सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४७

तपाईँलाई कुनै कुराले यहोवादेखि अलग नपारोस्‌!

तपाईँलाई कुनै कुराले यहोवादेखि अलग नपारोस्‌!

“हे यहोवा, म तपाईँमा भरोसा गर्छु।”—भज. ३१:१४.

गीत १२२ स्थिर र अटल बस!

परिचय a

१. यहोवा हाम्रो नजिक हुन चाहनुहुन्छ भनेर किन भन्‍न सक्छौँ?

 यहोवा हामीलाई उहाँको नजिक हुन निम्तो दिनुहुन्छ। (याकु. ४:८) उहाँ हाम्रो परमेश्‍वर, बुबा र साथी बन्‍न चाहनुहुन्छ। उहाँ हाम्रा प्रार्थनाहरूको जवाफ दिनुहुन्छ र गाह्रो अवस्थामा मदत गर्नुहुन्छ। अनि उहाँ हामीलाई आफ्नो सङ्‌गठनमार्फत सिकाउनुहुन्छ र सुरक्षा दिनुहुन्छ। तर उहाँसित नजिक हुन हामीले के गर्नुपर्छ?

२. हामी कसरी यहोवासित नजिक हुन सक्छौँ?

यहोवालाई प्रार्थना गरेर, उहाँको वचन पढेर अनि मनन गरेर हामी उहाँसित नजिक हुन सक्छौँ। त्यसो गऱ्‍यौँ भने उहाँप्रतिको हाम्रो प्रेम र कृतज्ञता बढ्‌दै जानेछ। अनि हामी उहाँप्रति आज्ञाकारी हुन र उहाँको प्रशंसा गर्न अझै उत्प्रेरित हुनेछौँ, जसको उहाँ हकदार हुनुहुन्छ। (प्रका. ४:११) हामी जत्ति धेरै यहोवालाई चिन्छौँ, उहाँ र उहाँको सङ्‌गठनप्रतिको हाम्रो भरोसा त्यत्ति नै बढ्‌नेछ।

३. दियाबलले हामीलाई यहोवादेखि कसरी अलग पार्न खोज्छ तर परमेश्‍वर र उहाँको सङ्‌गठनलाई कहिल्यै नत्याग्न हामीलाई केले मदत गर्छ? (भजन ३१:१३, १४)

तर दियाबलले हामीमाथि आइपर्ने चुनौतीहरूलाई पासोको रूपमा प्रयोग गरेर हामीलाई यहोवादेखि अलग पार्न खोज्छ। त्यसले कसरी यसो गर्छ? त्यसले अलिअलि गर्दै यहोवा र उहाँको सङ्‌गठनमाथिको हाम्रो भरोसालाई कमजोर बनाउन खोज्छ। तर हामी त्यसका चालहरूको प्रतिरोध गर्न सक्छौँ। यहोवामाथिको हाम्रो भरोसा बलियो छ भने हामीले उहाँ र उहाँको सङ्‌गठनलाई कहिल्यै त्याग्नेछैनौँ।—भजन ३१:१३, १४ पढ्‌नुहोस्‌।

४. यस लेखमा हामी के छलफल गर्नेछौँ?

यस लेखमा मण्डलीबाहिरबाट आउन सक्ने तीन वटा चुनौतीबारे छलफल गर्नेछौँ। ती प्रत्येक चुनौतीले यहोवा र उहाँको सङ्‌गठनमाथिको हाम्रो भरोसालाई कमजोर बनाउन सक्छ। ती चुनौतीहरूले कसरी हामीलाई यहोवादेखि अलग पार्न सक्छ? अनि हामी कसरी सैतानको प्रतिरोध गर्न सक्छौँ?

कठिनाइहरू भोग्नुपर्दा

५. कठिनाइहरू भोग्नुपर्दा यहोवा र उहाँको सङ्‌गठनमाथिको हाम्रो भरोसा कसरी कमजोर हुन सक्छ?

हामीले कहिलेकाहीँ कठिनाइहरू भोग्नुपर्ने हुन्छ। जस्तै, हामीलाई परिवारले विरोध गर्न सक्छ वा हाम्रो जागिर गुम्न सक्छ। यस्ता कठिनाइहरूले यहोवाको सङ्‌गठनमाथिको हाम्रो भरोसालाई कमजोर बनाउन सक्छ र यहोवादेखि हामीलाई अलग पार्न सक्छ। कसरी? लामो समयसम्म कुनै परीक्षा सहनुपर्दा हाम्रो आशा मर्न सक्छ अनि हामी निराश हुन सक्छौँ। सैतानले त्यस्तो अवस्थाको नाजायज फाइदा उठाउँछ र यहोवा हामीलाई माया गर्नुहुन्छ भन्‍ने कुरामा शङ्‌का उब्जाउन खोज्छ। हामीले भोग्नुपरेको दुःखकष्टको लागि यहोवा र उहाँको सङ्‌गठन जिम्मेवार छ भनेर सोचेको दियाबल चाहन्छ। मिश्रमा केही इस्राएलीको मनमा त्यस्तै शङ्‌का उब्जेको थियो। तिनीहरूलाई दासत्वबाट छुटकारा दिन यहोवाले मोसा र हारुनलाई नियुक्‍त गर्नुभएको हो भनेर सुरुमा त तिनीहरूले विश्‍वास गरेका थिए। (प्रस्थ. ४:२९-३१) तर फारोले तिनीहरूको जीवन झनै कष्टकर बनाइदिएपछि तिनीहरूले मोसा र हारुनलाई यसो भने: “तपाईँहरूले गर्दा फारो र उनका चाकरहरू हामीलाई देखिसहँदैनन्‌। अनि हामीलाई मार्न तपाईँहरूले तिनीहरूको हातमा तरबार राखिदिनुभयो।” (प्रस्थ. ५:१९-२१) यसरी तिनीहरूले परमेश्‍वरका वफादार सेवकहरूलाई दोषी ठहऱ्‍याए। कत्ति दुःखलाग्दो कुरा! यदि तपाईँले लामो समयदेखि कठिनाइहरू सहिरहनुभएको छ भने यहोवा र उहाँको सङ्‌गठनमाथिको भरोसालाई कसरी बलियो बनाइराख्न सक्नुहुन्छ?

६. कठिनाइहरूको सामना गर्ने सन्दर्भमा हामी भविष्यवक्‍ता हबकुकबाट के सिक्न सक्छौँ? (हबकुक ३:१७-१९)

यहोवालाई आफ्नो मनको बह पोखाउनुहोस्‌ र मदतको लागि उहाँमा भर पर्नुहोस्‌। भविष्यवक्‍ता हबकुकले थुप्रै कठिनाइ भोगे। एकचोटि त तिनले यहोवा तिनको ख्याल राख्नुहुन्छ भन्‍ने कुरामा शङ्‌का गरे जस्तो देखिन्छ। त्यसैले तिनले आफ्नो भावना यहोवालाई पोखाउँदै यसो भने: “हे यहोवा, म कतिन्जेल तपाईँलाई गुहारूँ र कतिन्जेल तपाईँ सुन्‍नुहुन्‍न? . . . तपाईँ किन अत्याचार सहनुहुन्छ?” (हब. १:२, ३) यहोवाले आफ्नो वफादार सेवकले मनैदेखि गरेको प्रार्थनाको जवाफ दिनुभयो। (हब. २:२, ३) विगतमा उहाँले आफ्ना सेवकहरूलाई कसरी जोगाउनुभयो भन्‍ने कुरामा मनन गर्दा हबकुक फेरि आनन्दित हुन सके। उहाँ तिनको ख्याल राख्नुहुन्छ र जस्तोसुकै परीक्षा आइपरे पनि सहन मदत गर्नुहुन्छ भनेर तिनी विश्‍वस्त भए। (हबकुक ३:१७-१९ पढ्‌नुहोस्‌।) यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? कठिनाइहरूको सामना गर्नुपर्दा यहोवालाई प्रार्थना गर्नुहोस्‌ र आफ्नो भावना उहाँसामु पोखाउनुहोस्‌। त्यसपछि मदतको लागि उहाँमा भर पर्नुहोस्‌। त्यसो गर्नुभयो भने यहोवाले तपाईँलाई सहने बल दिनुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुन सक्नुहुनेछ। उहाँको साथ पाएको महसुस गर्दा उहाँमाथिको तपाईँको विश्‍वास अझ बलियो हुनेछ।

७. सर्लीको आफन्तले कसरी तिनको भरोसालाई कमजोर बनाउन खोजे तर तिनले के गरिन्‌?

आध्यात्मिक तालिका कायम राख्नुहोस्‌। यसो गर्दा पापुआ न्यु गिनीकी सर्लीले कसरी कठिनाइहरूको सामना गर्न सकिन्‌, विचार गरौँ। b सर्लीको परिवार गरिब थियो। कहिलेकाहीँ त हातमुख जोर्न समेत धौधौ पर्थ्यो। तिनको एक जना आफन्तले यहोवामाथिको तिनको भरोसालाई कमजोर बनाउन खोजे। ती आफन्तले यसो भने: “तिमीहरूलाई परमेश्‍वरको पवित्र शक्‍तिले मदत गर्छ भनेको हैन, खै त मदत? क्यै उँभो लाग्या जस्तो देखिँदैन! मान्छेहरूको घरघर चहारेर तिमी आफ्नो समय बरबाद गर्दै छ्यौ।” आफन्तको कुरा सुनेपछि सर्लीको मनमा यस्तो प्रश्‍न उब्जियो: “के परमेश्‍वरले साँच्चै हाम्रो ख्याल राख्नुहुन्छ?” त्यसपछि तिनले के गरिन्‌? तिनी भन्छिन्‌: “मैले तुरुन्तै यहोवालाई प्रार्थना गरेँ र मनको सबै कुरा उहाँलाई बताएँ। मैले बाइबल र प्रकाशनहरू नियमित रूपमा पढेँ अनि साक्षीकार्य र सभाहरूमा जान पनि छोडिनँ।” केही समय नबित्दै यहोवाले तिनको परिवारको ख्याल राख्दै हुनुहुन्छ भन्‍ने कुरा तिनले महसुस गर्न थालिन्‌। तिनको परिवार कहिल्यै भोको सुत्नुपरेन; तिनीहरू आनन्दित थिए। सर्ली भन्छिन्‌: “यहोवाले मेरा प्रार्थनाहरूको जवाफ दिइरहनुभएको छ भनेर मैले महसुस गरेँ।” (१ तिमो. ६:६-८) तपाईँ आफ्नो आध्यात्मिक तालिकाअनुसार चलिरहनुभयो भने कुनै पनि कठिनाइ वा शङ्‌काले तपाईँलाई यहोवादेखि अलग पार्न सक्नेछैन।

जिम्मेवार भाइहरूलाई खेदो गरिँदा

८. यहोवाको सङ्‌गठनका जिम्मेवार भाइहरूलाई के गरिन सक्छ?

हाम्रा शत्रुहरूले सञ्चार माध्यम अनि सामाजिक सञ्जालमार्फत जिम्मेवार भाइहरूबारे झूटो कुरा फैलाएका छन्‌। (भज. ३१:१३) केही भाइलाई पक्राउ गरिएको छ र अपराध गरेको अभियोग लगाइएको छ। प्रथम शताब्दीमा प्रेषित पावललाई पनि झूटो आरोप लगाएर पक्राउ गरियो। त्यतिबेला ख्रिष्टियनहरूले कस्तो प्रतिक्रिया देखाए?

९. प्रेषित पावल झ्यालखानामा पर्दा केही ख्रिष्टियनले के गरे?

प्रथम शताब्दीका केही ख्रिष्टियनले प्रेषित पावल रोमको झ्यालखानामा पर्दा तिनलाई साथ दिन छोडे। (२ तिमो. १:८, १५) किन? मानिसहरूले पावललाई अपराधीको रूपमा हेरेकोले तिनीहरूलाई आफू पनि ख्रिष्टियन हुँ भन्‍न लाज लागेको थियो कि? (२ तिमो. २:८, ९) अथवा खेदो भोग्नुपर्ला भनेर डराएका थिए कि? कारण जेसुकै भए पनि त्यतिबेला पावलले कस्तो महसुस गरे होलान्‌, कल्पना गर्नुहोस्‌। तिनले तिनीहरूको लागि थुप्रै कठिनाइ सहेका थिए र आफ्नो ज्यानसमेत जोखिममा पारेका थिए। (प्रेषि. २०:१८-२१; २ कोरि. १:८) हामी पावललाई गाह्रो अवस्थामा साथ नदिने ती ख्रिष्टियनहरूजस्तो नहोऔँ! जिम्मेवार भाइहरूलाई खेदो गरिँदा हामीले कुन कुरा मनमा राख्नुपर्छ?

१०. जिम्मेवार भाइहरूलाई खेदो गरिँदा हामीले कुन कुरा मनमा राख्नुपर्छ र किन?

१० हामीलाई किन खेदो गरिन्छ र त्यसको पछाडि कसको हात छ भन्‍ने कुरा मनमा राख्नुहोस्‌। दोस्रो तिमोथि ३:१२ यसो भन्छ: “ख्रिष्ट येसुको चेलाको नाताले परमेश्‍वरको भक्‍ति गर्दै जीवन बिताउन चाहनेहरूजति सबैमाथि खेदो आइपर्नेछ।” त्यसैले सैतानले जिम्मेवार भाइहरूलाई आफ्नो तारो बनाउँदा हामीले अचम्म मान्‍नुपर्दैन। त्यसको मुख्य उद्देश्‍य भनेको ती भाइहरूको सत्यनिष्ठा तोड्‌नु र हामीलाई त्रसित बनाउनु हो।—१ पत्रु. ५:८.

ओन्सिफरसले कैदमा परेका पावललाई साहसी भई साथ दिए। पुनःअभिनय गरिएको तस्बिरमा देखाइएझैँ आज पनि हाम्रा भाइबहिनी झ्यालखानामा परेकाहरूलाई साथ दिन्छन्‌ (अनुच्छेद ११-१२ हेर्नुहोस्‌)

११. ओन्सिफरसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (२ तिमोथि १:१६-१८)

११ हाम्रा भाइहरूलाई साथ दिइरहनुहोस्‌। (२ तिमोथि १:१६-१८ पढ्‌नुहोस्‌।) प्रथम शताब्दीका ख्रिष्टियन ओन्सिफरसले भने पावल झ्यालखानामा पर्दा फरक प्रतिक्रिया देखाए। उनले पावल “कैदमा परेकोमा सरम मानेनन्‌।” बरु ओन्सिफरसले पावललाई खोजे र तिनलाई भेट्टाएपछि आवश्‍यक मदत दिए। पावललाई मदत गर्न उनले आफ्नो ज्यानकै खतरा मोले। यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? मानिसको डरले गर्दा हामी खेदोमा परेका भाइहरूलाई साथ दिनदेखि पछि हट्‌नु हुँदैन। बरु तिनीहरूको पक्षमा खडा हुनुपर्छ र तिनीहरूलाई सक्दो मदत गर्नुपर्छ। (हितो. १७:१७) तिनीहरूलाई हाम्रो प्रेम र साथ चाहिन्छ।

१२. रुसका भाइबहिनीबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

१२ रुसका हाम्रा प्यारा भाइबहिनी झ्यालखानामा पर्दा त्यहाँका अरू साक्षीहरूले कसरी साथ दिएका छन्‌, विचार गरौँ। केही भाइबहिनीलाई पुर्पक्षको लागि अदालतसामु उभ्याइँदा तिनीहरूलाई साथ दिन थुप्रै साक्षी अदालतमा आउने गर्छन्‌। यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? जिम्मेवार भाइहरूको बदनाम गरिँदा, तिनीहरू पक्राउ पर्दा वा तिनीहरूले खेदो भोग्दा डराएर पछि नहट्‌नुहोस्‌। बरु तिनीहरूको लागि प्रार्थना गर्नुहोस्‌, तिनीहरूको परिवारको ख्याल राख्नुहोस्‌ र आवश्‍यक मदत दिनुहोस्‌।—प्रेषि. १२:५; २ कोरि. १:१०, ११.

हाम्रो गिल्ला गरिँदा

१३. गिल्लाले यहोवा र उहाँको सङ्‌गठनमाथिको हाम्रो भरोसालाई कसरी कमजोर बनाउन सक्छ?

१३ हाम्रा बेग्लै धर्म मान्‍ने आफन्त, सहकर्मी वा सहपाठीहरूले हामीले साक्षीकार्यमा भाग लिएकोले वा यहोवाको उच्च नैतिक स्तरअनुसार जीवन बिताएकोले हाम्रो गिल्ला गर्न सक्छन्‌। (१ पत्रु. ४:४) तिनीहरूले यसो भन्‍न सक्छन्‌: “तिमी मान्छे त राम्रै हौ। तर तिम्रो धर्मचाहिँ साह्रै कट्टर छ। जमानाअनुसार चल्न सिक्नुपऱ्‍यो नि!” अरू कतिपयले हामीले बहिष्कार भएकाहरूसित गर्ने व्यवहारको आलोचना गर्दै यसो भन्‍न सक्छन्‌: “तिमीहरू अरूलाई माया गर्छु त भन्छौ तर व्यवहारमा खै त?” यस्ता कुराहरूले हाम्रो मनमा शङ्‌काको बिउ रोपिदिन सक्छ। हाम्रो मनमा यस्ता कुराहरू खेल्न सक्छन्‌: ‘यहोवाले मबाट बढ्‌तै माग गर्नुभएको हो कि? उहाँको सङ्‌गठनले बढ्‌तै कडिकडाउ गरेको पो हो कि?’ यदि तपाईँ यस्तो परिस्थितिको सामना गर्दै हुनुहुन्छ भने यहोवा र उहाँको सङ्‌गठनसित कसरी नजिक भइरहन सक्नुहुन्छ?

अय्युबले तिनको गिल्ला गर्ने साथीहरूको झूट पत्याएनन्‌। तिनले यहोवाप्रति सत्यनिष्ठ रहने सङ्‌कल्प गरेका थिए (अनुच्छेद १४ हेर्नुहोस्‌)

१४. अरूले गिल्ला गर्दा हामीले के गर्नुपर्छ? (भजन ११९:५०-५२)

१४ यहोवाको स्तरअनुसार चलिरहने सङ्‌कल्प गर्नुहोस्‌। अरूले गिल्ला गरे तापनि अय्युब यहोवाको स्तरअनुसार चलिरहे। अय्युबको एक जना साथीले तिनी यहोवाको स्तरअनुसार चले पनि नचले पनि उहाँलाई केही फरक पर्दैन भनेर तिनलाई विश्‍वास दिलाउन खोजे। (अय्यु. ४:१७, १८; २२:३) तर अय्युबले उनको कुरामा विश्‍वास गरेनन्‌। अय्युबलाई यहोवाको स्तर सही छ भनेर थाह थियो र तिनले त्यसैअनुसार चल्ने सङ्‌कल्प गरे। अरूले जे भने पनि तिनी सत्यनिष्ठ रहिरहे। (अय्यु. २७:५, ६) यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? अरूले गिल्ला गर्दा यहोवाको स्तरमा शङ्‌का नगर्नुहोस्‌। बरु विगतको आफ्नै अनुभवबारे सोच्नुहोस्‌। यहोवाको स्तर सही छ र त्यसअनुसार चल्दा आफ्नै भलाइ हुन्छ भनेर तपाईँले थुप्रै चोटि अनुभव गर्नुभएको होला। ती स्तरअनुसार चल्ने उहाँको सङ्‌गठनलाई समर्थन गरिरहनुहोस्‌। यसो गर्नुभयो भने मानिसहरूले जत्ति नै गिल्ला गरे पनि त्यसले तपाईँलाई यहोवादेखि अलग पार्न सक्नेछैन।भजन ११९:५०-५२ पढ्‌नुहोस्‌।

१५. ब्रिजिटले किन विरोध सहनुपऱ्‍यो?

१५ भारतकी ब्रिजिट बहिनीको अनुभव विचार गरौँ। तिनको विश्‍वासको कारण परिवारका सदस्यहरूले तिनको विरोध अनि गिल्ला गर्थे। सन्‌ १९९७ मा तिनले बप्तिस्मा गरेको केही समयपछि तिनको बेग्लै धर्म मान्‍ने पतिले जागिर गुमाए। त्यसैले तिनका पतिले ब्रिजिट अनि छोरीहरूसँगै अर्कै सहरमा बस्ने आफ्ना आमाबुबाकहाँ सर्ने निर्णय गरे। तर त्यहाँ ब्रिजिटले अझ धेरै चुनौतीको सामना गर्नुपऱ्‍यो। पति बेरोजगार भएकोले तिनले आफ्नो पूरै समय काममै दिनुपर्ने भयो। साथै तिनी बस्ने ठाउँबाट सबैभन्दा नजिकको मण्डली ३५० किलोमिटर टाढा थियो। दुःखको कुरा, तिनका सासू-ससुराले तिनको धेरै विरोध गरे र तिनको परिवार अर्को ठाउँमा सर्न बाध्य भयो। त्यसपछि अचानक तिनको पतिको मृत्यु भयो। पछि तिनको १२ वर्षकी एक छोरीको पनि क्यान्सरले गर्दा मृत्यु भयो। ब्रिजिटका आफन्तहरूले यी सबै घटनाको लागि तिनलाई नै दोष दिए। तिनीहरूले ब्रिजिट यहोवाको साक्षी नभएको भए यस्तो विपत्ति आइपर्ने नै थिएन भने। तैपनि तिनले यहोवामाथि भरोसा गरिरहिन्‌ र उहाँको सङ्‌गठनसित नजिक भइरहिन्‌।

१६. यहोवा र उहाँको सङ्‌गठनसित नजिक भइरहेकोले ब्रिजिटले कस्तो आशिष्‌ पाइन्‌?

१६ ब्रिजिट बस्ने ठाउँबाट सभाभवन धेरै टाढा थियो। त्यसैले क्षेत्रीय निरीक्षकले तिनलाई आफू बस्ने ठाउँवरपर नै साक्षी दिन र घरमै सभाहरू सञ्चालन गर्न प्रोत्साहन दिए। सुरुमा त तिनले कसरी गर्ने भनेर सोच्नै सकिनन्‌। तर तिनले क्षेत्रीय निरीक्षकको सल्लाहअनुसारै छिमेकीहरूलाई सुसमाचार सुनाउन र घरमै सभाहरू सञ्चालन गर्न थालिन्‌। अनि छोरीहरूसित नियमित रूपमा पारिवारिक उपासना गरिन्‌। नतिजा कस्तो भयो? ब्रिजिटले थुप्रै बाइबल अध्ययन सुरु गर्न सकिन्‌ र तिनका धेरैजसो विद्यार्थीले बप्तिस्मा पनि गरे। सन्‌ २००५ मा तिनले नियमित अग्रगामी सेवा सुरु गरिन्‌। यहोवामाथि भरोसा गरेकोले र उहाँको सङ्‌गठनप्रति वफादार रहेकोले तिनले इनाम पाइन्‌। तिनका छोरीहरू वफादार भई यहोवाको सेवा गर्दै छन्‌ र अहिले त्यहाँ दुई वटा मण्डली छन्‌। कठिनाइहरू र परिवारको विरोध सहन यहोवाले नै बल दिनुभएको हो भन्‍ने कुरामा ब्रिजिट विश्‍वस्त छिन्‌।

यहोवा र उहाँको सङ्‌गठनप्रति वफादार रहनुहोस्‌

१७. हामीले के गर्ने सङ्‌कल्प गर्नुपर्छ?

१७ कठिनाइको बेला यहोवाले हामीलाई त्याग्नुहुन्छ र उहाँको सङ्‌गठनलाई समर्थन गर्दा हाम्रो जीवन अझै कष्टकर हुन्छ भनेर हामीले विश्‍वास गरेको सैतान चाहन्छ। जिम्मेवार भाइहरूको बदनाम र खेदो गरिँदा वा तिनीहरू झ्यालखानामा पर्दा हामी डराएर पछि हटेको त्यो चाहन्छ। यहोवाका स्तरहरू र उहाँको सङ्‌गठनमाथिको भरोसालाई कमजोर पार्न त्यसले गिल्लालाई पासोको रूपमा प्रयोग गर्छ। तर हामी त्यसका युक्‍तिहरूबारे अनजान छैनौँ। (२ कोरि. २:११) त्यसैले हामी त्यसको बहकाउमा पर्नदेखि जोगिन सक्छौँ। सैतानले फैलाउने झूटहरूलाई तिरस्कार गर्ने अनि यहोवा र उहाँको सङ्‌गठनप्रति वफादार रहने सङ्‌कल्प गर्नुहोस्‌। नबिर्सनुहोस्‌, यहोवाले तपाईँलाई कहिल्यै त्याग्नुहुनेछैन। (भज. २८:७) तपाईँलाई कुनै कुराले यहोवादेखि अलग नपारोस्‌!—रोमी ८:३५-३९.

१८. यसपछिको लेखमा हामी के छलफल गर्नेछौँ?

१८ यस लेखमा हामीले मण्डलीबाहिरबाट आउने चुनौतीहरूबारे छलफल गऱ्‍यौँ। तर मण्डलीभित्रैबाट आउने चुनौतीहरूले पनि यहोवा र उहाँको सङ्‌गठनमाथिको हाम्रो भरोसाको जाँच गर्न सक्छ। हामी कसरी त्यस्ता चुनौतीहरूको सफलतापूर्वक सामना गर्न सक्छौँ? यसपछिको लेखमा हामी यसबारे छलफल गर्नेछौँ।

गीत ११८ “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌”

a यस अन्तको दिनमा वफादार रहिरहन हामीले यहोवा र उहाँको सङ्‌गठनमा भरोसा गरिरहनुपर्छ। त्यो भरोसा तोड्‌न दियाबलले हामीमाथि आइपर्ने विभिन्‍न चुनौतीलाई पासोको रूपमा प्रयोग गर्छ। यस लेखमा त्यसले पासोको रूपमा प्रयोग गर्ने तीन वटा चुनौती अनि हामी कसरी सैतानको प्रतिरोध गर्न सक्छौँ भनेर छलफल गर्नेछौँ।

b केही नाम परिवर्तन गरिएका छन्‌।