सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले आफ्ना मानिसहरूलाई जीवनको मार्गतर्फ डोऱ्याउनुहुन्छ

यहोवाले आफ्ना मानिसहरूलाई जीवनको मार्गतर्फ डोऱ्याउनुहुन्छ

“बाटो यही हो, यसैमा तिमीहरू हिंड।”—यशै. ३०:२१.

गीत: ६५, ४८

१, २. (क) कुन चेतावनीले थुप्रैको ज्यान जोगाएको छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्) (ख) परमेश्वरका सेवकहरूले कस्तो डोऱ्याइ पाएका छन्‌?

उत्तर अमेरिकामा रेल-वे पार गर्नुपर्ने सडकहरूमा यस्तो साइनबोर्ड राखिएको थियो: “रोक्नुहोस्! हेर्नुहोस्! र सुन्नुहोस्!” करिब १०० वर्षभन्दा अघि राखिएका ती साइनबोर्डहरूले थुप्रैको ज्यान जोगायो। तर त्यस्तो बोर्ड राखिनुको कारण के थियो? सडकमा गुडिरहेका गाडीहरूले बेटाइममा रेल-वे पार नगरोस् र हुइँकिंदै आएको रेलले ठक्कर नदेओस् भनेर नै त्यस्तो साइनबोर्ड राखिएको थियो। साँच्चै, त्यस्तो बोर्डमा लेखिएको चेतावनीमा ध्यान दिंदा थुप्रैको ज्यान जोगियो।

यहोवा परमेश्वरले हाम्रो लागि सुरक्षाको बोर्ड टाँग्नेभन्दा पनि ठूलो काम गर्नुभएको छ। उहाँले हाम्रो अगाडि बसेर अनन्त जीवनको बाटो देखाइरहनुभएको छ र खतराहरूदेखि सजग गराइरहनुभएको छ। अझ भन्ने हो भने, हामीलाई मायालु गोठालोले जस्तै डोऱ्याउँदै हुनुहुन्छ। सही मार्ग देखाउन र खतरनाक बाटोमा जानदेखि रोक्न उहाँले आफ्ना भेडाहरूलाई निर्देशन र चेतावनी दिनुहुन्छ।यशैया ३०:२०, २१ पढ्नुहोस्।

यहोवाले आफ्ना सेवकहरूलाई सधैं डोऱ्याउनुहुन्छ

३. मानिसहरू मृत्युको बाटोतर्फ कसरी धकेलियो?

सृष्टिको सुरुदेखि नै यहोवाले मानिसहरूलाई स्पष्ट जानकारी र निर्देशन दिंदै आउनुभएको छ। उदाहरणका लागि, अनन्त जीवन र आनन्द कसरी पाउन सकिन्छ, त्यस विषयमा उहाँले मानिसहरूलाई अदनको बगैंचामा स्पष्ट जानकारी दिनुभएको थियो। (उत्प. २:१५-१७) उहाँको निर्देशनअनुसारै चलेको भए आदम र हव्वाले नराम्रो नतिजा भोग्नुपर्ने थिएन; पीडै-पीडाको जिन्दगी जिउनुपर्ने अनि आशाविहीन भएर मर्नुपर्ने थिएन। तर हव्वाले परमेश्वरको आज्ञा पालन गर्नुभन्दा तुच्छ जनावरको सल्लाह सुन्न निको मानिन्‌। अनि आदमले पनि मरणशील मानिस अर्थात्‌ आफ्नी पत्नीको कुरा सुनिन्‌। तिनीहरू दुवैले मायालु बुबातर्फ आफ्नो पिठिउँ फर्काए। फलस्वरूप, सम्पूर्ण मानव समाज नै मृत्युको बाटोतर्फ धकेलिएको छ।

४. (क) जलप्रलयपछि किन नयाँ निर्देशनको खाँचो पऱ्यो? (ख) नयाँ परिस्थिति सृजना भएलगत्तै यहोवाको सोचाइबारे कुन कुरा स्पष्ट भयो?

नूहको समयमा पनि यहोवाले प्राण रक्षा गर्ने अर्थात्‌ जीवनको रक्षा गर्ने निर्देशन दिनुभयो। उहाँले मानिसहरूलाई महा-जलप्रलयपछि रगत खान वा पिउन निषेध गर्नुभयो। यस्तो निर्देशन दिनु किन जरुरी थियो? किनभने त्यतिबेलाको परिस्थिति परिवर्तन भइसकेको थियो। उहाँले मानिसहरूलाई जनावरहरूको मासु खाने अनुमति दिन लाग्नुभएको थियो। त्यसैकारण मानिसहरूलाई यो नयाँ निर्देशनको आवश्यकता पऱ्यो: “मासु त्यसको प्राणसमेत अर्थात्‌ रगतसमेत नखाओ।” (उत्प. ९:१-४) यो नयाँ निर्देशनबाट यहोवाले रगतप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ भनेर हामी राम्ररी बुझ्न सक्छौं; उहाँले रगतलाई प्राणसित तुलना गर्नुभएको छ अनि प्राण अर्थात्‌ जीवन उहाँकै हो। जीवनको स्रोत अनि सृष्टिकर्ता उहाँ नै भएकोले यससम्बन्धी नियम बनाउने पूरापूर अधिकार उहाँसित छ। जस्तै: उहाँले मानिसहरूलाई सङ्गी मानिसको ज्यान नलिनू भन्ने आज्ञा दिनुभएको थियो। उहाँ जीवन र रगतलाई पवित्र ठान्नुहुन्छ; त्यसैले यसको खेलबाड गर्ने जोसुकैलाई उहाँले दण्ड दिनुहुनेछ।—उत्प. ९:५, ६.

५. अब हामी कुन कुरा विचार गर्नेछौं? किन?

शताब्दियौंको दौडान यहोवाले कसरी डोऱ्याइ दिंदै आउनुभएको छ, त्यसबारे अब हामी केही उदाहरण विचार गरौं। यसले हामीलाई नयाँ संसारमा यहोवाको डोऱ्याइअनुसार चल्न अझै जुरमुऱ्याउनेछ।

नयाँ राष्ट्र नयाँ निर्देशन

६. परमेश्वरका सेवकहरूलाई मोशाको व्यवस्थाको आवश्यकता किन पऱ्यो? इस्राएलीहरूले कस्तो मनोवृत्ति राख्नुपर्थ्यो?

मोशाको समयमा यहोवाले आफ्ना मानिसहरूलाई असल आचरण र उपासनाको सन्दर्भमा नयाँ निर्देशन दिनुभयो। किन? किनभने यतिबेलाको परिस्थिति पनि परिवर्तन भइसकेको थियो। याकूबका सन्तानहरू मिश्रको दमनमा परेको २०० वर्षभन्दा धेरै भइसकेको थियो। त्यहाँका मानिसहरू मृतकहरूको उपासना गर्न, मूर्तिपूजा गर्न अनि परमेश्वरलाई मन नपर्ने विश्वास र रीतिथितिहरू मान्न तल्लीन थिए। तर उनीहरूको चङ्गुलबाट छुटेपछि परमेश्वरका जनहरूलाई नयाँ निर्देशनको खाँचो पऱ्यो। उनीहरूले अब कैदीको रूपमा होइन तर यहोवाको व्यवस्थाअनुसार चल्ने स्वतन्त्र राष्ट्रको रूपमा जीवन बिताउने थिए। “व्यवस्था” भन्ने शब्दले मूल भाषामा “निर्देशन, डोऱ्याइ र जानकारी” भन्ने अर्थ पनि दिन्छ भनेर कुनै-कुनै स्रोतले बताएको छ। मोशाको व्यवस्थाले अरू राष्ट्रको खस्कँदो नैतिकस्तर अनि धार्मिक कामकुराबाट इस्राएलीहरूलाई जोगाउने काम गऱ्यो। परमेश्वरको कुरा सुन्दा इस्राएलीहरूले आशिष्‌ पाए तर उहाँको कुरा नमान्दा उनीहरूले एकदमै नराम्रो नतिजा भोग्नुपऱ्यो।व्यवस्था २८:१, २, १५ पढ्नुहोस्।

७. (क) यहोवाले आफ्ना मानिसहरूलाई किन निर्देशन दिनुभयो? (ख) इस्राएलीहरूका लागि व्यवस्था किन अभिभावकजस्तै भयो?

नयाँ निर्देशन चाहिनुको अर्को कारण पनि छ। त्यतिबेला दिइएको व्यवस्थाले इस्राएलीहरूलाई यहोवाको उद्देश्यसित सम्बन्धित महत्त्वपूर्ण घडीको लागि तयार पार्ने थियो। हो, त्यसले उनीहरूलाई मसीह अर्थात्‌ येशू ख्रीष्ट आउने समयको लागि तयार पार्ने थियो। इस्राएलीहरूले आफू त्रुटिपूर्ण भएको कुरा व्यवस्थाको पुस्तक पाएपछि जति स्पष्टसित बुझे, त्यत्तिको स्पष्टसित पहिला कहिल्यै बुझेका थिएनन्‌। साथै, आफ्नो पापबाट पूर्ण रूपमा छुटकारा पाउने हो भने फिरौतीको बलिदान अर्थात्‌ एउटा त्रुटिरहित बलिदानको आवश्यकता छ भनेर पनि त्यो व्यवस्थाले इस्राएलीहरूलाई सम्झायो। (गला. ३:१९; हिब्रू १०:१-१०) त्यति मात्र होइन, मसीह आउने पुर्खालाई जोगाउन अनि मसीहलाई चिन्न पनि त्यो व्यवस्थाले मदत गऱ्यो। ख्रीष्टसम्म पुऱ्याउन व्यवस्थाले अस्थायी मार्ग-दर्शक अर्थात्‌ “अभिभावक”-को काम गऱ्यो।—गला. ३:२३, २४.

८. हामी मोशाको व्यवस्थामा लुकेको सिद्धान्तअनुसार चल्नु किन आवश्यक छ?

इस्राएलीहरूलाई दिइएको व्यवस्थाबाट आज हामीले पनि लाभ उठाउन सक्छौं। कसरी? व्यवस्थामा लुकेको सिद्धान्त बुझ्न एकछिन ‘रोकिनुहोस्’ अनि ‘हेर्नुहोस्।’ हुन त हामी त्यस व्यवस्थाको अधीनमा छैनौं, तैपनि हामी दैनिक जीवन बिताउन अनि पवित्र परमेश्वर यहोवाको उपासना गर्न त्यसमा भएका निर्देशनहरूमा भर पर्न सक्छौं। हामीले ती व्यवस्थामा दिइएका नियमहरूबाट केही सिकोस्, त्यसमा लुकेको सिद्धान्तअनुसार चलोस् अनि ख्रीष्टियनहरूलाई दिइएको उच्च नैतिक स्तर, जुन व्यवस्थाभन्दा पनि महान्‌ छ, त्यसप्रति कृतज्ञ हुन सकोस् भनेर नै परमेश्वरले ती नियमहरू बाइबलमा लेख्न लगाउनुभएको हो। येशू के भन्नुहुन्छ, सुन्नुहोस्: “तिमीहरूले यसो भनिएको सुनेका छौ: ‘तिमीले आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध नराख्नू।’ तर म तिमीहरूलाई भन्छु, जसले कुनै स्त्रीलाई हेरिरहन्छ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित यौनसम्बन्ध राखिसकेको हुन्छ।” त्यसैले हामीले अवैध यौनसम्बन्ध नराख्ने मात्र होइन, त्यसतर्फ धकेल्ने जुनसुकै कुरादेखि अलग रहनुपर्छ।—मत्ती ५:२७, २८.

९. नयाँ निर्देशनको खाँचो पर्ने कस्तो परिस्थिति सृजना भयो?

येशू मसीहको रूपमा देखापरिसकेपछि फेरि नयाँ निर्देशनको आवश्यकता पऱ्यो अनि यहोवाको उद्देश्यबारे थप नयाँ कुरा प्रकट भयो। यतिबेला फेरि परिस्थिति परिवर्तन भइसकेको थियो। इस्वी संवत्‌ ३३ मा यहोवाले इस्राएल राष्ट्रलाई त्याग्नुभयो अनि त्यसको ठाउँमा आफ्नो निज प्रजा हुन ख्रीष्टियन मण्डलीलाई छान्नुभयो।

आध्यात्मिक इस्राएलका लागि निर्देशन

१०. ख्रीष्टियन मण्डलीलाई नयाँ नियम दिइनुको कारण के थियो? यो नियम इस्राएलीहरूलाई दिइएको नियमभन्दा कसरी फरक थियो?

१० प्रथम शताब्दीमा ख्रीष्टियन मण्डलीको सदस्य भएकाहरूले उपासना र आचरणको सन्दर्भमा नयाँ अनि थप जानकारी पाए। परमेश्वरमा समर्पित यी सेवकहरू नयाँ करारको अधीनमा थिए। मोशाको व्यवस्था एउटा राष्ट्र अर्थात्‌ साँच्चैको इस्राएल राष्ट्रको लागि दिइएको थियो। तर आध्यात्मिक इस्राएलचाहिं विभिन्न राष्ट्र अनि पृष्ठभूमिका मानिसहरू मिलेर बन्ने थियो। हो, “परमेश्वर पक्षपाती हुनुहुन्न, बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र उहाँको स्तरबमोजिम असल काम गर्छ, उसलाई स्वीकार्नुहुन्छ।” (प्रेषि. १०:३४, ३५) मोशाको व्यवस्थाका नियमहरू ढुङ्गाका पाटीमा लेखिएका थिए तर “ख्रीष्टको व्यवस्था” आध्यात्मिक इस्राएलका मानिसको मनमा कुँदिएका थिए। साँच्चैको इस्राएल राष्ट्रले प्रतिज्ञा गरिएको देशमा पुगेपछि पाटीमा लेखिएका नियमहरू पालन गर्नुपर्थ्यो तर आध्यात्मिक इस्राएल भने मनमा कुँदिएका सिद्धान्तअनुसार चल्नुपर्थ्यो। “ख्रीष्टको व्यवस्था” संसारको जुनसुकै कुनामा बस्ने ख्रीष्टियनहरूलाई पनि लागू हुने थियो र त्यसबाट उनीहरूले लाभ उठाउन सक्थे।—गला. ६:२.

११. “ख्रीष्टको व्यवस्था”-ले ख्रीष्टियन जीवनको कुन दुई पक्षलाई असर गर्छ?

११ यहोवाले आफ्नो छोरा येशूमार्फत दिनुभएको निर्देशन पालन गरेको खण्डमा आध्यात्मिक इस्राएलले ठूलो लाभ उठाउने थियो। नयाँ करारबारे बताउनुभन्दा ठीकअघि येशूले दुइटा महत्त्वपूर्ण आज्ञा दिनुभयो। एउटा आज्ञा प्रचारकार्यसित सम्बन्धित थियो। अर्को चाहिं येशूका चेलाहरूको आचरण अनि उनीहरूले सङ्गी विश्वासीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने विषयमा केन्द्रित थियो। ती आज्ञाहरू सबै ख्रीष्टियनहरूका लागि दिइएको थियो; त्यसैले आज पनि सम्पूर्ण साँचो उपासकहरूले त्यो पालन गर्नुपर्छ, चाहे उनीहरूको आशा स्वर्ग जाने होस् या यसै पृथ्वीमा बस्ने।

१२. प्रचारकार्यमा कस्तो परिवर्तन भयो?

१२ सुसमाचार प्रचार गर्ने सन्दर्भमा येशूले आफ्ना चेलाहरूलाई कस्तो निर्देशन दिनुभएको थियो, विचार गर्नुहोस्। प्रचार गर्ने तरिका र उद्देश्य परिवर्तन भइसकेको थियो। त्यसभन्दा अघि यहोवाको सेवा गर्न इस्राएलमा आउने व्यक्तिहरूलाई स्वागत गरिन्थ्यो। (१ राजा ८:४१-४३) तर त्यसपछि येशूले बेग्लै खालको निर्देशन दिनुभयो। मत्ती २८:१९, २० मा हेर्ने हो भने उहाँले “जाओ” सबै मानिसहरूलाई चेला बनाओ भन्नुभएको छ। (पढ्नुहोस्) यहोवा परमेश्वर अबदेखि सारा संसारमा प्रचार गरेको चाहनुहुन्थ्यो। यो कुरा इस्वी संवत्‌ ३३ पेन्तिकोसमा अझ स्पष्ट भयो। त्यतिबेला नयाँ ख्रीष्टियन मण्डलीका लगभग १२० जना सदस्यहरूमाथि उहाँको पवित्र शक्ति खन्याइयो। यसले गर्दा ती सदस्यहरूले चमत्कारपूर्ण तरिकामा यहूदी अनि धर्म परिवर्तन गरेर यहूदी बनेकाहरूलाई विभिन्न भाषामा प्रचार गर्न सके। (प्रेषि. २:४-११) अर्को कुरा, प्रचार गर्नुपर्ने इलाका पनि थपियो; उनीहरूले अब सामरियामा पनि प्रचार गर्नुपर्थ्यो। इस्वी संवत्‌ ३६ देखि त झन्‌ खतना नगरेका गैर-इस्राएलीहरूलाई समेत प्रचार गर्न थालियो। हो, उनीहरूको प्रचारकार्य यहूदीहरूमा मात्र सीमित रहेन; अब उनीहरूले सारा मानिसजातिलाई प्रचार गर्नुपर्थ्यो। मानौं उनीहरूको प्रचारको इलाका ‘सानो पोखरी’-बाट ‘सागर’-जत्तिकै ठूलो भयो।

१३, १४. (क) येशूको “नयाँ आज्ञा”-मा के समावेश छ? (ख) येशूको उदाहरणबाट हामी के सिक्न सक्छौं?

१३ अब सङ्गी विश्वासीलाई कस्तो व्यवहार गर्नुपर्छ, त्यस विषयमा कुरा गरौं। यस सन्दर्भमा येशूले “एउटा नयाँ आज्ञा” दिनुभयो। (यूहन्ना १३:३४, ३५ पढ्नुहोस्) हुन त हामीले सङ्गी विश्वासीलाई दिनदिनै प्रेम देखाउनुपर्छ। तर येशूको आज्ञामा यो कुरा मात्र समावेश थिएन; त्यस आज्ञामा आफ्नो भाइको लागि ज्यान दिन समेत इच्छुक हुनुपर्छ भन्ने कुरा समावेश छ। मोशाको व्यवस्थामा भने यो कुरा उल्लेख गरिएको थिएन।—मत्ती २२:३९; १ यूह. ३:१६.

१४ आत्मत्यागी प्रेम देखाउने सन्दर्भमा येशू सबैभन्दा राम्रो उदाहरण हुनुहुन्छ। उहाँ आफ्ना चेलाहरूलाई औधी माया गर्नुहुन्थ्यो; त्यसैले त उनीहरूको खातिर आफ्नो ज्यान दिन पनि पछि हट्नुभएन। आफ्ना सबै चेलाहरू पनि त्यसै गर्न इच्छुक भएको उहाँ चाहनुहुन्छ। त्यसैले सङ्गी ख्रीष्टियनका लागि जस्तोसुकै दुःख भोग्नुपरे पनि अथवा मृत्युको मुखमै धकेलिनु परे पनि पछि नहटौं।—१ थिस्स. २:८.

अहिलेका लागि अनि भविष्यका लागि निर्देशन

१५, १६. अहिले हाम्रो परिस्थिति कसरी परिवर्तन भएको छ? परमेश्वरले हामीलाई कसरी डोऱ्याउँदै हुनुहुन्छ?

१५ विशेषगरि, “विश्वासी र बुद्धिमान्‌ दास” नियुक्त गरेपछि येशूले आफ्ना मानिसहरूलाई ठीक-ठीक समयमा आध्यात्मिक भोजन दिइरहनुभएको छ। (मत्ती २४:४५-४७) यस आध्यात्मिक भोजनमा नयाँ परिस्थितिमा लागू हुने महत्त्वपूर्ण निर्देशनहरू पनि समावेश छन्‌। अहिलेको हाम्रो परिस्थिति पहिलाको भन्दा कसरी फरक छ?

१६ बाइबलमा बताइएअनुसार अहिले हामी “अन्तको दिनमा” बाँचिरहेका छौं अनि अब चाँडै नै हामीले संसारको सुरुदेखि अहिलेसम्म नभएको सङ्कष्ट भोग्नेछौं। (२ तिमो. ३:१; मर्कू. १३:१९) त्यतिमात्र होइन, सैतान र त्यसका चम्चाहरूलाई स्वर्गबाट यस पृथ्वीमा फालिएकोले अहिले पृथ्वीको अवस्था धिक्कार्न लायक भएको छ। (प्रका. १२:९, १२) साथै, अहिले हामीले अर्को एउटा महत्त्वपूर्ण र ऐतिहासिक काम पनि गर्नुपरेको छ। त्यो हो: संसारको कुना-कुनामा गएर प्रचार गर्ने र विभिन्न भाषाका मानिसहरूलाई सुसमाचार सुनाउने। यत्तिको व्यापक रूपमा त पहिला कहिल्यै प्रचार भएको थिएन!

१७, १८. निर्देशनहरू दिइँदा हामीले के गर्नुपर्छ?

१७ यहोवाको सङ्गठनले हामीलाई प्रचारकार्यको लागि थुप्रै सामग्री उपलब्ध गराएको छ। हामीले त्यसको पूरापूर सदुपयोग गर्नुपर्छ। के तपाईं पनि त्यसो गर्न तयार हुनुहुन्छ? ती सामग्रीहरू कसरी प्रयोग गर्ने अनि कसरी त्यसलाई अझै प्रभावकारी तरिकामा चलाउने भन्ने विषयमा सभाहरूमार्फत्‌ निर्देशन दिइँदा के तपाईं ध्यान दिनुहुन्छ? अनि त्यो निर्देशन यहोवाबाटै आएको हो भनेर सोच्नुहुन्छ?

१८ यहोवाको आशिष्‌ पाइरहने हो भने हामीले ख्रीष्टियन मण्डलीमार्फत दिइने हरेक निर्देशनमा ध्यान दिनुपर्छ। अहिलेदेखि नै आज्ञाकारी हुने बानी बसाल्यौं भने सैतानको सम्पूर्ण रीतिरिवाज नाश हुने “महासङ्कष्ट”-को बेला हामीलाई निर्देशनहरू पछ्याउन सजिलो हुनेछ। (मत्ती २४:२१) त्यसपछि सैतानको कुनै प्रभाव नभएको शान्तिमय नयाँ संसारमा बस्न हामीलाई फेरि नयाँ निर्देशनको खाँचो पर्नेछ।

यो पृथ्वी सुन्दर प्रमोदवनमा परिणत हुँदा हामीलाई आवश्यक निर्देशन दिन नयाँ पुस्तकहरू खोलिनेछन्‌ (अनुच्छेद १९, २० हेर्नुहोस्)

१९, २०. भविष्यमा कस्ता पुस्तकहरू खोलिनेछन्‌? परिणाम कस्तो हुनेछ?

१९ मोशाको समयमा इस्राएलीहरूलाई नयाँ निर्देशनको खाँचो परेको थियो अनि पछि ख्रीष्टियन मण्डलीले पनि नयाँ व्यवस्था अर्थात्‌ “ख्रीष्टको व्यवस्था” पालन गर्नुपर्ने भयो। त्यसैगरि नयाँ संसारमा पनि नयाँ निर्देशन दिनको लागि पुस्तकहरू खोलिनेछन्‌ भनेर बाइबल बताउँछ। (प्रकाश २०:१२ पढ्नुहोस्) मानिसजातिले त्यतिबेला के गरेको यहोवा चाहनुहुन्छ, त्यस विषयमा सायद ती पुस्तकहरूले नै स्पष्ट पार्नेछन्‌। ती पुस्तकहरू पढेर त्यतिबेलाका सबै मानिसले, यहाँसम्म कि पुनर्जीवित भएर आउनेहरूले समेत यहोवाको इच्छा राम्ररी बुझ्न सक्नेछन्‌। ती पुस्तकहरूले हामीलाई यहोवाको विचारबारे थप कुरा बुझ्न मदत गर्नेछ। परमेश्वरको वचन बाइबल अनि ती नयाँ पुस्तकहरूमा लेखिएका कुराहरू अझ राम्ररी बुझिसकेपछि हामीले यसै पृथ्वीमा परिणत हुने प्रमोदवनमा अरू मानिसहरूलाई प्रेम, आदर र सम्मानका साथ व्यवहार गर्न सक्नेछौं। (यशै. २६:९) हाम्रा राजा येशू ख्रीष्टको निर्देशन पछ्याउँदा त्यतिबेला हाम्रो शैक्षिक कार्यक्रम कत्ति व्यापक हुनेछ, कल्पना गर्नुहोस् त!

२० “ती पुस्तकहरूमा लेखिएबमोजिम” गर्नेहरूले पछि अनन्त जीवन पाउनेछन्‌। हो, यहोवा परमेश्वरले अन्तिम परीक्षाको दौडान वफादार रहनेहरूको नाम सदाका लागि “जीवनको पुस्तक”-मा लेख्नुहुनेछ। त्यसमा हामी पनि पर्न सक्छौं। त्यसैले परमेश्वरको वचन अध्ययन गर्दा ‘रोकिनुहोस्’, त्यसले हाम्रो लागि कस्तो अर्थ राख्छ, त्यो ‘हेर्नुहोस्’ अनि अहिले यहोवाले दिनुभएको निर्देशन पालन गर्दै ध्यानसित ‘सुन्नुहोस्।’ यसो गऱ्यौं भने हामीले महासङ्कष्ट पार गर्न सक्नेछौं र हाम्रा बुद्धिमान्‌ अनि मायालु परमेश्वर यहोवाबारे सधैंभरि सिकिरहन सक्नेछौं।—उप. ३:११; रोमी ११:३३.