सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १०

मण्डलीको रूपमा बाइबल विद्यार्थीहरूलाई बप्तिस्मासम्म प्रगति गर्न मदत गरौँ!

मण्डलीको रूपमा बाइबल विद्यार्थीहरूलाई बप्तिस्मासम्म प्रगति गर्न मदत गरौँ!

“जब शरीरको हरेक अङ्‌गले राम्ररी काम गर्छ, तब सम्पूर्ण शरीर . . . एकसाथ बढ्‌दै जान्छ।”—एफि. ४:१६.

गीत ८५ एकअर्कालाई स्वीकार गर

परिचय *

१-२. बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म प्रगति गर्न कसले मदत गर्न सक्छन्‌?

फिजीमा बस्ने एमी यसो भन्छिन्‌, “बाइबल अध्ययनमा सिकिरहेको कुरा मलाई मन पर्थ्यो। यो नै सत्य हो भनेर मलाई थाह थियो। तर मण्डलीका दाजुभाइ दिदीबहिनीसित सङ्‌गत गर्न थालेपछि मात्र मैले आवश्‍यक छाँटकाँट गर्न सकेँ।” एमीको अनुभवले यो महत्त्वपूर्ण सत्यलाई जोड दिन्छ: मण्डलीका अरू भाइबहिनीबाट मदत पाउँदा बाइबल विद्यार्थीले बप्तिस्मासम्म प्रगति गर्ने सम्भावना धेरै हुन्छ।

प्रत्येक प्रकाशकले नयाँ व्यक्‍तिलाई मण्डलीको भाग बन्‍न मदत गर्न सक्छन्‌। (एफि. ४:१६) भान्वाटुमा बस्ने अग्रगामी बहिनी लेलनी यसो भन्छिन्‌, “भनिन्छ, एउटा बच्चा हुर्काउन पूरै गाउँको साथ चाहिन्छ। मलाई लाग्छ, यो कुरा चेला बनाउने सन्दर्भमा पनि लागू हुन्छ। नयाँ व्यक्‍तिलाई सत्यमा ल्याउन पूरै मण्डलीको साथ चाहिन्छ।” एउटा बच्चालाई वयस्क व्यक्‍ति बनाउन परिवारको सदस्य, साथी र शिक्षक सबैको महत्त्वपूर्ण भूमिका हुन्छ। बच्चालाई हौसला दिएर अनि महत्त्वपूर्ण पाठहरू सिकाएर तिनीहरू यसो गर्छन्‌। त्यसैगरि प्रकाशकहरूले बाइबल विद्यार्थीलाई सल्लाह-सुझाव र प्रोत्साहन दिएर अनि राम्रो उदाहरण बसालेर तिनीहरूलाई बप्तिस्मासम्म प्रगति गर्न मदत दिन सक्छन्‌।—हितो. १५:२२.

३. आना, लेलनी र डोरिनले भनेको कुराबाट तपाईँले के सिक्नुभयो?

मण्डलीका अरू दाजुभाइ दिदीबहिनीले बाइबल विद्यार्थीलाई मदत दिँदा अध्ययन सञ्चालक किन खुसी हुनुपर्छ? मोल्डोभामा बस्ने विशेष अग्रगामी बहिनी आना यसो भन्छिन्‌, “बाइबल विद्यार्थीले प्रगति गर्दै जाँदा अध्ययन सञ्चालक एक्लैले तिनलाई सबै क्षेत्रमा मदत दिन सक्दैनन्‌।” त्यही देशका अग्रगामी भाइ डोरिन यसो भन्छन्‌, “कहिलेकाहीँ अरू प्रकाशकले भनेको कुराले मेरो विद्यार्थीको मन छुन्छ, जुन कुरा मैले पहिला सोचेकै हुँदिनँ।” अर्को कारणबारे लेलनी यसो भन्छिन्‌, “अरू प्रकाशकहरूले विद्यार्थीलाई माया र चासो देखाउँदा तिनले हामी यहोवाका जनहरू हौँ भनेर थाह पाउन सक्नेछन्‌।”—युह. १३:३५.

४. यस लेखमा हामी के छलफल गर्नेछौँ?

तर तपाईँलाई लाग्ला, ‘म अध्ययन सञ्चालक नभएकोले अरूको बाइबल विद्यार्थीलाई प्रगति गर्न कसरी मदत गर्न सक्छु र?’ कसैले हामीलाई आफ्नो बाइबल अध्ययनमा बोलाउँदा र बाइबल विद्यार्थी सभामा उपस्थित हुन थाल्दा हामी कसरी मदत दिन सक्छौँ, अब विचार गरौँ। साथै एल्डरहरूले बाइबल विद्यार्थीहरूलाई बप्तिस्मासम्म प्रगति गर्न कसरी मदत गर्न सक्छन्‌, त्यो पनि विचार गरौँ।

कसैले बाइबल अध्ययनमा बोलाउँदा

कसैको बाइबल अध्ययनमा जाँदै हुनुहुन्छ भने छलफल गरिने विषयवस्तु पहिल्यै तयारी गर्नुहोस्‌ (अनुच्छेद ५-७ हेर्नुहोस्‌)

५. कसैले आफ्नो अध्ययनमा बोलाउँदा तपाईँले कस्तो भूमिका निभाउनुपर्छ?

बाइबल अध्ययन गराउँदा विद्यार्थीलाई परमेश्‍वरको वचनबाट बुझाउने मुख्य जिम्मेवारी अध्ययन सञ्चालकको हो। अध्ययन सञ्चालकले तपाईँलाई आफ्नो अध्ययनमा बोलाउँदा तपाईँले सहयोगीको भूमिका निभाउनुपर्छ। (उप. ४:९, १०) बाइबल अध्ययनमा सहयोगीको भूमिका राम्रोसँग निभाउन तपाईँ के गर्न सक्नुहुन्छ?

६. कसैले आफ्नो अध्ययनमा बोलाउँदा हितोपदेश २०:१८ मा पाइने सिद्धान्त तपाईँ कसरी लागू गर्न सक्नुहुन्छ?

बाइबल अध्ययनको लागि तयारी गर्नुहोस्‌। सुरुमा अध्ययन सञ्चालकसित विद्यार्थीको विषयमा केही जानकारी लिनुहोस्‌। (हितोपदेश २०:१८ पढ्‌नुहोस्‌।) तपाईँ तिनलाई यी कुराहरू सोध्न सक्नुहुन्छ: “बाइबल विद्यार्थीको पृष्ठभूमि कस्तो छ? उनीसित कुन विषयमा छलफल गर्नुहुन्छ? विद्यार्थीले कुन कुरा बुझेको चाहनुहुन्छ? अध्ययनको दौडान बाइबल विद्यार्थीलाई भन्‍न मिल्ने वा नमिल्ने र गर्न हुने वा नहुने केही कुरा छन्‌ कि? विद्यार्थीलाई प्रगति गर्न म कसरी प्रोत्साहन दिन सक्छु?” अध्ययन सञ्चालकले विद्यार्थीको कुनै गोप्य कुरा त बताउनेछैनन्‌ तर तिनले विद्यार्थीबारे जे-जति बताउँछन्‌, त्यो तपाईँको लागि पक्कै मदतकारी हुनेछ। जोए नाम गरेकी मिसनरी बहिनीले अरूलाई आफ्नो अध्ययनमा लैजानुअघि यस्तो विषयमा कुराकानी गर्छिन्‌। तिनी यसो भन्छिन्‌, “अध्ययनमा सँगै जान लागेको साथीलाई यस्ता कुराहरू पहिल्यै बताउँदा तिनले विद्यार्थीलाई चासो दिन सकेको र अध्ययनमा के भन्‍ने भनेर पहिल्यै विचार गर्न सकेको मैले महसुस गरेकी छु।”

७. कसैको अध्ययनमा जाँदै हुनुहुन्छ भने तपाईँले किन तयारी गर्नुपर्छ?

कसैले आफ्नो अध्ययनमा बोलाउँदा छलफल गरिने विषयवस्तु पहिल्यै तयारी गर्नु राम्रो हुन्छ। (एज्रा ७:१०) अगाडि उल्लेख गरिएका भाइ डोरिन यसो भन्छन्‌, “मैले अध्ययनमा बोलाएको साथीले अध्ययनको लागि तयारी गर्दा मलाई खुसी लाग्छ। त्यसो गर्दा तिनले अध्ययनमा अर्थपूर्ण ढङ्‌गमा भाग लिन सक्छन्‌।” त्यसको साथै विद्यार्थीले तपाईँहरू दुवै जनाले राम्ररी तयारी गरेको देख्नेछन्‌ र तिनी आफैले पनि अध्ययनको लागि तयारी गर्न सिक्नेछन्‌। अध्ययनको लागि विस्तृत रूपमा तयारी गर्न नसके पनि मुख्य बुँदाहरू पत्ता लगाउन समय निकाल्नुहोस्‌।

८. बाइबल अध्ययनमा तपाईँले गर्ने प्रार्थनालाई अर्थपूर्ण बनाउन तपाईँ के गर्न सक्नुहुन्छ?

प्रार्थना बाइबल अध्ययनको एउटा महत्त्वपूर्ण भाग हो। अध्ययन सञ्चालकले तपाईँलाई प्रार्थना गर्न आग्रह गर्दा प्रार्थनामा के भन्‍ने भनेर पहिल्यै विचार गर्नुहोस्‌। यसो गर्दा तपाईँको प्रार्थना अर्थपूर्ण हुनेछ। (भज. १४१:२) जापानमा बस्ने बहिनी हानाईले आफ्नो अध्ययन सञ्चालकसित आएकी एक जना बहिनीले गरेको प्रार्थना अझै सम्झन्छिन्‌। तिनी यसो भन्छिन्‌, “यहोवासित उहाँको घनिष्ठ सम्बन्ध रहेछ भनेर मैले महसुस गर्न सकेँ र म पनि उहाँजस्तै हुन चाहन्थेँ। उहाँले मेरो नामै लिएर प्रार्थना गर्नुहुँदा मैले उहाँको माया महसुस गर्न सकेँ।”

९. याकुब १:१९ अनुसार तपाईँ अध्ययन सञ्चालकलाई कसरी साथ दिन सक्नुहुन्छ?

अध्ययनको दौडान सञ्चालकलाई साथ दिनुहोस्‌। नाइजेरियाकी विशेष अग्रगामी बहिनी ओमामुयोबी यसो भन्छिन्‌, “असल साथीले अध्ययनमा ध्यान दिएर सुन्छन्‌। तिनी अर्थपूर्ण तरिकामा अध्ययनमा भाग लिन्छन्‌। तर अध्ययन सञ्चालकले नेतृत्व लिइरहेका छन्‌ भन्‍ने कुरा मनमा राख्दै तिनी धेरै बोल्दैनन्‌।” अध्ययनको दौडान कुन बेला बोल्ने र के भन्‍ने भनेर तपाईँ कसरी थाह पाउन सक्नुहुन्छ? (हितो. २५:११) अध्ययन सञ्चालक र विद्यार्थी कुरा गरिरहेको बेला ध्यान दिएर सुन्‍नुहोस्‌। (याकुब १:१९ पढ्‌नुहोस्‌।) यसो गर्दा तपाईँले ठीक समयमा केही भन्‍न सक्नुहुनेछ। तर तपाईँले सोचविचार गरेर मात्र बोल्नुपर्छ। उदाहरणको लागि, तपाईँ आफै मात्र बोलेको बोल्यै गर्नु हुँदैन। अध्ययन सञ्चालकले बुझाइरहेको बेला बीचमै कुरा काट्‌नु हुँदैन वा विषयसित सम्बन्धित नभएको कुरा गर्नु हुँदैन। बरु छोटकरीमा केही बताएर, उदाहरण चलाएर वा प्रश्‍न सोधेर छलफल भइरहेको बुँदालाई अझ राम्ररी बुझ्न मदत गर्न सक्नुहुन्छ। कहिलेकाहीँ सञ्चालकले सबै कुरा बुझाइसकेको हुनाले तपाईँले थपथाप गरिराख्नु आवश्‍यक नहुन सक्छ तर विद्यार्थीको प्रशंसा गरेर र मायालु चासो देखाएर तपाईँ तिनलाई मदत गर्न सक्नुहुन्छ।

१०. तपाईँको अनुभवले बाइबल विद्यार्थीलाई कसरी मदत गर्न सक्छ?

१० आफ्नो अनुभव सुनाउनुहोस्‌। उपयुक्‍त भएमा तपाईँले सत्य कसरी सिक्नुभयो, कुनै चुनौतीको सामना कसरी गर्नुभयो वा यहोवाले तपाईँलाई मदत गर्नुभएको कुरा कसरी अनुभव गर्नुभएको छ, त्यसबारे विद्यार्थीलाई छोटकरीमा बताउन सक्नुहुन्छ। (भज. ७८:४, ७) तपाईँको अनुभवबाट तिनले चाहिएकै प्रोत्साहन पाउन सक्छन्‌। यसले तिनको विश्‍वासलाई बलियो बनाउन सक्छ वा तिनलाई बप्तिस्मासम्म प्रगति गर्न प्रोत्साहन दिन सक्छ। अनि आफूले भोगिरहेको परीक्षाको सामना कसरी गर्ने भनेर तिनले यसबाट थाह पाउन सक्छन्‌। (१ पत्रु. ५:९) ब्राजिलमा सेवा गरिरहेका अग्रगामी भाइ गब्रिएल आफूलाई पहिला मदत गरेको कुरा यसरी सम्झन्छन्‌, “दाजुभाइहरूको अनुभव सुन्दा हामीले सामना गरिरहेका चुनौतीहरू यहोवाले देख्नुहुन्छ भनेर मैले बुझ्न सकेँ। उहाँहरूले ती चुनौतीहरू सफलतापूर्वक पार गर्नुभएको कुरा विचार गर्दा मैले पनि सक्छु जस्तो लाग्यो।”

बाइबल विद्यार्थी सभामा उपस्थित हुँदा

हामी सबैले बाइबल विद्यार्थीलाई सभामा नियमित रूपमा उपस्थित हुन प्रोत्साहन दिन सक्छौँ (अनुच्छेद ११ हेर्नुहोस्‌)

११-१२. बाइबल विद्यार्थी सभामा उपस्थित हुँदा हामीले किन न्यानो स्वागत गर्नुपर्छ?

११ बप्तिस्मासम्म प्रगति गर्न बाइबल विद्यार्थी मण्डलीका सभाहरूमा नियमित रूपमा उपस्थित हुनुपर्छ र त्यसबाट लाभ उठाउनुपर्छ। (हिब्रू १०:२४, २५) अध्ययन सञ्चालकले तिनलाई सभाको निम्तो दिनेछन्‌। तिनी पहिलो चोटि सभामा उपस्थित हुँदा हामी सबैले तिनलाई नियमित रूपमा सभामा आउन प्रोत्साहन दिन सक्छौँ। हामी कसरी त्यसो गर्न सक्छौँ?

१२ विद्यार्थीलाई न्यानो स्वागत गर्नुहोस्‌। (रोमी १५:७) सभामा सबैले विद्यार्थीलाई न्यानो स्वागत गर्दा तिनी सभामा नियमित रूपमा आउने सम्भावना धेरै हुन्छ। तिनलाई अप्ठ्यारोमा नपारिकन न्यानो स्वागत गर्नुहोस्‌ र अरूसित तिनको चिनापर्ची गराइदिनुहोस्‌। तिनको अध्ययन सञ्चालक छँदै छ नि भनेर नसोच्नुहोस्‌। अध्ययन सञ्चालक सभामा ढिलो आइपुग्न सक्छन्‌ वा मण्डलीमा उनको अरू जिम्मेवारी पनि हुन सक्छ। विद्यार्थीको कुरा ध्यान दिएर सुन्‍नुहोस्‌ र तिनलाई व्यक्‍तिगत चासो देखाउनुहोस्‌। यसरी न्यानो स्वागत गर्दा तिनलाई कस्तो प्रभाव पर्न सक्छ? केही वर्षअघि बप्तिस्मा गरेर हाल सहायक सेवकको रूपमा सेवा गरिरहेका भाइ डिमिट्रीको अनुभव ध्यान दिनुहोस्‌। पहिलो चोटि सभामा गएको क्षण सम्झँदै तिनी यसो भन्छन्‌, “एक जना दाइले म सभाभवनबाहिर अप्ठ्यारो मानेर बसिरहेको देखेर मलाई सँगै भित्र लैजानुभयो। धेरै जना मलाई स्वागत गर्न आउनुभयो। मलाई त अचम्म लाग्यो। मलाई यत्ति रमाइलो महसुस भयो कि यस्तो सभा हरेक दिन भइदिए हुन्थ्यो जस्तो लाग्यो। मैले पहिला यस्तो अनुभव कहिल्यै गरेको थिइनँ।”

१३. तपाईँको राम्रो उदाहरणले बाइबल विद्यार्थीलाई कस्तो प्रभाव पार्न सक्छ?

१३ राम्रो उदाहरण बसाल्नुहोस्‌। तपाईँको राम्रो उदाहरणले गर्दा हामी साँचो ख्रिष्टियन हौँ भन्‍ने कुरामा विद्यार्थी विश्‍वस्त हुन सक्नेछन्‌। (मत्ति ५:१६) मोल्डोभामा सेवा गर्ने अग्रगामी भाइ भिटाली यसो भन्छन्‌, “मण्डलीका भाइबहिनीको जीवनशैली, सोचाइ र व्यवहार मैले नजिकबाट नियालेँ। यसले गर्दा यहोवाका साक्षीहरू साँचो परमेश्‍वरको उपासना गर्छन्‌ भनेर म पक्का भएँ।”

१४. तपाईँको उदाहरणले विद्यार्थीलाई प्रगति गरिरहन कसरी मदत गर्न सक्छ?

१४ बप्तिस्माको लागि योग्य हुन बाइबल विद्यार्थीले आफूले सिकिरहेको कुरा लागू गर्नुपर्छ। तर यसो गर्न सधैँ सजिलो हुँदैन। बाइबल सिद्धान्त लागू गर्दा तपाईँलाई कस्तो फाइदा भयो भनेर विद्यार्थीले देख्दा तिनी पनि तपाईँको अनुकरण गर्न उत्प्रेरित हुन सक्छन्‌। (१ कोरि. ११:१) अगाडि उल्लेख गरिएको बहिनी हानाईको अनुभव विचार गर्नुहोस्‌। तिनी यसो भन्छिन्‌, “म जुन कुराहरू सिक्दै थिएँ, मण्डलीका भाइबहिनीहरू ती कुराहरूअनुसार चलिरहेको मैले देखेँ। अरूलाई कसरी प्रोत्साहन र क्षमा दिन सक्छु र माया देखाउन सक्छु, त्यो पनि मैले देखेँ। उहाँहरू अरूको बारेमा सधैँ सकारात्मक कुरा गर्नुहुन्थ्यो। म पनि उहाँहरूजस्तै हुन चाहन्थेँ।”

१५. हितोपदेश २७:१७ अनुसार बाइबल विद्यार्थी सभामा नियमित उपस्थित हुन थालेपछि हामी किन तिनको साथी बन्‍नुपर्छ?

१५ विद्यार्थीको साथी बन्‍नुहोस्‌। विद्यार्थी सभामा नियमित उपस्थित हुन थालेपछि तिनलाई व्यक्‍तिगत चासो देखाइरहनुहोस्‌। (फिलि. २:४) तिनलाई अझ राम्ररी चिन्‍न प्रयास गर्नुभए कसो होला? तपाईँ तिनले गरेका छाँटकाँटहरूको लागि प्रशंसा गर्न सक्नुहुन्छ। तिनको बाइबल अध्ययन, परिवार र कामको बारेमा सोध्न सक्नुहुन्छ। तर तिनलाई अप्ठ्यारोमा पार्ने प्रश्‍नहरू सोध्नदेखि होसियार हुनुहोस्‌। यस्तो कुराकानीले गर्दा तपाईँहरू एकअर्कासित नजिक हुन सक्नुहुन्छ। विद्यार्थीको साथी बनेर तपाईँ तिनलाई बप्तिस्मासम्म प्रगति गर्न मदत गर्न सक्नुहुन्छ। (हितोपदेश २७:१७ पढ्‌नुहोस्‌।) अहिले बहिनी हानाई नियमित अग्रगामीको रूपमा सेवा गर्दै छिन्‌। भर्खर-भर्खर सभा जान थालेको समय सम्झँदै तिनी यसो भन्छिन्‌, “मण्डलीमा साथीहरू बनाएपछि म सभाको दिन पर्खेर बस्थेँ। अनि थकित हुँदा पनि सभामा जान्थे। मण्डलीका नयाँ साथीहरूसँग सङ्‌गत गर्न मलाई रमाइलो लाग्थ्यो। त्यसले गर्दा यहोवाको उपासना नगर्ने व्यक्‍तिहरूसित मित्रता टुटाउन मलाई सजिलो भयो। म यहोवा अनि मण्डलीका भाइबहिनीसित अझ नजिक हुन चाहन्थेँ। त्यसैले बप्तिस्मा गर्ने निर्णय गरेँ।”

१६. बाइबल विद्यार्थीलाई तिनी पनि मण्डलीको भाग हुन्‌ भनेर महसुस गराउन तपाईँ के गर्न सक्नुहुन्छ?

१६ विद्यार्थीले छाँटकाँट र प्रगति गर्दै जाँदा आफू पनि मण्डलीको भाग हुँ भनेर महसुस गर्न तिनलाई मदत दिनुहोस्‌। तिनलाई अतिथि-सत्कार गरेर तपाईँ यसो गर्न सक्नुहुन्छ। (हिब्रू १३:२) मोल्डोभामा सेवा गर्ने भाइ डेनिस आफूले बाइबल अध्ययन गर्दाखेरिको समय सम्झँदै यसो भन्छन्‌, “भाइबहिनीहरूले म र मेरी पत्नीलाई सङ्‌गतिको लागि थुप्रै पटक निम्तो दिनुभयो। यहोवाले कसरी मदत गर्नुभयो भनेर हामीले उहाँहरूको अनुभव सुन्‍न सक्यौँ। त्यसबाट हामीले प्रोत्साहन पायौँ। त्यस्ता जमघटहरूले हामीमा यहोवाको सेवा गर्ने इच्छा जगायो र हाम्रो अगाडि सुन्दर भविष्य छ भनेर विश्‍वस्त हुन सक्यौँ।” बाइबल विद्यार्थी प्रकाशक भएपछि तपाईँ तिनीसँग प्रचारमा भाग लिन सक्नुहुन्छ। ब्राजिलका एक जना प्रकाशक भाइ डियागो यसो भन्छन्‌, “धेरै दाजुभाइले मलाई प्रचारमा भाग लिन बोलाउनुभयो। उहाँहरूलाई अझ नजिकबाट चिन्‍ने यो सबैभन्दा राम्रो तरिका थियो। यसो गर्दा मैले धेरै कुराहरू सिकेँ अनि यहोवा र येसुसित अझ घनिष्ठ भएको महसुस गर्न सकेँ।”

एल्डरहरूले कसरी मदत गर्न सक्छन्‌?

एल्डरहरू हो, तपाईँको मायालु चासोले बाइबल विद्यार्थीलाई प्रगति गर्न मदत दिन सक्छ (अनुच्छेद १७ हेर्नुहोस्‌)

१७. एल्डरहरूले बाइबल विद्यार्थीहरूलाई कसरी मदत गर्न सक्छन्‌?

१७ बाइबल विद्यार्थीहरूको लागि समय निकाल्नुहोस्‌। एल्डरहरू हो, तपाईँहरूले मायालु चासो देखाउँदा बाइबल विद्यार्थीहरूले बप्तिस्मासम्म प्रगति गर्न मदत पाउँछन्‌। सभामा बाइबल विद्यार्थीहरूसित नियमित रूपमा कुराकानी गर्न सक्नुहुन्छ कि? विद्यार्थीको नाम सम्झनुभएको छ भने तपाईँ तिनको ख्याल गर्नुहुन्छ भनेर तिनले महसुस गर्नेछन्‌, विशेषगरि तिनले सभामा टिप्पणी दिन सुरु गर्दा। कुनै प्रकाशकको बाइबल अध्ययनमा जान के तपाईँ आफ्नो तालिका मिलाउन सक्नुहुन्छ? यसरी अध्ययनमा जाँदा बाइबल विद्यार्थीमा तपाईँले सोचेको भन्दा धेरै प्रभाव पर्न सक्छ। नाइजेरियामा बस्ने अग्रगामी भाइ ज्याकी यसो भन्छन्‌, “मसँगै अध्ययनमा आउनुभएको भाइ एल्डर हुन्‌ भन्‍ने कुरा थाह पाउँदा मेरा थुप्रै विद्यार्थी छक्क पर्छन्‌। मेरो एक जना विद्यार्थीले यसो भने, ‘हाम्रो चर्चको पास्टरले कहिल्यै यस्तो गर्नुहुन्‍न। उहाँ त धनीकहाँ र पैसा दिन सक्नेकहाँ मात्र जानुहुन्छ।’” अहिले ती विद्यार्थी सभामा आउँछन्‌।

१८. प्रेषित २०:२८ अनुसार एल्डरहरूले आफूलाई सुम्पिइएको जिम्मेवारी कसरी पूरा गर्न सक्छन्‌?

१८ अध्ययन सञ्चालकहरूलाई तालिम र प्रोत्साहन दिनुहोस्‌। एल्डरहरू हो, तपाईँहरूले प्रकाशकहरूलाई प्रभावकारी रूपमा प्रचार गर्न र अध्ययन गर्न मदत दिने महत्त्वपूर्ण जिम्मेवारी पाउनुभएको छ। (प्रेषित २०:२८ पढ्‌नुहोस्‌।) यदि कसैलाई तपाईँको अगाडि बाइबल अध्ययन गराउन अप्ठ्यारो लाग्छ भने तपाईँ आफैले अध्ययन सञ्चालन गर्न सक्नुहुन्छ। अगाडि उल्लेख गरिएको भाइ ज्याकी यसो भन्छन्‌, “एल्डरहरू मेरो बाइबल विद्यार्थीहरूको बारेमा सोधिरहनुहुन्छ। बाइबल अध्ययन सञ्चालन गर्दा कहिलेकाहीँ समस्याहरू पनि देखा पर्छन्‌। त्यस्तो बेला उहाँहरू मलाई उपयोगी सल्लाह दिनुहुन्छ।” एल्डरहरूले अध्ययन सञ्चालकहरूलाई धेरै हदसम्म प्रोत्साहन र उत्प्रेरणा दिन सक्छन्‌। (१ थिस्स. ५:११) भाइ ज्याकी अझ यसो भन्छन्‌, “एल्डरहरूले मलाई प्रोत्साहन दिँदा र मैले गरेको कडा मेहनतको सराहना गर्दा मलाई धेरै खुसी लाग्छ। गर्मीको बेला चिसो पानीले स्फूर्ति दिएजस्तै उहाँहरूको प्रशंसाका शब्दहरूले मलाई स्फूर्ति दिन्छ। उहाँहरूको प्रोत्साहन र प्रशंसाले गर्दा मेरो आत्मविश्‍वास र बाइबल अध्ययन गराउँदा पाइने आनन्द बढेको छ।”—हितो. २५:२५.

१९. हामी सबैले कस्तो आनन्द अनुभव गर्न सक्छौँ?

१९ हाम्रो आफ्नै बाइबल अध्ययन छैन भने पनि अरू कसैलाई बप्तिस्मासम्म प्रगति गर्न मदत दिन सक्छौँ। अध्ययनको लागि राम्रोसित तयारी गरेर अनि चाहिएको बेला मात्र बोलेर अध्ययन सञ्चालकलाई साथ दिन सक्छौँ। बाइबल विद्यार्थीहरू सभामा आउँदा हामी तिनीहरूको साथी बन्‍न सक्छौँ अनि तिनीहरूको लागि राम्रो उदाहरण बसाल्न सक्छौँ। एल्डरहरूले विद्यार्थीको लागि समय निकालेर अनि अध्ययन सञ्चालकलाई तालिम दिएर र प्रशंसा गरेर दुवैलाई प्रोत्साहन दिन सक्छन्‌। हाम्रो बुबा यहोवालाई प्रेम गर्न र उहाँको सेवा गर्न कसैलाई मदत दिने काममा आफ्नो तर्फबाट सानो भए पनि योगदान दिन पाउँदा हामी धेरै आनन्दित हुन सक्छौँ।

गीत ७९ दृढ हुन सिकाऔँ!

^ अनु. 5 अहिले हामी सबैले बाइबल अध्ययन सञ्चालन गरिरहेका छैनौँ होला। तर हामी सबैले कसैलाई बप्तिस्मासम्म प्रगति गर्न मदत गर्न सक्छौँ। हामी प्रत्येकले बाइबल विद्यार्थीलाई त्यस लक्ष्यसम्म पुग्न कसरी मदत गर्न सक्छौँ, यस लेखमा छलफल गर्नेछौँ।