सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नूह, दानियल र अय्यूबको विश्‍वास अनि आज्ञाकारिता अनुकरण गर्नुहोस्‌

नूह, दानियल र अय्यूबको विश्‍वास अनि आज्ञाकारिता अनुकरण गर्नुहोस्‌

‘नूह, दानियल र अय्यूबले आफ्ना धार्मिकताद्वारा आफ्नै प्राण मात्र बचाउन सक्नेछन्‌।’—इज. १४:१४.

गीत: ८९, ११९

१, २. (क) नूह, दानियल र अय्यूबको उदाहरणबाट हामी किन गाह्रा परिस्थितिहरूसित जुझ्न हौसला पाउँछौँ? (ख) इजकिएलले कस्तो अवस्थामा इजकिएल १४:१४ का शब्दहरू लेखेका थिए?

के तपाईँ बिग्रँदो स्वास्थ्य, आर्थिक कठिनाइ वा खेदोजस्ता गाह्रा परिस्थितिको सामना गर्दै हुनुहुन्छ? के तपाईँलाई यहोवाको सेवामा आनन्दित भइरहन कहिलेकाहीँ गाह्रो लाग्छ? यदि त्यसो हो भने नूह, दानियल र अय्यूबको उदाहरणले तपाईँलाई त्यस्ता परिस्थितिहरूसित जुझ्न हौसला दिनेछ। तिनीहरू त्रुटिपूर्ण थिए अनि हामीले सामना गरेजस्तै थुप्रै गाह्रा परिस्थितिहरूको तिनीहरूले पनि सामना गरे। कुनै-कुनै अवस्थामा त तिनीहरूको ज्यानै खतरामा परेको थियो। तैपनि तिनीहरू सत्यनिष्ठ रहिरहे अनि परमेश्‍वरको नजरमा विश्‍वास र आज्ञाकारिताको उत्कृष्ट उदाहरण बने।इजकिएल १४:१२-१४ पढ्‌नुहोस्‌।

यस लेखको मुख्य पद इजकिएलले ईसापूर्व ६१२ मा बेबिलोनमा हुँदा लेखेका थिए। * (इज. १:१; ८:१) भविष्यवाणी गरिएझैँ धर्मत्यागी यरूशलेमको विनाश नजिकै थियो; ईसापूर्व ६०७ मा त्यो भविष्यवाणी पूरा भयो। त्यतिबेला नूह, दानियल र अय्यूबको जस्ता असल गुण देखाउनेहरू थोरै मात्र थिए। त्यसैले बचाउको लागि चिन्ह लगाइएका थोरै मात्र यरूशलेमको विनाशबाट बच्न सके। (इज. ९:१-५) त्यो विनाशबाट बचेका थोरै मानिसहरूमध्ये यर्मिया, बारूक, एबेद-मेलेक र रेकाबीहरू थिए।

३. हामी यस लेखमा के छलफल गर्नेछौँ?

त्यसैगरि यहोवाले अहिले ज-जसलाई नूह, दानियल र अय्यूबजस्तै निर्दोष ठहराउनुभएको छ, तिनीहरूलाई मात्र बचाउको लागि चिन्ह लगाइनेछ। तिनीहरू यस युगको अन्त हुँदा बचाइनेछन्‌। (प्रका. ७:९, १४) त्यसैले आउनुहोस्‌, यहोवाले किन ती पुरुषहरूलाई धार्मिकताको उदाहरण अर्थात्‌ उहाँको नजरमा असल काम गर्ने व्यक्‍ति ठान्‍नुभयो, विचार गरौँ। प्रत्येक पुरुषबारे छलफल गर्दा हामी यी कुरा विचार गर्नेछौँ: (१) तिनले कस्ता गाह्रा परिस्थितिहरूको सामना गरे? (२) हामी कसरी तिनको विश्‍वास र आज्ञाकारिता अनुकरण गर्न सक्छौँ?

नूह—तिनी ९०० वर्षभन्दा लामो समयसम्म विश्‍वासी र आज्ञाकारी रहे!

४, ५. नूहले कस्ता गाह्रा परिस्थितिहरूको सामना गरे? त्यस्तो परिस्थिति सहन किन सजिलो थिएन?

नूहले कस्ता गाह्रा परिस्थितिहरू सामना गरे? नूहका जिज्यूबुबा हनोकको पालासम्म त मानिसहरू अत्यन्तै दुष्ट भइसकेका थिए। तिनीहरू यहोवाको विरुद्धमा “घिनलाग्दा” कुराहरूसमेत बोल्थे। (यहू. १४, १५) हिंसा झन्‌झनै बढिरहेको थियो। नूहको पालामा ‘पृथ्वी उपद्रवले भरिएको थियो’ अर्थात्‌ जताततै हिंसा व्याप्त भइसकेको थियो। दुष्ट स्वर्गदूतहरूले मानव रूप धारण गरेका थिए र मानिसका छोरीहरूलाई आफ्नो पत्नी बनाएका थिए। यस्तो अप्राकृतिक सम्बन्धले गर्दा जन्मिएका सन्तानहरू अजङ्‌गका अनि अत्यन्तै क्रूर थिए। (उत्प. ६:२-४, ११, १२) तर नूह भने फरक थिए। “नूहमाथि चाहिं परमप्रभुको अनुग्रह भयो। . . . आफ्नो पुस्तामा नूह धर्मी र निर्दोष मानिस थिए। औ तिनी परमेश्‍वरको साथै हिंड्‌ने गर्थे।”—उत्प. ६:८, ९.

यसबाट हामी ती धर्मी मानिसबारे के थाह पाउन सक्छौँ? आजका मानिसहरू केवल ७०/८० वर्ष बाँच्छन्‌। तर नूह भने जलप्रलय आउनुअघिको त्यस दुष्ट संसारमा केवल ७०/८० वर्ष मात्र होइन, करिब ६०० वर्षसम्म रहेका थिए! (उत्प. ७:११) अनि आध्यात्मिक मदत पाउनको लागि आज हाम्रो समयमा भएजस्तो सङ्‌गी उपासकहरूको मण्डली पनि त्यतिबेला थिएन। सम्भवतः आफ्ना साक्खै दाजुभाइ दिदीबहिनीबाट पनि तिनले आध्यात्मिक मदत पाएनन्‌। *

६. नूहले कसरी ठूलो साहस देखाए?

आफूले असल जीवन बिताए पुगिहाल्छ नि भन्‍ने सोचाइ नूहले राखेनन्‌। तिनले साहसी हुँदै “परमेश्‍वरको न्यायोचित स्तरबारे प्रचार” पनि गरे। तिनले यहोवामाथिको आफ्नो विश्‍वास सबै मानिससामु प्रकट गरे। (२ पत्रु. २:५) “विश्‍वासद्वारा तिनले संसारलाई दोषी ठहराए” भनी प्रेषित पावलले लेखे। (हिब्रू ११:७) मानिसहरूले पक्कै नूहलाई हाँसोमा उडाए होलान्‌, तिनको विरोध गरे होलान्‌ अनि तिनलाई हानि पुऱ्‍याउने धम्कीसमेत दिए होलान्‌। तर तिनमा “मानिसको डर” थिएन। (हितो. २९:२५) बरु तिनीसित यस्तो साहस थियो, जुन यहोवाले आफ्ना वफादार सेवकहरूलाई दिनुहुन्छ।

७. जहाज बनाउँदा नूहले कस्ता गाह्रा परिस्थितिको सामना गरे?

नूह परमेश्‍वरसितै हिँडेको ५०० वर्ष बितिसकेपछि यहोवाले मानिसहरू र जनावरहरूलाई जोगाउन एउटा जहाज बनाउने आज्ञा तिनलाई दिनुभयो। (उत्प. ५:३२; ६:१४) जहाज बनाउनु भनेको आफैमा एउटा अत्यन्तै गाह्रो काम थियो। झन्‌ त्यसमाथि मानिसहरूले कति खिसी गर्ने होलान्‌ अनि कति विरोध गर्ने होलान्‌ भन्‍ने कुरा सोच्दा नूहलाई त्यो जहाज बनाउन कत्ति गाह्रो लाग्यो होला! तैपनि तिनले परमेश्‍वरमाथि विश्‍वास राखे र आज्ञाकारी भए। “परमेश्‍वरले तिनीलाई आज्ञा गरेबमोजिम तिनले सबै गरे।”—उत्प. ६:२२.

८. आफ्नो परिवारको आवश्‍यकता पूरा गर्न यहोवामाथि भर परेको कुरा नूहले कसरी देखाए?

नूहले सामना गर्नुपरेको अर्को गाह्रो परिस्थिति विचार गरौँ। तिनले आफ्नी श्रीमती र छोराहरूको भौतिक आवश्‍यकता पूरा गर्नुपर्थ्यो। जलप्रलयअघिको संसारमा मानिसहरूले अन्‍न उब्जाउन कडा परिश्रम गर्नुपर्थ्यो। नूहसित पनि परिश्रम गर्नुबाहेक अरू कुनै विकल्प थिएन। (उत्प. ५:२८, २९) तैपनि तिनको जीवन भौतिक कुराहरूको प्रबन्ध गर्नुमा होइन बरु परमेश्‍वरमा केन्द्रित थियो। जहाज बनाउन कम्तीमा पनि ४०/५० वर्ष लागेको हुनुपर्छ। तर त्यतिन्जेल पनि तिनले यहोवासितको आफ्नो सम्बन्धलाई बलियो बनाइराखे। अनि जलप्रलयपछिको ३५० वर्षसम्म पनि तिनले त्यसै गरिरहे। (उत्प. ९:२८) विश्‍वास अनि आज्ञाकारिताको कस्तो उत्कृष्ट उदाहरण!

९, १०. (क) हामी कसरी नूहको विश्‍वास र आज्ञाकारिता अनुकरण गर्न सक्छौँ? (ख) परमेश्‍वरको स्तरअनुसार जीवन बिताउनेहरू कुन कुरामा ढुक्क हुन सक्छन्‌?

हामी कसरी नूहको विश्‍वास र आज्ञाकारिता अनुकरण गर्न सक्छौँ? परमेश्‍वरको स्तरअनुसार जीवन बिताएर, सैतानको संसारको भाग नबनेर अनि परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिएर। (मत्ती ६:३३; यूह. १५:१९) हामीलाई थाह छ, हाम्रो जीवनशैली देखेर संसारले हाम्रो वाहवाही गर्दैन। विवाह अनि यौनजस्ता विषयमा परमेश्‍वरका आज्ञाहरू पालन गर्न हामीले लिएको दृढ अडानले गर्दा केही देशमा हामीबारे नकारात्मक हल्ला फैलाइएको छ। (मलाकी ३:१७, १८ पढ्‌नुहोस्‌) तर नूहले जस्तै हामी मानिसहरूको होइन, यहोवाको डर मान्छौँ। उहाँबाहेक अरू कसैले पनि अनन्त जीवन दिन सक्दैन भनेर हामीलाई थाह छ।—लूका १२:४, ५.

१० तपाईँ नि? के तपाईँ पनि अरूले खिसी अनि विरोध गर्दा वा आर्थिक भारको कारण यहोवामाथिको विश्‍वासको जाँच हुँदा नूहजस्तै ‘परमेश्‍वरसित हिँडिरहनुहुनेछ?’ नूहजस्तै विश्‍वासी र आज्ञाकारी हुनुभयो भने तपाईँ एउटा कुरामा ढुक्क हुन सक्नुहुन्छ—यहोवाले तपाईँको ख्याल राख्नुहुनेछ।—फिलि. ४:६, ७.

दानियल—दुष्टताले भरिएको सहरमा तिनी विश्‍वासी र आज्ञाकारी रहे!

११. दानियल र तिनका तीन साथीहरूले बेबिलोनमा कस्ता गाह्रा परिस्थितिहरूको सामना गरे? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

११ दानियलले कस्ता गाह्रा परिस्थितिहरू सामना गरे? दानियलले बेबिलोनमा निर्वासित जीवन बिताए। त्यो मूर्तिपूजा र प्रेतवादले भरिएको सहर थियो। त्यति मात्र होइन, बेबिलोनीहरू यहूदीहरूलाई हेय दृष्टिले हेर्थे। तिनीहरू यहूदीहरूको र उनीहरूका परमेश्‍वर यहोवाको समेत खिल्ली उडाउँथे। (भज. १३७:१, ३) त्यो देख्दा दानियलजस्ता विश्‍वासी यहूदीहरूलाई कत्ति नमीठो लाग्थ्यो होला! साथै दानियल र तिनका तीन साथीहरू हनन्याह, मीशाएल र अजर्याहलाई वरपरका सबै मानिसले नियालिरहेका थिए किनभने तिनीहरूलाई राजमहलमा सेवा गर्नको लागि तालिम दिइने थियो। तिनीहरूलाई कस्तो खानेकुरा दिने भनेर समेत तोकिएको थियो। तर खानेकुराको कारण अर्को समस्या आइलाग्यो किनभने दानियल “राजाले तिनीहरूलाई दिनू भनी अह्राएका भोजन र दाखमद्य खाएर आफूलाई अशुद्ध” पार्न चाहँदैनथे।—दानि. १:५-८, १४-१७.

१२. (क) दानियलले कस्ता राम्रा गुणहरू देखाए? (ख) यहोवाले दानियललाई कस्तो व्यक्‍ति ठान्‍नुभयो?

१२ दानियलले सामना गरेको अर्को एउटा परिस्थिति विचार गरौँ, जुन तिनको लागि समस्याको कारण बन्‍न सक्थ्यो। तिनीसित असाधारण क्षमता थियो, जसले गर्दा तिनले विशेष सुअवसरहरू पाए। (दानि. १:१९, २०) तैपनि तिनी अहङ्‌कारी अनि आफ्नै कुरामा जिद्दी गर्ने मानिस भएनन्‌। बरु तिनी नम्र भए अनि आफ्नो मर्यादामा रहे। तिनले सबै कुराको श्रेय यहोवालाई नै दिए। (दानि. २:३०) यहोवाले दानियललाई नूह र अय्यूबसँगसँगै धार्मिकताको उदाहरणको रूपमा प्रस्तुत गर्नुहुँदा वास्तवमा तिनी जवानै थिए। के परमेश्‍वरले दानियलमाथि गर्नुभएको भरोसा खेर गयो? पटक्कै गएन! दानियल आफ्नो जीवनको अन्तसम्मै विश्‍वासी र आज्ञाकारी रहे। परमेश्‍वरको स्वर्गदूतले तिनलाई “हे दानियल अति प्रिय मानिस” भनेर मायालु ढङ्‌गमा सम्बोधन गर्दा तिनी झन्डै १०० वर्ष पुग्न लागिसकेका थिए।—दानि. १०:११.

१३. यहोवाले दानियललाई उच्च ओहदामा पुग्न दिनुको कारण के हुन सक्छ?

१३ परमेश्‍वरको अनुग्रह पाएकोले दानियलले बेबिलोनी साम्राज्य अनि मादी-फारसी साम्राज्यमा ठूलो ओहदा पाए। (दानि. १:२१; ६:१, २) यहोवाले दानियललाई चलाएर बाँकी इस्राएलीहरूलाई मदत गर्न त्यसो गराउनुभएको हुन सक्छ, जसरी उहाँले मिश्रमा यूसुफलाई अनि फारसमा एस्तर र मौर्दकैलाई चलाउनुभएको थियो। * (दानि. २:४८) यहोवाले नै यसरी परिस्थितिलाई मोड्‌दै हुनुहुन्छ भनेर थाह पाउँदा इजकिएललगायत निर्वासनमा लगिएका अरू यहूदीले कति ढुक्क महसुस गरे होलान्‌!

यहोवाप्रति निष्ठावान्‌ रहिरहने व्यक्‍तिलाई उहाँ अनमोल ठान्‍नुहुन्छ (अनुच्छेद १४, १५ हेर्नुहोस्‌)

१४, १५. (क) आज हाम्रो परिस्थिति कसरी दानियलसित मिल्दोजुल्दो छ? (ख) दानियलका आमाबुबाबाट आजका आमाबुबाहरूले के सिक्न सक्छन्‌?

१४ हामी कसरी दानियलको विश्‍वास र आज्ञाकारिता अनुकरण गर्न सक्छौँ? अहिलेको संसार नैतिक र आध्यात्मिक तवरमा पूरै खस्किसकेको छ। मानिसहरू झूटो धर्मको विश्‍व साम्राज्य महान्‌ बेबिलोनको प्रभावमा परेका छन्‌, जुन “दुष्ट स्वर्गदूतहरू बास गर्ने ठाउँ” हो। (प्रका. १८:२) त्यसैले एक अर्थमा हामी यो संसारमा विदेशीजस्तै छौँ। हामी अरूभन्दा फरक देखिन्छौँ, जसले गर्दा मानिसहरू हाम्रो खिसीसमेत गर्छन्‌। (मर्कू. १३:१३) त्यसैले हामी पनि दानियलको अनुकरण गर्दै यहोवाको नजिक होऔँ। नम्र अनि आज्ञाकारी हुँदै यहोवामा विश्‍वास गऱ्‍यौँ भने हामी पनि उहाँको नजरमा प्रिय अर्थात्‌ धनसम्पत्तिजस्तै अनमोल हुनेछौँ।—हाग्गै २:७.

१५ आजका आमाबुबाहरूले दानियलका आमाबुबाको उदाहरण अनुकरण गर्न सक्छन्‌। कसरी? दानियल बालक छँदा यहूदामा दुष्टता व्याप्त थियो, तैपनि हुर्कँदै जाँदा तिनले यहोवालाई प्रेम गर्न सिके। यो आफसेआफ भएको कुरा थिएन। यसो हुनुमा तिनका आमाबुबाले दिएको राम्रो तालिमले पक्कै ठूलो भूमिका खेलेको थियो। (हितो. २२:६) दानियल नामको अर्थ हो, “परमेश्‍वर मेरो न्यायकर्ता हुनुहुन्छ।” (दानि. १:६) दानियलका आमाबुबाले तिनलाई यो नाम दिएकोबाट के थाह हुन्छ भने, तिनीहरू परमेश्‍वरको भय मान्थे। आमाबुबा हो, धैर्य गर्दै आफ्ना छोराछोरीलाई सिकाइरहनुहोस्‌, कहिल्यै हरेस नखानुहोस्‌। (एफि. ६:४) तिनीहरूसितै बसेर प्रार्थना गर्नुहोस्‌ अनि तिनीहरूका लागि प्रार्थना गर्न पनि नबिर्सनुहोस्‌। बाइबलका सत्य कुराहरू तिनीहरूको मनमा ठप्प बसाल्न तपाईँले गर्नुहुने प्रयासमा यहोवाले प्रशस्त आशिष्‌ दिनुहुनेछ।—भज. ३७:५.

अय्यूब—धनी हुँदा होस्‌ या गरिब, तिनी विश्‍वासी र आज्ञाकारी रहे!

१६, १७. अय्यूबको जीवनमा कस्ता उतारचढावहरू आए?

१६ अय्यूबले कस्ता गाह्रा परिस्थितिहरू सामना गरे? अय्यूबको जीवनमा जति उतारचढाव त सायद कमैको जीवनमा आएको होला। अनेकन्‌ दुःखकष्ट भोग्नुअघिसम्म तिनी “पूर्वका सबै मानिसहरूमध्ये सबैभन्दा महान्‌ थिए।” (अय्यू. १:३) तिनी धनी थिए, तिनलाई सबैले चिन्थे र निकै आदर पनि गर्थे। (अय्यू. २९:७-१६) तैपनि तिनले आफूलाई ठूलो सम्झेनन्‌ वा आफ्नो जीवनमा परमेश्‍वरको आवश्‍यकता छैन भन्‍ने महसुस गरेनन्‌। यहोवाले तिनलाई “मेरो दास” भनेर सम्बोधन गर्नुभयो अनि तिनी “निर्दोष र सोझो जीवन व्यतीत गर्ने मानिस” हुन्‌ पनि भन्‍नुभयो।—अय्यू. १:८.

१७ तर छोटो समयको अन्तरालमै अय्यूबको जीवनमा ठूलो परिवर्तन आयो। तिनी गरिब हुन पुगे अनि तिनले यति दुःख भोग्नुपऱ्‍यो कि तिनलाई जीवनमा कुनै आसै छैन जस्तो लाग्यो। तर हामीलाई थाह छ, तिनले यसरी दुःख भोग्नुको कारण सैतान थियो। अय्यूबले आफ्नै स्वार्थको लागि मात्र परमेश्‍वरको उपासना गरेका हुन्‌ भनेर त्यसले झूटो आरोप लगाएको थियो। (अय्यूब १:९, १० पढ्‌नुहोस्‌) यहोवाले त्यो गलत आरोपलाई बेवास्ता गर्नुभएन। बरु उहाँले अय्यूबलाई सत्यनिष्ठा प्रमाणित गर्ने मौका दिनुभयो। आफूले शुद्ध मनले र विना कुनै स्वार्थले यहोवाको उपासना गरेको हुँ भनी प्रमाणित गर्ने मौका अय्यूबले पाए।

१८. (क) अय्यूबको सत्यनिष्ठाले किन तपाईँको मन छुन्छ? (ख) यहोवाले अय्यूबसित गर्नुभएको व्यवहारबाट हामी उहाँबारे के थाह पाउँछौँ?

१८ सैतानले अय्यूबमाथि क्रूर तरिकाले एकपछि अर्को आक्रमण गऱ्‍यो। अय्यूबलाई यहोवा नै दोषी हुनुहुन्छ जस्तो भान पर्नेगरि त्यसले निकै कुटिल तरिकाले आक्रमण गऱ्‍यो। (अय्यू. १:१३-२१) त्यसपछि झूटो सान्त्वना दिने तीन जना साथीहरू आएर अय्यूबलाई तीता वचनहरूले प्रहार गरे। अय्यूबले आफ्नै पापको फल भोगेका हुन्‌ भन्‍ने तिनीहरूको आशय थियो। (अय्यू. २:११; २२:१, ५-१०) यी सबैको बाबजुद अय्यूब सत्यनिष्ठ रहिरहे। हो, तिनी बेलाबेलामा सोचविचार नगरी बोल्न पुगे। तर अय्यूबलाई कत्ति गाह्रो भइरहेको थियो भनेर यहोवाले बुझ्नुभएको थियो। (अय्यू. ६:१-३) तिनी एकदमै निराश भएको कुरा यहोवाले देख्नुभएको थियो। एक अर्थमा सैतानले तिनलाई भुईँमा पछारेको थियो र त्यसरी लडेको मानिसलाई लात हानेजसरी तिनीमाथि झूटो आरोप बर्साएको थियो। तैपनि अय्यूबले कहिल्यै यहोवालाई आफ्नो पीठ फर्काएनन्‌। तिनले यो दुःखको समय पार गरिसकेपछि यहोवाले तिनलाई आशिष्‌स्वरूप पहिलेको भन्दा दोबर धनसम्पत्ति दिनुभयो साथै तिनको आयु १४० वर्ष लम्ब्याइदिनुभयो। (याकू. ५:११) त्यो १४० वर्षको दौडान पनि तिनले तनमनले यहोवाको सेवा गरिरहे। हामी किन त्यसो भन्‍न सक्छौँ? किनभने यस लेखको मुख्य पदमा इजकिएलले अय्यूबलाई धार्मिकताको उदाहरणको रूपमा उल्लेख गर्दा अय्यूबको मृत्यु भएको सयौँ वर्ष भइसकेको थियो।

१९, २०. (क) हामी कसरी अय्यूबको विश्‍वास र आज्ञाकारिता अनुकरण गर्न सक्छौँ? (ख) अरूसित व्यवहार गर्दा हामी कसरी परमेश्‍वरजस्तै दयालु हुन सक्छौँ?

१९ हामी कसरी अय्यूबको विश्‍वास र आज्ञाकारिता अनुकरण गर्न सक्छौँ? जीवनमा जस्तोसुकै उतारचढाव आए पनि आफ्नो जीवनलाई यहोवामै केन्द्रित गरिरहौँ। उहाँमाथि पूर्णतया भरोसा गरिरहौँ र पूर्ण हृदयले उहाँप्रति आज्ञाकारी भइरहौँ। त्यसो गर्नुपर्ने कारण हामीसित अय्यूबको भन्दा धेरै छन्‌! विचार गर्नुहोस्‌ त, हामीलाई सैतान र त्यसका चालहरूबारे थुप्रै कुरा थाह छ। (२ कोरि. २:११) परमेश्‍वरले किन दुःखकष्ट हुन दिनुहुन्छ भनेर हामीले बाइबलबाट अनि खासगरि अय्यूबको किताबबाट बुझेका छौँ। परमेश्‍वरको राज्य एउटा वास्तविक सरकार हो र यसको राजा येशू ख्रीष्ट हुनुहुन्छ भनेर हामीले दानियलको भविष्यवाणीबाट थाह पाएका छौँ। (दानि. ७:१३, १४) अनि यो राज्यले सबै दुःखकष्ट सदाको लागि हटाउनेछ भनेर पनि हामीले थाह पाएका छौँ।

२० गाह्रो परिस्थितिको सामना गरिरहेका सङ्‌गी भाइबहिनीप्रति दयालु हुनुपर्ने कुरा पनि हामी अय्यूबको विवरणबाट बुझ्न सक्छौँ। अय्यूबले जस्तै कोही-कोही भाइबहिनी कहिलेकाहीँ सोचविचार नगरी बोल्न पुग्लान्‌। (उप. ७:७) तर उनीहरूको आलोचना गर्नुको साटो हामी अन्तर्दृष्टि चलाउँदै उनीहरूप्रति दयालु होऔँ। यसरी हामी मायालु अनि कृपालु बुबा यहोवाको अनुकरण गरौँ।—भज. १०३:८.

यहोवाले तपाईँलाई “बलियो पार्नुहुनेछ”

२१. पहिलो पत्रुस ५:१० मा लेखिएको कुराले किन नूह, दानियल र अय्यूबको विवरणको सम्झना गराउँछ?

२१ हुनत नूह, दानियल र अय्यूब फरक-फरक समयमा बाँचेका थिए अनि तिनीहरूले सामना गर्नुपरेको परिस्थिति पनि फरक थियो। तैपनि तिनीहरूले ती गाह्रा परिस्थितिहरू सहे। तिनीहरूको विवरणले प्रेषित पत्रुसले लेखेका यी शब्दहरूको सम्झना गराउँछ: “तिमीहरूले केही समय दुःख भोगिसकेपछि, सबै असीम अनुग्रहका परमेश्‍वर . . . आफैले तिमीहरूको तालिम पूरा गर्नुहुनेछ, तिमीहरूलाई स्थिर बनाउनुहुनेछ र तिमीहरूलाई बलियो पार्नुहुनेछ।”—१ पत्रु. ५:१०.

२२. अर्को लेखमा हामी कुन कुरा बुझ्नेछौँ?

२२ यहोवाको प्रेरणा पाएर पत्रुसले लेखेका शब्दहरूबाट हामी के थाह पाउँछौँ? आफ्ना सेवकहरूलाई बलियो र स्थिर बनाउनेछु भनेर यहोवाले आश्‍वासन दिनुभएको छ। यो कुरा अहिले परमेश्‍वरका जनहरूलाई पनि लागू हुन्छ। हामी सबै जना यहोवाले हामीलाई बलियो पार्नुभएको चाहन्छौँ अनि स्थिर रहेर उहाँको उपासना गरिरहन चाहन्छौँ। त्यसैले नूह, दानियल र अय्यूबको विश्‍वास अनि आज्ञाकारिताको अनुकरण गरौँ। यी पुरुषहरू निष्ठावान्‌ रहिरहन सक्नुको खास कारण के थियो? हो, तिनीहरूले यहोवालाई साँच्चै चिनेका थिए। यहोवाले तिनीहरूबाट चाहनुहुने ‘सबै कुरा’ तिनीहरूले बुझेका थिए। (हितो. २८:५) हामी पनि यहोवालाई साँच्चै चिन्‍न सक्छौँ। यसबारे हामी अर्को लेखमा बुझ्नेछौँ।

^ अनु. 2 इजकिएललाई ईसापूर्व ६१७ मा निर्वासनमा लगिएको थियो। इजकिएल ८:१–१९:१४ तिनलाई निर्वासनमा लगिएको “छैठौँ वर्ष” अर्थात्‌ ईसापूर्व ६१२ मा लेखिएको थियो।

^ अनु. 5 नूहका बुबा लेमेक, जो परमेश्‍वरका उपासक थिए, तिनी जलप्रलय आउनुभन्दा पाँच वर्षजति अघि मरेका थिए। जलप्रलय आउँदा नूहकी आमा र तिनका दाजुभाइ दिदीबहिनी जीवित थिए भने पनि तिनीहरू बचेनन्‌।

^ अनु. 13 दानियलका तीन जना साथीले पनि उच्च ओहदा पाएका थिए। यसमा पनि यहोवाकै हात हुन सक्छ।—दानि. २:४९.