सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४६

गीत ४९ यहोवाको मन खुसी राखौँ!

भाइहरू हो—के तपाईँ सहायक सेवकको रूपमा सेवा गर्न अघि बढ्‌दै हुनुहुन्छ?

भाइहरू हो—के तपाईँ सहायक सेवकको रूपमा सेवा गर्न अघि बढ्‌दै हुनुहुन्छ?

“लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”प्रेषि. २०:३५.

सिक्न सकिने कुरा

यस लेखमा बप्तिस्मा गरिसकेका भाइहरूलाई अघि बढ्‌न र सहायक सेवकको रूपमा सेवा गर्न योग्य हुन प्रोत्साहन दिइएको छ।

१. प्रेषित पावल सहायक सेवकहरूप्रति कस्तो महसुस गर्थे?

 सहायक सेवकहरूले मण्डलीमा महत्त्वपूर्ण कामहरू गर्छन्‌। प्रेषित पावल यी वफादार पुरुषहरूप्रति कृतज्ञ थिए। त्यसैले तिनले फिलिप्पीका ख्रिष्टियनहरूलाई लेखेको पत्रमा एल्डरहरूका साथै सहायक सेवकहरूलाई पनि तोकेरै अभिवादन गरे।—फिलि. १:१.

२. लुइस भाइलाई सहायक सेवक नियुक्‍त हुँदा कस्तो महसुस भयो?

चाहे जवान होऊन्‌ वा वृद्ध, बप्तिस्मा गरिसकेका थुप्रै भाइहरू सहायक सेवकको रूपमा सेवा गर्न पाउँदा निकै खुसी छन्‌। जस्तै: डेभान भाइ १८ वर्षको उमेरमै सहायक सेवक नियुक्‍त भएका थिए। अर्कोतर्फ लुइस भाइ भने सहायक सेवक नियुक्‍त हुँदा ५० वर्ष कटिसकेका थिए। तिनी यसो भन्छन्‌: “मण्डलीका भाइबहिनीले मलाई धेरै प्रेम देखाउनुभएको छ। अब सहायक सेवकको रूपमा आफूले पाएको जिम्मेवारी पूरा गर्दा म पनि उहाँहरूप्रति प्रेम देखाउन सक्छु। यस्तो सुअवसर पाएकोमा म साँच्चै कृतज्ञ छु!” थुप्रै सहायक सेवकहरू त्यस्तै महसुस गर्छन्‌।

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

भाइहरू हो, यदि तपाईँले बप्तिस्मा गरिसक्नुभएको छ तर सहायक सेवक नियुक्‍त हुनुभएको छैन भने के तपाईँ त्यसलाई आफ्नो लक्ष्य बनाउन सक्नुहुन्छ? तपाईँलाई त्यसो गर्न केले उत्प्रेरित गर्न सक्छ? अनि सहायक सेवक नियुक्‍त हुन तपाईँले के-कस्ता धर्मशास्त्रीय योग्यताहरू पूरा गर्नुपर्छ? यस लेखमा यी प्रश्‍नहरूबारे विचार गर्नेछौँ। तर सुरुमा सहायक सेवकहरूले के-कस्ता जिम्मेवारीहरू पूरा गर्नुपर्छ, त्यसबारे छलफल गर्नेछौँ।

सहायक सेवकहरूले के-कस्ता जिम्मेवारीहरू पूरा गर्नुपर्छ?

४. सहायक सेवकहरूले के-कस्ता जिम्मेवारीहरू पूरा गर्नुपर्छ? (चित्र पनि हेर्नुहोस्‌।)

बप्तिस्मा गरिसकेका यस्ता भाइहरूलाई सहायक सेवक भनिन्छ, जो पवित्र शक्‍तिद्वारा नियुक्‍त भएका हुन्छन्‌ र जसले मण्डलीमा विभिन्‍न महत्त्वपूर्ण कामहरू गरेर एल्डरहरूलाई सघाउँछन्‌। केही सहायक सेवकहरूले मण्डलीका प्रकाशकहरूलाई साहित्य बाँड्‌ने र इलाका दिने काम गर्छन्‌। अरू कतिपयले भने सभाभवन सरसफाइ र मर्मतसम्भारको काम गर्छन्‌। सहायक सेवकहरूलाई परिचारकको रूपमा पनि खटाइन्छ र केहीले भने अडियो/भिडियोको काममा सघाउँछन्‌। सहायक सेवकहरूले गर्ने यी कामहरू निकै महत्त्वपूर्ण छन्‌। तर सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तिनीहरू यहोवालाई प्रेम गर्छन्‌ र उहाँलाई खुसी बनाउने तरिकामा जीवन बिताउँछन्‌। साथै तिनीहरू मण्डलीका भाइबहिनीहरूलाई पनि धेरै प्रेम गर्छन्‌। (मत्ति २२:३७-३९) त्यसोभए बप्तिस्मा गरिसकेका कुनै भाइ सहायक सेवक बन्‍न कसरी अघि बढ्‌न सक्छन्‌?

अरूको सेवा गरेर सहायक सेवकहरू येसुको अनुकरण गर्छन्‌ (अनुच्छेद ४ हेर्नुहोस्‌)


५. कुनै भाइ सहायक सेवक बन्‍न कसरी अघि बढ्‌न सक्छन्‌?

कुनै भाइले सहायक सेवक नियुक्‍त हुन के-कस्ता योग्यताहरू हासिल गरेको हुनुपर्छ भनेर बाइबलमा बताइएको छ। (१ तिमो. ३:८-१०, १२, १३) तपाईँ सहायक सेवक बन्‍न चाहनुहुन्छ भने बाइबलमा बताइएका ती योग्यताहरूबारे अध्ययन गर्नुहोस्‌ र ती हासिल गर्न कडा मेहनत गर्नुहोस्‌। तर सुरुमा तपाईँ किन सहायक सेवक बन्‍न चाहनुहुन्छ, त्यो केलाउनुपर्छ।

तपाईँ किन सहायक सेवक बन्‍न चाहनुहुन्छ?

६. भाइबहिनीलाई मदत गर्न तपाईँलाई केले उत्प्रेरित गर्नुपर्छ? (मत्ति २०:२८; चित्र पनि हेर्नुहोस्‌।)

हाम्रो लागि सबैभन्दा उत्कृष्ट उदाहरण बसाल्नुहुने येसु ख्रिष्टबारे विचार गरौँ। उहाँले जे-जति गर्नुभयो, ती सब आफ्नो बुबाप्रतिको र मानिसहरूप्रतिको प्रेमले उत्प्रेरित भएर गर्नुभयो। त्यही प्रेमले गर्दा उहाँले कडा मेहनत गर्नुभयो र सानोजस्तो देखिने काम गर्न पनि तयार हुनुभयो। (मत्ति २०:२८ पढ्‌नुहोस्‌; युह. १३:५, १४, १५) यदि तपाईँ पनि प्रेमले उत्प्रेरित हुनुभएको छ भने यहोवाले तपाईँलाई आशिष्‌ दिनुहुनेछ र सहायक सेवक बन्‍ने लक्ष्य हासिल गर्न मदत गर्नुहुनेछ।—१ कोरि. १६:१४; १ पत्रु. ५:५.

येसु चेलाहरूलाई ठूलो ओहदा खोज्न होइन बरु नम्र भई अरूको सेवा गर्न आफ्नै उदाहरणबाट सिकाउँदै हुनुहुन्छ (अनुच्छेद ६ हेर्नुहोस्‌)


७. अरूबाट प्रशंसा पाउनकै लागि सहायक सेवक बन्‍न खोज्नु किन उचित होइन?

संसारमा अरूलाई पछि पारेर आफू अघि बढ्‌न खोज्ने व्यक्‍तिहरूको नै प्रायजसो प्रशंसा भइरहेको देखिन्छ। तर यहोवाको सङ्‌गठनमा भने कुरा फरक छ। येसुजस्तै प्रेमले उत्प्रेरित हुने भाइहरू शक्‍ति वा ओहदा पाउन अनि अरूमाथि अख्तियार जमाउन खोज्दैनन्‌। त्यस्ता महत्त्वाकाङ्‌क्षी व्यक्‍तिहरू मण्डलीमा नियुक्‍त भए भने अवस्था कस्तो हुन्थ्यो होला, कल्पना गर्नुहोस्‌ त! तिनीहरू सानोजस्तो देखिने कामहरू गर्न चाहँदैन थिए होलान्‌, जसले गर्दा यहोवाका अनमोल भेडाहरूले राम्रो हेरचाह पाउने थिएनन्‌। (युह. १०:१२) यहोवाले त्यस्ता घमन्डी अनि स्वार्थी व्यक्‍तिहरूलाई आशिष्‌ दिनुहुन्‍न।—१ कोरि. १०:२४, ३३; १३:४, ५.

८. येसुले आफ्ना चेलाहरूलाई कस्तो सल्लाह दिनुभयो?

कहिलेकाहीँ येसुका घनिष्ठ साथीहरूले जिम्मेवारीहरू पाउन खोजे तर तिनीहरूको मनसाय उचित थिएन। येसुका दुई जना प्रेषित याकुब र युहन्‍नाबारे विचार गरौँ। तिनीहरूले येसुसित उहाँको राज्यमा महत्त्वपूर्ण स्थान मागे। त्यस्तो चाहना राख्नु उचित होइन भनेर येसुले तिनीहरूलाई कसरी सम्झाउनुभयो? उहाँले बाह्रै जना प्रेषितलाई यसो भन्‍नुभयो: “तिमीहरूमाझ जो ठूलो हुन चाहन्छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ। अनि तिमीहरूमाझ जो पहिलो हुन चाहन्छ, ऊ सबैको दास हुनुपर्छ।” (मर्कु. १०:३५-३७, ४३, ४४) उचित मनसाय अर्थात्‌ अरूको सेवा गर्ने मनसाय राखेर अघि बढिरहेका भाइहरू मण्डलीको लागि आशिष्‌ हुन्‌।—१ थिस्स. २:८.

तपाईँ अघि बढ्‌ने इच्छा कसरी जगाउन सक्नुहुन्छ?

९. तपाईँ अघि बढ्‌ने इच्छा कसरी जगाउन सक्नुहुन्छ?

तपाईँ पक्कै पनि यहोवालाई प्रेम गर्नुहुन्छ र अरूको सेवा गर्न चाहनुहुन्छ। तर तपाईँमा सहायक सेवकहरूले गर्नुपर्ने कामहरू गर्ने इच्छा नहुन सक्छ। तपाईँ कसरी त्यस्तो इच्छा जगाउन सक्नुहुन्छ? भाइबहिनीको सेवा गर्दा पाइने आनन्दबारे सोच्नुभए कसो होला? येसुले यसो भन्‍नुभयो: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।” (प्रेषि. २०:३५) उहाँ यही सिद्धान्तअनुसार चल्नुभयो। अरूको सेवा गर्दा उहाँले साँचो आनन्द पाउनुभयो र तपाईँ पनि त्यस्तै आनन्द पाउन सक्नुहुन्छ।

१०. अरूको सेवा गर्न पाउँदा येसु खुसी हुनुहुन्थ्यो भनेर हामी किन भन्‍न सक्छौँ? (मर्कुस ६:३१-३४)

१० अरूको सेवा गर्न पाउँदा येसुलाई खुसी लाग्थ्यो। एउटा उदाहरण विचार गरौँ। (मर्कुस ६:३१-३४ पढ्‌नुहोस्‌।) एकचोटि येसु र उहाँका प्रेषितहरू असाध्यै थाक्नुभएको थियो। त्यसैले उहाँहरू एकान्तमा गएर केहीबेर आराम गर्न चाहनुहुन्थ्यो। तर येसुबाट सिक्ने आशा राख्दै एउटा ठूलो जमात उहाँहरूभन्दा अघि नै त्यस ठाउँमा पुग्यो। उहाँ र उहाँका प्रेषितहरूले “खाने फुर्सतसमेत पाउनुभएको थिएन।” त्यसैले उहाँले तिनीहरूलाई नसिकाउने छनौट गर्न सक्नुहुन्थ्यो। अथवा एउटा वा दुइटा कुरा मात्र सिकाएर पठाइदिन पनि सक्नुहुन्थ्यो। तर प्रेमले उत्प्रेरित हुनुभएकोले “उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्नुभयो।” अनि “दिन ढल्न लागिसकेको” भए तापनि उहाँले तिनीहरूलाई सिकाइरहनुभयो। (मर्कु. ६:३५) उहाँले कर्तव्यबोधले त्यसो गर्नुभएको थिएन। बरु तिनीहरूलाई ‘देखेर टिठाउनुभएकोले’ सिकाउनुभएको थियो। उहाँ तिनीहरूलाई सिकाउन चाहनुहुन्थ्यो किनभने उहाँ तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो। अरूको सेवा गर्दा येसु निकै आनन्दित हुनुभयो।

११. येसुले आफ्ना श्रोताहरूलाई कस्तो व्यावहारिक मदत दिनुभयो? (चित्र पनि हेर्नुहोस्‌।)

११ येसुले मानिसहरूलाई परमेश्‍वरबारे सिकाउनुभयो। त्यति मात्र होइन उहाँले तिनीहरूका भौतिक आवश्‍यकताहरू पनि पूरा गरिदिनुभयो। जस्तै: उहाँले तिनीहरूको लागि चमत्कारपूर्ण ढङ्‌गमा खानेकुराको प्रबन्ध गरिदिनुभयो र खानेकुरा बाँड्‌ने काम भने चेलाहरूलाई दिनुभयो। (मर्कु. ६:४१) यसरी उहाँले चेलाहरूलाई अरूको सेवा गर्नु एकदमै महत्त्वपूर्ण छ भनेर सिकाउनुभयो। अहिले सहायक सेवकहरूले पनि अरूको लागि विभिन्‍न कामहरू गर्छन्‌। यसरी खानेकुरा बाँड्‌ने काममा भाग लिँदा र ‘सबैले पेटभरि खाएर’ तृप्त भएको देख्दा प्रेषितहरू कत्ति आनन्दित भए होलान्‌, कल्पना गर्नुहोस्‌ त! (मर्कु. ६:४२) येसुले आफ्नो भन्दा अरूको हित हुने कुरालाई प्राथमिकता दिनुभएको अरू घटनाहरू पनि बाइबलमा रेकर्ड गरिएको छ। उहाँ पृथ्वीमा रहुन्जेल मानिसहरूको सेवा गर्नुभयो। (मत्ति ४:२३; ८:१६) अरूलाई सिकाउँदा र अरूका आवश्‍यकताहरू पूरा गर्दा येसुले आनन्द र सन्तुष्टि महसुस गर्नुभयो। तपाईँले पनि कुनै स्वार्थ नराखी सहायक सेवक बन्‍न अघि बढ्‌नुहुँदा पक्कै त्यस्तै आनन्द महसुस गर्नुहुनेछ।

यहोवाप्रतिको प्रेम र भाइबहिनीको सेवा गर्ने इच्छुकताले तपाईँलाई मण्डलीमा सक्दो गर्न उत्प्रेरित गर्नेछ (अनुच्छेद ११ हेर्नुहोस्‌) a


१२. हामीले आफूसित कुनै क्षमता छैन भनेर किन सोच्नु हुँदैन?

१२ यदि तपाईँलाई आफूसित कुनै विशेष क्षमता छैन जस्तो लाग्छ भने पनि निराश नहुनुहोस्‌। मण्डलीका भाइबहिनीलाई मदत गर्नको लागि तपाईँसँग कुनै न कुनै राम्रो गुण त पक्कै छ। पावलले पहिलो कोरिन्थी १२:१२-३० मा भनेका कुराहरू सोच्नुहोस्‌। ती कुराहरू तपाईँ कसरी लागू गर्न सक्नुहुन्छ भनेर प्रार्थनापूर्वक विचार गर्नुहोस्‌। पावलका शब्दहरूबाट मण्डलीमा तपाईँको पनि महत्त्वपूर्ण स्थान छ र तपाईँ बहुमूल्य हुनुहुन्छ भनेर स्पष्ट हुन्छ। यदि तपाईँ अहिले सहायक सेवक नियुक्‍त हुनुभएन भने पनि हरेस नखानुहोस्‌। बरु यहोवाको सेवा गर्न र भाइबहिनीलाई मदत गर्न आफ्नो तर्फबाट सकेजति गर्नुहोस्‌। एल्डरहरूले तपाईँलाई तपाईँको क्षमताअनुसारको जिम्मेवारीहरू दिनेछन्‌ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।—रोमी १२:४-८.

१३. सहायक सेवकहरूले हासिल गर्नुपर्ने धेरैजसो योग्यताहरूबारे हामी के भन्‍न सक्छौँ?

१३ यसबारे पनि सोच्नुहोस्‌: सहायक सेवकहरूले विकास गर्नुपर्ने धेरैजसो गुणहरू हामी सबै ख्रिष्टियनहरूसँग हुनुपर्ने गुणहरू नै हुन्‌। सबै ख्रिष्टियनहरू यहोवासित घनिष्ठ हुनुपर्छ। तिनीहरूले दिँदा पाइने आनन्द अनुभव गर्नुपर्छ र यहोवालाई खुसी बनाउने तरिकामा जीवन बिताउनुपर्छ। त्यसैले सायद तपाईँले सहायक सेवक हुनको लागि आवश्‍यक पर्ने धेरैजसो गुणहरू विकास गरिसक्नुभयो होला। तर अघि बढ्‌न तपाईँ अझै के गर्न सक्नुहुन्छ?

तपाईँ कसरी अघि बढ्‌न सक्नुहुन्छ?

१४. “गम्भीर” हुनुको अर्थ के हो? (१ तिमोथि ३:८-१०, १२)

१४ अब हामी पहिलो तिमोथि ३:८-१०, १२ मा बताइएका केही योग्यताहरूबारे विचार गरौँ। (पढ्‌नुहोस्‌।) सहायक सेवकहरू “गम्भीर” हुनुपर्छ। यो अभिव्यक्‍तिलाई “आदर वा सम्मान पाउन योग्य” वा “जिम्मेवार व्यक्‍ति” भनेर पनि अनुवाद गर्न सकिन्छ। यसको मतलब तपाईँ कहिल्यै हाँस्नै हुँदैन वा हँसीमजाक गर्नै हुँदैन भन्‍ने होइन। (उप. ३:१, ४) बरु तपाईँले आफ्ना जिम्मेवारीहरूलाई गम्भीरतासाथ लिनुपर्छ। यदि तपाईँले राम्ररी काम पूरा गर्ने र भरोसायोग्य व्यक्‍तिको रूपमा नाम कमाउनुभएको छ भने मण्डलीका भाइबहिनीहरूले तपाईँको आदर गर्नेछन्‌।

१५. “दुईजिब्रे हुनु हुँदैन” र “बेइमानीद्वारा केही पाउने लोभ गर्नु हुँदैन” भन्‍नुको अर्थ के हो?

१५ “दुईजिब्रे हुनु हुँदैन” भन्‍नुको मतलब तपाईँ इमानदार र भरोसायोग्य हुनुपर्छ। तपाईँले आफ्नो ‘हुन्छ’-लाई ‘हुन्छ’ बनाउनुपर्छ र झूट बोल्नु हुँदैन। (हितो. ३:३२) “बेइमानीद्वारा केही पाउने लोभ गर्नु हुँदैन” भन्‍नुको मतलब तपाईँ व्यापारिक कारोबारहरूमा र लेनदेनको कुरामा इमानदार हुनुपर्छ। तपाईँले पैसा कमाउनको लागि आफ्ना भाइबहिनीको नाजायज फाइदा उठाउनु हुँदैन।

१६. (क) “धेरै मद्यपान गर्नु हुँदैन” भन्‍नुको अर्थ के हो? (ख) “सफा अन्तस्करण” हुनुपर्छ भन्‍नुको अर्थ के हो?

१६ “धेरै मद्यपान गर्नु हुँदैन” भन्‍नुको मतलब तपाईँले धेरै रक्सी पिउनु हुँदैन अनि तपाईँ पियक्कड भनेर चिनिनु हुँदैन। “सफा अन्तस्करण” हुनुपर्छ भन्‍नुको मतलब तपाईँले यहोवाको स्तरअनुसार जीवन बिताउनुपर्छ। हुनत तपाईँ त्रुटिरहित हुनुहुन्‍न तर तपाईँ परमेश्‍वरसित सुमधुर सम्बन्ध गाँस्न सक्नुहुन्छ र त्यस्तो सम्बन्धबाट मनोशान्ति पाउन सक्नुहुन्छ।

१७. ‘योग्यता जाँचिँदा’ कुनै भाइले आफू भरोसायोग्य भएको कसरी देखाउन सक्छन्‌? (१ तिमोथि ३:१०; चित्र पनि हेर्नुहोस्‌।)

१७ तपाईँको ‘योग्यता जाँचिएको हुनुपर्छ’ भन्‍नुको मतलब तपाईँले आफू जिम्मेवारी वहन गर्न सक्ने र भरोसायोग्य हुनुहुन्छ भनेर देखाइसकेको हुनुपर्छ। त्यसैले एल्डरहरूबाट कुनै असाइनमेन्ट पाउँदा तिनीहरूले र सङ्‌गठनले दिएका निर्देशनहरू होसियारीसाथ पछ्याउनुहोस्‌। त्यो जिम्मेवारीमा के-कस्ता कुराहरू समावेश छन्‌ र त्यो कहिले पूरा गर्नुपर्छ भनेर राम्रोसँग बुझ्नुहोस्‌। यसरी आफूले पाएको प्रत्येक जिम्मेवारी राम्रोसँग पूरा गर्दा मण्डलीका भाइबहिनीले त्यो कुरा याद गर्नेछन्‌ र तपाईँको प्रशंसा गर्नेछन्‌। एल्डरहरू हो, बप्तिस्मा गरिसकेका भाइहरूलाई तालिम दिनुहोस्‌। (१ तिमोथि ३:१० पढ्‌नुहोस्‌।) के तपाईँको मण्डलीमा १० देखि १४ वर्षका वा त्योभन्दा कम उमेरका बप्तिस्मा गरिसकेका भाइहरू छन्‌? के तिनीहरूले व्यक्‍तिगत अध्ययन गर्ने सन्दर्भमा राम्रो बानी बसालेका छन्‌? के तिनीहरू नियमित रूपमा सभाहरूमा टिप्पणी दिन्छन्‌ र साक्षीकार्यमा भाग लिन्छन्‌? यदि त्यसो हो भने तिनीहरूलाई तिनीहरूको उमेर र अवस्था सुहाउँदो जिम्मेवारीहरू दिनुहोस्‌। यसरी यी जवान भाइहरूको ‘योग्यता जाँच्न’ सकिन्छ। अनि तिनीहरू १७ देखि १९ वर्षको हुँदासम्ममा सहायक सेवक बन्‍न योग्य हुन सक्छन्‌।

बप्तिस्मा गरिसकेका भाइहरूलाई जिम्मेवारीहरू दिएर एल्डरहरूले तिनीहरूको ‘योग्यता जाँच्न’ सक्छन्‌ (अनुच्छेद १७ हेर्नुहोस्‌)


१८. “दोषरहित” हुनुको अर्थ के हो?

१८ “दोषरहित” हुनुको अर्थ तपाईँमाथि कुनै गम्भीर गलत काम गरेको आरोप लागेको हुनु हुँदैन। हुनत हो ख्रिष्टियनहरूमाथि झूटो आरोप लाग्न सक्छ। येसुलाई पनि मानिसहरूले झूटो आरोप लगाएका थिए र उहाँका चेलाहरूमाथि त्यस्तै आरोप लाग्नेछ भनेर उहाँले भविष्यवाणी गर्नुभएको थियो। (युह. १५:२०) तर येसुले जस्तै तपाईँले स्वच्छ आचरण कायम राख्नुभयो भने मण्डलीमा राम्रो नाम कमाउन सक्नुहुन्छ।—मत्ति ११:१९.

१९. “एकै जना स्त्रीको पति” हुनु भनेको के हो?

१९ “एकै जना स्त्रीको पति” हुनुपर्छ। यहोवाले सुरुमा एक पुरुष र एक स्त्रीबीच विवाह गराइदिनुभयो। सबै ख्रिष्टियनहरू यहोवाको यही स्तरअनुसार चलेको उहाँ चाहनुहुन्छ। (मत्ति १९:३-९) ख्रिष्टियन पुरुषले कहिल्यै अवैध यौनसम्बन्ध राख्नु हुँदैन। (हिब्रू १३:४) त्यति मात्र होइन, तपाईँ आफ्नी पत्नीप्रति वफादार हुनुपर्छ अनि तपाईँले अरू स्त्रीहरूप्रति रोमान्टिक चासो कहिल्यै देखाउनु हुँदैन।—अय्यु. ३१:१.

२०. कुनै पुरुषले कसरी आफ्नो घरपरिवारको ‘राम्ररी अगुवाइ लिन’ सक्छन्‌?

२० ‘आफ्ना छोराछोरी र घरपरिवारको राम्ररी अगुवाइ लिनुपर्छ।’ यदि तपाईँ परिवारको शिर हुनुहुन्छ भने तपाईँले आफ्ना जिम्मेवारीहरूलाई गम्भीरतासाथ लिनुपर्छ। नियमित रूपमा पारिवारिक उपासना गर्नुहोस्‌। परिवारको प्रत्येक सदस्यसित नियमित रूपमा साक्षीकार्यमा भाग लिन सक्दो गर्नुहोस्‌। आफ्ना छोराछोरीलाई यहोवासित व्यक्‍तिगत सम्बन्ध गाँस्न मदत गर्नुहोस्‌। (एफि. ६:४) आफ्नो घरपरिवारको राम्ररी हेरचाह गर्ने पुरुषले आफू मण्डलीको हेरचाह गर्न पनि योग्य छु भनेर देखाइरहेका हुन्छन्‌।—१ तिमोथि ३:५ तुलना गर्नुहोस्‌।

२१. तपाईँ सहायक सेवक हुनुभएको छैन भने के गर्न सक्नुहुन्छ?

२१ भाइहरू हो, यदि तपाईँ सहायक सेवक हुनुभएको छैन भने यस लेखमा दिइएको विषयवस्तु प्रार्थनापूर्वक विचार गर्नुहोस्‌। सहायक सेवकहरूले हासिल गर्नुपर्ने योग्यताबारे अध्ययन गर्नुहोस्‌ र ती योग्यताहरू हासिल गर्न कडा मेहनत गर्नुहोस्‌। यहोवा र भाइबहिनीप्रतिको प्रेम बढाउँदै लैजानुहोस्‌ र उहाँहरूको सेवा गर्ने आफ्नो इच्छालाई अझ बलियो बनाउनुहोस्‌। (१ पत्रु. ४:८, १०) सहायक सेवक बन्‍न अघि बढिरहनुहोस्‌ र आफ्नो आध्यात्मिक परिवारको सेवा गर्दा पाइने आनन्द अनुभव गर्नुहोस्‌। सहायक सेवक बन्‍न तपाईँले गर्नुहुने प्रयासमा यहोवाले प्रशस्तै आशिष्‌ देऊन्‌!—फिलि. २:१३.

गीत १७ “म इच्छा गर्छु”

a चित्रको व्याख्या: बायाँपट्टिको चित्रमा येसु अरूको सेवा गर्दै हुनुहुन्छ; दायाँपट्टिको चित्रमा एक जना सहायक सेवक एक पाको दाइलाई सभा जान मदत गर्दै छन्‌।