सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १२

बोल्ने उचित समय कहिले हो?

बोल्ने उचित समय कहिले हो?

“चुप लाग्ने एउटा समय छ, बोल्ने एउटा समय।”—उप. ३:७.

गीत १२४ सधैँ वफादार रहौँ!

परिचय *

१. उपदेशक ३:७ बाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

हामीमध्ये थुप्रैलाई कुरा गर्न मन पर्छ। अरू कतिपयलाई भने त्यति कुरा गर्न मन पर्दैन। यस लेखको मुख्य पदले बताएजस्तै चुप लाग्ने एउटा समय छ भने बोल्ने पनि समय छ। (उपदेशक ३:७ पढ्‌नुहोस्‌) तर हामीलाई कोही-कोही अझ धेरै बोलिदिए हुन्थ्यो जस्तो लाग्न सक्छ भने कोही-कोही थोरै बोलिदिए हुन्थ्यो जस्तो लाग्न सक्छ।

२. कहिले र कसरी बोल्नुपर्छ भन्‍ने विषयमा स्तर तोकिदिने अधिकार कोसित छ?

हाम्रो बोली यहोवाले दिनुभएको उपहार हो। (प्रस्थ. ४:१०, ११; प्रका. ४:११) यस उपहारलाई कसरी राम्रोसित प्रयोग गर्ने भनेर उहाँ हामीलाई आफ्नो वचनबाट सिकाउनुहुन्छ। यस लेखमा बाइबलका केही उदाहरणहरू विचार गर्नेछौँ, जसबाट कुन बेला बोल्नु उचित हुन्छ अनि कुन बेला चुप लाग्नुपर्छ भनेर थाह पाउनेछौँ। हामी अरूलाई जे भन्छौँ, त्यसबारे यहोवा कस्तो महसुस गर्नुहुन्छ भनेर पनि विचार गर्नेछौँ। सुरुमा हामी कुन बेला बोल्नु उचित हुन्छ, विचार गरौँ।

हामी कुन बेला बोल्नु उचित हुन्छ?

३. रोमी १०:१४ अनुसार हामी कुन बेला बोल्नु उचित हुन्छ?

हामी यहोवा र उहाँको राज्यबारे बोल्न सधैँ तयार रहनुपर्छ। (मत्ति २४:१४; रोमी १०:१४ पढ्‌नुहोस्‌) त्यसो गर्दा हामीले येसुको अनुकरण गरिरहेका हुनेछौँ। येसु पृथ्वीमा आउनुको मुख्य उद्देश्‍यमध्ये एउटा भनेको आफ्नो बुबाबारे अरूलाई सत्य कुरा बताउन थियो। (युह. १८:३७) तर हामी कसरी बोलिरहेका छौँ भनेर पनि विचार पुऱ्‍याउनुपर्छ। त्यसैले अरूलाई यहोवाबारे बताउँदा “कोमल भाव र गहिरो आदर” देखाउनुपर्छ; साथै अरूको भावना र विश्‍वासको पनि कदर गर्नुपर्छ। (१ पत्रु. ३:१५) यसो गर्दा हामी मानिसहरूसित बोलिरहेका मात्र हुनेछैनौँ तर तिनीहरूलाई सिकाइरहेका अनि सायद तिनीहरूको मनसम्म पुग्न पनि सफल हुनेछौँ।

४. हितोपदेश ९:९ अनुसार हाम्रो बोलीले कसरी अरूलाई फाइदा पुऱ्‍याउन सक्छ?

कुनै भाइ वा बहिनीलाई सल्लाहको खाँचो देखियो भने एल्डरहरू तिनीहरूलाई सल्लाह दिनदेखि पछि हट्‌नु हुँदैन। ती भाइ वा बहिनीलाई अप्ठेरोमा नपार्न एल्डरहरूले पक्कै पनि उचित समय हेरेर बोल्नुपर्छ। सायद वरपर अरू कोही नभएको बेलामा तिनीहरूले त्यसो गर्न सक्छन्‌। एल्डरहरू सधैँ भाइ वा बहिनीको आत्मसम्मानलाई कुनै धक्का नपुग्ने गरी बोल्न प्रयास गर्छन्‌। तैपनि तिनीहरू भाइबहिनीलाई बुद्धिमानी कदम चाल्न मदत गर्ने बाइबल सिद्धान्तहरू बताउनदेखि पछि हट्‌दैनन्‌। (हितोपदेश ९:९ पढ्‌नुहोस्‌) आवश्‍यक पर्दा बोल्न साहस बटुल्नु किन महत्त्वपूर्ण छ? दुई वटा भिन्‍नाभिन्‍नै उदाहरण विचार गर्नुहोस्‌: पहिलो उदाहरणमा एक बुबाले आफ्ना छोराहरूलाई सुधार्नुपरेको थियो भने दोस्रो उदाहरणमा एउटी स्त्रीले भावी राजालाई तिनले गलत निर्णय गरेको कुरा बताउनुपर्ने थियो।

५. प्रधानपुजारी एलि बोल्नुपर्ने बेलामा बोल्नदेखि कसरी चुके?

प्रधानपुजारी एलि आफ्ना दुई छोरालाई असाध्यै माया गर्थे। तर ती छोराहरूले यहोवाको कुनै आदर गर्दैनथे। ती दुई छोराले वासस्थानमा पुजारीको रूपमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका थिए। तर तिनीहरूले आफ्नो अख्तियारको दुरुपयोग गरे, यहोवालाई चढाइएका भेटीहरूको घोर अनादर गरे अनि निर्लज्ज भई अवैध यौनसम्बन्ध राखे। (१ समु. २:१२-१७, २२) मोसाको व्यवस्थाअनुसार तिनीहरू मृत्युदण्डको योग्य थिए तर दृढ अडान लिन चुकेका एलिले तिनीहरूलाई हल्का तरिकामा मात्र हप्काए। (व्यव. २१:१८-२१) त्यस्तो अवस्थामा एलिले चालेको कदमलाई यहोवाले कसरी हेर्नुभयो? उहाँले एलिलाई यसो भन्‍नुभयो: “तिमी किन मलाई भन्दा आफ्ना छोराहरूलाई बढी आदर गर्छौ?” यहोवाले ती दुई दुष्ट मानिसलाई मृत्युदण्ड दिने निर्णय गरिसक्नुभएको थियो।—१ समु. २:२९, ३४.

६. एलिको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

एलिको उदाहरणबाट हामी एउटा महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ। हाम्रो कुनै साथी वा आफन्तले परमेश्‍वरको व्यवस्था उल्लङ्‌घन गरेको कुरा थाह पायौँ भने हामी तिनलाई यहोवाको स्तर सम्झाउनदेखि पछि हट्‌नुहुँदैन। त्यसपछि तिनी यहोवाले नियुक्‍त गर्नुभएका पुरुषहरूकहाँ गएर आवश्‍यक मदत लिए कि लिएनन्‌ भनेर हामीले पक्का गर्नुपर्छ। (याकु. ५:१४) हामी यहोवालाई भन्दा आफ्नो साथी अथवा आफन्तलाई बढी आदर गरेर एलिजस्तो कहिल्यै नहोऔँ। हुनत हो, कसैलाई सुधार्नुपर्दा तिनीसित बोल्न हामीलाई साहस चाहिन्छ तर त्यस्तो प्रयास खेर जानेछैन। यस सन्दर्भमा एलिको उदाहरण र अबिगेल नाम गरेकी इस्राएली स्त्रीको उदाहरणबीचको भिन्‍नता याद गर्नुहोस्‌।

सही समयमा बोल्ने सन्दर्भमा अबिगेलले राम्रो उदाहरण बसालिन्‌ (अनुच्छेद ७-८ हेर्नुहोस्‌) *

७. अबिगेल किन दाउदसित बोल्न गइन्‌?

अबिगेलको पति नाबाल असाध्यै धनी थिए र उनको थुप्रै जग्गाजमिन थियो। राजा साउलबाट भागिरहेका बेला दाउद र तिनका मानिसहरू केही समय नाबालका गोठालाहरूसँगै बसेका थिए अनि तिनीहरूले नाबालको बगाललाई लुटपाट गर्ने दलहरूबाट जोगाएका थिए। के यस्तो मदत पाएकोमा नाबाल कृतज्ञ थिए? अहँ, थिएनन्‌। दाउदले नाबालसित आफ्ना मानिसहरूको लागि अलिकता रोटी र पानी माग्दा नाबाल रिसाए र तिनीहरूलाई जथाभावी गाली गरे। (१ समु. २५:५-८, १०-१२, १४) त्यसकारण दाउद नाबालको घरानाका सबै पुरुषलाई मार्न सुरिए। (१ समु. २५:१३, २२) यस्तो संहार हुनदेखि कसरी रोक्न सकिन्थ्यो? यो बोल्नुपर्ने उचित समय थियो भनेर अबिगेलले बुझिन्‌। त्यसैले उनले साहस बटुलिन्‌ अनि असाध्यै भोकाएका, रिसाएका र हतियार भिरेका ४०० जनालाई भेट्‌न गइन्‌ र दाउदसित कुरा गरिन्‌।

८. अबिगेलको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

अबिगेलले दाउदलाई भेट्‌दा उनले साहसी भई, आदरपूर्वक अनि चित्तबुझ्दो ढङ्‌गमा कुरा गरिन्‌। हुनत अबिगेलले गर्दा त्यस्तो अप्ठेरो अवस्था सृजना भएको थिएन तैपनि उनले दाउदसित माफी मागिन्‌। असल मानिस भएकोले दाउदले सही कुरा गर्नेछन्‌ भनेर थाह भएको कुरा उनले बताइन्‌ अनि मदतको लागि यहोवामा भर परिन्‌। (१ समु. २५:२४, २६, २८, ३३, ३४) कसैले गलत कदम चाल्न लागेको देख्यौँ भने अबिगेलले जस्तै हामीले पनि बोल्न साहस बटुल्नु पर्छ। (भज. १४१:५) हामीले आदरपूर्वक तर निडर भई कुरा गर्नुपर्छ। कसैलाई मायालु तरिकामा सल्लाह दिँदा हामी तिनको असल साथी साबित भइरहेका हुनेछौँ।—हितो. २७:१७.

९-१०. कसैलाई सल्लाह दिँदा एल्डरहरूले कुन कुरा मनमा राख्नुपर्छ?

मण्डलीमा कसैले गलत कदम चालेको देख्दा विशेषगरि एल्डरहरू साहसी भई बोल्नुपर्छ। (गला. ६:१) त्रुटिपूर्ण भएकोले कुनै दिन आफूलाई पनि सल्लाह चाहिन सक्छ भनेर एल्डरहरू नम्र भई स्विकार्छन्‌। तर त्यसो भन्दैमा अनुशासनको आवश्‍यकता परेकाहरूलाई सुधार्नदेखि तिनीहरू पछि हट्‌दैनन्‌। (२ तिमो. ४:२; ति. १:९) कसैलाई सल्लाह दिँदा तिनीहरू उपहारस्वरूप पाएको बोलीलाई कुशलतापूर्वक अनि धीरजी भई प्रयोग गर्न प्रयास गर्छन्‌। तिनीहरू आफ्ना भाइबहिनीलाई प्रेम गर्छन्‌ र त्यही प्रेमले तिनीहरूलाई कदम चाल्न उत्प्रेरणा दिन्छ। (हितो. १३:२४) तर तिनीहरूको मुख्य लक्ष्य भनेको यहोवाको स्तर कायम गरेर अनि मण्डलीलाई खतराबाट जोगाएर यहोवाको आदर गर्नु हो।—प्रेषि. २०:२८.

१० यहाँसम्म, बोल्ने उचित समय कहिले हो भनेर हामीले विचार गऱ्‍यौँ। तर कुनै-कुनै बेला केही नबोली चुपचाप बस्नु नै बेस हुन्छ। त्यस्तो बेला कस्ता कारणहरूले गर्दा चुप लाग्न गाह्रो हुन सक्छ?

हामी कुन बेला चुप लाग्नुपर्छ?

११. याकुबले कस्तो उदाहरण चलाए र त्यो किन उपयुक्‍त छ?

११ बोलीलाई काबूमा राख्न गाह्रो हुन सक्छ। बाइबलका एक लेखक याकुबले यसलाई बुझाउन एउटा उदाहरण चलाए। तिनले यसो भने: “यदि कोही आफ्नो वचनमा चुक्दैन भने ऊ आफ्नो सारा शरीरमा लगाम कस्न सक्ने सर्वगुणी मानिस हुन्छ।” (याकु. ३:२, ३) लगाम घोडाको टाउको र मुखमा लगाइन्छ। घोडसवारले लगाम तानेर घोडालाई सही दिशातर्फ डोऱ्‍याउन अथवा त्यसलाई रोक्न सक्छ। घोडसवारले बेस्सरी लगाम तानेन भने घोडा जथाभावी दौडन सक्छ अनि आफूलाई र घोडसवार दुवैलाई हानि पुऱ्‍याउन सक्छ। त्यसैगरि हामीले पनि आफ्नो बोलीमा लगाम कस्न सकेनौँ भने त्यसले ठूलो हानि पुऱ्‍याउन सक्छ। त्यसोभए केही अवस्थाहरू विचार गरौँ, जब हामीले “लगाम कस्नुपर्छ” अनि चुप लागेर बस्नुपर्छ।

१२. कुन बेला हामीले “लगाम कस्नुपर्छ” र चुप लाग्नुपर्छ?

१२ कुनै भाइ वा बहिनीलाई कुनै गोप्य कुरा थाह छ भनेर तपाईँले थाह पाउनुभयो भने तपाईँ के गर्नुहुन्छ? उदाहरणको लागि, हाम्रो काममा प्रतिबन्ध लगाइएको देशमा सेवा गरेका भाइ वा बहिनीलाई भेट्‌नुभयो भने तिनलाई त्यस ठाउँमा हाम्रो काम कसरी गरिँदै छ भनेर के तपाईँलाई सोधूँ-सोधूँ जस्तो लाग्छ? हुनत तपाईँको मनसाय राम्रै होला। हामी आफ्ना भाइबहिनीलाई प्रेम गर्छौँ र तिनीहरूको ख्याल गर्छौँ। साथै तिनीहरूको लागि तोकेरै प्रार्थना पनि गरिदिन चाहन्छौँ। तैपनि यस्तो बेला हामीले “लगाम कस्नुपर्छ” र चुप लाग्नुपर्छ। यदि हामी गोप्य जानकारी थाह भएकाहरूलाई त्यस्तो कुरा बताउन दबाब दिन्छौँ भने हामीमा प्रेमको कमी भएको देखाइरहेका हुनेछौँ। हामीले ती मानिस र आफ्नो काम गोप्य राख्न तिनीमाथि भर परेका भाइबहिनी दुवैप्रति प्रेमको कमी भएको देखाइरहेका हुनेछौँ। हाम्रो काममा प्रतिबन्ध लगाइएका देशमा सेवा गरिरहेका भाइबहिनीहरूमाथि हामी पक्कै पनि समस्या थप्न चाहँदैनौँ। त्यसैगरि त्यस्ता देशमा सेवा गरिरहेका कुनै पनि भाइबहिनीले त्यहाँका साक्षीहरूले प्रचारकार्य र ख्रिष्टियन गतिविधिहरू कसरी सञ्चालन गरिरहेका छन्‌ भनेर खुलाउन चाहँदैनन्‌।

१३. हितोपदेश ११:१३ अनुसार एल्डरहरूले के गर्नुपर्छ र किन?

१३ जानकारी गोप्य राख्ने सन्दर्भमा विशेषगरि एल्डरहरूले हितोपदेश ११:१३ मा पाइने बाइबल सिद्धान्त लागू गर्नु आवश्‍यक छ। (पढ्‌नुहोस्‌) कुनै एल्डर विवाहित छन्‌ भने त्यसो गर्न झनै गाह्रो हुन सक्छ। विवाहित जोडीले एकअर्कासित कुराकानी गरेर अनि आफ्नो मनमा भएका विचार, भावना र चिन्ताका कुराहरू बाँडचुँड गरेर वैवाहिक सम्बन्ध बलियो बनाउँछन्‌। तर एक एल्डरले मण्डलीका भाइबहिनीको “गोप्य कुरा” खुलाउनु हुँदैन भनेर बुझेका हुन्छन्‌। यदि तिनले गोप्य कुरा खुलाउँछन्‌ भने अरूको विश्‍वास र आफ्नो प्रतिष्ठा दुवै गुमाउनेछन्‌। मण्डलीमा विश्‍वासयोग्य भनेर नियुक्‍त भएकाहरू “दुईजिब्रे” अर्थात्‌ छली कुरा गर्ने हुनु हुँदैन। (१ तिमो. ३:८; फुटनोट) तिनीहरूले अरूलाई छक्याउनु हुँदैन वा कुरौटे हुनु हुँदैन। यदि एल्डरले आफ्नी पत्नीलाई प्रेम गर्छन्‌ भने तिनलाई गोप्य जानकारीको भार बोकाउनेछैनन्‌।

१४. एल्डरकी पत्नीले कसरी आफ्नो पतिको प्रतिष्ठा जोगाउन मदत गर्न सक्छिन्‌?

१४ एक पत्नीले आफ्नो पतिको प्रतिष्ठा जोगाउन चाहन्छिन्‌ भने आफ्नो पतिलाई गोप्य जानकारी खुलाउन दबाब दिनेछैनन्‌। पत्नीले यो सल्लाह लागू गर्दा तिनले पतिलाई साथ दिइरहेकी मात्र हुँदिनन्‌ तर आफ्नो पतिमाथि भरोसा राखेका मानिसहरूप्रति पनि आदर देखाइरहेकी हुन्छिन्‌। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, मण्डलीको शान्ति र एकता जोगाउन मदत गरेकीले तिनले यहोवालाई प्रसन्‍न पनि पारिरहेकी हुन्छिन्‌।—रोमी १४:१९.

हामी अरूलाई जे भन्छौँ, त्यसबारे यहोवा कस्तो महसुस गर्नुहुन्छ?

१५. अय्युबका तीन साथीको व्यवहार देखेर यहोवाले कस्तो महसुस गर्नुभयो र किन?

१५ अय्युबको किताबबाट कसरी र कहिले बोल्नुपर्छ भन्‍नेबारे थुप्रै कुरा सिक्न सक्छौँ। अय्युबले थुप्रै पीडादायी समस्याको सामना गरेपछि चार जना मानिस तिनलाई सान्त्वना र सल्लाह दिन आए। ती मानिसहरू धेरैजसो समय चुप लागेर बसे। तर पछि तीमध्ये तीन जना—एलिपज, बिल्दद र जोपरले भनेका कुराबाट तिनीहरू अय्युबलाई कसरी मदत गर्न सकिन्छ भनेर सोच्न चुपचाप बसेका थिएनन्‌ भनी स्पष्ट हुन्छ। त्यसको सट्टा तिनीहरू अय्युबलाई कसरी दोषी साबित गर्ने भनेर सोचिरहेका थिए। हुनत तिनीहरूले केही सही कुरा भने तैपनि तिनीहरूले अय्युब र यहोवाबारे भनेका धेरैजसो कुरा निर्दयी वा झूटा थिए। तिनीहरूले अय्युब दुष्ट मानिस भएको आरोप लगाए। (अय्यु. ३२:१-३) यहोवाले के गर्नुभयो? उहाँ ती तीन जना मानिससित असाध्यै रिसाउनुभयो। उहाँले तिनीहरूलाई मूर्ख भन्‍नुभयो र आ-आफ्नो पापको प्रायश्‍चितको लागि प्रार्थना गरिदिन अय्युबसित बिन्ती गर्न भन्‍नुभयो।—अय्यु. ४२:७-९.

१६. एलिपज, बिल्दद र जोपरको नराम्रो उदाहरणबाट हामी कस्ता पाठ सिक्न सक्छौँ?

१६ एलिपज, बिल्दद र जोपरको नराम्रो उदाहरणबाट हामी थुप्रै पाठ सिक्न सक्छौँ। पहिलो, हामीले आफ्ना भाइबहिनीको न्याय गर्नुहुँदैन। (मत्ति ७:१-५) बरु बोल्नुअघि तिनीहरूको कुरा राम्ररी सुन्‍नुपर्छ। तब मात्र हामीले तिनीहरूको अवस्था बुझ्न सक्नेछौँ। (१ पत्रु. ३:८) दोस्रो, जब हामी बोल्छौँ, तब हाम्रा शब्दहरू मायालु र सही हुनुपर्छ। (एफि. ४:२५) अनि तेस्रो, हामी अरूलाई जे भन्छौँ, त्यसमा यहोवा गहिरो चासो राख्नुहुन्छ।

१७. एलिहुको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

१७ अय्युबलाई भेट्‌न आएका चौथो मानिस एलिहु थिए, जो अब्राहामका आफन्त पर्थे। तिनले अय्युब र अरू तीन जनाले बोल्दा ध्यान दिएर सुनिरहेका थिए। अय्युबलाई आफ्नो सोचाइ परिवर्तन गर्न मदत दिनको लागि एलिहुले मायालु तर स्पष्ट सल्लाह दिएको कुराबाट तिनले त्यहाँ भइरहेको कुराकानी ध्यान दिएर सुनिरहेका थिए भन्‍न सकिन्छ। (अय्यु. ३३:१, ६, १७) एलिहुको मुख्य चासोको विषय भनेको आफ्नो वा अरू कुनै व्यक्‍तिको नभई यहोवाको महिमा गर्नु थियो। (अय्यु. ३२:२१, २२; ३७:२३, २४) एलिहुको उदाहरणबाट चुप लागेर सुन्‍ने एउटा समय छ भनेर बुझ्न सक्छौँ। (याकु. १:१९) साथै कसैलाई सल्लाह दिँदा हाम्रो मुख्य उद्देश्‍य भनेको आफ्नो नभई यहोवाको महिमा गर्ने हुनुपर्छ।

१८. उपहारस्वरूप पाएको बोलीको कदर गरेको कुरा हामी कसरी देखाउन सक्छौँ?

१८ कुन बेला र कसरी बोल्ने भन्‍ने विषयमा बाइबलमा पाइने सल्लाह लागू गर्दा हामीले उपहारस्वरूप पाएको बोलीको कदर गरिरहेका हुन्छौँ। बुद्धिमान्‌ राजा सुलेमान यसो भन्‍न उत्प्रेरित भए: “ठीक बेलामा ठीक कुरा भन्‍नु चाँदीको भाँडोमा सुनका स्याउ राख्नुजस्तै हो।” (हितो. २५:११) अरूले भनेको कुरा ध्यान दिएर सुन्दा अनि बोल्नुअघि सोच्दा हाम्रो बोली सुनका स्याउजस्तै हुनेछ, जुन किम्मती र सुन्दर हुन्छ। त्यसपछि चाहे हामी धेरै बोलौँ वा थोरै, हाम्रो बोलीले अरूको उत्थान गर्नेछ र यहोवा हामीसित खुसी हुनुहुनेछ। (हितो. २३:१५; एफि. ४:२९) यहोवाले दिनुभएको उपहारको कदर गरेको देखाउने यो भन्दा उत्तम तरिका अरू के नै होला!

गीत ८२ “तिमीहरूको ज्योति चम्कोस्‌”

^ अनु. 5 कुन बेला बोल्नु उचित हुन्छ अनि कुन बेला चुप लाग्नुपर्छ भन्‍ने विषयमा परमेश्‍वरको वचनमा विभिन्‍न सिद्धान्तहरू पाइन्छ। बाइबलका सिद्धान्तहरू बुझ्यौँ अनि त्यसलाई लागू गऱ्‍यौँ भने हाम्रो बोलीले यहोवालाई खुसी पार्नेछ।

^ अनु. 62 चित्रको व्याख्या: एक ख्रिष्टियन बहिनीले बुद्धिमानी सल्लाह दिनुपर्ने खाँचो महसुस गर्छिन्‌।

^ अनु. 64 चित्रको व्याख्या: एक ख्रिष्टियन भाइले सरसफाइसम्बन्धी केही सल्लाह दिन्छन्‌।

^ अनु. 66 चित्रको व्याख्या: अबिगेलले सही समयमा दाउदसित बिन्ती गरिन्‌ र नतिजा राम्रो भयो।

^ अनु. 68 चित्रको व्याख्या: एक दम्पती हाम्रो काममा प्रतिबन्ध लगाइएको ठाउँको गतिविधिबारे खुलाउन चाहँदैनन्‌।

^ अनु. 70 चित्रको व्याख्या: एक एल्डरले मण्डलीको गोप्य कुरा अरूले नसुनून्‌ भनेर होसियारी अपनाउँछन्‌।