सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ७

‘बुद्धिमान्‌ मानिसले के भन्छ, सुन’

‘बुद्धिमान्‌ मानिसले के भन्छ, सुन’

“बुद्धिमान्‌ मानिसले के भन्छ, कान थापेर सुन।”—हितो. २२:१७.

गीत १२३ ईश्‍वरीय प्रबन्धलाई वफादार भई समर्थन गरौँ!

परिचय *

१. हामी सबैलाई किन सल्लाह चाहिन्छ?

 हामी सबैलाई बेलाबेलामा सल्लाह चाहिन्छ। कुनै-कुनै अवस्थामा हामी सल्लाह माग्न आफै अग्रसर हुन्छौँ। कहिलेकाहीँ भने हामीले “गलत कदम” चाल्न लागेको देखेर कुनै भाइले हामीलाई सल्लाह दिन सक्छन्‌ किनकि त्यस्तो कदम चाल्दा हामी पछुताउनुपर्ने हुन्छ। (गला. ६:१) हामीले पाउने सल्लाह सुधारको रूपमा पनि आउन सक्छ। हामीले कुनै गम्भीर गल्ती गर्दा त्यस्तो सुधार पाउन सक्छौँ। जुनसुकै कारणले गर्दा सल्लाह पाएको भए तापनि त्यो सल्लाह सुन्‍नुपर्छ। त्यसो गर्दा हाम्रो भलाइ हुनेछ र हाम्रो जीवन जोगिनेछ।—हितो. ६:२३.

२. हितोपदेश १२:१५ अनुसार हामीले किन सल्लाह सुन्‍नुपर्छ?

यस लेखको डोऱ्‍याउने पदले ‘बुद्धिमान्‌ मानिसले के भन्छ, कान थापेर सुन्‍न’ प्रोत्साहन दिन्छ। (हितो. २२:१७) संसारमा सबै कुरा थाह भएको व्यक्‍ति कोही पनि छैन। हामीभन्दा धेरै ज्ञान वा अनुभव भएको व्यक्‍ति सधैँ कोही न कोही अवश्‍य हुन्छ। (हितोपदेश १२:१५ पढ्‌नुहोस्‌।) सल्लाह सुन्‍नु भनेको नम्रताको चिन्ह हो। यसले हामी आफ्ना सीमितताहरू स्विकार्छौँ र लक्ष्यसम्म पुग्न हामीलाई मदत चाहिन्छ भन्‍ने कुरा देखाउँछ। बुद्धिमान्‌ राजा सुलेमानले परमेश्‍वरको प्रेरणा पाएर यस्तो लेखे: “धेरै जनासँग सल्लाह गर्दा सफलता मिल्छ।”—हितो. १५:२२.

तपाईँलाई यीमध्ये कुन किसिमको सल्लाह स्विकार्न गाह्रो लाग्छ? (अनुच्छेद ३-४ हेर्नुहोस्‌)

३. हामीले कुन-कुन तरिकामा सल्लाह पाउन सक्छौँ?

हामीले प्रत्यक्ष वा अप्रत्यक्ष सल्लाह पाउन सक्छौँ। अप्रत्यक्ष सल्लाह भनेको के हो? बाइबलमा वा सङ्‌गठनको कुनै प्रकाशनमा पढेको कुराले हामीलाई आफू के गर्दै छु भनेर केलाउन र आवश्‍यक छाँटकाँट गर्न झकझकाउन सक्छ। (हिब्रू ४:१२) त्यस्तो सल्लाहलाई हामी अप्रत्यक्ष सल्लाह भन्‍न सक्छौँ। त्यसोभए प्रत्यक्ष सल्लाह भनेको के हो? कुनै एल्डर वा योग्य भाइले हामीले उन्‍नति गर्नुपर्ने पक्षबारे हामीलाई बताइदिन सक्छ। त्यस्तो सल्लाहलाई हामी प्रत्यक्ष सल्लाह भन्‍न सक्छौँ। कसैले हामीलाई माया गरेकोले बाइबलआधारित सल्लाह दिन्छन्‌ भने तिनको सल्लाह सुनेर र त्यो लागू गरेर हामी कृतज्ञ भएको देखाउन सक्छौँ।

४. उपदेशक ७:९ अनुसार सल्लाह पाउँदा हामीले के गर्नु हुँदैन?

विशेषगरि हामीलाई प्रत्यक्ष सल्लाह स्विकार्न गाह्रो लाग्न सक्छ; हाम्रो चित्त पनि दुख्न सक्छ। किन? हुनत हामी त्रुटिपूर्ण छौँ भन्‍ने कुरा स्विकार्छौँ तर कसैले गल्ती देखाइदिँदा तिनको सल्लाह स्विकार्न गाह्रो लाग्न सक्छ। (उपदेशक ७:९ पढ्‌नुहोस्‌।) हामी आफ्नो सफाइ दिन खोज्छौँ होला। हामी सल्लाह दिने व्यक्‍तिको मनसाय वा तरिका ठीक छैन भनेर सोच्छौँ होला। सायद हामी सल्लाह दिने व्यक्‍तिको गल्ती कोट्याउँदै मनमनै यस्तो सोच्छौँ होला: ‘मलाई सल्लाह दिने ऊ को हो र? उसले पनि त गल्ती गर्छ।’ यदि कसैले दिएको सल्लाह हामीलाई मन परेन भने हामी त्यो बेवास्ता गर्न खोज्छौँ होला वा हामीले सुन्‍न चाहेको कुरा बताउने व्यक्‍तिकहाँ सल्लाह माग्न जान्छौँ होला।

५. यस लेखमा हामी के छलफल गर्नेछौँ?

यस लेखमा सल्लाह स्विकारेका र नस्विकारेका केही बाइबल पात्रको उदाहरण हामी छलफल गर्नेछौँ। साथै सल्लाह स्विकार्न र त्यसबाट लाभ उठाउन हामीलाई केले मदत गर्न सक्छ, त्यो पनि विचार गर्नेछौँ।

तिनीहरूले सल्लाह स्विकारेनन्‌

६. राजा रहबामले आफूले पाएको सल्लाहप्रति देखाएको प्रतिक्रियाबाट हामी के सिक्न सक्छौँ?

रहबामको उदाहरण विचार गरौँ। तिनी इस्राएलको राजा हुँदा मानिसहरू तिनलाई एउटा बिन्ती गर्न आए। तिनका बुबा सुलेमानले तिनीहरूमाथि लादेको गह्रौँ जुवा हलुका पारिदिन तिनीहरूले अनुरोध गरे। खुसीको कुरा, ती मानिसहरूलाई के जवाफ दिने भनेर रहबामले इस्राएलका बूढापाकाहरूसित सल्लाह मागे। यदि राजाले मानिसहरूको बिन्ती पूरा गरे भने तिनीहरूले तिनलाई सधैँ साथ दिनेछन्‌ भनेर उनीहरूले सल्लाह दिए। (१ राजा १२:३-७) ती बूढापाकाहरूले दिएको सल्लाह रहबामलाई चित्त नबुझेको जस्तो देखिन्छ। त्यसैले तिनले आफ्ना दौँतरीहरूसित सल्लाह मागे। सायद तिनीहरू ४० वर्ष कटिसकेका थिए। त्यसैले तिनीहरूले पनि जीवनमा केही अनुभव बटुलेको हुनुपर्छ। (२ इति. १२:१३) तर यस अवस्थामा तिनीहरूले रहबामलाई गलत सल्लाह दिए। तिनीहरूले मानिसहरूको जुवा झनै गह्रौँ बनाइदिन सल्लाह दिए। (१ राजा १२:८-११) यसरी दुइटा फरक-फरक सल्लाह पाएको हुनाले कुनचाहिँ सल्लाहअनुसार चल्ने भनेर रहबामले यहोवालाई प्रार्थनामा मदत माग्न सक्थे। तर त्यसो गर्नुको साटो तिनले आफूलाई मन परेको सल्लाह अर्थात्‌ दौँतरीहरूले दिएको सल्लाहअनुसार चल्ने निर्णय गरे। परिणामस्वरूप रहबाम र इस्राएलका मानिसहरूले दुःख भोग्नुपऱ्‍यो। हाम्रो सन्दर्भमा भन्‍नुपर्दा हामीले पाउने सल्लाह सधैँ हामीले सुन्‍न चाहेको जस्तो नहुन सक्छ। तर त्यो सल्लाह बाइबलमा आधारित छ भने हामीले त्यसलाई स्विकार्नुपर्छ।

७. राजा उज्जियाहको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

राजा उज्जियाहले सल्लाह स्विकारेनन्‌। तिनले पुजारीहरू मात्र प्रवेश गर्न मिल्ने मन्दिरको भागमा गएर धूप बाल्न खोजे। त्यतिबेला पुजारीहरूले तिनलाई यसो भने: “हे उज्जियाह, यहोवाको निम्ति तपाईँले धूप बाल्नु सही होइन। धूप बाल्ने काम पुजारीहरूको मात्र हो।” उज्जियाहले कस्तो प्रतिक्रिया देखाए? तिनले नम्र भई सल्लाह स्विकारेर मन्दिरबाट तुरुन्तै निस्केका भए सायद यहोवाले तिनलाई क्षमा गर्नुहुने थियो। तर उज्जियाह “रिसले चूर भए।” तिनले किन सल्लाह स्विकारेनन्‌? हुन सक्छ, तिनी राजा भएकोले आफूले जे चाह्‍यो, त्यो गर्ने अधिकार छ भनेर सोचेका थिए। तर यहोवाको नजरमा त्यो गलत थियो। आफ्नो अधिकारमा नभएको कुरा गर्न खोज्दा यहोवाले तिनलाई कुष्ठरोगले प्रहार गर्नुभयो र त्यो “रोग जीवनभर निको भएन।” (२ इति. २६:१६-२१) उज्जियाहको उदाहरणबाट हामी के सिक्न सक्छौँ? हामी जोसुकै भए पनि बाइबलआधारित सल्लाह स्विकारेनौँ भने यहोवाको अनुमोदन गुमाउनेछौँ।

तिनीहरूले सल्लाह स्विकारे

८. सल्लाह पाउँदा अय्युबले कस्तो प्रतिक्रिया देखाए?

बाइबलमा सल्लाह नस्विकारेका व्यक्‍तिहरूको नराम्रो उदाहरण मात्र नभई सल्लाह स्विकारेर यहोवाको आशिष्‌ पाएका व्यक्‍तिहरूको राम्रो उदाहरण पनि पाइन्छ। अय्युबलाई विचार गरौँ। तिनी परमेश्‍वरको डर मान्‍ने व्यक्‍ति थिए। तर तिनी त्रुटिरहित भने थिएनन्‌। गाह्रो अवस्थामा पर्दा तिनले गलत विचारहरू व्यक्‍त गरे। त्यसैले तिनले एलिहु र यहोवाबाट स्पष्ट सल्लाह पाए। त्यतिबेला तिनले कस्तो प्रतिक्रिया देखाए? तिनले नम्र भई सल्लाह स्विकारे। तिनले यसो भने: “सोचविचार नगरी बोल्ने मै हुँ। . . . त्यसैले म आफूले बोलेको कुरा फिर्ता लिन्छु अनि धुलो र खरानीमा बसेर पश्‍चात्ताप गर्छु।” अय्युबले नम्रता देखाएकोले यहोवाले तिनलाई आशिष्‌ दिनुभयो।—अय्यु. ४२:३-६, १२-१७.

९. मोसाले सल्लाह स्विकार्ने सन्दर्भमा कस्तो उदाहरण बसाले?

गम्भीर गल्ती गरेपछि यहोवाको सुधार स्विकार्ने सन्दर्भमा मोसाले राम्रो उदाहरण बसालेका छन्‌। एक पटक मोसा रिसले चूर भएको बेला यहोवालाई महिमा दिनदेखि चुके। यसले गर्दा तिनले प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न पाएनन्‌। (गन्ती २०:१-१३) तिनले यहोवालाई उहाँको निर्णय चित्त नबुझेको कुरा बताए। तर यहोवाले तिनलाई यसो भन्‍नुभयो: “मसित यस विषयमा फेरि कुरा नगर।” (व्यव. ३:२३-२७) मोसाले मनमा रिस पालिराखेनन्‌। बरु यहोवाको निर्णयलाई स्विकारे अनि यहोवाले पनि इस्राएलीहरूलाई डोऱ्‍याउन तिनलाई प्रयोग गरिरहनुभयो। (व्यव. ४:१) सल्लाह स्विकार्ने सन्दर्भमा अय्युब र मोसा हामी सबैले अनुकरण गर्नुपर्ने राम्रो उदाहरण हुन्‌। अय्युबले कुनै बहाना नबनाई आफ्नो गलत सोचाइ सच्याए। त्यसैगरि मोसाले आफूले मोल गरेको सुअवसर गुमाउनुपर्दा पनि यहोवाप्रति वफादार रहेर उहाँको सल्लाह स्विकारेको देखाए।

१०. (क) हितोपदेश ४:१०-१३ अनुसार सल्लाह स्विकार्दा हामी कस्तो लाभ उठाउँछौँ? (ख) कसै-कसैले सल्लाह पाउँदा कस्तो प्रतिक्रिया देखाएका छन्‌?

१० अय्युब र मोसाजस्ता वफादार व्यक्‍तिहरूको राम्रो उदाहरण पछ्याउँदा हामी सबैले लाभ उठाउन सक्छौँ। (हितोपदेश ४:१०-१३ पढ्‌नुहोस्‌।) थुप्रै भाइबहिनीले त्यसै गरेका छन्‌। कङ्‌गोमा बस्ने भाइ इमानुएल यसो भन्छन्‌: “मण्डलीका परिपक्व भाइहरूले यहोवासितको मेरो सम्बन्ध खतरामा पर्न लागेको कुरा याद गर्नुभयो र मलाई मदत गर्नुभयो। मैले उहाँहरूको सल्लाह लागू गरेँ र त्यसले मलाई थुप्रै समस्याबाट जोगिन मदत गऱ्‍यो।” * त्यसैगरि क्यानाडामा अग्रगामीको रूपमा सेवा गर्ने बहिनी मेगन यसो भन्छिन्‌: “मैले पाएका कतिपय सल्लाहहरू मलाई चित्त बुझेको थिएन। तर ती सल्लाहहरू मेरो लागि साँच्चै आवश्‍यक थियो।” क्रोएसियाका भाइ मार्को यसो भन्छन्‌: “मैले मण्डलीमा पाइरहेको सुअवसर गुमाएँ। तर फर्केर हेर्दा मैले पाएको सल्लाहले मलाई यहोवासितको सम्बन्धलाई बलियो बनाउन मदत गरेको महसुस गर्छु।”

११. सल्लाह स्विकार्ने सन्दर्भमा भाइ कार्ल क्लाइनले के भन्‍नुभयो?

११ सल्लाह स्विकारेर लाभ उठाएका व्यक्‍तिहरूमध्ये एक जना भाइ कार्ल क्लाइन हुन्‌। उहाँले परिचालक निकायको सदस्यको रूपमा सेवा गर्नुभयो। उहाँले आफ्नो जीवनीमा भाइ जोसेफ एफ. रदरफोर्डले आफूलाई एकचोटि कडा सल्लाह दिएको कुरा बताउनुभयो। भाइ रदरफोर्डको सल्लाह आफूलाई चित्त नबुझेको कुरा उहाँले स्विकार्नुभयो। उहाँले यसो भन्‍नुभयो: “पछि [भाइ रदरफोर्डसित] भेट हुँदा उहाँले मलाई ‘हेलो कार्ल’ भन्‍नुभयो। तर मलाई चाहिँ चित्त दुखिरहेको थियो। त्यसैले उहाँलाई राम्ररी अभिवादन फर्काइनँ। उहाँले मलाई यसो भन्‍नुभयो: ‘भाइ कार्ल, होसियार रहनुहोस्‌! दियाबललाई मौका नदिनुहोस्‌ है!’ मैले अप्ठ्यारो मान्दै यसो भनेँ: ‘होइन, त्यस्तो केही पनि होइन भाइ रदरफोर्ड।’ तर उहाँलाई मेरो चित्त दुखेको कुरा थाह थियो। त्यसैले उहाँले मलाई फेरि पनि यसो भन्‍नुभयो: ‘होसियार रहनुहोस्‌! दियाबललाई मौका नदिनुहोस्‌ है!’ उहाँको कुरा एकदमै सही थियो! हामीलाई चाहिएकै सल्लाह दिने भाइप्रति मनमा रिस पालेर राख्छौँ भने . . . हामी सजिलै दियाबलको पासोमा फस्न सक्छौँ।” * (एफि. ४:२५-२७) भाइ क्लाइनले भाइ रदरफोर्डको सल्लाह स्विकार्नुभयो र त्यसपछि पनि उहाँहरू घनिष्ठ मित्र रहिरहनुभयो।

सल्लाह स्विकार्न हामीलाई केले मदत गर्न सक्छ?

१२. सल्लाह स्विकार्न नम्रताले हामीलाई कसरी मदत गर्न सक्छ? (भजन १४१:५)

१२ सल्लाह स्विकार्न हामीलाई केले मदत गर्न सक्छ? हामी त्रुटिपूर्ण छौँ र बेलाबेला मूर्ख निर्णयहरू गर्छौँ भनेर सम्झँदै नम्र हुनु आवश्‍यक छ। अगाडि उल्लेख गरिएझैँ अय्युबले गलत सोचाइ राखेका थिए। तर पछि तिनले आफ्नो सोचाइ सच्याए र यहोवाले तिनलाई आशिष्‌ दिनुभयो। किन? किनभने तिनले आफूभन्दा कान्छो एलिहुले दिएको सल्लाह स्विकारेर नम्रता देखाए। (अय्यु. ३२:६, ७) कहिलेकाहीँ हामीलाई आफूले सल्लाह पाउनुपर्ने त्यस्तो केही गरेको छैनँ जस्तो लाग्न सक्छ वा आफूभन्दा कान्छो व्यक्‍तिले हामीलाई सल्लाह दिन सक्छ। तर हामी नम्र छौँ भने त्यो सल्लाह लागू गर्नेछौँ। क्यानाडाका एक जना एल्डर यसो भन्छन्‌: “हामीले आफ्नो विषयमा याद नगरेका कुराहरू अरूले याद गरिरहेका हुन सक्छन्‌। कसैले सल्लाह दिएनन्‌ भने हामी कसरी उन्‍नति गर्न सक्छौँ र?” त्यसैले पवित्र शक्‍तिको फलका पक्षहरू खेती गर्न र सेवाको काम राम्ररी पूरा गर्न हामी सबैलाई सल्लाह चाहिन्छ।भजन १४१:५ पढ्‌नुहोस्‌।

१३. हामीले सल्लाहलाई केको रूपमा हेर्नुपर्छ?

१३ आफूले पाएको सल्लाहलाई परमेश्‍वरको प्रेमको अभिव्यक्‍तिको रूपमा हेर्नुहोस्‌। यहोवा सधैँ हाम्रो भलो चाहनुहुन्छ। (हितो. ४:२०-२२) उहाँले आफ्नो वचन, बाइबलआधारित प्रकाशन वा कुनै परिपक्व भाइबहिनीमार्फत सल्लाह दिनुहुँदा वास्तवमा हामीलाई प्रेम देखाइरहनुभएको हुन्छ। हिब्रू १२:९, १० अनुसार उहाँले “हाम्रै फाइदाको लागि” सल्लाह दिनुहुन्छ।

१४. सल्लाह पाउँदा हामीले केमा ध्यान दिनुपर्छ?

१४ सल्लाह दिइएको तरिकामा नभई कस्तो सल्लाह दिइयो भन्‍ने कुरामा ध्यान दिनुहोस्‌। कहिलेकाहीँ हामीलाई सल्लाह दिइएको तरिका चित्त नबुझ्न सक्छ। हुनत सल्लाह दिने व्यक्‍तिले पनि स्विकार्न सजिलो हुने तरिकामा सल्लाह दिनुपर्छ। * (गला. ६:१) तर हामीलाई सल्लाह दिइएको तरिका चित्त बुझेन भने पनि त्यसमा नभई कस्तो सल्लाह दिइयो भन्‍ने कुरामा ध्यान दिनुपर्छ। हामी आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौँ: ‘मलाई सल्लाह दिइएको तरिका चित्त नबुझे पनि त्यो सल्लाह दिनुपछाडि कुनै जायज कारण छ कि? सल्लाह दिने व्यक्‍तिको कमीकमजोरीमा ध्यान दिनुको साटो कुनै न कुनै तरिकामा सल्लाह लागू गर्न सक्छु कि?’ त्यसैले सल्लाहबाट कसरी लाभ उठाउन सक्छु भनेर ध्यान दिनु नै बुद्धिमानी हो!—हितो. १५:३१.

सल्लाह माग्नुहोस्‌ र लाभ उठाउनुहोस्‌

१५. हामीले किन सल्लाह माग्नुपर्छ?

१५ बाइबलले हामीलाई अरूसित सल्लाह माग्न आग्रह गर्छ। हितोपदेश १३:१० भन्छ: “बुद्धिमान्‌ मानिसले सरसल्लाह गर्छ।” यो कत्ति सही कुरा हो! अक्सर अरूसित सल्लाह नमाग्ने व्यक्‍तिभन्दा सल्लाह माग्ने व्यक्‍तिले छिटोछिटो आध्यात्मिक प्रगति गर्छ। त्यसैले अरूसित सल्लाह माग्न अग्रसर हुनुहोस्‌।

जवान बहिनीले किन परिपक्व दिदीसित सल्लाह माग्छिन्‌? (अनुच्छेद १६ हेर्नुहोस्‌)

१६. हामी कस्ता विषयहरूमा सल्लाह माग्न सक्छौँ?

१६ हामी कस्ता विषयहरूमा भाइबहिनीसित सल्लाह माग्न सक्छौँ? केही अवस्था विचार गर्नुहोस्‌: (१) एक जना बहिनी अनुभवी प्रकाशकलाई आफ्नो अध्ययनमा लग्छिन्‌ र कसरी अझ राम्ररी सिकाउन सकिन्छ भनेर तिनीसित सल्लाह माग्छिन्‌। (२) एक जना बहिनी आफ्नो लागि केही लुगा किन्‍न चाहन्छिन्‌। तर त्यो लुगा ठीक छ कि छैन भनेर तिनी एक जना परिपक्व दिदीलाई सोध्छिन्‌। (३) एक जना भाइ पहिलो पटक जनभाषण दिँदै छन्‌। तिनी एक जना अनुभवी वक्‍तालाई आफ्नो भाषण सुनिदिन र कुन-कुन पक्षमा उन्‍नति गर्नुपर्छ भनेर सल्लाह दिन अनुरोध गर्छन्‌। वर्षौँदेखि भाषण दिइरहेका भाइले पनि अनुभवी वक्‍ताहरूसित सल्लाह माग्न सक्छन्‌ र तिनीहरूले दिएको सल्लाह लागू गरेर लाभ उठाउन सक्छन्‌।

१७. सल्लाहबाट हामी कसरी लाभ उठाउन सक्छौँ?

१७ आउँदा हप्ताहरू वा महिनाहरूमा हामी सबैले सल्लाह पाउनेछौँ, चाहे त्यो प्रत्यक्ष होस्‌ वा अप्रत्यक्ष। त्यतिबेला हामीले भर्खरै छलफल गरेका बुँदाहरू मनमा राख्नुहोस्‌। नम्र हुनुहोस्‌। सल्लाह दिइएको तरिकामा नभई कस्तो सल्लाह दिइयो भन्‍ने कुरामा ध्यान दिनुहोस्‌। आफूले पाएको सल्लाह लागू गर्नुहोस्‌। हामीमध्ये कोही पनि जन्मँदै बुद्धिमान्‌ हुँदैनौँ। तर ‘सल्लाह सुन्यौँ र अनुशासन स्विकाऱ्‍यौँ’ भने हामी “बुद्धिमान्‌” हुनेछौँ।—हितो. १९:२०.

गीत १२४ सधैँ वफादार रहौँ!

^ अनु. 5 बाइबलआधारित सल्लाह सुन्‍नु र त्यो लागू गर्नु कत्ति महत्त्वपूर्ण छ भन्‍ने कुरा यहोवाका जनहरूलाई थाह छ। तर अर्कोतर्फ सल्लाह स्विकार्न सधैँ सजिलो हुँदैन। किन? अनि आफूले पाएको सल्लाहबाट लाभ उठाउन हामी के गर्न सक्छौँ?

^ अनु. 10 केही नाम परिवर्तन गरिएका छन्‌।

^ अनु. 11 अक्टोबर १, १९८४ को प्रहरीधरहरा-को (अङ्‌ग्रेजी) पृष्ठ २१-२८ हेर्नुहोस्‌।

^ अनु. 14 सल्लाह दिने व्यक्‍तिले कसरी कौशलता देखाउन सक्छन्‌ भनेर अर्को लेखमा छलफल गर्नेछौँ।