सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १०

यहोवाप्रतिको प्रेम र कृतज्ञताले तपाईँलाई बप्तिस्मासम्म डोऱ्‍याउँछ

यहोवाप्रतिको प्रेम र कृतज्ञताले तपाईँलाई बप्तिस्मासम्म डोऱ्‍याउँछ

“बप्तिस्मा गर्नदेखि मलाई केले रोक्छ र?”—प्रेषि. ८:३६.

गीत ३७ सारा ज्यानले यहोवाको सेवा गरौँ!

परिचय *

१-२. प्रेषित ८:२७-३१, ३५-३८ अनुसार इथियोपियाली नपुंसकलाई बप्तिस्मा गर्न केले उत्प्रेरित गऱ्‍यो?

के तपाईँ बप्तिस्मा गरेर ख्रिष्टको चेला बन्‍न चाहनुहुन्छ? प्रेम र कृतज्ञताले थुप्रैलाई त्यसो गर्न उत्प्रेरित गरेको छ। इथियोपियाकी महारानीको सेवा गर्ने एक जना अख्तियारवालाको उदाहरण विचार गर्नुहोस्‌।

ती इथियोपियाली नपुंसकले धर्मशास्त्रबाट सिकेको कुरा तुरुन्तै लागू गरे। (प्रेषित ८:२७-३१, ३५-३८ पढ्‌नुहोस्‌) बप्तिस्मा गर्न तिनलाई केले उत्प्रेरित गऱ्‍यो? तिनले पक्कै पनि परमेश्‍वरको वचनको कदर गर्थे किनभने रथमा जाँदै गर्दा तिनले यसैयाको पुस्तकबाट केही अंश पढिरहेका थिए। फिलिपसित कुराकानी गरेपछि येसुले तिनको लागि अहिलेसम्म गरिदिनुभएको कुराको लागि तिनी कृतज्ञ हुन सके। तर ती अख्तियारवाला किन यरुसलेम गएका थिए? किनभने तिनले यहोवाप्रति प्रेम विकास गरिसकेका थिए। किन यस्तो भन्‍न सक्छौँ? किनभने तिनी भर्खरै यरुसलेममा यहोवाको उपासना गरेर फर्कँदै थिए। ती व्यक्‍ति सम्भवतः आफ्नो पुर्ख्यौली धर्म छोडेर साँचो परमेश्‍वरमा समर्पित एक मात्र राष्ट्रमा सामेल भएका थिए। यहोवाप्रतिको प्रेमले गर्दा नै तिनी अर्को महत्त्वपूर्ण कदम चाल्न उत्प्रेरित भए, अर्थात्‌ बप्तिस्मा गरेर ख्रिष्टको चेला बन्‍ने।—मत्ति २८:१९.

३. बप्तिस्मा गर्न रोक्ने कस्ता कारणहरू हुन सक्छन्‌? (“तपाईँको हृदय कस्तो छ?” भन्‍ने पेटी हेर्नुहोस्‌)

यहोवाप्रतिको प्रेमले तपाईँलाई बप्तिस्मा गर्न उत्प्रेरित गर्न सक्छ। तर प्रेमले तपाईँलाई त्यसो गर्न रोक्न पनि सक्छ। कसरी? केही उदाहरण विचार गर्नुहोस्‌। तपाईँ बेग्लै धर्म मान्‍ने आफ्नो परिवार र साथीभाइलाई औधी माया गर्नुहोला अनि बप्तिस्मा गऱ्‍यो भने तिनीहरूले तपाईँलाई घृणा गर्लान्‌ कि भनेर चिन्ता गर्नुहोला। (मत्ति १०:३७) अथवा आफूलाई मन पर्ने कुनै-कुनै कुरा परमेश्‍वरले घृणा गर्नुहुन्छ भनेर तपाईँलाई थाह होला। अनि ती आनीबानी छोड्‌न तपाईँलाई गाह्रो लागिरहेको होला। (भज. ९७:१०) अथवा झूटो धर्मसित सम्बन्धित चाडपर्व र उत्सव मान्दै आउनुभएको होला। अनि तपाईँसँग ती चाडपर्व मनाएको मीठो सम्झना होला। त्यसैले तपाईँलाई यहोवाले घृणा गर्नुहुने ती चाडपर्वहरू छोड्‌न गाह्रो लागिरहेको होला। (१ कोरि. १०:२०, २१) तर यो महत्त्वपूर्ण प्रश्‍न तपाईँले आफूलाई सोध्नै पर्छ: “म केलाई अथवा कसलाई सबैभन्दा धेरै प्रेम गर्छु?”

सबैभन्दा महत्त्वपूर्ण प्रेम

४. तपाईँलाई बप्तिस्मा गर्न उत्प्रेरणा दिने सबैभन्दा मुख्य कुरा के हो?

आफूलाई असाध्यै मन पर्ने कुरा तपाईँसित थुप्रै होलान्‌, जसको लागि तपाईँ कृतज्ञ हुनुहुन्छ। जस्तै, यहोवाका साक्षीहरूसित अध्ययन गर्नुअघि नै तपाईँले बाइबलप्रति गहिरो कदर विकास गरिसक्नुभएको थियो होला। साथै येसुप्रति पनि गहिरो प्रेम विकास गर्नुभएको होला। अहिले यहोवाका साक्षीहरूसित भेट भएपछि तपाईँलाई तिनीहरूसित सङ्‌गत गर्न रमाइलो लाग्ला। तर यी सबै कुराले यहोवालाई आफ्नो जीवन समर्पण गर्न र बप्तिस्मा गर्न तपाईँलाई उत्प्रेरित गर्छ भन्‍ने छैन। बप्तिस्मा गर्न उत्प्रेरणा दिने सबैभन्दा मुख्य कुरा भनेको यहोवाप्रतिको प्रेम नै हो। यहोवालाई सबैभन्दा धेरै प्रेम गर्नुहुन्छ भने कसैले अथवा कुनै पनि कुराले तपाईँलाई उहाँको सेवा गर्नदेखि रोक्न दिनुहुने छैन। यहोवाप्रतिको प्रेमले बप्तिस्माको ढोका खोल्छ अनि उहाँको सेवामा लागिरहन सुरक्षा पर्खालको काम पनि गर्छ।

५. हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौँ?

हामीले यहोवालाई आफ्नो सारा हृदय, सारा ज्यान, सारा दिमाग र सारा बलले प्रेम गर्नुपर्छ भनेर येसुले बताउनुभयो। (मर्कु. १२:३०) तपाईँ यहोवालाई त्यस्तो गहिरो प्रेम अनि आदर गर्न कसरी सिक्न सक्नुहुन्छ? यहोवाले हामीलाई देखाउनुभएको प्रेमबारे चिन्तन गर्दा हामी पनि उहाँलाई प्रेम गर्न जुरमुरिन्छौँ। (१ युह. ४:१९) त्यस्तो महत्त्वपूर्ण प्रेम विकास गरिसकेपछि तपाईँमा अरू कस्ता भावना र असल बानीबेहोरा स्वतः विकास हुन्छ? *

६. रोमी १:२० अनुसार यहोवाबारे सिक्ने एउटा तरिका के हो?

यहोवाबारे उहाँको सृष्टिबाट सिक्नुहोस्‌। (रोमी १:२० पढ्‌नुहोस्‌; प्रका. ४:११) बोटबिरुवा र जनावरहरू कसरी बनिएका छन्‌, विचार गर्नुहोस्‌ अनि त्यसबाट यहोवाको बुद्धि कसरी प्रकट हुन्छ भनेर मनन गर्नुहोस्‌। तपाईँको शरीर कस्तो अद्‌भुत ढङ्‌गमा बनिएको छ, त्यसबारे पनि केही कुरा सिक्नुहोस्‌। (भज. १३९:१४) विचार गर्नुहोस्‌ त, यहोवाले सूर्यलाई कत्ति शक्‍तिशाली बनाउनुभएको छ अनि सूर्य ब्रह्‍माण्डमा भएका अरबौँ ताराहरूमध्ये एउटा मात्र हो। * (यसै. ४०:२६) यी कुराहरू विचार गर्दा यहोवाप्रतिको तपाईँको आदर अझै बढ्‌नेछ। तर यहोवा बुद्धिमान्‌ र शक्‍तिशाली हुनुहुन्छ भनेर थाह पाउनु उहाँसितको मित्रताको जगको एउटा भाग मात्र हो। उहाँप्रति बलियो प्रेम विकास गर्न उहाँबारे अझ थाह पाउनु आवश्‍यक छ।

७. यहोवाप्रति गहिरो प्रेम विकास गर्न कुन कुरामा विश्‍वस्त हुनुपर्छ?

यहोवाप्रति गहिरो प्रेम विकास गर्न उहाँले तपाईँलाई व्यक्‍तिगत रूपमा ख्याल राख्नुहुन्छ भनेर विश्‍वस्त हुनुपर्छ। स्वर्ग र पृथ्वीको सृष्टिकर्ताले तपाईँलाई याद गर्नुहुन्छ र तपाईँको ख्याल गर्नुहुन्छ भनेर विश्‍वास गर्न के तपाईँलाई गाह्रो लाग्छ? लाग्छ भने, यहोवा “हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न” भनेर नबिर्सनुहोस्‌। (प्रेषि. १७:२६-२८) उहाँले “हरेकको हृदय जाँच्नुहुन्छ” र दाउदले सुलेमानलाई भनेझैँ ‘उहाँको खोजी गऱ्‍यौँ भने उहाँलाई भेट्टाउनेछौँ’ भनेर प्रतिज्ञा पनि गर्नुभएको छ। (१ इति. २८:९) वास्तवमा तपाईँले अहिले बाइबल अध्ययन गर्नुको कारण यहोवाले ‘तपाईँलाई आफूतिर खिच्नुभएकोले’ नै हो। (यर्मि. ३१:३) यहोवाले तपाईँको लागि गरिदिनुभएका कुराहरूको लागि जति कृतज्ञ हुनुहुन्छ, त्यति नै उहाँप्रतिको तपाईँको प्रेम बढ्‌दै जानेछ।

८. यहोवाले देखाउनुभएको प्रेमप्रति कृतज्ञ भएको तपाईँ कसरी देखाउन सक्नुहुन्छ?

यहोवाले देखाउनुभएको प्रेमप्रति कृतज्ञ भएको देखाउने एउटा तरिका भनेको प्रार्थनामार्फत उहाँसित कुरा गरेर हो। परमेश्‍वरलाई आफ्नो मनका कुराहरू बताउनुभयो अनि उहाँले गरिदिनुभएका कुराहरूको लागि धन्यवाद दिनुभयो भने उहाँप्रतिको तपाईँको प्रेम बढ्‌नेछ। साथै यहोवाले तपाईँको प्रार्थनाको जवाफ दिनुभएको देख्दा उहाँ र तपाईँबीचको मित्रता बलियो हुनेछ। (भज. ११६:१) यसो गर्दा उहाँ तपाईँलाई बुझ्नुहुन्छ भनेर विश्‍वस्त हुनुहुनेछ। तर यहोवासित घनिष्ठ हुन तपाईँले उहाँको सोच्ने तरिका बुझ्नु आवश्‍यक छ। अनि उहाँले तपाईँबाट के चाहनुहुन्छ भनेर बुझ्नु पनि महत्त्वपूर्ण छ। त्यस्तो ज्ञान प्राप्त गर्ने एउटै मात्र तरिका भनेको उहाँको वचन अर्थात्‌ बाइबल अध्ययन गरेर हो।

परमेश्‍वरसित घनिष्ठ हुने अनि उहाँ हामीबाट के चाहनुहुन्छ भनेर थाह पाउने सबैभन्दा राम्रो तरिका बाइबल अध्ययन गरेर हो (अनुच्छेद ९ हेर्नुहोस्‌) *

९. तपाईँ बाइबलको कदर गर्नुहुन्छ भनेर कसरी देखाउन सक्नुहुन्छ?

परमेश्‍वरको वचन बाइबलको कदर गर्न सिक्नुहोस्‌। बाइबलमा मात्र यहोवाबारे र उहाँले तपाईँको लागि राख्नुभएको उद्देश्‍यबारे लेखिएको छ। हरेक दिन बाइबल पढेर, व्यक्‍तिगत अध्ययनको लागि तयारी गरेर अनि सिकेको कुरा लागू गरेर तपाईँले बाइबलको कदर गरेको देखाइरहनुभएको हुनेछ। (भज. ११९:९७, ९९; युह. १७:१७) के तपाईँको व्यक्‍तिगत बाइबल पढाइको तालिका छ? के तपाईँ त्यो तालिकाअनुसारै दिनहुँ बाइबल पढ्‌नुहुन्छ?

१०. बाइबलको एउटा विशेषता के हो?

१० बाइबलको एउटा विशेषता भनेको यसमा येसुलाई आफ्नै आँखाले देखेका मानिसहरूको विवरण पाइन्छ। येसुले तपाईँको लागि गरिदिनुभएका कुराहरूको सही विवरण पाइने पुस्तक यो मात्र हो। येसुले भन्‍नुभएका र गर्नुभएका कुराहरूबारे सिक्दै जाँदा उहाँसित मित्रता गाँस्न तपाईँ पक्कै जुरमुरिनुहुनेछ।

११. तपाईँ कसरी यहोवालाई प्रेम गर्न सिक्न सक्नुहुन्छ?

११ येसुलाई प्रेम गर्न सिक्दा यहोवाप्रतिको तपाईँको प्रेम पनि बढ्‌नेछ। किन? किनभने येसुले आफ्नो बुबाका गुणहरू दुरुस्त नक्कल गर्नुभयो। (युह. १४:९) त्यसैले येसुबारे जति धेरै सिक्नुहुन्छ, त्यति नै धेरै यहोवाबारे बुझ्नुहुनेछ अनि उहाँको कदर गर्नुहुनेछ। अरूले तुच्छ ठान्‍ने मानिसहरू, जस्तै: गरिब, बिरामी अनि असहायहरूप्रति येसुले देखाउनुभएको करुणा विचार गर्नुहोस्‌। साथै उहाँले दिनुहुने व्यावहारिक सल्लाहबारे र उहाँको कुरा सुन्दा कसरी तपाईँको जीवन आनन्दित हुन्छ भन्‍नेबारे पनि विचार गर्नुहोस्‌।—मत्ति ५:१-११; ७:२४-२७.

१२. येसुबारे सिक्दै जानुभएपछि तपाईँ के गर्न उत्प्रेरित हुनुहुनेछ?

१२ हाम्रा पापहरूको क्षमा पाउनको लागि येसुले चढाउनुभएको बलिदानबारे गहिरिएर विचार गर्दा उहाँप्रतिको हाम्रो प्रेम पक्कै बढ्‌नेछ। (मत्ति २०:२८) येसु तपाईँको लागि मर्न तयार हुनुभएको कुरा बुझ्दा तपाईँ पश्‍चात्ताप गर्न अनि यहोवासित क्षमा माग्न उत्प्रेरित हुनुहुनेछ। (प्रेषि. ३:१९, २०; १ युह. १:९) येसु र यहोवालाई प्रेम गर्न थाल्नुभएपछि उहाँहरूलाई प्रेम गर्ने मानिसहरूसित तपाईँ स्वतः नजिक हुन चाहनुहुनेछ।

१३. यहोवाले तपाईँको लागि केको प्रबन्ध गर्नुभएको छ?

१३ यहोवाको परिवारलाई प्रेम गर्न सिक्नुहोस्‌। बेग्लै धर्म मान्‍ने तपाईँका परिवार र पुराना साथीभाइले तपाईँले यहोवालाई आफ्नो जीवन समर्पण गर्ने निर्णय गर्नुको कारण नबुझ्लान्‌। तिनीहरूले तपाईँको विरोधसमेत गर्लान्‌। तर यहोवाले तपाईँलाई आध्यात्मिक परिवार दिनुभएर सम्हाल्नुहुनेछ। त्यस आध्यात्मिक परिवारसित नजिक भइरहनुभयो भने तपाईँलाई चाहिने माया र साथ पाउनुहुनेछ। (मर्कु. १०:२९, ३०; हिब्रू १०:२४, २५) पछि तपाईँको परिवारका सदस्यहरूले पनि यहोवाको सेवा गर्ने अनि उहाँको स्तरअनुसार जिउने निर्णय गर्न सक्छन्‌।—१ पत्रु. २:१२.

१४. पहिलो युहन्‍ना ५:३ बाट तपाईँले यहोवाको स्तरबारे के थाह पाउनुभयो?

१४ यहोवाको स्तरको मोल गर्न अनि ती लागू गर्न सिक्नुहोस्‌। यहोवाबारे सिक्नुअघि सायद तपाईँले आफ्नै स्तर तोक्नुभएको थियो होला तर अहिले भने तपाईँले यहोवाको स्तर अझ राम्रो छ भनेर बुझ्नुभयो। (भज. १:१-३; १ युहन्‍ना ५:३ पढ्‌नुहोस्‌) बाइबलमा पति, पत्नी, आमाबुबा अनि छोराछोरीको लागि दिइएका सल्लाहहरू विचार गर्नुहोस्‌। (एफि. ५:२२–६:४) ती सल्लाहहरू लागू गर्दा के तपाईँको परिवार पहिलाभन्दा सुखी भएको महसुस गर्नुभएको छ? साथी छान्दा होसियार हुनुपर्ने विषयमा यहोवाले दिनुभएका निर्देशनहरू पालन गर्दा के तपाईँको आनीबानी सुध्रिएको महसुस गर्नुभएको छ? के तपाईँ अझै आनन्दित हुनुभएको छ? (हितो. १३:२०; १ कोरि. १५:३३) तपाईँ यी प्रश्‍नहरूको पक्कै सकारात्मक जवाफ दिनुहुन्छ होला।

१५. तपाईँलाई बाइबल सिद्धान्तहरू लागू गर्न मदत चाहिएको छ भने के गर्न सक्नुहुन्छ?

१५ कहिलेकाहीँ तपाईँलाई आफूले सिकेका बाइबल सिद्धान्तहरू कसरी लागू गर्ने भनेर बुझ्न गाह्रो लाग्छ होला। त्यसैले यहोवाले तपाईँलाई सही र गलत छुट्ट्याउन मदत मिलोस्‌ भनेर आफ्नो सङ्‌गठनमार्फत बाइबलआधारित प्रकाशनहरू उपलब्ध गराउनुभएको छ। (हिब्रू ५:१३, १४) यी प्रकाशनहरू अध्ययन गर्दा ती कति व्यावहारिक अनि चाहिएकै विषयसित सम्बन्धित छन्‌ भनेर बुझ्नुहुनेछ। यसले गर्दा तपाईँ पक्कै यहोवाको सङ्‌गठनको भाग हुन चाहनुहुनेछ।

१६. यहोवाले आफ्ना जनहरूलाई कसरी व्यवस्थित पार्नुभएको छ?

१६ यहोवाको सङ्‌गठनलाई प्रेम गर्न र साथ दिन सिक्नुहोस्‌। यहोवाले आफ्ना जनहरूलाई व्यवस्थित पार्न मण्डलीहरूको प्रबन्ध मिलाउनुभएको छ; उहाँको छोरा येसु मण्डलीको शिर हुनुहुन्छ। (एफि. १:२२; ५:२३) येसुले अहिले पूरा गर्न चाहनुभएको काममा नेतृत्व लिन अभिषिक्‍त जनहरूको एउटा सानो समूह नियुक्‍त गर्नुभएको छ। उहाँले त्यस समूहलाई “विश्‍वासी र बुद्धिमान्‌ दास” भनेर चिनाउनुभएको छ; तिनीहरूले आध्यात्मिक भोजन दिने अनि यहोवासितको तपाईँको सम्बन्धलाई जोगाउन मदत गर्ने आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन्छन्‌। (मत्ति २४:४५-४७) विश्‍वासी दासले तपाईँको ख्याल गर्ने एउटा तरिका भनेको गोठालोको रूपमा सेवा गर्न योग्य पुरुषहरूलाई एल्डरको रूपमा नियुक्‍त गरेर हो। (यसै. ३२:१, २; हिब्रू १३:१७; १ पत्रु. ५:२, ३) एल्डरहरू तपाईँको हितको लागि खटिन, सान्त्वना दिन अनि तपाईँलाई यहोवासित अझ घनिष्ठ हुन मदत दिन इच्छुक हुन्छन्‌। तर तिनीहरूले तपाईँको लागि गर्न सक्ने महत्त्वपूर्ण कुराहरूमध्ये एउटा भनेको अरूलाई यहोवाबारे सिकाउन तपाईँलाई मदत दिनु हो।—एफि. ४:११-१३.

१७. रोमी १०:१०, १३, १४ अनुसार हामी किन यहोवाबारे अरूसित कुरा गर्छौँ?

१७ यहोवालाई प्रेम गर्न सिक्न अरूलाई मदत गर्नुहोस्‌। येसुले आफ्ना चेलाहरूलाई अरूलाई यहोवाबारे सिकाउनू भन्‍नुभयो। (मत्ति २८:१९, २०) हुनत कर्तव्यबोधले मात्र यो आज्ञा पूरा गर्न पनि सकिन्छ। तर यहोवाप्रतिको प्रेम बढ्‌दै गएपछि तपाईँले पनि प्रेषित पत्रुस र युहन्‍नाले जस्तै महसुस गर्नुहुनेछ, जसले यसो भने: “हामी आफूले देखेको अनि सुनेको कुरा नबोली बस्न सक्दै सक्दैनौँ।” (प्रेषि. ४:२०) यहोवालाई प्रेम गर्न कसैलाई सिकाउँदा पाइने खुसी सायद कमै कुराले मात्र देला। इथियोपियाली नपुंसकलाई धर्मशास्त्रको सत्य सिक्न अनि बप्तिस्मा गर्न मदत गर्दा प्रचारक फिलिप कत्ति खुसी भए होलान्‌, कल्पना गर्नुहोस्‌ त! फिलिपको अनुकरण गर्दा अनि प्रचार गर्नू भन्‍ने येसुको आज्ञा पालन गर्दा तपाईँ पनि यहोवाको साक्षी हुन चाहनुहुन्छ भनेर देखाइरहनुभएको हुनेछ। (रोमी १०:१०, १३, १४ पढ्‌नुहोस्‌) त्यसबेला तपाईँ पनि इथियोपियाली नपुंसकले जस्तै यो प्रश्‍न सोध्न जुरमुरिनुहुन्छ होला: “बप्तिस्मा गर्नदेखि मलाई केले रोक्छ र?”—प्रेषि. ८:३६.

१८. अर्को लेखमा के छलफल गर्नेछौँ?

१८ बप्तिस्मा गर्ने निर्णय गर्नुहुँदा तपाईँले आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण कदम चालिरहनुभएको हुनेछ। यो एकदमै गम्भीर कदम भएकोले यसमा के-के समावेश छन्‌ भनेर तपाईँले होसियारीपूर्वक विचार गर्नुपर्छ। बप्तिस्माबारे तपाईँले के थाह पाउनुपर्छ? बप्तिस्माअघि अनि पछि तपाईँले के गर्नुपर्छ? यी प्रश्‍नहरूको जवाफ अर्को लेखमा छलफल गर्नेछौँ।

गीत २ यहोवा तिम्रो नाम

^ अनु. 5 यहोवालाई प्रेम गर्ने कोही-कोही बप्तिस्मा गरेर आफू यहोवाको साक्षी हुन तयार छु कि छैनँ भनेर अलमलमा छन्‌। तपाईँ पनि यस्तै अलमलमा हुनुहुन्छ भने तपाईँलाई बप्तिस्मा गर्न उत्प्रेरणा दिने केही कुराहरू विचार गर्न यस लेखले मदत गर्नेछ।

^ अनु. 5 सबै मानिस एउटै हुँदैनन्‌। त्यसैले यस लेखमा दिइएका सुझावहरू कसै-कसैले यहाँ उल्लेख गरिएको क्रमअनुसार लागू नगर्न पनि सक्छन्‌।

^ अनु. 61 चित्रको व्याख्या: एक ख्रिष्टियन बहिनी किनमेल गर्न जाँदा एउटी युवतीलाई पर्चा दिन्छिन्‌।