सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४५

गीत १३८ फुलेको केश—शोभाको मुकुट

वफादार पुरुषहरूले भनेका अन्तिम शब्दहरूबाट पाठ सिक्नुहोस्‌

वफादार पुरुषहरूले भनेका अन्तिम शब्दहरूबाट पाठ सिक्नुहोस्‌

“के उमेर ढल्किसकेका मानिससित बुद्धि हुँदैन र? अनि बूढापाका समझदार हुँदैनन्‌ र?”अय्यु. १२:१२.

सिक्न सकिने कुरा

यहोवाप्रति आज्ञाकारी हुँदा अहिले थुप्रै आशिष्‌हरू पाउँछौँ र भविष्यमा अनन्त जीवन पाउनेछौँ।

१. हामीले पाका व्यक्‍तिहरूबाट किन सिक्नुपर्छ?

 जीवनमा महत्त्वपूर्ण निर्णयहरू गर्न हामी सबैलाई डोऱ्‍याइ चाहिन्छ। हामी त्यस्तो डोऱ्‍याइ एल्डर र अरू परिपक्व भाइबहिनीबाट पाउन सक्छौँ। तिनीहरू हामीभन्दा उमेरमा धेरै पाका छन्‌ भने तिनीहरूले दिएको सल्लाह अहिले काम लाग्दैन भन्‍ने सोचाइ राख्नु हुँदैन। ती पाका व्यक्‍तिहरूबाट हामीले सिकेको यहोवा चाहनुहुन्छ किनभने तिनीहरूले जीवनमा धेरै कुरा भोगिसकेका छन्‌ र हामीभन्दा समझदार र बुद्धिमान्‌ छन्‌।—अय्यु. १२:१२.

२. यस लेखमा हामी के छलफल गर्नेछौँ?

पुरातन समयमा यहोवाले आफ्ना जनहरूलाई प्रोत्साहन दिन र डोऱ्‍याउन पाका व्यक्‍तिहरूलाई चलाउनुभयो। जस्तै: मोसा, दाउद र प्रेषित युहन्‍ना। तिनीहरू फरक-फरक समयका मानिसहरू थिए र तिनीहरूको अवस्था पनि निकै फरक थियो। आफ्नो जीवनको अन्तिम घडीतिर आइपुग्दा तिनीहरूले आफूभन्दा कम उमेरकाहरूलाई बुद्धिमानी सल्लाह दिए। ती वफादार पुरुषहरूले यहोवाप्रति आज्ञाकारी हुनु एकदमै महत्त्वपूर्ण छ भन्‍ने कुरालाई जोड दिए। तिनीहरूले दिएका सल्लाहहरू सबैका लागि उपयोगी छन्‌, चाहे हामी जवान होऔँ या वृद्ध। त्यसैले यहोवाले तिनीहरूले भनेका कुराहरू बाइबलमा लेख्न लगाउनुभयो। (रोमी १५:४; २ तिमो. ३:१६) यस लेखमा हामी ती तीन जना वफादार पुरुषहरूले भनेका अन्तिम शब्दहरूबारे छलफल गर्नेछौँ। अनि त्यसबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ, विचार गर्नेछौँ।

‘तिमीहरू लामो समयसम्म रहिरहनेछौ’

३. मोसाले के-के गरे?

मोसाले आफ्नो पूरै जीवन यहोवाको सेवामा बिताए। तिनी भविष्यवक्‍ता, न्यायकर्ता, नाइके र इतिहासकार थिए। तिनले आफ्नो जीवनमा थुप्रै अनुभव बटुले। तिनले इस्राएल राष्ट्रलाई मिश्रको दासत्वबाट छुटाए र यहोवाले गर्नुभएका थुप्रै चमत्कारहरू देखे। यहोवाले तिनलाई बाइबलका सुरुको पाँच वटा किताब र भजन अध्याय ९० लेख्न लगाउनुभयो। भजन अध्याय ९१ र अय्युबको किताब पनि तिनले नै लेखेका हुन सक्छन्‌।

४. मोसाले कसलाई प्रोत्साहन दिए र किन?

मोसाको मृत्यु हुँदा तिनी १२० वर्षका थिए। आफ्नो मृत्यु हुनुभन्दा अलिक अघि तिनले सबै इस्राएलीहरूलाई भेला गरेर तिनीहरूले देखेका र भोगेका कुराहरूबारे सम्झाए। तिनीहरूमध्ये कोही-कोहीले आफू जवान छँदा यहोवाले थुप्रै चमत्कारहरू गर्नुभएको र मिश्रीहरूलाई सजाय दिनुभएको देखेका थिए। (प्रस्थ. ७:३, ४) तिनीहरू लाल समुद्रको बीचको सुख्खा जमिन हुँदै हिँडेका थिए र यहोवाले फारो र तिनको पूरै सेनालाई नाश गर्नुभएको देखेका थिए। (प्रस्थ. १४:२९-३१) निर्जनभूमिमा छँदा इस्राएलीहरूले यहोवाको हेरचाह र सुरक्षा महसुस गरेका थिए। (व्यव. ८:३, ४) तिनीहरू अब चाँडै प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नै लागेका थिए। त्यसैले मोसा आफ्नो मृत्यु हुनुअघि तिनीहरूलाई केही महत्त्वपूर्ण कुरा बताएर प्रोत्साहन दिन चाहन्थे। a

५. मोसाले इस्राएलीहरूलाई के भने? (व्यवस्था ३०:१९, २०)

मोसाले के भने? (व्यवस्था ३०:१९, २० पढ्‌नुहोस्‌।) इस्राएल राष्ट्रको भविष्य उज्ज्वल थियो। यहोवाको आशिष्‌ पाएर तिनीहरू प्रतिज्ञा गरिएको त्यस देशमा लामो समयसम्म रहन पाउने थिए। त्यो देश असाध्यै सुन्दर र उर्वर थियो। मोसाले त्यस देशको यसरी वर्णन गरे: “त्यहाँ तिमीहरूले ठूलठूला र सुन्दर सहरहरू पाउनेछौ, जसलाई तिमीहरूले बनाएका होइनौ; तिमीहरूले असल-असल थोकहरूले भरिएको घर पाउनेछौ, जसको निम्ति तिमीहरूले मेहनत गर्नै परेन; तिमीहरूले इनार पाउनेछौ, जसलाई तिमीहरूले खन्‍नै परेन; तिमीहरूले अङ्‌गुर र जैतुनको बगान पाउनेछौ, जसलाई तिमीहरूले रोप्नै परेन।”—व्यव. ६:१०, ११.

६. यहोवाले इस्राएलीहरूलाई किन अरू राष्ट्रहरूको हातमा पर्न दिनुभयो?

मोसाले इस्राएलीहरूलाई चेतावनी पनि दिए। प्रतिज्ञा गरिएको देशमा रहिरहन तिनीहरूले यहोवाका आज्ञाहरू पालन गर्नुपर्थ्यो। मोसाले तिनीहरूलाई ‘यहोवाको कुरा सुनेर’ अनि ‘उहाँप्रति वफादार रहेर’ ‘जीवन रोज्न’ आग्रह गरे। तर तिनीहरूले यहोवाको आज्ञा पालन गरेनन्‌। त्यसैले उहाँले तिनीहरूलाई अस्सेरियालीहरू र पछि बेबिलोनीहरूको हातमा पर्न दिनुभयो र तिनीहरूलाई बन्दी बनाएर लगियो।—२ राजा १७:६-८, १३, १४; २ इति. ३६:१५-१७, २०.

७. मोसाका शब्दहरूबाट हामी के सिक्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

हाम्रो लागि पाठ: आज्ञाकारी हुँदा अनन्त जीवन पाउँछौँ। प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नै लागेका इस्राएलीहरूजस्तै हामी पनि परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा प्रवेश गर्नै लागेका छौँ। अब चाँडै पूरै पृथ्वी सुन्दर बगैँचा बन्‍नेछ। (यसै. ३५:१; लुका २३:४३) त्यहाँ सैतान र त्यसका प्रेतहरू हुनेछैनन्‌। (प्रका. २०:२, ३) झूटो धर्मको नामोनिसान हुनेछैन। (प्रका. १७:१६) मानिसहरूलाई थिचोमिचो गर्ने मानव सरकारहरू हुनेछैनन्‌। (प्रका. १९:१९, २०) दुष्टहरू कतै पनि हुनेछैनन्‌। (भज. ३७:१०, ११) सबैले यहोवाका धार्मिक स्तरहरू पालन गर्नेछन्‌, जसले गर्दा शान्ति र एकता छाउनेछ। तिनीहरूले एकअर्कालाई प्रेम र भरोसा गर्नेछन्‌। (यसै. ११:९) हामीसामु कत्ति उज्ज्वल भविष्य छ नि, होइन र? त्यति मात्र होइन, यहोवाको आज्ञा पालन गरिरह्‍यौँ भने हामी त्यस सुन्दर पृथ्वीमा सधैँभरि बाँच्न पाउनेछौँ!—भज. ३७:२९; युह. ३:१६.

यहोवाको आज्ञा पालन गरिरह्‍यौँ भने हामी सुन्दर पृथ्वीमा सधैँभरि बाँच्न पाउनेछौँ! (अनुच्छेद ७ हेर्नुहोस्‌)


८. अनन्त जीवनको आशाले एक जना मिसनरीलाई कसरी मदत गऱ्‍यो? (यहुदा २०, २१)

अनन्त जीवनको आशालाई मनमा राखिरह्‍यौँ भने जस्तोसुकै परीक्षा आए तापनि हामी यहोवाप्रति वफादार रहिरहनेछौँ। (यहुदा २०, २१ पढ्‌नुहोस्‌।) त्यस आशाले हामीलाई आफ्नो कमजोरीविरुद्ध लड्‌न पनि बल दिन सक्छ। अफ्रिकामा लामो समय मिसनरी सेवा गरेका एक जना भाइले आफ्नो कमजोरी हटाउन निकै सङ्‌घर्ष गर्नुपऱ्‍यो। तिनले यसो भने: “मैले आफ्नो कमजोरी हटाइनँ भने अनन्त जीवन गुमाउनेछु भनेर महसुस गरेँ। त्यसले गर्दा आफ्नो कमजोरीविरुद्ध लडिरहने र त्यसबारे यहोवालाई अझ व्यग्र प्रार्थना गरिरहने मेरो सङ्‌कल्प झनै बलियो भयो। उहाँको मदत पाएर मैले आफ्नो कमजोरी हटाउन सकेँ।”

“तिमी सफल हुनेछौ”

९. दाउदले कस्ता परीक्षाहरू भोगे?

दाउद यहोवाप्रति वफादार राजा थिए। तिनी सङ्‌गीतकार, कवि, योद्धा र भविष्यवक्‍ता पनि थिए। तिनले जीवनमा थुप्रै परीक्षाहरू भोगे। राजा साउलले मार्न खोज्दा तिनले केही वर्ष भगुवा जीवन बिताउनुपऱ्‍यो। राजा भइसकेपछि पनि दाउद आफ्नो ज्यान जोगाउन भाग्नुपऱ्‍यो किनभने तिनका छोरा अब्सालोमले तिनलाई मारेर सत्ता हडप्न चाहन्थे। यी समस्याहरू र आफ्नै कमीकमजोरीको बाबजुद दाउद जिन्दगीभर यहोवाप्रति वफादार रहिरहे। यहोवाले तिनीबारे यसो भन्‍नुभयो: “ऊ मलाई मन पर्ने मानिस हो।” हामीले दाउदको सल्लाह सुन्‍नु बुद्धिमानी हो।—प्रेषि. १३:२२; १ राजा १५:५.

१०. सुलेमानलाई दाउदको सल्लाह किन चाहिएको थियो?

१० दाउदले आफ्नो छोरा र उत्तराधिकारी सुलेमानलाई दिएको सल्लाह विचार गरौँ। यहोवाले जवान सुलेमानलाई शुद्ध उपासना अघि बढाउन र उहाँको निम्ति एउटा मन्दिर बनाउन रोज्नुभएको थियो। (१ इति. २२:५) तर यो काम सजिलो थिएन र तिनलाई यहोवाको मदत चाहिने थियो। यस्तो अवस्थामा दाउदले सुलेमानलाई कस्तो सल्लाह दिए?

११. पहिलो राजा २:२, ३ मा दाउदले सुलेमानलाई के भने? तिनले भनेका शब्दहरू कसरी सही साबित भए? (चित्र पनि हेर्नुहोस्‌।)

११ दाउदले के भने? (१ राजा २:२, ३ पढ्‌नुहोस्‌।) सुलेमानले यहोवाको आज्ञा पालन गरिरहेमा तिनी सफल हुनेछन्‌ भनेर दाउदले बताए। हुन पनि सुलेमान निकै सफल भए। (१ इति. २९:२३-२५) तिनले भव्य मन्दिर बनाए, बाइबलका केही किताबहरू लेखे र बाइबलका अरू किताबहरूमा पनि तिनले भनेका कुराहरू राखिएका छन्‌। तिनी बुद्धिमान्‌ र धनी राजा भनेर प्रख्यात भए। (१ राजा ४:३४) तर दाउदले भनेझैँ सुलेमानले यहोवाको आज्ञा पालन गरिरहेमा मात्र तिनी सफल हुने थिए। दुःखको कुरा, पछि सुलेमानले यहोवालाई त्यागे र अरू देवताहरूलाई पुज्न थाले। यो देखेर यहोवा असाध्यै अप्रसन्‍न हुनुभयो। त्यसपछि तिनले यहोवाबाट बुद्धि पाउन छोडे अनि तिनले न्यायपूर्ण र दयालु ढङ्‌गमा शासन गरिरहन सकेनन्‌।—१ राजा ११:९, १०; १२:४.

दाउदले सुलेमानलाई भनेका अन्तिम शब्दहरूबाट हामी यहोवाप्रति आज्ञाकारी भयौँ भने उहाँले सही निर्णयहरू गर्न बुद्धि दिनुहुन्छ भनेर बुझ्न सक्छौँ (अनुच्छेद ११-१२ हेर्नुहोस्‌) b


१२. दाउदका शब्दहरूबाट हामी के सिक्न सक्छौँ?

१२ हाम्रो लागि पाठ: आज्ञाकारी हुँदा सफल हुन्छौँ। (भज. १:१-३) हुनत यहोवाले हामीलाई सुलेमानलाई जस्तै धनसम्पत्ति र मानसम्मान दिने प्रतिज्ञा गर्नुभएको छैन। तर हामीले उहाँको आज्ञा पालन गऱ्‍यौँ भने उहाँले बुद्धि दिनुहुनेछ र हामीले सही निर्णयहरू गर्न सक्नेछौँ। (हितो. २:६, ७; याकु. १:५) उहाँको सल्लाहले हामीलाई काम, शिक्षा, मनोरञ्जन र पैसाजस्ता मामिलामा सही निर्णय गर्न मदत गर्नेछ। उहाँको सल्लाह लागू गर्दा उहाँसितको सम्बन्ध बलियो भइरहनेछ र हामीले अनन्त जीवन पाउनेछौँ। (हितो. २:१०, ११) हामीले असल साथीहरू बनाउन सक्नेछौँ अनि हाम्रो परिवार खुसी हुनेछ।

१३. कार्मेनले कसरी सही निर्णय गर्न सकिन्‌?

१३ मोजाम्बिककी कार्मेन बहिनीको अनुभव विचार गरौँ। तिनलाई सफल हुन उच्च शिक्षा हासिल गर्नै पर्छ जस्तो लागेको थियो। त्यसैले तिनी विश्‍वविद्यालयमा भर्ना भइन्‌ र इन्जिनियरिङ पढ्‌न थालिन्‌। तिनले भनिन्‌: “मलाई आफूले कलेजमा पढिरहेको कुरा असाध्यै रमाइलो लाग्थ्यो। तर त्यसले मेरो समय र शक्‍ति सबै खाइरहेको थियो। म बिहान साढे ७ बजेदेखि बेलुका ६ बजेसम्म कलेजमै हुन्थेँ। मेरो सभाहरू छुट्‌न थाल्यो र यहोवासितको सम्बन्ध पनि कमजोर हुँदै गयो। मैले ‘दुई मालिकको’ सेवा गर्न खोज्दै छु भनेर आफैलाई महसुस भयो। (मत्ति ६:२४) तिनले त्यसबारे प्रार्थना गरिन्‌ र हाम्रा प्रकाशनहरूमा अनुसन्धान गरिन्‌। तिनले अझै यसो भनिन्‌: “एल्डरहरू र ममीले मलाई राम्रो सल्लाह दिनुभयो। त्यसपछि मैले कलेज छोडेर पूर्ण-समय यहोवाको सेवा गर्ने निर्णय गरेँ। उहाँहरूको मदत पाएर मैले एकदमै राम्रो निर्णय गर्न सकेँ र यसमा मलाई कुनै पछुतो छैन।”

१४. मोसा र दाउदले कुन कुरालाई जोड दिए?

१४ मोसा र दाउद यहोवालाई प्रेम गर्थे। तिनीहरूले उहाँप्रति आज्ञाकारी हुनु महत्त्वपूर्ण छ भनेर बुझेका थिए। त्यसैले तिनीहरूले अरूलाई पनि यहोवाप्रति वफादार रहन प्रोत्साहन दिए। तर यहोवाप्रति वफादार नरहनेहरूले उहाँको आशिष्‌ र अनुमोदन गुमाउनेछन्‌ भनेर तिनीहरूले चेतावनी पनि दिए। तिनीहरूको सल्लाह आज हाम्रो लागि पनि उपयोगी छ। यहोवाको अर्को एक जना सेवकले पनि उहाँप्रति वफादार रहनु एकदमै महत्त्वपूर्ण छ भनेर बताए।

‘योभन्दा बढ्‌ता खुसीको कुरा अरू छैन’

१५. प्रेषित युहन्‍नाले के-के अनुभव गरे?

१५ प्रेषित युहन्‍ना येसुको प्यारो चेला थिए। (मत्ति १०:२; युह. १९:२६) तिनले येसु सँगसँगै साक्षीकार्यमा भाग लिए। उहाँले गर्नुभएका चमत्कारहरू देखे र कठिन घडीमा उहाँलाई साथ दिइरहे। तिनले येसुलाई यातनाको खम्बामा टाँगेर मारिएको र उहाँ फेरि जीवित हुनुभएको पनि देखे। तिनले येसुका चेलाहरूको सानो समूह बढ्‌दै गएको र “सुसमाचार आकाशमुनि भएका सबै मानिसमाझ प्रचार” गरिएको पनि देखे।—कल. १:२३.

१६. युहन्‍नाले लेखेका पत्रहरूबाट क-कसले लाभ उठाएका छन्‌?

१६ असाध्यै वृद्ध भइसकेका प्रेषित युहन्‍नाले परमेश्‍वरको प्रेरणा पाएर प्रकाशको किताब लेखे। (प्रका. १:१) तिनले सुसमाचारको एउटा किताब र तीन वटा पत्र पनि लेखे। तिनले आफ्नो तेस्रो पत्र वफादार ख्रिष्टियन गायसलाई लेखेका थिए, जसलाई तिनी आफ्नो छोराजस्तै ठान्थे। (३ युह. १) तिनी गायसको लागि मात्र होइन, अरू थुप्रैको लागि पनि आध्यात्मिक बुबा बनेका थिए। यी वफादार प्रेषितले लेखेका कुराहरूबाट येसुका चेलाहरूले आजसम्म प्रोत्साहन पाइरहेका छन्‌।

१७. तेस्रो युहन्‍ना ४ अनुसार सबैभन्दा धेरै खुसी बनाउने कुरा के हो?

१७ युहन्‍नाले के लेखे? (३ युहन्‍ना ४ पढ्‌नुहोस्‌।) युहन्‍नाले आफ्ना भाइबहिनी यहोवाप्रति आज्ञाकारी भएको देख्न पाउँदा असाध्यै खुसी लागेको कुरा लेखे। तिनले तेस्रो पत्र लेख्दा मण्डलीमा कसै-कसैले झूटा शिक्षाहरू फैलाइरहेका थिए र फुट गराइरहेका थिए। तर अरू भने “सत्यमा हिँडिरहेका” थिए। तिनीहरूले “उहाँका आज्ञा” पालन गरिरहेका थिए। (२ युह. ४, ६) ती वफादार ख्रिष्टियनहरू देख्दा युहन्‍ना मात्र होइन, यहोवा पनि खुसी हुनुहुन्थ्यो।—हितो. २७:११.

१८. युहन्‍नाका शब्दहरूबाट हामी के सिक्न सक्छौँ?

१८ हाम्रो लागि पाठ: वफादारीले खुसी बनाउँछ। (१ युह. ५:३) जस्तै: हामीले यहोवालाई खुसी बनाइरहेका छौँ भन्‍ने कुरा थाह पाउँदा हामी खुसी हुन्छौँ। हामीले संसारले दिने प्रलोभनहरू तिरस्कार गरेर सत्य स्विकारेको देख्दा यहोवा रमाउनुहुन्छ। (हितो. २३:१५) स्वर्गदूतहरू पनि रमाउँछन्‌। (लुका १५:१०) हाम्रा भाइबहिनी परीक्षा र खेदो आइपर्दा पनि वफादार रहिरहेको देख्दा हामी खुसी हुन्छौँ। (२ थिस्स. १:४) अहिले सैतानले शासन गरिरहेको संसारमा हामी यहोवाप्रति वफादार रहिरह्‍यौँ भने यस दुष्ट युगको अन्त हुँदा हामी बच्नेछौँ अनि आफू वफादार रहिरहेकोमा साँच्चै खुसी हुन सक्नेछौँ।

१९. रेचेललाई यहोवाबारे अरूलाई सिकाउन पाउँदा कस्तो लाग्छ? (चित्र पनि हेर्नुहोस्‌।)

१९ अरूलाई यहोवाबारे सिकाउन पाउँदा हामीलाई असाध्यै खुसी लाग्छ। डोमिनिकन गणतन्त्र भन्‍ने देशकी रेचेल बहिनीलाई यहोवाबारे अरूलाई सिकाउन पाउनु ठूलो सम्मानको कुरा हो जस्तो लाग्छ। तिनले थुप्रैलाई यहोवाबारे सिक्न मदत गरेकी छिन्‌। तिनी भन्छिन्‌: “मेरा बाइबल विद्यार्थीहरूले यहोवालाई प्रेम गर्न थालेको, उहाँमा भरोसा गर्न सिकेको र उहाँलाई खुसी बनाउन जीवनमा छाँटकाँटहरू गरेको देख्दा असाध्यै खुसी लाग्छ। म त्यो शब्दमा बयानै गर्न सक्दिनँ। मैले महसुस गरेको आनन्दको तुलनामा मैले गरेको त्याग र प्रयास त केही पनि होइन।”

यहोवालाई प्रेम गर्न र उहाँप्रति आज्ञाकारी हुन अरूलाई सिकाउन पाउँदा हामीलाई खुसी लाग्छ (अनुच्छेद १९ हेर्नुहोस्‌)


वफादार पुरुषहरूका अन्तिम शब्दहरूबाट लाभ उठाउनुहोस्‌

२०. हामी अनि मोसा, दाउद र युहन्‍नाबीच कस्ता समानता छन्‌?

२० मोसा, दाउद र युहन्‍ना हामीभन्दा धेरैअघिका पुरुषहरू थिए। हाम्रो अवस्था तिनीहरूको भन्दा धेरै फरक छ। तर तिनीहरू र हामीबीच समानताहरू पनि छन्‌। तिनीहरूले साँचो परमेश्‍वरको सेवा गरे; हामी पनि गर्छौँ। तिनीहरूजस्तै हामी यहोवालाई प्रार्थना गर्छौं, उहाँमा भरोसा राख्छौँ र उहाँको डोऱ्‍याइ खोज्छौँ। यहोवाप्रति आज्ञाकारी भयौँ भने प्रशस्त इनाम पाउनेछौँ भन्‍ने कुरामा ती वफादार पुरुषहरू विश्‍वस्त थिए। यो कुरामा हामी पनि विश्‍वस्त छौँ।

२१. मोसा, दाउद र युहन्‍नाले दिएको सल्लाह लागू गऱ्‍यौँ भने हामीले कस्ता आशिष्‌हरू पाउनेछौँ?

२१ ती वफादार पुरुषहरूले भनेका अन्तिम शब्दहरू हामी कहिल्यै नबिर्सौँ। यहोवाको आज्ञा पालन गरिरहौँ। त्यसो गऱ्‍यौँ भने हामी सफल हुनेछौँ। हामीले जीवन पाउनेछौ र “लामो समयसम्म” अर्थात्‌ सधैँभरि बाँच्नेछौँ। (व्यव. ३०:२०) साथै यहोवालाई खुसी बनाएकोमा हामी पनि खुसी हुन सक्नेछौँ। उहाँले हामीले मागे वा सोचेभन्दा कता हो कता धेरै आशिष्‌ दिनुहुनेछ!—एफि. ३:२०.

गीत १२९ हामी सहिरहन्छौँ

a लाल समुद्रमा यहोवाले चमत्कार गर्नुभएको देखेका इस्राएलीहरूमध्ये धेरैजसो प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न पाएनन्‌। (गन्ती १४:२२, २३) यहोवाले नाम दर्ता गरिएकाहरू, जो २० वर्ष र सोभन्दा माथिका छन्‌, तिनीहरू निर्जनभूमिमै मर्नेछन्‌ भन्‍नुभएको थियो। (गन्ती १४:२९) तर यहोसु र कालेब अनि २० वर्षभन्दा मुनिका र लेवी कुलका धेरै जना यर्दनपारि प्रतिज्ञा गरिएको देशमा प्रवेश गरे।—व्यव. १:२४-४०.

b चित्रको व्याख्या: बायाँ: जीवनको अन्तिम घडीतिर दाउद सुलेमानलाई बुद्धिमानी सल्लाह दिन्छन्‌। दायाँ: अग्रगामी सेवा स्कुलका विद्यार्थीहरू यहोवाबाट सिक्दै छन्‌।