सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा आफ्ना जनहरूलाई डोऱ्याउनुहुन्छ

यहोवा आफ्ना जनहरूलाई डोऱ्याउनुहुन्छ

“परमप्रभुले तिमीहरूलाई निरन्तर डोऱ्याउनुहुनेछ।”—यशै. ५८:११.

गीत: १५२२२

१, २. (क) यहोवाका साक्षीहरूको नेतृत्व लिने र अरू धर्ममा नेतृत्व लिने मानिसहरूबीच कस्तो भिन्नता छ? (ख) यो र यसपछिको लेखमा कुन कुरा छलफल गर्नेछौं?

“तपाईंहरूको नेता को हो?” यहोवाका साक्षीहरूलाई धेरैजसो यो प्रश्न सोध्ने गरिन्छ। अनि यस्तो प्रश्न सोधेकोमा हामी छक्क मान्दैनौं! किनभने प्रायजसो धर्ममा एक जना पुरुष वा स्त्रीलाई सबैले नेता मान्छन्‌। तर हाम्रो नेता कुनै त्रुटिपूर्ण मानिस होइन भनेर जवाफ दिन पाउँदा हामी गर्व गर्छौं। हाम्रो नेता पुनर्जीवित हुनुभएका येशू ख्रीष्ट हुनुहुन्छ। अनि उहाँले पनि आफ्नो बुबा यहोवाको नेतृत्व स्विकार्नुहुन्छ।—मत्ती २३:१०.

तर आज परमेश्वरका जनहरूको नेतृत्व लिने काम भने एउटा समूह अर्थात्‌ “विश्वासी र बुद्धिमान्‌ दास”-ले गरिरहेको छ। (मत्ती २४:४५) त्यसोभए यहोवाले नै हामीलाई आफ्नो अदृश्य छोरामार्फत डोऱ्याउँदै हुनुहुन्छ भनेर कसरी थाह पाउन सक्छौं? यो र यसपछिको लेखमा यहोवाले हजारौं वर्षअघिदेखि आफ्ना जनहरूलाई डोऱ्याउन केही मानिसलाई प्रयोग गर्दै आउनुभएको छ भनेर केलाउनेछौं। दुवै लेखमा ती मानिसहरू नियुक्त गर्नुमा यहोवाकै हात थियो भन्ने तीन वटा प्रमाण छलफल गर्नेछौं। ती प्रमाणहरूले यहोवा पहिले पनि आफ्ना जनहरूको नेता हुनुहुन्थ्यो र अहिले पनि उहाँ नै हुनुहुन्छ भनेर प्रस्ट पार्नेछ।—यशै. ५८:११.

पवित्र शक्तिले तिनीहरूलाई सक्षम बनायो

३. मोशा इस्राएलीहरूलाई डोऱ्याउन कसरी सक्षम भए?

पवित्र शक्तिले परमेश्वरका प्रतिनिधिहरूलाई सक्षम बनायो। मोशालाई विचार गर्नुहोस्। परमेश्वरले तिनलाई इस्राएलीहरूको नेता रोज्नुभएको थियो। यस्तो गहन जिम्मेवारी वहन गर्न तिनी कसरी सक्षम भए? यहोवाले “आफ्ना पवित्र आत्मा [अर्थात्‌ पवित्र शक्ति] उनीहरूका [“उनीभित्र,” TBS, पवित्र बाइबल] बीचमा” राख्नुभयो। (यशैया ६३:११-१४ पढ्‌नुहोस्) यसरी यहोवाले पवित्र शक्तिद्वारा मोशालाई बलियो पार्नुभएकोले इस्राएलीहरूलाई डोऱ्याउने वास्तवमा यहोवा नै हुनुहुन्थ्यो।

४. मोशाले परमेश्वरको पवित्र शक्ति पाएका थिए भनेर इस्राएलीहरूले कसरी थाह पाउन सक्थे? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

पवित्र शक्ति एउटा अदृश्य शक्ति हो। त्यसोभए मोशाले यो शक्ति पाएको कुरा इस्राएलीहरूले कसरी थाह पाउन सक्थे? पवित्र शक्ति पाएको हुँदा मोशाले चमत्कारहरू गर्न र फिरऊनलाई परमेश्वरको नाम बताउन सके। (प्रस्थ. ७:१-३) पवित्र शक्तिले गर्दा मोशाले प्रेम, कोमलता, धैर्यजस्ता सुन्दर गुणहरू विकास गर्न सके। यस्ता गुणहरूले गर्दा मोशाले इस्राएलीहरूलाई डोऱ्याउन सके। अरू राष्ट्रहरूका क्रूर र स्वार्थी नेताहरूभन्दा कत्ति भिन्न! (प्रस्थ. ५:२, ६-९) आफ्ना जनहरूको नेता हुन यहोवाले नै मोशालाई छान्नुभएको कुरामा कुनै शङ्‌का थिएन।

५. यहोवाले आफ्ना जनहरूलाई डोऱ्याउन इस्राएली पुरुषहरूलाई कसरी सक्षम बनाउनुभयो, व्याख्या गर्नुहोस्।

यहोवाको पवित्र शक्तिले अरू मानिसहरूलाई पनि उहाँका जनहरूलाई डोऱ्याउन सक्षम बनायो। नूनको छोरो यहोशू पवित्र शक्तिबाट पाउने बुद्धिले परिपूर्ण थिए। (व्यव. ३४:९) यहोवाको पवित्र शक्ति गिदोनमाथि आयो। (न्याय. ६:३४) यहोवाको पवित्र शक्ति दाऊदमाथि आयो र तिनीसँगै रह्यो। (१ शमू. १६:१३) यी सबै पुरुष मदतको लागि परमेश्वरको शक्तिमा भर परे। पवित्र शक्तिले तिनीहरूलाई ठूलठूला कार्यहरू गर्न सक्षम बनायो। अन्यथा तिनीहरूले आफ्नै बलमा त्यसो गर्न सक्ने थिएनन्‌। (यहो. ११:१६, १७; न्याय. ७:७, २२; १ शमू. १७:३७, ५०) यहोवाको पवित्र शक्तिले गर्दा नै तिनीहरूले त्यस्ता ठूलठूला कार्यहरू गर्न सकेकोले उहाँ प्रशंसाको योग्य हुनुहुन्थ्यो।

६. आफ्ना जनहरूले इस्राएलका नेताहरूलाई आदर गरेको परमेश्वर किन चाहनुहुन्थ्यो?

ती पुरुषहरूलाई पवित्र शक्तिले सक्षम बनाएको हो भन्ने स्पष्ट प्रमाण पाएपछि इस्राएलीहरूले के गर्नुपर्थ्यो? मानिसहरूले मोशाविरुद्ध गनगन गर्दा यहोवाले तिनीहरूलाई सोध्नुभयो: “यी मानिसहरूले मलाई कतिसम्म तिरस्कार गरिरहन्छन्‌?” (गन्ती १४:२, ११) यहोवाले नै मोशा, यहोशू, गिदोन र दाऊदलाई आफ्ना जनहरूको नेता बनाउनुभएको थियो। यी पुरुषहरूप्रति आज्ञाकारी हुँदा मानिसहरूले वास्तवमा यहोवालाई नै आफ्नो नेताको रूपमा स्विकारिरहेका हुन्थे।

स्वर्गदूतहरूले तिनीहरूलाई मदत गरे

७. स्वर्गदूतहरूले मोशालाई कसरी मदत गरे?

स्वर्गदूतहरूले परमेश्वरका प्रतिनिधिहरूलाई मदत गरे। (हिब्रू १:७, १४ पढ्‌नुहोस्) यहोवाले स्वर्गदूतहरू चलाएर मोशालाई आज्ञा दिनुभयो, सक्षम बनाउनुभयो र डोऱ्याउनुभयो। परमेश्वरले मोशालाई “पोथ्रामा तिनीकहाँ देखा परेको स्वर्गदूतमार्फत शासक अनि मुक्तिदाताको रूपमा पठाउनुभयो।” (प्रेषि. ७:३५) यहोवाले “स्वर्गदूतहरूमार्फत” व्यवस्था दिनुभयो र मोशाले त्यसैबाट इस्राएलीहरूलाई निर्देशन दिए। (गला. ३:१९) यहोवाले मोशालाई यसो भन्नुभयो: “मैले तँलाई भनेको स्थानमा मानिसहरूलाई अगुवाइ लैजा। हेर्‌, मेरो दूत तेरो अगिअगि जानेछ।” (प्रस्थ. ३२:३४) मानव रूप धारण गरेका स्वर्गदूतले यी सबै काम गरेको इस्राएलीहरूले देखे भनेर बाइबलमा बताइएको छैन। तर मोशाले मानिसहरूलाई निर्देशन दिएको र डोऱ्याएको तरिकाबाट तिनले स्वर्गदूतहरूको मदत पाएका थिए भनेर प्रस्ट हुन्छ।

८. स्वर्गदूतहरूले यहोशू र हिजकियाहलाई कसरी मदत गरे?

“परमप्रभुको फौजको कप्तान”-ले मोशाका उत्तराधिकारी यहोशूलाई कनानीहरूविरुद्ध लड्‌न मदत गरे; फलस्वरूप इस्राएलीहरू विजयी भए। (यहो. ५:१३-१५; ६:२, २१) शक्तिशाली अश्शूरी सेनाले राजा हिजकियाहलाई यरूशलेम ध्वस्त पार्ने धम्की दिए। तर एकै रात “परमप्रभुका स्वर्गदूत निस्केर अश्शूरको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे।”—२ राजा १९:३५.

९. परमेश्वरका प्रतिनिधिहरूको कमीकमजोरीको बाबजुद इस्राएलीहरूले किन ती पुरुषहरूको डोऱ्याइ स्विकार्नुपर्थ्यो, व्याख्या गर्नुहोस्।

स्वर्गदूतहरू त्रुटिरहित छन्‌ तर तिनीहरूले मदत गर्ने मानिसहरू त्रुटिपूर्ण छन्‌। एक चोटि, यहोवालाई पवित्र ठानेर उहाँको आदर गर्न मोशा चुके। (गन्ती २०:१२) यहोशूले गिबोनीहरूसित करार बाँध्नुअघि परमेश्वरको निर्देशन मागेनन्‌। (यहो. ९:१४, १५) कुनै बेला हिजकियाह “अभिमानी” भएका थिए। (२ इति. ३२:२५, २६) यी पुरुषहरूका कमीकमजोरीको बाबजुद इस्राएलीहरूले तिनीहरूको डोऱ्याइ स्विकार्नुपर्थ्यो। यहोवाले स्वर्गदूतहरू चलाएर ती पुरुषहरूलाई समर्थन गरिरहनुभएको थियो। हो, यहोवाले नै आफ्ना जनहरूलाई डोऱ्याइरहनुभएको थियो।

परमेश्वरको वचनले तिनीहरूलाई डोऱ्यायो

१०. परमेश्वरको व्यवस्थाले मोशालाई कसरी डोऱ्यायो?

१० परमेश्वरको वचनले उहाँका प्रतिनिधिहरूलाई डोऱ्यायो। इस्राएलीहरूलाई दिइएको व्यवस्थालाई बाइबलमा “मोशाका व्यवस्था” भनिएको छ। (१ राजा २:३) तर वास्तवमा यहोवाले नै व्यवस्था दिनुभएको हो भनी बाइबल बताउँछ र मोशा आफैले पनि त्यो व्यवस्था पालन गर्नुपर्थ्यो। (२ इति. ३४:१४) यहोवाले बासस्थान कसरी बनाउने भनेर निर्देशन दिनुभएपछि “मोशाले त्यसैनै गरे। परमप्रभुले दिनुभएको सबै आज्ञाबमोजिम तिनले गरे।”—प्रस्थ. ४०:१-१६.

११, १२. (क) यहोशू र अरू राजाहरूले के गर्नुपर्थ्यो? (ख) परमेश्वरको वचनको डोऱ्याइ पाएकोले इस्राएलका नेताहरू के गर्न इच्छुक भए?

११ इस्राएलीहरूको नेतृत्व लिन थालेदेखि नै यहोशूसित परमेश्वरको लिखित वचन थियो। तिनले परमेश्वरबाट यस्तो आज्ञा पाएका थिए: “त्यसमाथि तैंले दिन-रात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरो होशियारीसाथ पालन गर्नू।” (यहो. १:८) पछि, परमेश्वरका जनहरूमाथि शासन गर्ने राजाहरूले पनि त्यसै गरे। तिनीहरूले दिनहुँ व्यवस्था पढ्‌नुपर्थ्यो, आफैले त्यसको एउटा नक्कल प्रति बनाउनुपर्थ्यो अनि “त्यस व्यवस्थाका सबै कुरा र यी विधिहरू पालन” गर्नुपर्थ्यो।व्यवस्था १७:१८-२० पढ्‌नुहोस्।

१२ नेतृत्व लिने पुरुषहरूलाई परमेश्वरको वचनले कसरी डोऱ्यायो? राजा योशियाहको उदाहरण विचार गर्नुहोस्। मोशाको व्यवस्था लेखिएको एउटा पुस्तक भेट्टिएपछि योशियाहका सचिवले त्यो पढेर सुनाए। * यो सुनेपछि योशियाहले के गरे? “जब राजाले व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते।” त्यति मात्र होइन, परमेश्वरको वचनको डोऱ्याइ पाएको हुँदा योशियाहले मूर्तिपूजाविरुद्ध व्यापक अभियान चाले अनि भव्य तरिकाले निस्तार चाड मनाउने प्रबन्ध मिलाए। (२ राजा २२:११; २३:१-२३, NRV) योशियाह र अरू वफादार नेताहरूले परमेश्वरको वचनबाट डोऱ्याइ पाए। त्यसैले परमेश्वरका जनहरूलाई दिइएको निर्देशनमा छाँटकाँट गर्न र त्यसलाई अझ स्पष्ट पार्न तिनीहरू इच्छुक भए। यस्ता छाँटकाँटले गर्दा परमेश्वरका जनहरूले उहाँको इच्छाअनुरूप चल्न मदत पाए।

१३. परमेश्वरका जनहरूका नेताहरू र मूर्तिपूजक नेताहरूबीच कस्तो भिन्नता थियो?

१३ ती वफादार राजाहरू अरू राष्ट्रका नेताहरूभन्दा कत्ति भिन्न थिए! किनभने अरू राष्ट्रका नेताहरू आफ्नै बुद्धिको भरमा चल्थे र पछिसम्मको कुरा विचार गरेर निर्णय गर्न सक्दैनथे। कनानी नेताहरू अनि आम मानिसहरू घिनलाग्दा कामहरू गर्थे। जस्तै: हाडनाताकरणी, समलिङ्‌गी सम्बन्ध, पशु-सम्भोग, बच्चाहरूको बलि र मूर्तिपूजा। (लेवी १८:६, २१-२५) परमेश्वरले इस्राएलीहरूलाई स्वच्छताबारे दिनुभएका नियमहरू वैज्ञानिक तवरमा सही थियो तर बेबिलोनी तथा मिश्री नेताहरू ती पालन गर्दैनथे। (गन्ती १९:१३) अर्कोतर्फ, परमेश्वरका जनहरूले भने आफ्ना वफादार नेताहरूले आध्यात्मिक, नैतिक र शारीरिक स्वच्छतालाई महत्त्व दिएको आफैले देखेका थिए। त्यसैले यहोवाले तिनीहरूलाई डोऱ्याउँदै हुनुहुन्छ भन्ने कुरामा कुनै शङ्‌का थिएन।

१४. यहोवाले केही नेतालाई किन सजाय दिनुभयो?

१४ परमेश्वरका जनहरूमाथि शासन गर्ने कतिपय राजाले उहाँले दिनुभएको निर्देशन पालन गरेनन्‌। यहोवाको निर्देशन पालन नगर्नेहरूले उहाँको पवित्र शक्ति, उहाँका स्वर्गदूतहरू र उहाँको वचनको डोऱ्याइअनुसार चल्न इन्कार गरे। कुनै-कुनै अवस्थामा यहोवाले त्यस्ता नेताहरूलाई सजाय दिनुभयो वा हटाएर अर्को नेता रोज्नुभयो। (१ शमू. १३:१३, १४) पछि उहाँले त्यस्तो एक जना नेता नियुक्त गर्नुभयो, जो उहाँले पहिला छान्नुभएका नेताहरूभन्दा उत्कृष्ट थिए।

यहोवा उत्कृष्ट नेता रोज्नुहुन्छ

१५. (क) एक जना उत्कृष्ट नेता आउँदै छन्‌ भनेर भविष्यवक्ताहरूले कसरी सङ्‌केत गरे? (ख) भविष्यवाणी गरिएको नेता को हुनुहुन्थ्यो?

१५ यहोवाले आफ्ना जनहरूलाई डोऱ्याउन सर्वगुणी नेता नियुक्त गर्नेछु भनेर शताब्दीयौंअघिदेखि भविष्यवाणी गर्नुभएको थियो। मोशाले इस्राएलीहरूलाई यसो भने: “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूमध्येबाट मजस्तै एउटा अगमवक्ता खडा गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्नू।” (व्यव. १८:१५) तिनी “एक नेता र सेनापति” हुनेछन्‌ भनी यशैयाले भविष्यवाणी गरे। (यशै. ५५:४) दानियलले पनि परमेश्वरको प्रेरणा पाएर आउँदै गरेको “अभिषिक्त जन, अर्थात्‌ एक शासक”-बारे लेखे। (दानि. ९:२५, NRV) पछि, येशू ख्रीष्टले आफूलाई परमेश्वरका जनहरूको “नेता” भनेर चिनाउनुभयो। (मत्ती २३:१० पढ्‌नुहोस्) येशूका चेलाहरू खुसीसित उहाँको पछि लागे र यहोवाले नियुक्त गर्नुभएको नेता येशू नै हुनुहुन्छ भनेर स्विकारे। (यूह. ६:६८, ६९) यहोवाले आफ्ना जनहरूलाई डोऱ्याउन नियुक्त गर्नुभएको व्यक्ति येशू ख्रीष्ट नै हुनुहुन्छ भनेर चेलाहरू कसरी विश्वस्त भए?

१६. पवित्र शक्तिले येशूलाई सक्षम बनायो भन्ने कस्तो प्रमाण छ?

१६ पवित्र शक्तिले येशूलाई सक्षम बनायो। येशूले बप्तिस्मा गर्नुहुँदा बप्तिस्मा गराउने यूहन्नाले “आकाश उघ्रँदै गरेको र पवित्र शक्तिलाई ढुकुरको रूपमा . . . ओर्लंदै गरेको” देखे। त्यसपछि येशूलाई “परमेश्वरको शक्तिले . . . उजाडस्थानमा जान उत्प्रेरित गऱ्यो।” (मर्कू. १:१०-१२) पृथ्वीमा सेवा गरुन्जेल पवित्र शक्तिले येशूलाई चमत्कारहरू गर्न र परमेश्वरबाट अख्तियार पाएको व्यक्तिले जस्तै बोल्न सक्षम बनायो। (प्रेषि. १०:३८) साथै पवित्र शक्तिले येशू ख्रीष्टलाई प्रेम, आनन्द र अटल विश्वासजस्ता उत्कृष्ट गुणहरू देखाउन मदत गऱ्यो। (यूह. १५:९; हिब्रू १२:२) अरू कुनै पनि नेताले आफूले पवित्र शक्ति पाएको प्रमाण दिन सकेनन्‌। त्यसैले स्पष्ट छ, यहोवाले नेताको रूपमा रोज्नुभएको व्यक्ति येशू नै हुनुहुन्थ्यो।

बप्तिस्मा गरेको केही समयपछि स्वर्गदूतहरूले येशूलाई कसरी मदत गरे? (अनुच्छेद १७ हेर्नुहोस्)

१७. स्वर्गदूतहरूले येशूलाई कसरी मदत गरे?

१७ स्वर्गदूतहरूले येशूलाई मदत गरे। येशूले बप्तिस्मा गर्नुभएको थोरै समयपछि “स्वर्गदूतहरू आएर उहाँको सेवा-सुसार गर्न लागे।” (मत्ती ४:११) उहाँको मृत्यु हुनुभन्दा केही घण्टाअघि “स्वर्गबाट एउटा दूत उहाँकहाँ देखा परेर उहाँलाई हौसला दिए।” (लूका २२:४३) यहोवाको इच्छा पूरा गर्न मदत चाहिंदा उहाँले स्वर्गदूत पठाउनुहुनेछ भनेर येशू ढुक्क हुनुहुन्थ्यो।—मत्ती २६:५३.

१८, १९. परमेश्वरको वचनले येशूको जीवन र शिक्षालाई कसरी डोऱ्यायो?

१८ परमेश्वरको वचनले येशूलाई डोऱ्यायो। पृथ्वीमा सेवा गर्न थालेदेखि नै येशू परमेश्वरको वचनको डोऱ्याइअनुसार चल्न तयार हुनुभयो। (मत्ती ४:४) भनौं भने, उहाँ यातनाको खम्बामा मृत्यु भोग्ने हदसम्म परमेश्वरप्रति आज्ञाकारी हुनुभयो। आफ्नो मृत्यु हुनुअघि उहाँको मुखबाट निस्केका अन्तिम शब्दहरू पनि मसीहसम्बन्धी भविष्यवाणीको केही अंश थियो। (मत्ती २७:४६; लूका २३:४६) अर्कोतर्फ, परमेश्वरको वचन र आफ्ना रीतिथितिहरू बाझिंदा येशूको समयका धर्मगुरुहरूले परमेश्वरको वचनलाई बेवास्ता गरे। यहोवाले भविष्यवक्ता यशैयामार्फत भन्नुभएका शब्दहरू उद्धरण गर्दै येशूले ती धर्मगुरुहरूबारे यसो भन्नुभयो: “यी मानिसहरू आफ्नो ओठले त मेरो आदर गर्छन्‌, तर तिनीहरूको मन भने मबाट धेरै टाढा छ। तिनीहरू व्यर्थैमा मेरो उपासना गरिरहन्छन्‌, किनकि तिनीहरू मानिसहरूले बनाएका आज्ञाहरूलाई परमेश्वरको शिक्षाजस्तै गरी सिकाउँछन्‌।” (मत्ती १५:७-९) के यहोवाले आफ्ना जनहरूलाई डोऱ्याउन यस्ता मानिसहरू रोज्नुहुने थियो र?

१९ येशूले परमेश्वरको वचनको डोऱ्याइ स्विकारेको कुरा आफ्नो व्यवहारबाट मात्र होइन, आफ्नो शिक्षाबाट पनि देखाउनुभयो। हुन त उहाँसित अथाह बुद्धि र अरूसित नभएको अनुभव थियो। तर धर्मगुरुहरूसित मतभेद हुँदा उहाँले परमेश्वरको वचनलाई एक मात्र आधिकारिक स्रोत मान्नुभयो। (मत्ती २२:३३-४०) ब्रह्माण्ड सृष्टि गर्दाको अनुभव वा स्वर्गमा आफूले बिताएको जीवनबारे बताएर मानिसहरूलाई मक्ख पार्नुको साटो उहाँले “धर्मशास्त्रको पूरै अर्थ” खोलिदिनुभयो। (लूका २४:३२, ४५) येशू परमेश्वरको वचनलाई प्रेम गर्नुहुन्थ्यो र त्यसबारे अरूलाई बताउन उत्सुक हुनुहुन्थ्यो।

२०. (क) आफू परमेश्वरको अधीनमा बसेको कुरा येशूले कसरी देखाउनुभयो? (ख) यहोवा कस्तो व्यक्तिलाई नेता छान्नुहुन्छ भन्ने कुरा येशू र हेरोदबीचको भिन्नताबाट कसरी देखिन्छ?

२० येशूका “मनमोहक वचन” सुनेर मानिसहरू मक्ख पर्थे तर उहाँले त्यसको श्रेय सधैं आफ्नो गुरु यहोवालाई दिनुभयो। (लूका ४:२२) एक जना धनी मानिसले येशूलाई “हे असल गुरु” भनेर उहाँको गुणगान गर्दा उहाँले नम्र भई यस्तो जवाफ दिनुभयो: “तिमी किन मलाई असल भन्छौ? असल त परमेश्वरबाहेक अरू कोही छैन।” (मर्कू. १०:१७, १८) हेरोद अग्रिपा प्रथमभन्दा कत्ति भिन्न! येशूको मृत्यु भएको लगभग आठ वर्षपछि हेरोद यहूदियाको राजा अर्थात्‌ नेता भए। एउटा विशेष समारोहमा हेरोदले “शाही पोसाक” लगाएका थिए। मानिसहरूले उनको जयजयकार गर्दै यसो भने: “यो त मानिसको होइन, देवताको बोली हो!” यस्तो गुणगान सुनेर हेरोद मक्ख परेको हुनुपर्छ। त्यसपछि के भयो? “परमेश्वरलाई महिमा नदिएकोले यहोवाका स्वर्गदूतले उत्तिखेरै उनलाई प्रहार गरे अनि स्याउँस्याउँती कीरा परेर उनी मरे।” (प्रेषि. १२:२१-२३) कुरा स्पष्ट छ, हेरोद परमेश्वरले नियुक्त गर्नुभएको नेता थिएनन्‌। तर येशूले भने आफू परमेश्वरले नियुक्त गर्नुभएको व्यक्ति हो भन्ने चित्तबुझ्दो प्रमाण दिनुभयो। अनि येशूले परमेश्वरका जनहरूको सर्वोच्च नेता यहोवाको सधैं महिमा गर्नुभयो।

२१. अर्को लेखमा हामी के छलफल गर्नेछौं?

२१ येशूले केही वर्षको लागि मात्र परमेश्वरका जनहरूलाई डोऱ्याउनुहुने थिएन। पुनर्जीवित भएपछि येशूले यसो भन्नुभयो: “स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ। . . . अनि हेर, यस युगको आखिरी समयसम्म म सधैंभरि तिमीहरूसितै छु।” (मत्ती २८:१८-२०) येशू स्वर्गमा हुनुभए तापनि उहाँले पृथ्वीमा भएका परमेश्वरका जनहरूलाई कसरी डोऱ्याउनुहुने थियो? यहोवाले पृथ्वीमा ख्रीष्टको प्रतिनिधिको रूपमा कसलाई प्रयोग गर्नुहुने थियो? अनि परमेश्वरले छान्नुभएका प्रतिनिधिहरूलाई ख्रीष्टियनहरूले कसरी चिन्न सक्ने थिए? अर्को लेखले यी प्रश्नहरूको जवाफ दिनेछ।

^ अनु. 12 यो पुस्तक मोशा आफैले लेखेका हुन सक्छन्‌।