सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका वफादार सेवकहरूबाट सिक्नुहोस्

यहोवाका वफादार सेवकहरूबाट सिक्नुहोस्

“परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, कि न्याय गर्नू, दया गर्नू [“वफादारीलाई प्रेम गर्नू,” NW] र तेरा परमेश्वरसित नम्र भएर हिंड्नू।” —मीका ६:८.

गीत: ६३, ४३

१, २. परमेश्वरप्रति वफादार भएको कुरा दाऊदले कसरी देखाए? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

चारैतिर चकमन्न अन्धकार छाएको छ। छाउनीभरि ३,००० सिपाही मस्तसित निदाइरहेका छन्‌। दाऊद र अबीशै चाल मारेर तिनीहरूलाई छिचोल्दै छाउनीको बीचमा पुग्छन्‌। त्यहाँ राजा शाऊल मजाले सुतिरहेका छन्‌। दाऊदलाई मार्न उनी तिनलाई खोज्दै-खोज्दै यहूदी मरुभूमिसम्म आइपुगेका हुन्‌। शाऊललाई देखेपछि अबीशैले दाऊदलाई कानमा खुसुक्क यसो भन्छन्‌: “भालाले घोचेर एकै खेपमा [शाऊललाई] भूइँमा रोपिदिने मलाई हुकूम दिनुहोस्। मैले दुई खेप हिर्काउनै पर्दैन।” तर दाऊदले तिनलाई यस्तो अचम्मलाग्दो जवाफ दिए, “राजालाई केही हानि नगर। परमप्रभुका अभिषिक्त जनमाथि हात उठाउने कोचाहिं विना दण्ड उम्केको छ? . . . मैले परमप्रभुको अभिषिक्तको विरुद्धमा हात कहिले उठाउन नपरोस्।”—१ शमू. २६:८-१२.

परमेश्वरप्रति वफादार रहनुको मतलब के हो भनेर दाऊदले राम्रोसित बुझेका थिए। तिनले शाऊललाई हानि गर्ने कुरा मनमा चिताएका समेत थिएनन्‌। किन? किनभने शाऊललाई इस्राएलको राजा हुन परमेश्वरले नै छान्नुभएको हो भनेर तिनलाई थाह थियो। परमेश्वरका वफादार सेवकहरूले उहाँले छानेका व्यक्तिहरूलाई आदर देखाउँछन्‌। वास्तवमा आफ्ना सबै सेवकले अरूलाई दया गरेको अर्थात्‌ ‘वफादारीलाई प्रेम गरेको’ यहोवा चाहनुहुन्छ।—मीका ६:८ पढ्नुहोस्।

३. अबीशै दाऊदप्रति कसरी वफादार भए?

अबीशैले दाऊदप्रति आदर देखाए। बेतशेबासित अवैध यौनसम्बन्ध राखेपछि आफ्नो गल्ती ढाकछोप गर्न दाऊदले अबीशैका भाइ योआबको मदत लिएका थिए। तिनले योआबलाई बेतशेबाको श्रीमान्‌ उरियाहलाई लडाइँमा मार्ने प्रबन्ध मिलाउन लगाएका थिए। (२ शमू. ११:२-४, १४, १५; १ इति. २:१६) त्यसैले अबीशैको कानमा पनि यो कुरा परेको हुन सक्छ। तैपनि तिनले दाऊदलाई परमेश्वरबाट नियुक्त राजाको रूपमा आदर देखाइरहे। अनि सेनाको कप्तान भए तापनि तिनले कहिल्यै पनि इस्राएलको सिंहासन हडप्ने दुस्साहस गरेनन्‌; बरु राजद्रोही अनि शत्रुहरूको हातबाट दाऊदलाई जोगाए।—२ शमू. १०:१०; २०:६; २१:१५-१७.

४. (क) परमेश्वरप्रति वफादार रहने सन्दर्भमा दाऊद राम्रो उदाहरण हुन्‌ भनेर हामी किन भन्न सक्छौं? (ख) अब हामी के छलफल गर्नेछौं?

शाऊललाई मार्न नचाहेको घटनाबाट दाऊद परमेश्वरका वफादार सेवक थिए भन्ने देखिन्छ। तिनी जवान छँदाको कुरा विचार गर्नुहोस्; “जीवित परमेश्वरको सेनालाई तुच्छ भन्ने” दुस्साहस गरेका अजङ्गको पलिश्ती गोल्यतसित भिड्न तिनी अघि सरेका थिए। (१ शमू. १७:२३, २६, ४८-५१) राजा भएपछि अवैध यौनसम्बन्ध अनि हत्याजस्तो गम्भीर पाप गर्न पुगे तापनि नातान भविष्यवक्ताले सुधार्न खोज्दा तिनले नम्र भई आफ्नो गल्ती स्वीकारे अनि पश्‍चात्ताप गरे। (२ शमू. १२:१-५, १३) बुढेसकालमा पनि दाऊद परमेश्वरप्रति वफादार रहे। जस्तै: तिनले यहोवाको मन्दिर बनाउनको लागि उदार हुँदै थुप्रै अनुदान दिए। (१ इति. २९:१-५) हो, दाऊदले गम्भीर गल्तीहरू गरेका थिए, तैपनि तिनी परमेश्वरप्रति वफादार रहे। (भज. ५१:४, १०; ८६:२) अब हामी दाऊद र तिनकै समयका केही व्यक्तिबारे चर्चा गर्नेछौं अनि यी प्रश्नहरूको जवाफ पाउनेछौं: वफादार रहने सन्दर्भमा कसलाई प्राथमिकता दिने? परमेश्वरप्रति वफादार रहन कुन गुणहरू चाहिन्छ?

वफादार रहने सन्दर्भमा कसलाई प्राथमिकता दिने?

५. अबीशैको गल्तीबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

चाल मारेर शाऊलको छाउनीभित्र छिरेका अबीशैले त्यतिबेला वफादार रहने सन्दर्भमा कसलाई प्राथमिकता दिने भनेर सही निर्णय गर्न सकेनन्‌। दाऊदप्रति वफादार भएकोले तिनी राजा शाऊललाई मार्न समेत तम्सेका थिए। तर दाऊदले तिनलाई रोके। किनभने “परमप्रभुका अभिषिक्त जनमाथि हात” उठाउनु ठीक होइन भनेर तिनले महसुस गरे। (१ शमू. २६:८-११) यो घटनाबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौं: हामीले थुप्रै व्यक्तिलाई वफादारी देखाउनुपर्ने हुन्छ तर कसलाई प्राथमिकता दिने भन्ने सन्दर्भमा सही निर्णय गर्न हामीलाई बाइबल सिद्धान्तहरूले मदत गर्छ।

६. साथी वा आफन्तप्रति वफादार हुने कुरा स्वाभाविक भए पनि हामी किन होसियार हुनुपर्छ?

वफादार रहने कुरा मनदेखि आउँछ तर हाम्रो मन छली हुन्छ भन्ने कुरा पनि हामीले बिर्सनु हुँदैन। (यर्मि. १७:९) परमेश्वरप्रति वफादार व्यक्ति पनि बिस्तारै-बिस्तारै खराब काम गर्ने आफ्नो घनिष्ठ साथी वा आफन्तप्रति वफादार हुन सक्छ। विशेषगरि हाम्रो नजिकको कुनै व्यक्तिले सत्यलाई त्याग्दा यहोवाप्रति वफादार रहनु सबैभन्दा महत्त्वपूर्ण हो भनेर हामीले भुल्नु हुँदैन।मत्ती २२:३७ पढ्नुहोस्।

७. एउटी बहिनी गाह्रो अवस्थामा पनि कसरी परमेश्वरप्रति वफादार रहिन्‌?

आफूले माया गरेको कुनै व्यक्ति बहिष्कार हुँदा कोप्रति वफादार रहने भनेर निर्णय गर्न निकै गाह्रो हुन सक्छ। एनी [१] बहिनीको उदाहरण विचार गर्नुहोस्। तिनलाई बहिष्कार भएकी आमाले फोन गरिन्‌। परिवारबाट टाढिनुपरेकोले आफूलाई एकदमै न्यास्रो लागिरहेको र तिनलाई भेट्न मन लागेको कुरा तिनकी आमाले बताइन्‌। आमाको अवस्था थाह पाएपछि एनी निकै दुःखी भइन्‌ अनि चिठ्ठी लेखेर जवाफ दिन्छु भनेर कुरा टुङ्ग्याइन्‌। तर चिठ्ठी लेख्नुअघि तिनले बाइबलमा दिइएका सिद्धान्तहरू राम्ररी विचार गरिन्‌। (१ कोरि. ५:११; २ यूह. ९-११) त्यसपछि तिनले चिठ्ठी लेखिन्‌ अनि आमाकै गम्भीर गल्ती अनि अपश्‍चात्तापी मनोवृत्तिको कारण उनी आफै नै परिवारबाट टाढिएको हो भनेर दयालु हुँदै सम्झाइन्‌। एनीले यस्तो पनि लेखिन्‌: “आमा, आफ्नो पीडाबाट मुक्त हुने एउटा मात्र तरिका भनेको यहोवामा फर्कनु नै हो।”—याकू. ४:८.

८. परमेश्वरप्रति वफादार रहन हामीलाई कुन-कुन गुणले मदत गर्छ?

दाऊदको समयका अरू वफादार व्यक्तिहरूले देखाएको तीनवटा गुणले हामीलाई परमेश्वरप्रति वफादार रहन मदत गर्छ। ती गुणहरू हुन्‌: नम्रता, दया र साहस। अब हामी एक-एक गर्दै यी गुणहरूबारे छलफल गरौं।

परमेश्वरप्रति वफादार रहन चाहिने गुण—नम्रता

९. अबनेरले दाऊदलाई मार्न खोज्नुको कारण के थियो?

दाऊद गोल्यतको टाउको लिएर शाऊलसित कुरा गर्न आउँदा त्यहाँ अरू दुई जना प्रत्यक्षदर्शी पनि थिए। एक जना दाऊदसित मित्रताको करार बाँधेका जोनाथन अनि अर्का प्रधान सेनापति अबनेर। (१ शमू. १७:५७–१८:३) पछि दाऊदलाई मार्न खोज्दा अबनेरले शाऊललाई साथ दिएका थिए। यही कुरालाई सङ्केत गर्दै दाऊदले यस्तो लेखे: “थिचोमिचो गर्ने मानिसहरूले मेरो प्राण लिन खोजेका छन्‌।” (भज. ५४:३; १ शमू. २६:१-५) हुन त जोनाथनलाई जस्तै अबनेरलाई पनि यहोवाले दाऊदलाई इस्राएलको राजा हुन छान्नुभएको छ भनेर थाह थियो। तर शाऊलको मृत्युपछि अबनेरले दाऊदलाई नभई शाऊलका छोरा ईश्बोशेतलाई राजा बनाउन खोजे। पछि तिनी आफै पनि राजा हुन खोजेको जस्तो देखिन्छ किनभने तिनले शाऊलकी उपपत्नीसित नाजायज सम्बन्ध राखे। (२ शमू. २:८-१०; ३:६-११) जोनाथन र अबनेरले दाऊदलाई गरेको व्यवहार किन फरक थियो? किनकि जोनाथन नम्र र यहोवाप्रति वफादार थिए तर अबनेर भने त्यस्ता थिएनन्‌।

१०. अब्शालोम परमेश्वरप्रति किन वफादार भएनन्‌?

१० दाऊदका छोरा अब्शालोम पनि नम्र नभएकोले परमेश्वरप्रति वफादार रहन सकेनन्‌। दाऊदको सट्टा तिनी आफै राजा बन्न चाहन्थे। त्यसैले तिनले “आफ्नो निम्ति एउटा रथ, घोडाहरू र आफ्नो अगिअगि दगुर्नलाई पचास जना मानिसहरू लिए।” (२ शमू. १५:१) साथै, तिनले जनतालाई आफूप्रति वफादार हुन लगाउन उनीहरूको मन जित्ने प्रयास गरे। दाऊदलाई इस्राएलको राजा हुन यहोवाले नै छान्नुभएको हो भनेर थाह हुँदा हुँदै पनि तिनले अबनेरले जस्तै आफ्नो बुबा दाऊदलाई मार्न खोजे।—२ शमू. १५:१३, १४; १७:१-४.

११. अबनेर, अब्शालोम र बारूकबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

११ ठूलठूला कुरा हासिल गर्न खोज्ने व्यक्ति परमेश्वरप्रति वफादार हुन सक्दैन भनेर अबनेर र अब्शालोमको उदाहरणले देखाउँछ। यहोवाका सेवकहरूमध्ये कोही पनि यस्तो हुन चाहँदैनन्‌; तिनीहरू स्वार्थी अनि दुष्ट कुराबाट टाढै बस्छन्‌। तर सरसम्पत्तिको लालच गर्दा अनि सम्मान पाउने करिअरको पछि दगुर्दा ख्रीष्टियनहरू पनि यहोवाबाट तर्किन सक्छन्‌। केही समयका लागि भविष्यवक्ता यर्मियाका सचिव बारूकको पनि मन खलबलिएको थियो। त्यतिबेला यहोवाले तिनलाई यस्तो चेतावनी दिनुभयो: “हेर, जे मैले बनाएको छु, त्यो म भत्काइरहेछु। औ जे मैले रोपेको छु, त्यो म उखेलिरहेछु—अर्थात्‌ यो सारा देशनै। के तँचाहिं आफ्नै निम्ति ठूला कुराहरू खोज्छस्? ती नखोज्।” (यर्मि. ४५:४, ५) बारूकले त्यो सल्लाह स्वीकारे। यस दुष्ट संसारको अन्त पर्खिरहेका हामी सबैले परमेश्वरका यी वचन मनमा राख्नु कत्ति बुद्धिमानी कुरा हो।

१२. हाम्रो स्वार्थी चाहनाले हामीलाई वफादार हुनदेखि कसरी रोक्छ? उदाहरण दिनुहोस्।

१२ मेक्सिकोमा बस्ने भाइ थानिएलले परमेश्वरप्रतिको वफादारी र आफ्नो व्यक्तिगत इच्छाबीच छनौट गर्नुपरेको थियो। तिनी यहोवाको उपासना नगर्ने केटीसित विवाह गर्न चाहन्थे। तिनी भन्छन्‌: “अग्रगामी सुरु गरिसकेपछि पनि मैले उसलाई चिठ्ठी लेख्न छोडिनँ। तर पछि मैले नम्र हुँदै आफैलाई जाँचें अनि एक जना एल्डरलाई सबै कुरा बताएँ। मलाई कोप्रति वफादार हुने भनेर निर्णय गर्न गाह्रो भइरहेको थियो। तर परमेश्वरप्रति वफादार हुने हो भने मैले उसलाई चिठ्ठी लेख्न छोड्नुपर्छ भनेर ती एल्डरले बताउनुभयो। त्यसपछि मैले कत्ति प्रार्थना गरें, कत्ति रोएँ, त्यो त शब्दमा व्यक्त गर्नै सक्दिनँ। तर जेहोस्, पछि मैले त्यसैअनुसार गर्दा प्रचारबाट आनन्द उठाउन सकें।” थानिएलले पछि एक जना असल ख्रीष्टियन बहिनीसित विवाह गरे अनि अहिले तिनी क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्दै छन्‌।

परमेश्वरप्रति वफादार रहन चाहिने गुण—दया

मण्डलीमा कसैले गम्भीर गल्ती गरेको थाह पाउनुभयो भने के तपाईं वफादार हुँदै आफ्नो साथीलाई आध्यात्मिक मदत दिन अघि सर्नुहुन्छ? (अनुच्छेद १४ हेर्नुहोस्)

१३. दाऊदले पाप गर्दा नातानले परमेश्वर र दाऊद दुवैप्रति कसरी वफादारी देखाए?

१३ यहोवाप्रति वफादार रह्यौं भने हामी आफूले आदर गर्नुपर्ने मान्छेप्रति पनि वफादार रहने मदत पाउँछौं। भविष्यवक्ता नातानलाई लिनुहोस्। तिनी परमेश्वर अनि दाऊद दुवैप्रति वफादार थिए। दाऊदले अवैध यौनसम्बन्ध राखेको अनि त्यस स्त्रीको श्रीमान्‌लाई लडाइँमा मार्न लगाएको कुरा नातानलाई थाह थियो। तैपनि यहोवाले दाऊदलाई सम्झाउने आज्ञा दिंदा तिनले माने। दाऊदप्रति वफादार भए पनि तिनी यस्तो कदम चाल्न साहसी भए। तर दाऊदलाई सम्झाउँदा तिनी विवेकी र दयालु पनि भए। दाऊदले कत्ति गम्भीर पाप गरेका छन्‌ भनेर बुझाउन नातानले एउटा उदाहरण चलाए। तिनले धनी मान्छेले गरिब मान्छेको पाठो खोसेर अन्याय गरेको उदाहरण बताए। दाऊदले धनी मान्छेप्रति रिस पोख्दा नातानले यसो भने: “त्यो मानिस तपाईं नै हो!” यत्ति भनेपछि दाऊदले कुरा बुझिहाले।—२ शमू. १२:१-७, १३.

१४. तपाईं यहोवा र आफ्नो साथी वा आफन्त दुवैप्रति कसरी वफादार हुन सक्नुहुन्छ?

१४ वफादार रहने सन्दर्भमा कसलाई प्राथमिकता दिने भनेर सही निर्णय गर्न दया भन्ने गुणले पनि मदत गर्छ। एउटा उदाहरण विचार गर्नुहोस्। मण्डलीको कसैले गम्भीर गल्ती गरेको तपाईंलाई थाह भयो। यदि त्यो व्यक्ति तपाईंको घनिष्ठ साथी वा नजिकको मान्छे हो भने तपाईं ऊप्रति वफादार रहन चाहनुहुन्छ होला। तर उसको गल्ती ढाकछोप गर्न खोज्नुभयो भने तपाईं परमेश्वरप्रति अवफादार भइरहेको हुन्छ। हामीलाई थाह छ, यहोवाप्रति वफादार रहने कुरालाई नै हामीले प्राथमिकता दिनुपर्छ। त्यसैले नातानजस्तै दयालु हुनुका साथै साहसी पनि हुनुहोस्। गल्ती गर्ने व्यक्तिलाई एल्डरको मदत लिन भन्नुहोस्। पर्याप्त समय दिंदा पनि तिनले त्यो कुरा एल्डरलाई बताउँदैनन्‌ भने तपाईं आफैले त्यो कुरा एल्डरलाई बताउनुहोस्। यसो गर्नुभयो भने तपाईं यहोवाप्रति वफादार भइरहनुभएको हुनेछ अनि आफ्नो साथी वा आफन्तप्रति पनि दयालु भइरहनुभएको हुनेछ। किनभने एल्डरहरूले उसलाई दयालु हुँदै सही मार्गमा हिंड्न मदत गर्नेछन्‌।लेवी ५:१; गलाती ६:१ पढ्नुहोस्।

परमेश्वरप्रति वफादार रहन चाहिने गुण—साहस

१५, १६. परमेश्वरप्रति वफादार रहन हूशैलाई किन साहस चाहियो?

१५ परमेश्वरप्रति वफादार रहन हूशै भन्ने व्यक्तिलाई साहस चाहिएको थियो। हूशै दाऊदका वफादार साथी थिए। तर दाऊदका छोरा अब्शालोमले धेरैजसो जनतालाई आफ्नो मुठीमा पार्दा अनि यरूशलेम र त्यहाँको सिंहासन हडप्न खोज्दा हूशैको वफादारीको जाँच भयो। (२ शमू. १५:१३; १६:१५) अब्शालोमले मार्न खोजेको कारण दाऊद सहरबाट भागेका थिए। त्यतिबेला हूशैले के गरे? तिनी पनि अब्शालोमप्रति नै वफादार रहने थिए कि? अथवा ज्यान बचाउन यताउता भागिरहेका वृद्ध राजाको पछि लाग्ने थिए? परमेश्वरले नियुक्त गर्नुभएको राजाप्रति वफादार रहेको कारण हूशै “जैतून डाँडा”-मा दाऊदलाई भेट्न गए।—२ शमू. १५:३०, ३२.

१६ दाऊदले हूशैलाई यरूशलेममै फर्कन भने। दाऊदले हूशैलाई त्यहाँ गएर अब्शालोमको पक्ष लिएको नाटक गर्ने अनि अहीतोपेलको सबै योजना विफल तुल्याउने सल्लाह दिए। दाऊदले भनेअनुसार गर्दा हूशैको ज्यान जोखिममा पर्न सक्थ्यो। तर तिनले दाऊदले भनेजस्तै गरे अनि यहोवाप्रति वफादार भएको देखाए। हूशैलाई साथ दिन दाऊदले यहोवासित बिन्ती गरेका थिए। नभन्दै त्यस्तै भयो; अब्शालोमले अहीतोपेलको नभई साहसी हूशैको सल्लाह स्वीकारे।—२ शमू. १५:३१; १७:१४.

१७. वफादार रहन हामीलाई किन साहस चाहिन्छ?

१७ यहोवाप्रति वफादार रहन हामीलाई पनि साहस चाहिन्छ। यहोवाप्रति वफादार रहेको साबित गर्न हामीले परिवारका सदस्य, सहकर्मी अनि विभिन्न सरकारी अख्तियारवालाहरूबाट आएको खेदोको साहसी हुँदै सामना गऱ्यौं। जापानमा बस्ने तारो भन्ने भाइको उदाहरण विचार गर्नुहोस्। तिनी सानैदेखि आमाबुबाप्रति वफादार र आज्ञाकारी थिए। तिनले झारा टार्नको लागि मात्र त्यसो गरेका थिएनन्‌। तिनी साँच्चै नै आफ्नो आमाबुबालाई खुसी पार्न चाहन्थे। तर तिनले यहोवाका साक्षीहरूसित सङ्गत गरेको तिनको आमाबुबालाई मन परेन। आमाबुबाको विरोधले गर्दा तारोलाई साक्षीहरूको सभामा जाने निर्णय उहाँहरूलाई सुनाउन निकै गाह्रो भयो। तिनी भन्छन्‌: “उहाँहरू एकदमै रिसाउनुभयो; वर्षौंसम्म पनि घरमा छिर्नै दिनुभएन। त्यसैले आफ्नो निर्णयमा अडिग रहन साहस दिनुहोस् भनेर मैले यहोवालाई बिन्ती गरें। अहिले उहाँहरू परिवर्तन भइसक्नुभयो; मसँग राम्रो व्यवहार गर्नुहुन्छ अनि नियमित रूपमा म उहाँहरूलाई भेट्न जान्छु।”हितोपदेश २९:२५ पढ्नुहोस्।

१८. यो लेखबाट तपाईंले के सिक्नुभयो?

१८ दाऊद, जोनाथन, नातान अनि हूशैले जस्तै यहोवाप्रति वफादार रहेर हामीले पनि गहिरो सन्तुष्टि प्राप्त गर्न सकौं। अनि अबनेर र अब्शालोमको अवफादारीबाट पाठ सिकौं। हामी दाऊदजस्तै यहोवासित टाँसिरहन अर्थात्‌ उहाँप्रति वफादार भइरहन चाहन्छौं नि, होइन र? त्रुटिपूर्ण भएकोले हामीबाट गल्ती हुँदै-हुँदैन भन्ने त होइन तर यहोवाप्रति वफादार रहने कुरालाई चाहिं हामी प्राथमिकता दिन सक्छौं।

^ [१] (अनुच्छेद ७) केही नामहरू परिवर्तन गरिएका छन्‌।