सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ११

धर्मशास्त्रबाट बल प्राप्त गर्नुहोस्‌

धर्मशास्त्रबाट बल प्राप्त गर्नुहोस्‌

“सहनशीलता . . . दिनुहुने परमेश्‍वरले तिमीहरू सबैलाई ख्रिष्ट येसुको जस्तै मनोभाव देऊन्‌।”—रोमी १५:५.

गीत ९४ परमेश्‍वरको वचनप्रति कृतज्ञ

परिचय *

१. यहोवाका सेवकहरूले कस्ता परीक्षाहरूको सामना गर्नुपर्छ?

के तपाईँले कुनै गाह्रो परीक्षाको सामना गर्दै हुनुहुन्छ? सायद मण्डलीको कुनै भाइ वा बहिनीले तपाईँको चित्त दुखाएको छ। (याकु. ३:२) अथवा सहकर्मी वा सहपाठीले तपाईँ यहोवाको साक्षी भएकोले तपाईँको गिल्ला गर्छन्‌ होला। (१ पत्रु. ४:३, ४) परिवारका सदस्यहरूले तपाईँलाई सभा जान वा आफ्नो विश्‍वासबारे अरूलाई बताउनदेखि रोक्न खोज्छन्‌ होला। (मत्ति १०:३५, ३६) अत्यन्तै गाह्रो परीक्षाको सामना गर्नुपर्दा तपाईँलाई यहोवाको सेवा गर्न छोडूँ कि जस्तो लाग्न सक्छ। तर तपाईँमाथि जस्तोसुकै परीक्षा आइपरे पनि यहोवाले त्यसको सामना गर्ने बुद्धि र त्यो सहने बल दिनुहुनेछ भन्‍ने कुरामा तपाईँ विश्‍वस्त हुन सक्नुहुन्छ।

२. रोमी १५:४ अनुसार बाइबल पढाइले हामीमा कस्तो प्रभाव पार्न सक्छ?

यहोवाले आफ्नो वचन बाइबलमा विगतका त्रुटिपूर्ण मानिसहरूले कसरी गाह्रो परीक्षाहरूको सामना गरे भनेर विस्तृत रूपमा लेख्न लगाउनुभएको छ। किन? हामीले ती विवरणहरूबाट सिक्न सकोस्‌ भनेर। यहोवाले प्रेषित पावललाई पनि त्यही कुरा लेख्न प्रेरणा दिनुभयो। (रोमी १५:४ पढ्‌नुहोस्‌।) ती विवरणहरू पढ्‌दा हामी केही हदसम्म सान्त्वना र आशा पाउन सक्छौँ। तर त्यसबाट लाभ उठाउन हामीले बाइबल पढेर मात्र पुग्दैन। धर्मशास्त्रमा पढेका कुराहरूले हाम्रो मन छुनुपर्छ र हामीलाई आफ्नो सोच्ने तरिका परिवर्तन गर्न उत्प्रेरित गर्नुपर्छ। कुनै खास चुनौतीको सामना गर्न डोऱ्‍याइ खोज्दै हुनुहुन्छ भने तपाईँ के गर्न सक्नुहुन्छ? बाइबल पढ्‌दा यो तरिका अपनाउनुहोस्‌: (प्रार्थना गर्नुहोस्‌, (कल्पना गर्नुहोस्‌, (मनन गर्नुहोस्‌ (लागू गर्नुहोस्‌। यी चार वटा कदममा के-के समावेश छन्‌, अब छलफल गरौँ। * त्यसपछि हामी अध्ययन गर्ने यो तरिका अपनाएर राजा दाउद र प्रेषित पावलको जीवनमा घटेका घटनाहरूबाट सिक्नेछौँ।

१. प्रार्थना गर्नुहोस्‌

बाइबल पढ्‌नुअघि आफूले पढ्‌न लागेको कुराबाट लाभ उठाउन सकूँ भनेर यहोवासित मदत माग्नुहोस्‌ (अनुच्छेद ३ हेर्नुहोस्‌)

३. बाइबल पढ्‌न सुरु गर्नुअघि तपाईँले के गर्नुपर्छ र किन?

(प्रार्थना गर्नुहोस्‌। बाइबल पढ्‌न सुरु गर्नुअघि आफूले पढ्‌न लागेको कुराबाट लाभ उठाउन सकूँ भनेर यहोवालाई प्रार्थना गर्नुहोस्‌। उदाहरणको लागि, तपाईँ कुनै समस्याको सामना गर्ने तरिका खोज्दै हुनुहुन्छ भने आफ्नो परिस्थितिसित मिल्ने बाइबल सिद्धान्तहरू भेट्टाउन मदत गर्नुहोस्‌ भनेर प्रार्थना गर्नुहोस्‌।—फिलि. ४:६, ७; याकु. १:५.

. कल्पना गर्नुहोस्‌

बाइबल विवरणको मुख्य पात्रको ठाउँमा आफैलाई राखेर हेर्न प्रयास गर्नुहोस्‌ (अनुच्छेद ४ हेर्नुहोस्‌)

४. बाइबल विवरणलाई जीवन्त बनाउन तपाईँ के गर्न सक्नुहुन्छ?

(कल्पना गर्नुहोस्‌। यहोवाले हामीलाई कुनै कुराबारे कल्पना गर्न सक्ने अचम्मलाग्दो क्षमता दिनुभएको छ। कुनै बाइबल विवरणलाई जीवन्त बनाउन त्यहाँको दृश्‍य कल्पना गर्नुहोस्‌ र विवरणको मुख्य पात्रको ठाउँमा आफूलाई राखेर हेर्नुहोस्‌। तिनले देखेका कुराहरू देख्ने र तिनको भावना महसुस गर्ने प्रयास गर्नुहोस्‌।

. मनन गर्नुहोस्‌

आफूले पढेका कुराहरूबारे र ती कुराहरू आफूलाई कसरी लागू हुन्छ भन्‍नेबारे राम्ररी विचार गर्नुहोस्‌ (अनुच्छेद ५ हेर्नुहोस्‌)

५. मनन भनेको के हो र तपाईँ कसरी मनन गर्न सक्नुहुन्छ?

(मनन गर्नुहोस्‌। मनन गर्नु भनेको आफूले पढेका कुराहरूबारे र ती कुराहरू आफूलाई कसरी लागू हुन्छ भन्‍नेबारे राम्ररी विचार गर्नु हो। मननले तपाईँलाई आफूले पढिरहेका कुराहरूबीचको सम्बन्ध पत्ता लगाउन र त्यस विषयलाई अझ राम्ररी बुझ्न मदत गर्छ। मनन नगरी बाइबल पढ्‌नु भनेको एउटा चित्रको टुक्राटाक्रीलाई आपसमा नजोडिकन सिङ्‌गो चित्र हेर्न खोज्नुजस्तै हो। मनन गर्नु भनेको सिङ्‌गो चित्र हेर्न चित्रका टुक्राटाक्रीलाई जोड्‌नुजस्तै हो। कुनै विवरणबारे मनन गर्दा तपाईँ यस्ता प्रश्‍नहरूको जवाफ खोज्न सक्नुहुन्छ: ‘यस विवरणमा मुख्य पात्रले आफ्नो समस्या सुल्झाउन के गरे? यहोवाले तिनलाई कसरी मदत गर्नुभयो? परीक्षाहरू सहन म यस विवरणबाट सिकेको पाठ कसरी लागू गर्न सक्छु?’

. लागू गर्नुहोस्‌

राम्रा निर्णयहरू गर्न, अझ धेरै शान्ति पाउन र विश्‍वास बलियो बनाउन आफूले सिकेका कुराहरू लागू गर्नुहोस्‌ (अनुच्छेद ६ हेर्नुहोस्‌)

६. हामीले किन आफूले पढेको कुरा लागू गर्नुपर्छ?

(लागू गर्नुहोस्‌। आफूले पढेको कुरा लागू गर्दैनौँ भने हामी येसुले बताउनुभएको बालुवामाथि घर बनाउने मानिसजस्तै हुन्छौँ। तिनले मेहनत त गर्छन्‌ तर तिनको मेहनत खेर जान्छ। किन? बतास र बाढीले तिनको घरलाई बेसरी हान्छ र त्यो पूरै ध्वस्त हुन्छ। (मत्ति ७:२४-२७) त्यसैगरि हामी पनि प्रार्थना गर्छौँ अनि आफूले पढेको कुराबारे कल्पना र मनन गर्छौँ तर लागू गर्दैनौँ भने हाम्रो मेहनत खेर जान्छ। परीक्षा र खेदो आइपर्दा हाम्रो विश्‍वासको जाँच हुन्छ अनि हामी विश्‍वासमा अडिग रहिरहन सक्दैनौँ। अर्कोतर्फ हामीले बाइबल पढ्यौँ र लागू गऱ्‍यौँ भने राम्रा निर्णयहरू गर्न सक्नेछौँ, अझ धेरै शान्ति पाउनेछौँ र हाम्रो विश्‍वास अझ बलियो हुनेछ। (यसै. ४८:१७, १८) अब हामी भर्खरै छलफल गरेको चार वटा तरिका अपनाउँदै राजा दाउदको जीवनमा घटेको एउटा घटना अध्ययन गर्नेछौँ र त्यसबाट सिक्न सक्ने पाठ विचार गर्नेछौँ।

तपाईँ राजा दाउदबाट के सिक्न सक्नुहुन्छ?

७. अब हामी कुन बाइबल विवरण विचार गर्नेछौँ?

के तपाईँको कुनै साथी वा परिवारको सदस्यले तपाईँको चित्त दुखाएको छ? यदि त्यसो हो भने तपाईँ राजा दाउदको छोरा अब्सालोमको विवरणबाट लाभ उठाउन सक्नुहुन्छ। उनले आफ्नो बुबालाई धोका दिए र तिनको राज्य हडप्न खोजे।—२ समु. १५:५-१४, ३१; १८:६-१४.

८. यहोवाको मदत पाउन तपाईँ के गर्न सक्नुहुन्छ?

(प्रार्थना गर्नुहोस्‌। यो विवरण मनमा राख्दै अरूले तपाईँसित नराम्रो व्यवहार गरेकोमा तपाईँलाई कस्तो लागिरहेको छ भनेर यहोवालाई बताउनुहोस्‌। (भज. ६:६-९) आफ्नो भावना खुलस्त रूपमा व्यक्‍त गर्नुहोस्‌। त्यसपछि त्यो गाह्रो चुनौतीको सामना गर्न मदत दिने सिद्धान्तहरू भेट्टाउन सकूँ भनेर यहोवालाई बिन्ती गर्नुहोस्‌।

९. दाउद र अब्सालोमको घटना छोटकरीमा बताउनुहोस्‌।

(कल्पना गर्नुहोस्‌। यस विवरणबारे विचार गर्नुहोस्‌ र राजा दाउदले कस्तो महसुस गरे होलान्‌, कल्पना गर्नुहोस्‌। दाउदको छोरा अब्सालोमले वर्षौँ लगाएर मानिसहरूको मन जित्ने प्रयास गर्छन्‌। (२ समु. १५:७) आफूलाई राजा घोषणा गर्ने ठीक समय यही हो जस्तो लागेपछि अब्सालोमले इस्राएलको इलाकाभरि जासुसहरू पठाउँछन्‌ अनि आफूलाई राजाको रूपमा स्विकार्न मानिसहरूलाई तयार बनाउँछन्‌। उनले दाउदका घनिष्ठ साथी र सल्लाहकार अहितोपेललाई आफ्नो विद्रोहमा साथ दिन उक्साउँछन्‌। अब्सालोमले आफैलाई राजा घोषणा गर्छन्‌ अनि दाउदलाई पक्रेर मार्न खोज्छन्‌। त्यतिबेला दाउद सायद सिकिस्त बिरामी थिए। (भज. ४१:१-९) दाउदले त्यस षड्यन्त्रबारे थाह पाउँछन्‌ र यरुसलेमबाट भाग्छन्‌। पछि अब्सालोमको सेना र दाउदका वफादार मानिसहरूबीच लडाइँ हुन्छ। लडाइँमा विद्रोही पक्ष पराजित हुन्छ र दाउदका छोरा अब्सालोम मारिन्छन्‌।

१०. राजा दाउदले कस्तो प्रतिक्रिया देखाउन सक्थे?

१० आफ्नो जीवनमा यी सबै घटना भइरहँदा दाउदलाई कस्तो महसुस भएको थियो होला, अब कल्पना गर्नुहोस्‌। तिनी अब्सालोमलाई माया गर्थे र अहितोपेललाई भरोसा गर्थे। तर उनीहरू दुवै जनाले दाउदलाई धोका दिए। उनीहरूले तिनको निकै चित्त दुखाए र तिनलाई मार्ने प्रयाससमेत गरे। दाउदले आफ्ना अरू साथीहरूले पनि अब्सालोमको विद्रोहमा साथ दिइरहेका छन्‌ कि भनेर शङ्‌का गर्न सक्थे र उनीहरूमाथि तिनको भरोसा गुम्न सक्थ्यो। तिनले आफैबारे मात्र सोचेर एक्लै देश छोड्‌ने निर्णय गर्न सक्थे। अथवा तिनी निराश भएर चुपचाप बस्न सक्थे। तर दाउदले यीमध्ये कुनै पनि कुरा गरेनन्‌। बरु तिनले यो गाह्रो परीक्षालाई जित्न सके। तिनी किन यसो गर्न सफल भए?

११. दाउदले कठिन परिस्थितिको कसरी सामना गरे?

११ (मनन गर्नुहोस्‌। यस विवरणमा कस्ता सिद्धान्तहरू लुकेको छ? यस प्रश्‍नको जवाफ खोज्नुहोस्‌: “दाउदले आफ्नो समस्या सुल्झाउन के गरे?” दाउद हडबडाएनन्‌ र सोच्दै नसोची मूर्ख निर्णय गरेनन्‌। साथै तिनी डराएर केही गर्नै नसक्ने हदसम्म पनि पुगेनन्‌। बरु तिनले मदतको लागि यहोवालाई प्रार्थना गरे। तिनले आफ्ना साथीहरूसित पनि मदत मागे। अनि तिनले आफ्नो निर्णयअनुसारै तुरुन्तै कदम पनि चाले। आफूलाई गहिरो चोट पुगेको भए पनि दाउदले अरूलाई शङ्‌काको नजरले हेरेनन्‌ र मनमा रिस पालेर पनि राखेनन्‌। तिनले यहोवामाथि र आफ्ना साथीहरूमाथि भरोसा गरिरहे।

१२. यहोवाले दाउदलाई कसरी मदत गर्नुभयो?

१२ यहोवाले दाउदलाई कसरी मदत गर्नुभयो? थप अनुसन्धान गर्नुभयो भने उहाँले तिनलाई यो परीक्षा सहन बल दिनुभयो भनेर थाह पाउन सक्नुहुन्छ। (भज. ३:१-८; परिचय) दाउदले गरेका निर्णयहरूमा यहोवाले आशिष्‌ दिनुभयो। अनि दाउदका वफादार सेवकहरूले आफ्नो राजालाई जोगाउन विद्रोही पक्षसित लडाइँ गर्दा उहाँले तिनीहरूलाई साथ दिनुभयो।

१३. कसैले कुनै तरिकामा तपाईँको नराम्रोसित चित्त दुखायो भने तपाईँ कसरी दाउदको अनुकरण गर्न सक्नुहुन्छ? (मत्ति १८:१५-१७)

१३ (लागू गर्नुहोस्‌। आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌: ‘म कसरी दाउदको अनुकरण गर्न सक्छु?’ समस्या सुल्झाउन तुरुन्तै कदम चाल्नुहोस्‌। परिस्थितिअनुसार तपाईँ मत्ति अध्याय १८ मा येसुले बताउनुभएका कदमहरू चाल्न सक्नुहुन्छ वा यस सल्लाहलाई सिद्धान्तको रूपमा लागू गर्न सक्नुहुन्छ। (मत्ति १८:१५-१७ पढ्‌नुहोस्‌।) तर भावनामा बहेर हतारमा निर्णय नगर्नुहोस्‌। यस परिस्थितिको सामना गर्न शान्त मन र बुद्धिको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌। आफ्ना साथीहरूमाथि भरोसा गरिरहनुहोस्‌ र उनीहरूले मदत दिन खोज्दा त्यो स्विकार्नुहोस्‌। (हितो. १७:१७) सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवाले आफ्नो वचनमार्फत दिनुहुने सल्लाहअनुसार चल्नुहोस्‌।—हितो. ३:५, ६.

तपाईँ पावलबाट के सिक्न सक्नुहुन्छ?

१४. दोस्रो तिमोथि १:१२-१६; ४:६-११, १७-२२ मा लेखिएका कुराहरूले तपाईँलाई कस्तो परिस्थितिमा प्रोत्साहन दिन्छ?

१४ के तपाईँले परिवारका सदस्यहरूबाट विरोधको सामना गर्दै हुनुहुन्छ? अथवा के तपाईँको देशमा यहोवाका साक्षीहरूको गतिविधिमाथि कडिकडाउ गरिएको छ वा प्रतिबन्ध लगाइएको छ? यदि त्यसो हो भने तपाईँ २ तिमोथि १:१२-१६ र ४:६-११, १७-२२ मा लेखिएका कुराहरूबाट प्रोत्साहन पाउन सक्नुहुन्छ। * पावलले धर्मशास्त्रको यो अंश जेलमा छँदा लेखेका थिए।

१५. तपाईँ यहोवालाई कुन कुराको लागि प्रार्थना गर्न सक्नुहुन्छ?

१५ (प्रार्थना गर्नुहोस्‌। यी पदहरू पढ्‌नुअघि यहोवालाई आफ्नो समस्याबारे र तपाईँलाई कस्तो महसुस भइरहेको छ भन्‍नेबारे बताउनुहोस्‌। तोकेरै प्रार्थना गर्नुहोस्‌। त्यसपछि पावलको विवरणमा आफूले भोगिरहेको चुनौतीको सामना गर्न मदत दिने सिद्धान्तहरू भेट्टाउन सकूँ भनेर यहोवालाई बिन्ती गर्नुहोस्‌।

१६. पावलको अवस्था छोटकरीमा बताउनुहोस्‌।

१६ (कल्पना गर्नुहोस्‌। आफू पावलको जस्तै अवस्थामा भएको कल्पना गर्नुहोस्‌। तिनी रोमको झ्यालखानामा छन्‌ र तिनलाई साङ्‌लाले बाँधेर राखिएको छ। तिनी पहिला पनि जेलमा परिसकेका थिए तर यसपालि भने मृत्युदण्ड पाउने कुरामा तिनी निश्‍चित छन्‌। तिनका केही साथीहरूले तिनलाई त्यागेका छन्‌ र तिनी शारीरिक तवरमा पनि शिथिल भएका छन्‌।—२ तिमो. १:१५.

१७. पावलले कस्तो प्रतिक्रिया देखाउन सक्थे?

१७ पावलले विगतका कुराहरूमा ध्यान दिन सक्थे। विगतमा बेग्लै किसिमको छनौट गरेको भए अहिले झ्यालखानामा बस्नुपर्ने थिएन भनेर तिनले सोच्न सक्थे। तिनले आफूलाई त्यागेका एसिया प्रान्तका मानिसहरूप्रति मनमा रिस पालेर बस्न सक्थे अनि यसले गर्दा तिनले आफ्ना अरू साथीहरूलाई पनि शङ्‌काको नजरले हेर्न सक्थे। तर पावलले यीमध्ये कुनै पनि कुरा गरेनन्‌। आफ्ना साथीहरू आफूप्रति वफादार रहनेछन्‌ र यहोवाले आफूलाई इनाम दिनुहुनेछ भन्‍ने कुरामा पावल किन विश्‍वस्त थिए?

१८. पावलले कसरी परीक्षाको सामना गरे?

१८ (मनन गर्नुहोस्‌। यस प्रश्‍नको जवाफ खोज्नुहोस्‌: “पावलले कसरी परीक्षाको सामना गरे?” आफूलाई चाँडै मृत्युदण्ड दिइनेछ भनेर थाह भए पनि पावलले यहोवाको महिमा गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्‍ने कुरामा ध्यान दिइरहे। अनि तिनले अरूलाई कसरी प्रोत्साहन दिन सक्छु भनेर पनि विचार गरिरहे। साथै तिनले नियमित रूपमा प्रार्थना गरेर यहोवामाथि भरोसा गरे। (२ तिमो. १:३) तिनले आफूलाई त्यागेर गएका मानिसहरूबारे बढ्‌तै सोच्नुको साटो आफूलाई व्यावहारिक मदत दिने आफ्ना वफादार साथीहरूप्रति मनैदेखि कृतज्ञता व्यक्‍त गरे। साथै पावलले नियमित रूपमा परमेश्‍वरको वचन अध्ययन गरे। (२ तिमो. ३:१६, १७; ४:१३) सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवा र येसुले आफूलाई माया गर्नुहुन्छ भन्‍ने कुरामा पावल पूर्णरूपमा विश्‍वस्त थिए। उहाँहरूले तिनलाई त्याग्नुभएको थिएन र उहाँहरूले तिनको वफादार सेवाको लागि तिनलाई इनाम दिनुहुने थियो।

१९. यहोवाले पावललाई कसरी मदत गर्नुभयो?

१९ ख्रिष्टियन भएकोले पावलले खेदोको सामना गर्नुपर्नेछ भनेर यहोवाले पहिल्यै भन्‍नुभएको थियो। (प्रेषि. २१:११-१३) यहोवाले पावललाई कसरी मदत गर्नुभयो? उहाँले तिनका प्रार्थनाहरूको जवाफ दिनुभयो अनि तिनलाई शक्‍ति पनि दिनुभयो। (२ तिमो. ४:१७) पावलले जुन इनाम पाउन यति धेरै मेहनत गरेका थिए, त्यो इनाम पाउने कुराको तिनले आश्‍वासन पाए। साथै पावललाई व्यावहारिक मदत दिन यहोवाले तिनका वफादार साथीहरूलाई चलाउनुभयो।

२०. रोमी ८:३८, ३९ अनुसार पावलले परीक्षाहरू सहन सक्नुको कारण के थियो र तपाईँ कसरी तिनको अनुकरण गर्न सक्नुहुन्छ?

२० (लागू गर्नुहोस्‌। आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌: ‘म कसरी पावलको अनुकरण गर्न सक्छु?’ पावलले जस्तै हामीले पनि आफ्नो विश्‍वासको खातिर खेदो भोग्नुपर्छ भन्‍ने कुराको आशा गर्नुपर्छ। (मर्कु. १०:२९, ३०) परीक्षा आइपर्दा सत्यनिष्ठा कायम राख्न हामीले प्रार्थना गरेर यहोवामा भर पर्नुपर्छ र उहाँको वचन नियमित रूपमा अध्ययन गर्नुपर्छ। अनि हामीले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण काम भनेको यहोवाको महिमा गर्नु हो भन्‍ने कुरा पनि हामीले सधैँ मनमा राख्नुपर्छ। यहोवाले हामीलाई कहिल्यै त्याग्नुहुनेछैन र उहाँको प्रेमबाट हामीलाई कुनै पनि कुराले अलग पार्न सक्नेछैन भन्‍ने कुरामा हामी पक्का हुन सक्छौँ।रोमी ८:३८, ३९ पढ्‌नुहोस्‌; हिब्रू १३:५, ६.

अन्य बाइबल पात्रहरूबाट सिक्नुहोस्‌

२१. आया र हेक्टरलाई कुन कुराले चुनौतीहरूको सामना गर्न मदत दियो?

२१ हाम्रो परिस्थिति जस्तोसुकै भए पनि हामी बाइबल पात्रहरूको उदाहरणबाट बल पाउन सक्छौँ। उदाहरणको लागि, जापानकी अग्रगामी बहिनी आयालाई सार्वजनिक साक्षीकार्य गर्न डर लाग्थ्यो। तर योनाको कथाले तिनलाई त्यो डर हटाउन मदत दियो। इन्डोनेसियाका एक जवान भाइ हेक्टर, जसका आमाबुबा यहोवाका साक्षी होइनन्‌, तिनले रुथको उदाहरणबाट यहोवाबारे सिक्ने र उहाँको सेवा गर्ने प्रोत्साहन पाए।

२२. बाइबलआधारित नाटकहरू र “तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌” भन्‍ने शृङ्‌खलाबद्ध लेखहरूबाट तपाईँ कसरी लाभ उठाउन सक्नुहुन्छ?

२२ तपाईँलाई परीक्षाको बेला बल दिने बाइबल पात्रहरूको उदाहरणबारे थप जानकारी कहाँ पाउन सक्नुहुन्छ? हाम्रा भिडियो र अडियो नाटकहरूमा अनि “तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌” भन्‍ने शृङ्‌खलाबद्ध लेखहरूमा बाइबलका विवरणहरूलाई जीवन्त ढङ्‌गमा प्रस्तुत गरिएको छ। * राम्ररी अनुसन्धान गरेर तयार पारिएका ती सामग्रीहरू हेर्नुअघि, सुन्‍नुअघि वा पढ्‌नुअघि आफूले लागू गर्न सक्ने खास बुँदाहरू भेट्टाउन सकूँ भनेर यहोवासित मदत माग्नुहोस्‌। मुख्य पात्रको ठाउँमा आफूलाई राखेर कल्पना गर्नुहोस्‌। यहोवाका ती वफादार सेवकहरूले के गरे अनि गाह्रो अवस्थाको सामना गर्न यहोवाले तिनीहरूलाई कसरी मदत गर्नुभयो भनेर मनन गर्नुहोस्‌। त्यसपछि आफूले सिकेका पाठहरू लागू गर्नुहोस्‌। यहोवाले तपाईँलाई दिइरहनुभएको मदतको लागि उहाँलाई धन्यवाद दिनुहोस्‌। अनि अरूलाई प्रोत्साहन र मदत दिने मौकाहरू खोजेर आफूले पाएको मदतको लागि कृतज्ञ भएको कुरा देखाउनुहोस्‌।

२३. यसैया ४१:१०, १३ अनुसार यहोवाले हामीलाई कस्तो प्रतिज्ञा गर्नुभएको छ?

२३ सैतानको अधीनमा भएको यस संसारमा जीवन बिताउन पक्कै पनि कठिन छ। (२ तिमो. ३:१) कहिलेकाहीँ त समस्याहरूले गर्दा हामी अन्योलमा समेत पर्न सक्छौँ। तर हामी असाध्यै चिन्तित हुनु वा डराउनु पर्दैन। हामीले कस्ता समस्याहरूको सामना गर्दै छौँ भनेर यहोवालाई थाह छ। हामी लडिहाल्यौँ भने पनि यहोवाले हामीलाई आफ्नो दायाँ हातले पक्रिराख्ने प्रतिज्ञा गर्नुभएको छ। (यसैया ४१:१०, १३ पढ्‌नुहोस्‌।) यहोवाले हामीलाई मदत गर्नुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ। अनि धर्मशास्त्रबाट बल प्राप्त गरेर हामी जस्तोसुकै चुनौतीलाई जित्न सक्छौँ।

गीत ९६ परमेश्‍वरको किताब—एउटा अमूल्य धन

^ अनु. 5 बाइबलका थुप्रै विवरणले परमेश्‍वर आफ्ना सेवकहरूलाई माया गर्नुहुन्छ र तिनीहरूलाई जस्तोसुकै परीक्षा सहन मदत गर्नुहुन्छ भनेर देखाउँछ। यस लेखमा व्यक्‍तिगत बाइबल अध्ययन गर्दा आफूले पढेका विवरणहरूबाट लाभ उठाउनेगरि कसरी पढ्‌ने भनेर छलफल गरिनेछ।

^ अनु. 2 बाइबल अध्ययन गर्ने थुप्रै तरिका छन्‌। यस लेखमा तीमध्ये एउटा तरिका छलफल गरिएको छ। अन्य तरिका थाह पाउन यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी-को “बाइबल” भन्‍ने शीर्षकअन्तर्गत “बाइबल पढ्‌ने र बुझ्ने” हेर्नुहोस्‌।

^ अनु. 14 मण्डलीको प्रहरीधरहरा अध्ययनमा यी पदहरू नपढ्‌नुहोस्‌।

^ अनु. 22 jw.org/ne मा “तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌—बाइबलका पुरुष र स्त्री” हेर्नुहोस्‌। (बाइबलको शिक्षा > परमेश्‍वरमाथिको विश्‍वास अन्तर्गत हेर्नुहोस्‌।)