सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आज परमेश्वरका जनहरूलाई कसले डोऱ्याउँदै छ?

आज परमेश्वरका जनहरूलाई कसले डोऱ्याउँदै छ?

“जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌ . . . तिनीहरूलाई सम्झ।”—हिब्रू १३:७.

गीत: १२५, ४३

१, २. येशू स्वर्ग जानुभएपछि प्रेषितहरूको मनमा कस्तो प्रश्न उब्जेको हुनुपर्छ?

येशूका प्रेषितहरू जैतुन डाँडामा उभेर आकाशतिर हेरिरहेका थिए। तिनीहरूले भर्खरै आफ्नो मालिक र साथी मास्तिर उठाइनुभएको र बादलले उहाँलाई छोपेको देखेका थिए। (प्रेषि. १:९, १०) लगभग दुई वर्षसम्म येशूले तिनीहरूलाई सिकाउनुभयो, प्रोत्साहन दिनुभयो र डोऱ्याउनुभयो। तर अब उहाँ तिनीहरूसित हुनुहुन्न थियो। तिनीहरूले के गर्ने थिए?

येशूले आफ्ना चेलाहरूलाई यस्तो आज्ञा दिनुभएको थियो: “यरूशलेमका साथै सारा यहूदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।” (प्रेषि. १:८) तिनीहरूले यस्तो ठूलो काम कसरी पूरा गर्न सक्ने थिए? हुन त तिनीहरूले चाँडै पवित्र शक्ति पाउनेछन्‌ भनेर येशूले आश्वासन दिनुभएको थियो। (प्रेषि. १:५) तर पृथ्वीभरि प्रचार गर्न कसले तिनीहरूलाई निर्देशन दिने थियो र व्यवस्थित पार्ने थियो? प्राचीन समयमा यहोवाले आफ्ना जनहरूलाई व्यवस्थित पार्न पृथ्वीमा आफ्ना प्रतिनिधिहरू प्रयोग गर्नुभएको थियो। त्यसैले प्रेषितहरूको मनमा यस्तो प्रश्न उब्जेको हुनुपर्छ: ‘के यहोवाले अब नयाँ नेता नियुक्त गर्नुहुनेछ?’

३. (क) येशू स्वर्ग जानुभएपछि वफादार प्रेषितहरूले कस्तो महत्त्वपूर्ण निर्णय गरे? (ख) यस लेखमा हामी के छलफल गर्नेछौं?

येशू स्वर्ग जानुभएको दुई हप्ता पनि नबित्दै येशूका चेलाहरूले धर्मशास्त्रको जाँच गरे, परमेश्वरको डोऱ्याइको लागि प्रार्थना गरे र यहूदा इस्करियोतको ठाउँमा मत्तियासलाई १२ औं प्रेषितको रूपमा छाने। (प्रेषि. १:१५-२६) मत्तियासलाई छान्नु तिनीहरू र यहोवाको लागि किन महत्त्वपूर्ण थियो? किनभने प्रेषितहरूको सङ्‌ख्या १२ हुनुपर्छ भनेर चेलाहरूले बुझेका थिए। * आफूलाई प्रचारकार्यमा साथी चाहिएर मात्र होइन बरु परमेश्वरका जनहरूको समूहमा एउटा महत्त्वपूर्ण भूमिका पूरा गर्न येशूले प्रेषितहरू छान्नुभएको थियो। त्यो भूमिका के थियो र यहोवाले येशूमार्फत कसरी तिनीहरूलाई त्यो भूमिका पूरा गर्न सक्षम बनाउनुभयो? त्यतिबेला जस्तै आज पनि परमेश्वरका जनहरूमाझ कस्तो प्रबन्ध छ? अनि हामीबीच ‘अगुवाइ लिइरहेकाहरू,’ विशेषगरि “विश्वासी र बुद्धिमान्‌ दास”-लाई हामी कसरी ‘सम्झन’ सक्छौं?—हिब्रू १३:७; मत्ती २४:४५.

येशूले परिचालक निकायलाई डोऱ्याउँदै हुनुहुन्छ

४. प्रथम शताब्दीमा यरूशलेमका प्रेषित र अरू एल्डरहरूले कस्तो भूमिका खेले?

इस्वी संवत्‌ ३३ पेन्तिकोसमा प्रेषितहरूले ख्रीष्टियन मण्डलीको नेतृत्व लिन थाले। त्यस अवसरमा “एघार जना प्रेषितसँगै पत्रुस उठे” अनि यहूदी र धर्म परिवर्तन गरेर यहूदी भएका मानिसहरूको ठूलो भीडलाई जीवनदायी सन्देश सुनाउन थाले। (प्रेषि. २:१४, १५) तिनीहरूमध्ये धेरै जना ख्रीष्टियन बने। त्यसपछि ती नयाँ ख्रीष्टियनहरूले “प्रेषितहरूको शिक्षा ध्यान दिएर” सुन्न थाले। (प्रेषि. २:४२) प्रेषितहरूले मण्डलीको आर्थिक मामिलासम्बन्धी सबै कुरा हेर्थे। (प्रेषि. ४:३४, ३५) तिनीहरूले परमेश्वरका जनहरूको आध्यात्मिक आवश्यकताको हेरचाह गर्थे। यसबारे यस्तो लेखिएको छ: “हामी भने प्रार्थना गर्ने र परमेश्वरको वचन सिकाउने काममा समर्पित हुनेछौं।” (प्रेषि. ६:४) तिनीहरूले नयाँ-नयाँ इलाकामा प्रचार गर्न परिपक्व ख्रीष्टियनहरूलाई खटाए। (प्रेषि. ८:१४, १५) पछि, मण्डलीहरूको कामकुरा व्यवस्थित पार्न अरू अभिषिक्त एल्डरहरूले प्रेषितहरूलाई साथ दिए। तिनीहरूले परिचालक निकायको रूपमा सबै मण्डलीलाई निर्देशन दिए।—प्रेषि. १५:२.

५, ६. (क) पवित्र शक्तिले परिचालक निकायलाई कसरी सक्षम बनायो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्) (ख) स्वर्गदूतहरूले परिचालक निकायलाई कसरी मदत गरे? (ग) परमेश्वरको वचनले परिचालक निकायलाई कसरी डोऱ्यायो?

यहोवाले आफ्ना जनहरूको नेता येशूमार्फत परिचालक निकायलाई निर्देशन दिइरहनुभएको थियो भनेर प्रथम शताब्दीका ख्रीष्टियनहरूले बुझेका थिए। तिनीहरू कसरी यो कुरामा पक्का हुन सके? पहिलो, पवित्र शक्तिले परिचालक निकायलाई सक्षम बनायो। (यूह. १६:१३) सबै अभिषिक्त ख्रीष्टियनमाथि पवित्र शक्ति खन्याइएको थियो। तर यसले विशेषगरि, यरूशलेमका प्रेषित र अरू एल्डरहरूलाई निरीक्षकको भूमिका पूरा गर्न मदत गऱ्यो। उदाहरणको लागि, इस्वी संवत्‌ ४९ मा पवित्र शक्तिको डोऱ्याइ पाएर परिचालक निकायले खतनाको विषयमा निर्णय गऱ्यो। मण्डलीहरूले त्यो निर्णय स्विकारे अनि “मण्डलीमा हुनेहरूको विश्वास बलियो हुँदै जानुका साथै उनीहरूको सङ्‌ख्या पनि दिनप्रतिदिन बढ्‌दै गयो।” (प्रेषि. १६:४, ५) खतनाबारे पठाइएको पत्रबाट परिचालक निकायले परमेश्वरको पवित्र शक्ति पाएको अनि प्रेम र विश्वासजस्ता गुण देखाएको कुरा पनि प्रस्ट भयो।—प्रेषि. १५:११, २५-२९; गला. ५:२२, २३.

दोस्रो, स्वर्गदूतहरूले परिचालक निकायलाई मदत गरे। खतना नगरिएका अन्यजातिहरूबाट ख्रीष्टियन बन्ने पहिलो व्यक्ति कर्नीलियस थिए। कर्नीलियसले बप्तिस्मा गर्नुअघिको कुरा हो, एक जना स्वर्गदूतले तिनलाई पत्रुस नाम गरेको मानिस खोज्नू भने। पत्रुसले कर्नीलियस र तिनका नातेदारहरूलाई प्रचार गरेपछि तिनीहरूमाथि पवित्र शक्ति खन्याइयो। तर त्यतिबेला तिनीहरूले खतना गरिसकेका थिएनन्‌। यस घटनाले गर्दा प्रेषितहरू र अरू भाइहरू परमेश्वरको इच्छाअनुसार चल्न र खतना नगरेका अन्यजातिहरूलाई ख्रीष्टियन मण्डलीमा स्विकार्न राजी भए। (प्रेषि. ११:१३-१८) साथै परिचालक निकायको निगरानीमा भइरहेको प्रचारकार्यलाई समर्थन र विस्तार गर्न स्वर्गदूतहरू जोडतोडले लागे। (प्रेषि. ५:१९, २०) तेस्रो, परमेश्वरको वचनले परिचालक निकायलाई डोऱ्यायो। धर्मशास्त्रसम्बन्धी कुनै मामिला सुल्झाउनुपर्दा वा सङ्‌गठनसम्बन्धी कुनै निर्देशन दिनुपर्दा यी अभिषिक्त एल्डरहरू धर्मशास्त्रको आधारमा निर्णय गर्थे।—प्रेषि. १:२०-२२; १५:१५-२०.

७. सुरु-सुरुका ख्रीष्टियनहरूलाई येशूले डोऱ्याउँदै हुनुहुन्थ्यो भनी हामी किन भन्न सक्छौं?

हुन त सुरु-सुरुका मण्डलीहरूमाथि परिचालक निकायको अख्तियार थियो। तर परिचालक निकायका सदस्यहरूले आफ्नो नेता येशू हुनुहुन्छ भनेर बुझेका थिए। प्रेषित पावलले यस्तो लेखे: “उहाँले [अर्थात्‌ ख्रीष्टले] कसैलाई प्रेषित[को] . . . रूपमा दिनुभयो।” तिनले अझै यसो भने: “शिर अर्थात्‌ ख्रीष्टको अधीनमा बसेर हामी प्रेमद्वारा सबै कुरामा बढ्‌दै जाऔं।” (एफि. ४:११, १५) तिनीहरूले आफूलाई कुनै एक जना प्रमुख प्रेषितको नामले चिनाएनन्‌ बरु तिनीहरूलाई “ईश्वरीय निर्देशनद्वारा ‘ख्रीष्टियन’ भन्न थालियो।” (प्रेषि. ११:२६) नेतृत्व लिने प्रेषितहरू र अरू पुरुषहरूले दिएका “शिक्षाहरू” अर्थात्‌ धर्मशास्त्रमा आधारित चलनहरू पक्रिराख्नुपर्छ भनेर पावललाई थाह थियो। तैपनि तिनले यसो भने: “तिमीहरूले यो कुरा बुझ भनी म चाहन्छु, हरेक पुरुषको [अनि परिचालक निकायको प्रत्येक सदस्यको] शिर ख्रीष्ट हुनुहुन्छ; त्यसैगरि . . . ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ।” (१ कोरि. ११:२, ३) हो, ख्रीष्टको शिर यहोवा परमेश्वर हुनुहुन्छ। त्यसैले अदृश्य अनि महिमित येशू ख्रीष्टले यहोवाको अधीनमा रहेर मण्डलीलाई डोऱ्याउँदै हुनुहुन्थ्यो।

“यो मानिसको काम होइन”

८, ९. भाइ रसलले १९ औं शताब्दीको अन्ततिरदेखि कस्तो महत्त्वपूर्ण भूमिका खेल्न थाल्नुभयो?

चार्ल्स टेज रसल र उहाँका केही साथीले १९ औं शताब्दीको अन्ततिर साँचो उपासना पुनर्स्थापित गर्न प्रयास गर्नुभयो। बाइबलको सत्य विभिन्न भाषामा फैलाउन जायन्स वाच टावर ट्राक्ट सोसाइटी सन्‌ १८८४ मा कानुनी तवरमा दर्ता गरियो। यस संस्थाका अध्यक्ष भाइ रसल हुनुहुन्थ्यो। * उहाँ बाइबलको जेहनदार विद्यार्थी हुनुहुन्थ्यो। उहाँले साहसी भई त्रिएक र अमर आत्माजस्ता झूटा शिक्षाहरूको पर्दाफास गर्नुभयो। उहाँले ख्रीष्ट अदृश्य रूपमा फर्कनुहुनेछ र “राष्ट्रहरूलाई दिइएको समय” सन्‌ १९१४ मा पूरा हुनेछ भनेर बुझ्नुभएको थियो। (लूका २१:२४) यस्ता सत्यहरू मानिसहरूलाई बताउन भाइ रसलले आफ्नो समय, शक्ति र पैसा खर्च गर्न कुनै कन्जुस्याइँ गर्नुभएन। स्पष्ट छ, त्यस निर्णायक समयमा यहोवा र मण्डलीको शिर येशूले भाइ रसललाई प्रयोग गर्नुभयो।

भाइ रसलले मानिसहरूको वाहवाही खोज्नुभएन। सन्‌ १८९६ मा उहाँले यस्तो लेख्नुभयो: “हामी आफ्नो लागि वा आफूले तयार पारेका लेखहरूको लागि कसैबाट श्रद्धा र महिमा चाहँदैनौं; हामीलाई कसैले श्रद्धेय वा गुरु भनेको पनि चाहँदैनौं। न त कुनै मानिस हाम्रो नामले चिनिएको नै चाहन्छौं।” पछि उहाँले यसो भन्नुभयो: “यो मानिसको काम होइन।”

१०. (क) येशूले “विश्वासी र बुद्धिमान्‌ दास” कहिले नियुक्त गर्नुभयो? (ख) परिचालक निकाय र वाच टावर सोसाइटीबीचको भिन्नता कसरी प्रस्ट पार्दै लगियो?

१० भाइ रसलको मृत्यु भएको तीन वर्षपछि सन्‌ १९१९ मा येशूले “विश्वासी र बुद्धिमान्‌ दास” नियुक्त गर्नुभयो। किन? आफ्नो घरका अरू दासहरूलाई “ठीक समयमा भोजन” दिन। (मत्ती २४:४५) त्यतिबेला अमेरिकाको ब्रूक्लिनमा सेवा गर्ने अभिषिक्त भाइहरूको सानो समूहले येशूका चेलाहरूको लागि आध्यात्मिक भोजन तयार पार्ने र वितरण गर्ने काम गरिरहेको थियो। हाम्रा प्रकाशनहरूले १९४० को दशकदेखि “परिचालक निकाय” भन्ने अभिव्यक्ति प्रयोग गर्न थाल्यो। त्यतिबेलाको बुझाइअनुसार परिचालक निकायका सदस्यहरू भनेकै वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीका सञ्चालकहरू हुन्‌ भन्ने थियो। तर सन्‌ १९७१ मा परिचालक निकाय र वाच टावर सोसाइटी एउटै होइन भनेर स्पष्ट पारियो। वाच टावर सोसाइटी भनेको सरकारमा दर्ता भएको संस्था हो। तर परिचालक निकाय भनेको बाइबलमा आधारित शिक्षा दिने निकाय हो। पछि अरू अभिषिक्त भाइहरूलाई परिचालक निकायको सदस्यको रूपमा नियुक्त गरियो, जो वाच टावर सोसाइटीका सञ्चालकहरू थिएनन्‌। हालैका वर्षहरूमा वाच टावर सोसाइटीलगायत हाम्रा अन्य संस्थाहरूको सञ्चालकको रूपमा “अरू भेडा”-का जिम्मेवार भाइहरू सेवा गर्छन्‌। यसले गर्दा परिचालक निकायले आध्यात्मिक शिक्षा र निर्देशन दिने काममा ध्यान दिन सकेको छ। (यूह. १०:१६; प्रेषि. ६:४) जुलाई १५, २०१३ को प्रहरीधरहरा-मा बताइएअनुसार “विश्वासी र बुद्धिमान्‌ दास” भनेको अभिषिक्त भाइहरू मिलेर बनेको सानो समूह हो।

परिचालक निकाय, १९५० को दशकमा

११. परिचालक निकायले कसरी निर्णयहरू गर्छ?

११ परिचालक निकायले सामूहिक रूपमा महत्त्वपूर्ण निर्णयहरू गर्छ। कसरी? हरेक हप्ता परिचालक निकायको सभा हुने गर्छ। यसले गर्दा तिनीहरू एकअर्कासित खुलस्त कुराकानी गर्न सक्छन्‌ र एकतामा रहिरहन सक्छन्‌। (हितो. २०:१८) परिचालक निकायका सदस्यहरूले हरेक वर्ष पालैपालो चेयरम्यानको भूमिका निभाउँछन्‌। किनभने परिचालक निकायका सदस्यहरू कसैले पनि आफूलाई अर्को सदस्यभन्दा श्रेष्ठ ठान्दैनन्‌। (१ पत्रु. ५:१) परिचालक निकायअन्तर्गत छ वटा समिति छन्‌। प्रत्येक समितिका सदस्यहरूले पनि परिचालक निकायले जस्तै हरेक वर्ष पालैपालो चेयरम्यानको भूमिका निभाउँछन्‌। परिचालक निकायको प्रत्येक सदस्यले आफूलाई सङ्‌गी सदस्यहरूको नेता ठान्दैनन्‌। परिचालक निकायका प्रत्येक सदस्य “अरू दासहरू”-मध्ये एक हुन्‌ र तिनीहरू आफै पनि विश्वासी दासले तयार पारेको भोजन लिन्छन्‌ र त्यसको अधीनमा बस्छन्‌।

सन्‌ १९१९ मा नियुक्त भएदेखि विश्वासी दासले परमेश्वरका जनहरूको निम्ति आध्यात्मिक भोजन तयार पार्दै आएको छ (अनुच्छेद १०, ११ हेर्नुहोस्)

“वास्तवमा विश्वासी र बुद्धिमान्‌ दास को हो?”

१२. परिचालक निकायले परमेश्वरबाट अलौकिक दर्शन नपाउने भएकोले र यो त्रुटिरहित नभएकोले कस्ता प्रश्नहरू उठ्‌छन्‌?

१२ परिचालक निकायले परमेश्वरबाट अलौकिक दर्शन पाउँदैन न त यो निकाय त्रुटिरहित नै छ। त्यसैले बाइबलको शिक्षा वा सङ्‌गठनसम्बन्धी निर्देशन दिंदा यसले गल्ती गर्न सक्छ। यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी-मा “हाम्रो विश्वासबारे स्पष्टीकरण” भन्ने एउटा शीर्षक राखिएको छ। त्यसअन्तर्गत बाइबलको हाम्रो बुझाइमा भएका छाँटकाँटहरूको सूची पाउँछौं। आफ्नो विश्वासी दासले कहिल्यै छाँटकाँट गर्न नपर्ने आध्यात्मिक भोजन दिनेछ भनेर येशूले भन्नुभएन। त्यसोभए हामी कसरी येशूको यो प्रश्नको जवाफ दिन सक्छौं: “वास्तवमा विश्वासी र बुद्धिमान्‌ दास को हो?” (मत्ती २४:४५) यो दास परिचालक निकाय हो भन्ने के प्रमाण छ? प्रथम शताब्दीमा परिचालक निकायलाई परमेश्वरले डोऱ्याउनुभएको तीन वटा प्रमाण हामीले केलायौं। आज पनि परिचालक निकायलाई परमेश्वरले नै डोऱ्याउँदै हुनुहुन्छ भन्ने त्यही तीन वटा प्रमाण विचार गरौं।

१३. पवित्र शक्तिले परिचालक निकायलाई कसरी मदत गरेको छ?

१३ पवित्र शक्तिको प्रमाण। पहिला राम्ररी नबुझेका बाइबल सत्यहरू बुझ्न पवित्र शक्तिले परिचालक निकायलाई मदत गरेको छ। उदाहरणको लागि, अघिल्लो अनुच्छेदमा उल्लेख गरिएको “हाम्रो विश्वासबारे स्पष्टीकरण” भन्ने शीर्षकअन्तर्गत दिइएको सूचीलाई विचार गर्नुहोस्। यस्ता “गहिरा कुराहरू” पत्ता लगाएको र त्यसको व्याख्या गरेको श्रेय कुनै मानिसलाई दिन मिल्दैन। (१ कोरिन्थी २:१० पढ्‌नुहोस्) परिचालक निकायले प्रेषित पावलले जस्तै महसुस गर्छ। तिनले यस्तो लेखे: “हामी यी कुराहरू मानिसको बुद्धिले सिकाएका शब्दहरूद्वारा होइन तर पवित्र शक्तिले सिकाएका शब्दहरूद्वारा सिकाउँछौं।” (१ कोरि. २:१३) सयौं वर्षसम्म मानिसहरू धर्मत्याग र आध्यात्मिक अन्धकारको वशमा परेका थिए। तर सन्‌ १९१९ देखि आध्यात्मिक ज्योति झन्‌ झन्‌ चहकिलो हुँदै गयो। के यसको श्रेय पवित्र शक्तिबाहेक अरू कुनै कुरालाई दिन सकिन्छ र?

१४. प्रकाश १४:६, ७ अनुसार स्वर्गदूतहरूले अहिले परमेश्वरका जनहरूलाई कसरी मदत गरिरहेका छन्‌?

१४ स्वर्गदूतहरूले मदत गरेको प्रमाण। अहिले परिचालक निकायको काँधमा संसारभरि भइरहेको प्रचारकार्यको निरीक्षण गर्ने ठूलो जिम्मेवारी छ। यो काममा ८० लाखभन्दा धेरै प्रचारक लागिरहेका छन्‌। प्रचारकार्य कसरी यत्तिको सफल हुन सक्यो? एउटा कारण हो, यो काममा स्वर्गदूतहरूले मदत गरिरहेका छन्‌। (प्रकाश १४:६, ७ पढ्‌नुहोस्) धेरैजसो अवस्थामा मानिसहरूले मदतको लागि प्रार्थना गर्नेबित्तिकै प्रकाशकहरू त्यहाँ पुगेका छन्‌। * कुनै-कुनै मुलुकमा साक्षीहरूले घोर विरोध सहनुपरेको छ। तैपनि संसारभरि प्रचार गर्ने र चेला बनाउने काम तीव्र गतिले अघि बढिरहेको छ। स्वर्गदूतहरूको मदतविना यस्तो वृद्धि सम्भव हुने थिएन।

१५. परिचालक निकाय र चर्चजगत्‌का नेताहरूबीच कस्तो भिन्नता छ? एउटा उदाहरण बताउनुहोस्।

१५ परमेश्वरको वचनमा भरोसा। (यूहन्ना १७:१७ पढ्‌नुहोस्) सन्‌ १९७३ मा के भयो, विचार गर्नुहोस्। प्रहरीधरहरा (अङ्‌ग्रेजी), जून १ को अङ्‌कमा यो प्रश्न सोधिएको थियो: “धूम्रपान गर्ने कुलत नत्यागेका व्यक्तिहरू के बप्तिस्माको लागि योग्य हुन्छन्‌?” जवाफ यस्तो थियो: “धर्मशास्त्रमा दिइएको प्रमाण विचार गर्ने हो भने तिनीहरू योग्य हुँदैनन्‌ भनेर स्पष्ट हुन्छ।” त्यस प्रमाणसित सम्बन्धित केही पद उल्लेख गरेपछि धूम्रपान गर्न नछोड्‌ने व्यक्तिहरूलाई किन बहिष्कार गरिनुपर्छ भनेर त्यस प्रहरीधरहरा-ले बतायो। (१ कोरि. ५:७; २ कोरि. ७:१) त्यसमा यस्तो भनिएको थियो: “यो मनपरी अनि तानासाही तरिकाले गरिएको निर्णय थिएन। यस्तो कडा अडान वास्तवमा परमेश्वरबाटै आएको हो किनभने उहाँले आफ्नो सोचाइ लिखित वचनद्वारा व्यक्त गर्नुभएको छ।” कुनै निर्णयअनुसार चल्न आफ्ना सदस्यहरूलाई गाह्रो हुने भए तापनि परमेश्वरमाथि पूरा भरोसा राखेर त्यस्तो निर्णय गर्ने धार्मिक सङ्‌गठन अरू कुनै छ र? हालै अमेरिकामा प्रकाशित धर्मसम्बन्धी एउटा पुस्तक यसो भन्छ: “ख्रीष्टियन नेताहरूले आफ्ना सदस्यहरू अनि आम मानिसको समर्थन पाउन आफ्ना शिक्षाहरूलाई ती मानिसहरूको विश्वास र धारणासित मिलाउँदै लगेका छन्‌।” परिचालक निकायका सदस्यहरू लोकप्रिय धारणालाई होइन, परमेश्वरको वचनलाई आधार मानेर निर्णयहरू गर्छन्‌। यो कुरा विचार गर्दा परमेश्वरका जनहरूलाई वास्तवमा कसले डोऱ्याइरहेको छ भन्न सकिन्छ?

“जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌ . . . , तिनीहरूलाई सम्झ”

१६. परिचालक निकायलाई सम्झने एउटा तरिका के हो?

१६ हिब्रू १३:७ पढ्‌नुहोस्। यहाँ “सम्झ” भनी अनुवाद गरिएको शब्दलाई “उल्लेख गर” भनेर पनि अनुवाद गर्न सकिन्छ। त्यसैले ‘अगुवाइ लिइरहेकाहरूलाई सम्झने’ एउटा तरिका आफ्नो प्रार्थनामा परिचालक निकायबारे उल्लेख गर्नु हो। (एफि. ६:१८) तिनीहरूले आध्यात्मिक भोजन दिने, विश्वभरि भइरहेको प्रचारकार्यलाई निरीक्षण गर्ने अनि अनुदानको व्यवस्थापन गर्नेजस्ता जिम्मेवारी वहन गरिरहेका छन्‌। यो कुरा विचार गर्दा तिनीहरूको लागि हामीले नियमित रूपमा प्रार्थना गर्नु नितान्त आवश्यक छ!

१७, १८. (क) हामी कसरी परिचालक निकायलाई साथ दिन्छौं? (ख) हाम्रो प्रचारकार्यले विश्वासी दास र येशूलाई कसरी साथ दिन्छ?

१७ हामीले परिचालक निकायलाई सम्झेको कुरा मुखले मात्र होइन, तिनीहरूले दिने निर्देशन पालन गरेर पनि देखाउन सक्छौं। परिचालक निकायले हाम्रा प्रकाशनहरूमार्फत अनि सभा, सम्मेलन र अधिवेशनहरूमार्फत निर्देशन दिन्छ। साथै यसले क्षेत्रीय निरीक्षकहरू नियुक्त गर्छ अनि ती निरीक्षकहरूले मण्डलीका एल्डरहरू नियुक्त गर्छन्‌। क्षेत्रीय निरीक्षक र एल्डरहरूले परिचालक निकायले दिने निर्देशनहरू होसियारीसाथ पालन गरेर परिचालक निकायलाई सम्झन्छन्‌। हामीलाई डोऱ्याउन येशूले नियुक्त गर्नुभएका पुरुषहरूप्रति आज्ञाकारी भएर अनि तिनीहरूको अधीनमा बसेर हाम्रा नेता येशूलाई आदर गरेको देखाउँछौं।—हिब्रू १३:१७.

१८ परिचालक निकायलाई सम्झने अर्को तरिका प्रचारकार्यमा जोडतोडले लाग्नु हो। पावलले ख्रीष्टियनहरूलाई हाम्रो नेतृत्व लिने पुरुषहरूको विश्वास अनुकरण गर्न आग्रह गरेका छन्‌। विश्वासी दासले परमेश्वरको राज्यको सुसमाचार जोसिलो भई प्रचार गर्ने र त्यसलाई फैलाउने काममा लागेर उल्लेखनीय विश्वास देखाएका छन्‌। के तपाईं यस महत्त्वपूर्ण काममा अभिषिक्त जनहरूलाई साथ दिने अरू भेडाको सदस्य हुनुहुन्छ? हाम्रा नेता येशूले यसो भन्नुभएको सुन्न पाउँदा हामी कत्ति रमाउनेछौं: “तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानालाई जे-जति गऱ्यौ, त्यो तिमीहरूले मलाई नै गऱ्यौ!”—मत्ती २५:३४-४०.

१९. हाम्रा नेता येशूको पछि लाग्न तपाईं किन कटिबद्ध हुनुहुन्छ?

१९ येशू स्वर्ग फर्कनुभयो तर उहाँले आफ्ना चेलाहरूलाई त्याग्नुभएन। (मत्ती २८:२०) पृथ्वीमा छँदा परमेश्वरका जनहरूको नेतृत्व लिन पवित्र शक्ति, स्वर्गदूतहरू अनि परमेश्वरको वचनले कति धेरै मदत दिन्छ भनेर येशू आफैले अनुभव गर्नुभएको थियो। आज त्यस्तै मदतको लागि येशूले हामीलाई विश्वासी दास दिनुभएको छ। यस विश्वासी दासका सदस्यहरू “थुमा जता-जता जान्छन्‌, त्यतै-त्यतै तिनको पछि लाग्छन्‌।” (प्रका. १४:४) तिनीहरूको निर्देशन पछ्याउँदा हाम्रा नेता येशूको पछि लागिरहेका हुन्छौं। चाँडै, उहाँले हामीलाई अनन्त जीवनसम्म डोऱ्याउनुहुनेछ। (प्रका. ७:१४-१७) कुनै पनि मानव नेताले यस्तो प्रतिज्ञा गर्न सक्दैन!

^ अनु. 3 यहोवाले १२ जना प्रेषितलाई भविष्यमा नयाँ यरूशलेमको जग बसाल्न “बाह्र वटा ढुङ्‌गा”-को रूपमा प्रयोग गर्ने उद्देश्य राख्नुभएको थियो भनी प्रमाणहरूले देखाउँछ। (प्रका. २१:१४) त्यसैले कुनै प्रेषित वफादार भई मरेका भए तिनको ठाउँमा अरू कसैलाई प्रेषितको रूपमा छान्नुपर्ने थिएन।

^ अनु. 8 सन्‌ १९५५ देखि यो संस्था वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सिलभेनिया भन्ने नामले चिनिन थाल्यो।