सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले तिनलाई “मेरो मित्र” भन्नुभयो

यहोवाले तिनलाई “मेरो मित्र” भन्नुभयो

“ए मेरो दास इस्राएल, मेरो छानिएको याकूब, मेरो मित्र अब्राहामको वंश।”—यशै. ४१:८.

गीत: ९१, २२

१, २. (क) मानिसहरू पनि यहोवाको मित्र बन्न सक्छन्‌ भनेर किन भन्न सक्छौं? (ख) यस लेखमा हामी कुन विषय छलफल गर्नेछौं?

धर्तीमा पाइला टेकेदेखि चिहानमा नपुगुन्जेलसम्म हामी सबैलाई चाहिने एउटा अनमोल कुरा भनेको माया हो। हो, हामी सबैलाई माया चाहिन्छ; हामी मायाका भोका छौं। तर मानिसहरूलाई चाहिने भनेको रोमान्टिक माया मात्र होइन; उनीहरूलाई साथीभाइ र अरूको माया पनि चाहिन्छ। तर हामीलाई सबैभन्दा बढी आवश्यक पर्ने माया भनेको यहोवाको माया हो। धेरैजसोको विचारमा ब्रह्माण्डको सबैभन्दा शक्तिशाली र अदृश्य परमेश्वरको माया पाउन अनि उहाँसित मित्रता गाँस्न असम्भव छ। के हामी पनि त्यस्तै सोच्छौं? अहँ, पटक्कै सोच्दैनौं।

त्रुटिपूर्ण मानिसहरू पनि यहोवाको मित्र बन्न सक्छन्‌ भनेर बुझाउने थुप्रै विवरण बाइबलमा पाइन्छ। मानिसहरूले राख्नुपर्ने सबैभन्दा ठूलो लक्ष्य यहोवासित मित्रता गाँस्नु हो; यो कुनै चानचुने कुरा होइन। बाइबलमा भएका ती विवरणहरूले हामीलाई यो लक्ष्य प्राप्त गर्न मदत गर्छ। यहोवासित त्यस्तो मित्रता गाँसेका एक जना मानिस अब्राहाम हुन्‌। (याकूब २:२३ पढ्नुहोस्) अब्राहाम कसरी यहोवासित घनिष्ठ हुन सके? त्यसको मुख्य कारण हो, तिनमा भएको विश्वास। बाइबलमा तिनलाई “विश्वासले गर्दा असल ठहरिएकाहरू सबैको . . . बुबा” भनिएको छ। (रोमी ४:११) त्यसोभए, विश्वास भन्ने गुणले अब्राहामलाई यहोवासित बलियो मित्रता गाँस्न कसरी मदत गऱ्यो, अब बुझौं। अब्राहामको विवरण पढ्दै जाँदा हामी आफैलाई यस्तो प्रश्न सोधौं, ‘म कसरी अब्राहामको विश्वास अनुकरण गर्न सक्छु? अब्राहामले जस्तै कसरी यहोवासित बलियो मित्रता गाँस्न सक्छु?’

अब्राहाम कसरी यहोवाको मित्र भए?

३, ४. (क) अब्राहामले सामना गर्न लागेको सबैभन्दा ठूलो परीक्षाबारे व्याख्या गर्नुहोस्। (ख) अब्राहाम आफ्नो छोरालाई बलि चढाउन तयार हुनुको कारण के हो?

एक जना वृद्ध सकिनसकी उकालो चढिरहेको दृश्य कल्पना गर्नुहोस्। सायद यो तिनको जीवनकै सबैभन्दा कष्टकर यात्रा हो। उमेरले गर्दा हो कि? अहँ, होइन। ती वृद्ध अब्राहाम झन्डै १२५ वर्ष पुगिसकेको भए पनि अझै तगडा छन्‌। [१] लगभग २५/२६ वर्षका युवक पनि तिनको पछि-पछि हिंडिरहेको छ। ऊ तिनकै छोरा इसहाक हो र उसले दाउराको भारी बोकेको छ। अब्राहामले छुरी र आगो बाल्ने कुरा बोकेका छन्‌। यहोवाले तिनलाई आफ्नै छोरालाई बलि चढाउन भन्नुभएको छ।—उत्प. २२:१-८.

अब्राहामले जीवनकै सबैभन्दा गाह्रो परिस्थितिको सामना गर्न लागिरहेका छन्‌। सायद त्यो नै तिनको विश्वासको सबैभन्दा ठूलो परीक्षा हो। अब्राहामलाई यस्तो गाह्रो काम गर्न लगाउने परमेश्वर निर्दयी हुनुहुन्छ भनेर कसै-कसैले आरोप लगाउँछन्‌। अब्राहामले आँखा चिम्लेर यहोवाको आज्ञा मानेका थिए अनि तिनमा दया-माया नै थिएन भन्ने पनि गर्छन्‌। उनीहरूले त्यस्तो धारणा राख्नुको कारण के हो? किनकि उनीहरूमा विश्वास छैन र विश्वासले कुन हदसम्म प्रभाव पार्छ भन्ने कुरा पनि उनीहरूले बुझेका छैनन्‌। (१ कोरि. २:१४-१६) अब्राहामले आँखा चिम्लेर यहोवाको आज्ञा मानेका थिएनन्‌। तिनले विश्वासको आँखाले यहोवालाई देखेका थिए। स्वर्गमा बस्नुहुने बुबा यहोवाले आफ्ना सेवकहरूलाई पछिसम्म हानि पुऱ्याउने काम कहिल्यै गर्न लगाउनुहुन्न भन्ने कुरा अब्राहामले आफ्नो मनको आँखाले देखेका थिए। यहोवाको आज्ञा मान्यो भने उहाँले तिनलाई र तिनको छोरालाई आशिष्‌ दिनुहुन्छ भन्ने कुरा अब्राहामले बुझेका थिए। तिनको विश्वास केले गर्दा यत्तिको बलियो भयो? ज्ञान र अनुभवले गर्दा।

५. अब्राहामले यहोवाबारे कसरी थाह पाएका हुन सक्छन्‌? यहोवाको ज्ञानले तिनमा कस्तो प्रभाव पाऱ्यो?

ज्ञान। अब्राहाम कल्दीहरूको सहर ऊरमा हुर्केका थिए। त्यस सहरका मानिसहरू मूर्तिपूजक थिए। अब्राहामका बुबा तेरह पनि झूटा देवताहरूको पूजा गर्थे। (यहो. २४:२) त्यसोभए अब्राहामले कसरी यहोवाबारे थाह पाए त? बाइबलले त्यसबारे तोकेरै बताएको छैन। तर अब्राहाम शेमको नवौं पुस्तामा पर्थे भन्ने कुराचाहिं बाइबलबाट स्पष्ट हुन्छ। शेम नूहका छोरा थिए र उनी परमेश्वरमा औधी विश्वास गर्थे। अब्राहाम १५० वर्षको हुँदासम्म पनि शेम जीवितै थिए। अब्राहामले यहोवाको विषयमा शेमबाटै सुनेका हुन्‌ कि होइनन्‌, त्यो त हामी किटेरै भन्न सक्दैनौं। तर शेमले आफ्ना सन्ततिहरूलाई यहोवाको विषयमा बताएका थिए भनेर अनुमानचाहिं गर्न सक्छौं। जेहोस्, अब्राहामले यहोवाको ज्ञान पाए र त्यसले तिनको मन छोयो। परमेश्वरको ज्ञान पाएपछि तिनले उहाँलाई प्रेम गर्न थाले र तिनको विश्वास बलियो भयो।

६, ७. कस्ता अनुभवहरूले गर्दा अब्राहामको विश्वास बलियो भयो?

अनुभव। आफूले बटुलेको अनुभवले गर्दा पनि अब्राहामको विश्वास बलियो भएको थियो। तिनले कस्तो अनुभव बटुलेका थिए? मानिसहरू भन्ने गर्छन्‌, दिमागमा भएको कुरा मनमा आउँछ र मनमा भएको कुरा काममा देखिन्छ। यहोवाबारे सिकेको कुराले अब्राहामको मनमा गहिरो छाप पाऱ्यो; “स्वर्ग र पृथ्वीका परमप्रभु सर्वोच्च परमेश्वर”-प्रति तिनको मनमा गहिरो श्रद्धा जाग्यो। (उत्प. १४:२२) तिनको मनमा जागेको यस्तो भावनालाई बाइबलमा “परमेश्वरको डर” भनिएको छ। (हिब्रू ५:७; भज. २५:१४) यहोवासित बलियो मित्रता गाँस्न हामीले पनि उहाँको डर मान्नु जरुरी छ। यहोवाप्रति यस्तो डर राखेको कुरा अब्राहामले आफ्नो कामबाट देखाए।

वृद्ध भइसकेका अब्राहाम र सारालाई यहोवाले ऊर देश छोडेर अन्तै जाने आज्ञा दिनुभयो। आफ्नो जीवनको बाँकी दिनहरू उनीहरूले पालमा बिताउने थिए। यहोवाको आज्ञा मानेकोले उनीहरूले उहाँबाट आशिष्‌ र सुरक्षा पाए। उनीहरूको जीवनमा घटेको एउटा घटना विचार गरौं। सारा असाध्यै राम्री भएकीले उनलाई अरूले लैजाला अनि आफूलाई मार्ला भनेर अब्राहाम डराएका थिए। यसरी डराउनु जायजै थियो। तर त्यस्तो डर भए तापनि तिनले यहोवाको आज्ञा माने। यहोवाले अब्राहाम र सारालाई पटक-पटक सुरक्षा दिनुभयो; त्यसको लागि उहाँले चमत्कार समेत गर्नुभयो। (उत्प. १२:१०-२०; २०:२-७, १०-१२, १७, १८) आफूले बटुलेका ती अनुभवहरूले अब्राहामको विश्वास बलियो बनायो।

८. यहोवासितको मित्रता बलियो बनाउने ज्ञान र अनुभव हामी कसरी प्राप्त गर्न सक्छौं?

के हामी पनि यहोवासित मित्रता गाँस्न सक्छौं? पक्कै सक्छौं। हामीलाई आवश्यक पर्ने ज्ञान र अनुभवहरू बाइबलमा दिइएको छ। अहिले बाइबलमा ज्ञान र बुद्धिका कुरा जति धेरै छन्‌, त्यसको तुलनामा अब्राहामसित एकदमै थोरै मात्र थियो। (दानि. १२:४; रोमी ११:३३) हो, परमेश्वरको वचनबाट हामीले थुप्रै बहुमूल्य कुरा सिक्न पाउँछौं, जसले “स्वर्ग र पृथ्वीका परमप्रभु”-बारे हाम्रो ज्ञान बढाउँछ; उहाँप्रति श्रद्धा जगाउँछ। अनि यस्तो ज्ञान पाउँदा उहाँलाई अझ धेरै प्रेम गर्न थाल्छौं। त्यस्तो भावनाले हामीलाई यहोवाको आज्ञा मान्न उत्प्रेरित गर्छ। अनि त्यसरी आज्ञा पालन गर्दा कस्तो फाइदा हुँदो रहेछ भन्ने कुरा आफैले अनुभव गर्न पाउँछौं। यहोवाको सल्लाहअनुसार चल्दा हामीले उहाँको आशिष्‌, सुरक्षा र बल पाउँछौं। मनैदेखि उहाँको सेवा गर्दा शान्ति, सन्तुष्टि र आनन्द पाएको महसुस गर्छौं। (भज. ३४:८; हितो. १०:२२) यसरी यहोवाको ज्ञान र आफूले बटुलेको अनुभवले गर्दा यहोवामाथि हाम्रो विश्वास बढ्दै जान्छ र उहाँसितको हाम्रो मित्रता पनि अझ बलियो हुन्छ।

अब्राहामले यहोवासितको मित्रता कसरी कायम राखे?

९, १०. (क) मित्रता बलियो बनाउन के चाहिन्छ? (ख) अब्राहामले यहोवासित मित्रता बढाउँदै लगे र त्यसलाई कायम राखे भनेर केले देखाउँछ?

मित्रता भनेको बहुमूल्य धन जस्तै हो। (हितोपदेश १७:१७ पढ्नुहोस्) [२] यो पैसाले किन्न सकिने कुरा होइन; एक ठाउँमा थन्काएर राख्ने निर्जीव वस्तु पनि होइन। यो त सजीव वस्तु हो। यसलाई हुर्काउन-बढाउन मलजल गर्नुपर्छ। अब्राहामले पनि यहोवासित आफ्नो मित्रता बढाउँदै लगे र त्यसलाई कायम राखे। तिनले कसरी त्यसो गरे?

१० अब्राहामले सधैं नै परमेश्वरको आज्ञा पालन गरे र उहाँको डर माने। तर त्यसो भन्दैमा तिनले ‘अब आज्ञा मान्न पुग्यो’ भन्ने सोचाइ राखे त? अहँ, राखेनन्‌। आफ्नो घरानालाई लिएर कनान देशतर्फ यात्रा गर्दा तिनले पाइला-पाइलामा यहोवाको डोऱ्याइ खोजे; सानोतिनो जस्तोसुकै निर्णय गर्दा पनि तिनी यहोवामा भर परे। इसहाक जन्मनुभन्दा एक वर्षअघि अर्थात्‌ अब्राहाम ९९ वर्षको हुँदा यहोवाले तिनको घरानाका सबै पुरुषको खतना गर्ने निर्देशन दिनुभयो। के त्यतिबेला अब्राहामले नाइँनास्ति वा गुनासो गरे? अहँ, गरेनन्‌। बरु तिनले यहोवामा भरोसा राखे र उहाँले भनेअनुसारै “त्यस दिन” सबै पुरुषको खतना गरे।—उत्प. १७:१०-१४, २३.

११. सदोम र गमोराको विषयमा अब्राहामलाई किन चिन्ता लाग्यो? यहोवाले तिनलाई कसरी मदत गर्नुभयो?

११ अब्राहामले सानातिना कुरामा समेत यहोवाको आज्ञा पालन गर्ने बानी नै बसालेको हुँदा यहोवासित तिनको मित्रता बलियो र सुमधुर भयो। तिनी यहोवासित मन खोलेर कुरा गर्थे; मनमा कुनै प्रश्न उठ्दा तुरुन्तै उहाँलाई सोध्थे। जस्तै: यहोवाले सदोम र गमोरालाई विनाश गर्न लाग्नुभएको छ भनेर थाह पाएपछि दुष्टहरूलाई नाश गर्दा असल मानिसहरू पनि पर्लान्‌ कि भन्ने अब्राहामलाई लागेको थियो। तिनलाई सदोममा बस्ने आफ्नो भतिजा लूत र उसको परिवारको चिन्ता लागिरहेको हुन सक्छ। त्यसैले नम्र हुँदै र “पृथ्वीका न्यायकर्ता” यहोवामाथि भरोसा राख्दै तिनले उहाँलाई प्रश्न सोधे। त्यतिबेला यहोवाले तिनलाई आफू कृपालु छु भन्ने कुरा धीरजी हुँदै सम्झाउनुभयो; मानिसहरूलाई न्यायदण्ड दिनुपर्दा समेत यहोवाले उनीहरूको मन हेर्नुहुन्छ र उहाँको स्तरअनुसार चल्ने व्यक्ति छ कि छैन, विचार गर्नुहुन्छ भनेर अब्राहामलाई बुझाउनुभयो।—उत्प. १८:२२-३३.

१२, १३. (क) अब्राहामले पाएको ज्ञान र अनुभवले पछि तिनलाई कसरी मदत गऱ्यो? (ख) अब्राहाम परमेश्वरमा भरोसा गर्थे भनेर किन भन्न सक्छौं?

१२ अब्राहामले जे-जति ज्ञान पाए र जे-जस्तो अनुभव बटुले, त्यसले गर्दा तिनले यहोवासितको मित्रता कायम राखिराख्न सके। पछि यहोवाले तिनलाई छोराको बलि चढाउने असाध्यै गाह्रो काम अह्राउँदा समेत स्वर्गमा बस्नुहुने आफ्नो मित्र कस्तो व्यक्ति हुनुहुन्छ भन्ने कुरा तिनले मनन गर्न सके। अब फेरि वृद्ध अब्राहाम मोरीयाहको डाँडा उक्लिरहेको दृश्य कल्पना गर्नुहोस्। त्यतिबेला तिनले ‘यहोवा किन अचानक परिवर्तन हुनुभयो, उहाँ कसरी यस्तो कठोर हुनुभयो’ भन्ने सोचिरहेका थिए होलान्‌ त? यस्तो कुरा त तिनले मनमा चिताएका समेत थिएनन्‌। हामी किन त्यसो भन्न सक्छौं?

१३ आफ्ना सेवकहरूबाट छुट्टिनुअघि अब्राहामले उनीहरूलाई यसो भनेका थिए: “तिमीहरू यहीं गधासँग बस। म र यो केटो ऊ परसम्म गएर पूजा गरी तिमीहरूकहाँ फर्केर आउनेछौं।” (उत्प. २२:५) अब्राहामले किन त्यसो भने? तिनलाई आफ्नो छोरा इसहाकको बलि चढाउनुपर्छ भनेर थाह थियो। त्यसोभए इसहाक आफूसितै फर्कनेछ भन्दा के तिनले आफ्ना सेवकहरूसित झूट बोलिरहेका थिए त? अहँ, थिएनन्‌। अब्राहामले त्यतिबेला के सोचिरहेका थिए, त्यसको केही छनक हामी बाइबलमा पाउँछौं। (हिब्रू ११:१९ पढ्नुहोस्) “परमेश्वरले इसहाकलाई मृत्युबाट समेत ब्यूँताउन सक्नुहुन्छ” भनेर अब्राहामलाई थाह थियो। हो, तिनी पुनर्जीवनको आशामा विश्वास गर्थे। यहोवाले वृद्धावस्थामा समेत आफू र आफ्नी श्रीमतीको प्रजनन क्षमतालाई सक्रिय पारिदिनुभएको तिनी आफैले अनुभव गरेका थिए। (हिब्रू ११:११, १२, १८) यहोवाको लागि कुनै पनि कुरा असम्भव छैन भनेर तिनले बुझेका थिए। त्यसैले आफ्नो प्रिय छोरा इसहाकलाई केही भइहाल्यो भने पनि यहोवाले तिनलाई जीवित पार्नुहुनेछ र उहाँको सबै प्रतिज्ञा पूरा हुनेछ भन्ने कुरामा अब्राहामलाई कुनै शङ्का थिएन। त्यसैले त बाइबलमा तिनलाई “विश्वासले गर्दा असल ठहरिएकाहरू सबैको . . . बुबा” भनिएको छ।

१४. तपाईंले के-कस्तो चुनौतीको सामना गरिरहनुभएको छ? अब्राहामको उदाहरणले तपाईंलाई कसरी मदत गर्छ?

१४ हामीबारे चाहिं के भन्न सक्छौं? हुन त यहोवाले हामीलाई त्यस्तो गाह्रो काम गर्न लगाउनुहुन्न। तर उहाँको आज्ञा पालन गर्न गाह्रो लाग्दा वा त्यस्तो आज्ञा दिनुको कारण नबुझ्दा समेत हामीले उहाँको इच्छाअनुसार गरेको आस भने गर्नुहुन्छ। तपाईंलाई पनि यहोवाले अह्राउनुभएको कुनै काम गर्न गाह्रो लागेको छ कि? कसै-कसैलाई प्रचार गर्न गाह्रो लाग्छ होला। कहिल्यै नचिनेको मानिसहरूसित कुराकानी गर्न लाज लाग्ने भएकोले तिनीहरूलाई प्रचार गर्न अप्ठेरो लाग्न सक्छ। अरू कसै-कसैलाई भने आफ्नो विश्वासको कारण स्कुलमा वा काम गर्ने ठाउँमा अरूभन्दा फरक देखिनु चुनौती हुन सक्छ। (प्रस्थ. २३:२; १ थिस्स. २:२) आफ्नो क्षमताभन्दा बाहिरको काम गर्नुपर्दा अब्राहामलाई मोरीयाहको डाँडा चढ्दा जस्तो लागेको थियो, तपाईंलाई पनि त्यस्तै लाग्छ कि? यदि त्यस्तो लाग्छ भने, अब्राहामजस्तै साहसी हुनुहोस् र तिनको विश्वास अनुकरण गर्नुहोस्। यहोवाप्रति वफादार रहेका पुरुष तथा स्त्रीहरूको उदाहरण मनन गर्दा हामी उनीहरूको अनुकरण गर्न उत्प्रेरित हुन्छौं र यहोवासितको हाम्रो मित्रता अझ बलियो हुन्छ।—हिब्रू १२:१, २.

यहोवाको मित्र हुँदा आशिष्‌ पाइन्छ

१५. यहोवाप्रति वफादार रहेकोमा अब्राहाम कहिल्यै पछुताएनन्‌ भनेर किन भन्न सक्छौं?

१५ ‘बेकारमा यहोवाको आज्ञा मानें’ भनेर के अब्राहाम पछुताए? तिनको जीवनको अन्तिम घडीबारे बाइबल के भन्छ, विचार गर्नुहोस्: “अब्राहाम दीर्घायु भई [“र सन्तुष्ट भई,” NW] पूरा बुढेसकालमा मरे।” (उत्प. २५:८) वृद्धावस्थाले गर्दा अब्राहामको बल घट्दै गयो र तिनी १७५ वर्षको उमेरमा मरे। तैपनि आफूले बिताएका पलहरूलाई फर्केर हेर्दा तिनी सन्तुष्ट हुन सक्थे। किन? किनभने तिनको पूरै जीवन यहोवासितको मित्रतामा केन्द्रित थियो। तर अब्राहाम ‘दीर्घायु र सन्तुष्ट भई’ मरे भन्नुको मतलब तिनले जति जिउनुथियो जिइसके र तिनलाई भविष्यमा अनन्त जीवन पाउने कुनै इच्छा छैन भन्ने त होइन।

१६. अब्राहामले नयाँ संसारमा कस्ता कुराहरू अनुभव गर्नेछन्‌?

१६ अब्राहामको विषयमा बाइबल यसो भन्छ: “तिनी साँचो जग भएको त्यस सहरको प्रतीक्षामा थिए, जुन सहरको निर्माता र रचनाकार परमेश्वर हुनुहुन्छ।” (हिब्रू ११:१०) एकदिन आफूले त्यो सहर अर्थात्‌ परमेश्वरको राज्यले पृथ्वीमाथि शासन गरेको हेर्न पाउनेछु भनेर अब्राहामलाई विश्वास थियो र तिनले अवश्य त्यो दिन देख्नेछन्‌। सुन्दर पृथ्वीमा जीवनको आनन्द उठाउँदै यहोवासितको आफ्नो मित्रता अझै बलियो बनाउन पाउँदा अब्राहामलाई कस्तो लाग्ला, सोच्नुहोस् त! आफ्नो विश्वासले हजारौं वर्षसम्म परमेश्वरका सेवकहरूलाई वफादार रहन मदत गरेको कुरा थाह पाउँदा अब्राहाम कत्ति खुसी होलान्‌! इसहाकलाई फिर्ता पाएको घटना भविष्यमा हुने कुराको “नमुना” रहेछ भनेर पनि तिनले थाह पाउनेछन्‌। (हिब्रू ११:१९) आफ्नो छोराको बलि चढाउन लाग्दा अब्राहामलाई जत्ति पीडा भएको थियो, येशूको बलि चढाउँदा यहोवालाई पनि उत्तिकै पीडा भएको थियो। अब्राहामको घटनाले गर्दा परमेश्वरका लाखौं सेवकले यहोवाको पीडा बुझ्न सकेका छन्‌। भविष्यमा यो कुरा थाह पाउँदा अब्राहामलाई कत्ति खुसी लाग्ला! (यूह. ३:१६) अब्राहामको उदाहरणले हामीलाई इतिहासमै देखाइएको सबैभन्दा महान्‌ प्रेम अर्थात्‌ फिरौतीको बलिदानप्रति अझै कृतज्ञ हुन मदत गरेको छ।

१७. तपाईंले कस्तो सङ्कल्प गर्नुभएको छ? अर्को लेखमा हामी कुन कुरा छलफल गर्नेछौं?

१७ हामी सबैले अब्राहामको विश्वास अनुकरण गर्ने सङ्कल्प गरौं। यहोवाको विषयमा जति धेरै ज्ञान लिंदै जान्छौं, त्यति नै हामी उहाँप्रति सत्यनिष्ठ हुन सक्नेछौं अनि वफादार भएर यहोवाको सेवा गर्दा के-कस्ता इनाम पाउन सक्छौं भनेर थप अनुभव बटुल्न सक्नेछौं। (हिब्रू ६:१०-१२ पढ्नुहोस्) त्यसैले यहोवा र हाम्रो मित्रता कहिल्यै नटुटोस्। हामी अर्को लेखमा, यहोवाको मित्र बनेका तीन जना वफादार सेवकहरूबारे छलफल गर्नेछौं।

^ [१] (अनुच्छेद ३) ती मानिस र तिनकी श्रीमतीलाई पहिला अब्राम र साराई भनिन्थ्यो। तर पछि यहोवाले तिनीहरूलाई अब्राहाम र सारा भन्ने नाम दिनुभयो। यस लेखमा हामी तिनीहरूको यही नाम प्रयोग गर्नेछौं।

^ [२] (अनुच्छेद ९) हितोपदेश १७:१७ (NW): “साँचो मित्रले सधैं प्रेम गर्छ, र दुःखमा साथ दिन जन्मेको दाजुभाइ सरह हुन्छ।”