सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनी

यहोवाले कहिल्यै साथ छोड्‌नुभएको छैन!

यहोवाले कहिल्यै साथ छोड्‌नुभएको छैन!

अडोल्फ हिटलरले भाषण दिएपछि तिनलाई फूल दिन छानिएका चार जना साना केटीहरूमध्ये म पनि थिएँ। किनकि मेरो बुबा नाजी गतिविधिमा एकदमै सक्रिय हुनुहुन्थ्यो अनि नाजी पार्टीको स्थानीय नेताको गाडी चलाउनुहुन्थ्यो। मेरी आमाचाहिँ क्याथोलिक हुनुहुन्थ्यो र धर्ममा एकदमै समर्पित हुनुहुन्थ्यो। म क्याथोलिक नन बनेको आमा चाहनुहुन्थ्यो। तर म भने न नाजी सिपाही बनेँ न त नन। त्यसो हुनुको कारण के थियो, अब म बताउँछु।

म अस्ट्रियाको ग्राज भन्‍ने ठाउँमा हुर्किएँ। सात वर्षको छँदा मलाई धार्मिक शिक्षा दिइने स्कुलमा पठाइयो। तर त्यहाँका पादरीहरू अनि ननहरूमाझ घोर यौन अनैतिकता देखेँ। त्यसपछि एक वर्ष पनि नबित्दै मलाई त्यो स्कुलबाट निकाल्न आमा राजी हुनुभयो।

हाम्रो परिवार, बुबा जङ्‌गी पोसाकमा

पछि म बोर्डिङ स्कुलमा पढ्‌न गएँ। एक रातको कुरा हो, बुबा मलाई सुरक्षित स्थानमा लैजानको लागि लिन आउनुभयो किनभने त्यतिबेला युद्ध चर्किरहेको थियो र ग्राज सहरमा भीषण बम वर्षा भइरहेको थियो। हामीले स्लाडमिग्‌ भन्‍ने सहरमा शरण लियौँ। हामी एउटा पुल तरेर त्यहाँ पुगेको केही समय नबित्दै त्यो पुललाई बम खसालेर ध्वस्त पारियो। अर्को एक चोटि भने हजुरआमा र म बगैँचामा बसिरहेको बेला एकदमै तल-तल उड्‌ने हवाईजहाजहरूले हामीलाई आक्रमण गऱ्‍यो। युद्ध सकुन्जेलसम्म एउटा कुरा भने प्रस्टै भइसकेको थियो, चर्च र सरकार दुवैलाई हाम्रो कुनै वास्ता थिएन।

सधैँ साथ दिनुहुने परमेश्‍वरबारे सिकेँ

सन्‌ १९५० मा यहोवाका साक्षीहरूले मेरी आमालाई बाइबलमा पाइने सन्देश सुनाउन थाल्नुभयो। म उहाँहरूको कुराकानी सुन्थेँ। अनि कहिलेकाहीँ आमासित साक्षीहरूको सभामा पनि जान्थेँ। यहोवाका साक्षीहरूले सत्य कुरा सिकाइरहेका छन्‌ भनेर विश्‍वस्त हुनुभएपछि आमाले सन्‌ १९५२ मा बप्तिस्मा गर्नुभयो।

त्यतिबेला हाम्रो इलाकाको मण्डली मलाई बूढी आमाहरूको जमघटजस्तो लाग्थ्यो। पछि हामी अर्कै मण्डलीमा पनि गयौँ। त्यहाँ भने बूढी आमाहरू मात्र होइन, युवायुवतीहरू पनि थुप्रै थिए। ग्राज फर्किएपछि म सबै सभा जान थालेँ। केही समय नबित्दै मलाई पनि आफूले सिकिरहेको कुरा साँच्चै सत्य हो भनेर पक्का भयो। यहोवा आफ्ना सेवकहरूलाई जस्तोसुकै अवस्थामा पनि साथ दिनुहुन्छ भनेर मैले बुझेँ। आफू एक्लैले कठिन अवस्था भोगिरहेको छु जस्तो लागे पनि उहाँले कहिल्यै हाम्रो साथ छोड्‌नुहुन्‍न।—भज. ३:५, ६.

म अरूलाई पनि सत्य सुनाउन चाहन्थेँ। सबैभन्दा पहिले मैले आफ्नो दाइ अनि दिदीबहिनीहरूलाई बताएँ। मेरा चार वटी दिदी शिक्षिकाको काम गर्न अर्कै ठाउँमा गइसक्नुभएको थियो। म उहाँहरू जानुभएको गाउँ-गाउँमा भेट्‌न गएँ अनि बाइबल अध्ययन गर्न आग्रह गरेँ। पछि मेरो दाइ र दिदीबहिनीहरू सबैले अध्ययन गर्नुभयो र यहोवाको साक्षी बन्‍नुभयो।

मैले घर-घर गएर प्रचार गर्न थालेको दोस्रो हप्तामा ३० वर्ष नाघेकी एउटी स्त्रीलाई भेटेँ र उनीसित बाइबल अध्ययन गर्न थालेँ। उनले राम्रो प्रगति गरिन्‌ र बप्तिस्मा गरिन्‌। पछि उनको श्रीमान्‌ र दुई जना छोराले पनि बप्तिस्मा गरे। तिनलाई अध्ययन गराउँदा मेरो आफ्नै विश्‍वास पनि बलियो भयो। किन? किनभने यसरी औपचारिक रूपमा कसैले मलाई बाइबल अध्ययन गराएको थिएन। त्यसैले हरेक अध्याय मैले राम्रोसित तयारी गर्नुपर्थ्यो। भनौँ भने, पहिला आफूले सिक्नुपर्थ्यो, तब मात्र म आफ्नो विद्यार्थीलाई सिकाउन सक्थेँ। यो अनुभवले गर्दा सत्यप्रति मेरो कृतज्ञता अझै बढ्‌यो। सन्‌ १९५४ अप्रिलमा मैले बप्तिस्मा गरेँ।

“हाम्रो खेदो गरिएको छ तर अलपत्र छोडिएका छैनौँ”

सन्‌ १९५५ मा म जर्मनी, फ्रान्स र बेलायतमा आयोजना गरिएका अन्तरराष्ट्रिय अधिवेशनहरूमा उपस्थित भएँ। लन्डनमा मैले अल्बर्ट श्रोडरलाई भेटेँ। उहाँ गिलियड स्कुलको शिक्षक हुनुहुन्थ्यो र पछि परिचालक निकायको सदस्यको रूपमा पनि सेवा गर्नुभयो। बेलायती सङ्‌ग्रहालयमा घुमिरहेको बेला भाइ श्रोडरले हामीलाई बाइबलका केही पाण्डुलिपिहरू देखाउनुभयो। त्यसमा हिब्रू भाषामा परमेश्‍वरको नाम लेखिएको थियो अनि उहाँले त्यसको महत्त्वबारे बताइदिनुभयो। त्यसले मेरो मन छोयो अनि यहोवालाई अझ धेरै प्रेम गर्न र आफूले पाएको सत्यको झनै मोल गर्न थालेँ। साथै, परमेश्‍वरको वचनमा पाइने सत्य अरूलाई सुनाउन अझ कटिबद्ध भएँ।

अग्रगामी साथी (दायाँ) र म अस्ट्रियाको मिसलबाकमा विशेष अग्रगामीको रूपमा सेवा गर्दा

मैले सन्‌ १९५६, जनवरी १ देखि पूर्ण समय प्रचारकको रूपमा सेवा गर्न थालेँ। त्यसको चार महिनापछि मैले विशेष अग्रगामीको रूपमा सेवा गर्ने निम्तो पाएँ। मलाई अस्ट्रियाको मिसेलबाक भन्‍ने सहरमा खटाइयो। त्यतिबेला त्यहाँ साक्षीहरू कोही पनि थिएनन्‌। तर मैले अर्कै प्रकारको समस्याको सामना गर्नुपऱ्‍यो। मेरो अग्रगामी साथी र मेरो आनीबानी एकदमै फरक थियो। म लगभग १९ वर्षकी र सहरमा हुर्किएकी केटी थिएँ। उनी भने २५ वर्षकी र गाउँमा हुर्किएकी केटी थिइन्‌। मलाई बिहान अबेरसम्म सुत्न मन लाग्थ्यो तर उनी भने सबेरै उठ्‌थिन्‌। मलाई राती ढिला सुत्न मन लाग्थ्यो तर उनी भने चाँडै सुत्थिन्‌। यस्ता भिन्‍नताहरू भए तापनि बाइबलको सल्लाह लागू गर्दा हामीले मिलेर काम गर्न सक्यौँ अनि अग्रगामी सेवामा रमाउन सक्यौँ।

पछि हामीले अझ ठूलठूला समस्याहरू सामना गऱ्‍यौँ। हाम्रो खेदो गरियो तर हामी ‘अलपत्र छोडिएनौँ।’ (२ कोरि. ४:७-९) एक चोटि हामी एउटा गाउँमा प्रचार गरिरहेको बेला मानिसहरूले कुकुरहरू छोडिदिए। म र मेरो साथीलाई ठूलठूला कुकुरले चारैतिरबाट घेरे अनि दाह्रा देखाउँदै भुके। हामीले एकअर्काको हात च्याप्प समात्यौं। मैले त यसरी प्रार्थनासमेत गरेँ, “हे यहोवा, बिन्ती छ, यी कुकुरहरूको टोकाइले हामी धेरै छट्‌पटिन नपरोस्‌, हामी तुरुन्तै मर्न पाऔँ!” हामी उभिरहेको ठाउँबाट एक हातजति नजिक आइपुगेपछि कुकुरहरू रोकिए अनि पुच्छर हल्लाउँदै फर्किए। हामीलाई यहोवाले नै बचाउनुभएको जस्तो लाग्यो। त्यसपछि हामीले पूरै गाउँमा प्रचार गऱ्‍यौँ। खुसीको कुरा, मानिसहरूले हाम्रो सन्देश ध्यान दिएर सुने। कुकुरहरूले हामीलाई नटोकेको देखेर तिनीहरू जिल्ल परे होलान्‌। अथवा त्यस्तो डरलाग्दो अनुभव गरेपछि पनि हामीले हार नमानेको देखेर तिनीहरू छक्कै परे कि! तिनीहरूमध्ये कोही-कोही पछि साक्षी बने।

अर्को एक चोटिको अनुभवले पनि हाम्रो सातो नै लगेको थियो। हाम्रो घरबेटी रक्सीले मात्तिएर घर फर्के। हामीले छिमेकीहरूलाई दुःख दिइरहेका छौँ भन्दै तिनी बेसरी कराए अनि हामीलाई मार्ने धम्की दिन थाले। तिनकी पत्नीले तिनलाई सम्झाउन खोजिन्‌ तर केही सीप लागेन। यो सबै हामीले माथि हाम्रो कोठाबाट सुनिरहेका थियौँ। हामीले ढोकालाई छेक्न मेचहरू राख्यौँ अनि आ-आफ्नो सुटकेसमा सामान पोको पार्न थाल्यौँ। ढोका खोल्दा हाम्रो घरबेटी ठूलो चक्कु लिएर भऱ्‍याङमा उभिरहेका थिए। त्यसैले हामी आफ्नो सरसामान पोको पारेर पछाडिको ढोकाबाट बारीमा ओर्लियौँ र कहिल्यै नफर्किनेगरि भाग्यौँ।

त्यसपछि हामी एउटा होटेलमा कोठा लिएर बस्न थाल्यौँ। त्यो कोठामा हामी झन्डै एक वर्ष बस्यौँ। त्यहाँ बस्दा हाम्रो प्रचारकार्य फलदायी साबित भयो। कसरी? त्यो होटेल सहरको बीचतिर पर्थ्यो। हाम्रा कोही-कोही बाइबल विद्यार्थी त्यहीँ आएर अध्ययन गर्न चाहन्थे। त्यहाँ बस्न थालेको धेरै समय नबित्दै हामीले पुस्तक अध्ययन र प्रहरीधरहरा अध्ययन हाम्रै कोठामा गर्न थाल्यौँ। त्यहाँ १५ जना जति आउँथे।

हामी मिसेलबाकमा एक वर्षभन्दा लामो समय बस्यौँ। पछि मलाई ग्राजको दक्षिणपूर्वमा पर्ने फेल्डबाक भन्‍ने सहरमा खटाइयो। मैले नयाँ अग्रगामी साथी पाएँ तर त्यहाँ पनि मण्डली थिएन। हामी काठै-काठले बनाइएको घरको दोस्रो तल्लामा बस्थ्यौँ। हाम्रो कोठा एकदमै सानो थियो अनि काठको चेपबाट हावा छिर्ने भएकोले अखबारहरू कोचेर प्वाल बन्द गर्थ्यौँ। इनारबाट पानी तान्‍नुपर्थ्यो। तर हाम्रो मेहनत खेर गएन। केही महिनापछि नै एउटा सानो समूह स्थापना भयो। हामीले अध्ययन गरेको एउटा परिवारका ३० जना जति पछि साक्षी भए!

यस्ता अनुभवहरूले गर्दा यहोवाको राज्यसम्बन्धी गतिविधिलाई पहिलो स्थान दिनेहरूलाई उहाँ सधैँ साथ दिनुहुन्छ भनेर झनै पक्का भयो। मानिसहरूबाट कुनै मदत पाउने आशा नहुँदा पनि यहोवा सधैँ हाम्रो साथमा हुनुहुन्छ।—भज. १२१:१-३.

परमेश्‍वरले “धार्मिकताको दाहिने हातले” मलाई सम्हाल्नुभयो

सन्‌ १९५८ मा न्यु योर्क सहरको याङ्‌की रङ्‌गशाला र पोलो ग्राउन्ड्‌समा अन्तरराष्ट्रिय अधिवेशन आयोजना हुन लागेको थियो। मैले त्यस अधिवेशनमा उपस्थित हुनको लागि आवेदन भरेँ। अस्ट्रिया शाखाले मलाई गिलियड स्कुलको ३२ औँ कक्षामा पनि उपस्थित हुन चाहनुहुन्छ कि भनेर सोध्यो। त्यस्तो ठूलो सुअवसर म कसरी इन्कार गर्न सक्थेँ र? मैले तुरुन्तै यस्तो जवाफ दिएँ, “अवश्‍य चाहन्छु!”

गिलियड स्कुलको कक्षामा म मार्टिन पोइटजिंगरको छेउमा बस्थेँ। उहाँले नाजी यातना शिविरहरूमा चरम यातना भोग्नुभएको थियो। उहाँले पनि पछि परिचालक निकायको सदस्यको रूपमा सेवा गर्नुभयो। कक्षा सञ्चालन भइरहेको बेला उहाँ कहिलेकाहीँ खुसुक्क यसो भनेर सोध्नुहुन्थ्यो: “एरिका, जर्मन भाषामा यसको अर्थ के हो?”

गिलियड स्कुलको पढाइ आधाजति सिद्धिएपछि नेथन नोरले हाम्रो असाइनमेन्ट सुनाउनुभयो। मलाई पाराग्वे पठाइने भयो। त्यतिबेला म जवानै थिएँ। त्यसैले त्यहाँ जान बुबाको अनुमति चाहिन्थ्यो। बुबाले अनुमति दिनुभएपछि सन्‌ १९५९ मार्चमा म पाराग्वे आइपुगेँ। मलाई नयाँ अग्रगामी साथीसित आसन्सियोनको मिसनरी घरमा बसेर सेवा गर्न खटाइयो।

पाराग्वे आएको धेरै समय नबित्दै वाल्टर ब्राइटसित भेट भयो। उहाँले गिलियडको ३० औं कक्षाबाट स्नातक गर्नुभएको थियो। केही समयपछि हामीले विवाह गऱ्‍यौँ र जीवनका गाह्रासाह्रा अवस्थाहरूसित जुझ्न एकअर्कालाई साथ दियौँ। एकदमै कठिन समस्या आइपर्दा हामी यशैया ४१:१० पढ्‌थ्यौँ। त्यहाँ यहोवाले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु।” यसले गर्दा हामी यो कुरामा ढुक्क हुन सक्यौँ: परमेश्‍वरप्रति वफादार रह्‍यौँ र उहाँको राज्यलाई पहिलो स्थान दियौँ भने उहाँले हाम्रो साथ कहिल्यै छोड्‌नुहुन्‍न।

पछि हामीलाई ब्राजिलको सीमानजिकै खटाइयो। हामी बस्ने मिसनरी घर अलि थोत्रो भइसकेको थियो। त्यसमाथि पादरीहरूले ठिटाहरूलाई उक्साएर हाम्रो मिसनरी घरमा ढुङ्‌गा हान्‍न लगाए। पछि वाल्टरले प्रहरीको हाकिमसित अध्ययन सुरु गर्नुभयो। त्यसपछि भने तिनले एक हप्ताको लागि केही प्रहरीहरूलाई हाम्रो घरको नजिकै पहरा दिन खटाइदिए। अनि हामीले कुनै समस्या झेल्नुपरेन। त्यसको थोरै समयपछि हामी ब्राजिलको सीमापारि राम्रो घरमा बस्न थाल्यौँ। यसो गर्दा हामीले पाराग्वे र ब्राजिल दुवै ठाउँमा सभा सञ्चालन गर्न सक्यौँ। त्यो असाइनमेन्ट छोड्‌ने बेलासम्म त्यहाँ दुई वटा साना मण्डली स्थापना भइसकेका थिए।

मेरो श्रीमान्‌ वाल्टरसित पाराग्वेको आसन्सियोनमा मिसनरीको रूपमा सेवा गर्दा

यहोवाले मलाई अहिले पनि सम्हालिरहनुभएको छ

म छोराछोरी जन्माउन सक्दिनँ भनेर डाक्टरहरूले मलाई बताएका थिए। त्यसैले सन्‌ १९६२ मा म गर्भवती भएको थाह पाउँदा हामी छक्कै पऱ्‍यौँ। त्यसपछि हामी फ्लोरिडाको हलिवुडमा वाल्टरको परिवारनजिकै बसोबास गर्न थाल्यौँ। केही वर्षसम्म वाल्टर र मैले अग्रगामी सेवा गर्न सकेनौँ। हामीले परिवारको हेरचाह गर्नुपऱ्‍यो। तैपनि हामीले परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिलाई पहिलो स्थान दिइरह्‍यौँ।—मत्ती ६:३३.

सन्‌ १९६२ मा फ्लोरिडा आइपुग्दा भाइबहिनीहरूबीच पनि रङ्‌गभेदको असर परेको देख्दा हामी छक्क पऱ्‍यौँ। कालो वर्ण र सेतो वर्णका भाइबहिनीहरू एकै ठाउँमा सभा गर्दैनथे अनि प्रचार पनि बेग्लाबेग्लै इलाकामा गर्थे। तर यहोवाले जातीय भिन्‍नताको आधारमा भेदभाव गर्नुहुन्‍न। केही समयपछि नै भाइबहिनीहरू एकअर्कासित घुलमिल हुन थाले। यस मामिलामा पनि यहोवाकै हात थियो भनेर हामीले बुझ्यौँ किनभने अहिले त्यो इलाकामा थुप्रै मण्डली छन्‌।

दुःखको कुरा, सन्‌ २०१५ मा ब्रेन क्यान्सरले गर्दा वाल्टरको मृत्यु भयो। हामीले विवाहित जोडीको रूपमा ५५ वर्ष बितायौँ। उहाँ अत्यन्तै राम्रो पति हुनुहुन्थ्यो, जसले यहोवालाई प्रेम गर्नुका साथै थुप्रै भाइबहिनीलाई मदत गर्नुभयो। उहाँ तन्दुरुस्त अवस्थामा पुनर्जीवित हुने समय म उत्सुकतासाथ पर्खँदै छु।—प्रेषि. २४:१५.

पूर्ण समय सेवामा ४० वर्षभन्दा लामो समय बिताउन पाएकोमा म एकदमै खुसी छु। त्यस दौडान थुप्रै आशिष्‌ पाएकी छु र आनन्दित जीवन बिताउन सकेकी छु। जस्तै, वाल्टर र मैले हाम्रा १३६ जना बाइबल विद्यार्थीले बप्तिस्मा गरेको हेर्न पायौँ। हाम्रो जीवनमा समस्याहरू नआएका त होइनन्‌। तर समस्याहरू आउँदैमा हामीले हाम्रा वफादार परमेश्‍वरको सेवा गर्न छोडेनौँ। बरु उहाँसित अझ नजिक भयौँ र उहाँले आफ्नै समयमा अनि आफ्नै तरिकामा समस्याको समाधान गर्नुहुनेछ भनेर पूरा भरोसा राख्यौँ। उहाँले साँच्चै त्यसै गर्नुभएको छ!—२ तिमो. ४:१६, १७.

वाल्टर सँगै नहुँदाको पीडा म दिनदिनै महसुस गर्छु तर अग्रगामी सेवाले गर्दा मैले सहने बल पाएकी छु। अरूलाई सिकाउँदा अनि खासगरि पुनर्जीवनको आशाबारे बताउँदा मदत पाउँछु। यहोवाले मेरो साथ कहिल्यै छोड्‌नुभएको छैन। त्यसो भन्‍न सक्ने थुप्रै कारण मसित छन्‌। आफूले प्रतिज्ञा गरेअनुसारै उहाँले मलाई सम्हाल्नुभएको छ, बलियो पार्नुभएको छ अनि “धार्मिकताको दाहिने हातले” मलाई समात्नुभएको छ।—यशै. ४१:१०.