सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४५

एकअर्कालाई अटल प्रेम देखाइरहनुहोस्‌

एकअर्कालाई अटल प्रेम देखाइरहनुहोस्‌

“एकअर्कासित व्यवहार गर्दा अटल प्रेम र कृपा देखाओ।” —जक. ७:९.

गीत १०७ ईश्‍वरीय प्रेमको नमुना

परिचय *

१-२. एकअर्कालाई अटल प्रेम देखाउनुपर्ने कस्ता उचित कारणहरू छन्‌?

एकअर्कालाई अटल प्रेम देखाउनुपर्ने उचित कारणहरू छन्‌। तीमध्ये केही कारण के-के हुन्‌? यसको विषयमा हितोपदेशको किताबमा यसरी लेखिएको छ: “अटल प्रेम र सत्यताले तिमीलाई नछोडून्‌; . . . तब तिमीले परमेश्‍वरको र मानिसको निगाह पाउनेछौ र समझदार मानिस भनेर चिनिनेछौ।” “अटल प्रेम देखाउँदा आफ्नै भलो हुन्छ।” ‘जो धार्मिकता र अटल प्रेमको पछि लाग्छ, उसले जीवन पाउँछ।’—हितो. ३:३, ४; ११:१७, फुटनोट; २१:२१.

यी पदहरूमा हामीले अटल प्रेम देखाउनुपर्ने तीन वटा कारण पाउन सक्छौँ। पहिलो, अटल प्रेम देखाउँदा हामी यहोवाको निगाह पाउन सक्छौँ। दोस्रो, अटल प्रेम देखाउँदा हाम्रै भलाइ हुन्छ। उदाहरणको लागि, हामी अरूसित घनिष्ठ मित्रता गाँस्न सक्छौँ। तेस्रो, अरूलाई अटल प्रेम देखाउँदा हामी भविष्यमा अनन्त जीवन र अरू थुप्रै आशिष्‌ पाउन सक्छौँ। त्यसैले हामी यहोवाको यो सल्लाहअनुसार चल्नुपर्छ: “एकअर्कासित व्यवहार गर्दा अटल प्रेम र कृपा देखाओ।”—जक. ७:९.

३. यस लेखमा हामी कस्ता प्रश्‍नहरू छलफल गर्नेछौँ?

यस लेखमा हामी चार वटा प्रश्‍नको जवाफ विचार गर्नेछौँ। हामीले कसलाई अटल प्रेम देखाउनुपर्छ? रुथको किताबबाट अटल प्रेम देखाउनेबारे के सिक्न सक्छौँ? हामी कसरी अटल प्रेम देखाउन सक्छौँ? अटल प्रेम देखाउँदा कस्ता फाइदाहरू हुन्छन्‌?

हामीले कसलाई अटल प्रेम देखाउनुपर्छ?

४. अटल प्रेम देखाउने सन्दर्भमा हामी कसरी यहोवाको देखासिकी गर्न सक्छौँ? (मर्कुस १०:२९, ३०)

अघिल्लो लेखमा छलफल गरिएजस्तै यहोवा तिनीहरूलाई मात्र अटल प्रेम देखाउनुहुन्छ, जसले उहाँलाई प्रेम गर्छन्‌ र उहाँको सेवा गर्छन्‌। (दानि. ९:४) हामी “परमेश्‍वरका प्यारा छोराछोरीझैँ उहाँको देखासिकी गर्नेहरू” हुन चाहन्छौँ। (एफि. ५:१) त्यसकारण हामी आध्यात्मिक भाइबहिनीलाई अटल प्रेम देखाउँछौँ अर्थात्‌ तिनीहरूसित न्यानो र अटुट बन्धन गाँस्छौँ।मर्कुस १०:२९, ३० पढ्‌नुहोस्‌।

५-६. “वफादारी” भन्‍ने शब्दले साधारणतया कस्तो अर्थ दिन्छ?

अटल प्रेमको अर्थ राम्ररी बुझ्यौँ भने मात्र हामी आफ्ना आध्यात्मिक भाइबहिनीलाई त्यस्तो प्रेम देखाउन सक्छौँ। त्यसैले अटल प्रेमबारे अझ राम्ररी बुझ्न यो गुण कसरी वफादारीभन्दा फरक छ भनेर बुझ्नुपर्छ। आउनुहोस्‌, एउटा उदाहरण विचार गरौँ।

 कुनै कम्पनीमा लामो समयदेखि काम गरेको व्यक्‍तिलाई हामी वफादार कर्मचारी भन्छौँ होला। तर सायद तिनले कहिल्यै पनि त्यस कम्पनीका मालिकहरूलाई भेटेका छैनन्‌। अनि त्यस कम्पनीका कुनै-कुनै नियमसित तिनी सहमत नहुन सक्छन्‌। तिनी त्यस कम्पनीलाई प्रेम गर्दैनन्‌ तर तलब पाउने भएकोले मात्र त्यहाँ काम गर्दै छन्‌। अनि अवकाश नपाएसम्म वा अर्को राम्रो जागिर नभेट्टाएसम्म तिनले त्यहाँ काम गरिरहनेछन्‌।

७-८. (क) अटल प्रेम देखाउन कुनै व्यक्‍तिलाई कुन कुराले उत्प्रेरित गर्छ? (ख) हामी रुथको किताबको केही विवरण किन विचार गर्नेछौँ?

 अनुच्छेद ६ मा छलफल गरिएको वफादारी र अटल प्रेमबीचको भिन्‍नता कुनै व्यक्‍तिले ती गुणहरू देखाउनुको मनसाय के हो, त्यसमा देखिन्छ। बाइबलकालीन समयका परमेश्‍वरका सेवकहरूले कस्तो मनसायले अटल प्रेम देखाए? तिनीहरूले बाध्य भएर त होइन, बरु हृदयदेखि नै उत्प्रेरित भएर अटल प्रेम देखाए। दाउदको उदाहरण विचार गर्नुहोस्‌। हुनत जोनाथनका बुबाले दाउदलाई मार्न चाहेका थिए। तैपनि दाउदले हृदयदेखि उत्प्रेरित भएर आफ्ना प्रिय मित्र जोनाथनलाई अटल प्रेम देखाइरहे। जोनाथनको मृत्यु भएको धेरै वर्षपछि पनि दाउदले तिनको छोरा मपिबोसेतलाई अटल प्रेम देखाइरहे।—१ समु. २०:९, १४, १५; २ समु. ४:४; ८:१५; ९:१, ६, ७.

हामी अटल प्रेमबारे रुथको किताबबाट थुप्रै कुरा सिक्न सक्छौँ। यस किताबका पात्रहरूबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ? हामी ती पाठहरू मण्डलीमा कसरी लागू गर्न सक्छौँ? *

रुथको किताबबाट अटल प्रेम देखाउनेबारे के सिक्न सक्छौँ?

९. नाओमीले यहोवा आफूविरुद्ध खडा हुनुभएको छ भनेर किन भनिन्‌?

रुथको किताबमा नाओमी र तिनकी बुहारी रुथको बारेमा लेखिएको छ। साथै हामी यस किताबमा परमेश्‍वरको डर मान्‍ने व्यक्‍ति बोअजको बारेमा पनि पढ्‌न सक्छौँ, जो नाओमीको पतिका नातेदार थिए। इस्राएलमा अनिकाल छाएकोले नाओमी, तिनको पति र दुई छोरा मोआबमा बसाइँ सरेका थिए। तर त्यहाँ तिनको पतिको मृत्यु भयो। पछि तिनका दुवै छोराले त्यहाँ विवाह गरे तर दुःखको कुरा, तिनीहरूको पनि मृत्यु भयो। (रुथ १:३-५; २:१) यसले गर्दा नाओमी साह्रै दुःखी भइन्‌ र तिनले यहोवा आफूविरुद्ध खडा हुनुभएको छ समेत भनिन्‌। आफूले महसुस गरेको कुरा तिनले यसरी पोखिन्‌: “यहोवा परमेश्‍वरको हात मविरुद्ध उठेको छ।” “सर्वशक्‍तिमान्‌ परमेश्‍वरले मेरो जीवन दुःखै दुःखले भरिदिनुभएको छ।” तिनले यस्तो समेत भनिन्‌: “यहोवा परमेश्‍वर मविरुद्ध खडा हुनुभएको छ; सर्वशक्‍तिमान्‌ परमेश्‍वरले नै ममाथि यत्रो विपत्ति आइपर्न दिनुभएको छ।”—रुथ १:१३, २०, २१.

१०. नाओमीले भनेका कुराहरूप्रति यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो?

१० नाओमीले भनेका कुराहरूप्रति यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो? उहाँले नाओमीलाई त्याग्नुभएन, बरु तिनलाई समानुभूति देखाउनुभयो। “थिचोमिचोमा परेपछि बुद्धिमान्‌ मानिसले मूर्ख काम गर्छ” भनेर यहोवालाई थाह छ। (उप. ७:७) नाओमीलाई पनि यहोवा आफ्नो साथमा हुनुहुन्छ भनेर बुझ्न मदत चाहिएको थियो। यहोवाले तिनलाई कसरी मदत गर्नुभयो? (१ समु. २:८) उहाँले नाओमीलाई अटल प्रेम देखाउन रुथलाई उत्प्रेरित गर्नुभयो। रुथले आफ्नी सासूलाई आध्यात्मिक र भावनात्मक रूपमा फेरि बलियो हुन स्वेच्छाले र दयालु भई मदत दिइन्‌। रुथको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

११. निराश भएकाहरूलाई मदत गर्न दयालु भाइबहिनीलाई केले उत्प्रेरित गर्छ?

११ निराश भएकाहरूलाई मदत गर्न अटल प्रेमले हामीलाई उत्प्रेरित गर्छ। जसरी रुथले नाओमीलाई साथ दिइन्‌, त्यसरी नै आज पनि दयालु भाइबहिनीले मण्डलीमा निराश भएकाहरूलाई मदत दिन्छन्‌। तिनीहरू आफ्ना भाइबहिनीलाई प्रेम गर्छन्‌ र उनीहरूको खातिर जे गर्न पनि तयार हुन्छन्‌। (हितो. १२:२५, फुटनोट; २४:१०) प्रेषित पावलले पनि हामीलाई त्यसै गर्न प्रोत्साहन दिए। तिनले यसो भने: “जो निराश छन्‌, तिनीहरूसित सान्त्वनादायी कुरा गर, जो कमजोर छन्‌, तिनीहरूलाई मदत गर अनि सबैसित धीरजी होओ।”—१ थिस्स. ५:१४.

हामीले निराश भएका भाइबहिनीको कुरा ध्यान दिएर सुन्‍नुपर्छ (अनुच्छेद १२ हेर्नुहोस्‌)

१२. निराश भएको भाइ वा बहिनीलाई मदत गर्ने सबैभन्दा राम्रो तरिका के हो?

१२ निराश भएको भाइ वा बहिनीलाई मदत गर्ने सबैभन्दा राम्रो तरिका तिनको कुरा सुनिदिनु र तिनलाई प्रेम गर्छु भनेर बताउनु हो। तपाईँले यहोवाको अनमोल भेडालाई दयालु भई चासो देखाउनुभएको कुरा उहाँ बेवास्ता गर्नुहुन्‍न। (भज. ४१:१) हितोपदेश १९:१७ मा यस्तो लेखिएको छ: “गरिबलाई दया देखाउनु यहोवालाई सापटी दिनुजस्तै हो; त्यसको इनाम उहाँले दिनुहुन्छ।”

रुथ आफ्नी सासू नाओमीलाई छोडेर जान मान्दिनन्‌ तर ओर्पा मोआब फर्कन्छिन्‌। रुथ नाओमीलाई भन्छिन्‌: “तपाईँ जहाँ जानुहुन्छ, म पनि त्यहीँ जानेछु” (अनुच्छेद १३ हेर्नुहोस्‌)

१३. रुथ र ओर्पाले कस्तो फरक-फरक निर्णय गरे? रुथको निर्णयमा कसरी अटल प्रेम देखियो? (आवरण चित्र हेर्नुहोस्‌।)

१३ नाओमीको पति र तिनका दुई छोराको मृत्यु भएपछि तिनलाई के भयो भनेर विचार गर्दा हामी अटल प्रेमबारे थप कुरा बुझ्न सक्छौँ। “परमेश्‍वरले आफ्ना सेवकहरूलाई खानेकुरा दिएर फेरि आशिष्‌ दिन थाल्नुभएको छ” भन्‍ने कुरा थाह पाएपछि नाओमीले घर फर्कने निर्णय गरिन्‌। (रुथ १:६) तिनका दुवै बुहारीले तिनीसँगै जाने निर्णय गरे। तर यात्राको दौडान नाओमीले उनीहरूलाई तीन चोटिसम्म मोआब फर्कन भनिन्‌। उनीहरूले के गरे? बाइबलमा यस्तो लेखिएको छ: “ओर्पाले आफ्नी सासूलाई म्वाइँ खाइन्‌ र उनी त्यहाँबाट गइन्‌। तर रुथले भने नाओमीलाई छोडिनन्‌।” (रुथ १:७-१४) ओर्पा नाओमीको कुरा मानेर मोआब फर्किन्‌। रुथले पनि मोआब फर्कने निर्णय गर्न सक्थिन्‌ तर अटल प्रेमले गर्दा तिनले नाओमीसँगै जाने निर्णय गरिन्‌। (रुथ १:१६, १७) रुथले बाध्य भएर त होइन, बरु स्वेच्छाले नाओमीलाई एक्लै नछोड्‌ने निर्णय गरिन्‌। अटल प्रेमले उत्प्रेरित भएर रुथले यस्तो निर्णय गरेकी थिइन्‌। यस विवरणमा कस्तो पाठ लुकेको छ?

१४. (क) थुप्रै भाइबहिनीले अरूलाई कसरी अटल प्रेम देखाएका छन्‌? (ख) हिब्रू १३:१६ अनुसार कस्ता त्यागहरूले यहोवालाई खुसी बनाउँछ?

१४ अरूलाई सक्दो मदत गर्न अटल प्रेमले हामीलाई उत्प्रेरित गर्छ। विगतमा जस्तै अहिले पनि थुप्रै भाइबहिनीले आफ्ना सङ्‌गी उपासकहरूलाई अटल प्रेम देखाएका छन्‌, व्यक्‍तिगत रूपमा नचिनेकाहरूलाई समेत! उदाहरणको लागि, कुनै ठाउँमा प्राकृतिक प्रकोप गएको कुरा थाह पाउनेबित्तिकै आफूले कसरी मदत गर्न सक्छु भनेर तिनीहरू जान्‍न चाहन्छन्‌। मण्डलीमा कसैले आर्थिक समस्याको सामना गरिरहेका छन्‌ भने तिनीहरू अग्रसर भएर व्यावहारिक मदत दिन हिचकिचाउँदैनन्‌। प्रथम शताब्दीको म्यासिडोनियाका ख्रिष्टियनहरूजस्तै तिनीहरू अरूलाई मदत गर्न सक्दो गर्छन्‌। तिनीहरू खाँचोमा परेका भाइबहिनीलाई “आफ्नो औकातभन्दा पनि धेरै” दिन तयार हुन्छन्‌। (२ कोरि. ८:३) तिनीहरूले यसरी प्रेम देखाउँदा यहोवा कत्ति खुसी हुनुहुन्छ होला!हिब्रू १३:१६ पढ्‌नुहोस्‌।

हामी कसरी अटल प्रेम देखाउन सक्छौँ?

१५-१६. रुथले हार नमानेको कसरी देखाइन्‌?

१५ रुथले नाओमीलाई कसरी मदत गरिन्‌ भनेर जाँच्दा हामी थुप्रै पाठ सिक्न सक्छौँ। आउनुहोस्‌, केही पाठ विचार गरौँ।

१६ हार नमानी मदत गरिरहनुहोस्‌। रुथले आफ्नी सासू नाओमीसँगै यहुदा जान्छु भन्दा सुरुमा त नाओमीले तिनलाई रोक्न खोजिन्‌। तर रुथले हार मानिनन्‌। यसको नतिजा के भयो? “रुथले आफूसितै जाने दृढ सङ्‌कल्प गरेकी देखेर नाओमीले तिनलाई फर्कन कर गरिनन्‌।”—रुथ १:१५-१८.

१७. हार नमान्‍न हामीलाई केले मदत गर्छ?

१७ हाम्रो लागि पाठ: निराश भएकाहरूलाई मदत गर्दा हामी धीरजी हुनुपर्छ र हामीले हार मान्‍नु हुँदैन। मदतको खाँचो परेको कुनै बहिनीले सुरुमा हाम्रो मदत नस्विकार्न सक्छिन्‌। * तैपनि हामी अटल प्रेमले उत्प्रेरित भएर तिनलाई मदत गर्ने प्रयास गरिरहन्छौँ। (गला. ६:२) कुनै दिन तिनले हाम्रो मदत स्विकार्नेछिन्‌ र निराशा हटाउन सक्नेछिन्‌ भनेर हामी आशा गर्छौँ।

१८. नाओमीको कुन कुराले रुथको चित्त दुखेको हुन सक्छ?

१८ आफ्नो चित्त नदुखाउनुहोस्‌। नाओमी र रुथ बेतलेहेम आइपुगेपछि नाओमीले पहिलेका छिमेकीहरूलाई भेटिन्‌। तिनले उनीहरूलाई भनिन्‌: “यहाँबाट जाँदा मसँग सब थोक थियो तर अहिले यहोवा परमेश्‍वरले मलाई रित्तो हात फर्काउनुभएको छ।” (रुथ १:२१) नाओमीका यी शब्दहरू सुन्दा रुथलाई कस्तो लाग्यो होला, कल्पना गर्नुहोस्‌ त! तिनलाई मदत गर्न रुथले सक्दो गरिन्‌। नाओमी रुँदा रुथ तिनीसँगै रोइन्‌, तिनलाई ढाडस दिइन्‌ र लामो यात्रामा तिनलाई साथ दिइन्‌। तर यी सबको बाबजुद नाओमीले यसो भनिन्‌: “यहोवा परमेश्‍वरले मलाई रित्तो हात फर्काउनुभएको छ।” नाओमीका यी शब्दहरू विचार गर्दा तिनले रुथले दिएको साथ बिर्सिन्‌ जस्तो देखिन्छ। नाओमीको छेउमै उभिरहेकी रुथको कत्ति चित्त दुख्यो होला! तैपनि उनले नाओमीलाई साथ दिन छोडिनन्‌।

१९. निराश भएको व्यक्‍तिलाई साथ दिइरहन हामीलाई केले मदत गर्छ?

१९ हाम्रो लागि पाठ: निराश भएकी कुनै बहिनीलाई मदत गर्न हामीले सक्दो गरिरहेका छौँ होला। तैपनि कहिलेकाहीँ तिनले घोच्ने बोली बोल्न सक्छिन्‌। तर हामी आफ्नो चित्त दुखाउँदैनौँ। बरु तिनलाई साथ दिइरहन्छौँ र तिनलाई सान्त्वना दिने तरिकाहरू भेट्टाउन सकूँ भनेर यहोवालाई प्रार्थना गर्छौँ।—हितो. १७:१७.

ख्रिष्टियन एल्डरहरूले कसरी बोअजको अनुकरण गर्न सक्छन्‌? (अनुच्छेद २०-२१ हेर्नुहोस्‌)

२०. असल काम गरिरहन रुथलाई केले बल दियो?

२० चाहिएकै बेला प्रोत्साहन दिनुहोस्‌। रुथले नाओमीलाई अटल प्रेम देखाएकी थिइन्‌ तर अब भने रुथ आफैलाई प्रोत्साहन चाहिएको थियो। त्यसैले रुथलाई प्रोत्साहन दिन यहोवाले बोअजलाई चलाउनुभयो। बोअजले रुथलाई यसो भने: “तिमीले जे-जति गऱ्‍यौ, त्यसको लागि यहोवा परमेश्‍वरले तिमीलाई इनाम देऊन्‌। तिमीलाई इस्राएलका परमेश्‍वर यहोवाले पूरापूर प्रतिफल देऊन्‌, जसको छत्रछायामुनि तिमी शरण लिन आएकी छ्यौ।” बोअजका यी शब्दहरूले रुथको मनै छोयो। रुथले तिनलाई यसो भनिन्‌: “तपाईँले मलाई ढाडस दिनुभयो र तपाईँले भन्‍नुभएको कुराले मैले साँच्चै सान्त्वना पाएँ।” (रुथ २:१२, १३) बोअजले यसरी चाहिएकै बेला दिएको प्रोत्साहनले रुथलाई असल काम गरिरहन बल दियो।

२१. यसैया ३२:१, २ अनुसार मायालु एल्डरहरूले के गर्छन्‌?

२१ हाम्रो लागि पाठ: अरूलाई अटल प्रेम देखाउने व्यक्‍तिलाई पनि कहिलेकाहीँ प्रोत्साहन चाहिन्छ। नाओमीको लागि गरेको दयालु काम देखेर बोअजले रुथको प्रशंसा गरे। आज पनि मण्डलीका भाइबहिनीले अरूलाई मदत गरेको देख्दा एल्डरहरूले तिनीहरूको प्रशंसा गर्छन्‌। यस्तो समय सुहाउँदो र न्यानो प्रशंसाले भाइबहिनीलाई असल काममा लागिरहन बल दिन्छ।यसैया ३२:१, २ पढ्‌नुहोस्‌।

अटल प्रेम देखाउँदा कस्ता फाइदाहरू हुन्छन्‌?

२२-२३. नाओमीको मनोवृत्तिमा कस्तो परिवर्तन आयो र किन? (भजन १३६:२३, २६)

२२ केही समय बितेपछि बोअजले रुथ र नाओमीको लागि खानेकुराको प्रबन्ध गरिदिए। (रुथ २:१४-१८) बोअजको यस्तो उदारता देखेर नाओमीले कस्तो प्रतिक्रिया देखाइन्‌? नाओमीले भनिन्‌: “तिनलाई यहोवा परमेश्‍वरले आशिष्‌ देऊन्‌; परमेश्‍वर जीवित र मरेकाहरूप्रति आफ्नो अटल प्रेम देखाउन कहिल्यै चुक्नुहुन्‍न।” (रुथ २:२०क) नाओमीको मनोवृत्तिमा कत्ति परिवर्तन आयो नि, होइन? पहिला त तिनले दुःखी हुँदै यसो भनेकी थिइन्‌: “यहोवा परमेश्‍वर मविरुद्ध खडा हुनुभएको छ।” तर पछि तिनले रमाउँदै यसो भनिन्‌: “परमेश्‍वर . . . अटल प्रेम देखाउन कहिल्यै चुक्नुहुन्‍न।” नाओमीको मनोवृत्ति परिवर्तन हुनुको कारण के हुन सक्छ?

२३ नाओमीले बल्ल आफ्नो जीवनमा यहोवाको हात देख्न सकिन्‌। तिनलाई यहुदासम्मको लामो यात्रामा साथ दिन यहोवाले रुथलाई चलाउनुभएको थियो। (रुथ १:१६) साथै नाओमीले आफू र रुथलाई “मोल तिरेर छुटाउने व्यक्‍तिहरूमध्ये एक जना” बोअजले देखाएको उदारतामा पनि यहोवाको हात देख्न सकिन्‌। * (रुथ २:१९, २०ख) नाओमीले यस्तो सोचेकी हुनुपर्छ: ‘अब मैले बल्ल बुझेँ, यहोवाले मलाई कहिल्यै त्याग्नुभएको थिएन। उहाँ सधैँ मेरो साथमा हुनुहुन्थ्यो!’ (भजन १३६:२३, २६ पढ्‌नुहोस्‌।) रुथ र बोअजले हार नमानी मदत गरेकोमा नाओमी कत्ति आभारी भइन्‌ होला! यस्तो राम्रो नतिजा देखेर उनीहरू तीनै जना पक्कै खुसी भएको हुनुपर्छ!

२४. हामी किन भाइबहिनीलाई अटल प्रेम देखाइरहन चाहन्छौँ?

२४ रुथको किताबबाट हामीले अटल प्रेमबारे के सिक्यौँ? निराश भएका भाइबहिनीलाई हार नमानी मदत गर्न अटल प्रेमले हामीलाई उत्प्रेरित गर्छ। साथै तिनीहरूको लागि त्यागहरू गर्न पनि यसले हामीलाई उत्प्रेरित गर्छ। भाइबहिनीले अरूलाई अटल प्रेम देखाएको याद गर्दा एल्डरहरूले मनैदेखि तिनीहरूको प्रशंसा गर्न सक्छन्‌। कुनै व्यक्‍ति आध्यात्मिक रूपमा फेरि बलियो भएको देख्दा हामी भित्रैदेखि आनन्दित हुन्छौँ। (प्रेषि. २०:३५) तर हामीले अरूलाई अटल प्रेम देखाइरहनुपर्ने प्रमुख कारण के हो? हामी यहोवाको अनुकरण गर्न र उहाँलाई खुसी बनाउन चाहन्छौँ, जो ‘अटल प्रेमले भरिपूर्ण’ हुनुहुन्छ।—प्रस्थ. ३४:६; भज. ३३:२२.

गीत १३० क्षमा दिने गरौँ!

^ अनु. 5 हामीले मण्डलीका भाइबहिनीलाई अटल प्रेम देखाएको यहोवा चाहनुहुन्छ। अटल प्रेमबारे राम्ररी बुझ्न हामी विगतमा परमेश्‍वरका सेवकहरूले यो गुण कसरी देखाए भनेर विचार गर्न सक्छौँ। यस लेखमा हामी रुथ, नाओमी र बोअजको उदाहरणबाट के सिक्न सक्छौँ भनेर विचार गर्नेछौँ।

^ अनु. 8 यस लेखबाट पूरापूर लाभ उठाउन हामी तपाईँहरूलाई रुथको किताबको अध्याय १ पढ्‌न प्रोत्साहन दिन्छौँ।

^ अनु. 17 यस लेखमा नाओमीको उदाहरणबारे छलफल गरिएकोले यहाँ बहिनी भनेर उल्लेख गरिएको छ। तर यहाँ छलफल गरिएका कुराहरू भाइहरूलाई पनि लागू हुन्छ।

^ अनु. 23 मोल तिरेर छुटाउने व्यक्‍तिको रूपमा बोअजको भूमिकाबारे थप कुरा बुझ्न तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌ किताबको अध्याय ५, “तिमी गुणवती छौ” भन्‍ने लेख हेर्नुहोस्‌।