सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूको प्रश्‍न

पाठकहरूको प्रश्‍न

दोस्रो समुएल २१:७-९ मा दाउदले ‘मपिबोसेतलाई दया देखाए’ भनेर बताइएको छ तर पछि किन मपिबोसेतलाई मृत्युदण्ड दिइयो?

यो विवरण पढेपछि कोही-कोहीले यही प्रश्‍न गरेका छन्‌। तर यी पदहरूमा मपिबोसेत नाम गरेका दुई फरक-फरक व्यक्‍तिबारे बताइएको छ। वास्तवमा के भएको थियो भनेर केलायौँ भने हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ।

इस्राएलका राजा साउलका सात छोरा र दुई छोरी थिए। साउलको जेठो छोरा जोनाथन थिए। साउलकी उपपत्नी रिज्पाहबाट जन्मेको अर्को छोराको नाम मपिबोसेत थियो। चाखलाग्दो कुरा, जोनाथनको छोराको नाम पनि मपिबोसेत थियो। राजा साउलको छोरा र नाति दुवैको नाम मपिबोसेत थियो।

पछि राजा साउलले इस्राएलीहरूमाझ बसोबास गर्ने गिबोनीहरूलाई घृणा गर्न थाले र तिनीहरूलाई मार्न खोजे। साउलले तिनीहरूमध्ये केहीको हत्या गरे जस्तो देखिन्छ। यसो गर्नु बिलकुलै गलत थियो। किन? किनकि यहोसुको समयमा इस्राएलका कुलनायकहरूले गिबोनीहरूसित शान्ति-सम्झौता गरेका थिए।—यहो. ९:३-२७.

त्यो शान्ति-सम्झौता राजा साउलको समयसम्मै लागू थियो। तर राजाले गिबोनीहरूलाई मार्ने प्रयास गरे। परिणामस्वरूप “साउल र तिनको घराना हत्याको दोषी” ठहरिए। (२ समु. २१:१) पछि दाउद राजा भए। त्यसपछि नरसंहारबाट बचेका गिबोनीहरू राजा साउलले गरेको गम्भीर गल्तीबारे कुरा गर्न दाउदकहाँ आए। यहोवाबाट आशिष्‌ पाउनको लागि यो पापको प्रायश्‍चित कसरी गर्न सकिन्छ भनेर दाउदले गिबोनीहरूलाई सोधे। पैसा माग्नुको सट्टा गिबोनीहरूले दाउदलाई यसो भने: “जसले . . . हाम्रो नामोनिसान मेटाउने षड्यन्त्र रच्यो, त्यस मानिसका सात जना छोरालाई हाम्रो हातमा सुम्पिदिनुहोस्‌। हामी तिनीहरूको लास यहोवा परमेश्‍वरसामु गिबाहमा झुन्ड्‌याइदिनेछौँ।” (गन्ती ३५:३०, ३१) अनि दाउदले तिनीहरूले भनेअनुसारै गरे।—२ समु. २१:२-६.

यतिन्जेल साउल र जोनाथनले युद्धमा ज्यान गुमाइसकेका थिए तर जोनाथनका छोरा मपिबोसेत भने जीवितै थिए। दुर्घटनाले गर्दा तिनी सानैमा लङ्‌गडो भएका थिए। तिनका हजुरबुबाले गिबोनीहरूलाई आक्रमण गरेको बेला तिनी कुनै पनि तरिकामा संलग्न भएका थिएनन्‌। दाउदले जोनाथनसित मित्रताको करार बाँधेका थिए, जसले गर्दा जोनाथनका अरू सन्तानलगायत मपिबोसेतको भलाइ हुने थियो। (१ समु. १८:१; २०:४२) विवरण यसो भन्छ: “[दाउद] राजाले साउलका नाति, जोनाथनका छोरा मपिबोसेतलाई भने दया देखाए किनकि दाउदले यहोवा परमेश्‍वरसामु . . . शपथ खाएका थिए।”—२ समु. २१:७.

तैपनि दाउदले गिबोनीहरूको बिन्तीअनुसारै गरे। तिनले साउलका दुई जना छोरा (जसमध्ये एक जना मपिबोसेत थिए) र पाँच जना नातिलाई गिबोनीहरूको हातमा सुम्पिदिए। (२ समु. २१:८, ९) दाउदले चालेको यस कदमले गर्दा इस्राएलीहरूमाथि लागेको रक्‍तदोष मेटियो।

यो केवल एउटा ऐतिहासिक घटना मात्र थिएन। परमेश्‍वरको व्यवस्थामा स्पष्टसित यसो भनिएको थियो: “बुबाले गरेको पापको कारण छोराछोरीलाई मृत्युदण्ड नदिनू।” (व्यव. २४:१६) यदि साउलका दुई छोरा र पाँच नाति निर्दोष हुँदो हो त यहोवाले तिनीहरूलाई मार्ने अनुमति दिनुहुने थिएन। किनकि व्यवस्था यसो भन्छ: “जुन मानिसले पाप गर्छ, उसैलाई मृत्युदण्ड दिनुपर्छ।” साउलका छोराहरू र नातिहरू गिबोनीहरूको नरसंहारमा कुनै न कुनै तरिकामा संलग्न भएका थिए जस्तो देखिन्छ। त्यसकारण ती सात जनाले आफ्नो ज्यान गुमाउनुपऱ्‍यो।

यस विवरणबाट हामी यो पाठ सिक्न सक्छौँ: कसैले भनेअनुसार गरेकोले आफूले गलत काम गर्न पुगेको हो भनेर बहाना बनाउनु अथवा त्यस्तो सोचाइ राख्नु गलत हो। एउटा हितोपदेश यसो भन्छ: “आफ्नो बाटो सम्म बनाऊ अनि तिम्रो गोडाले ठेस खानेछैन।”—हितो. ४:२४-२७; एफि. ५:१५.