जीवनी
“हामी हाजिर छौँ! हामीलाई पठाउनुहोस्!”
के तपाईँ आवश्यकता बढी भएको ठाउँमा बसाइँ सरेर, अझ भन्नुपर्दा विदेशमा गएर आफ्नो सेवा विस्तार गर्न चाहनुहुन्छ? त्यसो हो भने भाइ र बहिनी बर्गामको अनुभवबाट तपाईँले लाभ उठाउन सक्नुहुन्छ।
ज्याक र मारी-लिनले १९८८ देखि सँगै पूर्ण-समय सेवा गर्दै हुनुहुन्छ। उहाँहरूले जस्तोसुकै परिस्थितिमा पनि छाँटकाँट गर्न सक्ने दम्पती भनेर राम्रो नाम कमाउनुभएको छ। उहाँहरूले ग्वाडेलुप अनि फ्रेन्च गुयनाको विभिन्न ठाउँमा सेवा गरिसक्नुभयो। यी दुवै इलाकाको सुपरिवेक्षण अहिले फ्रान्स शाखा कार्यालयले गर्छ। आउनुहोस्, ज्याक र मारी-लिनलाई केही प्रश्न सोधौँ।
पूर्ण-समय सेवा गर्न तपाईँहरूलाई केले उत्प्रेरित गऱ्यो?
मारी-लिन: सानो छँदा ग्वाडेलुपमा म आमासँग अक्सर दिनभरिजसो प्रचारमा जान्थेँ। उहाँ जोसिलो साक्षी हुनुहुन्थ्यो। मलाई मानिसहरूसित कुरा गर्न मन पर्छ। त्यसैले १९८५ मा पढाइ सकिने बित्तिकै मैले अग्रगामी सेवा सुरु गरेँ।
ज्याक: जवान छँदा म प्रायजसो पूर्ण-समय सेवकहरूसित समय बिताउने गर्थेँ, जो प्रचारकार्यमा असाध्यै रमाउँथे। स्कुल छुट्टी हुँदा म सहायक अग्रगामीको रूपमा सेवा गर्थेँ। कहिलेकाहीँ सप्ताहन्तमा हामी बस चढेर अग्रगामी भाइबहिनीको इलाकासम्म जान्थ्यौँ। हामी दिनभरि प्रचार गर्थ्यौँ अनि साँझ समुद्री किनारामा जान्थ्यौँ। ती दिनहरू साँच्चै रमाइला थिए!
मारी-लिनसित १९८८ मा विवाह गरेको केही समयपछि मैले यस्तो सोचेँ, ‘हामीले अहिले पूरा गर्नुपर्ने दायित्व खासै केही छैन। त्यसैले सेवाको काममा अझ धेरै समय बिताए कसो होला?’ त्यसैले मैले पनि नियमित अग्रगामी सेवा सुरु गरेँ। अग्रगामी स्कुलमा उपस्थित भएको एक वर्षपछि हामीलाई विशेष अग्रगामीको रूपमा नियुक्त गरियो। हामीले ग्वाडेलुपमा विभिन्न असाइनमेन्ट सम्हाल्दा असाध्यै रमाइलो भयो। पछि हामीलाई फ्रेन्च गुयनामा खटाइयो।
वर्षौँको दौडान तपाईँहरूले विभिन्न असाइनमेन्ट सम्हाल्नुभयो। नयाँ परिस्थितिमा छाँटकाँट गर्न तपाईँहरूलाई केले मदत गऱ्यो?
मारी-लिन: हामीलाई मन पर्ने बाइबल पद यसैया ६:८ हो भनेर फ्रेन्च गुयना बेथेलका भाइहरूलाई थाह थियो। त्यसैले हामीलाई फोन गर्नुहुँदा उहाँहरू अक्सर सुरुमै यसो भनेर जिस्काउनुहुन्थ्यो, “तपाईँहरूलाई मन पर्ने बाइबल पद याद छ नि, हैन?” त्यसो भन्नुहुँदा हाम्रो असाइनमेन्ट परिवर्तन हुन लागेको छ भनेर हामी थाह पाइहाल्थ्यौँ। त्यसैले हामी यसो भन्थ्यौँ, “हामी हाजिर छौँ! हामीलाई पठाउनुहोस्!”
हामी आफूले पाएको नयाँ असाइनमेन्टलाई पुरानो
असाइनमेन्टसित तुलना गर्दैनौँ। किनकि त्यसो गर्दा हामी नयाँ असाइनमेन्टमा रमाउन सक्दैनौँ। साथै नयाँ ठाउँमा पुगेपछि त्यहाँका भाइबहिनीलाई साथी बनाउन आफै अग्रसर हुन्छौँ।ज्याक: केही भाइबहिनीहरू राम्रै मनसाय राखेर हामीलाई नजान भन्नुहुन्थ्यो। किनभने हामी टाढा गएको उहाँहरू चाहनुहुन्नथ्यो। तर ग्वाडेलुप छोड्दा एक जना भाइले हामीलाई मत्ति १३:३८ मा लेखिएको येसुका यी शब्दहरू सम्झाउनुभयो: “खेत संसार हो।” त्यसैले असाइनमेन्ट परिवर्तन हुँदा जहाँसुकै भए पनि हामी त्यही खेतमा सेवा गरिरहेका हुन्छौँ भनेर आफूलाई सम्झाउँछौँ। किनकि मानिसहरू र इलाका नै महत्त्वपूर्ण कुरा हो।
नयाँ ठाउँमा सर्दा त्यहाँका मानिसहरू आनन्दित भई जीवन बिताइरहेको देख्छौँ। त्यसैले हामी त्यहाँका मानिसहरूले जसरी नै जीवन बिताउने कोसिस गर्छौँ। त्यहाँको खानपान फरक होला तर हामी तिनीहरू जे खान्छन्, त्यही खान्छौँ अनि तिनीहरू जे पिउँछन्, हामी पनि त्यही पिउँछौँ। तर त्यसो गर्दा हामी आफ्नो स्वास्थ्यको भने ख्याल राख्छौँ। हामी आफ्ना हरेक असाइनमेन्टबारे सकारात्मक कुराकानी गर्ने प्रयास गर्छौँ।
मारी-लिन: हामी स्थानीय भाइबहिनीबाट पनि धेरै कुरा सिक्न सक्छौँ। फ्रेन्च गुयनामा पहिलो पटक आउँदाको घटना मलाई अझै पनि याद छ। झमझम पानी परिरहेको थियो। त्यसैले पानी पर्न रोकिएपछि मात्र प्रचारमा जान सकिन्छ होला भनेर सोचेका थियौँ। तर एक जना बहिनीले यसो भन्नुभयो, “अब जाने हैन?” अचम्म मान्दै मैले यसो भनेँ, “कसरी जाने?” अनि तिनले भनिन्, “छाता ओढेर साइकलमा जाऔँ।” त्यतिबेला मैले छाता समाउँदै साइकल कसरी चलाउने भनेर सिकेँ। त्यसो गर्न नसिकेको भए म बर्सातमा कहिल्यै प्रचार जान सक्ने थिइनँ!
तपाईँहरू लगभग १५ चोटि सरिसक्नुभयो। नयाँ ठाउँमा सर्दा ध्यान दिनुपर्ने कुराहरूबारे तपाईँहरूको केही सुझाव छ कि?
मारी-लिन: बसाइँ सर्नु सजिलो छैन। तैपनि कोठा खोज्दा चाहिँ प्रचारबाट फर्केपछि मजाले आराम गर्न सकिने खालको खोज्नुपर्छ।
ज्याक: म अक्सर नयाँ कोठामा रङ्ग लगाउने गर्छु। तर कहिलेकाहीँ शाखा कार्यालयका भाइहरूलाई हामीलाई त्यहाँ धेरै समयको लागि खटाइएको होइन भनेर थाह हुन्छ। त्यसैले उहाँहरू हामीलाई यसरी जिस्क्याउनुहुन्छ, “ज्याक, यसपालि चाहिँ रङ्ग लगाउनु पर्दैन होला है!”
मारी-लिन सामानहरू प्याक गर्न खप्पिस छिन्! तिनी सामानहरू बाकसमा मिलाएर राख्छिन् र कुन कोठाको सामान हो भनेर पनि बाहिर लेख्छिन्, जस्तै: “बाथरूम,” “बेडरूम” अनि “किचेन।” त्यसैले नयाँ ठाउँमा पुगेपछि
हामीलाई ती बाकसहरू ठीक-ठीक कोठामा राख्न सजिलो हुन्छ। तिनी हरेक बाकसमा कुन-कुन सामान छ भनेर लिस्ट बनाएर पनि राख्छिन्। त्यसले गर्दा आफूलाई चाहिने सामान तुरुन्तै भेट्टाउन सक्छौँ।मारी-लिन: व्यवस्थित हुन सिकेकोले नयाँ ठाउँमा पुगेपछि हामी तुरुन्तै प्रचारकार्यमा लाग्न सक्छौँ।
‘आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर्न’ तपाईँहरू कसरी आफ्नो तालिका मिलाउनुहुन्छ?—२ तिमो. ४:५.
मारी-लिन: सोमबार हामी आराम गर्छौँ अनि सभाको लागि तयारी गर्छौँ। मङ्गलबारदेखि चाहिँ हामी प्रचारकार्यमा भाग लिन्छौँ।
ज्याक: हुनत हामीले निश्चित घण्टा बुझाउनुपर्ने हुन्छ तर हामी त्यसलाई मात्र ध्यान दिँदैनौँ। हाम्रो निम्ति प्रचारकार्य नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसैले घरबाट निस्केदेखि नफर्केसम्म भेटेजति सबैलाई प्रचार गर्ने प्रयास गर्छौँ।
मारी-लिन: म सधैँ पर्चा बोक्ने गर्छु, पिकनिक जाँदा पनि। हामी यहोवाका साक्षी हौँ भनेर नबताए पनि कोही-कोही हामीकहाँ आएर प्रकाशनहरू माग्ने गर्छन्। त्यसैले हामी सधैँ आफ्नो पहिरन र आचरणमा ध्यान पुऱ्याउँछौँ किनभने मानिसहरूले ती कुराहरू याद गरिरहेका हुन्छन्।
ज्याक: असल छिमेकी बनेर पनि हामी साक्षी दिने गर्छौँ। म भुइँमा फ्याँकिएका कागजका टुक्राटाक्री टिप्छु, फोहोर डस्टबिनमा फ्याँकिदिन्छु अनि घर वरिपरि झरेका पातहरू टिपेर सफा गर्छु। छिमेकीहरूले यो याद गरिरहेका हुन्छन् र कहिलेकाहीँ यसो भन्ने गर्छन्, “मलाई एउटा बाइबल दिन सक्नुहुन्छ कि?”
तपाईँहरूले धेरै पटक टाढा-टाढाको इलाकामा गएर प्रचार गरिसक्नुभयो। तीमध्ये तपाईँहरूले अझैसम्म सम्झनुभएको कुनै यात्रा छ कि?
ज्याक: फ्रेन्च गुयनाका केही इलाकामा पुग्न निकै गाह्रो छ। इलाकासम्म पुग्न हप्तामा छ सय किलोमिटरजति यात्रा गर्नुपर्ने हुन्छ। त्यसमाथि बाटो पनि नराम्रो। अमेजन जङ्गलमा रहेको सेन्ट एलि भन्ने गाउँसम्मको यात्रा मलाई अझै याद छ। हामी गाडी अनि इन्जिनबाट चल्ने डुङ्गामा घण्टौँ यात्रा गरेर त्यहाँ पुगेका थियौँ। त्यहाँ बस्ने धेरैजसो मानिस सुन खानीमा काम गर्थे। हामीले प्रकाशनहरू दिएकोमा खुसी हुँदै तिनीहरू अनुदानस्वरूप सुनका स-साना टुक्राहरू दिन्थे। साँझ हामीले सङ्गठनको एउटा भिडियो देखायौँ अनि त्यो हेर्न थुप्रै मानिस आए।
मारी-लिन: हालै ज्याकलाई क्यामोपी भन्ने गाउँमा स्मरणार्थ भाषण दिन भनिएको थियो। त्यहाँसम्म पुग्न हामीले ओयापोक नदीमा इन्जिनबाट चल्ने डुङ्गा चढेर चार घण्टा यात्रा गरेका थियौँ। त्यो रमाइलो अनुभव थियो।
ज्याक: नदीमा पानीको बहाब कम भएको ठाउँमा छालहरू डरलाग्दो हुन्छ। ती छालहरू साँच्चै अचम्मका हुन्छन्। ती छालहरू छिचोल्दै अघि बढ्न डुङ्गा चलाउने मान्छे सिपालु हुनुपर्छ। त्यो यात्रा म बिर्सनै सक्दिनँ। त्यस गाउँमा छ जना मात्र साक्षी भए तापनि स्मरणार्थमा लगभग ५० जना आए। तीमध्ये केही अमेरिकी आदिवासीहरू थिए।
मारी-लिन: यहोवाको सेवामा अझ धेरै गर्न चाहने युवाहरूले यस्ता रमाइला अनुभवहरू गर्न सक्छन्। यस्ता परिस्थितिहरूमा हामी यहोवामा भर पर्नुपर्छ। त्यसो गर्दा हाम्रो विश्वास बलियो हुन्छ। यहोवाले मदत गर्नुभएको हामीले धेरै चोटि महसुस गरेका छौँ।
तपाईँहरूले थुप्रै भाषा सिक्नुभएको छ। के तपाईँहरू नयाँ भाषा सिक्न खप्पिस हुनुहुन्छ?
ज्याक: त्यस्तो त होइन। प्रचार गर्न सजिलो होस् अनि मण्डलीमा पनि सघाउन सकियोस् भनेर मैले यी भाषाहरू सिकेँ। मैले स्रानानटोंगो * भाषामा बाइबल पढाइ गर्नुअघि नै प्रहरीधरहरा अध्ययन सञ्चालन गर्नुपरेको थियो। मैले एक जना भाइलाई मैले बोलेको बुझिन्छ कि बुझिँदैन भनेर सोधेँ। उहाँले भन्नुभयो, “तपाईँले बोलेको कुनै-कुनै शब्द हामीले बुझेनौँ तर धेरै राम्रो थियो।” केटाकेटीबाट मैले धेरै मदत पाएँ। मैले गल्ती गर्दा तिनीहरू मलाई सच्याउँथे तर वयस्क भाइबहिनी भने केही भन्दैनथे। मैले साना केटाकेटीबाट चाहिँ धेरै सिकेँ।
मारी-लिन: एउटा इलाकामा मेरो फ्रान्सेली, पोर्चुगिज अनि स्रानानटोंगो भाषाका बाइबल विद्यार्थीहरू थिए। एक जना बहिनीले मलाई सुरुमा आफूलाई गाह्रो लाग्ने भाषामा बाइबल अध्ययन गराएर अन्तमा चाहिँ सजिलो लाग्ने भाषामा अध्ययन गराउने सल्लाह दिनुभयो। त्यो सल्लाह साँच्चै बुद्धिमानी थियो भनेर मैले चाँडै बुझेँ।
एकदिन मैले सुरुमा स्रानानटोंगो भाषाको विद्यार्थीलाई
अध्ययन गराएँ अनि दोस्रो चाहिँ पोर्चुगिज भाषाको विद्यार्थीलाई। दोस्रो अध्ययन थाल्दा मसितै जानुभएको बहिनीले यसो भन्नुभयो, “मारी-लिन, उहाँले बुझ्नुहुन्न होला।” मैले ब्राजिलियन महिलासित पोर्चुगिज भाषामा कुरा गर्नुपर्ने ठाउँमा स्रानानटोंगो भाषामा पो कुरा गरेछु!तपाईँहरूसँगै सेवा गर्नुभएका भाइबहिनीले तपाईँहरूलाई धेरै माया गर्नुहुन्छ। तपाईँहरू कसरी यी भाइबहिनीसित नजिक हुन सक्नुभयो?
ज्याक: हितोपदेश ११:२५ भन्छ: “मन खोलेर दिने मानिसको उन्नति हुन्छ।” हामी उहाँहरूसित समय बिताउन अनि उहाँहरूलाई मदत गर्न पछि हट्दैनौँ। राज्यभवन स्याहारसम्भार गर्ने बेला कसै-कसैले मलाई यसो भन्नुहुन्छ, “त्यो काम प्रकाशकहरूलाई नै गर्न दिनुहोस्।” तर म यसो भन्छु, “म पनि प्रकाशक हुँ। कुनै काम छ भने म पनि गर्न चाहन्छु।” हुनत आफ्नो लागि पनि समय चाहिन्छ तर त्यसो भन्दैमा हामी अरूको लागि असल काम नगरी बस्न चाहँदैनौँ।
मारी-लिन: हामी भाइबहिनीलाई व्यक्तिगत चासो देखाउने कोसिस गर्छौँ। यसो गर्दा बच्चा हेरिदिन वा स्कुलमा लिन जान उहाँहरूलाई कसैको मदत चाहिएको छ कि भन्ने कुरा थाह पाउँछौँ। उहाँहरूलाई मदत गर्न हामी आफ्ना योजनाहरू छाँटकाँट गर्छौँ। यसरी चाहिएको बेला मदत गर्न तयार भएर हामी उहाँहरूसित नजिक हुन सकेका छौँ।
आवश्यकता बढी भएको ठाउँमा सेवा गर्दा तपाईँहरूले कस्ता आशिष्हरू पाउनुभएको छ?
ज्याक: पूर्ण-समय सेवामा लागेकोले हामीले थुप्रै आशिष् पाएका छौँ। हामीले यहोवाको सृष्टिलाई अझ नजिकबाट नियाल्न पाएका छौँ। हो, सधैँ सजिलो त हुँदैन तैपनि हामीले मनोशान्ति गुमाएका छैनौँ। किनभने जहाँसुकै भए तापनि परमेश्वरका जनहरूले साथ दिनेछन् भनेर हामीलाई थाह छ।
जवान छँदा फ्रेन्च गुयनामा मलाई ख्रिष्टियन तटस्थताको कारण जेलमा थुनिएको थियो। कुनै दिन मिसनरीको रूपमा म त्यहीँ फर्कनेछु र त्यहाँका कैदीहरूलाई प्रचार गर्न पाउनेछु भनेर मैले कहिल्यै सोचेको थिइनँ। साँच्चै, यहोवा हामीलाई मन खोलेर आशिष् दिनुहुन्छ!
मारी-लिन: अरूलाई मदत गर्न पाउँदा मलाई एकदम खुसी लाग्छ। यहोवाको सेवा गर्न पाएकोमा हामी खुसी छौँ। यहोवाको सेवामा लागेकोले हामी श्रीमान्-श्रीमती अझै नजिक हुन सकेका छौँ। कहिलेकाहीँ ज्याकले प्रोत्साहनको खाँचो भएको दम्पतीलाई खाना खान बोलाउने हो कि भनेर सोध्नुहुन्छ। अनि म यसो भन्छु, “म पनि त्यही कुरा सोच्दै थिएँ।” प्रायजसो हाम्रो सोचाइ मिलिरहेको हुन्छ।
ज्याक: हालै मलाई प्रोस्ट्रेट क्यान्सर भएको कुरा पत्ता लाग्यो। हुनत मारी-लिनलाई नरमाइलो लाग्छ तैपनि म तिनलाई यसो भन्छु, “प्रिय, म त्यत्ति बूढो भएको त छैन तर मरिहालेँ भने पनि आफ्नो जीवन यहोवाको सेवामा बिताउन पाएकोमा खुसी छु।”—उत्प. २५:८.
मारी-लिन: यहोवाले हामीलाई सोच्दै नसोचेका असाइनमेन्टहरू दिनुभएको छ र हामीले कल्पनासमेत नगरेका कुराहरू गर्न पाएका छौँ। हामीले जीवनमा थुप्रै रमाइला अनुभव गर्न पायौँ। यहोवाको सङ्गठनले हामीलाई जहाँ खटाए पनि उहाँमा पूर्ण भरोसा राख्दै हामी त्यहाँ जानेछौँ!
^ अनु. 32 स्रानानटोंगो अङ्ग्रेजी, डच, पोर्चुगिज अनि अफ्रिकी भाषाहरू मिलेर बनेको भाषा हो। स्रानानटोंगो दासहरूले बनाएको भाषा हो।