सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जवानहरू हो—तपाईं बप्तिस्माको लागि कसरी तयारी गर्न सक्नुहुन्छ?

जवानहरू हो—तपाईं बप्तिस्माको लागि कसरी तयारी गर्न सक्नुहुन्छ?

“हे मेरा परमेश्वर, तपाईंको इच्छाबमोजिम गर्न म प्रसन्न छु।”—भज. ४०:८.

गीत: ५१, ५८

१, २. (क) बप्तिस्मा किन गम्भीर कुरा हो? (ख) बप्तिस्मा गर्ने व्यक्ति कुन कुरामा पक्का हुनुपर्छ?

के तपाईं पनि जवान हुनुहुन्छ अनि बप्तिस्मा गर्ने विचार गर्दै हुनुहुन्छ? त्यसो हो भने तपाईंको लागि यो सबैभन्दा ठूलो सुअवसर हो। अघिल्लो लेखले बताएझैं बप्तिस्मा गर्नु भनेको गम्भीर कुरा हो। बप्तिस्मा गर्दा तपाईंले यहोवालाई आफ्नो जीवन समर्पण गरिसक्नुभयो भन्ने देखिन्छ, यानिकी तपाईंले आफ्नो जीवनमा अरू कुनै पनि कुरालाई भन्दा यहोवाको इच्छालाई प्राथमिकता दिन्छु अनि सधैं उहाँको सेवा गर्छु भनेर वाचा गरिसक्नुभएको देखिन्छ। त्यसैले परिपक्व भइसकेपछि, मनैदेखि बप्तिस्मा गर्ने इच्छा जागेपछि अनि समर्पणको वास्तविक अर्थ बुझेपछि मात्र बप्तिस्मा गर्नु बेस हुन्छ।

तर बप्तिस्माको लागि आफू तयार छु कि छैन भनेर पक्का हुन सक्नुभएन भने नि? अथवा तपाईं बप्तिस्मा गर्न चाहनुहुन्छ तर तपाईंको आमाबाबुले तपाईं अझै अनुभवी भएको र तपाईंले अझ केही समय पर्खेको चाहन्छन्‌ भने नि? निराश नहुनुहोस्। बरु यो समयलाई उन्नति गर्ने मौकाको रूपमा लिनुहोस्। त्यसो गर्नुभयो भने तपाईंले छिट्टै बप्तिस्मा गर्न सक्नुहुनेछ। यो कुरालाई मनमा राख्दै तपाईंले निम्न तीन क्षेत्रमा उन्नति गर्ने लक्ष्य राख्न सक्नुहुन्छ: (१) विश्वास (२) काम (३) कृतज्ञता।

विश्वास

३, ४. तिमोथीको उदाहरणबाट जवानहरूले कस्तो पाठ सिक्न सक्छन्‌?

तपाईं यी प्रश्नहरूको जवाफ कसरी दिनुहुन्छ विचार गर्नुहोस्: परमेश्वर हुनुहुन्छ भनेर म किन विश्वास गर्छु? बाइबल परमेश्वरको वचन हो भनेर मलाई कुन कुराले विश्वस्त बनाएको छ? मलाई संसारको जीवनशैली अपनाउनुभन्दा परमेश्वरको नैतिक स्तरअनुसार जीवन बिताउनु उचित लाग्नुको कारण के हो? यी प्रश्नहरू तपाईंको मनमा शङ्का उब्जाउन सोधिएका त होइनन्‌; बरु यी प्रश्नहरूले तपाईंलाई प्रेषित पावलको यो सल्लाह पालन गर्न मदत गर्छ: “परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ भनी राम्ररी थाह पाउन सक।” (रोमी १२:२) तर रोमका ख्रीष्टियनहरूले आफूले पहिल्यै स्वीकारिसकेको कुराबारे अझै राम्ररी थाह पाउनुपर्ने कुन कुरा थियो र?

बाइबलमा दिइएको तिमोथीको उदाहरण विचार गर्नुहोस्। तिनलाई धर्मशास्त्रमा के लेखिएको छ भन्ने विषयमा राम्रो ज्ञान थियो। तिनलाई “शैशवकालदेखि” नै तिनकी आमा र बज्यैले सिकाएका थिए। तैपनि पावलले तिमोथीलाई यस्तो आग्रह गरे: “आफूले सिकेका र तिमीलाई विश्वस्त पारिएका कुराहरूमा लागिरह।” (२ तिमो. ३:१४, १५) हो, तिमोथी आफूले सत्य भेट्टाएको कुरामा विश्वस्त थिए। तिनले त्यसलाई स्वीकारे पनि; आमा वा बज्यैले ‘गर भनेकोले’ होइन, तर आफ्नो सोचविचार गर्ने क्षमता चलाएपछि अनि आफूले बुझेका कुरामा विश्वस्त भएपछि मात्र तिनले त्यस्तो कदम चालेका थिए।रोमी १२:१ पढ्नुहोस्।

५, ६. जवान छँदै “सोचविचार गर्ने क्षमता” चलाउन सिक्नु किन महत्त्वपूर्ण छ?

तपाईं नि? हुन सक्छ, तपाईंले बाइबलको सत्य कुरा सिक्नुभएको लामो समय बितिसक्यो। त्यसो हो भने तपाईंले विश्वास गर्नुका कारणबारे जाँच्ने लक्ष्य बनाए कसो होला? यसो गर्दा तपाईंको विश्वास बलियो हुनेछ अनि साथीहरूको दबाबको सामु घुँडा नटेक्न, संसारको अफवाहमा नबहकिन अनि आफ्नै मनको बहकाउमा नपर्न मदत पाउनुहुनेछ।

जवान छँदै “सोचविचार गर्ने क्षमता” चलाउन सिक्नुभयो भने तपाईंले साथीहरूको विभिन्न प्रश्नको चित्तबुझ्दो जवाफ दिन सक्नुहुनेछ। जस्तै: तिनीहरूले तपाईंलाई यस्ता प्रश्नहरू सोध्न सक्छन्‌: ‘परमेश्वर हुनुहुन्छ भन्ने के प्रमाण छ? परमेश्वर मायालु हुनुहुन्छ भने उहाँले किन दुष्टता नहटाउनुभएको? परमेश्वरको अस्तित्व सधैंभरि रहन्छ भन्ने पनि छ र?’ यदि तपाईंले पहिल्यै तयारी गरिसक्नुभएको छ भने साथीहरूले यी प्रश्नहरू सोध्दा तपाईंको विश्वास कमजोर हुनेछैन, बरु व्यक्तिगत अध्ययन गर्दा अझै थप अनुसन्धान गर्न जुरमुरिनुहुनेछ।

७-९. अनलाइनमा भएको अध्ययन निर्देशिकाले तपाईंको विश्वास बलियो बनाउन कसरी मदत गर्छ?

लगनशील भएर व्यक्तिगत अध्ययन गर्ने बानीले तपाईंलाई प्रश्नहरूको जवाफ भेट्टाउन, शङ्का मेटाउन अनि विश्वास बलियो बनाउन मदत गर्छ। (प्रेषि. १७:११) यसको लागि हामीसित थुप्रै सामग्रीहरू छन्‌। जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्न भन्ने अङ्ग्रेजी पुस्तिका अनि के तपाईंको चासो राख्ने सृष्टिकर्ता हुनुहुन्छ? भन्ने अङ्ग्रेजी किताबबाट धेरैले मदत पाएका छन्‌। साथै थुप्रै जवानहरूले अनलाइनमा शृङ्खलाबद्ध रूपमा आउने “बाइबलले वास्तवमा के सिकाउँछ?” भन्ने भागबाट पनि लाभ उठाएका छन्‌। यसको लागि तपाईं jw.org मा जान सक्नुहुन्छ। त्यसपछि “बाइबलको शिक्षा” भन्ने भाग हेर्नुहोस्। त्यसमा भएको विभिन्न अध्ययन निर्देशिका तपाईंको विश्वास बलियो बनाउन तयार पारिएको हो।

पहिल्यै बाइबल पढिसक्नुभएकोले ती अध्ययन निर्देशिकामा दिइएका केही प्रश्नहरूको जवाफ तपाईं तुरुन्तै दिन सक्नुहुन्छ होला। तर त्यो जवाफ सही हो भनेर तपाईं किन पक्का हुन सक्नुहुन्छ? अध्ययन निर्देशिकाले तपाईंलाई थुप्रै बाइबल पदहरूमा तर्क गर्न अनि त्यसबारे तपाईंको विचार लेख्न पनि मदत गर्छ। बाइबलमा आधारित आफ्नो विश्वास अरूलाई बताउनको लागि तयारी गर्न पनि यसले तपाईंलाई मदत गर्छ। अनलाइनमा भएको “बाइबलले वास्तवमा के सिकाउँछ?” भन्ने भागले थुप्रै जवानहरूलाई आफ्नो विश्वास बलियो बनाउन मदत गरिरहेको छ। तपाईं पनि इन्टरनेट चलाउनुहुन्छ भने यो शृङ्खलालाई आफ्नो व्यक्तिगत अध्ययनको भाग बनाए कसो होला?

आफ्नो विश्वास बलियो बनाउँदा तपाईंले बप्तिस्माको लागि महत्त्वपूर्ण कदम चालिरहनुभएको हुनेछ। एक किशोरी बहिनी भन्छिन्‌: “बप्तिस्मा गर्ने निर्णय गर्नुअघि मैले राम्ररी बाइबल अध्ययन गरें; यो नै साँचो धर्म हो भनेर बुझ्न सकें। अनि हरेक दिन मैले आफ्नो विश्वास झन्‌झनै बलियो बनाउन सकेकी छु।”

काम

१०. बप्तिस्मा गरेका ख्रीष्टियनले आफ्नो विश्वास कामबाट देखाएको आशा गर्नु किन व्यावहारिक छ?

१० बाइबल भन्छ: “विश्वास . . . कामबाट प्रकट हुँदैन भने त्यो मरेको हुन्छ।” (याकू. २:१७) तपाईंको विश्वास बलियो छ भने त्यो विश्वास कामबाट देखाएको आशा गरिन्छ। बाइबलमा बताइएझैं “पवित्र आचरण” देखाएर अनि “परमेश्वरप्रतिको भक्ति प्रकट हुने कामहरू” गरेर तपाईं आफ्नो विश्वास कामद्वारा देखाउन सक्नुहुन्छ।२ पत्रुस ३:११ पढ्नुहोस्।

११. “पवित्र आचरण”-बारे बताउनुहोस्।

११ “पवित्र आचरण” देखाउन तपाईं नैतिक तवरमा स्वच्छ हुनै पर्छ। यस सन्दर्भमा तपाईं कस्तो हुनुहुन्छ? उदाहरणको लागि, बितेका छ महिना तपाईंले कसरी बिताउनुभयो, सोच्नुहोस्। तपाईंको “सोच्ने-बुझ्ने क्षमता”-ले सही र गलत छुट्टयाउने तालिम पाइसक्यो भनेर कसरी देखाउनुभयो? (हिब्रू ५:१४) प्रलोभन आउँदा वा साथीहरूको दबाब आउँदा प्रतिरोध गर्नुभएको कुनै घटना सम्झन सक्नुहुन्छ कि? तपाईंले स्कुलमा देखाउने आचरणमा के तपाईंको विश्वास झल्किन्छ? साथीहरूको गिल्लाबाट बच्न उनीहरूसितै तालमा ताल मिलाउनुको सट्टा के तपाईं आफ्नो विश्वासमा अडिग हुनुहुन्छ? (१ पत्रु. ४:३, ४) हो, सबै मानिस त्रुटिपूर्ण छन्‌। यहोवाको सेवामा लामो समय बिताएकाहरूलाई पनि कहिलेकाहीं अरूसामु आफ्नो विश्वासको अडान लिन गाह्रो हुन्छ। तर यहोवामा समर्पित व्यक्ति उहाँको नाम वहन गर्न पाएकोमा सधैं गर्व गर्छन्‌ अनि यो कुरा आफ्नो कामबाट पनि देखाउँछन्‌।

१२. “परमेश्वरप्रतिको भक्ति प्रकट हुने कामहरू” के-के हुन्‌ अनि त्यसलाई तपाईंले कुन दृष्टिकोणले हेर्नुपर्छ?

१२ “परमेश्वरप्रतिको भक्ति प्रकट हुने कामहरू” भनेको चाहिं के हो? यसमा तपाईंले मण्डलीमा गर्ने कामहरू समावेश छन्‌। जस्तै: सभामा उपस्थित हुनु र प्रचारमा भाग लिनु। यसमा अरूले नदेख्ने कामहरू पनि समावेश छन्‌। ती हुन्‌: व्यक्तिगत प्रार्थना अनि अध्ययन। यहोवालाई आफ्नो जीवन समर्पण गर्ने व्यक्ति यी कामहरू गर्न झिंजो मान्दैनन्‌। बरु तिनले राजा दाऊदको जस्तै मनोवृत्ति देखाउँछन्‌: “हे मेरा परमेश्वर, तपाईंको इच्छाबमोजिम गर्न म प्रसन्न छु। तपाईंको व्यवस्था मेरो हृदयमा छ।”—भज. ४०:८.

१३, १४. “परमेश्वरप्रतिको भक्ति प्रकट हुने कामहरू” गर्न तपाईंलाई केले मदत गर्छ अनि केही जवानहरूले यसबाट कसरी लाभ उठाएका छन्‌?

१३ युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ, खण्ड २ भन्ने अङ्ग्रेजी किताबको पृष्ठ ३०८ र ३०९ मा दिएको अभ्यास गर्नुभयो भने तपाईंले निश्‍चित लक्ष्यहरू राख्न सक्नुहुनेछ। त्यसमा यस्ता प्रश्नहरू दिइएका छन्‌: “तपाईं कुनै विषयमा कत्तिको तोकेरै प्रार्थना गर्नुहुन्छ अनि ती प्रार्थनाले यहोवाप्रतिको तपाईंको प्रेमबारे के प्रकट गर्छ?” “व्यक्तिगत अध्ययन गर्दा तपाईं के-कस्तो कुरा समावेश गर्नुहुन्छ?” “आमाबाबुले प्रचारमा भाग नलिए पनि के तपाईं प्रचार जानुहुन्छ?” त्यति मात्र होइन, प्रार्थना, व्यक्तिगत अध्ययन अनि प्रचारसम्बन्धी कुनै खास लक्ष्य राख्न चाहनुहुन्छ भने, त्यसबारे लेख्न पनि ती पृष्ठमा खाली ठाउँहरू दिइएका छन्‌।

१४ बप्तिस्मा गर्ने विचार गरिरहेका थुप्रै जवानहरूले यी अभ्यासहरू गरेर मदत पाएका छन्‌। एक जवान बहिनीले यसो भनिन्‌: “मैले आफ्ना लक्ष्यहरू के-के छन्‌ भनेर यो अभ्यास पन्नामा लेखें। अनि एक-एक गर्दै ती लक्ष्यहरू पूरा गरें; लगभग एक वर्षपछि नै म बप्तिस्माको लागि तयार भएँ।” अर्को जवान भाइले पनि यसरी नै लाभ उठाए। तिनले भने: “मलाई मेरो लक्ष्यहरू थाह थियो तर त्यसलाई लेखेर राख्दा ती हासिल गर्न थप मेहनत गर्न सकें।”

आमाबाबुले यहोवाको सेवा गर्न छोडे पनि के तपाईं उहाँको सेवा गरिरहनुहुन्छ? (अनुच्छेद १५ हेर्नुहोस्)

१५. समर्पण गर्ने निर्णय तपाईं आफैले गर्नुपर्छ, किन?

१५ त्यो अभ्यास पृष्ठमा गहिरिएर सोच्न लगाउने एउटा प्रश्न पनि छ। त्यो हो: “आमाबाबु अनि साथीभाइले यहोवाको सेवा गर्न छोडे पनि के तपाईं उहाँको सेवा गरिरहनुहुन्छ?” समर्पित अनि बप्तिस्मा गरेको ख्रीष्टियनको रूपमा तपाईंले यहोवासित व्यक्तिगत सम्बन्ध गाँस्नुभएको छ। त्यसैले उहाँको सेवा गर्ने कि नगर्ने भन्ने विषयमा आमाबाबु वा अरू कसैमा भर पर्ने त कुरै उठ्दैन। पवित्र आचरण देखाउनुभयो र परमेश्वरप्रतिको भक्ति प्रकट हुने कामहरू गर्नुभयो भने तपाईंले सत्यलाई आफ्नो बनाउनुभएको अनि बप्तिस्मा गर्न प्रगति गरिरहनुभएको प्रमाणित हुनेछ।

कृतज्ञता

१६, १७. (क) ख्रीष्टियन बन्न कुन कुराले उत्प्रेरित हुनुपर्छ? (ख) फिरौतीको बलिदानप्रति कृतज्ञ हुने सन्दर्भमा एउटा उदाहरण दिनुहोस्।

१६ एक जना मानिस जो मोशाको व्यवस्थामा पोख्त थियो, उसले येशूलाई सोध्यो: “व्यवस्थाको सबैभन्दा ठूलो आज्ञा कुन हो?” येशूले जवाफ दिनुभयो: “तिमीले यहोवा तिम्रा परमेश्वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू।” (मत्ती २२:३५-३७) बप्तिस्मा गर्ने अनि ख्रीष्टियन बन्ने हो भने यहोवालाई सारा मनले प्रेम गर्नुपर्छ भनेर येशूले जोड दिनुभयो। यहोवाप्रतिको प्रेमलाई बढाउँदै लैजाने सबैभन्दा राम्रो तरिका उहाँले प्रबन्ध गर्नुभएको महान्‌ उपहार अर्थात्‌ येशूको फिरौतीको बलिदानबारे मनन गर्नु हो। (२ कोरिन्थी ५:१४, १५; १ यूहन्ना ४:९, १९ पढ्नुहोस्) फिरौतीको प्रबन्धको विषयमा र यसले तपाईंको जीवनमा कस्तो अर्थ राख्छ भन्ने विषयमा मनन गर्नुभयो भने तपाईं कृतज्ञताले ओतप्रोत हुनुहुनेछ।

१७ फिरौतीको बलिदानप्रति हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ भन्ने विषयमा बुझ्न यो उदाहरण विचार गर्नुहोस्: मानौं, तपाईंलाई कसैले पानीमा डुब्नदेखि बचायो। त्यसपछि के तपाईं सरासर आफ्नो घर जानुहुन्छ, लुगा फेर्नुहुन्छ अनि तपाईंलाई बचाउने व्यक्तिले लगाएको गुण बिर्सनुहुन्छ? यस्तो त पक्कै गर्नुहुन्न नि होइन र? बरु जसले तपाईंलाई बचायो, ऊप्रति ऋणी महसुस गर्नुहुन्छ होला। वास्तवमा भन्ने हो भने तपाईं आफ्नो जीवन त्यस व्यक्तिको लागि अर्पण गर्न उत्प्रेरित हुनुहुनेछ। यहोवा परमेश्वर र येशूले हाम्रो लागि ती व्यक्तिले भन्दा पनि ठूलो गुण लगाउनुभएको छ। उहाँहरूले फिरौतीको बलिदानको प्रबन्ध नगर्नुभएको भए हामी पाप र मृत्युको भुमरीमा डुब्ने थियौं। तर परमेश्वरले देखाउनुभएको महान्‌ प्रेमले गर्दा हामीले यसै पृथ्वीमा हुने प्रमोदवनमा सधैंभरि बाँच्ने आशा पाएका छौं।

१८, १९. (क) यहोवासित वाचा बाँध्न किन डराउनुपर्दैन? (ख) यहोवाको सेवा गर्दा जीवन कसरी अझ राम्रो हुन्छ?

१८ यहोवाले तपाईंको लागि जे-जति गर्नुभएको छ, के तपाईं त्यसको लागि कृतज्ञ हुनुहुन्छ? यदि हुनुहुन्छ भने आफ्नो जीवन यहोवालाई समर्पण गरेर बप्तिस्मा गर्नु एकदमै उचित छ। नबिर्सनुहोस्, तपाईंको समर्पणमा गम्भीर वाचा समावेश छ; त्यो हो, जस्तोसुकै अवस्था आइपरे पनि सधैंभरि यहोवाको इच्छाअनुसार गर्ने। के यस्तो वाचा बाँध्न तपाईं डराउनुपर्छ? अहँ पर्दैन। सारा मनले सेवा गर्नेहरूलाई यहोवा परमेश्वरले ख्याल राख्नुहुन्छ अनि “उहाँको खोजी गरिरहनेहरूलाई इनाम दिनुहुन्छ” भनेर नबिर्सनुहोस्। (हिब्रू ११:६) यहोवालाई आफ्नो जीवन समर्पण गर्दा र बप्तिस्मा गर्दा तपाईंको जीवन बर्बाद हुने होइन; बरु तपाईंको जीवन हराभरा हुनेछ। किशोरावस्थामा पुग्नुअघि नै बप्तिस्मा गरेका २४ वर्षे भाइ भन्नुहुन्छ: “अलिक हुर्केपछि बप्तिस्मा गरेको भए सायद अझ गहिरो कुरा बुझ्थें होला तर बेलैमा यहोवालाई आफ्नो जीवन समर्पण गरेकोले संसारको अलमलाउने कुराको पछि लाग्नदेखि जोगिन सकेको छु।”

१९ यहोवा र सैतानमा आकाश जमिनको फरक छ; यहोवा हाम्रो निकै चासो राख्नुहुन्छ तर सैतान स्वार्थी छ, उसलाई हाम्रो फिटिक्कै चासो छैन। त्यसले आफ्नो पछि लाग्नेहरूलाई राम्रो इनाम दिन सक्दैन। देओस् पनि कसरी? जसको आफ्नै भविष्य अन्धकारमय छ अनि जसको कुनै उज्ज्वल आशा छैन, उसले हामीलाई कसरी राम्रो इनाम दिन सक्छ र? आफूसित नभएको कुरा त उसले दिने कुरै आउँदैन नि, होइन र? आफू अन्धकारतिर धकेलिंदै गएकोले उसले हामीलाई पनि अन्धकारमय भविष्यबाहेक केही दिन सक्दैन।—प्रका. २०:१०.

२०. समर्पण र बप्तिस्मा गर्नका लागि अघि बढ्न जवानहरूले के गर्न सक्छन्‌? (“ यी लेखहरूले तपाईंलाई उन्नति गर्न मदत गर्नेछ” भन्ने पेटी हेर्नुहोस्)

२० कुरा स्पष्ट छ, यहोवालाई आफ्नो जीवन समर्पण गर्नु एकदमै सही निर्णय हो। के तपाईं यस्तो कदम चाल्न तयार हुनुहुन्छ? यदि हुनुहुन्छ भने पछि नहट्नुहोस्। अर्कोतर्फ यदि तपाईंलाई सोचविचार गर्न समय चाहिन्छ भने यस लेखमा दिइएको सल्लाह लागू गर्दै अघि बढ्नुहोस्। प्रेषित पावलले फिलिप्पीका ख्रीष्टियनहरूलाई यस्तो लेखे: “हामीले जुन हदसम्म प्रगति गरिसकेका छौं, त्यहीबमोजिम व्यवस्थित ढङ्गमा अघि बढिरहौं।” (फिलि. ३:१६) यो सुझाव लागू गर्नुभयो भने तपाईं चाँडै नै यहोवालाई आफ्नो जीवन समर्पण गर्न र बप्तिस्मा गर्न जुरमुरिनुहुनेछ।