सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“अर्ती सुन र बुद्धिमान्‌ हुँदै जाऊ”

“अर्ती सुन र बुद्धिमान्‌ हुँदै जाऊ”

“हे मेरा छोरा हो, . . . अर्ती सुन र बुद्धिमान्‌ हुँदै जाऊ।”—हितो. ८:३२, ३३.

गीत: ५६, ८९

१. हामी कसरी बुद्धि प्राप्त गर्न सक्छौँ? यसबाट हामीलाई कस्तो फाइदा हुन्छ?

यहोवा बुद्धिको श्रोत हुनुहुन्छ र उदारचित्तले अरूलाई पनि बुद्धि दिनुहुन्छ। याकूब १:५ भन्छ: “यदि तिमीहरूमध्ये कसैसित बुद्धिको कमी छ भने उसले परमेश्‍वरसित मागिरहोस्‌ र उसलाई त्यो दिइनेछ, किनकि उहाँले नझर्कीकन सबैलाई उदारचित्तले दिनुहुन्छ।” परमेश्‍वरले दिनुहुने बुद्धि प्राप्त गर्ने एउटा तरिका उहाँको अनुशासन स्विकारेर हो। त्यस्तो बुद्धिले हामीलाई नैतिक र आध्यात्मिक हानिबाट जोगाउँछ। (हितो. २:१०-१२) फलस्वरूप हामी “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक” बनाइराख्न सक्नेछौँ र हाम्रो निम्ति “अनन्त जीवन पाउने बाटो खुला” रहनेछ।—यहू. २१.

२. परमेश्‍वरले दिनुहुने अनुशासनप्रति हामी कसरी अझै कृतज्ञ हुन सक्छौँ?

हामीसित भएको त्रुटिपूर्ण झुकाव, हामी हुर्केबढेको वातावरण र अरू विभिन्‍न कुराले गर्दा हामीलाई अनुशासन स्विकार्न वा त्यसलाई सही दृष्टिकोणले हेर्न गाह्रो लाग्न सक्छ। अनुशासन स्विकार्दा हुने फाइदा आफैले अनुभव गरेपछि भने हामी अनुशासन पाएकोमा अझै कृतज्ञ हुन सिक्छौँ किनकि यहोवा हामीलाई कत्ति धेरै प्रेम गर्नुहुन्छ भन्‍ने कुरा हामी त्यस्तो बेला महसुस गर्छौँ। हितोपदेश ३:११, १२ यसो भन्छ: “हे मेरो छोरो, परमप्रभुको अनुशासनलाई अवहेलना नगर्‌ . . . किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्छ तिनीहरूलाईनै उहाँले हप्काउनुहुन्छ।” हो, यहोवा सधैँ हाम्रो भलाइ चाहनुहुन्छ भन्‍ने कुरा कहिल्यै नबिर्सौँ। (हिब्रू १२:५-११ पढ्‌नुहोस्‌) परमेश्‍वरलाई हामीबारे सबै कुरा थाह छ, त्यसैले उहाँले दिनुहुने अनुशासन सधैँ उचित किसिमको र ठीक मात्राको हुन्छ। आउनुहोस्‌, अनुशासनका चार वटा पक्ष विचार गरौँ: (१) आत्म-अनुशासन, (२) आमाबुबाले छोराछोरीलाई दिने अनुशासन, (३) मण्डलीमा दिइने अनुशासन र (४) अनुशासनले दिने क्षणिक पीडा नस्विकार्दा हुने ठूलो हानि।

आत्म-अनुशासनले बुद्धिमान्‌ बनाउँछ

३. छोराछोरीले कसरी आत्म-अनुशासन विकास गर्न सिक्छन्‌, उदाहरण दिनुहोस्‌।

आत्म-अनुशासन अर्थात्‌ आफूलाई अनुशासन दिनु भनेको आफ्नो व्यवहार र सोचाइलाई अझ राम्रो बनाउन आफैलाई वशमा राख्नु हो। आफैलाई अनुशासन दिने झुकाव हामीमा जन्मजात आउने कुरा होइन। हामीले यो विकास गर्नुपर्ने हुन्छ। उदाहरणको लागि, आफ्नो बच्चाले साइकल चलाउन सिक्दा बुबाले बच्चा नलडोस्‌ भनेर सुरु-सुरुमा साइकल समाइदिने गर्छन्‌। बिस्तारै बच्चाले साइकल नलडाईकन कुदाउन थाल्छ अनि बुबाले होसियार हुँदै बेला-बेला समाउने, बेला-बेला छोड्‌ने गर्छन्‌। छोराले साइकल नलडाईकन कुदाउन सिक्यो भनेर पक्का भएपछि बुबाले साइकल समाउन छोड्‌छन्‌। त्यसैगरि, जब आमाबुबाले आफ्ना छोराछोरीलाई धैर्य गर्दै निरन्तर “यहोवाको डोऱ्‍याइबमोजिम अनुशासन अनि चेतावनी” दिन्छन्‌, तब छोराछोरीले आत्म-अनुशासन विकास गर्न र बुद्धि हासिल गर्न मदत पाउँछन्‌।—एफि. ६:४

४, ५. (क) “नयाँ व्यक्‍तित्व” धारण गर्न किन आत्म-अनुशासन नभई हुँदैन? (ख) ‘सातपल्ट लोट्यौँ’ भने पनि हामीले किन हार मान्‍नु हुँदैन?

वयस्क भएपछि यहोवाबारे सिकेका व्यक्‍तिहरूमा पनि यही सिद्धान्त लागू हुन्छ। हुनत वयस्कहरूले केही हदसम्म आत्म-अनुशासन विकास गरिसकेका हुन सक्छन्‌। तर आध्यात्मिक रूपमा भने तिनीहरू परिपक्व भइसकेका हुँदैनन्‌। येशूको जस्तै “नयाँ व्यक्‍तित्व” धारण गर्न सिक्दै जाँदा तिनीहरू बिस्तारै परिपक्व हुन थाल्छन्‌। (एफि. ४:२३, २४) आध्यात्मिक रूपमा परिपक्व हुन आत्म-अनुशासन निकै जरुरी छ। आत्म-अनुशासनले हामीलाई “भक्‍तिहीनता र सांसारिक इच्छाहरू त्याग्न अनि यस वर्तमान युगमा सुझबुझ चलाउन, परमेश्‍वरको स्तरबमोजिम असल काम गर्न र परमेश्‍वरको भक्‍ति गर्दै जीवन बिताउन सिकाउँछ।”—ती. २:१२.

तैपनि हामी सबैमा पाप गर्ने झुकाव छ। (उप. ७:२०) तर एक चोटि चुक्दैमा हामी पूर्णतया असफल भयौँ वा हामीसित आत्म-अनुशासन छँदै छैन भन्‍ने होइन। हितोपदेश २४:१६ यसो भन्छ: “धर्मी मानिस सातपल्ट लोट्‌यो भने पनि फेरि उठ्‌छ।” तिनलाई सफल हुन केले मदत गर्छ? आफ्नो बल र अठोटले होइन, बरु परमेश्‍वरको पवित्र शक्‍तिले। (फिलिप्पी ४:१३ पढ्‌नुहोस्‌) पवित्र शक्‍तिको फलका पक्षहरूमा आत्मसंयम पनि पर्छ र आत्मसंयमी हुन आत्म-अनुशासन नभई हुँदैन।

६. हामी कसरी परमेश्‍वरको वचनको असल विद्यार्थी बन्‍न सक्छौँ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

आत्म-अनुशासन विकास गर्नको लागि मनैदेखि प्रार्थना गर्नु, बाइबल अध्ययन गर्नु र मनन गर्नु पनि आवश्‍यक छ। तर बाइबल अध्ययन गर्न तपाईँलाई गाह्रो लाग्छ भने नि? ‘म त्यति पढ्‌ने खालको मान्छे नै होइन’ जस्तो लाग्छ भने नि? नबिर्सनुहोस्‌, यहोवाले तपाईँलाई मदत गर्नुहुन्छ तर त्यसको लागि तपाईँले उहाँको मदत स्विकार्नुपर्छ। यहोवाको मदतले तपाईँ उहाँको वचनको ‘तिर्सना गर्ने’ व्यक्‍ति बन्‍न सक्नुहुन्छ। (१ पत्रु. २:२) सर्वप्रथम, यहोवाको वचन अध्ययन गर्न चाहिने आत्म-अनुशासनको लागि उहाँसित बिन्ती गर्नुहोस्‌। अनि त्यसअनुसार कदम पनि चाल्नुहोस्‌। सुरुमा छोटो समयको लागि पढ्‌ने कोसिस गर्नुहोस्‌। समय बित्दै जाँदा अध्ययन गर्न तपाईँलाई सजिलो मात्र होइन, रमाइलो पनि लाग्नेछ! एकान्तमा बसेर यहोवाका अनमोल विचारहरूमा डुब्दा कत्ति आनन्द मिल्दो रहेछ भनेर तपाईँ आफैले महसुस गर्नुहुनेछ!—१ तिमो. ४:१५.

७. आत्म-अनुशासनले हामीलाई कसरी आध्यात्मिक लक्ष्य हासिल गर्न मदत गर्छ?

आत्म-अनुशासनले हामीलाई आध्यात्मिक लक्ष्यहरू हासिल गर्न मदत गर्छ। एउटा परिवारको शिरको अनुभव विचार गरौँ। तिनलाई यहोवाको सेवामा आफ्नो जोस घट्‌दै गएको जस्तो लागिरहेको थियो र तिनी चिन्तित थिए। तिनले के गरे? तिनले नियमित अग्रगामी सेवा सुरु गर्ने लक्ष्य राखे अनि हाम्रा पत्रिकाहरूमा त्यससम्बन्धी लेखहरू पढ्‌न थाले अनि प्रार्थना पनि गरे। यसले गर्दा तिनी अझ आध्यात्मिक व्यक्‍ति बन्‍न सके र नियमित अग्रगामी सेवा गर्ने तिनको इच्छा पनि झनै बलियो भयो। आफूले भ्याएको बेलामा तिनले सहायक अग्रगामी सेवा गर्न थाले। नतिजा कस्तो भयो? तिनले नियमित अग्रगामी बन्‍ने आफ्नो लक्ष्यमा ध्यान केन्द्रित गरिरहे र गाह्रो भए तापनि आखिरमा सफल भएरै छाडे!

छोराछोरीलाई यहोवाको डोऱ्‍याइबमोजिम अनुशासन दिँदै हुर्काउनुहोस्‌

सही र गलत छुट्ट्याउने क्षमता केटाकेटीले जन्मजात पाएका हुँदैनन्‌, त्यसैले तिनीहरूलाई तालिम चाहिन्छ (अनुच्छेद ८ हेर्नुहोस्‌)

८-१०. छोराछोरी हुर्काउन र तिनीहरूलाई यहोवाको सेवक बनाउन ख्रीष्टियन आमाबुबालाई केले मदत गर्छ? उदाहरण दिनुहोस्‌।

ख्रीष्टियन आमाबुबाहरूले छोराछोरीलाई “यहोवाको डोऱ्‍याइबमोजिम अनुशासन अनि चेतावनी दिएर” हुर्काउने ठूलो सुअवसर पाएका छन्‌। (एफि. ६:४) तर अहिलेको संसारमा यो सजिलो कुरा होइन। (२ तिमो. ३:१-५) सही र गलत छुट्ट्याउने क्षमता छोराछोरीले जन्मजात पाएका हुँदैनन्‌। अनि तिनीहरूको अन्तस्करणले पनि तालिम पाएको हुँदैन। त्यसैले तिनीहरूलाई तालिम दिन अनुशासन चाहिन्छ। (रोमी २:१४, १५) बाइबलसम्बन्धी एउटा किताबले बताएअनुसार “अनुशासन” भनी अनुवाद गरिएको ग्रीक शब्दले “बाल-विकास” अर्थात्‌ बालकलाई जिम्मेवार वयस्क बन्‍न तालिम दिनुलाई पनि बुझाउन सक्छ।

मायालु अनुशासन पाएका छोराछोरीले अक्सर ढुक्क महसुस गर्छन्‌। स्वतन्त्रताको एउटा सीमा हुन्छ, जे मन लाग्यो त्यही गर्न मिल्दैन भनेर तिनीहरूले बुझेका हुन्छन्‌। अनि आफूले गर्ने हरेक निर्णय र कामको नतिजा भोग्नुपर्छ भनेर पनि बुझेका हुन्छन्‌, चाहे त्यो नतिजा असल होस्‌ वा खराब। त्यसैले ख्रीष्टियन आमाबुबाले यहोवाको डोऱ्‍याइ खोज्नु अत्यन्तै महत्त्वपूर्ण छ। छोराछोरी हुर्काउने तरिका संस्कृति र समयअनुसार फरक-फरक हुन्छ भन्‍ने कुरा हामीले मनमा राख्नुपर्छ। जेहोस्‌, परमेश्‍वरको डोऱ्‍याइ खोजेका छन्‌ भने आमाबुबाहरू छोराछोरी हुर्काउन सफल हुनेछन्‌; तिनीहरूले आफ्नो अनुमानको भरमा अथवा अरू मानिसको अनुभव वा विचारमा भर परेर निर्णय गर्नुपर्ने छैन।

१० यस सन्दर्भमा नूहको उदाहरण विचार गरौँ। यहोवाले नूहलाई जहाज बनाउने आज्ञा दिनुहुँदा तिनी आफ्नो अनुभवमा भर पर्न सक्दैनथे किनकि तिनले पहिला कहिल्यै जहाज बनाएका थिएनन्‌। तिनी यहोवामा भर पर्नुपर्थ्यो। परमेश्‍वरले तिनलाई आज्ञा गर्नुहुँदा तिनले “त्यसै” गर्नुपर्थ्यो। (उत्प. ६:२२) नतिजा कस्तो भयो? पहिला कहिल्यै जहाज नबनाएको भए पनि तिनले जहाज बनाउन सके। नसकून्‌ पनि कसरी, तिनी यहोवामा भर परेका थिए! उहाँमा भर परेकै कारण तिनी परिवारको असल शिर हुन सके। परमेश्‍वरले दिनुहुने बुद्धिमा तिनले भरोसा गरे। जलप्रलयअघिको दुष्ट संसारमा छोराछोरी हुर्काउन पक्कै सजिलो थिएन, तैपनि तिनले आफ्ना छोराछोरीलाई राम्रोसँग सिकाए र तिनीहरूको लागि राम्रो उदाहरण पनि बसाले।—उत्प. ६:५.

११. छोराछोरीलाई तालिम दिने सन्दर्भमा आमाबुबाले राम्रो उदाहरण बसाल्नु कत्तिको महत्त्वपूर्ण छ?

११ तपाईँ आमाबुबाले पनि कसरी परमेश्‍वरले जे भन्‍नुहुन्छ, “त्यसै” गर्न सक्नुहुन्छ? यहोवाको कुरा सुन्‍नुहोस्‌। छोराछोरी हुर्काउन यहोवाले आफ्नो वचन र सङ्‌गठनद्वारा दिनुहुने निर्देशन स्विकार्नुहोस्‌। तपाईँले त्यसो गर्नुभएकोमा पछि तपाईँका छोराछोरी कृतज्ञ हुनेछन्‌। एक जना भाइले यस्तो लेखे: “मेरो आमाबुबाले मलाई हुर्काउन जे-जति गर्नुभयो, त्यो विचार गर्दा उहाँहरूप्रति श्रद्धा जाग्छ। मेरो मनसम्म पुग्नेगरि सिकाउन उहाँहरूले सक्दो गर्नुभयो। मेरो आध्यात्मिक उन्‍नतिको पछाडि उहाँहरूको ठूलो हात छ।” तर आमाबुबाले सक्दो कोसिस गर्दा पनि केही छोराछोरीले यहोवालाई त्याग्छन्‌। तैपनि छोराछोरीलाई सत्य सिकाउन सकेजति गर्ने आमाबुबाले आफ्नो अन्तसकरण सफा राख्न सक्छन्‌। बाटो बिराएको आफ्नो छोरा वा छोरी एक दिन फर्केर यहोवाकहाँ आउनेछ भनेर तिनीहरूले आशा गर्न सक्छन्‌।

१२, १३. (क) छोराछोरी बहिष्कृत हुँदा आमाबुबा कसरी परमेश्‍वरप्रति आज्ञाकारी हुन सक्छन्‌? (ख) आमाबुबा यहोवाप्रति आज्ञाकारी हुँदा एउटा परिवारले कस्तो लाभ उठायो?

१२ छोरा वा छोरीलाई बहिष्कार गरिँदा आमाबुबाको आज्ञाकारीताको जाँच हुन्छ। यो आमाबुबाले सामना गर्नुपर्ने एउटा ठूलो परीक्षा हो। एउटी आमाको उदाहरण विचार गरौँ। तिनकी छोरी बहिष्कार भइन्‌ र घर छोडेर गइन्‌। ती आमाले यसो भनेर आफ्नो कमजोरी स्विकारिन्‌: “मलाई आफ्नी छोरी र नातिनीसित भेट्‌न मन लाग्थ्यो। त्यसैले उनीहरूसित भेट्‌ने बहाना बनाउन मिल्ने कुनै कुरा पाइहाल्छु कि भनेर म हाम्रा प्रकाशनहरूमा खोज्थेँ।” तिनी भन्छिन्‌: “तर अब हाम्री छोरी हाम्रो हातमा छैन अनि यहोवाको निर्णयमा हामीले हस्तक्षेप गर्नु हुँदैन भनेर मेरो श्रीमान्‌ले दयालु हुँदै सम्झाउनुभयो।”

१३ केही वर्षपछि तिनकी छोरीलाई पुनर्बहाली गरियो। आमा भन्छिन्‌: “अहिले छोरीले मलाई दिनहुँजसो फोन र मेसेज गर्छे। हामीले परमेश्‍वरको आज्ञा पालन गरेका थियौँ र ऊसित कुनै सम्पर्क राखेका थिएनौँ। त्यसैले ऊ अहिले हाम्रो निकै आदर गर्छे। हाम्रो सम्बन्ध सुमधुर छ।” यदि तपाईँको छोरा वा छोरी बहिष्कार भएको छ भने के तपाईँ पनि यो सल्लाह पालन गर्नुहुन्छ: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌”? (हितो. ३:५, ६) यो कुरा नबिर्सनुहोस्‌, यहोवाले दिनुहुने अनुशासनमा उहाँको अपार बुद्धि र प्रेम झल्किन्छ। साथै उहाँले तपाईँको छोराछोरीलगायत सबैको लागि आफ्नो छोराको बलिदान दिनुभयो भन्‍ने कुरा पनि नबिर्सनुहोस्‌। परमेश्‍वर कोही पनि नाश नहोस्‌ भन्‍ने चाहनुहुन्छ। (२ पत्रुस ३:९ पढ्‌नुहोस्‌) त्यसैले यहोवाले दिनुहुने अनुशासन र निर्देशनमा भरोसा गर्नुहोस्‌। उहाँको आज्ञा मान्दा तपाईँलाई असह्‍य पीडा होला, तैपनि त्यसो गर्न नछोड्‌नुहोस्‌। यहोवाको अनुशासनको पक्षमा खडा हुनुहोस्‌, त्यसको विरुद्धमा होइन।

मण्डलीमा दिइने अनुशासन

१४. ‘विश्‍वासी भण्डारेमार्फत’ यहोवाले दिनुहुने निर्देशनबाट हामी कसरी लाभ उठाउँछौँ?

१४ यहोवाले ख्रीष्टियन मण्डलीको ख्याल राख्ने, यसलाई जोगाउने अनि निर्देशन दिने प्रतिज्ञा गर्नुभएको छ। उहाँ विभिन्‍न तरिकाले त्यसो गर्नुहुन्छ। उदाहरणको लागि, उहाँले मण्डलीको जिम्मा आफ्नो छोरालाई दिनुभएको छ अनि उहाँको छोराले ‘विश्‍वासी भण्डारे’ नियुक्‍त गरेर मण्डलीलाई ठीक समयमा आध्यात्मिक भोजन दिने प्रबन्ध मिलाउनुभएको छ। (लूका १२:४२) थरी-थरीका आध्यात्मिक भोजनबाट हामी आवश्‍यक निर्देशन अर्थात्‌ अनुशासन पाउँछौँ। भाषणहरूमा सुनेको कुरा वा प्रकाशनहरूले आफ्नो सोचाइ वा आचरणमा परिवर्तन ल्याउन के तपाईँलाई कहिल्यै जुरमुऱ्‍याएको छ? यदि छ भने त्यो असाध्यै राम्रो कुरा हो! किनकि तपाईँ यहोवाको अनुशासन स्विकार्दै हुनुहुन्छ भनेर त्यसले देखाउँछ। अनि यसले तपाईँकै भलाइ गर्नेछ।—हितो. २:१-५.

१५, १६. (क) “वरदानको रूपमा पुरुषहरू” अर्थात्‌ मण्डलीका एल्डरहरूले हामीलाई कसरी मदत गर्छन्‌? (ख) एल्डरहरूले रमाई-रमाई आफ्नो काम गर्न सकून्‌ भन्‍ने चाहन्छौँ भने हामी कस्तो व्यक्‍ति बन्‍नुपर्छ?

१५ परमेश्‍वरको बगालको हेरचाह गर्न ख्रीष्टले मण्डलीमा “वरदानको रूपमा पुरुषहरू” अर्थात्‌ एल्डरहरू पनि दिनुभएको छ। (एफि. ४:८, ११-१३) यी अमूल्य वरदानहरूबाट हामी कसरी लाभ उठाउन सक्छौँ? एउटा तरिका, ती एल्डरहरूको विश्‍वास अनि असल उदाहरण अनुकरण गरेर। अर्को तरिका, तिनीहरूले दिने बाइबलआधारित सल्लाह स्विकारेर। (हिब्रू १३:७, १७ पढ्‌नुहोस्‌) एल्डरहरू हामीलाई माया गर्छन्‌ र हाम्रो आध्यात्मिक उन्‍नति चाहन्छन्‌ भन्‍ने कुरा नबिर्सनुहोस्‌। जस्तै, हामीले सभा छुटाएको वा हाम्रो जोस सेलाएको याद गरे भने तिनीहरू तुरुन्तै हामीलाई मदत गर्न आउँछन्‌। तिनीहरू हाम्रो कुरा सुन्छन्‌ अनि हामीलाई बलियो पार्न न्यानो प्रोत्साहन र उचित सल्लाह दिन्छन्‌। एल्डरहरूबाट त्यस्तो मदत पाउँदा के तपाईँ त्यसलाई यहोवाको प्रेमको रूपमा स्विकार्नुहुन्छ?

१६ नबिर्सनुहोस्‌, हामीकहाँ आएर आवश्‍यक सल्लाह दिन एल्डरहरूलाई त्यति सजिलो नहुन सक्छ। उदाहरणको लागि, दाऊदले आफ्नो गम्भीर पाप लुकाउने प्रयास गर्दा भविष्यवक्‍ता नातानलाई तिनीसित कुरा गर्न कत्ति गाह्रो लाग्यो होला! (२ शमू. १२:१-१४) त्यसैगरि, पत्रुसले अरू जातिका भाइहरूदेखि पर-पर भएर यहूदी भाइहरूसित मात्रै सङ्‌गत गर्दा प्रेषित पावलले तिनलाई सल्लाह दिएका थिए। येशूका १२ प्रेषितहरूमध्ये एक जनालाई त्यसरी सल्लाह दिन पावललाई कत्ति साहस चाहिएको थियो होला! (गला. २:११-१४) त्यसोभए तपाईँलाई सल्लाह दिन मण्डलीका एल्डरहरूलाई गाह्रो नहोस्‌ भनेर तपाईँ के गर्न सक्नुहुन्छ? नम्र हुनुहोस्‌, कुराकानी गर्न सजिलो व्यक्‍ति बन्‍नुहोस्‌ अनि कृतज्ञ हुनुहोस्‌। एल्डरहरूले दिने मदतलाई परमेश्‍वरको प्रेमको रूपमा लिनुहोस्‌। त्यसो गर्नुभयो भने तपाईँले लाभ उठाउनुका साथसाथै एल्डरहरूले पनि रमाई-रमाई आफ्नो काम गर्न सक्नेछन्‌।

१७. मण्डलीका एल्डरहरूले देखाएको मायालु चासोबाट एउटी बहिनीले कसरी लाभ उठाइन्‌?

१७ एउटी बहिनीलाई विगतका तीता अनुभवहरूले गर्दा यहोवालाई प्रेम गर्न गाह्रो महसुस भइरहेको थियो। तिनले यसो भनिन्‌: “विगतको अनुभव र अरू समस्याहरूको कारण म भावनात्मक रूपमा लखतरान हुन्थेँ। यस्तो बेला एल्डरहरूसित कुरा गर्नुपर्छ भनेर मलाई थाह थियो। उहाँहरूसित कुरा गर्दा उहाँहरूले मलाई हप्काउनुभएन वा मेरो आलोचना गर्नुभएन बरु मलाई प्रोत्साहन दिनुभयो अनि बलियो पार्नुभयो। एल्डरहरू साँच्चै व्यस्त हुनुहुन्थ्यो तैपनि प्रत्येक सभापछि एक न एक जना एल्डर मेरो हालखबर सोध्न आउनुहुन्थ्यो। विगतका तीता अनुभवहरूले गर्दा म यहोवाको प्रेम पाउन लायक छैनँ जस्तो लाग्थ्यो। तर मैले मण्डली अनि एल्डरहरूमार्फत पाएको मदतले गर्दा बारम्बार उहाँको प्रेम महसुस गरेकी छु। उहाँको मदत सधैँ स्विकार्न सकूँ भनेर म उहाँलाई प्रार्थना गर्छु।”

अनुशासनले दिने क्षणिक पीडा नस्विकार्दा हुने ठूलो हानि

१८, १९. अनुशासनले दिने क्षणिक पीडा नस्विकार्दा कस्तो ठूलो हानि बेहोर्नुपर्ने हुन्छ? उदाहरण दिनुहोस्‌।

१८ अनुशासन पाउँदा केही पीडा त होला तर त्योभन्दा पनि पीडादायी अर्को कुरा छ। त्यो हो, अनुशासनले दिने क्षणिक पीडा नस्विकार्दा हुने ठूलो हानि। (हिब्रू १२:११) दुई वटा उदाहरण विचार गरौँ। कयिन र राजा सिदकियाह। कयिनले आफ्नो भाइलाई साह्रै घृणा गरेर मार्ने इच्छा गरेकोले यहोवाले तिनलाई यस्तो चेतावनी दिनुभयो: “तँ किन रिसाउँछस्‌? तेरो मुख किन अँध्यारो छ? तैंले असल गरिस्‌ भने तँ ग्रहणयोग्य हुँदैनस्‌ र? यदि तैंले असल गरेनस्‌ भनेता पाप ढोकैमा ढुकिबस्छ। त्यसको इच्छा तँप्रति हुन्छ, तर तैंले त्यसलाई अधीन गर्नै पर्छ।” (उत्प. ४:६, ७) तर तिनले यहोवाको कुरा सुनेनन्‌। तिनी पापी झुकावको वशमा परे र आफ्नो भाइको हत्या गरे। त्यसपछि तिनले जिन्दगीभर त्यसको डरलाग्दो नतिजा भोग्नुपऱ्‍यो। (उत्प. ४:११, १२) यहोवाको कुरा सुनेको भए तिनले त्यति ठूलो पीडा भोग्नुपर्ने थिएन।

१९ कमजोर अनि दुष्ट राजा सिदकियाहले शासन गर्दा यरूशलेमका मानिसहरूको अवस्था साह्रै नराम्रो थियो। भविष्यवक्‍ता यर्मियाले राजा सिदकियाहलाई आफ्नो खराब काम त्याग्न बारम्बार सल्लाह दिए तर तिनले अनुशासन स्विकारेनन्‌। अनि नतिजा साह्रै नराम्रो भयो। (यर्मि. ५२:८-११) हामीले व्यर्थैमा दुःख भोगेको यहोवा पटक्कै चाहनुहुन्‍न भनेर यी उदाहरणहरूले देखाउँछ नि, होइन र?यशैया ४८:१७, १८ पढ्‌नुहोस्‌।

२०. परमेश्‍वरको अनुशासन स्विकार्नेहरूको भविष्य कस्तो हुनेछ अनि त्यसलाई इन्कार गर्नेहरूले कस्तो नतिजा भोग्नुपर्नेछ?

२० परमेश्‍वरको अनुशासनलाई अहिलेका मानिसहरू हाँसोमा उडाउँछन्‌। तर त्यस्तो मूर्खतापूर्ण सोचाइ राख्ने दुष्ट मानिसहरूले चाँडै नै त्यसको नतिजा भोग्नुपर्नेछ। (हितो. १:२४-३१) त्यसकारण अनुशासन स्विकारौँ अर्थात्‌ ‘अर्ती सुनौँ र बुद्धिमान्‌ बनौँ।’ हितोपदेश ४:१३ यसो भन्छ: “अर्तीलाई समातिराख्‌ र त्यसलाई कहिल्यै नछोड्‌, त्यसलाई राम्ररी पालन गर्‌, किनभने त्यो तेरो जीवन हो।”