जीवनी
“म यहोवाको सेवा गर्न चाहन्थेँ”
हामी सुरिनामको घना जङ्गलमा रहेको ग्रानबोरी गाउँमा भ्रमणको लागि गएका थियौँ। त्यहाँको सानो समूहका भाइबहिनीसित बिदाबारी भएपछि हामीले डुङ्गामा बसेर टापानाहोनी नदीबाट यात्रा सुरु गऱ्यौँ। नदीको तीव्र बहाबले गर्दा हाम्रो डुङ्गाको मोटर चट्टानमा बजारियो। केहीबेरमै हामी डुङ्गासँगै डुब्न थाल्यौँ। मलाई असाध्यै डर लाग्यो किनभने क्षेत्रीय निरीक्षकको रूपमा वर्षौँदेखि डुङ्गामा यात्रा गर्दै आएको भए तापनि मलाई पौडन भने आउँदैन थियो।
त्यसपछि के भयो भनेर बताउनुअघि मैले पूर्ण-समय सेवा कसरी सुरु गरेँ भनेर सुनाउन चाहन्छु।
मेरो जन्म १९४२ मा क्यारिबियनको सुन्दर टापु कुरासाओमा भयो। मेरो बुबा सुरिनामको हुनुहुन्छ तर कामको लागि उहाँ त्यस टापुमा सर्नुभएको थियो। म जन्मनुभन्दा केही वर्षअघि उहाँले कुरासाओमा बप्तिस्मा गर्नुभयो। उहाँ कुरासाओमा सुरुसुरुतिर बप्तिस्मा गर्नेहरूमध्ये हुनुहुन्थ्यो। a हामीलाई कहिलेकाहीँ अध्ययन गर्न मन नलागे पनि उहाँले हरेक हप्ता हामी छोराछोरीलाई बाइबल अध्ययन गराउनुहुन्थ्यो। बज्यैको हेरविचार गर्नुपर्ने भएकोले म १४ वर्षको हुँदा हाम्रो परिवार सुरिनाम फर्कियो।
असल साथीहरूको प्रभाव
सुरिनाममा मैले जोसिलो भई यहोवाको सेवा गरिरहेका युवाहरूसँग सङ्गत गर्न थालेँ। तिनीहरू मभन्दा केही वर्ष जेठा थिए र नियमित अग्रगामीको रूपमा सेवा गर्थे। तिनीहरूले क्षेत्र सेवाको अनुभव सुनाउँदा तिनीहरूको अनुहारमा छुट्टै चमक देखिन्थ्यो। सभा सकिएपछि हामी साथीहरू मिलेर बाइबलका विभिन्न विषयमा कुराकानी गर्थ्यौँ। कहिलेकाहीँ त टिलपिल गर्ने ताराहरू हेर्दै कुरा गर्थ्यौँ। यी असल साथीहरूले गर्दा मैले जीवनमा कस्तो लक्ष्य राख्नुपर्छ भनेर बुझेँ। म यहोवाको सेवा गर्न चाहन्थेँ। त्यसैले १६ वर्षको छँदा बप्तिस्मा गरेँ अनि १८ वर्षको उमेरमा नियमित अग्रगामी सेवा सुरु गरेँ।
बहुमूल्य पाठहरू सिक्दै
पारामारिबोमा अग्रगामी सेवा गर्दै
अग्रगामी सेवा गर्दा मैले धेरै कुरा सिकेँ। त्यसले मलाई पूर्ण-समय सेवाभरि नै ठूलो मदत दियो। उदाहरणको लागि, मैले सिकेको पहिलो पाठ भनेको अरूलाई तालिम दिनुको महत्त्व हो। अग्रगामी सेवा सुरु गर्दा मिसनरी दाइ भिलम भान सालले मलाई चासो देखाएर मण्डलीका जिम्मेवारीहरू b त्यतिबेला मलाई तालिमको कत्ति धेरै खाँचो थियो भनेर सोचेकै थिइनँ। त्यसपछिको वर्ष म विशेष अग्रगामी नियुक्त भएँ र सुरिनामको घना जङ्गलमा रहेका पृथक् समूहहरूमा सेवा गर्न थालेँ। मलाई चाहिएकै समयमा तालिम दिनुभएका भाइहरूप्रति म एकदमै कृतज्ञ छु। त्यतिबेलादेखि म पनि उहाँहरूको अनुकरण गर्दै अरूलाई तालिम दिने कोसिस गर्दै छु।
सम्हाल्न सिकाउनुभयो।मैले सिकेको दोस्रो पाठ भनेको राम्रो योजना बनाएर सरल जीवन बिताउनु उत्तम हो। हरेक महिनाको सुरुमा म र मेरो अग्रगामी साथी मिलेर महिनाभरिलाई चाहिने खानेकुरा र अरू सामानहरूको सूची बनाउँथ्यौँ। त्यसपछि हामीमध्ये एक जना किनमेल गर्न राजधानीसम्म लामो यात्रा गर्थ्यौँ। हामी आफ्नो मासिक पाकेट खर्च जथाभाबी खर्च गर्दैनथ्यौँ। खानेकुरा पनि महिनाभरिलाई पुग्नेगरि फारो गरेर पकाउँथ्यौँ। यदि कुनै कुरा सकियो भने त्यस्तो घना जङ्गलमा हामीलाई मदत गर्न सक्ने कोही हुँदैनथ्यो। युवावस्थामै राम्रो योजना बनाएर सरल जीवन बिताउन सिकेकोले अहिलेसम्म पनि यहोवाको सेवामा ध्यान केन्द्रित गर्न सकेको छु।
मैले सिकेको तेस्रो पाठ हो, मानिसहरूलाई उनीहरूकै मातृभाषामा सिकाउँदा नतिजा राम्रो हुन्छ। मलाई सानैदेखि डच, अङ्ग्रेजी, पापियामेन्टो र स्रानानटोंगो (स्रानान पनि भनिन्छ) भाषा बोल्न आउँथ्यो। सुरिनाममा साधारणतया स्रानानटोंगो भाषा बोलिन्छ। तर त्यहाँका घना जङ्गलभित्र बस्ने मानिसहरूको आफ्नै मातृभाषा छ। तिनीहरूकै भाषामा साक्षी दिँदा तिनीहरू हाम्रो कुरा सुन्न अझ इच्छुक भएको मैले याद गरेँ। मलाई त्यहाँको कुनै-कुनै भाषा बोल्न गाह्रो लाग्थ्यो, त्यसमध्ये एउटा सरामक्कान भाषा हो, जसमा शब्दअनुसार मधुरो र चर्को आवाज निकाल्नुपर्छ। त्यहाँ बोलिने भाषाहरू सिक्न मेहनत गरेकोले मैले वर्षौँको दौडान थुप्रै मानिसलाई सत्य सिकाउन सकेको छु।
भाषा राम्ररी नआएकोले अप्ठ्यारोमा परेका अनुभवहरू पनि छन्। जस्तै, एकचोटि सरामक्कान भाषा बोल्ने विद्यार्थीको पेट दुखिराखेकोले तिनलाई कस्तो छ भनेर सोध्न खोजेको थिएँ। तर मैले ती महिलालाई ‘तपाईँ गर्भवती हुनुहुन्छ?’ भनेर पो सोध्न पुगेछु। मेरो प्रश्नले तिनलाई निकै अप्ठ्यारोमा पाऱ्यो। यस्ता गल्तीहरू भए पनि मैले आफूलाई खटाइएका इलाकाहरूमा बोलिने भाषा सिक्न प्रयास गरिरहेँ।
थप जिम्मेवारी स्विकार्दै
सन् १९७० मा म क्षेत्रीय निरीक्षक नियुक्त भएँ। त्यस वर्ष मैले घना जङ्गलमा रहेका थुप्रै पृथक् समूहलाई “यहोवाका साक्षीहरूको मुख्यालय भ्रमण गरौँ” भन्ने स्लाइड-सो देखाएँ। ती समूहहरूमा पुग्न म केही भाइसँगै एउटा लामो डुङ्गामा यात्रा गर्थेँ। हाम्रो डुङ्गामा जेनेरेटर, पेट्रोल ट्याङ्क, लाल्टिन अनि प्रोजेक्टरका सामानहरू हुन्थ्यो। गन्तव्यमा पुगिसकेपछि ती सामानहरू कार्यक्रम हुने ठाउँसम्म ओसार्थ्यौँ। त्यहाँका मानिसहरूले
त्यो कार्यक्रम एकदमै मन पराएको कुरा म कहिल्यै बिर्सन्नँ। यहोवा र उहाँको सङ्गठनको पृथ्वीमा रहेको भागबारे अरूलाई सिकाउन पाउँदा मलाई धेरै खुसी लागेको थियो। यहोवाको सेवामा पाएका इनामहरूको तुलनामा मैले गरेका त्यागहरू त केही पनि होइनन्।वैवाहिक बन्धनमा बाँधिएँ
इथेल र मैले सेप्टेम्बर १९७१ मा विवाह गऱ्यौँ
मैले अविवाहित रहेर यहोवाको सेवामा आनन्द उठाइरहेको थिएँ। तर मेरो विवाह गर्ने इच्छा पनि थियो। त्यसैले यस्तो घना जङ्गलमा पनि आनन्दित भई मसँगै पूर्ण-समय सेवा गर्न इच्छुक जीवनसाथी भेट्टाउन सकूँ भनेर प्रार्थना गर्न थालेँ। लगभग एक वर्षपछि मैले विशेष अग्रगामी बहिनी इथेलसित डेटिङ गर्न थालेँ। तिनी आत्मत्यागी थिइन्। तिनी सानैदेखि प्रेषित पावलको उदाहरणबाट निकै प्रभावित थिइन्। इथेल पावलजस्तै साक्षीकार्यमा तनमनले लाग्न चाहन्थिन्। हामीले सेप्टेम्बर १९७१ मा विवाह गऱ्यौँ र परिभ्रमण कार्यमा सँगै सेवा गर्न थाल्यौँ।
इथेल साधारण परिवारमा हुर्केकी थिइन्। त्यसैले तिनलाई परिभ्रमण कार्यमा लाग्न त्यति गाह्रो भएन। जस्तै, हामी घना जङ्गलमा भएका मण्डलीहरूमा भ्रमणको लागि जाँदा धेरै सामान बोक्दैनथ्यौँ। हामी नदीमा नुहाउने र लुगा धुने गर्थ्यौँ। भाइबहिनीले जे दिनुहुन्थ्यो, हामी त्यही खान्थ्यौँ। जस्तै, जङ्गलमा पाइने इग्वाना (एक प्रकारको छेपारो) र नदीमा पाइने पिराना (एक प्रकारको माछा)। खाना खाने प्लेट नहुँदा हामी केराको पातमै खान्थ्यौँ; चम्चा छैन भने हातैले खान्थ्यौँ। यहोवाको सेवामा लाग्न हामीले थुप्रै त्याग गरेका छौँ तर यसले हामीलाई यहोवासित तीन सुतामा बाटिन मदत गरेको छ। (उप. ४:१२) हामीले यहोवाको सेवामा पाएको आनन्दलाई अरू कुनै कुरासित तुलना गर्न सकिँदैन!
हामी घना जङ्गलको एउटा पृथक् समूहबाट फर्कँदा मैले सुरुमा बताएको घटना घटेको थियो। हाम्रो डुङ्गा पानीको तीव्र बहाबमा एकछिन डुब्यो तर तुरुन्तै पानीमाथि उत्रियो। धन्न, हामीले लाइफ
ज्याकेट लगाएका थियौँ र डुङ्गाबाट पनि खसेनौँ। तर हाम्रो डुङ्गा पूरै पानीले भरिएको थियो। हामीले खानेकुरा राखेको भाँडाहरू खाली गऱ्यौँ र ती भाँडाले डुङ्गामा भएको पानी फाल्यौँ।हामीसित खानेकुरा बाँकी नभएकोले डुङ्गाबाट जाँदै गर्दा हामीले माछा मार्न थाल्यौँ। तर एउटा माछा पनि हात लागिरहेको थिएन। त्यसैले हामीले यहोवालाई त्यस दिनको लागि खानेकुरा दिनुहोस् भनेर प्रार्थना गऱ्यौँ। प्रार्थना गरेलगत्तै एक जना भाइले बल्छी हान्नुभयो र एउटा ठूलो माछा पऱ्यो। त्यो माछा हामी पाँच जनाको लागि टन्न पुग्ने थियो।
पति, बुबा र परिभ्रमण निरीक्षक
परिभ्रमण कार्य गरेको पाँच वर्षपछि हामीले आसै नगरेको आशिष् पायौँ। इथेल दुई जीउकी भइन्। यो खबर सुनेर म खुसी भएँ। तर यसले हाम्रो भविष्यलाई कस्तो असर पार्ला भनेर चिन्ता पनि लाग्यो। हामी सकेसम्म पूर्ण-समय सेवा गरिरहन चाहन्थ्यौँ। सन् १९७६ मा हाम्रो जेठो छोरा इथ्निएल जन्मियो। त्यसको साढे दुई वर्षपछि हाम्रो कान्छो छोरा जियोभानि जन्मियो।
पूर्वी सुरिनाममा गोडो होलोनजिकै टापानाहोनी नदीमा बप्तिस्मा गरेको हेर्दै—१९८३
त्यतिबेला सुरिनाममा आवश्यकता धेरै भएकोले शाखा कार्यालयले मलाई छोराहरू हुर्काउँदै क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्न भन्यो। छोराहरू सानो छँदा मलाई थोरै मण्डली भएको क्षेत्रमा खटाइयो। त्यतिबेला साधारणतया महिनाको एक-दुई हप्ता क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्थेँ अनि बाँकी हप्ताहरूचाहिँ हामीलाई खटाइएको मण्डलीमा अग्रगामीको रूपमा सेवा गर्थेँ। घरनजिकैका मण्डलीहरूमा भ्रमणमा जाँदा इथेल र छोराहरूलाई पनि सँगै लैजान्थेँ। तर घना जङ्गलका मण्डलीहरूको भ्रमण र सम्मेलनहरूको लागि भने म एक्लै जान्थेँ।
टाढाका मण्डलीहरूमा भ्रमणको लागि जाँदा म अक्सर डुङ्गामा यात्रा गर्थेँ
थुप्रै जिम्मेवारी भएकोले म होसियारीसाथ योजना बनाउँथेँ। हामी हरेक हप्ता पारिवारिक अध्ययन गर्थ्यौँ। घना जङ्गलका मण्डलीहरूमा भ्रमणमा गएको बेला इथेलले छोराहरूसित पारिवारिक अध्ययन गर्थिन्। हामी मौका मिलेसम्म परिवारै मिलेर विभिन्न कुरा गर्ने गर्थ्यौँ। छोराहरूसँगै बेलाबेलामा रमाइलो पनि गर्थ्यौँ। जस्तै, सँगै गेम खेल्थ्यौँ, घरनजिकैको रमाइलो ठाउँमा घुम्न जान्थ्यौँ। म अक्सर मेरो असाइनमेन्टहरू राती अबेरसम्म तयारी गर्थेँ। इथेल हितोपदेश ३१:१५ मा बताइएको गुणवती पत्नीजस्तै छिन्; तिनी खाजा बनाउन सबेरै उठ्थिन् अनि छोराहरू स्कुल जानुअघि परिवारै मिलेर दैनिक पद पढ्थ्यौँ र खाजा खान्थ्यौँ। यहोवाले दिनुभएको जिम्मेवारीहरू पूरा गर्न मदत गर्ने आत्मत्यागी जीवनसाथी पाएकोमा म खुसी छु!
छोराहरूलाई यहोवा र साक्षीकार्यलाई प्रेम गर्न सिकाउन हामीले धेरै मेहनत गऱ्यौँ। उनीहरूले पूर्ण-समय सेवालाई आफ्नो करिअर बनाएको हामी चाहन्थ्यौँ। तर हामीले भनेकोले गर्दा होइन, उनीहरू आफैले त्यस्तो छनौट गरेको हामी चाहन्थ्यौँ। हामी उनीहरूलाई सधैँ पूर्ण-समय सेवामा पाइने आनन्दबारे बताउँथ्यौँ। पूर्ण-समय सेवामा चुनौतीहरू त आउँछन् तर त्यस्तो बेला यहोवाले हाम्रो परिवारलाई कसरी मदत र आशिष् दिनुभयो भन्ने कुरामा हामीले जोड दियौँ। आफ्नो जीवनमा यहोवालाई पहिलो स्थान दिने भाइबहिनीसित छोराहरूले सङ्गत गर्न सकून् भनेर योजनाहरू बनाउने गर्थ्यौँ।
यहोवाले हामीलाई परिवार हुर्काउन चाहिने सबै कुरा दिनुभयो। तर मैले आफ्नो तर्फबाट पनि परिवारको पालनपोषण गर्न सक्दो कोसिस गरेँ। अविवाहित छँदा घना जङ्गलमा विशेष अग्रगामीको रूपमा सेवा गर्दा बटुलेको अनुभवले भौतिक आवश्यकता पूरा गर्न पहिल्यै राम्ररी योजना बनाउनुपर्छ भनेर सिकेँ। तर कहिलेकाहीँ सक्दो कोसिस गर्दा पनि कुनै-कुनै कुराको अभाव हुने गर्थ्यो। त्यस्तो बेला यहोवाले हामीलाई मदत गर्नुभयो। जस्तै, १९८६ देखि १९९२ सम्म सुरिनाममा गृहयुद्ध भयो। त्यतिबेला कहिलेकाहीँ आधारभूत कुराहरूसमेत पाउन निकै गाह्रो भयो। तर यहोवाले हाम्रो भौतिक आवश्यकता पूरा गर्नुभयो।—मत्ति ६:३२.
फर्केर हेर्दा
बायाँदेखि दायाँ: मेरी श्रीमती इथेलसँगै
जेठो छोरा इथ्निएल र बुहारी न्याट्ली
कान्छो छोरा जियोभानि र बुहारी क्रिस्टल
जीवनभरि नै यहोवाले हाम्रो ख्याल राख्नुभएको छ र यसले हामीलाई गहिरो आनन्द र सन्तुष्टि दिएको छ। छोराहरूले पनि हामीलाई धेरै खुसी दिएका छन्। तिनीहरू हुर्किसकेपछि यहोवाको सेवा गर्ने छनौट गरेकोमा हामी खुसी छौँ। दुवै छोराले पूर्ण-समय सेवालाई आफ्नो करिअर बनाए। इथ्निएल र जियोभानि ईश्वरतान्त्रिक स्कुलहरूमा गए र अहिले आ-आफ्नो श्रीमतीसँगै सुरिनामको शाखा कार्यालयमा सेवा गर्दै छन्।
इथेल र मेरो उमेर ढल्किसकेको छ तर हामी विशेष अग्रगामीको रूपमा यहोवाको सेवामा व्यस्त छौँ। वास्तवमा हामी यत्ति व्यस्त छौँ कि मैले पौडी सिक्ने समय पनि पाएको छैनँ। तर मलाई कुनै पछुतो छैन। मैले युवावस्थामा पूर्ण-समय सेवालाई आफ्नो करिअर बनाएँ; यो नै मैले जीवनमा गरेको सबैभन्दा राम्रो निर्णय थियो।
a यहोवाका साक्षीहरूको वार्षिक पुस्तक २००२, (अङ्ग्रेजी) पृष्ठ ७० हेर्नुहोस्।
b “मैले आशा गरेभन्दा ठूलो कुरा पाएको छु” भन्ने विषयको भिलम भान सालको जीवनी नोभेम्बर ८, १९९९ अङ्कको ब्यूँझनुहोस्!-मा पढ्न सक्नुहुन्छ।