सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४४

गीत ३३ बिसाऊ भारी यहोवामा

अन्याय-अत्याचार भोग्नुपर्दा हामी के गर्न सक्छौँ?

अन्याय-अत्याचार भोग्नुपर्दा हामी के गर्न सक्छौँ?

“खराबीसित नहार बरु खराबीलाई भलाइले जितिरहो।”​—रोमी १२:२१.

सिक्न सकिने कुरा

अन्याय-अत्याचार भोग्नुपर्दा हामी के गर्न सक्छौँ?

१-२. हामी कस्तो किसिमको अन्यायमा पर्न सक्छौँ?

 येसुले चेलाहरूलाई एक जना विधवा र न्यायाधीशको उदाहरण सुनाउनुभयो। ती विधवा न्यायाधीशकहाँ घरीघरी गएर न्याय गरिदिन बिन्ती गर्थिन्‌। येसुका थुप्रै चेलाहरूले ती विधवाको भावना बुझ्न सक्थे किनभने त्यतिबेला मानिसहरू अक्सर अन्यायको सिकार हुन्थे। (लुका १८:१-५) हामी पनि ती विधवाको भावना बुझ्न सक्छौँ। किनकि हामी कुनै न कुनै बेला अन्यायको सिकार भएका छौँ।

आज संसारमा पूर्वाग्रह, असमानता र थिचोमिचो व्याप्त छ। त्यसैले आफू अन्यायको सिकार हुनुपर्दा हामी अचम्म मान्दैनौँ। (उप. ५:८) तर मण्डलीभित्रकै कुनै भाइबहिनीले हामीसित अन्यायपूर्ण व्यवहार गर्ला भनेर हामीले सोचेका पनि हुँदैनौँ। तर त्यस्तो अवस्था आइपर्न सक्छ। हुनत हाम्रा भाइबहिनीहरू हाम्रो विरोध गर्ने मानिसहरूजस्ता छैनन्‌। तिनीहरू हामीसित राम्रो व्यवहार नै गर्न चाहन्छन्‌। तर तिनीहरू त्रुटिपूर्ण भएकोले तिनीहरूबाट गल्ती हुन सक्छ। विरोधीहरूले अन्यायपूर्ण व्यवहार गर्दा येसुले देखाउनुभएको प्रतिक्रियाबाट हामी थुप्रै कुरा सिक्न सक्छौँ। विरोधीहरूले अन्यायपूर्ण व्यवहार गर्दा त हामी धीरजी भएर सहन्छौँ भने हाम्रा भाइबहिनीप्रति झन्‌ कत्ति धेरै धीरजी हुनुपर्छ होला। मण्डलीबाहिरका मानिसहरूले वा मण्डलीभित्रका भाइबहिनीहरूले हामीसित अन्यायपूर्ण व्यवहार गर्दा यहोवालाई कस्तो लाग्छ?

३. यहोवा हामीले भोगिरहेको अन्याय-अत्याचार याद गर्नुहुन्छ भनेर किन भन्‍न सक्छौँ?

“यहोवा न्याय मन पराउनुहुन्छ।” (भज. ३७:२८) त्यसैले अरूले हामीसित अन्यायपूर्ण व्यवहार गर्दा उहाँ त्यो याद गर्नुहुन्छ। यहोवाले उचित समय आएपछि ‘तुरुन्तै न्याय गरिदिनुहुनेछ’ भनेर येसुले हामीलाई भरोसा दिलाउनुभएको छ। (लुका १८:७, ८) यहोवाले चाँडै सबै दुःखकष्ट र अन्याय-अत्याचार हटाउनुहुनेछ।—भज. ७२:१, २.

४. यहोवा हामीलाई अन्यायको सामना गर्न कसरी मदत गर्नुहुन्छ?

धार्मिकताले बास गर्ने नयाँ संसार नआउन्जेल यहोवा हामीलाई अन्यायको सामना गर्न मदत गर्नुहुन्छ। (२ पत्रु. ३:१३) अन्याय भोग्नुपर्दा मूर्ख कदम चाल्नदेखि कसरी जोगिन सक्छौँ भनेर यहोवा हामीलाई सिकाउनुहुन्छ। यहोवाले बाइबलमा अन्यायको सामना गर्ने सन्दर्भमा येसुले बसाल्नुभएको उत्कृष्ट उदाहरणबारे लेख्न लगाउनुभएको छ। साथै हामीले अन्याय भोग्नुपर्दा लागू गर्न सकिने व्यावहारिक सल्लाहहरू पनि दिनुभएको छ।

अन्याय भोग्नुपर्दा सोचविचार गरेर कदम चाल्नुहोस्‌

५. अन्यायमा पर्दा हामीले किन सोचविचार गरेर कदम चाल्नुपर्छ?

अन्यायमा पर्दा हाम्रो असाध्यै चित्त दुख्न सक्छ र हाम्रो मनमा छटपटी हुन सक्छ। (उप. ७:७) अय्युब र हबकुकजस्ता वफादार सेवकहरूले पनि त्यस्तै महसुस गरेका थिए। (अय्यु. ६:२, ३; हब. १:१-३) यस्तो भावना आउनु स्वाभाविकै हो। तर हामीले सोचविचार गरेर कदम चाल्नुपर्छ। त्यसो गऱ्‍यौँ भने हामी गलत कदम चाल्नदेखि जोगिनेछौँ।

६. अब्सालोमको उदाहरणबाट हामी के सिक्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

कसैले हामी वा हामीले माया गर्ने व्यक्‍तिसित अन्यायपूर्ण व्यवहार गर्दा हामीलाई बदला लिऊँ जस्तो लाग्न सक्छ। तर त्यसो गर्दा अवस्था झनै बिग्रन सक्छ। राजा दाउदका छोरा अब्सालोमको उदाहरण विचार गरौँ। तिनका सौतेनी दाइ अम्नोनले तिनकी बहिनी तामारको बलात्कार गर्दा तिनी रिसले आगो भए। मोसाको व्यवस्थाअनुसार अम्नोन मृत्युदण्ड पाउन लायकका थिए। (लेवी २०:१७) हुनत अब्सालोम रिसाउनु स्वाभाविकै थियो। तर तिनले त्यो मामिलालाई आफ्नो हातमा लिएर अम्नोनको हत्या गर्नु भने गलत थियो।—२ समु. १३:२०-२३, २८, २९.

आफ्नी बहिनी तामारमाथि अन्याय हुँदा अब्सालोमले आफ्नो रिसलाई वशमा राखेनन्‌ (अनुच्छेद ६ हेर्नुहोस्‌)


७. मानिसहरूले अन्याय भोगेको देख्दा एक जना भजनरचयिताले कस्तो महसुस गरे?

अन्याय-अत्याचार गर्ने मानिसहरूले सजाय नपाएको देख्दा हामीलाई जे सही छ, त्यही गरिरहनुमा कुनै फाइदा छैन जस्तो लाग्न सक्छ। असल मानिसहरूले अन्याय-अत्याचार भोग्नुपरेको तर दुष्टहरूको भने फलिफाप भएको देख्दा एक जना भजनरचयिताले कस्तो महसुस गरे, विचार गरौँ। तिनले यसो भने: “ती दुष्टहरूले सबै कुरा सजिलै पाउँछन्‌।” (भज. ७३:१२) मानिसहरूमाथि अन्याय-अत्याचार भइरहेको देख्दा तिनी असाध्यै निराश भए र यहोवाको सेवा गरिरहनुमा कुनै फाइदा छैन जस्तो तिनलाई लाग्यो। तिनले यसो भने: “मैले यी कुरा बुझ्न खोज्दा म व्याकुल भएँ।” (भज. ७३:१४, १६) तिनले अझै यसो पनि भने: “मेरा खुट्टाहरूले बाटो बिराउनै लागेका थिए; मेरा पाइलाहरू झन्डै चिप्लेका थिए।” (भज. ७३:२) अल्बर्टो भाइले पनि ती भजनरचयिताले जस्तै महसुस गरे।

८. अन्यायको सिकार भएपछि एक जना भाइ कस्तो अवस्थामा पुगे?

अल्बर्टोलाई मण्डलीको पैसा चोरी गरेको झूटो आरोप लगाइयो। त्यसले गर्दा तिनले एल्डरको जिम्मेवारी गुमाए र त्यस्तो आरोपबारे थाह पाउने भाइबहिनीले तिनलाई आदर गर्न छोडे। तिनी भन्छन्‌: “मेरो असाध्यै चित्त दुख्यो, रिस पनि उठ्यो। म असाध्यै निराश भएँ।” यस्ता नकारात्मक भावनाहरूमा डुबेकाले यहोवासितको तिनको सम्बन्ध कमजोर भयो। तिनी पाँच वर्षसम्म निष्क्रिय भए। अन्यायको सिकार हुँदा हामीले आफ्नो रिसलाई वशमा राखेनौँ भने के हुन सक्छ भनेर यस अनुभवले देखाउँछ।

अन्याय भोग्नुपर्दा येसुले जस्तै गर्नुहोस्‌

९. येसुले कस्तो अन्याय-अत्याचार सहनुभयो? (चित्र पनि हेर्नुहोस्‌।)

अन्याय सहने सन्दर्भमा येसुले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। उहाँले आफ्नो परिवार अनि अरू मानिसहरूबाट अन्यायपूर्ण व्यवहार भोग्नुभयो। उहाँका नातेदारहरूले उहाँको दिमाग खुस्केको छ भने। धर्मगुरुहरूले उहाँलाई प्रेतहरूबाट शक्‍ति पाएर चमत्कारहरू गरेको आरोप लगाए। रोमी सिपाहीहरूले उहाँको गिल्ला गरे, शारीरिक दुर्व्यवहार गरे र अन्तमा मारे। (मर्कु. ३:२१, २२; १४:५५; १५:१६-२०, ३५-३७) तर येसुले सबै अन्याय-अत्याचार सहनुभयो, उहाँले कुनै प्रतिकार गर्नुभएन। उहाँको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

अन्याय भोग्नुपर्दा कस्तो प्रतिक्रिया देखाउनुपर्छ भन्‍ने सन्दर्भमा येसुले उत्कृष्ट उदाहरण बसाल्नुभयो (अनुच्छेद ९-१० हेर्नुहोस्‌)


१०. अन्याय भोग्नुपर्दा येसुले के गर्नुभयो? (१ पत्रुस २:२१-२३)

१० पहिलो पत्रुस २:२१-२३ पढ्‌नुहोस्‌। a अन्याय भोग्नुपर्दा कस्तो प्रतिक्रिया देखाउनुपर्छ भन्‍ने सन्दर्भमा येसुले उत्कृष्ट उदाहरण बसाल्नुभयो। उहाँलाई कहिले चुप लागेर बस्ने अनि कहिले बोल्ने भनेर थाह थियो। (मत्ति २६:६२-६४) मानिसहरूले लगाएको एक-एक आरोपको उहाँले खण्डन गर्नुभएन। (मत्ति ११:१९) तर बोल्नै पर्ने अवस्थामा समेत उहाँले विरोधीहरूको बेइज्जत गर्नुभएन न त तिनीहरूलाई धम्काउनुभयो। येसुले आत्मसंयम देखाउनुभयो किनकि उहाँले “सही न्याय गर्न सक्नुहुनेको हातमा आफूलाई सुम्पनुभयो।” येसुलाई आफूले भोगिरहेको अन्याय यहोवाले देखिरहनुभएको छ भनेर थाह थियो। यहोवाले ठीक समयमा न्याय गर्नुहुनेछ भन्‍ने कुरामा उहाँ विश्‍वस्त हुनुहुन्थ्यो।

११. हामी कसरी आफ्नो बोलीमा लगाम लगाउन सक्छौँ? (चित्रहरू पनि हेर्नुहोस्‌।)

११ अन्यायपूर्ण व्यवहार भोग्नुपर्दा हामीले आफ्नो बोलीमा लगाम लगाएर येसुको अनुकरण गर्न सक्छौँ। सानोतिनो किसिमको अन्याय भोग्नुपर्दा त्यसबारे केही बोलिराख्नु आवश्‍यक नपर्न सक्छ। अथवा समस्यालाई चर्किन नदिन हामी चुप लागेर बस्ने निर्णय गर्न सक्छौँ। (उप. ३:७; याकु. १:१९, २०) अर्कोतर्फ अन्यायपूर्ण व्यवहार भएको देख्दा वा सत्यको पक्षमा खडा हुनुपर्दा हामीले बोल्नुपर्ने हुन्छ। (प्रेषि. ६:१, २) त्यस्तो बेला हामीले नझर्कीकन अनि आदरपूर्वक बोल्ने कोसिस गर्नुपर्छ।—१ पत्रु. ३:१५. b

अन्याय भोग्नुपर्दा कहिले र कसरी बोल्ने भन्‍ने सन्दर्भमा येसुले जस्तै सोचविचार गरेर निर्णय गर्न सक्छौँ (अनुच्छेद ११-१२ हेर्नुहोस्‌)


१२. हामी कसरी आफूलाई “सही न्याय गर्न सक्नुहुनेको” हातमा सुम्पन सक्छौँ?

१२ हामी “सही न्याय गर्न सक्नुहुनेको” हातमा आफूलाई सुम्पेर येसुको अनुकरण गर्न सक्छौँ। अरूले हामीप्रति गलत धारणा राख्दा वा दुर्व्यवहार गर्दा हामी तुरुन्तै प्रतिकार गरिहाल्दैनौँ। बरु यहोवालाई सत्य कुरा थाह छ भन्‍ने कुरामा भरोसा गर्छौँ। यस्तो भरोसाले हामीलाई अन्याय सहन मदत गर्न सक्छ। किनकि यहोवाले ठीक समयमा न्याय गर्नुहुनेछ भनेर हामीलाई थाह छ। यस्ता मामिलाहरूलाई यहोवाको हातमा छोडिदियौँ भने हामी मनमा रिस पालिराख्नदेखि जोगिन सक्छौँ। हामीले मनमा रिस पालिराख्यौँ भने गलत कदम चाल्ने हदसम्म पुग्न सक्छौँ। हाम्रो आनन्द गुम्न सक्छ र यहोवासितको सम्बन्ध पनि बिग्रन सक्छ।—भज. ३७:८.

१३. हामीलाई अन्याय सहन केले मदत गर्न सक्छ?

१३ हामी येसुको पाइला कहिल्यै हुबहु पछ्याउन सक्दैनौँ। हामी त्रुटिपूर्ण भएकोले कहिलेकाहीँ यस्तो कुरा भन्छौँ वा गर्छौँ, जसले गर्दा हामी पछि पछुताउनुपर्ने हुन्छ। (याकु. ३:२) अनि कुनै-कुनै अन्यायले गर्दा हामीलाई भावनात्मक अनि शारीरिक रूपमा यत्ति धेरै पीडा हुन्छ कि त्यसले हामीलाई जिन्दगीभर सताउन सक्छ। यदि तपाईँले पनि अन्याय भोग्नुपरेको छ भने यहोवा तपाईँको भावना बुझ्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। येसु पनि तपाईँको भावना राम्ररी बुझ्नुहुन्छ किनकि उहाँ आफैले पनि अन्याय भोग्नुभएको थियो। (हिब्रू ४:१५, १६) हामीलाई अन्याय सहन मदत गर्न यहोवाले बाइबलमा येसुको उत्कृष्ट उदाहरणका साथै व्यावहारिक सल्लाहहरू पनि लेख्न लगाउनुभएको छ। आउनुहोस्‌, रोमीको किताबका दुई वटा पदबारे छलफल गरौँ।

“परमेश्‍वरको क्रोधलाई ठाउँ देओ”

१४. ‘परमेश्‍वरको क्रोधलाई ठाउँ दिनु’ भनेको के हो? (रोमी १२:१९)

१४ रोमी १२:१९ पढ्‌नुहोस्‌। प्रेषित पावलले ख्रिष्टियनहरूलाई “परमेश्‍वरको क्रोधलाई ठाउँ देओ” भनेर आग्रह गरे। परमेश्‍वरको क्रोधलाई ठाउँ दिनु भनेको उहाँले आफ्नो समयमा अनि आफ्नै तरिकाले न्याय गर्नुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुनु हो। जोन भाइले अन्यायपूर्ण व्यवहार भोगेपछि यसो भने: “मलाई बदला लिइहालूँ जस्तो लागेको थियो। मलाई आफ्नो रिसलाई काबूमा राख्न निकै गाह्रो भयो। तर रोमी १२:१९ ले धैर्य गर्न र यहोवामाथि भरोसा राख्न मदत गऱ्‍यो।”

१५. यहोवामाथि भरोसा राख्नु किन राम्रो हो?

१५ यहोवाले ठीक समयमा न्याय गर्नुहुनेछ भन्‍ने कुरामा हामीले भरोसा राख्नुपर्छ। यसो गऱ्‍यौँ भने आफ्नै तरिकामा समस्या सुल्झाउन खोज्दा हुने अचाक्ली तनाव र निराशाबाट जोगिन सक्नेछौँ। यहोवाले हामीलाई मदत गर्ने प्रतिज्ञा गर्नुभएको छ। उहाँले मानौँ हामीलाई यसो भनिरहनुभएको छ, ‘चिन्ता नगर, म सबै कुरा सम्हाल्नेछु।’ यदि हामीले “म साटो फेर्नेछु” भन्‍ने यहोवाको प्रतिज्ञामा भरोसा गऱ्‍यौँ भने हामीले त्यो मामिलालाई यहोवाको हातमा छोड्‌न सक्नेछौँ र यहोवाले त्यो मामिलालाई सबैभन्दा राम्रो तरिकामा सम्हाल्नुहुनेछ भनेर ढुक्क हुन सक्नेछौँ। जोनलाई यही कुराले मदत गऱ्‍यो। तिनले यसो भने: “मैले केवल यहोवामा भरोसा राख्नुपर्छ। उहाँले मैलेभन्दा कता हो कता राम्रो तरिकामा समस्या समाधान गर्नुहुनेछ।”

“खराबीलाई भलाइले जितिरहो”

१६-१७. ‘खराबीलाई भलाइले जितिरहन’ प्रार्थनाले कसरी मदत गर्न सक्छ? (रोमी १२:२१)

१६ रोमी १२:२१ पढ्‌नुहोस्‌। पावलले ख्रिष्टियनहरूलाई “खराबीलाई भलाइले जितिरहो” भनेर पनि आग्रह गरे। येसुले डाँडाको उपदेशमा यसो भन्‍नुभयो: “आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो र तिमीहरूको खेदो गर्नेहरूका लागि प्रार्थना गरिरहो।” (मत्ति ५:४४) येसुले ठीक त्यसै गर्नुभयो। रोमी सिपाहीहरूले उहाँलाई खम्बामा कीला ठोकेर टाँग्दा उहाँलाई कत्ति पीडा भयो होला! त्यसरी अपमान र अन्याय सहनुपर्दा उहाँको मुटु कत्ति छियाछिया भयो होला!

१७ येसुले खराबीलाई भलाइले जित्नुभयो। उहाँले आफूलाई खम्बामा टाँग्ने सिपाहीहरूलाई सजाय दिनुहोस्‌ भनेर बिन्ती गर्नुभएन। बरु यसो भन्‍नुभयो: “हे बुबा, तिनीहरूलाई क्षमा गर्नुहोस्‌। किनकि तिनीहरू जे गर्दै छन्‌, त्यो तिनीहरू जान्दैनन्‌।” (लुका २३:३४) हामीले आफूलाई दुर्व्यवहार गर्नेहरूको लागि प्रार्थना गऱ्‍यौँ भने हाम्रो मनमा आएको रिस र द्वेष कम हुन सक्छ र तिनीहरूलाई हेर्ने हाम्रो दृष्टिकोणसमेत परिवर्तन हुन सक्छ।

१८. अल्बर्टो र जोनलाई अन्याय सहन प्रार्थनाले कसरी मदत गऱ्‍यो?

१८ अल्बर्टो र जोनलाई प्रार्थनाले अन्यायको सामना गर्न मदत गऱ्‍यो। अल्बर्टो भन्छन्‌: “मैले आफूलाई अन्यायपूर्ण व्यवहार गर्ने भाइहरूको लागि प्रार्थना गरेँ। मैले आफ्नो रिसलाई काबूमा राख्न सकूँ भनेर थुप्रै चोटि यहोवालाई प्रार्थना गरेँ।” अल्बर्टो अहिले खुसी हुँदै यहोवाको सेवा गर्दै छन्‌। जोन भन्छन्‌: “मैले आफ्नो चित्त दुखाउने भाइको लागि थुप्रै चोटि प्रार्थना गरेँ। ती प्रार्थनाहरूले मलाई ती भाइप्रति सकारात्मक दृष्टिकोण राख्न र क्षमा दिन मदत गऱ्‍यो। अनि मैले मनोशान्ति पनि पाएको छु।”

१९. यो दुष्ट युग रहुन्जेल हामीले के गर्नुपर्छ? (१ पत्रुस ३:८, ९)

१९ यो दुष्ट युग रहुन्जेल हामीले अन्यायहरू भोगिरहनुपर्नेछ। हामीले जस्तोसुकै अन्याय भोग्नुपरे तापनि मदतको लागि यहोवालाई प्रार्थना गर्न कहिल्यै नछोडौँ। अन्याय भोग्नुपर्दा येसुको अनुकरण गरौँ र बाइबलका सिद्धान्तहरू लागू गरिरहौँ। त्यसो गऱ्‍यौँ भने यहोवाले हामीलाई पक्कै आशिष्‌ दिनुहुनेछ।—१ पत्रुस ३:८, ९ पढ्‌नुहोस्‌।

गीत ३८ यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ

a प्रेषित पत्रुसले आफ्नो पहिलो पत्रको अध्याय २ र ३ मा प्रथम शताब्दीका केही ख्रिष्टियनहरूले कठोर मालिक वा विश्‍वासमा नभएका पतिबाट अन्यायपूर्ण व्यवहार सहनुपरेको अवस्थाहरूबारे बताएका छन्‌।—१ पत्रु. २:१८-२०; ३:१-६, ८, ९.

b jw.org मा प्रेमले साँचो शान्तितर्फ डोऱ्‍याउँछ भन्‍ने भिडियो हेर्नुहोस्‌।