जवानहरू हो—के तपाईं बप्तिस्मा गर्न तयार हुनुहुन्छ?
“तिमीहरूमध्ये को यस्तो होला, जसले धरहरा बनाउने विचार गरेपछि, त्यो बनाइसिद्धयाउने खर्च आफूसित छ कि छैन भनी बसेर पहिला हिसाब गर्दैन?”—लूका १४:२८.
गीत: १२०, ६४
यो र यसपछिको लेख बप्तिस्मा गर्ने विचार गरिरहेका जवानहरूलाई लागू हुन्छ।
१, २. (क) परमेश्वरका सेवकहरूलाई खुसी तुल्याउने एउटा कुरा के हो? (ख) ख्रीष्टियन आमाबाबु र एल्डरहरूले जवानहरूलाई बप्तिस्माको अर्थ बुझ्न कसरी मदत दिन सक्छन्?
एक जना ख्रीष्टियन एल्डरले १२ वर्षको क्रिस्टोफरलाई यसो भने, “तिमीलाई त मैले सानैदेखि चिनेको! बप्तिस्मा गर्ने तिम्रो निर्णय सुनेर एकदमै खुसी लाग्यो! तर एउटा कुरा सोधौं है, तिमीले किन बप्तिस्मा गर्न लागेको?” एल्डरले त्यसरी सोध्नु जायज थियो। हो, हरेक वर्ष संसारभर हजारौं जवानहरूले बप्तिस्मा गरेको देख्दा हामी खुसी हुन्छौं। (उप. १२:१) तर यतिबेला ख्रीष्टियन आमाबाबु अनि मण्डलीका एल्डरहरूले विचार पुऱ्याउनुपर्ने कुरा पनि छ। ती जवानहरूले मनदेखि उत्प्रेरित भएर यस्तो निर्णय गरेका हुन् कि होइनन् अनि तिनीहरूले बप्तिस्मा गर्नुको वास्तविक अर्थ बुझेका छन् कि छैनन्, आमाबाबु अनि एल्डरहरूले पक्का गर्नुपर्छ।
२ ख्रीष्टियनहरूका लागि समर्पण अनि बप्तिस्मा नयाँ जीवनको सुरुवात हो। हितो. १०:२२; १ पत्रु. ५:८) त्यसैले ख्रीष्टियन आमाबाबुले आफ्ना छोराछोरीलाई ख्रीष्टको चेला हुनुको वास्तविक अर्थ के हो भनेर बुझाउन पर्याप्त समय दिनुपर्छ। तर कुनै जवानको आमाबाबु ख्रीष्टियन होइनन् भने नि? त्यतिबेला मण्डलीका एल्डरहरूले मायालु हुँदै तिनलाई चेला हुनुको वास्तविक अर्थबारे पहिल्यै राम्ररी बुझाउनुपर्छ। (लूका १४:२७-३० पढ्नुहोस्) एउटा घर बनाई सिध्याउन पहिल्यै राम्रो योजना बनाउनु परेजस्तै “अन्तसम्म” विश्वासी भई यहोवाको सेवा गर्न पहिले नै राम्रो तयारी गर्नुपर्छ। (मत्ती २४:१३) तर अन्तसम्मै यहोवाको सेवा गर्ने विषयमा दृढ रहन जवानहरूलाई कुन कुराले मदत गर्छ? अब हामी विचार गरौं।
यो कदम चालिसकेपछि ख्रीष्टियनहरूले यहोवाबाट आशिष् त पाउँछन् नै तर सैतानबाट विरोध पनि आउन थाल्छ। (३. (क) येशू र पत्रुसका शब्दले बप्तिस्माको महत्त्वलाई कसरी जोड दिएको छ? (मत्ती २८:१९, २०; १ पत्रु. ३:२१) (ख) हामी कस्ता प्रश्नहरू विचार गर्नेछौं अनि किन?
३ के तपाईं पनि जवान हुनुहुन्छ अनि बप्तिस्मा गर्ने विचार गर्दै हुनुहुन्छ? त्यसो हो भने तपाईं प्रशंसाको योग्य हुनुहुन्छ। साँच्चै, यहोवाको साक्षीको रूपमा बप्तिस्मा गर्न पाउनु ठूलो सुअवसर हो! अझ भन्नुपर्दा, बप्तिस्मा त ख्रीष्टियनहरूको आवश्यकता नै हो अनि उद्धार पाउन चाल्नै पर्ने कदम हो। (मत्ती २८:१९, २०; १ पत्रु. ३:२१) बप्तिस्मा गर्दा तपाईंले ‘अबदेखि म सधैंभरि यहोवाको सेवा गर्छु’ भनेर वाचा गरिरहनुभएको हुन्छ। अनि तपाईं यो वाचा पूरा गर्न चाहनुहुन्छ नि होइन र? त्यसो हो भने आफू बप्तिस्मा गर्न तयार छु कि छैन भनी थाह पाउन तपाईंलाई यी तीन प्रश्नले मदत गर्नेछ: (१) के म बप्तिस्माको निर्णय गर्न परिपक्व भइसकें? (२) के म आफ्नै इच्छाले बप्तिस्मा गर्दै छु? (३) के मैले यहोवालाई आफ्नो जीवन समर्पण गर्नुको वास्तविक अर्थ बुझेको छु? अब हामी यी प्रश्नहरू विचार गरौं।
के तपाईं परिपक्व भइसक्नुभयो?
४, ५. (क) बप्तिस्मा ठूला मानिसहरूको लागि मात्र होइन, किन? (ख) ख्रीष्टियनको रूपमा परिपक्व हुनु भनेको के हो?
४ बप्तिस्मा गर्न ठूलो हुनै पर्छ वा कानुनी अधिकार पाउने निश्चित उमेर पुगेको हुनै पर्छ भनेर बाइबलले बताउँदैन। हितोपदेश २०:११ (NRV) यसो भन्छ, “एउटा बालकलाई पनि उसको गतिविधिबाटै उसको चालचलन ठीक भए नभएको थाहा गर्न सकिन्छ।” साना केटाकेटीले पनि सही कुरा गर्नु भनेको के हो अनि ईश्वरप्रति समर्पित हुनु भनेको के हो भनेर बुझ्न सक्छन्। त्यसैले केही हदसम्म परिपक्व भइसकेका अनि यहोवालाई आफ्नो जीवन समर्पण गरिसकेका जवानहरूका लागि बप्तिस्मा एउटा महत्त्वपूर्ण अनि उपयुक्त कदम हो।—हितो. २०:७.
५ परिपक्व हुनु भनेको के हो? परिपक्व हुनु भनेको शारीरिक रूपमा बढ्नु मात्र होइन। परिपक्व मानिसहरूले “आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्टयाउन तालिम दिएका हुन्छन्” भनी बाइबल बताउँछ। (हिब्रू ५:१४) त्यसैले परिपक्व मानिसहरूलाई यहोवाको दृष्टिमा के कुरा सही छ भनी थाह हुन्छ अनि उनीहरू त्यो कुरामा टाँसिरहन दृढ हुन्छन्। परिणामस्वरूप, उनीहरू गलत काम गर्न सजिलै बहकिंदैनन्; अनि सही कुरा गर्न अरूले उनीहरूलाई सधैं घचघच्याइरहनु पनि पर्दैन। त्यसैले बप्तिस्मा गरेका जवानले पनि आमाबाबु अथवा अरू बुज्रुगहरू आफूसित नहुँदासमेत परमेश्वरको स्तरलाई पक्रिरहनेछन् भनी आशा गर्नु स्वाभाविक हो।—फिलिप्पी २:१२ तुलना गर्नुहोस्।
६, ७. (क) बेबिलोनमा छँदा दानियलले कस्ता चुनौतीहरूको सामना गर्नुपऱ्यो? (ख) दानियलले आफू परिपक्व भएको कसरी देखाए?
६ के जवानहरूले साँच्चै यस्तो परिपक्वता देखाउन सक्छन्? बाइबल पात्र दानियलको उदाहरण विचार गर्नुहोस्। आमाबाबुबाट जबरजस्ती छुटाएर बेबिलोनको निर्वासनमा लगिंदा तिनले भर्खरै किशोरावस्था टेकेको हुनुपर्छ। अचानक बिरानो देश अनि बिराना मानिसहरूको बीचमा पुग्दा दानियललाई कस्तो लाग्यो होला, कल्पना गर्नुहोस् त। हो, सही-गलत छुट्टयाउने विषयमा त्यहाँका मानिसहरूको धारणा दानियलको भन्दा बिलकुलै फरक थियो। त्यतिमात्र होइन, दानियलले अर्को चुनौतीको पनि सामना गर्नुपऱ्यो; बेबिलोनका मानिसहरू तिनलाई विशेष व्यक्तिको रूपमा हेर्थे। राजाको सेवा गर्न छानिएका केही जवानमध्ये तिनी पनि एक थिए! (दानि. १:३-५, १३) सायद इस्राएलमै भएका भए तिनले यस्तो सुअवसर कहिल्यै पाउने थिएनन्।
७ जवान दानियलले यी सबै कुरालाई कसरी लिए? के तिनी बेबिलोनको चमकदमक अनि सान-सौकतप्रति आकर्षित भए? के तिनले आफूलाई वरपरको रौनकअनुसार ढालेर आफ्नो पहिचान गुमाए अथवा आफ्नो विश्वासलाई लत्याए? तिनले त्यस्तो केही गरेनन्। बेबिलोनमा छँदा तिनले झूटो धर्मसित सम्बन्धित कुनै पनि कुराले “आफूलाई अशुद्ध नपार्ने” दृढ “निश्चय गरे” भनी बाइबल बताउँछ। (दानि. १:८) दानियल कत्ति परिपक्व थिए, होइन र!
८. दानियलको उदाहरणबाट तपाईं कस्तो पाठ सिक्न सक्नुहुन्छ?
८ दानियलको उदाहरणबाट तपाईं कस्तो पाठ सिक्न सक्नुहुन्छ? हो, परिपक्व जवान ख्रीष्टियन जस्तोसुकै अवस्था आइपरे पनि आफ्नो विश्वासमा अडिग रहन्छन्। छिनछिनमा रङ्ग फेर्ने छेपारोले जस्तै तिनले वरपरको वातावरणमा भिज्न आफ्नो रूप फेर्दैनन्। तिनीहरू राज्यभवनमा परमेश्वरको साथीजस्तै भइदिने अनि स्कुलमा चाहिं संसारको साथीजस्तै भइदिने गर्दैनन्। विश्वासको जाँच हुँदासमेत तिनीहरू यताउता नहुर्री विश्वासमा अडिग रहन्छन्।—एफिसी ४:१४, १५ पढ्नुहोस्।
९, १०. (क) हालसालै सामना गर्नुपरेको परीक्षामा आफूले देखाएको प्रतिक्रियाबारे मनन गर्दा जवानहरूले कस्तो लाभ उठाउन सक्छन्? (ख) बप्तिस्माको अर्थ के हो?
९ हो, हामी सबै जना त्रुटिपूर्ण छौं; जवानहरूले मात्र होइन बुज्रुगहरूले पनि बेला-बेला गल्ती गर्छन्। (उप. ७:२०) तैपनि बप्तिस्मा गर्ने विचार गर्दै हुनुहुन्छ भने कुन हदसम्म यहोवाको स्तरहरू पालन गर्न दृढ हुनुहुन्छ, त्यो कुरा पहिल्यै विचार पुऱ्याउनु बुद्धिमानी हुनेछ। आफ्नो अडानमा तपाईं कत्तिको दृढ हुनुहुन्छ भनेर कसरी जाँच्न सक्नुहुन्छ? आफैलाई सोध्नुहोस्, ‘परमेश्वरको स्तरअनुसार जिउने सन्दर्भमा मैले कस्तो छवि बनाएको छु?’ हालसालै विश्वासको परीक्षा सामना गर्नुपर्दा तपाईंले के गर्नुभयो, विचार गर्नुहोस्। के तपाईंले त्यतिबेला आफूसित सही र गलत छुट्टयाउने समझ छ भनेर देखाउनुभयो? दानियललाई जस्तै तपाईंलाई पनि सैतानको अधीनमा भएको संसारले विशेष व्यक्तिको रूपमा हेऱ्यो भने के गर्नुहुन्छ? यहोवाको इच्छासित मेल नखाने कामकुरा गर्ने प्रलोभनमा पर्दासमेत के तपाईं ‘उहाँको इच्छा बुझ्न’ सक्नुहुन्छ?—एफि. ५:१७.
१० आफूलाई व्यक्तिगत रूपमा यी प्रश्नहरू सोध्नुपर्ने कारण के हो? यी प्रश्नहरूले तपाईंलाई बप्तिस्माको सही माने बुझ्न मदत गर्छ। माथि उल्लेख गरिएझैं बप्तिस्मा गर्दा तपाईंले यहोवासित गम्भीर वाचा गर्नुभएको छ भनेर अरू मानिसले थाह पाउँछन्। त्यतिबेला तपाईंले यहोवालाई आजीवन प्रेम गर्छु अनि सारा मनले सधैं उहाँको सेवा गर्छु भनी वाचा गरिरहनुभएको हुन्छ। (मर्कू. १२:३०) त्यसैले बप्तिस्मा गर्ने सबैले नै आफूले गरेको यस्तो वाचाअनुसार चल्ने दृढ सङ्कल्प गर्नुपर्छ।—उपदेशक ५:४, ५ पढ्नुहोस्।
के तपाईं आफ्नै इच्छाले बप्तिस्मा गर्दै हुनुहुन्छ?
११, १२. (क) बप्तिस्मा गर्ने विचार गरिरहेकाहरूले कुन कुरा पक्का गर्नुपर्छ? (ख) बप्तिस्माप्रति सही दृष्टिकोण राख्न तपाईं के गर्न सक्नुहुन्छ?
११ यहोवाका सम्पूर्ण सेवकहरूले “राजीखुसीले आफैलाई अर्पण गर्नेछन्” भनी बाइबलले बताएको छ अनि यसमा जवानहरू पनि समावेश छन्। (भज. ११०:३) त्यसैले बप्तिस्मा गर्ने विचार गरिरहेकाहरूले आफ्नै खुसीले बप्तिस्मा गर्न लागेको हो या होइन, पक्का गर्नुपर्छ। सबैको परिस्थिति एउटै नहुने भएकोले बप्तिस्मा गर्नुअघि हरेकले आफूलाई होसियारीपूर्वक जाँच्नुपर्छ। अझ विशेषगरि, सानैदेखि सत्यमा हुर्कनुभएको हो भने त तपाईंले झनै यसो गर्नु आवश्यक छ।
१२ समय बित्दै जाँदा थुप्रैले बप्तिस्मा गरेको तपाईंले देख्नुभयो होला। तपाईंका साथीभाइ अनि दाइदिदी वा भाइबहिनीले समेत बप्तिस्मा गरिसके होलान्। त्यसो हो भने तपाईं एउटा कुरामा होसियार हुनै पर्छ। त्यो के हो? बप्तिस्मालाई चलनको रूपमा नलिनुहोस्; ढिलो होस् या चाँडो सबै जवानहरूले निश्चित उमेर पुगेपछि बप्तिस्मा गर्नै पर्छ भन्ने नसोच्नुहोस्। बरु बप्तिस्माप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्। यसको लागि तपाईं के गर्न सक्नुहुन्छ? बप्तिस्मा गर्नु किन यत्तिको महत्त्वपूर्ण छ भनेर विचार गर्न समय निकाल्नुहोस्। तपाईंले यस लेखमा अनि यसपछिको लेखमा बप्तिस्मा गर्नुका थुप्रै असल कारण पाउनुहुनेछ।
१३. बप्तिस्मा गर्ने निर्णय तपाईंको मनैदेखि आएको हो कि होइन भनी कसरी थाह पाउन सक्नुहुन्छ?
१३ बप्तिस्मा गर्ने निर्णय तपाईंको मनैदेखि आएको हो कि होइन भनेर थाह पाउने विभिन्न तरिका छन्। जस्तै: यहोवाको सेवा गर्ने तपाईंको भित्री चाहना कत्तिको बलियो छ, त्यो तपाईंको प्रार्थनामा देखिन्छ। तपाईं कति चोटि प्रार्थना गर्नुहुन्छ अनि कुनै विषयमा कत्तिको तोकेरै प्रार्थना गर्नुहुन्छ, त्यसमा यहोवासितको तपाईंको सम्बन्ध झल्किन्छ। (भज. २५:४) यहोवाले हाम्रो प्रार्थनाको जवाफ दिने एउटा मुख्य तरिका भनेको उहाँको वचन बाइबलद्वारा हो। त्यसैले बाइबल अध्ययन गर्न हामी जुन प्रयास गर्छौं, त्यसबाट पनि हामी यहोवासित साँच्चै नजिक हुन चाहन्छौं अनि मनैदेखि उहाँको सेवा गर्न चाहन्छौं भन्ने देखिन्छ। (यहो. १:८) त्यसैले आफैलाई सोध्नुहोस्, ‘कुनै विषयमा म कत्तिको तोकेरै प्रार्थना गर्छु? के म नियमित रूपमा व्यक्तिगत बाइबल अध्ययन गर्छु?’ अनि तपाईंको परिवारमा साँझको पारिवारिक उपासना गरिन्छ भने आफैलाई सोध्नुहोस्, ‘के म पारिवारिक उपासनामा राजीखुसीले भाग लिन्छु?’ यी प्रश्नहरूको जवाफबाट तपाईंले बप्तिस्मा गर्ने निर्णय आफ्नै हो कि होइन भनी थाह पाउन सक्नुहुन्छ।
समर्पणको अर्थ
१४. समर्पण र बप्तिस्माबीचको भिन्नता बुझाउनुहोस्।
१४ कसै-कसैलाई समर्पण र बप्तिस्माबीचको भिन्नता बुझ्न गाह्रो लाग्न सक्छ। उदाहरणको लागि, केही जवानहरूले यहोवालाई आफ्नो जीवन समर्पण गरिसकेको तर बप्तिस्माको लागि तयार नभएको बताउँछन्। त्यसो भन्न मिल्ला त? याद गर्नुहोस्, समर्पण गर्नु भनेको सधैंभरि यहोवाको सेवा गर्छु भनी उहाँलाई
बताउनु हो। अनि बप्तिस्मा गर्नु भनेको चाहिं समर्पण गरिसकेको कुरा अरूलाई जाहेर गर्नु हो। त्यसैले बप्तिस्मा गर्दा पहिल्यै व्यक्तिगत रूपमा यहोवालाई प्रार्थनाद्वारा समर्पण गरेको कुरा अरूलाई थाह दिइरहेका हुन्छौं। त्यसकारण बप्तिस्मा गर्नुअघि तपाईंले समर्पणको वास्तविक अर्थ बुझेको हुनै पर्छ।१५. समर्पणको अर्थ के हो?
१५ सरल शब्दमा भन्ने हो भने, यहोवालाई जीवन समर्पण गर्दा तपाईंले आफूमाथि यहोवाको मात्र अधिकार छ भनेर स्वीकारिरहनुभएको हुनेछ। अनि आफ्नो जीवनमा अरू कुनै पनि कुरालाई भन्दा यहोवाको इच्छालाई प्राथमिकता दिनेछु भनेर उहाँसित वाचा गरिरहनुभएको हुनेछ। (मत्ती १६:२४ पढ्नुहोस्) हामीले अरूसित गरेको वाचालाई त गम्भीर ठान्नुपर्छ भने यहोवा परमेश्वरसित गरेको वाचालाई झन् कत्ति गम्भीर ठान्नुपर्ला! (मत्ती ५:३३) त्यसोभए तपाईंले आफूलाई इन्कार गरेको अनि यहोवाप्रति समर्पित भएको कसरी देखाउन सक्नुहुन्छ?—रोमी १४:८.
१६, १७. (क) आफैलाई इन्कार गर्नु भनेको के हो? (ख) समर्पण गर्ने व्यक्तिले वास्तवमा के भनिरहेको हुन्छ?
१६ मानिलिनुहोस्, तपाईंको साथीले तपाईंलाई कार उपहार दियो। उसले तपाईंलाई त्यसको सबै कागजात दिंदै यसो भन्यो: “अब यो कार तिम्रो भयो।” तर उसले “साँचो चाहिं मै राख्छु अनि कार पनि मै चलाउँछु, तिमीले होइन” भन्यो भने नि? त्यस्तो “उपहार” तपाईंलाई कस्तो लाग्छ? अनि उपहार दिने व्यक्ति नि?
१७ यहोवालाई जीवन समर्पण गर्ने विषयमा पनि कुरा त्यही हो। समर्पण गर्ने व्यक्तिले “मेरो सारा जीवन तपाईंलाई सुम्पन्छु। अबदेखि म तपाईंकै भएँ” भनेर समर्पण गर्ने भएकोले उक्त व्यक्तिबाट यहोवाले त्यस्तै आशा गर्नुहुन्छ। तर अब त्यो व्यक्तिले दोहोरो जीवन बिताउन थाल्यो भने नि? मानौं, तिनले विश्वासमा नभएको व्यक्तिसित लुकीछिपी डेटिङ गर्न थाल्यो भने नि? अथवा प्रचारमा वा सभामा भाग लिन बाधा पुऱ्याउने काम स्वीकाऱ्यो भने नि? यसो गर्नु भनेको त कार दिएर साँचो आफैले राखेजस्तै भएन र? यहोवालाई आफ्नो जीवन समर्पण गर्ने व्यक्तिले वास्तवमा यसो भनिरहेको हुन्छ: “अब मेरो जीवनमा मेरोभन्दा तपाईंको हक लाग्छ। तपाईंले चाहनुभएको र मैले चाहेको कुरा बाझियो भने सधैं नै तपाईंले चाहेजस्तै हुनेछ।” यस्तो मनोवृत्तिले येशूको सोचाइ झल्काउँछ जसले पृथ्वीमा छँदा यसो भन्नुभएको थियो: “म आफ्नो होइन तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्न स्वर्गबाट ओर्लेर आएको हुँ।”—यूह. ६:३८.
१८, १९. (क) बप्तिस्मा गर्दा आशिष् पाइन्छ भनेर रोज र क्रिस्टोफरको अनुभवले कसरी देखाउँछ? (ख) बप्तिस्माबारे तपाईं के भन्नुहुन्छ?
१८ स्पष्ट छ, बप्तिस्मा गर्नु भनेको खेलाँचीको कुरा होइन। यसलाई हामीले गम्भीरतासाथ लिनुपर्छ। अनि अर्को कुरा, समर्पण गर्नु अनि बप्तिस्मा गर्नु भनेको ठूलो सुअवसर हो। यहोवालाई प्रेम गरेका अनि समर्पणको अर्थ बुझेका जवानहरू बप्तिस्मा गर्नदेखि पछि हट्दैनन्; न त यस्तो निर्णय गरेकोमा तिनीहरू पछुताउँछन्। रोज नाम गरेकी किशोरी यसो भन्छिन्: “म यहोवालाई माया गर्छु अनि उहाँको सेवा गर्न पाएकोमा एकदमै खुसी छु, सायद यस्तो खुसी मलाई अरू कुनै कुराले दिन सक्दैनक्थ्यो। बप्तिस्मा गर्ने कि नगर्ने भनेर निर्णय गर्दा मलाई अलिकता पनि दुबिधा भएन।”
१९ यस लेखको सुरुमा उल्लेख गरिएको क्रिस्टोफरबारे चाहिं के भन्न सकिन्छ? बाह्र वर्षको उमेरमा समर्पण अनि बप्तिस्मा गरेकोमा तिनलाई अहिले पछुतो छ कि? अहँ, पटक्कै छैन। तिनी त्यस्तो निर्णय गरेकोमा निकै खुसी छन्। तिनले १७ वर्षमा नियमित अग्रगामी सेवा सुरु गरे, १८ वर्षमा सहायक सेवक नियुक्त भए अनि अहिले बेथेलमा सेवा गर्दै छन्। तिनी भन्छन्: “बप्तिस्मा गर्ने निर्णय गरेकोमा मलाई कुनै पछुतो छैन। मैले यहोवा अनि उहाँको सङ्गठनसित सम्बन्धित थुप्रै सन्तोषजनक कामहरू गर्न सकेको छु।” तपाईं पनि बप्तिस्मा गर्ने विचार गर्दै हुनुहुन्छ भने त्यसको लागि कसरी तयारी गर्न सक्नुहुन्छ? यस प्रश्नको जवाफ हामी अर्को लेखमा पाउनेछौं।