सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनी

मैले डाक्टरी पेसाभन्दा राम्रो कुरा भेट्टाएँ

मैले डाक्टरी पेसाभन्दा राम्रो कुरा भेट्टाएँ

सन्‌ १९७१ मा डाक्टरी पेसा सुरु गर्दै गर्दा मैले पहिलो क्लिनिक खोलेको थिएँ। एकचोटि त्यहाँ दुई जना बिरामी जचाउन आए। तिनीहरूको कुरा सुनेपछि उत्साहित हुँदै मैले यसो भनेँ: “तपाईँहरूले भन्‍नुभएको कुरा मेरो सानैदेखिको सपना थियो।” ती बिरामीहरू को थिए र मेरो सानैदेखिको सपना के थियो? तिनीहरूसित कुराकानी गरेपछि मेरो जीवनले कसरी नयाँ मोड लियो र मेरो सानैदेखिको सपना पूरा हुनेछ भनेर म किन पक्का हुन सकेँ? अब म तपाईँहरूलाई बताउँछु।

मेरो जन्म १९४१ मा फ्रान्सको पेरिसमा एउटा साधारण परिवारमा भयो। सानो छँदा मलाई किताब पढ्‌न धेरै मन पर्थ्यो। तर दस वर्षको छँदा मलाई क्षयरोग लाग्यो र म स्कुल जान सकिनँ। त्यतिबेला म निकै निराश भएको थिएँ। मेरो फोक्सो कमजोर भएकोले डाक्टरले मलाई आराम गर्न सल्लाह दिनुभयो। त्यतिबेला म शब्दकोश पढेर अनि पेरिस विश्‍वविद्यालयले रेडियो सर्बोनमार्फत प्रसारण गर्ने कार्यक्रमहरू सुनेर समय बिताउँथेँ। एक दिन डाक्टरले मलाई ‘तिमी निको भयौ, अब स्कुल जान सक्छौ’ भनेर बताउनुभयो। त्यतिबेला म निकै खुसी भएको थिएँ। मैले सोचेँ: “डाक्टरहरू त गजबका मानिसहरू रहेछन्‌!” त्यहाँदेखि मैले बिरामीहरूलाई निको पार्ने सपना देख्न थालेँ। बुबाले मलाई ‘तिमी भविष्यमा के बन्‍न चाहन्छौ?’ भनेर सोध्नुहुँदा म सधैँ यस्तो जवाफ दिने गर्थेँ: “डाक्टर बन्‍न चाहन्छु।” यसरी डाक्टरी पेसाप्रति मेरो मोह बढ्‌न थाल्यो।

विज्ञानले मलाई परमेश्‍वरको नजिक हुन मदत गऱ्‍यो

हामी क्याथोलिक धर्म मान्थ्यौँ। तर मलाई परमेश्‍वरबारे धेरै कुरा थाह थिएन। मेरो मनमा धेरै प्रश्‍न थिए, जसको जवाफ मैले पाउन सकेको थिइनँ। तर विश्‍वविद्यालयमा चिकित्साविज्ञान अध्ययन गर्दै जाँदा जीवनको सुरुवात गर्ने कोही हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त भएँ।

मैले पहिलो चोटि माइक्रोस्कोपबाट वनस्पति कोष हेरेको अझै पनि याद छ। कोषभित्रका तत्त्वहरूले तातो र चिसोप्रति कस्तो प्रतिक्रिया देखाउँछन्‌ भनेर देख्दा म छक्क परेको थिएँ। कोषभित्रको तरल पदार्थमा (साइटोप्लाजम्‌) नुन हाल्दा त्यो खुम्चिन्छ र त्यसमा पानी हाल्दा त्यो फैलिन्छ। यी र यस्तै किसिमका अरू विशेषताहरूले गर्दा स-साना जीवहरूले वरिपरिको वातावरणअनुसार आफूलाई ढाल्न सक्छन्‌। प्रत्येक कोष यसरी एकदमै जटिल तरिकाले बनेको देख्दा जीवनको सुरुवात संयोगले भएको होइन भन्‍ने कुरा मैले बुझ्न सकेँ।

चिकित्साविज्ञानको दोस्रो वर्षको अध्ययनको क्रममा मैले परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुराको थप प्रमाण पाउन सकेँ। मानव शरीरसम्बन्धी कक्षामा हामीले हातका औँलाहरू कसरी खुम्चिन र तन्किन सक्छन्‌ भन्‍ने कुराको अध्ययन गऱ्‍यौँ। मांसपेशी, लिगामेन्टहरू र टेन्डनहरूले आपसमा मिलेर गर्ने काम इन्जिनियरिङकै उत्कृष्ट नमुना हो। उदाहरणको लागि, हातका मांसपेशीहरूलाई टेन्डनहरूले औँलाको बीचको हड्डी र औँलाको टुप्पोसँग जोड्‌ने काम गर्छ। यसले गर्दा औँलाहरू ठीक-ठीक ठाउँमा रहन्छन्‌। साथै बलिया तन्तुहरूले टेन्डनहरूलाई औँलाका हड्डीहरूसँग जोड्‌ने काम गर्छ। यस्तो संरचना नभएको भए ती टेन्डनहरू धनुषको कक्रक्क परेको डोरीजस्तै हुन्थे अनि औँलाहरू खुम्चिन र तन्किन सक्दैनथे। यी कुराहरू विचार गर्दा मानव शरीरको डिजाइन गर्ने एक जना बुद्धिमान्‌ व्यक्‍ति हुनुहुन्छ भन्‍ने कुरामा म पक्का भएँ।

बच्चा जन्मिने प्रक्रियाको अध्ययन गर्दा सृष्टिकर्ताप्रति मेरो आदर झन्‌ बढ्‌न थाल्यो। आमाको पेटमा हुँदा बच्चाले सालनालमार्फत आमाबाटै अक्सिजन पाइरहेको हुन्छ। त्यतिबेला बच्चाको फोक्सोभित्र स-साना बेलुनजस्ता देखिने हावाका थैलीहरू (एल्भिओली) फुकेका हुँदैनन्‌। तर बच्चा जन्मिने समय नजिकिँदै जाँदा ती हावाका थैलीहरूभित्र एक किसिमको झोल पदार्थ भरिन्छ। त्यसपछि बच्चा जन्मिएर बच्चाले पहिलो पटक सास लिने बेलासम्म केही अचम्मलाग्दो प्रक्रियाहरू हुन्छ। बच्चाको मुटुको प्वाल बन्द हुन्छ, जसले गर्दा रगत फोक्सोभित्र बग्न थाल्छ। त्यतिबेला हावाका थैलीहरूभित्र रहेको झोल पदार्थले ती थैलीहरूलाई एकआपसमा टाँसिन दिँदैन, जसले गर्दा ती थैलीहरूभित्र छिटोछिटो अक्सिजन भरिन थाल्छ। यसरी आमाबाटै अक्सिजन लिइरहेको बच्चाले जन्मिनेबित्तिकै पहिलो पटक आफैले सास फेर्न थाल्छ।

यस्तो अचम्मलाग्दो कामहरू गर्ने सृष्टिकर्तालाई म चिन्‍न चाहन्थेँ। त्यसैले मैले गहिरिएर बाइबल पढ्‌न थालेँ। बाइबलमा परमेश्‍वरले ३ हजार वर्षअघि इस्राएल राष्ट्रलाई दिनुभएको स्वास्थ्यसम्बन्धी नियमहरूबाट म निकै प्रभावित भएँ। परमेश्‍वरले इस्राएलीहरूलाई आफ्नो दिसा जमिनमा पुर्न, नियमित रूपमा नुहाइधुवाइ गर्न र कसैलाई सङ्‌क्रामक रोगको लक्षण देखा पर्दा तिनलाई अलग्गै रहन निर्देशन दिनुभएको थियो। यसरी बाइबलमा सङ्‌क्रामक रोग कसरी फैलिन्छ भन्‍ने कुरा पहिले नै बताइएको थियो, जुन कुरा वैज्ञानिकहरूले हालसालै पत्ता लगाएका छन्‌। (लेवी १३:५०; १५:११; व्यव. २३:१३) साथै लेवीको पुस्तकमा यौनसम्बन्धी परमेश्‍वरले दिनुभएका आज्ञाहरूले गर्दा इस्राएलीहरू धेरै रोगबाट जोगिन सकेको कुरा पनि मैले बुझेँ। (लेवी १२:१-६; १५:१६-२४) यसरी परमेश्‍वरले नै इस्राएलीहरूको हितको लागि ती आज्ञाहरू दिनुभएको हो र उहाँले ती आज्ञा पालन गर्नेहरूलाई आशिष्‌ पनि दिनुभयो भनेर बुझेँ। साथै बाइबल परमेश्‍वरबाट प्रेरित किताब हो भन्‍ने कुरामा म विश्‍वस्त हुन सकेँ। तर त्यतिबेलासम्म मलाई परमेश्‍वरको नाम थाह थिएन।

मैले लिडी र यहोवालाई कसरी भेटेँ?

हाम्रो विवाहको दिनमा लिडी र म, अप्रिल ३, १९६५

डाक्टरी पढ्‌दै गर्दा मैले लिडी नामकी एक जना केटी भेटेँ र उनीसित मेरो मायाप्रीती बस्यो। सन्‌ १९६५ मा हामीले विवाह गऱ्‍यौँ। त्यतिबेला मेरो पढाइ बीचमा पुगेको थियो। सन्‌ १९७१ सम्ममा हाम्रा ६ जनामध्ये ३ जना छोराछोरी भइसकेका थिए। लिडीले मलाई मेरो काममा अनि परिवारको हेरचाह गर्न निकै मदत गर्छिन्‌।

अस्पतालमा तीन वर्ष काम गरेपछि मैले आफ्नै क्लिनिक खोलेँ। त्यसको केही समयपछि नै मैले सुरुमा बताएझैँ दुई जना बिरामी मकहाँ जचाउन आए। मैले औषधी लेख्नै लाग्दा तिनकी पत्नीले यसो भनिन्‌: “डाक्टर साब, हामीलाई रगत मिसिएको औषधी नदिनुहोला।” छक्क पर्दै मैले सोधेँ: “किन र?” तिनले जवाफ दिइन्‌: “हामी यहोवाका साक्षी हौँ।” त्यतिबेलासम्म मलाई यहोवाका साक्षीहरू वा रगतको विषयमा तिनीहरूको धारणाबारे केही थाह थिएन। त्यसपछि तिनले रगत नलिनुको कारण बाइबल खोलेर देखाइन्‌। (प्रेषि. १५:२८, २९) साथै तिनीहरूले परमेश्‍वरको राज्यले के-के गर्नेछ र यसले कसरी दुःखकष्ट, रोगबिमार र मृत्यु नामेट पार्नेछ भन्‍ने कुरा पनि बताए। (प्रका. २१:३, ४) यो कुरा सुनेपछि छक्क पर्दै मैले तिनीहरूलाई यसो भनेँ: “तपाईँहरूले भन्‍नुभएको कुरा मेरो सानैदेखिको सपना थियो। म बिरामीहरूलाई निको पार्नको लागि नै डाक्टर बनेको हुँ।” मलाई धेरै चासो लागेको हुनाले मैले तिनीहरूसित डेढ घण्टा छलफल गरेँ। तिनीहरू निस्कने बेलासम्म मैले चिन्‍न खोजिरहेको परमेश्‍वरको नाम यहोवा हो भनेर थाह पाएँ। अनि अबदेखि म क्याथोलिक धर्म मान्दिनँ भनेर मनमनै सोचिसकेको थिएँ।

मैले त्यस दम्पतीलाई क्लिनिकमा तीन चोटि भेटेँ र हरेक चोटि हामी एक घण्टाभन्दा धेरै समय छलफल गर्थ्यौँ। बाइबलको विषयमा अझ धेरै छलफल गर्न मैले तिनीहरूलाई घरमा बोलाएँ। लिडी पनि अध्ययनमा बस्न राजी त भइन्‌। तर क्याथोलिक धर्मले सिकाउने कतिपय शिक्षाहरू गलत हुन्‌ भनेर स्विकारिनन्‌। त्यसैले हामीले हाम्रै चर्चको एक जना पादरीलाई घरमा बोलायौँ। हामीले उनीसित बाइबलबाटै राती अबेरसम्म छलफल गऱ्‍यौँ। पादरीसित छलफल गरिसकेपछि यहोवाका साक्षीहरूले सिकाइरहेको कुरा नै सत्य हो भन्‍ने कुरामा लिडी विश्‍वस्त हुन सकिन्‌। त्यसपछि यहोवाप्रतिको हाम्रो प्रेम झन्‌ बढ्‌न थाल्यो र हामी दुवैले १९७४ मा बप्तिस्मा गऱ्‍यौँ।

यहोवालाई पहिलो स्थानमा राख्दै

मानवजातिको लागि परमेश्‍वरको उद्देश्‍यबारे थाह पाएपछि मेरो जीवनको प्राथमिकता पनि परिवर्तन भयो। हामी दुवैले यहोवाको सेवालाई जीवनको मुख्य लक्ष्य बनायौँ। हामी छोराछोरीलाई बाइबलको स्तरअनुरूप हुर्काउन चाहन्थ्यौँ। त्यसैले हामीले तिनीहरूलाई परमेश्‍वर र छिमेकीलाई प्रेम गर्न सिकायौँ। त्यसले गर्दा हाम्रो पारिवारिक बन्धन अझ मजबुत भयो।—मत्ति २२:३७-३९.

हामीले छोराछोरीलाई बाइबलको शिक्षाअनुसार हुर्काउन निकै मेहनत गऱ्‍यौँ। त्यस्तै एउटा घटना सम्झँदा हामीलाई अहिले पनि हाँस उठ्‌छ। हाम्रो घरमा “‘हुन्छ’ भने ‘हुन्छ’ र ‘हुँदैन’ भने ‘हुँदैन’” भन्‍ने येसुको निर्देशन लागू हुन्छ भन्‍ने कुरा छोराछोरीलाई थाह थियो। (मत्ति ५:३७) एकचोटि लिडीले हाम्रो १७ वर्षीय छोरीलाई तिनका साथीहरूसित बाहिर जान दिइनन्‌। त्यतिबेला तिनका साथीहरूमध्ये कसैले छोरीलाई यसो भने: “आमाले जान दिनुभएन भने बुबालाई सोध न!” तर छोरीले यस्तो जवाफ दिइन्‌: “सोधेर केही फाइदा छैन। उहाँहरू दुवै जनाको निर्णय एउटै हुन्छ।” बाइबल सिद्धान्त लागू गर्ने सम्बन्धमा हामी दुवै जनाको सोचाइ एउटै छ भन्‍ने कुरा छोराछोरीले देख्न सके। फलस्वरूप आज हाम्रो ठूलो परिवारका धेरैजसो सदस्यले यहोवाको सेवा गरिरहेका छन्‌।

सत्यले गर्दा मेरो जीवनका प्राथमिकताहरू परिवर्तन भए तापनि मचाहिँ डाक्टरी ज्ञानको सदुपयोग गर्दै परमेश्‍वरका जनहरूलाई मदत गर्न चाहन्थेँ। त्यसैले मैले डाक्टरको रूपमा पेरिसको बेथेल र लुभर्सको नयाँ बेथेलमा पनि सेवा गरेँ। घरबाटै आवतजावत गर्दै बेथेलमा सेवा गर्न थालेको अहिले झन्डै ५० वर्ष पुग्न लागेको छ। वर्षौँको दौडान मैले बेथेलमा थुप्रै साथी बनाउन सकेको छु। तिनीहरूमध्ये कसै-कसैको उमेर ९० वर्ष कटिसकेको छ। एकचोटि एक जना नयाँ बेथेल स्वयंसेवकलाई भेट्‌न पाउँदा म छक्कै परेँ। कारण? बीस वर्षअघि तिनको जन्म हुँदा तिनकी आमालाई मदत गर्ने डाक्टर म नै थिएँ!

यहोवाले आफ्ना जनहरूको साँच्चै ख्याल राख्नुहुन्छ!

यहोवाले आफ्नो सङ्‌गठनलाई चलाएर आफ्ना जनहरूलाई डोऱ्‍याउनुहुन्छ र तिनीहरूको सुरक्षा गर्नुहुन्छ भन्‍ने कुरा मैले वर्षौँको दौडान याद गरेको छु। त्यसले गर्दा यहोवाप्रतिको मेरो प्रेम झन्‌ बढेको छ। सन्‌ १९८० तिर यहोवाका साक्षीहरू र डाक्टरहरूबीच राम्रो समन्वय कायम राख्नको लागि परिचालक निकायले अमेरिकामा एउटा प्रबन्धको सुरुवात गऱ्‍यो।

सन्‌ १९८८ मा परिचालक निकायले बेथेलमा अस्पताल सूचना सेवा भन्‍ने नयाँ विभाग खडा गऱ्‍यो। सुरु-सुरुमा यसले अमेरिकामा स्थापना भएका अस्पताल सम्पर्क समितिहरूको सुपरिवेक्षण गर्थ्यो, जुन समितिहरूले बिरामी साक्षीहरूलाई उपयुक्‍त स्वास्थ्य उपचार उपलब्ध गराउन इच्छुक अस्पतालहरू र डाक्टरहरू खोज्न मदत गर्थे। यो प्रबन्ध विश्‍वभरि फैलिँदै जाँदा फ्रान्समा पनि अस्पताल सम्पर्क समितिहरू स्थापना भए। यहोवाको सङ्‌गठनले बिरामी भाइबहिनीलाई आवश्‍यक मदत गर्न यत्तिको प्रयास गरिरहेको देख्दा मलाई अचम्म लाग्छ।

मेरो सपना पूरा भयो

हामीलाई राज्यको सुसमाचार सुनाउन अहिले पनि खुबै रमाइलो लाग्छ

डाक्टरी पेसालाई म निकै माया गर्थेँ। तर जीवनका प्राथमिकताहरू केलाउँदा मैले के थाह पाएँ भने मानिसहरूलाई आध्यात्मिक तवरमा निको पार्नु अर्थात्‌ जीवनको स्रोत यहोवालाई चिन्‍न र उहाँको सेवा गर्न मदत दिनु नै सबैभन्दा ठूलो काम रहेछ। जागिरबाट अवकाश पाएपछि लिडी र मैले नियमित अग्रगामीको रूपमा परमेश्‍वरको राज्यको सुसमाचार सुनाउने काममा हरेक महिना धेरै घण्टा बितायौँ। अहिले पनि हामी मानिसहरूको जीवन बचाउने काममा सक्दो भाग लिइरहेका छौँ।

लिडीसँग, २०२१

म अहिले पनि बिरामीहरूलाई सक्दो मदत गर्दै छु। तर मलाई थाह छ, सबैभन्दा राम्रो डाक्टरले पनि सबै रोगबिमार निको पार्न वा मृत्युबाट मानिसहरूलाई जोगाउन सक्दैन। त्यसैले दुःख, पीडा, रोगबिमार र मृत्यु नहुने दिनको म प्रतीक्षा गर्दै छु। नयाँ संसार एकदमै नजिक छ। त्यतिबेला यहोवाले अचम्मलाग्दो तरिकामा बनाउनुभएको मानव शरीरको साथै उहाँको सृष्टिबारे मैले सधैँभरि सिकिरहन पाउनेछु। हुनत मेरो सानैदेखिको सपना केही हदसम्म पूरा भएको छ। तर म विश्‍वस्त छु, मेरो सपना पूर्ण रूपमा पूरा हुने समय नजिकै छ!