सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ६

‘स्त्रीको शिर पुरुष हो’

‘स्त्रीको शिर पुरुष हो’

‘स्त्रीको शिर पुरुष हो।’—१ कोरि. ११:३.

गीत १३ ख्रिष्ट—हाम्रो उदाहरण

परिचय *

१. कुनै बहिनीले कसैलाई सम्भाव्य जीवनसाथीको रूपमा हेर्दै छिन्‌ भने तिनले आफूलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

सबै ख्रिष्टियन त्रुटिरहित शिर येसु ख्रिष्टको अधीनमा छन्‌। तर कोही स्त्रीले विवाह गरेपछि तिनी त्रुटिपूर्ण पुरुषको अधीनमा हुन्छिन्‌। यो तिनको लागि चुनौतीपूर्ण हुन सक्छ। यदि तिनले कसैलाई सम्भाव्य जीवनसाथीको रूपमा हेर्दै छिन्‌ भने तिनले आफैलाई यस्ता प्रश्‍नहरू सोध्नु राम्रो हुन्छ: ‘उक्‍त भाइ परिवारको असल शिर बन्‍न सक्नुहुन्छ भनेर कस्ता कुराहरूले देखाउँछ? के उहाँले आफ्नो जीवनमा यहोवाको सेवालाई प्राथमिकता दिनुहुन्छ? होइन भने के उहाँ विवाहपछि राम्रो आध्यात्मिक शिर बन्‍न सक्नुहुन्छ?’ ती बहिनीले आफैलाई यस्ता प्रश्‍नहरू सोध्नु पनि राम्रो हो: ‘हाम्रो वैवाहिक सम्बन्धलाई राम्रो बनाउने कस्ता गुणहरू मसित छ? के म धीरजी र उदार छु? के यहोवासितको मेरो सम्बन्ध बलियो छ?’ (उप. ४:९, १२) कुनै बहिनीले विवाहअघि नै असल निर्णयहरू गरेकी छिन्‌ भने तिनको वैवाहिक जीवन सुखमय हुने सम्भावना धेरै हुन्छ।

२. यस लेखमा हामी के छलफल गर्नेछौँ?

हाम्रा लाखौँ ख्रिष्टियन बहिनीहरूले आफ्नो पतिको अधीनमा बसेर उत्कृष्ट उदाहरण बसालेका छन्‌। उनीहरू प्रशंसाको योग्य छन्‌। ती वफादार स्त्रीहरूसँगै यहोवाको सेवा गर्न पाउनु साँच्चै खुसीको कुरा हो। यस लेखमा हामी यी तीन प्रश्‍नको जवाफ विचार गर्नेछौँ: (१) पत्नीहरूले सामना गर्नुपर्ने केही चुनौतीहरू के-के हुन्‌? (२) पत्नी आफ्नो पतिको अधीनमा किन बस्नुपर्छ? (३) ख्रिष्टियन पति र पत्नीहरूले येसु, अबिगेल अनि येसुकी आमा मरियमबाट अधीनताबारे के सिक्न सक्छन्‌?

ख्रिष्टियन पत्नीहरूले कस्ता चुनौतीहरूको सामना गर्नुपर्छ?

३. विवाहित दम्पतीहरूले किन चुनौतीहरूको सामना गर्नुपर्छ?

परमेश्‍वरले उपहारस्वरूप दिनुभएको विवाहको प्रबन्धमा कुनै त्रुटि छैन। तर हामी मानिसहरू भने त्रुटिपूर्ण छौँ। (१ युह. १:८) त्यसैले परमेश्‍वरको वचनले विवाहित दम्पतीहरूले चुनौतीहरूको सामना गर्नुपर्नेछ भनेर चेतावनी दिएको छ। बाइबलमा ती चुनौतीहरूलाई “शारीरिक दुःखकष्ट” भनिएको छ। (१ कोरि. ७:२८) पत्नीहरूले सामना गर्नुपर्ने केही चुनौतीहरू अब विचार गरौँ।

४. पतिको अधीनमा बस्नु भनेको आफूलाई होच्याउनु हो जस्तो पत्नीहरूलाई किन लाग्न सक्छ?

आफ्नो पृष्ठभूमिको कारण केही पत्नीहरूलाई पतिको अधीनमा बस्नु भनेको आफूलाई होच्याउनु हो जस्तो लाग्न सक्छ। अमेरिकामा बस्ने मारिसोल यसो भन्छिन्‌: “म हुर्केबढेको समाजमा स्त्रीहरूलाई उनीहरू पनि हरेक कुरामा पुरुषसमान हुनुपर्छ भनेर सिकाइन्थ्यो। यहोवाले शिरत्वको प्रबन्ध गर्नुभएको छ भनेर मैले बुझेकी छु। पत्नीहरू आफ्नो पतिको अधीनमा बसेको र तिनीहरूले आफ्नो पतिबाट आदर पनि पाएको यहोवा चाहनुहुन्छ। तर शिरत्वप्रति सन्तुलित दृष्टिकोण राख्न कहिलेकाहीँ गाह्रो हुन्छ।”

५. स्त्रीहरूको भूमिकाबारे कसै-कसैको कस्तो गलत सोचाइ छ?

अर्कोतर्फ केही पुरुषहरू स्त्रीहरूलाई दोस्रो दर्जामा राख्ने समाजमा हुर्केका हुन सक्छन्‌। दक्षिण अमेरिकामा बस्ने इभोन नाम गरेकी बहिनी यसो भन्छिन्‌: “हाम्रो समाजमा सुरुमा पुरुषहरूले खाना खान्छन्‌, त्यसपछि स्त्रीहरूले। छोरीहरूले सानैदेखि खाना पकाउनुपर्छ र घर सफा गर्नुपर्छ। अर्कोतर्फ छोराहरू भने सानैदेखि आमा र दिदीबहिनीको सेवासुसार पाएर हुर्कन्छन्‌। अनि तिनीहरूलाई ‘घरको राजा’ भनिन्छ।” एसियामा बस्ने यिङ्‌गलिङ नाम गरेकी बहिनी यसो भन्छिन्‌: “हाम्रो भाषामा स्त्रीहरू चलाख र क्षमतावान्‌ हुनु पर्दैन भन्‍ने अर्थ लाग्ने एउटा भनाइ छ। तिनीहरूको काम भनेकै घर सम्हाल्नु हो। तिनीहरूले पतिलाई आफ्नो विचार बताउन पाउँदैनन्‌।” कुनै पुरुषले बाइबलसित मेल नखाने यस्तो सोचाइ राख्छन्‌ र आफ्नी पत्नीलाई प्रेम गर्दैनन्‌ भने तिनकी पत्नीको जीवन कष्टकर हुन सक्छ। साथै तिनले येसुको अनुकरण पनि गरिरहेका हुँदैनन्‌ र यहोवालाई दुःखी तुल्याउँछन्‌।—एफि. ५:२८, २९; १ पत्रु. ३:७.

६. यहोवासितको सम्बन्ध बलियो बनाउन पत्नीहरूले के गर्नुपर्छ?

अघिल्लो लेखमा छलफल गरिएझैँ यहोवा ख्रिष्टियन पतिहरूले आफ्नो परिवारको आध्यात्मिक, भावनात्मक र भौतिक आवश्‍यकता पूरा गरेको चाहनुहुन्छ। (१ तिमो. ५:८) तर विवाहित बहिनीहरूले आफू जति नै व्यस्त भए पनि हरेक दिन बाइबल पढ्‌न अनि मनन गर्न र यहोवालाई मनैदेखि प्रार्थना गर्न समय निकाल्नुपर्छ। यसो गर्न कहिलेकाहीँ चुनौतीपूर्ण हुन सक्छ। पत्नीहरू घरायसी काममा व्यस्त हुने भएकोले यी कुराहरू गर्न आफूसित शक्‍ति र समय नै नभएको महसुस गर्न सक्छन्‌। तर तिनीहरूले समय निकाल्नु महत्त्वपूर्ण छ। किन? किनभने यहोवा हामी प्रत्येकले उहाँसित व्यक्‍तिगत सम्बन्ध गाँसेको र त्यसलाई कायम राखेको चाहनुहुन्छ।—प्रेषि. १७:२७.

७. पत्नीले के गर्दा तिनलाई आफ्नो भूमिका पूरा गर्न सजिलो हुन्छ?

आफ्नो त्रुटिपूर्ण पतिको अधीनमा बस्न पत्नीले धेरै प्रयास गर्नुपर्ने हुन सक्छ। तर तिनले यसो गर्नुको धर्मशास्त्रीय कारण राम्ररी बुझेकी छिन्‌ अनि त्यसलाई स्विकारेकी छिन्‌ भने तिनलाई परिवारमा आफ्नो भूमिका पूरा गर्न सजिलो हुन्छ।

पत्नीहरू किन पतिको अधीनमा बस्नुपर्छ?

८. एफिसी ५:२२-२४ मा बताइएअनुसार ख्रिष्टियन पत्नी किन आफ्नो पतिको अधीनमा बस्छिन्‌?

एक ख्रिष्टियन पत्नी आफ्नो पतिको अधीनमा बस्छिन्‌। किनकि यहोवाले तिनीबाट यही माग गर्नुभएको छ। (एफिसी ५:२२-२४ पढ्‌नुहोस्‌) तिनी स्वर्गमा बस्नुहुने आफ्नो बुबामाथि भरोसा गर्छिन्‌। किनकि यहोवा तिनलाई प्रेम गर्नुहुन्छ र तिनको कुभलो हुने कुनै पनि काम गर्न लगाउनुहुन्‍न भनेर तिनलाई थाह छ।—व्यव. ६:२४; १ युह. ५:३.

९. कुनै ख्रिष्टियन बहिनी आफ्नो पतिको अधीनमा बस्दा कस्तो फाइदा हुन्छ?

यस संसारले स्त्रीहरूलाई यहोवाको स्तर बेवास्ता गर्न र अधीनमा बस्नु भनेको आफूलाई होच्याउनु हो भनेर सोच्न लगाउँछ। यस्तो सोचाइलाई बढावा दिनेहरूले हाम्रो मायालु परमेश्‍वरलाई चिनेका छैनन्‌। यहोवा आफ्ना मायालु छोरीहरूले आफूलाई होच्याइएको महसुस हुने आज्ञा कहिल्यै दिनुहुन्‍न। कुनै बहिनीले यहोवाले दिनुभएको भूमिका पूरा गर्न कडा प्रयास गर्छिन्‌ भने तिनको घरपरिवारमा शान्ति छाउँछ। (भज. ११९:१६५) यसो गर्दा तिनको पतिलाई, तिनी आफैलाई र छोराछोरी सबैलाई फाइदा हुन्छ।

१०. क्यारोलले भनेको कुराबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ?

१० आफ्नो त्रुटिपूर्ण पतिको अधीनमा बस्ने पत्नीले शिरत्वको प्रबन्ध गर्नुहुने यहोवालाई प्रेम र आदर गरेको देखाउँछिन्‌। दक्षिण अमेरिकामा बस्ने क्यारोल यसो भन्छिन्‌: “मेरो पतिबाट गल्तीहरू हुन्छ भनेर मलाई थाह छ र मलाई यो कुरा पनि थाह छ, उहाँले गल्ती गर्नुहुँदा मैले उहाँसित गर्ने व्यवहारले म यहोवासितको मेरो मित्रतालाई कत्तिको मोल गर्छु भनेर देखाउँछ। म स्वर्गमा बस्नुहुने बुबालाई खुसी बनाउन चाहन्छु। त्यसैले पतिको अधीनमा बस्न प्रयास गर्छु।”

११. एनिस कसरी क्षमाशील हुन सकिन्‌ र तिनले भनेको कुराबाट हामी के सिक्न सक्छौँ?

११ कुनै पत्नीलाई आफ्नो पतिले तिनको भावना र चिन्ताहरूको वास्ता नगरेको जस्तो लाग्दा तिनलाई पतिको आदर गर्न र अधीनमा बस्न चुनौतीपूर्ण लाग्न सक्छ। तर त्यस्तो हुँदा एनिस नाम गरेकी बहिनी के गर्छिन्‌, विचार गर्नुहोस्‌। तिनी भन्छिन्‌: “म मनमा रिस पालेर बस्दिनँ। हामी सबैबाट गल्ती हुन्छ भनेर मलाई थाह छ। मेरो उद्देश्‍य भनेको यहोवाले जस्तै खुला मनले क्षमा गर्नु हो। क्षमा दिँदा मैले मनोशान्ति पाउँछु।” (भज. ८६:५) क्षमा दिने पत्नीलाई अधीनमा बस्न पनि सजिलो लाग्न सक्छ।

बाइबलमा पाइने उदाहरणहरूबाट हामी के सिक्न सक्छौँ?

१२. बाइबलमा कस्ता उदाहरणहरू पाइन्छ?

१२ अधीनमा बस्नु भनेको कमजोरीको चिन्ह हो भनेर कसै-कसैलाई लाग्न सक्छ। तर यस्तो सोचाइ बिलकुलै गलत हो। बाइबलमा अरूको अधीनमा बसेका थुप्रै व्यक्‍तिको उदाहरण पाइन्छ, जो वास्तवमा साहसी थिए। येसु, अबिगेल र मरियमबाट हामी के सिक्न सक्छौँ, विचार गरौँ।

१३. येसु किन यहोवाको अधीनमा बस्नुहुन्छ? व्याख्या गर्नुहोस्‌।

१३ येसु यहोवाको अधीनमा बस्नुहुन्छ। तर त्यसको मतलब उहाँसित बुद्धि अनि क्षमताको कमी छ भन्‍ने त होइन। येसुजस्तो बुद्धिमान्‌ व्यक्‍तिले मात्र सरल र स्पष्टसँग सिकाउन सक्छ। (युह. ७:४५, ४६) येसु कति क्षमतावान्‌ हुनुहुन्छ भनेर यहोवालाई थाह थियो। त्यसैले उहाँले येसुलाई सृष्टिको काममा आफूलाई सघाउन चलाउनुभयो। (हितो. ८:३०; हिब्रू १:२-४) येसुलाई फेरि जीवित पार्नुभएपछि यहोवाले उहाँलाई “स्वर्ग र पृथ्वीको सबै अधिकार” दिनुभयो। (मत्ति २८:१८) येसुसँग थुप्रै क्षमता भए तापनि उहाँ डोऱ्‍याइको लागि यहोवामा भर पर्नुहुन्छ। किन? किनभने उहाँ आफ्नो बुबालाई प्रेम गर्नुहुन्छ।—युह. १४:३१.

१४. निम्न कुराहरूबाट पतिहरूले के सिक्न सक्छन्‌? (क) स्त्रीहरूप्रति यहोवाको दृष्टिकोणबाट। (ख) हितोपदेश अध्याय ३१ मा बताइएका कुराहरूबाट।

१४ पतिहरूको लागि पाठ। यहोवाले स्त्रीलाई पुरुषभन्दा तुच्छ ठान्‍नुभएकोले तिनीहरूलाई पतिको अधीनमा बस्ने आज्ञा दिनुभएको होइन। येसुको सह-शासक हुन पुरुषहरूसँगै स्त्रीहरूलाई पनि रोज्नुभएर यहोवाले यो कुरा प्रमाणित गर्नुभएको छ। (गला. ३:२६-२९) येसुलाई अख्तियार सुम्पनुभएर यहोवाले उहाँमाथि भरोसा गरेको देखाउनुभएको छ। त्यसैगरि बुद्धिमान्‌ पतिले आफ्नी पत्नीलाई केही हदसम्म अख्तियार दिन्छन्‌। बाइबलमा एक जना सुयोग्य पत्नीले गर्ने कामबारे चर्चा गरिएको छ। जस्तै: तिनी घरपरिवारको रेखदेख गर्छिन्‌, जग्गाजमिन किनबेच गर्छिन्‌ र व्यापार व्यवसाय सम्हाल्छिन्‌। (हितोपदेश ३१:१५, १६, १८ पढ्‌नुहोस्‌) तिनी आफ्नो विचार व्यक्‍त गर्न नपाउने दासजस्तो होइनन्‌। बरु तिनका पति तिनलाई भरोसा गर्छन्‌ र तिनका विचारहरू बुझ्छन्‌। (हितोपदेश ३१:११, २६, २७ पढ्‌नुहोस्‌) कुनै पुरुषले आफ्नी पत्नीलाई यसरी नै आदर देखाउँछन्‌ भने तिनी पनि खुसीसाथ आफ्नो पतिको अधीनमा बस्नेछिन्‌।

येसु यहोवाको अधीनमा बस्नुभएको कुराबाट सुयोग्य पत्नीहरूले के सिक्न सक्छन्‌? (अनुच्छेद १५ हेर्नुहोस्‌)

१५. येसुको उदाहरणबाट पत्नीहरूले के सिक्न सक्छन्‌?

१५ पत्नीहरूको लागि पाठ। येसुले ठूलठूला कामहरू गर्नुभए तापनि उहाँ यहोवाको अधीनमा बस्नुभयो। उहाँले यहोवाको अधीनमा बस्नु भनेको आफूलाई होच्याउनु हो भनेर कहिल्यै सोच्नुभएन। (१ कोरि. १५:२८; फिलि. २:५, ६) येसुको उदाहरण अनुकरण गर्ने सुयोग्य पत्नीले आफ्नो पतिको अधीनमा बस्नु भनेको आफूलाई होच्याउनु होइन भनेर बुझेकी हुन्छिन्‌। आफ्नो पतिलाई प्रेम गर्ने भएकोले मात्र होइन तर मुख्यगरि यहोवालाई प्रेम र आदर गर्ने भएकोले तिनी आफ्नो पतिलाई साथ दिन्छिन्‌।

दाउद र तिनका मानिसहरूलाई खानेकुरा पठाएपछि अबिगेल दाउदसामु जान्छिन्‌। त्यसपछि उनी भुईँमा घोप्टो पर्छिन्‌ अनि बदला लिएर रक्‍तदोषी नहुन दाउदलाई आग्रह गर्छिन्‌ (अनुच्छेद १६ हेर्नुहोस्‌)

१६. पहिलो समुएल २५:३, २३-२८ अनुसार अबिगेलले कस्ता चुनौतीहरूको सामना गरिन्‌? (आवरण चित्र हेर्नुहोस्‌)

१६ अबिगेलको पतिको नाम नाबाल थियो। तिनी स्वार्थी, घमन्डी र कृतघ्न मानिस थिए। तैपनि अबिगेलले आफ्नो वैवाहिक सम्बन्ध टुटाउन खोजिनन्‌। अबिगेलले चाहेकी भए दाउद र तिनका मानिसहरू नाबाललाई मार्न आउँदा चुपचाप लागेर बस्न सक्थिन्‌। तर तिनले त्यसो गरिनन्‌। बरु नाबाल र आफ्नो ठूलो परिवारलाई जोगाउन व्यावहारिक कदम चालिन्‌। कल्पना गर्नुहोस्‌, अबिगेल हातहतियार भिरेका ४०० जना मानिससामु छिन्‌। तिनी दाउदलाई आदरपूर्वक आफ्नो कुरा राख्दै छिन्‌। त्यतिबेला तिनलाई कति धेरै साहस चाहिएको थियो होला। तिनी आफ्नो पतिले गरेको गल्तीको सजाय आफैले भोग्न समेत तयार थिइन्‌। (१ समुएल २५:३, २३-२८ पढ्‌नुहोस्‌) आफूलाई गम्भीर गल्ती गर्नदेखि रोक्न यहोवाले यी साहसी स्त्रीलाई चलाउँदै हुनुहुन्छ भनेर दाउदले बुझे।

१७. दाउद र अबिगेलको विवरणबाट पतिहरूले के सिक्न सक्छन्‌?

१७ पतिहरूको लागि पाठ। अबिगेल बुद्धिमती स्त्री थिइन्‌। दाउदले पनि तिनको सल्लाह सुनेर समझदारी देखाए। परिणामस्वरूप तिनी रक्‍तदोषी हुनबाट जोगिए। त्यसैगरि कुनै महत्त्वपूर्ण निर्णय गर्नुपर्दा बुद्धिमान्‌ पतिले आफ्नी पत्नीको विचार सुन्छन्‌। आफ्नी पत्नीको सुझाव सुन्दा सायद तिनी गलत निर्णय गर्नदेखि जोगिनेछन्‌।

१८. अबिगेलको उदाहरणबाट पत्नीहरूले के सिक्न सक्छन्‌?

१८ पत्नीहरूको लागि पाठ। आफ्नो पति ले यहोवाको सेवा गर्दैनन्‌ वा उहाँको स्तरअनुसार जीवन बिताउँदैनन्‌ भने पनि यहोवालाई प्रेम र आदर गर्ने पत्नीले परिवारमा राम्रो प्रभाव पार्न सक्छिन्‌। तिनी धर्मशास्त्रविपरीत गएर आफ्नो वैवाहिक सम्बन्ध टुटाउने बहाना खोज्दिनन्‌। बरु तिनी आदर देखाएर र अधीनमा बसेर आफ्नो पतिलाई यहोवाबारे सिक्न उत्प्रेरित गर्छिन्‌। (१ पत्रु. ३:१, २) तर तिनको असल चालचलन देखेर पनि तिनको पतिले यहोवाको सेवा नगर्ने छनौट गर्न सक्छन्‌। तैपनि तिनी आफ्नो पतिको अधीनमा बसेको र तिनीप्रति वफादार भएको देख्दा यहोवा खुसी हुनुहुनेछ।

१९. कुनै पत्नीले कस्तो अवस्थामा आफ्नो पतिको आज्ञा मान्दिनन्‌?

१९ ख्रिष्टियन पत्नी आफ्नो पतिको अधीनमा बस्नुपर्छ। तर तिनको पतिले तिनलाई बाइबलको नियम वा सिद्धान्तविपरीत काम गर्न लगाउँदा तिनी आफ्नो पतिलाई समर्थन गर्दिनन्‌। मानौँ, यहोवाको सेवा नगर्ने पतिले एक बहिनीलाई झूट बोल्न, चोर्न वा धर्मशास्त्रविपरीतको कुनै काम गर्न लगाउँछन्‌। विवाहित बहिनीहरूलगायत सबै ख्रिष्टियन सबैभन्दा पहिला यहोवा परमेश्‍वरप्रति आज्ञाकारी हुनुपर्छ। कुनै बहिनीको पतिले तिनलाई बाइबलका सिद्धान्तहरूसित नमिल्ने काम गर्न लगाउँछन्‌ भने तिनले त्यसो गर्न इन्कार गर्नुपर्छ र त्यस्तो काम नगर्नुको कारण दयालु र दृढ भएर बताउनुपर्छ।—प्रेषि. ५:२९.

अनुच्छेद २० हेर्नुहोस्‌ *

२०. मरियमले यहोवासित घनिष्ठ सम्बन्ध गाँसेकी थिइन्‌ भनेर हामी किन भन्‍न सक्छौँ?

२० मरियमले यहोवासित घनिष्ठ सम्बन्ध गाँसेकी थिइन्‌। तिनीसित धर्मशास्त्रको राम्रो ज्ञान थियो। बप्तिस्मा गराउने युहन्‍नाकी आमा इलिसिबासित कुरा गर्दा मरियमले धर्मशास्त्रबाट २० पटक भन्दा धेरै उद्धरण गरेकी थिइन्‌। (लुका १:४६-५५) यो कुरा विचार गर्नुहोस्‌: मरियमको युसुफसित मगनी भइसकेको भए तापनि यहोवाको स्वर्गदूत सुरुमा युसुफकहाँ देखा परेनन्‌। सुरुमा स्वर्गदूतले मरियमसित कुरा गरे र तिनले परमेश्‍वरको छोरालाई जन्म दिनेछिन्‌ भनेर घोषणा गरे। (लुका १:२६-३३) यहोवा मरियमलाई राम्रोसँग चिन्‍नुहुन्थ्यो र तिनले उहाँको छोरालाई माया र हेरचाह गर्नेछिन्‌ भनेर उहाँ ढुक्क हुनुहुन्थ्यो। येसु स्वर्ग फर्कनुभएपछि पनि मरियमले यहोवासँग घनिष्ठ सम्बन्ध कायम राखिरहिन्‌ भन्‍ने कुरामा कुनै शङ्‌का छैन।—प्रेषि. १:१४.

२१. मरियमबारे बाइबलमा रेकर्ड गरिएको विवरणबाट पतिहरूले के सिक्न सक्छन्‌?

२१ पतिहरूको लागि पाठ। आफ्नी पत्नीसित धर्मशास्त्रको राम्रो ज्ञान छ भने बुद्धिमान्‌ पतिलाई पक्कै पनि खुसी लाग्छ। आफ्नी पत्नी परिवारको शिर बन्‍न खोज्दै छिन्‌ भनेर तिनी डराउनेछैनन्‌। बाइबल र यसको सिद्धान्त राम्ररी बुझेको पत्नी पाउनु परिवारको लागि राम्रो कुरा हो भनेर तिनलाई थाह छ। पत्नीले आफूभन्दा धेरै शिक्षा हासिल गरेको भए तापनि पारिवारिक उपासनामा र अन्य आध्यात्मिक गतिविधिहरूमा नेतृत्व लिने जिम्मेवारी पतिकै हो।—एफि. ६:४.

येसुकी आमा मरियमबाट अध्ययन र मनन गर्नेबारे पत्नीहरूले के सिक्न सक्छन्‌? (अनुच्छेद २२ हेर्नुहोस्‌) *

२२. मरियमबाट पत्नीहरूले के सिक्न सक्छन्‌?

२२ पत्नीहरूको लागि पाठ। यहोवाको उपासनामा नेतृत्व लिने जिम्मेवारी पतिको हो भन्‍ने कुरा पत्नीले स्विकार्नुपर्छ तर आफ्नो विश्‍वासलाई बलियो बनाउने जिम्मेवारी भने तिनको आफ्नै हो। (गला. ६:५) त्यसैले तिनले व्यक्‍तिगत अध्ययन गर्न र मनन गर्न केही समय छुट्ट्याउनुपर्छ। यसो गर्दा तिनले यहोवाप्रतिको प्रेम र आदर कायम राख्न अनि खुसीसाथ आफ्नो पतिको अधीनमा बस्न मदत पाउनेछिन्‌।

२३. अधीनमा बस्ने पत्नीहरूले कसरी आफैलाई, परिवारलाई अनि मण्डलीलाई फाइदा पुऱ्‍याउन सक्छन्‌?

२३ यहोवाको शिरत्वको प्रबन्धलाई बेवास्ता गर्ने पत्नीहरूको तुलनामा यहोवाप्रतिको प्रेमले उत्प्रेरित भएर आफ्नो पतिको अधीनमा बस्ने पत्नीहरूले अझ धेरै आनन्द र सन्तुष्टि पाउनेछन्‌। तिनीहरूले जवान भाइबहिनीहरूको लागि पनि राम्रो उदाहरण बसाल्छन्‌। अनि तिनीहरूले परिवारमा मात्र होइन मण्डलीमा पनि न्यानो वातावरण कायम राख्न मदत गर्छन्‌। (ति. २:३-५) आज वफादार भई यहोवाको सेवा गर्ने मानिसहरूको समूहमा स्त्रीहरूको सङ्‌ख्या धेरै छ। (भज. ६८:११) हामी चाहे पुरुष हौँ वा स्त्री, मण्डलीमा हामी सबैको महत्त्वपूर्ण भूमिका छ। हामी प्रत्येकले कसरी आफ्नो भूमिका पूरा गर्न सक्छौँ, यसपछिको लेखमा छलफल गर्नेछौँ।

गीत १३१ “जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ”

^ अनु. 5 यहोवा विवाहित स्त्रीहरू आफ्नो पतिको अधीनमा रहेको चाहनुहुन्छ। यसमा के समावेश छ? ख्रिष्टियन पति र पत्नीले येसु ख्रिष्टबाट र बाइबलमा उल्लेख गरिएका केही स्त्रीहरूबाट अधीनमा रहनेसम्बन्धी थुप्रै कुरा सिक्न सक्छन्‌।

^ अनु. 68 चित्रको व्याख्या: बप्तिस्मा गराउने युहन्‍नाकी आमा इलिसिबासित कुरा गर्दा मरियमले आफूले कण्ठ पारेको हिब्रू धर्मशास्त्रका केही अंशहरू उल्लेख गरिन्‌।

^ अनु. 70 चित्रको व्याख्या: ख्रिष्टियन पत्नीले आफ्नो विश्‍वास बलियो बनाउन बाइबल अध्ययनको लागि समय छुट्ट्याउँछिन्‌।