सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १२

प्रेमले घृणा सहन मदत गर्छ

प्रेमले घृणा सहन मदत गर्छ

“तिमीहरू आपसमा प्रेम गरिरहो भनेर म तिमीहरूलाई यी कुराहरू आज्ञा गर्छु। यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरूले यो जानिराख, तिमीहरूलाई घृणा गर्नुअघि संसारले मलाई घृणा गरेको छ।”—युह. १५:१७, १८.

गीत १२९ हामी सहिरहन्छौँ!

परिचय *

१. मत्ति २४:९ अनुसार संसारले हामीलाई घृणा गर्दा हामीले किन अचम्म मान्‍नु पर्दैन?

यहोवाले हामीलाई अरूलाई प्रेम गर्न सक्नेगरि अनि अरूबाट प्रेम पाउने चाहनासहित सृष्टि गर्नुभयो। त्यसैले कसैले हामीलाई घृणा गर्दा हाम्रो चित्त दुख्छ र सायद डर पनि लाग्छ। उदाहरणको लागि, युरोपमा बस्ने जर्जिना नाम गरेकी एक बहिनी यसो भन्छिन्‌: “म चौध वर्षको छँदा यहोवाको सेवा गरेकोमा मेरी आमाले मलाई घृणा गर्न थाल्नुभयो। मेरो चित्त साह्रै दुख्यो र म असल छोरी होइनँ कि जस्तो लाग्यो।” * डानेलो नाम गरेका एक भाइ यस्तो लेख्छन्‌: “म एक जना यहोवाको साक्षी भएकोले प्रहरीहरूले मलाई पिटे, गाली गरे र डर-धम्की देखाए। त्यतिबेला म साह्रै डराएँ अनि अपमानित महसुस गरेँ।” यस्तो घृणा सहनुपर्दा हामीलाई पीडा त हुन्छ तर हामी अचम्म मान्दैनौँ। किनभने संसारले हामीलाई घृणा गर्नेछ भनेर येसुले भविष्यवाणी गर्नुभएको थियो।मत्ति २४:९ पढ्‌नुहोस्‌।

२-३. येसुका अनुयायीहरूलाई संसारले किन घृणा गर्छ?

संसारले येसुका अनुयायीहरूलाई घृणा गर्छ। किन? किनकि हामी पनि येसुजस्तै ‘यस संसारका होइनौँ।’ (युह. १५:१७-१९) त्यसैले हामी मानव सरकारहरूको आदर त गर्छौँ तर हामी राजनीतिमा कसैको पक्ष लिँदैनौँ, झन्डा सलामी गर्दैनौँ वा राष्ट्रियगान गाउँदैनौँ। हामी यहोवाको मात्र उपासना गर्छौँ। मानिसजातिमाथि शासन गर्ने परमेश्‍वरको अधिकारको हामी समर्थन गर्छौँ। तर सैतान र त्यसको “सन्तान”-ले परमेश्‍वरको त्यो अधिकारलाई चुनौती दिएका छन्‌। (उत्प. ३:१-५, १५) मानिसजातिको एक मात्र आशा परमेश्‍वरको राज्य हो र त्यस राज्यले अब चाँडै आफ्ना विरोधीहरूलाई निमिट्यान्‍न पार्नेछ भनेर हामी प्रचार गर्छौँ। (दानि. २:४४; प्रका. १९:१९-२१) नम्रहरूको लागि यो सन्देश सुखको समाचार हो भने दुष्टहरूको लागि दुःखको।—भज. ३७:१०, ११.

परमेश्‍वरको धार्मिक स्तरबमोजिम चल्ने भएकोले पनि हामी घृणाको सिकार हुन्छौँ। परमेश्‍वरको स्तर र संसारको पतित स्तरबीच आकाश-जमिनको भिन्‍नता छ। उदाहरणको लागि, आज थुप्रै मानिसहरू घोर अनैतिकतालाई खुल्लमखुल्ला स्विकार्छन्‌। यस्तो अनैतिक चालचलन परमेश्‍वरले नाश गर्नुभएको सदोम र गमोरामा पनि व्याप्त थियो। (यहु. ७) यस्तो चालचलनप्रति बाइबलले राख्ने दृष्टिकोणलाई समर्थन गर्ने भएकोले थुप्रै मानिसहरू हाम्रो गिल्ला गर्छन्‌ र हामीलाई कट्टर भन्छन्‌।—१ पत्रु. ४:३, ४.

४. मानिसहरूको घृणा सहन हामीलाई कस्ता गुणहरूले मदत गर्छ?

मानिसहरूले गर्ने घृणा र अपमान सहन हामीलाई कुन कुराले मदत गर्छ? यहोवाले हामीलाई मदत गर्नुहुन्छ भन्‍ने कुरामा हाम्रो विश्‍वास बलियो हुनुपर्छ। ढालले जस्तै हाम्रो विश्‍वासले “त्यस दुष्टका सबै अग्निबाण निभाउन” सक्छ। (एफि. ६:१६) तर हामीसित विश्‍वासको साथै प्रेम पनि हुनुपर्छ। किन? किनकि प्रेम “आवेशमा आउँदैन।” यसले हामीलाई चोट पुऱ्‍याउने सबै कुरा खप्न र सहन मदत गर्छ। (१ कोरि. १३:४-७, १३) त्यसोभए आउनुहोस्‌, यहोवा, सङ्‌गी उपासकहरू र शत्रुहरूलाई समेत प्रेम गर्दा हामी कसरी घृणा सहन सक्छौँ, विचार गरौँ।

यहोवाप्रतिको प्रेमले हामीलाई घृणा सहन मदत गर्छ

५. बुबाप्रतिको प्रेमले येसुलाई कसरी बल दियो?

येसुलाई शत्रुहरूले मृत्युदण्ड दिएका थिए। आफ्नो मृत्युको अघिल्लो रात येसुले आफ्ना वफादार चेलाहरूलाई यसो भन्‍नुभयो: “बुबाले मलाई दिनुभएको आज्ञा म पालन गर्दै छु [किनकि] म बुबालाई प्रेम गर्छु।” (युह. १४:३१) यहोवाप्रतिको प्रेमले गर्दा येसुले परीक्षाहरू सहन बल पाउनुभयो। यहोवाप्रतिको प्रेमले हामीलाई पनि त्यसरी नै मदत गर्छ।

६. रोमी ५:३-५ अनुसार संसारले घृणा गर्दा यहोवाका सेवकहरू कस्तो महसुस गर्छन्‌?

परमेश्‍वरप्रतिको प्रेमले यहोवाका सेवकहरूलाई खेदो सहन सधैँ मदत गरेको छ। उदाहरणको लागि, प्रेषितहरूलाई यहुदीहरूको सर्वोच्च अदालतले प्रचारको काम बन्द गर्न आदेश दिएको थियो। तर परमेश्‍वरप्रतिको प्रेमले तिनीहरूलाई ‘मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍न’ उत्प्रेरित गऱ्‍यो। (प्रेषि. ५:२९; १ युह. ५:३) यस्तो अटुट प्रेमले आज हाम्रा दाजुभाइ दिदीबहिनीलाई पनि बलियो बनाएको छ। तिनीहरूमध्ये थुप्रैले क्रूर र शक्‍तिशाली सरकारहरूको खेदो वफादार भई सहेका छन्‌। संसारले हामीलाई घृणा गरे तापनि हामी निराश हुँदैनौँ। बरु हामी रमाउँछौँ।—प्रेषि. ५:४१; रोमी ५:३-५ पढ्‌नुहोस्‌।

७. परिवारका सदस्यहरूले विरोध गर्दा हामीले के गर्नु हुँदैन?

हामीले आफ्नै परिवारको सदस्यबाट विश्‍वासको ठूलो परीक्षा सहनुपर्ने हुन सक्छ। बाइबलको कुरा सिक्न सुरु गर्दा हामीलाई कसैले बहकाएको हो कि जस्तो परिवारका सदस्यहरूलाई लाग्न सक्छ। अरूलाई हाम्रो दिमाग खुस्कियो जस्तो लाग्न सक्छ। (मर्कुस ३:२१ तुलना गर्नुहोस्‌।) तिनीहरूले हामीलाई दुर्व्यवहारसमेत गर्न सक्छन्‌। तर तिनीहरूले विरोध गर्दा हामीले अचम्म मान्‍नु पर्दैन। किनकि येसुले यसो भन्‍नुभएको थियो: “मानिसको शत्रु उसको आफ्नै घरभित्रका मानिसहरू हुनेछन्‌।” (मत्ति १०:३६) तिनीहरूले हामीप्रति जस्तोसुकै दृष्टिकोण राखे पनि हामी तिनीहरूलाई आफ्नो शत्रु ठान्दैनौँ। बरु यहोवाप्रतिको प्रेम बढ्‌दै जाँदा मानिसहरूप्रतिको हाम्रो प्रेम पनि बढ्‌दै जानेछ। (मत्ति २२:३७-३९) तर हामी मानिसहरूलाई खुसी बनाउन बाइबलको नियम र सिद्धान्तहरूमा कहिल्यै सम्झौता गर्नेछैनौँ।

हामीले केही समय दुःख भोग्नुपरे तापनि यहोवा हामीलाई सान्त्वना र बल दिन सधैँ हाम्रो साथमा हुनुहुन्छ (अनुच्छेद ८-१० हेर्नुहोस्‌)

८-९. घोर विरोधको बाबजुद वफादार रहन हाम्री एक बहिनीलाई केले मदत गऱ्‍यो?

अगाडि उल्लेख गरिएकी जर्जिना आमाको घोर विरोधको बाबजुद वफादार रहन सकिन्‌। जर्जिना यसो भन्छिन्‌: “म र मेरी आमाले साक्षीहरूसित अध्ययन गर्न थाल्यौँ। तर छ महिनापछि सभामा जान चाहन्छु भन्दा आमाले विरोध गर्न थाल्नुभयो। उहाँ धर्मत्यागीहरूको कुरा सुन्‍नुहुन्थ्यो भनेर मैले पछि थाह पाएँ। उहाँ तिनीहरूकै तर्क चलाएर मसँग विवाद गर्नुहुन्थ्यो। उहाँ मेरो बेइज्जत गर्नुहुन्थ्यो, कपाल भुत्ल्याउनुहुन्थ्यो, गला अठ्याउनुहुन्थ्यो र मेरो किताबहरू फ्याँकिदिनुहुन्थ्यो। तैपनि १५ वर्ष पुगेपछि मैले बप्तिस्मा गरेँ। यहोवाको सेवा गर्नदेखि रोक्न उहाँले मलाई सुधारगृहमा लगेर राखिदिनुभयो। त्यहाँ अरू किशोरीहरू पनि थिए। तिनीहरूमध्ये कोही-कोही लागूपदार्थ सेवन गर्थे र अपराधमा पनि मुछिएका थिए। जसले तपाईँलाई माया र ख्याल गर्नुपर्ने हो, त्यो व्यक्‍तिले नै विरोध गर्दा सहन निकै गाह्रो हुन्छ।”

जर्जिनाले सहने बल कसरी पाइन्‌? तिनी भन्छिन्‌: “जुन दिनदेखि आमाले मलाई विरोध गर्न थाल्नुभयो, त्यही दिन मैले पूरै बाइबल पढेर सिद्ध्याएकी थिएँ। सत्य भेट्टाएको कुरामा म विश्‍वस्त थिएँ र यहोवासित पनि नजिक महसुस गर्थेँ। म उहाँलाई प्रार्थना गरिरहन्थेँ र उहाँले पनि मेरो प्रार्थना सुन्‍नुहुन्थ्यो। एकचोटि म सुधारगृहमा छँदा मण्डलीको एक जना दिदीले मलाई बोलाउनुभयो र हामीले सँगै बाइबल अध्ययन गऱ्‍यौँ। त्यस दौडान मैले सभामा दाजुभाइ दिदीबहिनीबाट धेरै बल पाएँ। उहाँहरूले मलाई आफ्नै परिवारको सदस्य ठान्‍नुभयो। हाम्रा विरोधीहरू जोसुकै भए तापनि यहोवा तिनीहरूभन्दा शक्‍तिशाली हुनुहुन्छ भनेर मैले आफैले अनुभव गर्न सकेँ।”

१०. हाम्रा परमेश्‍वर यहोवाबारे हामी कुन कुरामा विश्‍वस्त हुन सक्छौँ?

१० कुनै पनि कुराले “हाम्रा प्रभु ख्रिष्ट येसुमार्फत व्यक्‍त भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग पार्न” सक्दैन भनेर प्रेषित पावलले लेखे। (रोमी ८:३८, ३९) हामीले केही समय दुःख भोग्नुपरे तापनि यहोवा हामीलाई सान्त्वना र बल दिन सधैँ हाम्रो साथमा हुनुहुन्छ। अनि जर्जिनाको अनुभवले देखाएझैँ यहोवा हामीलाई मायालु आध्यात्मिक परिवार चलाएर मदत दिनुहुन्छ।

सङ्‌गी उपासकहरूप्रतिको प्रेमले हामीलाई घृणा सहन मदत गर्छ

११. युहन्‍ना १५:१२, १३ मा येसुले बताउनुभएको प्रेमले चेलाहरूलाई कसरी मदत गऱ्‍यो? एउटा उदाहरण दिनुहोस्‌।

११ आफ्नो मृत्युको अघिल्लो रात येसुले आफ्ना चेलाहरूलाई एकअर्कालाई प्रेम गर्न सम्झाउनुभयो। (युहन्‍ना १५:१२, १३ पढ्‌नुहोस्‌।) एकतामा रहन र संसारको घृणा सहन आत्मत्यागी प्रेमले तिनीहरूलाई मदत गर्नेछ भनेर उहाँलाई थाह थियो। थिस्सलोनिकाको मण्डलीको उदाहरण विचार गर्नुहोस्‌। त्यो मण्डली स्थापना भएदेखि नै त्यहाँका भाइबहिनीले खेदो सहँदै आएका थिए। तैपनि तिनीहरूले सत्यनिष्ठ रहने र एकअर्कालाई प्रेम गर्ने सन्दर्भमा राम्रो उदाहरण बसालेका थिए। (१ थिस्स. १:३, ६, ७) पावलले तिनीहरूलाई झन्‌ प्रेम देखाइरहन प्रोत्साहन दिए। (१ थिस्स. ४:९, १०) प्रेमले तिनीहरूलाई निराश भएकाहरूसित सान्त्वनादायी कुरा गर्न र कमजोरहरूलाई मदत गर्न उत्प्रेरित गर्ने थियो। (१ थिस्स. ५:१४) तिनीहरूले पावलको निर्देशन पालन गरे। त्यसैले पावलले एक वर्षपछि लेखेको दोस्रो पत्रमा तिनीहरूको विषयमा यसो भन्‍न सके: “एकअर्काप्रति तिमीहरू हरेकको प्रेम बढ्‌दै छ।” (२ थिस्स. १:३-५) एकअर्काप्रतिको प्रेमले तिनीहरूलाई कठिनाइ र खेदो सहन मदत गऱ्‍यो।

ख्रिष्टियन प्रेमले हामीलाई घृणा सहन मदत गर्छ (अनुच्छेद १२ हेर्नुहोस्‌) *

१२. एउटा देशमा युद्ध मच्चिँदा हाम्रा दाजुभाइ दिदीबहिनीले एकअर्कालाई कसरी प्रेम देखाए?

१२ अगाडि उल्लेख गरिएको डानेलो र तिनकी पत्नीको अनुभव विचार गर्नुहोस्‌। तिनीहरू बसेको ठाउँमा युद्ध मच्चिँदा पनि तिनीहरू सभा छुटाउँदैनथे, सक्दो प्रचार गर्थे र आफूसित भएको खानेकुरा दाजुभाइ दिदीबहिनीसित बाँडचुँड गर्थे। एक दिन डानेलोको घरमा हातहतियार भिरेका सैनिकहरू आए। डानेलो भन्छन्‌: “तिनीहरूले मलाई आफ्नो विश्‍वास त्याग्न धम्की दिए। त्यसो गर्न इन्कार गर्दा तिनीहरूले मलाई पिटे अनि मलाई तर्साउन मेरो टाउको माथिबाट गोली चलाए। तिनीहरूले फेरि फर्केर आउने र मेरी श्रीमतीको बलात्कार गर्ने धम्की दिए। तर हाम्रा दाजुभाइहरूले हामीलाई ट्रेन चढाएर तुरुन्तै अर्को सहर पठाइदिनुभयो। ती प्यारा दाजुभाइहरूले देखाएको प्रेम म कहिल्यै बिर्सन सक्दिनँ। नयाँ सहर पुगेपछि त्यहाँका दाजुभाइ दिदीबहिनीले हामीलाई खानेकुरा दिनुभयो र मलाई काम अनि बस्ने ठाउँ खोज्न मदत गर्नुभयो। पछि हामीले युद्ध मच्चिएको ठाउँबाट भागेर आएका दाजुभाइ दिदीबहिनीलाई बास पनि दिन सक्यौँ।” ख्रिष्टियन प्रेमले हामीलाई घृणा सहन मदत गर्छ भनेर यस्ता अनुभवहरूले देखाउँछ।

शत्रुहरूप्रतिको प्रेमले हामीलाई घृणा सहन मदत गर्छ

१३. मानिसहरूले हामीलाई घृणा गरे तापनि यहोवाको सेवामा लागिरहन पवित्र शक्‍तिले हामीलाई कसरी मदत गर्छ?

१३ येसुले आफ्ना चेलाहरूलाई शत्रुहरूलाई समेत प्रेम गर भन्‍नुभयो। (मत्ति ५:४४, ४५) के यसो गर्न सजिलो छ? पक्कै छैन। तर परमेश्‍वरको पवित्र शक्‍तिको मदत पाएर हामी यसो गर्न सक्छौँ। पवित्र शक्‍तिको फलका पक्षहरूमा प्रेमको साथै धीरज, दया, नम्रता र आत्मसंयम पनि पर्छन्‌। (गला. ५:२२, २३) यी गुणहरूले हामीलाई घृणा सहन मदत गर्छ। यहोवाको सेवा गर्ने आफ्नो पति, पत्नी वा छिमेकीले यस्ता असल गुणहरू देखाएकोले थुप्रै विरोधीको मन परिवर्तन भएको छ। तिनीहरूमध्ये धेरै जना अहिले हाम्रा प्यारा दाजुभाइ दिदीबहिनी भइसकेका छन्‌। तपाईँले यहोवाको सेवा गर्ने भएकोले तपाईँलाई घृणा गर्नेहरूप्रति प्रेम देखाइरहन गाह्रो भइरहेको छ भने पवित्र शक्‍तिको लागि प्रार्थना गर्नुहोस्‌। (लुका ११:१३) अनि परमेश्‍वरको आज्ञा पालन गर्दा सधैँ हाम्रो भलाइ हुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।—हितो. ३:५-७.

१४-१५. पतिले विरोध गरे तापनि उनलाई प्रेम गरिरहन रोमी १२:१७-२१ ले यास्मिनलाई कसरी मदत गऱ्‍यो?

१४ मध्य-पूर्वमा बस्ने यास्मिनको उदाहरण विचार गर्नुहोस्‌। तिनी यहोवाको साक्षी बन्दा तिनलाई कसैले बहकाउँदै छ भनेर तिनको पतिले सोचे र तिनलाई यहोवाको सेवा गर्नदेखि रोक्न खोजे। उनले तिनको बेइज्जत गरे अनि आफ्नो आफन्तका साथै पादरी र तान्त्रिक चलाएर तिनलाई धम्क्याए। उनले तिनलाई परिवार टुक्र्‌याएको आरोप पनि लगाए। सभा भइरहेको बेला तिनको पतिले भाइहरूलाई गालीसमेत गरे। यस्तो निर्दयी व्यवहार सहनुपर्दा यास्मिन घरीघरी रुन्थिन्‌।

१५ सभाभवनमा यास्मिनको आध्यात्मिक परिवारले तिनलाई सान्त्वना र बल दियो। एल्डरहरूले तिनलाई रोमी १२:१७-२१ मा पाइने सल्लाह लागू गर्न प्रोत्साहन दिए। (पढ्‌नुहोस्‌।) यास्मिन यसो भन्छिन्‌: “यसो गर्न गाह्रो थियो। तर मैले यहोवासित मदत मागे र बाइबलको सल्लाह लागू गर्न सक्दो प्रयास गरेँ। मेरो पतिले भान्छा कोठामा जानाजानी फोहोर फ्याँक्दा मैले केही नभनी त्यो सफा गरेँ। उहाँले अरूसामु मेरो बेइज्जत गर्दा मैले नम्र भई जवाफ दिएँ। अनि उहाँ बिरामी पर्नुहुँदा मैले उहाँको हेरचाह गरेँ।”

हाम्रो खेदो गर्नेहरूलाई प्रेम गऱ्‍यौँ भने तिनीहरूको मन परिवर्तन हुन सक्छ (अनुच्छेद १६-१७ हेर्नुहोस्‌) *

१६-१७. यास्मिनको उदाहरणबाट तपाईँले के सिक्नुभयो?

१६ पतिले विरोध गरे पनि उनलाई प्रेम देखाएकोमा यास्मिनले इनाम पाइन्‌। तिनी भन्छिन्‌: “मैले सधैँ सत्य बोल्ने भएकोले मेरो पतिले मलाई अझ विश्‍वास गर्न थाल्नुभयो। धर्मको विषयमा कुरा गर्दा उहाँले मेरो कुरा आदरपूर्वक सुन्‍न थाल्नुभयो अनि घरमा शान्ति कायम राख्न राजी पनि हुनुभयो। अहिले त उहाँले नै मलाई सभामा जान प्रोत्साहन दिनुहुन्छ। अहिले हाम्रो पारिवारिक सम्बन्ध धेरै राम्रो भएको छ र घरमा पनि शान्ति छाएको छ। मेरो पतिले कुनै दिन सत्य स्विकार्नुहुनेछ र मसँगै यहोवाको सेवा गर्नुहुनेछ भनेर मैले आशा गरेकी छु।”

१७ यास्मिनको उदाहरणले प्रेमले “सबै कुरा खप्छ, . . . सबै कुराको आशा गर्छ र सबै कुरा सहन्छ” भनेर देखाउँछ। (१ कोरि. १३:४, ७) घृणा शक्‍तिशाली र पीडादायी छ होला तर प्रेम त्योभन्दा अझ शक्‍तिशाली छ। प्रेम देखायौँ भने हामी अरूको मन जित्न सक्छौँ र यहोवाको हृदयलाई खुसी बनाउन सक्छौँ। विरोधीहरूले हामीलाई घृणा गर्न नछोडे पनि हामी आनन्दित हुन सक्छौँ। कसरी?

घृणाको बाबजुद आनन्दित

१८. मानिसहरूले हामीलाई घृणा गर्दा हामी किन आनन्दित हुन सक्छौँ?

१८ येसुले भन्‍नुभयो: “आनन्दित हौ तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई . . . घृणा गर्छन्‌।” (लुका ६:२२) अरूले हामीलाई घृणा गरेको हामी पक्कै पनि चाहँदैनौँ र हामी विश्‍वासको खातिर सहिद हुन खोजिरहेका पनि होइनौँ। त्यसोभए मानिसहरूले घृणा गर्दा हामी किन आनन्दित हुन सक्छौँ? तीन वटा कारण विचार गर्नुहोस्‌। पहिलो, घृणा सहँदा हामीले यहोवाको अनुमोदन पाउँछौँ। (१ पत्रु. ४:१३, १४) दोस्रो, हाम्रो विश्‍वास अझ खारिन्छ र बलियो हुन्छ। (१ पत्रु. १:७) अनि तेस्रो, हामीले इनामस्वरूप अनन्त जीवन पाउनेछौँ।—रोमी २:६, ७.

१९. कोर्रा खानुपरे तापनि प्रेषितहरू किन आनन्दित थिए?

१९ येसु फेरि जीवित हुनुभएको केही समयपछि प्रेषितहरूले उहाँले बताउनुभएको आनन्द अनुभव गर्न सके। विरोधीहरूले तिनीहरूलाई कोर्रा लगाए र प्रचार नगर्नू भनेर आदेश दिए। तैपनि तिनीहरू आनन्दित थिए। किन? किनकि तिनीहरू “[येसुको] नाममा अपमान सहन योग्य” ठहरिएका थिए। (प्रेषि. ५:४०-४२) शत्रुहरूको डरभन्दा आफ्नो गुरुप्रतिको तिनीहरूको प्रेम बलियो थियो। अनि तिनीहरूले सुसमाचार घोषणा गर्न ‘बन्द नगरेर’ त्यो प्रेम आफ्नो व्यवहारमा देखाए। आज पनि हाम्रा थुप्रै दाजुभाइ दिदीबहिनी कठिनाइको बाबजुद वफादार भई सेवा गरिरहेका छन्‌। तिनीहरूले परमेश्‍वरको नामको निम्ति देखाएको प्रेम अनि कामलाई यहोवा बिर्सनुहुन्‍न भनेर तिनीहरूलाई थाह छ।—हिब्रू ६:१०.

२०. अर्को लेखमा हामी के छलफल गर्नेछौँ?

२० सैतानको यो युग रहुञ्जेल संसारले हामीलाई घृणा गरिरहनेछ। (युह. १५:१९) तर हामी डराउनु पर्दैन। यहोवाले आफ्ना सेवकहरूलाई “बलियो बनाउनुहुनेछ र . . . जोगाउनुहुनेछ” भनेर अर्को लेखमा छलफल गर्नेछौँ। (२ थिस्स. ३:३) त्यसैले यहोवालाई, हाम्रा दाजुभाइ दिदीबहिनीलाई र शत्रुहरूलाई समेत प्रेम गरिरहौँ। यो सल्लाह लागू गऱ्‍यौँ भने हामी एकताबद्ध हुनेछौँ र हाम्रो विश्‍वास पनि बलियो हुनेछ। साथै हामीले यहोवाको महिमा गर्नेछौँ र घृणाभन्दा प्रेम कता हो कता शक्‍तिशाली छ भनेर प्रमाणित पनि गर्नेछौँ।

गीत १०६ प्रेम विकास गरौँ!

^ अनु. 5 यहोवा, सङ्‌गी उपासकहरू र शत्रुहरूलाई समेत प्रेम गर्दा हामी कसरी संसारको घृणा सहन सक्छौँ, यस लेखमा छलफल गर्नेछौँ। मानिसहरूको घृणा सहनुपरे तापनि हामी आनन्दित हुन सक्छौँ भनेर येसुले किन भन्‍नुभयो, त्यो पनि विचार गर्नेछौँ।

^ अनु. 1 नामहरू परिवर्तन गरिएका छन्‌।

^ अनु. 58 चित्रको व्याख्या: सैनिकहरूले डानेलोलाई डर-धम्की देखाएपछि दाजुभाइहरूले तिनलाई र तिनकी पत्नीलाई नयाँ ठाउँमा सर्न मदत गरे। त्यहाँका दाजुभाइ दिदीबहिनीले तिनीहरूलाई न्यानो स्वागत गरे।

^ अनु. 60 चित्रको व्याख्या: यास्मिनको पतिले तिनको विरोध गरे तर एल्डरहरूले तिनलाई राम्रो सल्लाह दिए। तिनी असल पत्नी साबित भइन्‌ र पति बिरामी हुँदा उनको हेरचाह गरिन्‌।