सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ८

परीक्षाहरूको बाबजुद आनन्द कायम राख्नुहोस्‌

परीक्षाहरूको बाबजुद आनन्द कायम राख्नुहोस्‌

“हे मेरा भाइ हो, विभिन्‍न किसिमको परीक्षा आइपर्दा तिमीहरू यसलाई निकै खुसीको कुरा सम्झ।”—याकु. १:२.

गीत १११ हामी आनन्दित हुनुको कारण

परिचय *

१-२. मत्ति ५:११ अनुसार हामीले परीक्षाहरूलाई कसरी हेर्नुपर्छ?

येसुले आफ्ना चेलाहरूले साँचो आनन्द पाउनेछन्‌ भनेर प्रतिज्ञा गर्नुभयो। उहाँलाई प्रेम गर्नेहरूले परीक्षाहरूको सामना गर्नुपर्नेछ भनेर उहाँले चेतावनी पनि दिनुभयो। (मत्ति १०:२२, २३; लुका ६:२०-२३) ख्रिष्टको चेला हुन पाउँदा हामी आनन्दित छौँ। तर परिवारले विरोध गर्दा, सरकारले खेदो गर्दा वा काम गर्ने ठाउँका वा स्कुलका साथीहरूले गलत काम गर्ने दबाब दिँदा हामी कस्तो महसुस गर्छौँ? यस्ता कुराहरूबारे सोच्दा हामीलाई चिन्ता लाग्नु स्वाभाविकै हो।

साधारणतया मानिसहरू खेदोलाई आनन्दित हुने कारणको रूपमा हेर्दैनन्‌। तर परमेश्‍वरको वचनले भने खेदोमा पर्दा हामी आनन्दित हुन सक्छौँ भनेर बताउँछ। उदाहरणको लागि, चेला याकुबले हामीमाथि परीक्षाहरू आइपर्दा अत्तालिनुको सट्टा त्यसलाई आनन्दित हुने कारणको रूपमा हेर्न सल्लाह दिए। (याकु. १:२, १२) अनि येसुले पनि खेदो आइपर्दा आनन्दित हुनुपर्छ भन्‍नुभयो। (मत्ति ५:११ पढ्‌नुहोस्‌) परीक्षाहरूको बाबजुद हामी कसरी आनन्दित हुन सक्छौँ? याकुबले प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई लेखेको पत्रबाट हामी यस सन्दर्भमा थुप्रै कुरा सिक्न सक्छौँ। सुरुमा ती ख्रिष्टियनहरूले सामना गर्नुपरेका चुनौतीहरूबारे विचार गरौँ।

प्रथम शताब्दीका ख्रिष्टियनहरूले कस्ता परीक्षाहरूको सामना गरे?

३. याकुब येसुको चेला भएको केही समयपछि के भयो?

येसुका भाइ याकुब चेला भएको केही समयपछि नै यरुसलेमका ख्रिष्टियनहरूले विरोधको सामना गर्नुपऱ्‍यो। (प्रेषि. १:१४; ५:१७, १८) चेला स्तिफनसको हत्यापछि थुप्रै चेला आफ्नो सहर छोडेर भागे अनि “यहुदिया र सामरियाका इलाकाभरि तितरबितर भए।” तिनीहरूमध्ये कतिपय साइप्रस र एन्टिओकसम्मै पुगे। (प्रेषि. ७:५८–८:१; ११:१९) ती चेलाहरूले कत्ति धेरै समस्याको सामना गर्नुपऱ्‍यो होला भनेर हामी कल्पनासमेत गर्न सक्दैनौँ। तैपनि तिनीहरूले आफू गएको ठाउँमा जोसिलो भएर सुसमाचार प्रचार गरे अनि रोमी साम्राज्यभरि मण्डलीहरू स्थापना भए। (१ पत्रु. १:१) तर ती ख्रिष्टियनहरूले अझ धेरै परीक्षाहरू भोग्न बाँकी नै थियो।

४. प्रथम शताब्दीका ख्रिष्टियनहरूले अरू कस्ता परीक्षाहरूको सामना गर्नुपऱ्‍यो?

प्रथम शताब्दीका ख्रिष्टियनहरूले विभिन्‍न परीक्षाहरूको सामना गर्नुपऱ्‍यो। जस्तै, इस्वी संवत्‌ ५० तिर रोमी सम्राट्‌ क्लौडियसले सबै यहुदीलाई रोम छोड्‌ने हुकुम दिए। त्यसैले ख्रिष्टियन बनेका यहुदीहरू आफ्नो घरबार छोड्‌न बाध्य भए। (प्रेषि. १८:१-३) इस्वी संवत्‌ ६१ तिर प्रेषित पावलले आफ्ना सङ्‌गी ख्रिष्टियनहरूलाई सबैको अगाडि अपमान गरिएको, झ्यालखानामा हालिएको अनि तिनीहरूको सम्पत्ति लुटिएको कुरा लेखे। (हिब्रू १०:३२-३४) अनि अरू मानिसहरूजस्तै ख्रिष्टियनहरूले पनि गरिबी र रोगबिमारको सामना गर्नुपऱ्‍यो।—रोमी १५:२६; फिलि. २:२५-२७.

५. हामी कस्ता प्रश्‍नहरूको जवाफ पाउनेछौँ?

याकुबले आफ्नो पत्र इस्वी संवत्‌ ६२ अघि नै लेखिसकेका थिए। तिनलाई आफ्ना दाजुभाइ दिदीबहिनीले भोगिरहेको परीक्षाबारे राम्ररी थाह थियो। यहोवाले याकुबलाई ती ख्रिष्टियनहरूलाई व्यावहारिक सुझाव दिन प्रेरणा दिनुभयो। ती सुझावहरू लागू गर्दा तिनीहरू परीक्षाहरूको बाबजुद आनन्दित भइरहन सक्ने थिए। अब हामी याकुबको पत्र जाँचौँ र यी प्रश्‍नहरूको जवाफ पत्ता लगाऔँ। याकुबले आफ्नो पत्रमा उल्लेख गरेको आनन्द कस्तो किसिमको आनन्द हो? कस्ता कुराहरूले ख्रिष्टियनहरूको आनन्द खोस्न सक्छ? अनि जस्तोसुकै परीक्षाहरूको सामना गर्नुपरे तापनि आनन्द कायम राख्न बुद्धि, विश्‍वास र साहसले हामीलाई कसरी मदत गर्छ?

कुन कुराले ख्रिष्टियनहरूलाई आनन्दित बनाउँछ?

लालटिनको चिमभित्र बलिरहेको आगोको ज्वालाजस्तै यहोवाले हामीलाई दिनुहुने आनन्द पनि हाम्रो मनबाट कहिल्यै गुम्दैन (अनुच्छेद ६ हेर्नुहोस्‌)

६. लुका ६:२२, २३ अनुसार परीक्षाहरू सहनुपर्दा समेत ख्रिष्टियनहरू किन आनन्दित हुन सक्छन्‌?

स्वास्थ्य राम्रो छ, प्रशस्त पैसा छ र परिवार सुखमय छ भने मात्र आफू आनन्दित हुन सक्छु भनेर कसै-कसैलाई लाग्न सक्छ। तर याकुबले जुन किसिमको आनन्दबारे लेखे, त्यो पवित्र शक्‍तिको फलको एउटा पक्ष हो र यो मानिसको परिस्थितिमा निर्भर हुँदैन। (गला. ५:२२) यहोवालाई प्रसन्‍न बनाइरहेको छु र येसुको अनुकरण गरिरहेको छु भनेर महसुस गर्दा ख्रिष्टियनहरू भित्रैदेखि आनन्दित हुन सक्छन्‌। (लुका ६:२२, २३ पढ्‌नुहोस्‌; कल. १:१०, ११) यस्तो किसिमको आनन्दलाई लालटिनको चिमभित्र बलिरहेको आगोको ज्वालासित तुलना गर्न सकिन्छ। हामीले जीवनमा जस्तोसुकै परिस्थितिको सामना गरिरहेको भए तापनि हामी मनमा भने आनन्दित भइरहन सक्छौँ। बिरामी पर्दा वा पैसाको अभाव हुँदा हाम्रो आनन्द घट्‌दैन अनि परिवारका सदस्यहरू वा अरूको खिसी र विरोधले हाम्रो आनन्द खोस्न सक्दैन। विरोधीहरूले जति नै प्रयास गरे तापनि हाम्रो आनन्द घट्‌नुको साटो झन्‌झनै बढ्‌दै जानेछ। आफ्नो विश्‍वासको खातिर हामीले भोग्ने परीक्षाहरूले हामी ख्रिष्टका साँचो चेलाहरू हौँ भन्‍ने प्रमाण दिन्छ। (मत्ति १०:२२; २४:९; युह. १५:२०) त्यसैले याकुबले यस्तो लेखे: “हे मेरा भाइ हो, विभिन्‍न किसिमको परीक्षा आइपर्दा तिमीहरू यसलाई निकै खुसीको कुरा सम्झ।”—याकु. १:२.

परीक्षाहरूलाई फलामबाट हतियार बनाउन प्रयोग गरिने आगोसित किन तुलना गर्न सकिन्छ? (अनुच्छेद ७ हेर्नुहोस्‌) *

७-८. परीक्षाहरू सहँदा हाम्रो विश्‍वास कसरी बलियो हुन्छ?

ख्रिष्टियनहरूले खुसीसाथ कठिन परीक्षा सहनुको अर्को कारणबारे याकुबले यस्तो लेखे: “यसरी जाँचिएको तिमीहरूको विश्‍वासले सहनशीलता उत्पन्‍न गराउँछ।” (याकु. १:३) परीक्षाहरूलाई फलामबाट हतियार बनाउन प्रयोग गरिने आगोसित तुलना गर्न सकिन्छ। फलामलाई आगोमा तताएर चिस्याएपछि त्यो झनै मजबुत हुन्छ। त्यसैगरि परीक्षाहरू सहँदा हाम्रो विश्‍वास बलियो हुन्छ। त्यसैले याकुबले यस्तो लेखे: “सहनशीलतालाई त्यसको काम पूरा गर्न देओ, तब तिमीहरू हरक्षेत्रमा पूर्ण र दोषरहित हुनेछौ।” (याकु. १:४) परीक्षाहरूले हाम्रो विश्‍वासलाई झन्‌झनै बलियो बनाएको अनुभव गर्दा हामीले खुसीसाथ ती परीक्षाहरू सहन सक्नेछौँ।

याकुबले आफ्नो पत्रमा हाम्रो आनन्द खोस्न सक्ने केही चुनौतीहरूबारे चर्चा गरे। ती चुनौतीहरू के हुन्‌ र हामी कसरी त्यसलाई जित्न सक्छौँ?

हाम्रो आनन्द खोस्न सक्ने चुनौतीहरू र समाधान

९. हामीलाई किन बुद्धि चाहिन्छ?

चुनौती: के गर्ने भनेर थाह नहुनु। कुनै परीक्षाको सामना गर्नुपर्दा यहोवालाई खुसी बनाउने, दाजुभाइ दिदीबहिनीलाई फाइदा पुग्ने र आफ्नो सत्यनिष्ठा कायम राख्न मदत दिने निर्णयहरू गर्न यहोवामा भर पर्न चाहन्छौँ। (यर्मि. १०:२३) परीक्षा आइपर्दा कस्तो कदम चाल्ने अनि विरोधीहरूलाई कसरी जवाफ दिने भनेर बुझ्न हामीलाई बुद्धि चाहिन्छ। के गर्ने भनेर थाह नहुँदा हामी परिस्थितिको वशमा पर्न सक्छौँ र निस्सहाय महसुस गर्न सक्छौँ अनि हाम्रो आनन्द क्षणभरमै गुम्न सक्छ।

१०. याकुब १:५ अनुसार बुद्धि पाउन हामीले के गर्नुपर्छ?

१० समाधान: यहोवासित बुद्धि माग्नुहोस्‌। आनन्दित भई परीक्षाहरू सहन हामीले के गर्नुपर्छ? सबैभन्दा पहिला, सही निर्णय गर्न बुद्धि दिनुहोस्‌ भनेर यहोवालाई प्रार्थना गर्नुपर्छ। (याकुब १:५ पढ्‌नुहोस्‌) यहोवाले तुरुन्तै प्रार्थनाको जवाफ नदिनुभएको जस्तो लाग्दा हामीले के गर्नुपर्छ? “परमेश्‍वरसित मागिरहनुहोस्‌” भनेर याकुब सल्लाह दिन्छन्‌। हामीले यहोवासित बारम्बार बुद्धि माग्दा उहाँ झिजो मान्‍नुहुन्‍न न त उहाँ हामीसित रिसाउनु नै हुन्छ। परीक्षाहरू सहन प्रार्थनामा बुद्धि माग्दा स्वर्गमा बस्नुहुने हाम्रा बुबाले हामीलाई “उदारचित्तले” दिनुहुनेछ। (भज. २५:१२, १३) हामीले भोगिरहेका परीक्षाहरू उहाँ देख्नुहुन्छ। हामीले दुःख पाउँदा उहाँलाई पनि दुःख लाग्छ र हामीलाई मदत गर्न उहाँ तयार हुनुहुन्छ। यो कुरा थाह पाउँदा हामीलाई पनि खुसी लाग्छ। तर प्रश्‍न उठ्‌छ, यहोवा हामीलाई कसरी बुद्धि दिनुहुन्छ?

११. बुद्धि पाउन हामीले अरू के पनि गर्नुपर्छ?

११ यहोवा आफ्नो वचनमार्फत हामीलाई बुद्धि दिनुहुन्छ। (हितो. २:६) बुद्धि पाउन हामीले परमेश्‍वरको वचन र बाइबलआधारित प्रकाशनहरू अध्ययन गर्नुपर्छ। तर हामीले ज्ञान थुपारेर मात्र हुँदैन। बरु परमेश्‍वरले दिनुभएको सल्लाहअनुसार कदम चालेर हामी उहाँको बुद्धि झल्काउन सक्छौँ। याकुबले यस्तो लेखे: “वचन पालन गर्ने होओ, सुन्‍ने मात्र होइन।” (याकु. १:२२) परमेश्‍वरको सल्लाह जीवनमा लागू गर्दा हामी अझ शान्तिप्रिय, व्यावहारिक र कृपालु हुन सक्छौँ। (याकु. ३:१७) यस्ता गुणहरूले आनन्द नगुमाई परीक्षाहरूको सामना गर्न मदत गर्नेछ।

१२. बाइबललाई राम्ररी बुझ्नु किन महत्त्वपूर्ण छ?

१२ परमेश्‍वरको वचनले ऐनाले जस्तै काम गर्छ। यसले हामीलाई सुधार गर्नुपर्ने क्षेत्रहरू चिन्‍न र सुधार गर्न मदत गर्छ। (याकु. १:२३-२५) उदाहरणको लागि, परमेश्‍वरको वचन अध्ययन गरेपछि हामीले आफ्नो रिसलाई काबूमा राख्नुपर्ने आवश्‍यकता महसुस गर्न सक्छौँ। यहोवाको मदत पाएर हामी आफूलाई रिस उठाउने मानिसहरूसित व्यवहार गर्दा वा समस्याहरूको सामना गर्नुपर्दा शान्त रहन सक्नेछौँ। शान्त रहँदा आफ्ना समस्याहरूसित अझ राम्ररी जुझ्न सक्नेछौँ। हामीले अझ राम्ररी सोच्न सक्नेछौँ र राम्रा निर्णयहरू गर्न सक्नेछौँ। (याकु. ३:१३) बाइबललाई राम्ररी बुझ्नु साँच्चै महत्त्वपूर्ण छ!

१३. हामीले किन बाइबल पात्रहरूको उदाहरण अनुकरण गर्नुपर्छ?

१३ कहिलेकाहीँ हामीले गल्ती गरेपछि मात्र यस्तो गर्न नहुने रहेछ भनेर सिक्छौँ। तर यो सिक्ने राम्रो तरिका होइन। बुद्धि पाउने राम्रो तरिका भनेको अरूले गरेको राम्रो काम र गल्ती दुवैबाट सिक्नु हो। त्यसैले याकुब हामीलाई अब्राहाम, राहाब, अय्युब र एलियाजस्ता बाइबल पात्रहरूको उदाहरणबाट सिक्न प्रोत्साहन दिन्छन्‌। (याकु. २:२१-२६; ५:१०, ११, १७, १८) यहोवाका यी वफादार सेवकहरूले तिनीहरूको आनन्द खोस्न सक्ने परीक्षाहरूको सफलतासाथ सामना गर्न सके। तिनीहरूको सहनशीलताको उदाहरणले यहोवाको मदत पाएर हामी पनि त्यसै गर्न सक्छौँ भनेर देखाउँछ।

१४-१५. हामीले किन आफ्नो मनबाट शङ्‌का हटाउनुपर्छ?

१४ चुनौती: मनबाट शङ्‌का नहटाउनु। कहिलेकाहीँ हामीलाई बाइबलले बताउने कुनै कुरा बुझ्न गाह्रो हुन सक्छ। अथवा हामीले आस गरेको तरिकामा परमेश्‍वरले हाम्रो प्रार्थनाको जवाफ नदिनुभएको हुन सक्छ। यसले गर्दा हाम्रो मनमा शङ्‌का उत्पन्‍न हुन सक्छ। हामीले आफ्नो मनबाट शङ्‌का हटाउने प्रयास गरेनौँ भने हाम्रो विश्‍वास कमजोर हुन्छ र यहोवासितको हाम्रो सम्बन्ध पनि बिग्रन्छ। (याकु. १:७, ८) अनि यसले गर्दा हामीले भविष्यको आशा पनि गुमाउन सक्छौँ।

१५ प्रेषित पावलले भविष्यको हाम्रो आशालाई लङ्‌गरसित तुलना गरे। (हिब्रू ६:१९) आँधी आउँदा लङ्‌गरले जहाजलाई स्थिर रहन मदत गर्छ अनि लङ्‌गरले गर्दा जहाज चट्टानमा ठोक्किन पाउँदैन। लङ्‌गर र जहाजलाई सिक्रीले जोडेको हुन्छ। तर त्यो सिक्री चुँड्यो भने लङ्‌गरको केही काम हुँदैन। खियाले लङ्‌गरको सिक्रीलाई कमजोर बनाएको जस्तै हामीले पनि हाम्रो मनमा उत्पन्‍न भएका शङ्‌काहरूलाई हटाउने प्रयास गरेनौँ भने हाम्रो विश्‍वास कमजोर हुन्छ। कसैको मनमा शङ्‌का छ भने विरोध आइपर्दा यहोवाले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ भन्‍ने कुरामाथिको तिनको विश्‍वास गुम्न सक्छ। अनि हामीले आफ्नो विश्‍वास गुमायौँ भने हाम्रो आशा पनि गुम्न सक्छ। याकुबले भनेझैँ शङ्‌का गर्ने व्यक्‍ति “बतासले उचाल्दै-पछार्दै गरेको समुद्रको छालजस्तो हुन्छ।” (याकु. १:६) त्यस्तो व्यक्‍ति पटक्कै आनन्दित हुन सक्दैन!

१६. मनमा शङ्‌का छ भने हामीले के गर्नुपर्छ?

१६ समाधान: शङ्‌का हटाउनुहोस्‌, विश्‍वास बलियो बनाउनुहोस्‌। दोधारमा नबस्नुहोस्‌। भविष्यवक्‍ता एलियाको समयमा यहोवाका मानिसहरू दोधारमा थिए। त्यसैले एलियाले तिनीहरूलाई यसो भने: “तिमीहरू कतिन्जेल दोधारमा बस्छौ? यदि यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ भने उहाँको पछि लाग। तर बाआल साँचो परमेश्‍वर हो भने त्यसकै पछि लाग।” (१ राजा १८:२१) आज हामीले पनि मनबाट शङ्‌का हटाउन ठोस कदम चाल्नुपर्छ। यहोवा हाम्रो परमेश्‍वर हुनुहुन्छ, बाइबल उहाँको वचन हो र यहोवाका साक्षीहरू उहाँका मानिसहरू हुन्‌ भन्‍ने कुरामा विश्‍वस्त हुन हामीले पनि केही अनुसन्धान गर्नुपर्छ। (१ थिस्स. ५:२१) यसो गर्दा हाम्रो मनबाट शङ्‌का हट्‌छ र हाम्रो विश्‍वास बलियो हुन्छ। हामी एल्डरहरूको मदत पनि माग्न सक्छौँ। यहोवाको सेवामा आफ्नो आनन्द कायम राख्न हामीले ठोस कदम चाल्नै पर्छ।

१७. हामीले आफ्नो साहस गुमायौँ भने के हुन्छ?

१७ चुनौती: निराशाले छोप्नु। परमेश्‍वरको वचन यसो भन्छ: “विपत्‌को दिनमा तिमी निराश भयौ भने तिम्रो बल घट्‌नेछ।” (हितो. २४:१०) “निराश हुनु” भनेर अनुवाद गरिएको हिब्रू शब्दले “साहस गुमाउनु” भन्‍ने अर्थ पनि दिन्छ। हाम्रो साहस गुम्यो भने हाम्रो आनन्द पनि तुरुन्तै गुम्छ।

१८. सहनशील हुनु भनेको के हो?

१८ समाधान: परीक्षाहरू सहन साहसको लागि यहोवामा भर पर्नुहोस्‌। परीक्षाहरू सहन हामीलाई साहस नभई हुँदैन। (याकु. ५:११) याकुबले चलाएको “सहनशीलता” भन्‍ने शब्दले कुनै व्यक्‍ति ढलपल नभई दृढ भएर खडा रहनु भन्‍ने अर्थ दिन्छ। हामी त्यस्तो एक जना साहसी सिपाहीलाई सम्झन्छौँ होला, जो शत्रुले भीषण आक्रमण गर्दा आफ्नो स्थानबाट एक डेग पनि पछि नहटी स्थिर भई खडा भइरहन्छ।

१९. प्रेषित पावलको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

१९ साहस र सहनशीलता देखाउने सन्दर्भमा प्रेषित पावलले उत्कृष्ट उदाहरण बसालेका छन्‌। कहिलेकाहीँ तिनले आफू कमजोर भएको महसुस गरे। तर बलको लागि यहोवामा भरोसा गरेकोले तिनी सहनशील हुन सके। (२ कोरि. १२:८-१०; फिलि. ४:१३) हामीलाई यहोवाको मदत चाहिन्छ भन्‍ने कुरा नम्र भई स्विकाऱ्‍यौँ भने हामीले पनि उहाँबाट त्यस्तै बल र साहस पाउन सक्छौँ।—याकु. ४:१०.

परमेश्‍वरसित नजिक हुनुहोस्‌ र आनन्द कायम राख्नुहोस्‌

२०-२१. हामी कुन कुरामा विश्‍वस्त हुन सक्छौँ?

२० हामीले भोग्नुपर्ने परीक्षाहरू यहोवाले दिनुभएको सजाय होइन भनेर हामी ढुक्क हुन सक्छौँ। याकुब हामीलाई यस्तो आश्‍वासन दिन्छन्‌: “परीक्षा आइपर्दा कसैले पनि यसो नभनोस्‌: ‘परमेश्‍वरले मेरो परीक्षा लिइरहनुभएको छ।’ किनकि कुनै दुष्ट कुराद्वारा परमेश्‍वरको परीक्षा लिन सकिँदैन र उहाँ आफैले पनि कुनै दुष्ट कुराद्वारा कसैको परीक्षा लिनुहुन्‍न।” (याकु. १:१३) हामीले यस तथ्यलाई स्विकाऱ्‍यौँ भने स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबासित हामी अझ नजिक हुनेछौँ।—याकु. ४:८.

२१ यहोवा “सरिरहने छायाजस्तो परिवर्तन भइरहनुहुन्‍न।” (याकु. १:१७) उहाँले प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई परीक्षाहरू सहन मदत गर्नुभयो र आज उहाँ हामी प्रत्येकलाई त्यसरी नै मदत गर्नुहुन्छ। बुद्धि, विश्‍वास र साहस दिनुहोस्‌ भनेर यहोवालाई व्यग्र बिन्ती गर्नुहोस्‌। उहाँले तपाईँका प्रार्थनाहरूको जवाफ दिनुहुनेछ। त्यसपछि उहाँले तपाईँलाई परीक्षाहरूको बाबजुद आनन्द कायम राख्न मदत गर्नुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुन सक्नुहुन्छ।

गीत १२८ अन्तसम्म सहौँ!

^ अनु. 5 याकुबको किताबमा परीक्षाहरूको सामना गर्न मदत गर्ने थुप्रै व्यावहारिक सल्लाह पाइन्छ। यस लेखमा याकुबले दिएको केही सुझाव छलफल गर्नेछौँ। ती सुझावहरूले कठिन परिस्थितिहरूको सामना गर्नुपरे तापनि आनन्दित भई यहोवाको सेवा गरिरहन हामीलाई मदत गर्नेछ।

^ अनु. 59 चित्रको व्याख्या: एक जना भाइ घरबाट पक्राउ परेका छन्‌। प्रहरीहरूले तिनलाई लैजाँदै गर्दा तिनकी पत्नी र छोरीले हेरिरहेका छन्‌। ती भाइ जेलमा छँदा मण्डलीका केही दाजुभाइ दिदीबहिनी तिनकी पत्नी र छोरीसित पारिवारिक अध्ययनमा बस्न आएका छन्‌। ती आमा र छोरीले परीक्षा सहन बल दिनुहोस्‌ भनेर निरन्तर यहोवालाई प्रार्थना गर्छन्‌। यहोवा तिनीहरूलाई मनोशान्ति र साहस दिनुहुन्छ। परिणामस्वरूप तिनीहरूको विश्‍वास बलियो हुँदै जान्छ र तिनीहरू परीक्षाको बाबजुद आनन्दित भइरहन सक्छन्‌।