सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूको प्रश्‍न

पाठकहरूको प्रश्‍न

यहोवाका साक्षीहरूको प्रकाशनमा प्रेषित पावललाई कपाल नभएको वा थोरै मात्र भएको व्यक्‍तिको रूपमा दर्शाइन्छ, किन?

वास्तवमा भन्‍नुपर्दा, प्रेषित पावल कस्ता देखिन्थे भनेर आज कसैले पनि भन्‍न सक्दैन। हाम्रा प्रकाशनहरूमा चलाइएका चित्रहरू कुनै ऐतिहासिक प्रमाणको आधारमा तयार पारिएका तस्बिर होइनन्‌, तिनलाई चिनाउन कोरिएका चित्र मात्र हुन्‌।

तर पावल कस्ता देखिन्थे भनेर सङ्‌केत गर्ने केही कुराहरू छन्‌। उदाहरणको लागि, जायन्स वाचटावर (अङ्‌ग्रेजी) मार्च १, १९०२ को एउटा लेखमा यसो भनिएको थियो: “पावल कस्ता देखिन्थे भन्‍ने सन्दर्भमा इस्वी संवत्‌ १५० तिर लेखिएको ‘पावल र थेक्लाका कार्यहरू’ किताबमा अहिलेसम्मकै भरपर्दो जानकारी दिइएको छ। त्यस किताबमा तिनी ‘होचो, कपाल नभएको, बाङ्‌खुट्टे, खाइलाग्दो ज्यान भएको, आँखीभुइँ जोडिएको अनि लामो नाक भएको व्यक्‍ति’ थिए भनेर बताइएको छ।”

चर्चसित सम्बन्धित एउटा शब्दकोशले त्यस किताबबारे यसो भनेको छ: ‘पावल र थेक्लाका कार्यहरू’ किताबमा ऐतिहासिक सत्यता नहोला भन्‍न सकिँदैन। त्यस किताबको ८० वटा ग्रीक पाण्डुलिपि अझै उपलब्ध छन्‌ अनि त्यो किताब अरू भाषामा पनि पाइन्छ। त्यसबाट के स्पष्ट हुन्छ भने, सुरु-सुरुतिरका शताब्दीहरूमा ‘पावल र थेक्लाका कार्यहरू’ किताबलाई धेरैले मान्यता दिन्थे। त्यसैले तिनै कुरालाई आधार मानेर हाम्रा प्रकाशनहरूमा पनि पावलबारे त्यसैअनुसारको चित्रहरू कोरिएका छन्‌।

बाइबलले पावलको रूपबारे त्यति वर्णन नगरे पनि तिनीबारे अरू उल्लेखनीय कुराहरू भने वर्णन गरेको छ। तिनी सेवाको काममा सक्रिय भई लागिरहँदा तिनका कोही आलोचकहरू यसो भन्थे: “उसको ठाँटबाँट केही देखिंदैन र सुन्‍न लायकको केही कुरा उसले बोल्दैन”। (२ कोरि. १०:१०) तर यो कुरा नबिर्सनुहोस्‌, तिनी चमत्कारपूर्ण तरिकामा येशूबाट दर्शन पाएपछि उहाँको चेला बनेका थिए। ‘जाति-जातिका मानिसहरूलाई येशूको नाम बताउन रोजिएका पात्रको’ रूपमा तिनले पूरा गरेको भूमिकाबारे पनि हामी सोच्न सक्छौँ। (प्रेषि. ९:३-५, १५; २२:६-८) अनि यहोवाको प्रेरणा पाएर पावलले लेखेका बाइबलका किताबहरूबाट हामी कत्ति धेरै लाभ उठाउन सक्छौँ भनेर पनि सोच्नुहोस्‌।

ख्रीष्टियन हुनुअघि आफूले हासिल गरेका कुराहरूमा पावलले कहिल्यै घमन्ड गरेनन्‌। अनि आफ्नो रूपबारे पनि उल्लेख गरेनन्‌। (प्रेषि. २६:४, ५; फिलि. ३:४-६) बरु तिनले यसो भने: “प्रेषितहरूमध्ये म सबैभन्दा सानो हुँ र म प्रेषित भनिन लायक पनि छैनँ।” (१ कोरि. १५:९) तिनले पछि यस्तो लेखे: “पवित्र जनहरूमध्ये जो सबैभन्दा सानो छ, ऊभन्दा पनि सानो मजस्तो मानिसलाई यो असीम अनुग्रह यसकारण देखाइयो, कि मैले ख्रीष्टको अथाह सम्पत्तिको विषयमा अन्यजातिका मानिसहरूलाई सुसमाचार घोषणा गरूँ।” (एफि. ३:८) हाम्रो लागि महत्त्वपूर्ण कुरा भनेको तिनको रूपभन्दा पनि तिनले घोषणा गरेको त्यो सुसमाचार हो।