अध्ययन लेख ८
“सचेत रहो, जागा बस!”
“सचेत रहो, जागा बस!”—१ पत्रु. ५:८.
गीत १४४ इनाममा दृष्टि राखौँ!
परिचय a
१. येसुले चेलाहरूलाई अन्तको दिनको समयबारे के बताउनुभयो र कस्तो चेतावनी दिनुभयो?
येसुको मृत्युको केही दिनअघि चार जना चेलाले उहाँलाई यस्तो प्रश्न सोधे: “यस युगको आखिरी समयको चिन्ह के हुनेछ?” (मत्ति २४:३) सायद ती चेलाहरू यरुसलेम र यसको मन्दिरको विनाश नजिकै भएको कसरी थाह पाउने भनेर जान्न चाहन्थे। येसुले तिनीहरूलाई यरुसलेम र यसको मन्दिरको विनाशबारे मात्र नभई “यस युगको आखिरी समय”-बारे पनि बताउनुभयो। यस युगको अन्त हुने समयबारे येसुले यसो भन्नुभयो: “त्यस दिन वा समयको विषयमा कसैले जान्दैन, न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र जान्नुहुन्छ।” त्यसपछि उहाँले आफ्ना सबै चेलालाई ‘जागा रहन’ चेतावनी दिनुभयो।—मर्कु. १३:३२-३७.
२. प्रथम शताब्दीका ख्रिष्टियनहरू किन जागा रहनुपर्थ्यो?
२ प्रथम शताब्दीका यहुदी ख्रिष्टियनहरू आफ्नो ज्यान बचाउन जागा रहनुपर्थ्यो। येसुले आफ्ना अनुयायीहरूलाई यरुसलेम र यसको मन्दिरको विनाश नजिकै भएको कसरी थाह पाउने भनेर बताउनुभयो। उहाँले यसो भन्नुभयो: “जब तिमीहरूले यरुसलेमलाई सैनिकहरूले घेरेको देखौला, तब त्यसको विनाश नजिकै आएछ भनेर बुझ।” यो घटना भएको देखेपछि तिनीहरू येसुको चेतावनीअनुसारै ‘डाँडाहरूतिर भाग्न थाल्नुपर्थ्यो।’ (लुका २१:२०, २१) रोमीहरूले यरुसलेम विनाश गर्दा उहाँको चेतावनीअनुसार चल्नेहरूले आफ्नो ज्यान बचाउन सके।
३. यस लेखमा हामी के छलफल गर्नेछौँ?
३ अहिले हामी यस दुष्ट युगको अन्त हुनै लागेको समयमा बाँचिरहेका छौँ। त्यसैले हामी पनि सचेत र जागा रहनुपर्छ। यस लेखमा संसारमा भइरहेका घटनाहरूप्रति हामी कसरी सन्तुलित दृष्टिकोण राख्न सक्छौँ, कसरी आफ्नो विषयमा होसियार रहन सक्छौँ र बाँकी रहेको समयको कसरी पूर्ण सदुपयोग गर्न सक्छौँ भनेर बुझ्नेछौँ।
संसारका घटनाहरूप्रति सन्तुलित दृष्टिकोण राख्नुहोस्
४. संसारमा भइरहेका घटनाहरूले बाइबलको भविष्यवाणी पूरा गर्दै छ भन्ने कुरामा हामी किन चासो राख्छौँ?
४ संसारमा भइरहेका घटनाहरूले कसरी बाइबलको भविष्यवाणी पूरा गर्दै छ भन्ने कुरामा हामी चासो राख्छौँ। किन? यसका थुप्रै कारण छन्। जस्तै, येसुले यस दुष्ट युगको अन्त नजिकै छ भनेर थाह पाउन मदत दिने केही खास घटनाबारे बताउनुभयो। (मत्ति २४:३-१४) प्रेषित पत्रुसले हामीलाई आफ्नो विश्वास बलियो बनाइराख्न भविष्यवाणीहरूको पूर्तिमा ध्यान दिन प्रोत्साहन दिए। (२ पत्रु. १:१९-२१) बाइबलको अन्तिम किताबको सुरुकै पदमा यस्तो लेखिएको छ: “येसु ख्रिष्टबाट भएको प्रकाश, जो छिट्टै हुन लागेका कुराहरू आफ्ना दासहरूलाई प्रकट गर्न परमेश्वरले उहाँलाई दिनुभयो।” (प्रका. १:१) त्यसैले हामी संसारमा भइरहेका घटनाहरू र ती घटनाहरूले कसरी बाइबलको भविष्यवाणी पूरा गरिरहेको छ भन्ने कुरामा गहिरो चासो राख्छौँ। अनि हामी एकअर्कासित ती घटनाहरूबारे कुराकानी पनि गर्छौँ होला।
५. हामीले के गर्नु हुँदैन र के गर्नुपर्छ? (तस्बिरहरू पनि हेर्नुहोस्।)
५ बाइबलको भविष्यवाणीको पूर्तिबारे कुराकानी गर्दा हामीले अनुमान लगाउनु हुँदैन। किन? किनकि हामी मण्डलीमा फूट गराउने कुनै पनि कुरा भन्न चाहँदैनौँ। जस्तै, संसारका नेताहरूले कुनै खास समस्या समाधान गरेर शान्ति र सुरक्षा ल्याउने दाबी गरेको हामी सुन्छौँ होला। यस्ता अभिव्यक्तिहरूले १ थिस्सलोनिकी ५:३ मा गरिएको भविष्यवाणी पूरा गर्दै छ भनेर अनुमान लगाउनुको सट्टा हामीले हालै प्रकाशित भएका जानकारीहरूमा ध्यान दिनुपर्छ। हाम्रो कुराकानी सङ्गठनले प्रकाशित गरेका प्रकाशनहरूमा आधारित छ भने मण्डलीका सबै भाइबहिनीको “विचार एउटै” हुन्छ र मण्डलीको एकता पनि कायम रहन्छ।—१ कोरि. १:१०; ४:६.
६. दोस्रो पत्रुस ३:११-१३ बाट कस्तो पाठ सिक्न सक्छौँ?
६ दोस्रो पत्रुस ३:११-१३ पढ्नुहोस्। प्रेषित पत्रुसका शब्दहरूले हामीलाई बाइबल भविष्यवाणीको पूर्तिबारे विचार गर्दा सन्तुलित हुन मदत गर्छ। तिनले हामीलाई ‘यहोवा परमेश्वरको दिनको उपस्थितिलाई मनमा राख्न’ आग्रह गरेका छन्। किन? आरमागेडोन आउने “दिन र समय” पत्ता लगाउन त होइन बरु बाँकी रहेको समयको सदुपयोग गर्दै “पवित्र आचरण भएका र परमेश्वरप्रतिको भक्ति प्रकट हुने कामहरू गर्ने मानिस” बन्न तिनले प्रोत्साहन दिइरहेका थिए। (मत्ति २४:३६; लुका १२:४०) अर्को शब्दमा भन्नुपर्दा, हामी असल आचरण कायम गर्न चाहन्छौँ र यहोवाप्रतिको गहिरो प्रेमले उत्प्रेरित भएर उहाँको सेवा गर्न चाहन्छौँ। यसो गर्न हामी आफ्नो विषयमा होसियार रहनुपर्छ।
आफ्नो विषयमा होसियार रहनुको अर्थ के हो?
७. हामी आफ्नो विषयमा होसियार रहेको कसरी देखाउन सक्छौँ? (लुका २१:३४)
७ येसुले आफ्ना चेलाहरूलाई संसारका घटनाहरूमा ध्यान दिन मात्र होइन, आफ्नो विषयमा होसियार रहन पनि सल्लाह दिनुभयो। लुका २१:३४ मा उहाँले दिनुभएको चेतावनीले यो कुरा प्रस्ट पार्छ। (पढ्नुहोस्।) उहाँले यसो भन्नुभएको थियो: “आफ्नो विषयमा होसियार बस।” आफ्नो विषयमा होसियार रहने व्यक्ति यहोवासितको आफ्नो सम्बन्ध बिगार्न सक्ने जुनसुकै खतराप्रति सचेत रहन्छन् र त्यस्ता खतराहरूदेखि जोगिन कदम चाल्छन्। यसरी तिनले आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइरहन्छन्।—हितो. २२:३; यहु. २०, २१.
८. प्रेषित पावलले ख्रिष्टियनहरूलाई कस्तो सल्लाह दिए?
८ प्रेषित पावलले ख्रिष्टियनहरूलाई आफ्नो विषयमा होसियार रहन सल्लाह दिए। उदाहरणको लागि, तिनले एफिससका ख्रिष्टियनहरूलाई यसो भने: “कसरी हिँडिरहेका छौ, होसियार भई ध्यान देओ, तिमीहरू निर्बुद्धि मानिस जस्तोगरि होइन तर बुद्धिमान् मानिस जस्तोगरि हिँड।” (एफि. ५:१५, १६) सैतान यहोवासितको हाम्रो सम्बन्ध बिगार्न लागिपरेको छ। त्यसैले बाइबलले हामीलाई “यहोवा परमेश्वरको इच्छा के हो, सो बुझिरहो” भनेर सल्लाह दिन्छ। (एफि. ५:१७) यसो गर्दा हामी सैतानका आक्रमणहरूदेखि जोगिन सक्छौँ।
९. हामी कसरी यहोवाको इच्छा बुझ्न सक्छौँ?
९ यहोवासितको हाम्रो सम्बन्ध बिगार्न सक्ने एउटा-एउटा खतराबारे बाइबलमा तोकेरै बताइएको छैन। हामीले बाइबलमा तोकेरै नबताइएका विषयहरूमा अक्सर निर्णय गर्नुपर्ने हुन्छ। बुद्धिमानी छनौट गर्न हामीले “यहोवा परमेश्वरको इच्छा” बुझ्नुपर्छ। यसको लागि दिनहुँ बाइबल अध्ययन गर्नुपर्छ र त्यसमा मनन गर्नुपर्छ। हामी जत्ति धेरै यहोवाको इच्छा बुझ्दै जान्छौँ र “ख्रिष्टको सोचाइ” विकास गर्दै जान्छौँ, त्यत्ति नै हामी “बुद्धिमान् मानिस जस्तोगरि” हिँड्न सक्नेछौँ, बाइबलमा तोकेरै कुनै नियम नदिइएको अवस्थामा समेत। (१ कोरि. २:१४-१६) केही खतरा सजिलै चिन्न सकिन्छ भने केहीचाहिँ झट्टै चिन्न गाह्रो हुन्छ।
१०. हामी जोगिनुपर्ने केही खतरा के-के हुन्?
१० हामी जोगिनुपर्ने खतराहरूमा अचाक्ली खानु र पिउनु, विपरीत लिङ्गको व्यक्तिसित गलत मनसायले जिस्किनु, अरूको चित्त दुख्ने बोली बोल्नु, हिंसात्मक मनोरञ्जन र अश्लील सामग्री हेर्नुजस्ता कुराहरू समावेश छन्। (भज. १०१:३) हाम्रो शत्रु सैतान यहोवासितको हाम्रो मित्रता बिगार्न लागिपरेको छ। (१ पत्रु. ५:८) हामी सचेत रहेनौँ भने सैतानले हाम्रो मन र दिमागमा ईर्ष्या, बेइमानी, लोभ, घृणा, अहङ्कार र इबीजस्ता दुर्गुणहरूको बिउ रोपिदिन सक्छ। (गला. ५:१९-२१) सुरुमा त हामीलाई यस्ता दुर्गुणहरू खासै हानिकारक छैनन् जस्तो लाग्न सक्छ। तर यस्ता दुर्गुणहरूलाई आफ्नो मनबाट उखेल्न तुरुन्तै कदम चालेनौँ भने ती दुर्गुणहरू विषालु झारजस्तै मौलाउन सक्छ र खतरा निम्त्याउन सक्छ।—याकु. १:१४, १५.
११. झट्टै चिन्न गाह्रो हुने एउटा खतरा के हो र किन?
११ झट्टै चिन्न गाह्रो हुने एउटा खतरा खराब सङ्गत हो। एउटा अवस्था विचार गरौँ। मानौँ, तपाईँ अफिसमा बेग्लै आस्था राख्ने व्यक्तिसँगै काम गर्नुहुन्छ। तपाईँ तिनले यहोवाका साक्षीहरू राम्रा मानिसहरू हुन् भनेर थाह पाएको चाहनुहुन्छ। त्यसैले तिनलाई दयालु व्यवहार गर्नुहुन्छ र चाहिएको बेला मदत गर्नुहुन्छ। तपाईँ कहिलेकाहीँ अफिसमा तिनीसँगै खाना खानुहुन्छ। हुँदाहुँदै तपाईँ सधैँजसो नै तिनीसित खाना खान थाल्नुहुन्छ। कुराकानीको दौडान कहिलेकाहीँ छाडा विषयहरू पनि निस्कन्छन्। सुरुमा त तपाईँ त्यस्ता कुराहरूलाई पन्छाउन खोज्नुहुन्छ। तर समय बित्दै जाँदा तपाईँलाई त्यस्तो कुराकानी सामान्य लाग्न थाल्छ। एकदिन ती सहकर्मीले कामपछि कतै रक्सी खान जाऔँ भन्दा तपाईँ मान्नुहुन्छ। बिस्तारै तपाईँको सोचाइ तिनको जस्तै हुन थाल्छ। त्यसपछि त तपाईँको व्यवहार पनि तिनको जस्तै हुन कत्तिबेर पनि लाग्दैन! हुनत हामी सबैसित दयालु र आदरपूर्ण व्यवहार गर्न चाहन्छौँ। तर हामी जोसित सङ्गत गर्छौँ, तिनीहरूले हामीमा गहिरो प्रभाव पार्न सक्छ भन्ने कुरा सधैँ मनमा राख्नुपर्छ। (१ कोरि. १५:३३) येसुले सल्लाह दिनुभएझैँ हामी आफ्नो विषयमा होसियार छौँ भने यहोवाको स्तरअनुसार नचल्ने व्यक्तिहरूसित अनावश्यक सरसङ्गत गर्नेछैनौँ। (२ कोरि. ६:१५) साथै हामीले खतराहरू चिन्न सक्नेछौँ र त्यसबाट जोगिन कदम चाल्नेछौँ।
समयको पूर्ण सदुपयोग गर्नुहोस्
१२. यस युगको अन्त पर्खँदै गर्दा चेलाहरूले के गर्नुपर्थ्यो?
१२ यस युगको अन्त पर्खँदै गर्दा चेलाहरू एउटा महत्त्वपूर्ण काममा व्यस्त भएको येसु चाहनुहुन्थ्यो। उहाँले तिनीहरूलाई “यरुसलेमका साथै सारा यहुदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” सुसमाचार सुनाउन आज्ञा दिनुभयो। (प्रेषि. १:६-८) येसुका चेलाहरूको लागि यो साँच्चै गहन जिम्मेवारी थियो! तिनीहरूले तनमनले यो जिम्मेवारी पूरा गरेर समयको पूर्ण सदुपयोग गरे।
१३. हामीले किन समयको पूर्ण सदुपयोग गर्नुपर्छ? (कलस्सी ४:५)
१३ कलस्सी ४:५ पढ्नुहोस्। आफ्नो विषयमा होसियार हुन हामीले आफ्नो समय कसरी प्रयोग गरिरहेका छौँ भनेर राम्ररी विचार गर्नुपर्छ। हामी जोकोहीको जीवनमा “चिताउँदै नचिताएको घटना घट्न सक्छ।” (उप. ९:११) कुनै पनि बेला हाम्रो मृत्यु हुन सक्छ।
१४-१५. हामी कसरी आफ्नो समयको पूर्ण सदुपयोग गर्न सक्छौँ? (हिब्रू ६:११, १२) (तस्बिर पनि हेर्नुहोस्।)
१४ यहोवाको इच्छाअनुसार चलेर अनि उहाँसितको मित्रता बलियो बनाएर हामी आफ्नो समयको पूर्ण सदुपयोग गर्न सक्छौँ। (युह. १४:२१) हामी ‘अटल र स्थिर हुनुपर्छ, प्रभुको काममा सधैँ व्यस्त भइरहनुपर्छ।’ (१ कोरि. १५:५८) यसो गरेका छौँ भने चाहे हाम्रो जीवनकै अन्त होस् वा यस दुष्ट युगको अन्त, यहोवाको सेवामा अझ धेरै गर्न सकिनँ भनेर चुकचुकाउनुपर्नेछैन।—मत्ति २४:१३; रोमी १४:८.
१५ आज येसुले आफ्ना चेलाहरूलाई संसारभरि नै राज्यको सुसमाचार सुनाउने काममा डोऱ्याइरहनुभएको छ। यसरी येसुले आफ्नो भूमिका पूरा गरिरहनुभएको छ। उहाँले यहोवाको सङ्गठनमार्फत हामीलाई साक्षीकार्यको लागि तालिम दिनुभएको छ अनि सुसमाचार फैलाउन चाहिने सामग्रीहरू पनि उपलब्ध गराउनुभएको छ। (मत्ति २८:१८-२०) सुसमाचार सुनाउने र सिकाउने काममा लगनशील भएर अनि यस दुष्ट संसारको अन्त हुने समय पर्खँदै गर्दा सचेत रहेर हामी पनि आफ्नो भूमिका पूरा गर्न सक्छौँ। हिब्रू ६:११, १२ मा पाइने सल्लाह लागू गर्दै हामी आफ्नो आशालाई अन्तसम्मै दह्रो गरी पक्रिरहनेछौँ।—पढ्नुहोस्।
१६. हामीले कस्तो सङ्कल्प गर्नुपर्छ?
१६ यहोवाले सैतानको संसार विनाश गर्ने दिन र समय तोकिसक्नुभएको छ। त्यो दिन उहाँले आफ्नो वचनमा लेख्न लगाउनुभएका सबै भविष्यवाणी पूरा गर्नुहुनेछ। तर कहिलेकाहीँ हामीलाई यस संसारको अन्त आउन ढिलो भएको हो कि जस्तो लाग्न सक्छ। तर यहोवाको दिनले “ढिला गर्नेछैन!” (हब. २:३) त्यसैले ‘[हाम्रा] उद्धारक, [हाम्रा] परमेश्वरलाई नै पर्खँदै उहाँको बाटो हेर्ने’ सङ्कल्प गरौँ।—मिका ७:७.
गीत १३९ नयाँ संसारको जीवन कल्पना गरौँ!
a यस लेखमा संसारमा भइरहेका घटनाहरूप्रति हामी कसरी सन्तुलित दृष्टिकोण राख्न सक्छौँ भनेर बुझ्नेछौँ। साथै हामी आफ्नो विषयमा कसरी होसियार रहन सक्छौँ र समयको कसरी सदुपयोग गर्न सक्छौँ भनेर पनि बुझ्नेछौँ।
b तस्बिरको व्याख्या: (माथिल्लो) एक दम्पती समाचार हेर्दै छ। पछि सभामा उक्त समाचारले बाइबलको भविष्यवाणी पूरा गर्दै छ भनेर तिनीहरू आफ्नो व्यक्तिगत धारणा बहिनीहरूलाई अतिविश्वस्त भएर बताउँदै छन्। (तल्लो) एक दम्पती बाइबल भविष्यवाणीको हालैको बुझाइ थाह पाउन परिचालक निकायको अपडेट भिडियो हेर्दै छ। तिनीहरू विश्वासी दासले प्रबन्ध गरेको बाइबलआधारित प्रकाशन जिज्ञासु व्यक्तिलाई दिँदै छन्।