सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४९

के यहोवा मेरो प्रार्थनाको जवाफ दिनुहुन्छ?

के यहोवा मेरो प्रार्थनाको जवाफ दिनुहुन्छ?

“तिमीहरूले मलाई पुकार्नेछौ, मलाई प्रार्थना गर्नेछौ र म तिमीहरूको बिन्ती सुन्‍नेछु।”—यर्मि. २९:१२.

गीत ४१ मेरो बिन्ती सुनिदिनुहोस्‌

परिचय a

१-२. प्रार्थनाको जवाफ नपाउँदा हाम्रो मनमा कस्तो कुरा खेल्न सक्छ?

 “यहोवा तिमीसित हुनुहुन्छ, त्यसैले तिमी औधी हर्षित होऊ अनि उहाँले तिम्रो मनको इच्छा पूरा गरिदिनुहुनेछ।” (भज. ३७:४) कस्तो मन छुने प्रतिज्ञा! तर के प्रार्थनामा मागेको सबै कुरा यहोवाले तुरुन्तै पूरा गरिदिनुहुन्छ भनेर आशा गर्नु उचित हो? यस प्रश्‍नबारे विचार गर्नु किन राम्रो हो? केही उदाहरण विचार गरौँ। एक अविवाहित बहिनी राज्य प्रचारकहरूका लागि स्कुलमा जान सकूँ भनेर प्रार्थना गर्छिन्‌। तर वर्षौँ बितिसक्दा पनि तिनले निम्तो पाउँदिनन्‌। एक जवान भाइ मण्डलीमा अझ धेरै गर्न चाहेकोले आफूलाई लागेको गम्भीर रोग निको होस्‌ भनेर यहोवालाई प्रार्थना गर्छन्‌। तर तिनको स्वास्थ्यमा कुनै सुधार आउँदैन। आमाबुबा आफ्नो छोरा सत्यमा रहिरहोस्‌ भनेर प्रार्थना गर्छन्‌। तर छोराले यहोवाको सेवा गर्न छोड्‌ने निर्णय गर्छन्‌।

तपाईँले पनि आफ्नो प्रार्थनाको जवाफ पाउनुभएको छैन होला। यसले गर्दा यहोवा अरूको प्रार्थनाको जवाफ दिनुहुन्छ तर मेरो भने दिनुहुन्‍न जस्तो तपाईँलाई लाग्न सक्छ। अथवा आफूले कुनै गल्ती गरेकोले उहाँले प्रार्थनाको जवाफ नदिनुभएको जस्तो लाग्न सक्छ। जेनिसा b बहिनीले त्यस्तै महसुस गरिन्‌। तिनी र तिनका पतिले बेथेल सेवा गर्ने आफ्नो इच्छाबारे प्रार्थना गरेका थिए। तिनी भन्छिन्‌: “हामीलाई छिट्टै बेथेल सेवाको लागि बोलाइन्छ भनेर म पक्का थिएँ।” तर महिनौँ अनि वर्षौँ बित्यो तर त्यस दम्पतीले बेथेल सेवाको निम्तो पाएन। जेनिसा भन्छिन्‌: “मलाई दुःख लाग्यो। किन नबोलाएको होला भनेर बुझ्नै सकिनँ। मैले यहोवालाई दुःखी तुल्याउने कुनै काम गरेकोले हो कि जस्तो पनि लाग्यो। मैले बेथेल सेवाको लागि पटक-पटक यहोवालाई प्रार्थना गरेकी थिएँ। तर उहाँले किन मेरो प्रार्थनाको जवाफ दिनुभएन?”

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

कहिलेकाहीँ हामीलाई यहोवाले हाम्रो प्रार्थना सुन्‍नु नै भएको छैन जस्तो लाग्न सक्छ। पुरातन समयका केही वफादार पुरुषले पनि त्यस्तै महसुस गरेका थिए। (अय्यु. ३०:२०; भज. २२:२; हब. १:२) तर यहोवा हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ भन्‍ने कुरामा कसरी ढुक्क हुन सक्छौँ? (भज. ६५:२) आउनुहोस्‌, यस प्रश्‍नको जवाफ पाउन प्रार्थनाको सन्दर्भमा यी प्रश्‍नबारे विचार गरौँ: (१) हामी यहोवाबाट के आशा गर्न सक्छौँ? (२) यहोवा हामीबाट के चाहनुहुन्छ? (३) आफ्नो बिन्तीमै किन छाँटकाँट गर्नुपर्ने हुन सक्छ?

हामी यहोवाबाट के आशा गर्न सक्छौँ?

४. यर्मिया २९:१२ अनुसार यहोवाले के गर्ने प्रतिज्ञा गर्नुभएको छ?

यहोवाले हाम्रो प्रार्थना सुन्‍ने प्रतिज्ञा गर्नुभएको छ। (यर्मिया २९:१२ पढ्‌नुहोस्‌।) उहाँ आफ्ना वफादार उपासकहरूलाई प्रेम गर्नुहुन्छ, त्यसैले उहाँ उनीहरूको प्रार्थनालाई कहिल्यै बेवास्ता गर्नुहुन्‍न। (भज. १०:१७; ३७:२८) तर त्यसो भन्दैमा हामीले मागेको सबै कुरा उहाँले पूरा गर्नुहुन्छ भन्‍ने होइन। कुनै-कुनै कुराको लागि हामीले नयाँ संसार नै पर्खनुपर्ने हुन सक्छ।

५. हाम्रो बिन्ती सुन्‍नुहुँदा यहोवा के विचार गर्नुहुन्छ? व्याख्या गर्नुहोस्‌।

हाम्रो बिन्ती यहोवाको उद्देश्‍यअनुरूप छ कि छैन भनेर उहाँ विचार गर्नुहुन्छ। (यसै. ५५:८, ९) उहाँको उद्देश्‍यमा उहाँको शासनलाई राजीखुसीसाथ स्विकार्ने मानिसहरूले पृथ्वी भर्नु पनि समावेश छ। तर मानिसले नै अझै राम्ररी शासन गर्न सक्छ भनेर सैतानले दाबी गरेको छ। (उत्प. ३:१-५) सैतानको दाबीलाई झूटो साबित गर्न यहोवाले मानिसलाई शासन गर्ने अनुमति दिनुभएको छ। तर मानव शासनमा हामीले धेरै दुःख पाइरहेका छौँ। (उप. ८:९) यहोवाले अहिले नै सबै समस्या हटाउनुहुनेछैन भनेर हामीले बुझेका छौँ। यदि उहाँले अहिले नै सबै समस्या हटाउनुभयो भने उहाँमा विश्‍वास नगर्नेहरूलाई यी समस्याहरू मानिसले समाधान गरेका हुन्‌ जस्तो लाग्न सक्छ। तिनीहरूलाई मानिसले सफलतापूर्वक शासन गर्न सक्छन्‌ जस्तो लाग्न सक्छ।

६. यहोवाले हाम्रा प्रार्थनाहरूको जवाफ सधैँ मायालु अनि न्यायी तरिकामा दिनुहुन्छ भनेर हामी किन ढुक्क हुनुपर्छ?

उस्तै किसिमका बिन्तीहरूको जवाफ यहोवाले फरक तरिकामा दिन सक्नुहुन्छ। जस्तै: एकचोटि राजा हिजकियाह साह्रै बिरामी परेका थिए। तिनले आफूलाई निको पारिदिन यहोवालाई बिन्ती गरे अनि उहाँले तिनलाई निको पारिदिनुभयो। (२ राजा २०:१-६) अर्कोतर्फ, प्रेषित पावलले यहोवालाई तिनको शरीरमा भएको “एउटा छेस्को” हटाइदिन बिन्ती गरेका थिए। तर यहोवाले तिनको छेस्को हटाइदिनुभएन; त्यो छेस्को कुनै स्वास्थ्य समस्या हुन सक्छ। (२ कोरि. १२:७-९) प्रेषित याकुब र प्रेषित पत्रुसको उदाहरण पनि विचार गरौँ। राजा हेरोद तिनीहरू दुवैलाई मार्न चाहन्थे। मण्डलीका भाइबहिनीले पत्रुसको लागि र सम्भवतः याकुबको लागि पनि प्रार्थना गरेका थिए। तर याकुबलाई मृत्युदण्ड दिइयो जबकी पत्रुसलाई भने चमत्कारपूर्ण ढङ्‌गमा बचाइयो। (प्रेषि. १२:१-११) हामीलाई यस्तो लाग्न सक्छ: ‘यहोवाले किन पत्रुसलाई चाहिँ बचाउनुभयो तर याकुबलाई भने बचाउनुभएन?’ यसबारे बाइबलमा केही बताइएको छैन। c तर हामी यस कुरामा भने ढुक्क हुन सक्छौँ: यहोवा “कहिल्यै अन्याय गर्नुहुन्‍न।” (व्यव. ३२:४) अनि पत्रुस र याकुब दुवैले यहोवाको अनुमोदन पाएका थिए भनेर हामीलाई थाह छ। (प्रका. २१:१४) कहिलेकाहीँ यहोवाले हाम्रो प्रार्थनाको जवाफ हामीले आशा गरेको तरिकामा नदिन पनि सक्नुहुन्छ। तर उहाँले हाम्रा प्रार्थनाहरूको जवाफ सधैँ मायालु अनि न्यायी तरिकामा दिनुहुन्छ भनेर हामीले बुझेका छौँ। त्यसैले उहाँले हाम्रो प्रार्थनाको जवाफ जस्तोसुकै तरिकामा दिनुभए तापनि हामी कहिल्यै गुनासो गर्दैनौँ।—अय्यु. ३३:१३.

७. हामीले के गर्नु हुँदैन र किन?

हामीले आफ्नो परिस्थितिलाई अरूको परिस्थितिसित तुलना गर्नु हुँदैन। जस्तै: हामीले कुनै कुराको लागि तोकेरै प्रार्थना गरेका होऔँला तर जवाफ भने नपाएका हुन सक्छौँ। पछि अरू कसैले त्यस्तै बिन्ती गरेको हामीले थाह पाउन सक्छौँ र यहोवाले जवाफ दिनुभएको जस्तो हामीलाई लाग्न सक्छ। आना बहिनीले त्यस्तै महसुस गरिन्‌। तिनले आफ्नो श्रीमान्‌ म्याथ्युको क्यान्सर निको होस्‌ भनेर प्रार्थना गरिन्‌। त्यति नै बेला दुई जना वृद्ध बहिनी पनि क्यान्सरसित लडिरहेका थिए। आनाले आफ्नो श्रीमान्‌ र ती दुईबहिनीको लागि व्यग्र प्रार्थना गरिन्‌। ती बहिनीहरू निको भए तर आनाले आफ्नो श्रीमान्‌ गुमाइन्‌। सुरुमा त आनाले यस्तो सोचिन्‌: ‘यहोवाले मदत गर्नुभएकोले ती बहिनीहरू निको भएका हुन्‌ भने मैले आफ्नो श्रीमान्‌को लागि गरेको प्रार्थनाको जवाफचाहिँ यहोवाले किन दिनुभएन?’ हामीलाई ती बहिनीहरू निको हुनुपछाडि के-कस्ता कारण थिए भनेर सबै कुरा थाह छैन। तर एउटा कुरा भने थाह छ, यहोवासित हाम्रा सबै समस्याको स्थायी समाधान छ र उहाँ आफ्ना उपासकहरूलाई फेरि जीवित पार्न तीव्र इच्छा गर्नुहुन्छ।—अय्यु. १४:१५.

८. (क) यसैया ४३:२ अनुसार यहोवा हामीलाई कसरी साथ दिनुहुन्छ? (ख) परीक्षाहरू आइपर्दा प्रार्थनाले हामीलाई कसरी मदत गर्न सक्छ? (प्रार्थनाले हामीलाई सहन मदत गर्छ भन्‍ने भिडियो हेर्नुहोस्‌।)

यहोवाले सधैँ हाम्रो साथ दिनुहुनेछ। हाम्रो मायालु बुबा यहोवा हामी दुःखमा परेको चाहनुहुन्‍न। (यसै. ६३:९) त्यसो भन्दैमा उहाँ हामीलाई सबै परीक्षाबाट जोगाउनुहुन्‍न। हामीले भोग्ने परीक्षाहरूलाई नदी र ज्वालासित तुलना गर्न सकिन्छ। (यसैया ४३:२ पढ्‌नुहोस्‌।) तर उहाँले हामीलाई परीक्षाहरू छिचोल्दै अघि ‘जान’ मदत गर्ने प्रतिज्ञा गर्नुभएको छ। उहाँले हामीलाई परीक्षाहरूले गर्दा उहाँको सेवा गर्नै नसक्ने हदसम्म पुग्न दिनुहुनेछैन। साथै परीक्षाहरू सहन उहाँ हामीलाई पवित्र शक्‍ति दिनुहुन्छ। (लुका ११:१३; फिलि. ४:१३) त्यसैले हामी यस कुरामा ढुक्क हुन सक्छौँ: उहाँले हामीलाई परीक्षाहरू सहन र वफादार रहन चाहिएकै मदत दिनुहुन्छ। d

यहोवा हामीबाट के चाहनुहुन्छ?

९. याकुब १:६, ७ अनुसार यहोवाले मदत गर्नुहुन्छ भनेर किन भरोसा गर्नुपर्छ?

यहोवा हामीले उहाँमाथि भरोसा गरेको चाहनुहुन्छ। (हिब्रू ११:६) कहिलेकाहीँ हामीलाई आफूले सामना गरिरहेको परीक्षा पार गर्नै नसकिनेजस्तो लाग्न सक्छ। अनि यहोवाले मदत गर्नुहुने कुरामा पनि शङ्‌का उब्जिन सक्छ। तर परमेश्‍वरको शक्‍ति पाएर हामी समस्याहरूको “पर्खाल नाघ्न” सक्छौँ भनेर बाइबलमा आश्‍वासन दिइएको छ। (भज. १८:२९) त्यसैले शङ्‌कालाई बढ्‌न दिनुको साटो यहोवाले जवाफ दिनुहुन्छ भन्‍ने कुरामा पूरा भरोसा राख्दै प्रार्थना गर्नुपर्छ।—याकुब १:६, ७ पढ्‌नुहोस्‌।

१०. हामी कसरी प्रार्थनाअनुरूप कदम चाल्न सक्छौँ, उदाहरणसहित बताउनुहोस्‌।

१० हामीले प्रार्थनाअनुरूप कदम चालेको यहोवा चाहनुहुन्छ। मानौँ, एक जना भाइ अधिवेशन जान छुट्टी मिलाउन सकूँ भनेर यहोवासित मदत माग्छन्‌। यहोवा तिनको प्रार्थनाको जवाफ कसरी दिन सक्नुहुन्छ? उहाँले तिनलाई हाकिमसित कुरा गर्न साहस दिन सक्नुहुन्छ। तर ती भाइ आफै हाकिमकहाँ गएर छुट्टीको लागि कुरा गर्न अग्रसर हुनुपर्छ। तिनले हाकिमसित थुप्रै चोटि कुरा गर्नुपर्ने हुन सक्छ। तिनले कुनै सहकर्मीसित काम गर्ने दिन साट्‌ने प्रस्ताव राख्नुपर्ने हुन सक्छ। आवश्‍यक परेको खण्डमा बेतलबी बिदा लिन समेत तयार हुनुपर्ने हुन सक्छ।

११. कुनै विषयबारे हामीले किन बारम्बार प्रार्थना गर्नुपर्छ?

११ कुनै विषयबारे बारम्बार प्रार्थना गरेको यहोवा चाहनुहुन्छ। (१ थिस्स. ५:१७) हाम्रो कुनै-कुनै बिन्ती तुरुन्तै पूरा हुँदैन भनेर येसुका शब्दहरूबाट बुझ्न सक्छौँ। (लुका ११:९) त्यसैले हरेस नखानुहोस्‌! बरु व्यग्रतासाथ बारम्बार प्रार्थना गर्नुहोस्‌। (लुका १८:१-७) कुनै विषयबारे बारम्बार प्रार्थना गर्दा हाम्रो लागि त्यो कुरा कत्ति महत्त्वपूर्ण छ भनेर देखाइरहेका हुन्छौँ। साथै यहोवा हामीलाई मदत गर्न सक्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त भएको देखाइरहेका हुन्छौँ।

आफ्नो बिन्तीमै किन छाँटकाँट गर्नुपर्ने हुन सक्छ?

१२. (क) प्रार्थनाबारे हामीले आफैलाई सोध्नुपर्ने एउटा प्रश्‍न कुन हो र किन? (ख) हामी कसरी यहोवाको आदर हुने तरिकामा प्रार्थना गर्न सक्छौँ? (“ के मैले यहोवाको आदर हुने तरिकामा प्रार्थना गरिरहेको छु?” भन्‍ने पेटी हेर्नुहोस्‌।)

१२ हामीले प्रार्थनामा मागेको कुनै कुरा पूरा भएन भने आफैलाई तीन वटा प्रश्‍न सोध्न सक्छौँ। पहिलो, ‘के मैले उचित कुराको लागि प्रार्थना गरिरहेको छु?’ अक्सर हामीलाई यस्तो लाग्न सक्छ: ‘मेरो लागि सबैभन्दा राम्रो के हो, मलाई राम्ररी थाह छ।’ तर हामीले मागेको कुरा हाम्रो लागि पछिसम्म लाभदायी नहुन पनि सक्छ। कुनै समस्याबारे प्रार्थना गरिरहेका छौँ भने हाम्रो मनमा एउटा समाधान होला तर त्योभन्दा राम्रो समाधान अर्को पनि हुन सक्छ। अनि हामीले मागेको कुनै-कुनै कुरा यहोवाको इच्छाअनुरूप नहुन सक्छ। (१ युह. ५:१४) जस्तै: अगाडि उल्लेख गरिएका आमाबुबाको उदाहरण विचार गरौँ। तिनीहरूले छोरा सत्यमै रहिरहोस्‌ भनेर प्रार्थना गरेका थिए। हुनत त्यो बिन्ती सही नै जस्तो देखिन्छ। तर यहोवाले उहाँको उपासना गर्न कसैलाई पनि जबरजस्ती गर्नुहुन्‍न। छोराछोरीलगायत हामी सबैले उहाँको उपासना गर्ने छनौट गरेको उहाँ चाहनुहुन्छ। (व्यव. १०:१२, १३; ३०:१९, २०) त्यसैले ती आमाबुबाले छोराको मनसम्म पुग्नेगरि सत्य सिकाउन यहोवासित मदत माग्नु उचित हुन्थ्यो। किनकि त्यसरी सिकाउँदा ती छोरा यहोवालाई प्रेम गर्न र उहाँको साथी बन्‍न उत्प्रेरित हुन सक्छन्‌।—हितो. २२:६; एफि. ६:४.

१३. हिब्रू ४:१६ अनुसार यहोवाले हामीलाई कहिले मदत गर्नुहुन्छ? व्याख्या गर्नुहोस्‌।

१३ दोस्रो, ‘के यहोवाले मेरो प्रार्थनाको जवाफ दिने समय आइसक्यो?’ हामीलाई आफ्नो प्रार्थनाको जवाफ तुरुन्तै पाउनुपर्छ जस्तो लाग्न सक्छ। तर हामीलाई मदत गर्ने सबैभन्दा उचित समय यहोवालाई थाह छ। (हिब्रू ४:१६ पढ्‌नुहोस्‌।) आफूले मागेको कुरा तुरुन्तै नपाउँदा यहोवाले जवाफ दिनुभएन जस्तो लाग्न सक्छ। तर उहाँको तर्फबाट जवाफ यस्तो पनि हुन सक्छ: ‘अहिले अलि बेला भएको छैन।’ जस्तै: गम्भीर रोग लागेका भाइको उदाहरण फेरि विचार गरौँ। यहोवाले तिनलाई चमत्कारपूर्ण ढङ्‌गमा निको पार्नुभएको भए सैतानले उहाँलाई यसो भन्‍न सक्थ्यो: ‘तपाईँले निको पार्नुभएकोले मात्र उसले तपाईँको सेवा गरिरहेको हो।’ (अय्यु. १:९-११; २:४) यसबाहेक यहोवाले सबै रोगबिमार निको पार्ने समय तोकिसक्नुभएको छ। (यसै. ३३:२४; प्रका. २१:३, ४) त्यो समय नआएसम्म हामी चमत्कारपूर्ण ढङ्‌गमा निको हुने आशा गर्न सक्दैनौँ। त्यसैले ती भाइले यहोवासित आफ्नो रोगसित लड्‌न र वफादार भई उहाँको सेवा गरिरहन बल र मनोशान्ति माग्नु उचित हुन्थ्यो।—भज. २९:११.

१४. जेनिसाको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१४ बेथेल सेवा गर्ने आफ्नो इच्छाबारे प्रार्थना गरेकी जेनिसाको उदाहरण फेरि विचार गरौँ। यहोवाले तिनको प्रार्थनाको जवाफ कसरी दिनुभयो भनेर बुझ्न तिनलाई पाँच वर्ष लाग्यो। तिनी भन्छिन्‌: “त्यस समयको दौडान यहोवाले मलाई धेरै कुरा सिकाउनुभयो र अझै राम्रो ख्रिष्टियन हुन मदत गर्नुभयो। मैले उहाँमाथिको भरोसालाई अझै बलियो बनाउनुपर्ने थियो। अनि गहिरिएर व्यक्‍तिगत अध्ययन गर्न सिक्नुपर्ने थियो। जहाँसुकै रहेर उहाँको सेवा गरे पनि आनन्दित हुन सिक्नुपर्ने थियो।” पछि जेनिसा र तिनको पतिलाई परिभ्रमणकार्यमा बोलाइयो। विगतको कुरा सम्झँदै जेनिसा यसो भन्छिन्‌: “यहोवाले मैले सोचेभन्दा एकदमै फरक तरिकामा प्रार्थनाको जवाफ दिनुभयो। यहोवाले दिनुभएको जवाफ एउटा सुन्दर उपहार हो भनेर बुझ्न मलाई समय लाग्यो। तर उहाँको प्रेम र दया अनुभव गर्ने मौका पाएकोमा म उहाँप्रति एकदमै आभारी छु।”

प्रार्थनाको जवाफ नपाएको जस्तो लाग्दा अर्कै कुराको लागि प्रार्थना गर्न सक्नुहुन्छ कि?(अनुच्छेद १५ हेर्नुहोस्‌) f

१५. हामीले आफ्नो प्रार्थनालाई फराकिलो बनाउनु किन बेस हो? (तस्बिरहरू पनि हेर्नुहोस्‌।)

१५ तेस्रो, ‘मैले अर्कै कुराको लागि प्रार्थना गर्नुपर्ने हो कि?’ हुनत तोकेरै प्रार्थना गर्नु राम्रो हो। तर कहिलेकाहीँ आफ्नो प्रार्थनालाई फराकिलो बनाउनु पनि बेस हो। किनभने यसो गर्दा यहोवा हामीबाट के चाहनुहुन्छ भनेर बुझ्न सक्छौँ। राज्य प्रचारकहरूका लागि स्कुल जान पाऊँ भनेर प्रार्थना गरेकी बहिनीको उदाहरण विचार गरौँ। आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्ने इच्छा भएकोले तिनी त्यस स्कुलमा जान चाहन्छिन्‌। त्यसैले स्कुलको निम्तो पाउन सकूँ भनेर प्रार्थना गर्नुका साथै सेवा विस्तार गर्ने अन्य तरिका थाह पाउन मदत गर्नुहोस्‌ भनेर प्रार्थना गर्न सक्छिन्‌। (प्रेषि. १६:९, १०) त्यसपछि तिनले प्रार्थनाअनुरूपै कदम चाल्न सक्छिन्‌। यसको लागि नजिकैको कुनै मण्डलीमा अग्रगामीहरूको आवश्‍यकता छ कि भनेर क्षेत्रीय निरीक्षकलाई सोध्न सक्छिन्‌। अथवा आवश्‍यकता धेरै भएको ठाउँ कुन हो भनेर थाह पाउन तिनले शाखा कार्यालयलाई पत्र पठाउन सक्छिन्‌। e

१६. हामी कुन कुरामा विश्‍वस्त हुन सक्छौँ?

१६ यस लेखबाट यहोवाले हाम्रो प्रार्थनाको जवाफ सधैँ मायालु र न्यायी तरिकामा दिनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुन मदत पायौँ। (भज. ४:३; यसै. ३०:१८) कहिलेकाहीँ हामीले आशा गरेको जवाफ नपाउन सक्छौँ। तर यो कुरा कहिल्यै नबिर्सनुहोस्‌, यहोवा हाम्रा प्रार्थनाहरूलाई कहिल्यै बेवास्ता गर्नुहुन्‍न। उहाँ हामीलाई धेरै प्रेम गर्नुहुन्छ। अनि उहाँ हामीलाई कहिल्यै त्याग्नुहुन्‍न। (भज. ९:१०) त्यसैले “सधैँ उहाँमा भरोसा” गर्नुहोस्‌ र प्रार्थनामा आफ्नो मनको बह पोखाउनुहोस्‌।—भज. ६२:८.

गीत ४३ धन्यवादको प्रार्थना

a यस लेखले यहोवा सधैँ मायालु र न्यायी तरिकामा हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ भनेर विश्‍वस्त हुन मदत गर्नेछ।

b केही नाम परिवर्तन गरिएका छन्‌।

c फेब्रुअरी २०२२ अङ्‌कको प्रहरीधरहरा-मा “के तपाईँ यहोवाको तौरतरिकामा भरोसा गर्नुहुन्छ?” भन्‍ने लेखको अनु. ३-६ हेर्नुहोस्‌।

d परीक्षाहरू सहन यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ भनेर बुझ्न jw.org मा प्रार्थनाले हामीलाई सहन मदत गर्छ भन्‍ने भिडियो हेर्नुहोस्‌।

e अर्कै देशमा गएर सेवा गर्न चाहनुहुन्छ भने थप जानकारीको लागि यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित किताबको अध्या. १०, अनु. ६-९ हेर्नुहोस्‌।

f तस्बिरको व्याख्या: दुई जना बहिनी राज्य प्रचारकहरूका लागि स्कुलको आवेदन फाराम भर्नुअघि प्रार्थना गर्दै छन्‌। एउटी बहिनीले निम्तो पाउँछिन्‌ तर अर्की बहिनीले भने पाउँदिनन्‌। निम्तो नपाएकी बहिनी एकदमै निराश हुनुको साटो अन्य कुन तरिकामा सेवा विस्तार गर्न सकिन्छ भनेर थाह पाउन यहोवासित मदत माग्छिन्‌। त्यसपछि आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्ने इच्छा व्यक्‍त गर्दै शाखा कार्यालयलाई पत्र लेख्छिन्‌।