के तपाईँलाई थाह थियो?
पुरातन इस्राएलमा किन दुलहीको दाम तिर्ने चलन थियो?
बाइबलकालीन समयमा विवाहको कुरा छिन्दा केटीको परिवारलाई दुलहीको दाम तिर्ने चलन थियो। त्यतिबेला दुलहीको दामस्वरूप बहुमूल्य सरसामान, जनावर वा पैसा दिइन्थ्यो। कहिलेकाहीँ चाहिँ केटीको परिवारको लागि काम गरिदिएर पनि दुलहीको दाम तिर्ने गरिन्थ्यो। जस्तै: याकुबले राहेलसँग विवाह गर्नको लागि उनको बुबा लाबानकहाँ सात वर्ष काम गरे। (उत्प. २९:१७, १८, २०) त्यस्तो चलनको उद्देश्य के थियो?
बाइबलविद् क्यारोल मायर्स यसो भन्छिन्: “[किसान] परिवारमा छोरीले गर्ने कामधन्दाको निकै महत्त्व थियो। त्यसैले छोरीले परिवारको लागि गर्ने परिश्रमको क्षतिपूर्तिस्वरूप दुलहीको दाम तिर्ने चलन थियो।” साथै दुलहीको दामले दुई परिवारबीचको मित्रतालाई अझ बलियो बनाउँथ्यो। गाह्रोसाह्रो पर्दा ती दुई परिवारले एकअर्कालाई मदत गर्न सक्थे। दुलहीको दाम तिर्नु भनेको कुनै स्त्रीको मगनी भइसकेको छ अनि अब तिनको हेरचाह र सुरक्षा गर्ने जिम्मेवारी तिनको बुबाको नभई पतिको हो भन्ने कुराको प्रमाण थियो।
तर दुलहीको दाम तिर्नुको मतलब पत्नी भनेको किन्न वा बेच्न मिल्ने सामानजस्तो हो भन्ने चाहिँ होइन। पुरातन इस्राएल—त्यहाँको जीवन र प्रचलनहरू (अङ्ग्रेजी) किताब यसो भन्छ: “केटीको परिवारलाई एकमुस्ट रकम वा त्यस बराबरको मालताल तिर्नुपर्ने दायित्वले गर्दा इस्राएली विवाह झट्ट हेर्दा किनबेचजस्तो देखिन्छ। तर [दुलहीको दाम] भनेको स्त्रीको लागि तिरिने रकम नभई परिवारलाई तिरिने क्षतिपूर्तिजस्तो देखिन्छ।”
अहिले पनि केही देशमा दुलहीको दाम तिर्ने चलन छ। ख्रिष्टियन आमाबुबाले दुलहीको दाम माग गर्दा अव्यावहारिक माग नगरेर आफ्नो “व्यावहारिकता सबै मानिसलाई थाह” दिन सक्छन्। (फिलि. ४:५; १ कोरि. १०:३२, ३३) यसरी तिनीहरूले आफू “पैसालाई प्रेम गर्ने” वा लोभी व्यक्ति होइन भन्ने कुरा देखाउन सक्छन्। (२ तिमो. ३:२) साथै ख्रिष्टियन आमाबुबाले दुलहीको दामको रूपमा अव्यावहारिक माग गरे भने तिनीहरूको हुनेवाला ज्वाइँले धेरै पैसा कमाउनको लागि विवाहलाई नै पछि सार्नुपर्ने अथवा पूर्ण-समय काम गर्नुपर्ने भएकोले अग्रगामी सेवा छोड्नुपर्ने हुन सक्छ।
कुनै-कुनै देशमा सरकारले नै दुलहीको दामसम्बन्धी नियमहरू बनाएको छ। त्यस्तो देशमा बस्ने ख्रिष्टियनहरूले ती नियमहरू पालन गर्नुपर्छ। किन? किनकि परमेश्वरको वचनले ख्रिष्टियनहरूलाई “उच्च अख्तियारवालाहरूको अधीनमा” रहन र सरकारले बनाएको नियम परमेश्वरको आज्ञासित बाँझिँदैन भने त्यो पालन गर्न आज्ञा दिएको छ।—रोमी १३:१; प्रेषि. ५:२९.