर्न सक्छु। ममा जे-जति बल छ, त्यो यहोवालाई नै दिने इच्छाले गर्दा मैले नियमित अग्रगामी सुरु गरेँ। सेप्टेम्बर २०१९ मा मैले सोच्दै नसोचेको एउटा समाचार पाएँ। म झन्डै ४० जना प्रकाशक भएको हाम्रो मण्डलीमा एल्डरको रूपमा सेवा गर्न नियुक्‍त भएँ।

मलाई बाइबल अध्ययन गराउनुहुने र सेवाको काम पूरा गर्न मदत गर्नुहुने प्रिय दाजुभाइ दिदीबहिनीप्रति म आभारी छु। सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवाले मलाई बिर्सनुभएको छैन। यसको लागि म उहाँप्रति सधैँ कृतज्ञ हुनेछु।

^ अनु. 8 यहोवाका साक्षीहरूद्वारा प्रकाशित तर अहिले छापिँदैन।