अध्ययन लेख ७
गीत १५ यहोवाको पुत्रको जय होस्!
यहोवाले दिनुहुने क्षमाबाट तपाईँ कस्तो लाभ उठाउन सक्नुहुन्छ?
“तपाईँ मानिसहरूको पाप साँच्चै क्षमा गर्नुहुन्छ।”—भज. १३०:४.
सिक्न सकिने कुरा
यस लेखमा यहोवाले हामीलाई दिनुहुने क्षमा विशेष छ भनेर बुझाउने केही बाइबलका उदाहरणहरू विचार गर्नेछौँ। मनमा सजिलै चित्र उतार्न सकिने यस्ता उदाहरणहरूले हामीलाई यहोवाप्रति अझ कृतज्ञ हुन मदत गर्नेछ।
१. मानिसले क्षमा दिन्छु भन्दा त्यसको कस्तो अर्थ लाग्न सक्छ?
मानौँ, तपाईँले भनेको वा गरेको कुनै कुराले तपाईँको साथीको चित्त दुख्यो। तर तिनले तपाईँलाई माफी दिएको कुरा बताउँदा तपाईँलाई कस्तो लाग्छ? तपाईँको मनै हलुको हुन्छ नि, होइन? तर तिनले ‘मैले माफी दिएँ’ भन्दा वास्तवमा के भन्न खोज्दै छन्? के तिनी तपाईँहरू पहिलाको जस्तै साथी हुनुहुन्छ भन्न खोज्दै छन्? अथवा तिनी त्यो विषयमा कुरै गर्न चाहँदैनन् र तपाईँहरूको मित्रता पहिलाको जस्तो हुनै सक्दैन भन्न खोज्दै छन् कि? मानिसहरूले क्षमा दिन्छु भने पनि त्यसको विभिन्न अर्थ लाग्न सक्छ।
२. बाइबलमा यहोवाले दिनुहुने क्षमाबारे के बताइएको छ? (फुटनोट पनि हेर्नुहोस्।)
२ त्रुटिपूर्ण मानिसले दिने क्षमा र यहोवाले दिनुहुने क्षमाबीच आकाश जमिनको फरक छ। यहोवाले दिनुहुने क्षमा विशेष छ। भजनरचयिताले यहोवाबारे यसो भने: “तपाईँ मानिसहरूको पाप साँच्चै क्षमा गर्नुहुन्छ ताकि तपाईँको श्रद्धा गरियोस्।” a (भज. १३०:४) हो, यहोवा “साँच्चै क्षमा” गर्नुहुन्छ। उहाँले साँच्चै क्षमा दिनु भनेको के हो भनेर देखाउनुभएको छ। हिब्रू धर्मशास्त्रका कुनै-कुनै पदमा यहोवाले दिनुहुने क्षमालाई बुझाउन जुन हिब्रू शब्द प्रयोग गरिएको छ, त्यो मानिसले दिने क्षमालाई बुझाउन कहिल्यै प्रयोग गरिएको छैन।
३. यहोवाले दिनुहुने क्षमा र हामीले दिने क्षमाबीच कस्तो भिन्नता छ? (यसैया ५५:६, ७)
३ यहोवाले हामीलाई क्षमा दिनुहुँदा उहाँले हाम्रो पाप पूर्णतया मेटिदिनुहुन्छ। हामी उहाँसित फेरि घनिष्ठ सम्बन्ध गाँस्न सक्छौँ। हामीले जति चोटि गल्ती गरे पनि यहोवाले हामीलाई पूर्ण रूपमा अनि खुला मनले क्षमा गर्नुहुन्छ।—यसैया ५५:६, ७ पढ्नुहोस्।
४. साँच्चै क्षमा दिनुको अर्थ बुझ्न यहोवाले हामीलाई कसरी मदत गर्नुभएको छ?
४ यहोवाले दिनुहुने क्षमा हामीले दिने क्षमाभन्दा एकदमै फरक छ। त्यसोभए हामी त्रुटिपूर्ण मानिसहरूले साँच्चै क्षमा दिनुको अर्थ कसरी बुझ्न सक्छौँ? यसको अर्थ बुझाउन यहोवाले बाइबलमा थुप्रै उदाहरणहरू प्रयोग गर्नुभएको छ। यस लेखमा हामी केही उदाहरण विचार गर्नेछौँ। ती उदाहरणहरूले यहोवा हाम्रो पाप कसरी हटाउनुहुन्छ र उहाँसितको हाम्रो सम्बन्धलाई कसरी पहिलेको जस्तो बनाउनुहुन्छ भनेर बुझ्न मदत गर्नेछ। ती उदाहरणहरू केलाउँदा यहोवा हामीलाई कसरी क्षमा गर्नुहुन्छ भनेर अझै राम्ररी बुझ्नेछौँ र कृपालु बुबा यहोवाप्रतिको हाम्रो कृतज्ञता अझै बढ्नेछ।
यहोवा हाम्रो पाप हटाउनुहुन्छ
५. यहोवाले हामीलाई क्षमा दिनुको अर्थ के हो?
५ बाइबलमा पापलाई अक्सर गह्रौँ भारीसित तुलना गरिएको छ। राजा दाउदले आफ्नो पापबारे यसो भने: “मेरा गल्तीहरू मेरो शिरभन्दा माथि चुलिएका छन्; ती मेरो लागि गह्रौँ भारीजस्तै भएका छन्, म ती बोक्नै सक्दिनँ।” (भज. ३८:४) तर यहोवा पश्चात्ताप गर्नेहरूलाई क्षमा दिनुहुन्छ। (भज. २५:१८; ३२:५) यी पदहरूमा “क्षमा” भनेर अनुवाद गरिएको हिब्रू शब्दले “उठाउनु” वा “बोक्नु”-लाई बुझाउँछ। त्यसैले यहोवालाई हामी एक जना बलियो मानिससित तुलना गर्न सक्छौँ, जसले हाम्रो पापको भारी बोक्नुहुन्छ र त्यसलाई टाढा लैजानुहुन्छ।
६. यहोवा हाम्रा पापहरू बोकेर कति टाढा लैजानुहुन्छ?
६ यहोवाले प्रयोग गर्नुभएको अर्को उदाहरण विचार गरौँ। यस उदाहरणले यहोवाले हाम्रा पापहरू बोकेर कति टाढा लैजानुहुन्छ भनेर बुझ्न मदत गर्छ। भजन १०३:१२ यसो भन्छ: “पूर्वबाट पश्चिम जति टाढा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा राखिदिनुभएको छ।” पूर्वको सबैभन्दा पल्लो छेउ पश्चिम हो। ती दुईबिन्दुको मिलन कहिल्यै हुन सक्दैन। यस अर्थमा यहोवा हाम्रा पापहरू यत्ति टाढा लैजानुहुन्छ कि हामी त्यो कल्पनै गर्न सक्दैनौँ। हो, यहोवा हाम्रा पापहरू पूर्णतया क्षमा गर्नुहुन्छ भन्ने कुरा थाह पाउँदा हामी कत्ति ढुक्क महसुस गर्छौँ नि, होइन?
७. बाइबलमा यहोवा हाम्रा पापहरूलाई के गर्नुहुन्छ भनेर बताइएको छ? (मिका ७:१८, १९)
७ यहोवाले हाम्रा पापहरू बोकेर लैजानुहुन्छ। तर के उहाँले त्यो बोकिरहनुहुन्छ? अहँ, त्यसो त होइन। राजा हिजकियाहले यहोवाबारे यस्तो लेखे: “मेरा सबै पापहरूलाई तपाईँले आफ्नो नजरबाट हटाउनुभयो।” फुटनोटअनुसार “मेरा सबै पापहरूलाई तपाईँले आफ्नो पिठ्यूँपछाडि फालिदिनुभयो।” (यसै. ३८:९, १७; फुटनोट) यसको मतलब यहोवाले पश्चात्तापीहरूको पाप फ्याँकिदिनुभएपछि त्यसलाई फर्केर कहिल्यै हेर्नुहुन्न। “मेरा सबै पापहरूलाई तपाईँले आफ्नो नजरबाट हटाउनुभयो” भन्ने अभिव्यक्तिलाई यसरी पनि अनुवाद गर्न सकिन्छ: “तपाईँले मेरा सबै पापहरूलाई मैले गर्दै नगरेको जस्तो ठान्नुहुन्छ।” यस कुरालाई जोड दिन मिका ७:१८, १९ मा अर्को उदाहरण प्रयोग गरिएको छ। (पढ्नुहोस्।) ती पदहरूमा यहोवाले हाम्रा सबै पाप समुद्रको गहिराइमा मिल्काइदिनुहुनेछ भनेर बताइएको छ। पुरातन समयमा कुनै वस्तु समुद्रको गहिराइमा हुर्ऱ्याएपछि त्यसलाई फेरि निकाल्न असम्भव हुन्थ्यो।
८. यहाँसम्म हामीले के सिक्यौँ?
८ यी उदाहरणहरूबाट यहोवाले हामीलाई क्षमा दिनुहुँदा उहाँले हाम्रा पापहरू पूरै हटाइदिनुहुन्छ र हामीले दोषी महसुस गरिरहनुपर्दैन भनेर सिक्न सक्यौँ। दाउदले भनेझैँ “आनन्दित हुन् तिनीहरू, जसका कुकर्महरू क्षमा भएका छन् र जसका पापहरू ढाकिएका छन्। आनन्दित हो त्यो मानिस, जसको पापको लेखा यहोवा परमेश्वरले कुनै हालतमा राख्नुहुनेछैन।” (रोमी ४:७, ८) साँच्चै क्षमा गर्नु भनेको यही हो।
यहोवा हाम्रा पापहरू मेटिदिनुहुन्छ
९. यहोवाले हाम्रा पापहरू कुन हदसम्म क्षमा गर्नुहुन्छ?
९ पश्चात्ताप गर्ने व्यक्तिको पाप फिरौतीको बलिदानको आधारमा कसरी मेटिन्छ भनेर बुझाउन यहोवाले अर्को उदाहरण प्रयोग गर्नुभएको छ। उहाँले हाम्रा पापहरू पखाल्नुहुन्छ र सफा गर्नुहुन्छ भनेर बाइबलमा बताइएको छ। त्यसले गर्दा पाप गर्ने व्यक्ति शुद्ध हुन्छन्। (भज. ५१:७; यसै. ४:४; यर्मि. ३३:८) यहोवाले कुन हदसम्म शुद्ध पार्नुहुन्छ भन्नेबारे उहाँ आफैले यसो भन्नुभएको छ: “तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए पनि ती हिउँजस्तै सेता हुनेछन्। तिमीहरूका पापहरू गाढा राता रङ्गका कपडाजस्तै भए पनि ती ऊनजस्तै सेता हुनेछन्।” (यसै. १:१८) कपडामा सिन्दूरे रङ्ग वा गाढा रातो रङ्ग लाग्यो भने त्यसको दाग मेटाउन निकै गाह्रो हुन्छ। तर यहोवाले हाम्रा पापहरू पखालेर यत्ति सफा गर्नुहुन्छ कि मानौँ पहिला त्यसमा कुनै दागै लागेको थिएन।
१०. क्षमा दिने सन्दर्भमा यहोवा उदार हुनुहुन्छ भनेर किन भन्न सक्छौँ?
१० अघिल्लो लेखमा बताइएझैँ हाम्रा पापहरू “ऋण”-जस्तै हुन्। (मत्ति ६:१२; लुका ११:४) त्यसैले हामी यहोवाविरुद्ध जति चोटि पाप गर्छौँ, त्यति नै हाम्रो ऋण बढ्दै जान्छ। हामीले यहोवालाई तिर्नुपर्ने ऋण असाध्यै धेरै छ। तर यहोवाले हामीलाई क्षमा दिनुहुँदा उहाँले हाम्रो सबै ऋण मिनाहा गर्नुहुन्छ। हामीले कुनै पापको लागि एक चोटि क्षमा पाएपछि त्यसको लागि फेरि-फेरि क्षमा मागिरहनुपर्दैन। कुनै व्यक्तिले आफ्नो ऋण मिनाहा हुँदा ढुक्क महसुस गरेजस्तै यहोवाले क्षमा दिनुहुँदा पनि हामी त्यस्तै महसुस गर्न सक्छौँ।
११. पापहरू मेटिनुको अर्थ के हो? (प्रेषित ३:१९)
११ यहोवाले हाम्रा पापहरूको ऋण मिनाहा मात्र गर्नुहुन्न बरु त्यसलाई पूरै मेटिदिनुहुन्छ। (प्रेषित ३:१९ पढ्नुहोस्।) मानौँ, साहुले हाम्रो ऋण मिनाहा गर्दा आफ्नो हिसाब खातामा हामीले तिनुपर्ने ऋणमा इन्टु (X) चिन्ह लगाउँछन्। तर त्यो इन्टु चिन्हको मुनि सङ्ख्या भने देखिन्छ। यहोवाले भने हाम्रो पापहरू पूरै मेटिदिनुहुन्छ। यो कुरा बुझ्न पुरातन समयको मसीबारे विचार गरौँ। मसी बनाउन कार्बन, गम र पानी मिसाइन्थ्यो। त्यतिबेला मसीले लेखिएको कुरा भिजेको स्पन्जले स्वाट्टै मेटाउन सकिन्थ्यो। त्यसरी मेटाएपछि त्यसमा पहिला के लेखिएको थियो भनेर जति नै हेर्न खोजे पनि केही देखिँदैनथ्यो। यहोवाले हाम्रा पापहरूको ऋण मिनाहा मात्र गर्नुहुन्न बरु त्यसलाई पूरै मेटाइदिनुहुन्छ भनेर थाह पाउँदा हाम्रो मन कत्ति हलुको हुन्छ नि, होइन?—भज. ५१:९.
१२. बाक्लो बादलको उदाहरणबाट हामी के सिक्न सक्छौँ?
१२ यहोवाले हाम्रा पापहरू कसरी मेटिदिनुहुन्छ भनेर बुझाउन अर्को उदाहरण पनि प्रयोग गर्नुभएको छ। उहाँ यसो भन्नुहुन्छ: “तिम्रा अपराधहरूलाई म बादलले ढाकेझैँ ढाकिदिनेछु, तिम्रा पापहरूलाई बाक्लो बादलले झैँ छोपिदिनेछु।” (यसै. ४४:२२) यहोवाले क्षमा दिनुहुँदा उहाँले हाम्रा पापहरूलाई बाक्लो बादलले ढाकेझैँ ढाकिदिनुहुन्छ। त्यसपछि ती पापहरू कसैले देख्न सक्दैन।
१३. यहोवाले हाम्रा पापहरू क्षमा गर्नु भएपछि हामी कस्तो महसुस गर्छौँ?
१३ यी उदाहरणहरूबाट हामीले के सिक्यौँ? यहोवाले हामीलाई क्षमा दिनुभएपछि हामीले जिन्दगीभर दोषी महसुस गरेर बस्नुपर्दैन। उहाँले येसु ख्रिष्टको रगतको आधारमा हाम्रो पापको ऋण पूरै मिनाहा गरिदिनुहुन्छ। त्यसरी माफी दिनुभएपछि हामीबाट त्यस्तो पाप भएकै थिएन जस्तो उहाँ ठान्नुहुन्छ। हामीले आफ्ना पापहरूको लागि पश्चात्ताप गऱ्यौँ भने उहाँले हामीलाई साँच्चै क्षमा गर्नुहुन्छ भनेर बुझ्न सक्छौँ।
हामी यहोवासित फेरि घनिष्ठ सम्बन्ध गाँस्न सक्छौँ
१४. हामी कुन कुरामा ढुक्क हुन सक्छौँ र किन? (चित्रहरू पनि हेर्नुहोस्।)
१४ यहोवाले हामीलाई क्षमा दिनुभएपछि हामी उहाँसित फेरि घनिष्ठ सम्बन्ध गाँस्न सक्छौँ। साथै हामीले दोषी महसुस गरिरहनुपर्दैन। यहोवाले मनमनै रिस पालिरहनुहुन्छ र उहाँले हामीलाई सजाय दिने मौका खोजिरहनुहुन्छ भनेर डराउनु पनि पर्दैन। उहाँले कहिल्यै त्यसो गर्नुहुन्न। हामी यो कुरामा किन ढुक्क हुन सक्छौँ? यहोवाले यर्मियालाई यसो भन्नुभयो: “म तिनीहरूलाई क्षमा दिनेछु र फेरि कहिल्यै तिनीहरूको पाप सम्झनेछैनँ।” (यर्मि. ३१:३४) पावलले पनि त्यही शब्द दोहोऱ्याएका छन्: “म तिनीहरूका खराब कामहरू माफ गरिदिनेछु र फेरि कहिल्यै तिनीहरूका पापहरू सम्झनेछैनँ।” (हिब्रू ८:१२) यसको अर्थ के हो?
१५. यहोवाले हाम्रा पापहरू कहिल्यै सम्झनु हुनेछैन भन्नुको अर्थ के हो?
१५ बाइबलमा प्रयोग गरिएको “सम्झनु” शब्दले कुनै कुरा याद गर्नु वा त्यसबारे सोच्नु भन्ने अर्थ मात्र दिँदैन बरु त्यसले कदम चाल्नुलाई पनि बुझाउन सक्छ। येसुसँगै झुन्ड्याइएका अपराधीले उहाँलाई यस्तो आग्रह गरे: “हे येसु, तपाईँ राजा बन्नुभएपछि मलाई सम्झनुहोस्।” (लुका २३:४२, ४३) तिनले येसुलाई आफूबारे सोच्न मात्र आग्रह गरिरहेका थिएनन्। येसुले दिनुभएको जवाफले उहाँले तिनलाई फेरि जीवित पार्न कदम चाल्नुहुनेछ भनेर सङ्केत गऱ्यो। त्यसैगरि यहोवाले हाम्रा पापहरू कहिल्यै सम्झनुहुनेछैन भन्नुको अर्थ उहाँले हामीलाई सजाय दिन कुनै कदम चाल्नुहुनेछैन भन्ने हो। उहाँले क्षमा दिइसक्नुभएको पापको लागि भविष्यमा हामीलाई सजाय दिनुहुनेछैन।
१६. बाइबलमा हामीले पाउने क्षमालाई केसित तुलना गरिएको छ?
१६ यहोवाले हामीलाई क्षमा दिनुहुँदा हामी स्वतन्त्र हुन्छौँ। यो कुरा बुझाउन बाइबलमा अर्को उदाहरण प्रयोग गरिएको छ। हाम्रो त्रुटिपूर्ण अवस्था र पापी झुकावले गर्दा हामी “पापका दास” भएका छौँ। तर यहोवाले हामीलाई क्षमा दिनुहुँदा हामी “पापबाट स्वतन्त्र गरिएका” दास हुन्छौँ। (रोमी ६:१७, १८; प्रका. १:५) यो कुरा थाह पाउँदा हामी दासत्वबाट मुक्त गरिएको व्यक्तिजस्तै खुसी हुन सक्छौँ।
१७. क्षमा पाउँदा हामी कुन अर्थमा निको हुन्छौँ? (यसैया ५३:५)
१७ यसैया ५३:५ पढ्नुहोस्। अब हामी अन्तिम उदाहरण विचार गरौँ। बाइबलमा हामीलाई घातक रोग लागेको व्यक्तिसित तुलना गरिएको छ। यहोवाले प्रबन्ध गर्नुभएको फिरौतीको बलिदानले गर्दा हाम्रो त्यो रोग निको भएको छ। (१ पत्रु. २:२४) यहोवासित बिग्रिएको सम्बन्ध त्यस बलिदानले गर्दा पूरै सुध्रिन सम्भव भएको छ। गम्भीर रोग लागेको व्यक्ति निको भएपछि उसले आफ्नो खुसी शब्दमा व्यक्तै गर्न सक्दैन। त्यसैगरि यहोवासितको हाम्रो सम्बन्ध सुध्रिँदा र उहाँसित फेरि घनिष्ठ हुन पाउँदा हामी असाध्यै खुसी हुन्छौँ।
यहोवाले दिनुहुने क्षमाबाट हामी कस्तो लाभ उठाउन सक्छौँ?
१८. हामीले बाइबलमा प्रयोग गरिएका विभिन्न उदाहरणबाट यहोवाले दिनुहुने क्षमाबारे के सिक्यौँ? (“यहोवा हामीलाई कसरी क्षमा दिनुहुन्छ?” भन्ने पेटी पनि हेर्नुहोस्।)
१८ यहोवाले दिनुहुने क्षमाबारे बुझाउन बाइबलमा बताइएका उदाहरणहरूबाट हामीले के सिक्यौँ? उहाँले क्षमा दिनुहुँदा पूर्ण रूपमा अनि सदाको लागि दिनुहुन्छ। त्यसैले हामीले यहोवा बुबासित घनिष्ठ सम्बन्ध गाँस्न सकेका छौँ। तर एउटा कुरा कहिल्यै नबिर्सौँ, यहोवाले दिनुहुने क्षमा उपहारजस्तै हो। यो हाम्रो हक लाग्ने कुरा होइन। यो यहोवाले त्रुटिपूर्ण मानिसलाई देखाउनुभएको प्रेम र असीम अनुग्रह हो।—रोमी ३:२४.
१९. (क) हामी कुन कुराको लागि कृतज्ञ हुनुपर्छ? (रोमी ४:८) (ख) अर्को लेखमा हामी के छलफल गर्नेछौँ?
१९ रोमी ४:८ पढ्नुहोस्। यहोवाले हामीलाई “साँच्चै क्षमा गर्नुहुन्छ” भनेर थाह पाउँदा हामी कत्ति कृतज्ञ छौँ! (भज. १३०:४) तर उहाँबाट क्षमा पाउन हामीले एउटा कुरा गर्नै पर्छ। यसबारे येसुले यसो भन्नुभयो: “यदि तिमीहरूले मानिसहरूका अपराधहरू क्षमा गरेनौ भने तिमीहरूका बुबाले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन।” (मत्ति ६:१४, १५) त्यसैले क्षमा दिने सन्दर्भमा हामीले यहोवाको अनुकरण गर्नै पर्छ। तर हामी कसरी त्यसो गर्न सक्छौँ? यसबारे हामी अर्को लेखमा छलफल गर्नेछौँ।
गीत ४६ धन्यवाद छ, यहोवा