सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आमाबुबा हो, के तपाईँ आफ्ना छोराछोरीलाई बप्तिस्मातर्फ अघि बढ्‌न मदत दिँदै हुनुहुन्छ?

आमाबुबा हो, के तपाईँ आफ्ना छोराछोरीलाई बप्तिस्मातर्फ अघि बढ्‌न मदत दिँदै हुनुहुन्छ?

“किन अलमल गर्नुहुन्छ? उठ्‌नुहोस्‌ र बप्तिस्मा गर्नुहोस्‌।”—प्रेषि. २२:१६.

गीत: ५१, १३५

१. आफ्ना छोराछोरीले बप्तिस्मा गर्नुअघि ख्रीष्टियन आमाबुबा के पक्का गर्न चाहन्छन्‌?

बप्तिस्मा गर्नुअघिका घटनाहरू सम्झँदै बहिनी ब्लोजम ब्रान्ट यसो भन्छिन्‌, “म बप्तिस्मा गर्न चाहन्छु भनेर आमाबुबालाई भन्दै आएको महिनौँ भइसकेको थियो। उहाँहरू अक्सर मसित बप्तिस्माको विषयमा कुरा गर्नुहुन्थ्यो। बप्तिस्मा गर्नु गम्भीर निर्णय हो भनेर मैले राम्रोसित बुझेको उहाँहरू चाहनुहुन्थ्यो। सन्‌ १९३४ डिसेम्बर ३१ मेरो जीवनको महत्त्वपूर्ण दिन थियो, त्यस दिन मैले बप्तिस्मा गरेँ।” आजका ख्रीष्टियन आमाबुबाहरू पनि छोराछोरीलाई बुद्धिमानी निर्णय गर्न त्यसरी नै मदत दिन चाहन्छन्‌। बप्तिस्मालाई पछि सार्दा वा आलेटाले गर्दा त्यसले यहोवासित आफ्ना छोराछोरीको सम्बन्धलाई कमजोर बनाउन सक्छ भनेर ती आमाबुबालाई थाह छ। (याकू. ४:१७) तर बुद्धिमान्‌ आमाबुबाहरू आफ्ना छोराछोरीले बप्तिस्मा गर्नुअघि तिनीहरू येशूको चेला बन्‍ने जिम्मेवारी स्विकार्न साँच्चै तयार छन्‌ कि छैनन्‌ भनेर पक्का गर्न चाहन्छन्‌।

२. (क) केही क्षेत्रीय निरीक्षकहरूले के याद गरेका छन्‌? (ख) हामी यस लेखमा के छलफल गर्नेछौँ?

साक्षी परिवारमा हुर्किएर किशोरावस्था पार गर्न लागेका वा २०-२२ वर्ष पुगिसकेका कतिपय युवाहरूले अझै पनि बप्तिस्मा नगरेको केही क्षेत्रीय निरीक्षकहरूले याद गरेका छन्‌। हुनत तिनीहरूमध्ये धेरै जना सभाहरूमा उपस्थित हुन्छन्‌ अनि प्रचारकार्यमा पनि भाग लिन्छन्‌। तिनीहरू आफूलाई यहोवाको साक्षी नै ठान्छन्‌। तैपनि केही कारणले गर्दा तिनीहरू यहोवालाई आफ्नो जीवन समर्पण गर्न अनि बप्तिस्मा गर्नदेखि पछि हटिरहेका छन्‌। त्यसको कारण के हुन सक्छ? कुनै-कुनै अवस्थामा तिनीहरूका आमाबुबाले नै अहिले बप्तिस्मा नगरिहाल्न भनिरहेका हुन सक्छन्‌। यस लेखमा हामी ख्रीष्टियन आमाबुबाको मनमा आउने चिन्ताका चार वटा विषयबारे छलफल गर्नेछौँ, जसले गर्दा उनीहरूले छोराछोरीलाई बप्तिस्मा गर्नदेखि रोकिरहेका हुन सक्छन्‌।

मेरो छोरा वा छोरीको बप्तिस्मा गर्ने उमेर पुगिसक्यो र?

३. ब्लोजमका आमाबुबाको मनमा कस्तो चिन्ता थियो?

सुरुको अनुच्छेदमा उल्लेख गरिएकी ब्लोजमका आमाबुबा आफ्नी छोरी बप्तिस्माको महत्त्व अनि गम्भीरताबारे बुझ्ने भइसकेकी छे कि छैन भनेर चिन्तित थिए। आफ्नो छोरा वा छोरी यहोवालाई जीवन समर्पण गर्न तयार भइसकेको छ कि छैन भनेर आमाबुबाले कसरी पक्का गर्न सक्छन्‌?

४. छोराछोरीलाई सिकाउने सन्दर्भमा आमाबुबाले मत्ती २८:१९, २० मा पाइने येशूको आज्ञाबाट के सिक्न सक्छन्‌?

मत्ती २८:१९, २० पढ्‌नुहोस्‌। अघिल्लो लेखमा छलफल गरिएझैँ बप्तिस्मा गर्नको लागि बाइबलमा कुनै निश्‍चित उमेर तोकिएको छैन। तर चेला बनाउनुको अर्थ के हो भनेर आमाबुबाले गहिरिएर सोच्नु बेस हो। मत्ती २८:१९ मा ‘चेला बनाउनु’ भनेर अनुवाद गरिएको ग्रीक शब्दले चेला वा विद्यार्थी बनाउने उद्देश्‍यले सिकाउनुलाई बुझाउँछ। चेला भनेको येशूको शिक्षा सिकेर-बुझेर त्यसअनुसार चल्न चाहने व्यक्‍ति हो। त्यसैले सबै ख्रीष्टियन आमाबुबाले छोराछोरीलाई शैशवकालदेखि नै येशूको चेला बनाउने र बप्तिस्मा गर्न मदत दिने उद्देश्‍य राखेर बाइबलको कुरा सिकाउनुपर्छ। हुनत हो, शिशुहरू बप्तिस्मा गर्न तयार भइसकेका हुँदैनन्‌। तर बाइबलले देखाएअनुसार सानै उमेरमा पनि बच्चाहरूले बाइबलको सत्यहरू बुझ्न र त्यसको मोल गर्न सक्छन्‌।

५, ६. (क) बाइबलमा तिमोथीबारे बताइएको कुराबाट हामी तिनको बप्तिस्माबारे के भन्‍न सक्छौँ? (ख) समझदार आमाबुबाले आफ्ना छोराछोरीलाई कसरी मदत दिन्छन्‌?

तिमोथीले सानै उमेरमा यहोवाको सेवा गर्ने निर्णय गरेका थिए। तिमोथीले शैशवकालदेखि नै धर्मशास्त्रका सत्य कुराहरू सिकेका थिए भनेर प्रेषित पावलले बताए। तिनका बुबा यहोवाको उपासक नभए तापनि तिनकी यहूदी आमा र हजुरआमाले तिनलाई धर्मशास्त्रका कुरा बुझ्न र त्यसको मोल गर्न सिकाए। यसले गर्दा तिमोथीको विश्‍वास बलियो भयो। (२ तिमो. १:५; ३:१४, १५) किशोरावस्था पार गर्न लाग्दा वा २०-२२ वर्ष पुग्दा त तिनी मण्डलीमा विशेष सुअवसरहरू पाउन योग्य चेला भइसकेका थिए।—प्रेषि. १६:१-३.

हुनत हो, सबै बच्चा एकैनासका हुँदैनन्‌। सबै बच्चा एउटै उमेरमा वा एउटै समयमा परिपक्व हुन्छन्‌ भन्‍ने छैन। कोही-कोही बच्चाहरू सानै उमेरमा मानसिक र भावनात्मक रूपमा परिपक्व हुन्छन्‌ अनि बप्तिस्मा गर्ने निर्णय गर्छन्‌। कोही-कोही भने अलि ठूलो भइसकेपछि मात्र बप्तिस्माको लागि तयार हुन्छन्‌। त्यसैले समझदार आमाबुबाले आफ्ना छोराछोरीलाई बप्तिस्मा गर्न दबाब दिँदैनन्‌। बरु उनीहरू छोराछोरीलाई आफ्नै समयमा परिपक्व हुन मदत दिन्छन्‌। छोराछोरीले हितोपदेश २७:११ को सल्लाह मनैदेखि लागू गर्दा आमाबुबाको मन खुसी हुन्छ। (पढ्‌नुहोस्‌) तर आमाबुबाले कहिल्यै आफ्नो लक्ष्य बिर्सनु हुँदैन। त्यो हो—छोराछोरीलाई येशूको चेला बन्‍न मदत दिने। यो कुरा विचार गर्दा आमाबुबाको मनमा अर्को प्रश्‍न आउन सक्छ, ‘यहोवालाई जीवन समर्पण गर्न र बप्तिस्मा गर्न के मेरो छोरा वा छोरीले पर्याप्त ज्ञान हासिल गरिसक्यो?’

के मेरो छोरा वा छोरीले पर्याप्त ज्ञान हासिल गरिसक्यो?

७. के बप्तिस्माको लागि योग्य हुन बाइबलको भएभरको ज्ञान हासिल गरिसकेको हुनुपर्छ?

छोराछोरीलाई सिकाउने जिम्मेवारी आमाबुबाको हो, त्यसैले उनीहरू आफ्ना छोराछोरीले बाइबलको राम्रो ज्ञान हासिल गरेको चाहन्छन्‌। त्यस्तो ज्ञान हासिल गरेपछि छोराछोरी यहोवालाई आफ्नो जीवन समर्पण गर्न उत्प्रेरित हुन्छन्‌। तर त्यसो भन्दैमा छोराछोरीले बाइबलको भएभरको ज्ञान हासिल गरेपछि मात्र समर्पण र बप्तिस्मा गर्न सकिन्छ भन्‍ने होइन। बप्तिस्मापछि पनि सबै चेलाले सही ज्ञान हासिल गर्दै जानुपर्छ। (कलस्सी १:९, १० पढ्‌नुहोस्‌) त्यसोभए बप्तिस्मा गर्नुअघि छोराछोरीले कति ज्ञान हासिल गरिसकेको हुनुपर्छ?

८, ९. फिलिप्पीका जेलरको विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

यस विषयमा बुझ्न आमाबुबालाई प्रथम शताब्दीको एउटा परिवारको अनुभवले मदत गर्छ। (प्रेषि. १६:२५-३३) इस्वी संवत्‌ ५० तिर दोस्रो मिसनरी यात्राको दौडान पावल फिलिप्पी गएका थिए। त्यहाँ तिनी र तिनका सहकर्मी सिलासलाई झूटो आरोपमा पक्राउ गरियो र जेलमा हालियो। त्यस रात भूकम्पले गर्दा झ्यालखानाको जग हल्लियो अनि सबै ढोकाहरू खुले। सबै कैदी भागिसके होलान्‌ भन्ठानेर जेलर निकै डराए र आत्महत्या गर्न खोजे। तर त्यसो गर्नदेखि पावलले उनलाई रोके। अनि पावल र सिलास मिलेर जेलर र उनको परिवारलाई साक्षी दिए। येशू ख्रीष्टबारे सिकेको कुराले उनीहरूको मन छोयो। त्यसपछि उनीहरू कस्तो कदम चाल्न उत्प्रेरित भए? उनीहरूले कुनै आलेटाले नगरी बप्तिस्मा गरिहाले। हामी यस विवरणबाट के सिक्छौँ?

हुन सक्छ ती जेलर अवकाशप्राप्त सैनिक थिए। उनलाई धर्मशास्त्रबारे त्यति ज्ञान थिएन। त्यसैले धर्मशास्त्रको कुरा राम्ररी बुझ्न उनले केही आधारभूत कुराहरू सिक्नुपर्थ्यो, परमेश्‍वरको उपासक बन्‍नुको अर्थ के हो भनेर बुझ्नुपर्थ्यो अनि येशूको शिक्षाअनुसार चल्न कटिबद्ध हुनुपर्थ्यो। छोटो समयमा उनले धर्मशास्त्रका आधारभूत कुराहरू सिके र त्यसको मोल गर्न थाले। त्यसैले उनी बप्तिस्मा गर्न उत्प्रेरित भए। बप्तिस्मा पछि पनि उनले धर्मशास्त्रको ज्ञान लिन पक्कै छोडेनन्‌। यो घटनाबाट आमाबुबाले महत्त्वपूर्ण पाठ सिक्न सक्छन्‌। छोराछोरीले बाइबलको शिक्षाको मनैदेखि मोल गरेको अनि समर्पण गरेर बप्तिस्मा गर्न चाहेको कुरा व्यक्‍त गर्दा तपाईँ के गर्न सक्नुहुन्छ? सायद छोराछोरीले अब मण्डलीका एल्डरहरूसित आफू बप्तिस्माको लागि योग्य छु कि छैनँ भनेर कुरा गर्दा हुन्छ जस्तो तपाईँलाई लाग्ला। * बप्तिस्मा गरिसकेका अरू चेलाहरूले जस्तै तपाईँका छोराछोरीले पनि यहोवाको उद्देश्‍यबारे जीवनभरि नै ज्ञान हासिल गर्दै जानुपर्नेछ। त्यसरी ज्ञान लिने काम सधैँभरि चलिरहनेछ।—रोमी ११:३३, ३४.

मेरो छोरा वा छोरीले उच्च शिक्षा हासिल गरेपछि मात्र बप्तिस्मा गर्नु ठीक हो कि?

१०, ११. (क) केही आमाबुबाले कस्तो सोचाइ राखेका छन्‌? (ख) आमाबुबाले सबैभन्दा प्राथमिकता दिनुपर्ने कुरा के हो?

१० केही आमाबुबाले आफ्नो छोरा वा छोरीले उच्च शिक्षा हासिल गरेर करिअर बनाइसकेपछि मात्र बप्तिस्मा गर्नु ठीक हो भन्‍ने सोचेका छन्‌। हुनत आमाबुबाले राम्रै मनसायले यस्तो सोचेका हुन सक्छन्‌ तर के त्यसले छोराछोरीलाई साँचो सफलता हासिल गर्न मदत देला? अझ महत्त्वपूर्ण कुरा, के त्यस्तो सोचाइ धर्मशास्त्रसित मेल खान्छ? हामीले आफ्नो जीवन कसरी प्रयोग गरेको यहोवा चाहनुहुन्छ?उपदेशक १२:१ पढ्‌नुहोस्‌।

११ यस संसार अनि यसमा भएका सबै कुरा यहोवाको इच्छा अनि सोचाइसित पटक्कै मेल खाँदैन भन्‍ने कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन। (याकू. ४:७, ८; १ यूह. २:१५-१७; ५:१९) त्यसैले सैतान, त्यसको संसार अनि त्यसको भ्रष्ट सोचाइदेखि सुरक्षित रहन छोराछोरीले यहोवासित घनिष्ठ सम्बन्ध विकास गरेको हुनुपर्छ। आमाबुबाले छोराछोरीलाई उच्च शिक्षा हासिल गरेर राम्रो जागिर खानुपर्छ भनेर जोड दिँदा छोराछोरी अलमल्लमा पर्न सक्छन्‌ र तिनीहरूलाई यहोवासितको सम्बन्धभन्दा संसारको कुरा नै महत्त्वपूर्ण लाग्न सक्छ। संसारले दिने कुराहरूबाट सफलता पाइन्छ भनेर आफ्ना छोराछोरीले सोचेको के तपाईँ मायालु आमाबुबाहरू चाहनुहुन्छ र? वास्तवमा यहोवालाई पहिलो स्थान दियौँ भने मात्र हामी साँचो आनन्द र सफलता हासिल गर्न सक्छौँ।भजन १:२, ३ पढ्‌नुहोस्‌।

मेरो छोरा वा छोरीले पाप गऱ्‍यो भने नि?

१२. केही आमाबुबा किन आफ्ना छोराछोरीले अलि ठूलो भइसकेपछि मात्र बप्तिस्मा गरेको चाहन्छन्‌?

१२ छोरीलाई बप्तिस्मा गर्न प्रोत्साहन नदिनुको कारणबारे एउटी आमा यसरी बताउँछिन्‌, “मलाई भन्‍न लाज लाग्छ तर वास्तवमा भन्‍ने हो भने छोरी केही गरी बहिष्कृत होली भन्‍ने डरले गर्दा नै मैले उसलाई रोकिरहेकी थिएँ।” बच्चाहरूले गलत निर्णय गर्ने सम्भावना धेरै भएकोले यी आमाले जस्तै अरू केही आमाबुबा पनि आफ्ना छोराछोरीले अलि ठूलो भइसकेपछि मात्र बप्तिस्मा गरून्‌ भन्‍ने चाहन्छन्‌ र छिटै बप्तिस्मा गर्न प्रोत्साहन दिँदैनन्‌। (उत्प. ८:२१; हितो. २२:१५) तिनीहरू यस्तो तर्क गर्लान्‌, ‘मेरो छोरा वा छोरीले बप्तिस्मा गरेको छैन भने उसलाई बहिष्कार गर्ने कुरै आउँदैन!’ तर यस्तो सोचाइ राख्नु गलत हो, किन?—याकू. १:२२.

१३. बप्तिस्मा नगर्दैमा यहोवासामु जबाफदेही भइँदैन भन्‍न मिल्छ? व्याख्या गर्नुहोस्‌।

१३ हुनत हो, आफ्ना छोराछोरी यहोवालाई जीवन समर्पण गर्न तयार भइसकेका छैनन्‌ भने आमाबुबा तिनीहरूले बप्तिस्मा गरेको चाहँदैनन्‌। तर छोराछोरीले बप्तिस्मा गरेका छैनन्‌ भने तिनीहरू यहोवासामु जबाफदेही हुँदैनन्‌ भन्‍ने सोचाइ राख्नु गलत हो। किन? किनभने बप्तिस्मा गरेमा जबाफदेही हुने अनि नगरेमा नहुने भन्‍ने होइन। बरु छोराछोरीले यहोवाको नजरमा के सही हो र के गलत हो भनेर बुझेदेखि नै तिनीहरू उहाँसामु जबाफदेही हुन्छन्‌। (याकूब ४:१७ पढ्‌नुहोस्‌) त्यसैले बुद्धिमान्‌ आमाबुबा छोराछोरीलाई बप्तिस्मा गर्नदेखि रोक्नुको साटो आफैले राम्रो उदाहरण बसाल्न निकै प्रयास गर्छन्‌। तिनीहरू आफ्ना छोराछोरीलाई सानो बेलादेखि नै यहोवाको उच्च नैतिक स्तरहरूको मनैदेखि मोल गर्न सिकाउँछन्‌। (लूका ६:४०) छोराछोरीले ती स्तरहरूको मोल गरेका छन्‌ भने त्यो तिनीहरूको लागि सबैभन्दा राम्रो सुरक्षा हुनेछ किनभने तिनीहरू सधैँ यहोवाको स्तरअनुसार चल्न कटिबद्ध हुनेछन्‌।—यशै. ३५:८.

अरूले कसरी मदत गर्न सक्छन्‌?

१४. छोराछोरीलाई बप्तिस्मातर्फ अघि बढ्‌न मदत दिइरहेका आमाबुबालाई एल्डरहरूले कसरी साथ दिन सक्छन्‌?

१४ छोराछोरीलाई बप्तिस्मातर्फ अघि बढ्‌न मदत दिइरहेका आमाबुबालाई साथ दिन मण्डलीका आध्यात्मिक गोठालाहरू अर्थात्‌ एल्डरहरूले आध्यात्मिक लक्ष्यहरूबारे कुराकानी गर्न सक्छन्‌। सत्तरी वर्षभन्दा लामो समय अग्रगामी सेवा गरेकी एक बहिनीलाई छ वर्षको छँदा भाइ चार्ल्स टेज रसलसित गरेको कुराकानीले निकै प्रभाव पारेको थियो। त्यो कुराकानीबारे उनले यसो भनिन्‌, “उहाँले मेरो आध्यात्मिक लक्ष्यबारे मसित १५ मिनेट कुरा गर्नुभएको थियो।” हो, सकारात्मक कुराकानी अनि प्रोत्साहनले जीवनभर प्रभाव पार्न सक्छ। (हितो. २५:११) साथै एल्डरहरूले आमाबुबा अनि छोराछोरीलाई राज्यभवनमा हुने विभिन्‍न काममा सामेल गराउन सक्छन्‌। अनि छोराछोरीको उमेर र क्षमताले भ्याउने विभिन्‍न काम अह्राउन सक्छन्‌।

१५. मण्डलीका सदस्यहरूले केटाकेटीलाई कसरी प्रोत्साहन दिन सक्छन्‌?

१५ मण्डलीका अरू सदस्यहरूले कसरी मदत गर्न सक्छन्‌? केटाकेटीप्रति उचित तरिकामा व्यक्‍तिगत चासो देखाएर। जस्तै: केटाकेटीले आध्यात्मिक रूपमा के-कस्ता प्रगति गरिरहेका छन्‌ भनेर याद गर्न सक्छन्‌। कसैले राम्ररी सोचविचार गरेर मनैदेखि टिप्पणी दिएको अथवा मध्यहप्ताको सभामा कुनै भाग प्रस्तुत गरेको थियो कि? वा गलत काम गर्ने प्रलोभन आइपर्दा परमेश्‍वरप्रति निष्ठावान्‌ रहेको थियो कि? अथवा स्कुलमा कसैलाई साक्षी दिएको थियो कि? यस्ता कुराहरू याद गर्नुभयो भने तिनीहरूको मनैदेखि प्रशंसा गर्नुहोस्‌। सभाअघि वा पछि केटाकेटीलाई चासो देखाउँदै कुराकानी गर्ने लक्ष्य राखे कसो होला? यी र अन्य तरिकामा चासो देखाइँदा केटाकेटीले आफू पनि “ठूलो समुदायका” सदस्य हुँ भनेर महसुस गर्नेछन्‌।—भज. ३५:१८.

छोराछोरीलाई बप्तिस्मातर्फ अघि बढ्‌न मदत दिनुहोस्‌

१६, १७. (क) छोराछोरीले बप्तिस्मा गर्नु किन महत्त्वपूर्ण छ? (ख) सबै ख्रीष्टियन आमाबुबा कस्तो आनन्द अनुभव गर्न चाहन्छन्‌? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

१६ छोराछोरीलाई “यहोवाको डोऱ्‍याइबमोजिम अनुशासन अनि चेतावनी दिएर” हुर्काउनु ख्रीष्टियन आमाबुबाहरूले पाएको ठूलो सुअवसर हो। (एफि. ६:४; भज. १२७:३) प्राचीन इस्राएलमा बच्चाहरू जन्मेदेखि नै यहोवामा समर्पित राष्ट्रको भाग हुन्थे। तर अहिले त्यस्तो हुँदैन। अनि महत्त्वपूर्ण कुरा, परमेश्‍वर र सत्यप्रतिको प्रेम आमाबुबाबाट छोराछोरीमा जन्मजात आउने कुरा होइन। बच्चा जन्मेदेखि नै आमाबुबाले तिनीहरूलाई चेला बनाउने उद्देश्‍यले सिकाउने अनि तिनीहरूलाई बप्तिस्मा गरेर यहोवाको सेवक बन्‍न मदत दिने लक्ष्य राख्नुपर्छ। त्योभन्दा महत्त्वपूर्ण कुरा अरू के होला र! किनभने हामीले समर्पण र बप्तिस्मा गरेका छौँ अनि वफादार भएर परमेश्‍वरको सेवा गरिरहेका छौँ भने मात्र महासङ्‌कष्टको दौडान बचाइनेछौँ।—मत्ती २४:१३.

चेला बनाउने लक्ष्य राखेर आमाबुबाले छोराछोरीलाई मदत गर्नुपर्छ (अनुच्छेद १६, १७ हेर्नुहोस्‌)

१७ यस लेखको सुरुमा उल्लेख गरिएकी ब्लोजम ब्रान्टले बप्तिस्मा गर्ने निर्णय गर्दा तिनका आमाबुबा आफ्नी छोरी यस महत्त्वपूर्ण कदम चाल्न साँच्चै तयार छे कि छैन भनेर पक्का गर्न चाहन्थे। छोरी तयार छे भनेर पक्का भएपछि तिनीहरूले छोरीको निर्णयलाई साथ दिए। बप्तिस्माको अघिल्लो रात बुबाले गर्नुभएको कुराबारे ब्लोजम बहिनीले यसरी बताइन्‌, “उहाँले हामी सबैलाई घुँडा टेक्न लगाउनुभयो अनि प्रार्थना गर्नुभयो। आफ्नी सानी छोरीले यहोवालाई जीवन समर्पण गर्ने निर्णय गरेको देख्दा साह्रै खुसी लागेको छ भनेर प्रार्थनामा भन्‍नुभयो।” आफूले बप्तिस्मा गरेको ६० वर्षभन्दा लामो समयपछि ब्लोजमले यसो भनिन्‌, “म त्यो रात कहिल्यै बिर्सन सक्दिनँ!” आमाबुबा हो, छोराछोरीले यहोवामा जीवन समर्पण र बप्तिस्मा गर्दा पाइने आनन्द र सन्तुष्टि तपाईँहरूले पनि महसुस गर्न सक्नुहोस्‌।

^ अनु. 9 आमाबुबाले छोराछोरीसित युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ (अङ्‌ग्रेजी) खण्ड २, पृष्ठ ३०४-३१० मा पाइने महत्त्वपूर्ण जानकारी छलफल गर्न सक्छन्‌। साथै हाम्रो राज्य सेवा अप्रिल २०११, पृष्ठ २ मा भएको “प्रश्‍न पेटी” पनि हेर्नुहोस्‌।