सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अतिथि-सत्कार गर्नु—रमाइलो अनि अत्यावश्‍यक!

अतिथि-सत्कार गर्नु—रमाइलो अनि अत्यावश्‍यक!

“गनगन नगरी एक-अर्काको अतिथि-सत्कार गर।”—१ पत्रु. ४:९.

गीत: १००, ८७

१. प्रथम शताब्दीका ख्रीष्टियनहरूले कस्तो अवस्था सामना गरे?

इस्वी संवत्‌ ६२ र ६४ को बीचतिर प्रेषित पत्रुसले “पोन्टस, गलातिया, क्यापाडोसिया, एसिया अनि बिथिनियामा अस्थायी बासिन्दाका रूपमा तितरबितर भएका चुनिएका जनहरूलाई” पत्र लेखे। (१ पत्रु. १:१) एसिया माइनरका यी मण्डलीहरूमा विभिन्‍न ठाउँका भाइबहिनीहरू आएका थिए र तिनीहरूलाई प्रोत्साहन अनि डोऱ्‍याइ चाहिएको थियो। तिनीहरूको खेदो गरिएको थियो अनि मानिसहरूले तिनीहरूविरुद्ध दुर्वचन बोलिरहेका थिए। ‘तिनीहरूबीच परीक्षाको आगो सल्किरहेको थियो।’ तिनीहरू कठिन समयमा बाँचिरहेका थिए। प्रेषित पत्रुसले यस्तो लेखे, “सबै कुराको अन्त नजिक आइपुगेको छ।” हो, दस वर्ष पनि बित्न नपाउँदै यरूशलेमको विनाश हुने थियो। यस्तो कठिन समयमा दृढ रहन त्यतिबेलाका ख्रीष्टियनहरूलाई केले मदत गर्ने थियो?—१ पत्रु. ४:४, ७, १२.

२, ३. पत्रुसले किन आफ्ना भाइहरूलाई अतिथि-सत्कार गर भन्‍ने सल्लाह दिए? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

पत्रुसले ती भाइहरूलाई लेखेको एउटा कुरा थियो: “एक-अर्काको अतिथि-सत्कार गर।” (१ पत्रु. ४:९) “अतिथि-सत्कार” भन्‍ने अर्थ बुझाउन ग्रीक भाषामा प्रयोग गरिएको शब्दले “विदेशीहरूलाई माया गर्नु अर्थात्‌ उनीहरूलाई दया देखाउनु” भन्‍ने बुझाउँछ। तर पत्रुसले एक-अर्कालाई चिनिसकेका अनि सङ्‌गत गरिरहेका भाइबहिनीहरूलाई नै “एक-अर्काको” अतिथि-सत्कार गर भन्‍ने सल्लाह दिए। अतिथि-सत्कार गर्दा तिनीहरूलाई कस्तो फाइदा हुने थियो?

तिनीहरू एक-अर्कासित अझ नजिक हुने थिए। तपाईँको आफ्नै अनुभव सम्झनुहोस्‌ त। कसैले तपाईँलाई बोलाउँदाको रमाइलो अनुभव के तपाईँलाई सम्झना छ? तपाईँले त्यस भेटघाटको मीठो सम्झना सङ्‌गाल्नुभएको छैन र? मण्डलीका कसैलाई आफ्नो घरमा बोलाउँदा तिनीसित तपाईँको मित्रता अझ घनिष्ठ भएन र? अतिथि-सत्कार गर्दा हामी भाइबहिनीलाई अरू बेलाभन्दा अझ राम्ररी चिन्‍ने मौका पाउँछौँ। आफू वरपरको अवस्था झन्‌झन्‌ बिग्रँदैँ जाँदा पत्रुसको समयका ख्रीष्टियनहरू एक-अर्कासित अझ नजिक हुनुपर्थ्यो। आज “अन्तको दिनमा” बाँचिरहेका ख्रीष्टियनहरूलाई पनि त्यही कुरा लागू हुन्छ।—२ तिमो. ३:१.

४. यस लेखमा हामी कस्ता प्रश्‍नहरू छलफल गर्नेछौँ?

हामी कस्ता मौकाहरूमा “एक-अर्काको” अतिथि-सत्कार गर्न सक्छौँ? अतिथि-सत्कार गर्नदेखि हामीलाई रोक्ने बाधा-अडचन कसरी हटाउन सक्छौँ? राम्रो पाहुना बन्‍न हामी के गर्न सक्छौँ?

अतिथि-सत्कार गर्ने मौकाहरू

५. सभामा हामी कसरी अतिथि-सत्कार गर्न सक्छौँ?

सभामा: हामीलाई सभामा निम्तो दिने यहोवा र उहाँको सङ्‌गठन हो। सभामा आउने सबै जना, विशेषगरि नयाँ व्यक्‍तिहरूलाई हामी सजिलो महसुस गराउन चाहन्छौँ। (रोमी १५:७) नयाँ व्यक्‍तिहरू पनि यहोवाका पाहुना हुन्‌। त्यसैले हामीले पनि तिनीहरूको स्वागत गर्नुपर्छ। यस्ता नयाँ व्यक्‍तिहरूको पहिरन वा कोरीबाटी जस्तोसुकै भए तापनि तिनीहरूलाई स्वागत गर्न अग्रसर हुनुभए कसो होला? (याकू. २:१-४) कोही नयाँ व्यक्‍ति एक्लै छ भने तिनलाई आफूसँगै बस्न बोलाउनुभए कसो होला? त्यसो गर्दा तिनलाई सभामा के भइरहेको छ भनेर बुझ्न अनि बाइबल पदहरू भेट्टाउन सजिलो हुनेछ। यसो गर्नु पनि “अतिथि-सत्कार गर्ने” एउटा राम्रो तरिका हो।—रोमी १२:१३.

६. हामीले खासगरि अतिथि-सत्कार गर्नुपर्ने व्यक्‍तिहरू को हुन्‌?

हल्का खाजा वा खाना: बाइबलकालीन समयमा मानिसहरूले अक्सर आफ्नो घरमा खाना खान बोलाएर अतिथि-सत्कार गर्थे। (उत्प. १८:१-८; न्याय. १३:१५; लूका २४:२८-३०) खाना खान बोलाउनु भनेको मित्रता गाँस्ने र शान्ति कायम गर्ने सङ्‌केत थियो। हामीले खासगरि अतिथि-सत्कार गर्नुपर्ने व्यक्‍तिहरू को हुन्‌? आफ्नो मण्डलीका भाइबहिनीहरू, जसलाई हामी सधैँ भेटिरहन्छौँ। कठिन समय आइपर्दा हामीलाई यी भाइबहिनीको साथ चाहिन्छ नि, होइन र? त्यसैले हामीले तिनीहरू सबैसित शान्ति कायम गर्नुपर्छ अनि तिनीहरूलाई आफ्ना वफादार साथी बनाउनुपर्छ। सन्‌ २०११ मा परिचालक निकायले अमेरिकाको बेथेल परिवारको प्रहरीधरहरा अध्ययन गरिने समय साँझ ६:४५ बाट ६:१५ बनायो। किन त्यसो गरियो? अध्ययन छिटो सिद्धियो भने बेथेल सेवकहरूलाई अतिथि-सत्कार गर्न अनि अरूको निम्तो स्विकार्न सजिलो हुनेछ भनेर त्यतिबेलाको घोषणामा भनिएको थियो। अरू शाखा कार्यालयहरूमा पनि यस्तै छाँटकाँट गरियो। यसले गर्दा बेथेल परिवारका सदस्यहरू एक-अर्कासित अझ नजिक भए।

७, ८. यहोवाको सङ्‌गठनका प्रतिनिधिहरूलाई हामी कसरी अतिथि-सत्कार गर्न सक्छौँ?

अरू मण्डलीबाट अतिथि वक्‍ता आउँदा, क्षेत्रीय निरीक्षकको भ्रमण हुँदा अनि कहिलेकाहीँ स्थानीय शाखा कार्यालयबाट प्रतिनिधिहरू आउँदा हामी ती पाहुनाहरूको अतिथि-सत्कार गर्ने मौका पाउँछौँ। (३ यूहन्‍ना ५-८ पढ्‌नुहोस्‌) अतिथि-सत्कार गर्ने एउटा राम्रो तरिका हल्का खाजा वा खानाको लागि बोलाउनु हो। के तपाईँ पनि त्यसो गर्न सक्नुहुन्छ?

अमेरिकाकी एउटी बहिनी यसो भन्छिन्‌: “बितेका वर्षहरूमा मेरो श्रीमान्‌ र मैले थुप्रै अतिथि वक्‍ता र तिनका श्रीमतीहरूलाई हाम्रो घरमा अतिथि-सत्कार गर्ने मौका पायौँ। सधैँ रमाइलो हुन्थ्यो अनि सबैभन्दा राम्रो कुरा भनेको हाम्रो विश्‍वास अझ बलियो हुन्थ्यो। त्यसरी अतिथि-सत्कार गरेकोमा हामी असाध्यै खुसी छौँ, कुनै पछुतो छैन।”

९, १०. (क) क-कसलाई लामो समयको लागि बस्ने ठाउँ चाहिन सक्छ? (ख) सानो घर भएकाहरूले पनि कसरी सहयोग गर्न सक्छन्‌? उदाहरण दिनुहोस्‌।

लामो समय बस्ने पाहुनाहरू: प्राचीन समयमा आफूले भरोसा गर्न सक्ने व्यक्‍तिहरूलाई आफ्नो घरमा बस्न दिने चलन थियो। (अय्यू. ३१:३२; फिले. २२) हाम्रो समयमा पनि कहिलेकाहीँ त्यसो गर्नुपर्ने हुन्छ। क्षेत्रीय निरीक्षकहरू भ्रमणमा आउँदा अक्सर तिनीहरूलाई बस्ने ठाउँ चाहिन्छ। ईश्‍वरतान्त्रिक स्कुलमा आउने विद्यार्थीहरू अनि निर्माण स्वयम्‌सेवकहरूलाई बस्ने ठाउँ चाहिन सक्छ। प्राकृतिक प्रकोपले गर्दा कोही-कोही परिवार घरबारविहिन हुन सक्छन्‌ अनि बस्ने ठाउँ नबनुन्जेल तिनीहरूलाई आवास चाहिन सक्छ। एकदमै आरामदायी घर भएका व्यक्‍तिहरूले मात्र अरूलाई मदत गर्न सक्छन्‌ भन्‍ने सोचाइ हामीले राख्नु हुँदैन। उनीहरूले धेरै चोटि त्यसो गरिसकेका हुन सक्छन्‌। तपाईँको घर सानो छ भने पनि के तपाईँ कसैलाई आफ्नो घरमा बस्न निम्तो दिन सक्नुहुन्छ?

१० दक्षिण कोरियाका एक जना भाइले ईश्‍वरतान्त्रिक स्कुलको लागि आएका विद्यार्थीहरूलाई आफ्नो घरमा बस्न दिँदाको मीठो सम्झना सङ्‌गालेका छन्‌। तिनी यसो भन्छन्‌: “हाम्रो भर्खरै विवाह भएको थियो र हाम्रो घर पनि सानो थियो। त्यसैले घरमा पाहुना बोलाउन सुरुमा अलि हिचकिचाएका थियौँ। तर स्कुलको लागि आएका विद्यार्थीहरूलाई हाम्रो घरमा बस्न दिँदा एकदम रमाइलो भयो। यहोवाको सेवा गर्दै आध्यात्मिक लक्ष्यतर्फ एकसाथ अघि बढिरहेका श्रीमान्‌-श्रीमतीहरू कत्ति आनन्दित हुँदा रहेछन्‌ भनेर हामीले देख्न पायौँ।”

११. मण्डलीका नयाँ सदस्यहरूको किन अतिथि-सत्कार गर्नुपर्छ?

११ मण्डलीका नयाँ सदस्यहरू: केही भाइबहिनी वा परिवारहरू तपाईँको इलाकामा बसाइँ सरेर आउन सक्छन्‌। कोही-कोही आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न आउँछन्‌। अग्रगामीहरूलाई तपाईँको इलाकामा खटाइन सक्छ। नयाँ ठाउँ, नयाँ मण्डलीमा सरेका यस्ता व्यक्‍तिहरू सबैलाई सुरुमा अलि अप्ठ्यारो लागिरहेको हुन्छ। नयाँ भाषा वा संस्कृतिमा घुलमिल हुन पनि अलि समय लाग्छ। यस्ता नयाँ व्यक्‍तिहरूलाई हल्का खाजा वा खाना खान अथवा कतै घुम्न जान बोलायौँ भने तिनीहरूलाई नयाँ साथी बनाउन अनि नयाँ ठाउँमा घुलमिल हुन सजिलो हुन्छ।

१२. अतिथि-सत्कार गर्न भव्य भोज तयार गर्नु पर्दैन भनेर कुन अनुभवले देखाउँछ?

१२ अतिथि-सत्कार गर्न भव्य भोज तयार गर्नुपर्छ भन्‍ने छैन। (लूका १०:४१, ४२ पढ्‌नुहोस्‌) मिसनरीको रूपमा सेवा गर्न थालेका दिनहरू सम्झँदै एक भाइ यसो भन्छन्‌: “हामी जवान थियौँ, त्यति अनुभव पनि थिएन अनि घरको यादले सताउँथ्यो। एक साँझको कुरा हो, मेरी श्रीमतीलाई घरको यादले असाध्यै सताइरहेको थियो। मैले उनलाई फकाउन अनेक प्रयास गरे पनि केही सीप लागेन। त्यही साँझ साढे सात बजेतिर कसैले हाम्रो ढोका ढकढक्यायो। एक जना बाइबल विद्यार्थी तीन वटा सुन्तला लिएर आएकी रहेछिन्‌! उनी नयाँ मिसनरीहरूलाई स्वागत गर्न आएकी थिइन्‌। हामीले उनलाई भित्र बोलायौँ र एक गिलास पानी दियौँ। त्यसपछि चिया र हट चकलेट बनायौँ। हुनत, हामी स्वाहिली भाषा बोल्न जान्दैनथ्यौँ अनि उनलाई पनि अङ्‌ग्रेजी भाषा आउँदैनथ्यो। तर यस घटनाले गर्दा हामीले स्थानीय भाइबहिनीसित मित्रता गाँस्नु कत्ति रमाइलो हुँदो रहेछ भनेर सिक्यौँ।”

अतिथि-सत्कार गर्नदेखि रोक्ने बाधा-अडचन हटाउने

१३. अतिथि-सत्कार गर्दा कस्ता फाइदाहरू हुन्छन्‌?

१३ के तपाईँ अतिथि-सत्कार गर्न हिचकिचाउनुभएको छ? त्यसो हो भने तपाईँले रमाइलो सरसङ्‌गति गर्ने अनि चिरकालीन मित्रता गाँस्ने मौका गुमाइरहनुभएको हुन सक्छ। एक्लोपन हटाउने प्रभावकारी ओखती भनेको अतिथि-सत्कार गर्नु पनि हो। तर तपाईँलाई लाग्ला, कोही-कोही किन अतिथि-सत्कार गर्न हिचकिचाउँछन्‌? कारण विभिन्‍न हुन सक्छ।

१४. अतिथि-सत्कार गर्न वा स्विकार्न आफूसित समय र शक्‍ति छैन भने हामी के गर्न सक्छौँ?

१४ समय र शक्‍ति: यहोवाका सेवकहरू व्यस्त छन्‌ अनि तिनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू अक्सर थुप्रै हुन्छन्‌। कसै-कसैलाई अतिथि-सत्कार गर्न आफूसित समय वा शक्‍ति नै छैन जस्तो लाग्न सक्छ। तपाईँलाई पनि त्यस्तै लाग्छ भने अहिलेको आफ्नो तालिकालाई एक चोटि राम्ररी केलाउनुपर्ने हुन सक्छ। अतिथि-सत्कार गर्न वा स्विकार्न आफूसित समय र शक्‍ति होस्‌ भनेर तपाईँ केही छाँटकाँट गर्न सक्नुहुन्छ कि? धर्मशास्त्रले अतिथि-सत्कार गर्न ख्रीष्टियनहरूलाई सल्लाह दिन्छ। (हिब्रू १३:२) यसो गर्न समय निकाल्नु गलत होइन। वास्तवमा यो हामीले गर्नुपर्ने सही कुरा हो। तर त्यसको लागि आफूले गर्दै आएका केही कुराहरूमा थोरै समय बिताउनुपर्ने हुन सक्छ।

१५. अतिथि-सत्कार गर्न कोही-कोही हिचकिचाउनुको कारण के हुन सक्छ?

१५ आफूबारे कस्तो सोचाइ राख्नुहुन्छ? के तपाईँलाई अतिथि-सत्कार गर्न मन लागे पनि त्यसो गर्न सक्दिनँ जस्तो कहिल्यै महसुस भएको छ? कोही-कोही लजालु हुन्छन्‌, त्यसैले राम्रोसित कुराकानी गर्न नसकिएला वा पाहुनाहरूलाई नरमाइलो लाग्ला भनेर चिन्ता गर्छन्‌। अरू कतिपयको भने आयस्रोत थोरै हुन्छ अनि मण्डलीका अरू सदस्यहरूले जस्तो राम्ररी अतिथि-सत्कार गर्न सक्दिनँ जस्तो तिनीहरूलाई लाग्न सक्छ। तर यो कुरा नबिर्सनुहोस्‌, अतिथि-सत्कार गर्न तपाईँको घर भव्य हुनुपर्छ भन्‍ने छैन बरु सफा र चिटिक्क हुनुपर्छ अनि मित्रैलो वातावरण हुनुपर्छ।

१६, १७. पाहुना बोलाउन अप्ठ्यारो लाग्छ भने के कुरा सम्झन सक्छौँ?

१६ पाहुनाहरू बोलाउन अप्ठ्यारो लाग्छ भने नआत्तिनुहोस्‌। अरू कतिपय भाइबहिनीले पनि त्यस्तै महसुस गरेका छन्‌। बेलायतका एक एल्डर यसो भन्छन्‌: “पाहुनाहरूलाई बोलाउँदा विभिन्‍न तयारी गर्नुपर्ने हुन्छ अनि त्यसले गर्दा अलि अत्तालिनु स्वाभाविकै हो। यहोवाको सेवासित सम्बन्धित अरू कुरामा जस्तै अतिथि-सत्कार गर्दा पनि डर-चिन्ता लाग्न सक्छ। तर त्यसको तुलनामा हामीले पाउने फाइदा र सन्तुष्टि कता हो कता धेरै हुन्छ। पाहुनाहरूसित बसेर कफीको चुस्की लिँदै कुराकानी गर्दा मात्र पनि निकै रमाइलो भएको अनुभव गरेको छु।” यो कुरा नबिर्सनुहोस्‌, पाहुनाहरूप्रति चासो देखाउँदा परिणाम राम्रो हुन्छ। (फिलि. २:४) सबैलाई आफ्नो जीवनका उकाली-ओरालीहरूबारे सुनाउन रमाइलो लाग्छ। सायद यस्तै भेटघाट हुँदा मात्र हामी एक-अर्काको अनुभव सुन्‍ने मौका पाउँछौँ। अर्को एल्डर यसो भन्छन्‌: “मण्डलीका साथीहरूलाई घरमा बोलाउँदा तिनीहरूलाई अझ राम्ररी चिन्‍न अनि तिनीहरूसित नजिक हुन सकेको छु। अझ विशेषगरि उनीहरूले कसरी सत्य सिके भनेर सुन्‍ने मौका पाएको छु।” एक-अर्काप्रति मायालु चासो देखाउँदा सधैँ रमाइलो हुन्छ।

१७ विभिन्‍न ईश्‍वरतान्त्रिक स्कुलको लागि आएका विद्यार्थीहरूलाई आफ्नो घरमा बस्न दिएकी एउटी अग्रगामी बहिनीले यसो भनिन्‌: “सुरु-सुरुमा त अलि अप्ठ्यारो लागेको थियो किनभने म बस्ने ठाउँ त्यति भव्य छैन अनि मेरा फर्निचरहरू नयाँ पनि छैनन्‌। तर एक जना प्रशिक्षककी श्रीमतीको कुरा सुनेपछि भने मेरो चिन्ता हट्‌यो। उहाँहरू परिभ्रमण कार्यमा जाँदा आफूजस्तै आध्यात्मिक सोचाइ राख्ने, यहोवाको सेवा गर्दै सरल जीवन बिताउने व्यक्‍तिहरूसित बस्दा नै रमाइलो लाग्छ भनेर उहाँले बताउनुभयो। ती व्यक्‍तिहरू भौतिक तवरमा सम्पन्‍न नभए तापनि उनीहरूसित बिताएको हप्ता नै सबैभन्दा यादगार बन्छ पनि भन्‍नुभयो। यो सुनेपछि मेरी आमाले हामी केटाकेटी छँदा भन्‍नुभएको कुरा सम्झेँ। उहाँ भन्‍नुहुन्थ्यो: ‘प्रेमसित खाएको सागपात असल हो।’” (हितो. १५:१७) त्यसैले चिन्ता नगर्नुहोस्‌, प्रेमले उत्प्रेरित भई अतिथि-सत्कार गर्नुभयो भने तपाईँका पाहुनाहरू पक्कै खुसी हुनेछन्‌।

१८, १९. अतिथि-सत्कार गर्दा अरूप्रतिको नकारात्मक भावना हटाउन कसरी सजिलो हुन्छ?

१८ अरूबारे कस्तो सोचाइ राख्नुहुन्छ? मण्डलीको कुनै सदस्यले तपाईँलाई रिस उठाउँछ कि? त्यस व्यक्‍तिबारे आफ्नो मनमा आउने नकारात्मक सोचाइलाई हटाएनौँ भने तिनीप्रतिको दृष्टिकोण कहिल्यै परिवर्तन हुनेछैन। कसैको व्यक्‍तित्व आफूलाई मन पर्दैन भने उसलाई आफ्नो घरमा बोलाउन गाह्रो लाग्न सक्छ। अथवा विगतमा कसैले हाम्रो चित्त दुखाएको थियो र त्यो कुरा बिर्सन सकेका छैनौँ भने उसलाई अतिथि-सत्कार गर्न गाह्रो लाग्न सक्छ।

१९ बाइबलले हामीलाई अरूसित राम्रो सम्बन्ध बनाउन अतिथि-सत्कार गर्ने सल्लाह दिन्छ, यहाँसम्म कि शत्रुहरूसित पनि। (हितोपदेश २५:२१, २२ पढ्‌नुहोस्‌) अतिथि-सत्कार गर्दा अरूप्रतिको नकारात्मक भावना कम गर्न र मित्रभाव बढाउन सक्छौँ। अतिथि-सत्कार गर्दा हामी पाहुनाका राम्रा गुणहरू देख्न सक्छौँ, जुन गुणहरू देखेर यहोवाले त्यस व्यक्‍तिलाई आफूतर्फ खिच्नुभएको थियो। (यूह. ६:४४) हामीलाई कोही व्यक्‍तिसित सङ्‌गत गर्न अप्ठ्यारो लाग्ला। त्यसैले हामीले बोलाउनेछौँ भनेर उनले आशै नगरेका हुन सक्छन्‌। तर प्रेमले उत्प्रेरित भई अतिथि-सत्कार गऱ्‍यौँ भने त्यसले एउटा घनिष्ठ मित्रताको सुरुवात गर्न सक्छ। आफ्नो मनसाय साँच्चै निष्कपट हो कि होइन भनेर हामी कसरी पक्का गर्न सक्छौँ? एउटा तरिका फिलिप्पी २:३ मा पाइने सल्लाह पालन गरेर हो: “विनम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान।” हाम्रा भाइबहिनी कुन-कुन क्षेत्रमा हामीभन्दा श्रेष्ठ छन्‌ भनेर पत्ता लगाउन खोज्यौँ भने तिनीहरूप्रतिको प्रेम अझ प्रगाढ हुनेछ। जस्तै, तिनीहरूको विश्‍वास, सहनशीलता, साहस वा अरू ख्रीष्टियन गुणहरू। साथै हामी निष्कपट मनसायले तिनीहरूको अतिथि-सत्कार गर्न अग्रसर हुनेछौँ।

राम्रो पाहुना बन्‍ने

निम्तो दिने व्यक्‍तिले पाहुनाहरूको लागि अक्सर निकै तयारी गर्छन्‌ (अनुच्छेद २० हेर्नुहोस्‌)

२०. आफूले स्विकारिसकेको निम्तोलाई किन हल्कासित लिनु हुँदैन? त्यसको कदर गरेको हामी देखाउन सक्छौँ?

२० भजनहार दाऊदले यस्तो प्रश्‍न सोधे: “हे परमप्रभु, तपाईंको बासस्थानमा कसले बास गर्न पाउनेछ?” (भज. १५:१) यो प्रश्‍न सोधेपछि तिनले परमेश्‍वरको बासस्थानमा पाहुना बन्‍न चाहनेहरूमा हुनुपर्ने असल गुणहरूबारे बताए। एउटा गुण हो, वचनको पक्का हुनु। त्यस्तो व्यक्‍तिले “आफ्नो हानि हुँदा पनि किरिया खाएर कुरा बदल्दैन।” (भज. १५:४) हामीले कसैको निम्तो स्विकारेका छौँ भने झिनामसिना कारण बनाएर त्यसलाई अस्वीकार गर्नु हुँदैन। हामीलाई बोलाउने व्यक्‍तिले तयारी गरिसकेका हुन सक्छन्‌ अनि हामीले बिनसित्ति रद्द गऱ्‍यौँ भने तिनको सबै मेहनत खेर जानेछ। (मत्ती ५:३७) कसै-कसैले अलि राम्रोजस्तो देखिने निम्तो स्विकार्न आफूले पहिला वचन दिइसकेको निम्तोलाई अस्वीकार गर्ने गर्छन्‌। के त्यसो गर्दा प्रेम र कदर गरेको देखिन्छ? हामीलाई बोलाउने व्यक्‍तिले जे दिन्छन्‌, त्यसप्रति सन्तुष्ट भएर साँचो कृतज्ञता देखाउनुपर्छ। (लूका १०:७) अनि टार्नै नसकिने कुनै कारणले गर्दा अस्वीकार गर्नुपर्ने भयो भने पनि निम्तो दिने व्यक्‍तिलाई हामीले सकेजति चाँडो खबर गर्नु दयालु र विचारशील कुरा हो।

२१. स्थानीय चलनप्रति आदर देखाउँदा हामी कसरी राम्रो पाहुना बनिरहेका हुन्छौँ?

२१ हामीले स्थानीय चलनप्रति पनि आदर देखाउनुपर्छ। कुनै-कुनै समाजमा खबरै नगरी आएका पाहुनाहरूलाई पनि स्वागत गरिन्छ। तर अरू कतिपयमा भने पहिल्यै कुरा मिलाएपछि मात्र पाहुना आएको राम्रो मानिन्छ। कुनै-कुनै ठाउँमा पहिला पाहुनाहरूलाई सबैभन्दा मीठो खानेकुरा दिएर त्यसपछि मात्र घरका मान्छेहरूले लिने चलन छ। अरू ठाउँमा भने पाहुना र घरको मान्छे सबैले सँगसँगै खाने गर्छन्‌। कुनै-कुनै ठाउँमा पाहुनाहरूले अक्सर केही कोसेली लिएर आउँछन्‌। तर अरू कतिपय ठाउँमा भने पाहुनाले केही ल्याएको आशा गरिँदैन। कुनै-कुनै समाजमा पाहुनाहरूले सुरुमा एक-दुई चोटि शिष्टतापूर्वक निम्तो अस्वीकार गर्ने चलन छ। तर अरू कतिपय समाजमा भने त्यसरी निम्तो अस्वीकार गर्नुलाई अशिष्ट मानिन्छ। जे होस्‌, हामीलाई निम्तो दिने व्यक्‍तिलाई खुसी बनाउन सक्दो प्रयास गर्नुपर्छ।

२२. “एक-अर्काको अतिथि-सत्कार” गर्नु किन अत्यावश्‍यक छ?

२२ अहिले साँच्चै नै “सबै कुराको अन्त नजिक आइपुगेको छ।” (१ पत्रु. ४:७) संसारले पहिला कहिल्यै अनुभव नगरेको सङ्‌कष्ट अब आउनै लागेको छ। यस संसारको अवस्था झन्‌झन्‌ कठिन हुँदै जाँदा हाम्रा भाइबहिनीलाई गहिरो प्रेम गर्नु अत्यावश्‍यक छ। पत्रुसले ख्रीष्टियनहरूलाई दिएको यो सल्लाह अहिले झनै लागू गर्नुपर्ने भएको छ: “एक-अर्काको अतिथि-सत्कार गर।” यसो गर्नु रमाइलो र अत्यावश्‍यक छ अनि यो सधैँभरि चलिरहनेछ।—१ पत्रु. ४:९.