सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १०

‘पुरानो व्यक्‍तित्वलाई फुकालेर मिल्काउनुहोस्‌’

‘पुरानो व्यक्‍तित्वलाई फुकालेर मिल्काउनुहोस्‌’

“पुरानो व्यक्‍तित्वलाई त्यसका कामहरूसहित फुकालेर मिल्काइदेओ।”—कल. ३:९.

गीत २९ हाम्रो नाउँअनुसार जिऔँ

परिचय *

१. बाइबल अध्ययन गर्नुअघि तपाईँको जीवन कस्तो थियो?

 यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्नुअघि तपाईँको जीवन कस्तो थियो? हामीमध्ये धेरैलाई त्यसबारे सोच्न पनि मन छैन होला। हाम्रो दृष्टिकोण र व्यक्‍तित्व यस युगको मूल्यमान्यताअनुसार ढालिएको थियो। त्यसैले सही र गलतबारे हाम्रो सोचाइ यस संसारको जस्तै थियो होला। ‘संसारमा हामीसित कुनै आशा थिएन र हामीले परमेश्‍वरलाई चिनेका पनि थिएनौँ।’ (एफि. २:१२) तर बाइबल अध्ययन गरेपछि हाम्रो जीवनले नयाँ मोड लियो।

२. बाइबल अध्ययन गर्दै जाँदा तपाईँले के थाह पाउनुभयो?

बाइबल अध्ययन गर्दै जाँदा तपाईँलाई धेरै माया गर्ने एक जना बुबा स्वर्गमा हुनुहुन्छ भनेर थाह पाउनुभयो। साथै यहोवालाई खुसी पार्न र उहाँको परिवारको भाग बन्‍न आफ्नो सोचाइ, जीवनशैली र मनोवृत्तिमा आमूल परिवर्तन गर्नुपर्छ भनेर सिक्नुभयो। त्यति मात्र होइन, यहोवाको उच्च नैतिक स्तरअनुसार जीवन बिताउनुपर्छ भनेर पनि बुझ्नुभयो।—एफि. ५:३-५.

३. कलस्सी ३:९, १० अनुसार हामीले के गरेको यहोवा चाहनुहुन्छ र यस लेखमा हामी के छलफल गर्नेछौँ?

हाम्रो सृष्टिकर्ता र बुबा यहोवासित आफ्ना उपासकहरूको लागि स्तर निर्धारण गर्ने अधिकार छ। हामीले बप्तिस्मा गर्नुअघि नै आफ्नो ‘पुरानो व्यक्‍तित्वलाई त्यसका कामहरूसहित फुकालेर मिल्काउन’ प्रयास गरेको उहाँ चाहनुहुन्छ। * (कलस्सी ३:९, १० पढ्‌नुहोस्‌।) यस लेखले बप्तिस्मा गर्न चाहनेहरूलाई यी तीन प्रश्‍नको जवाफ पाउन मदत गर्नेछ: (१) “पुरानो व्यक्‍तित्व” भनेको के हो? (२) यहोवा हामीले पुरानो व्यक्‍तित्व फुकालेर मिल्काएको किन चाहनुहुन्छ? (३) हामी कसरी त्यसो गर्न सक्छौँ? बप्तिस्मा गरिसकेकाहरूले पनि पुरानो व्यक्‍तित्वका दुर्गुणहरू आफूमा फेरि देखा पर्न नदिन के गर्न सक्छन्‌ भनेर बुझ्न यस लेखले मदत गर्नेछ।

“पुरानो व्यक्‍तित्व” भनेको के हो?

४. “पुरानो व्यक्‍तित्व”-को वशमा परेको व्यक्‍ति कस्तो हुन्छ?

“पुरानो व्यक्‍तित्व”-को वशमा परेको व्यक्‍तिको सोचाइ अक्सर शारीरिक हुन्छ र तिनको व्यवहार पनि त्यस्तै हुन्छ। तिनी स्वार्थी, झट्टै रिसाउने, कृतघ्न र घमन्डी हुन सक्छन्‌। तिनलाई अश्‍लील सामग्रीहरू अनि अनैतिक र हिंसात्मक चलचित्रहरू हेर्न रमाइलो लाग्न सक्छ। हुनत तिनीसित राम्रा गुणहरू पनि पक्कै हुन्छन्‌ अनि आफूले नराम्रो कुरा भनेकोमा वा गरेकोमा दोषी महसुस पनि गर्लान्‌ तर तिनीसित आफ्नो सोचाइ र आचरण परिवर्तन गर्ने बलियो उत्प्रेरणा भने हुँदैन।—गला. ५:१९-२१; २ तिमो. ३:२-५.

“पुरानो व्यक्‍तित्वलाई” फुकालेर मिल्कायौँ भने हामी शरीरका कामहरू झल्किने मनोवृत्ति र आनीबानीको वशमा पर्नेछैनौँ (अनुच्छेद ५ हेर्नुहोस्‌) *

५. के हामी पुरानो व्यक्‍तित्वलाई फुकालेर मिल्काउन सक्छौँ? व्याख्या गर्नुहोस्‌। (प्रेषित ३:१९)

हामी त्रुटिपूर्ण छौँ। त्यसैले हामीमध्ये कसैले पनि हाम्रो हृदय र दिमागबाट गलत सोचाइ र कुइच्छाहरू पूरै हटाउन सक्दैनौँ। कहिलेकाहीँ आफूले भनेको वा गरेको कुराले गर्दा हामी पछुताउनुपर्ने हुन सक्छ। (यर्मि. १७:९; याकु. ३:२) तर हामीले पुरानो व्यक्‍तित्वलाई फुकालेर मिल्कायौँ भने शरीरका कामहरू झल्किने मनोवृत्ति र आनीबानीको वशमा पर्नेछैनौँ। अनि हामी त्यस्ता दुर्गुणहरू भएको व्यक्‍ति भनेर चिनिनेछैनौँ।—यसै. ५५:७; प्रेषित ३:१९ पढ्‌नुहोस्‌।

६. यहोवा हामीले गलत सोचाइ र नराम्रो आनीबानी हटाएको किन चाहनुहुन्छ?

यहोवा हामीलाई असाध्यै माया गर्नुहुन्छ र हामीले जीवनको आनन्द उठाएको चाहनुहुन्छ। (यसै. ४८:१७, १८) त्यसैले हामीले गलत सोचाइ र नराम्रो आनीबानी हटाएको उहाँ चाहनुहुन्छ। कुइच्छाहरूको वशमा पर्ने व्यक्‍तिले आफूलाई र अरूलाई पनि हानि पुऱ्‍याउँछ भनेर उहाँलाई थाह छ। यो देख्दा उहाँलाई असाध्यै दुःख लाग्छ।

७. रोमी १२:१, २ अनुसार हामीसामु कस्तो छनौट छ?

हामीले आफ्नो व्यक्‍तित्वमा परिवर्तन गर्न प्रयास गरेको देख्दा हाम्रो परिवार र साथीभाइले सुरु-सुरुमा हामीलाई हाँसोमा उडाउन सक्छन्‌। (१ पत्रु. ४:३, ४) अनि हामीसित आफूलाई जे मन लाग्छ, त्यही गर्ने अधिकार छ, अरूले भनेअनुसार गर्नु पर्दैन भनेर तिनीहरूले बताउन सक्छन्‌। तर यहोवाको स्तरअनुसार नचल्ने मानिसहरू वास्तवमा स्वतन्त्र हुँदैनन्‌। साँच्चै भन्‍नुपर्दा तिनीहरू सैतानको संसारको चालढालअनुसार चलिरहेका हुन्छन्‌। (रोमी १२:१, २ पढ्‌नुहोस्‌।) हामी सबैसामु एउटा छनौट छ: पाप र सैतानको संसारको वशमा परेको पुरानो व्यक्‍तित्व नै धारण गरिरहने कि हामीलाई अझ राम्रो व्यक्‍ति बनाउन यहोवालाई मौका दिने।—यसै. ६४:८.

तपाईँ कसरी पुरानो व्यक्‍तित्वलाई ‘फुकालेर मिल्काउन’ सक्नुहुन्छ?

८. गलत सोचाइ र नराम्रो आनीबानी हटाउन हामीलाई केले मदत गर्न सक्छ?

गलत सोचाइ र नराम्रो आनीबानी हटाउन समय लाग्छ र निकै प्रयास गर्नुपर्ने हुन्छ भनेर यहोवालाई थाह छ। (भज. १०३:१३, १४) तर उहाँले आफ्नो वचन बाइबल, पवित्र शक्‍ति र सङ्‌गठनमार्फत हामीलाई त्यस्तो परिवर्तन गर्न चाहिने बुद्धि, बल र मदत दिनुहुन्छ। तपाईँले पक्कै पनि उहाँको मदत महसुस गरिसक्नुभएको छ। हामीसित अझै बाँकी भएका गलत सोचाइ र नराम्रो आनीबानी हटाउँदै लैजान र बप्तिस्माको लागि योग्य हुन के-कस्ता व्यावहारिक कदम चाल्न सक्छौँ, विचार गरौँ।

९. परमेश्‍वरको वचनले तपाईँलाई के गर्न मदत गर्छ?

आफूलाई जाँच्न बाइबल प्रयोग गर्नुहोस्‌। परमेश्‍वरको वचन ऐनाजस्तै हो; यसले तपाईँको सोचाइ, बोली र व्यवहार केलाउन मदत गर्छ। (याकु. १:२२-२५) तपाईँको अध्ययन सञ्चालक र परिपक्व भाइबहिनीले तपाईँलाई मदत गर्न सक्छन्‌। जस्तै, तिनीहरूले बाइबल प्रयोग गरेर तपाईँका राम्रा गुणहरू र दुर्गुणहरू चिन्‍न मदत गर्न सक्छन्‌। साथै तिनीहरूले दुर्गुणहरू हटाउने सन्दर्भमा व्यावहारिक सुझावहरू दिने बाइबलआधारित स्रोत सामग्री खोज्ने तरिका सिकाउन सक्छन्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवा तपाईँलाई मदत गर्न सधैँ तयार हुनुहुन्छ। तपाईँलाई कसरी मदत गर्नुपर्छ भनेर उहाँलाई थाह छ अनि तपाईँको हृदयमा के छ, त्यो पनि उहाँ जान्‍नुहुन्छ। (हितो. १४:१०; १५:११) त्यसैले हरेक दिन प्रार्थना गर्ने र बाइबल अध्ययन गर्ने बानी बसाल्नुहोस्‌।

१०. एलीको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१० यहोवाको स्तर सर्वोत्कृष्ट छ भनेर विश्‍वस्त हुनुहोस्‌। यहोवाको स्तरअनुसार जीवन बिताउँदा हाम्रै हित हुन्छ। यसो गर्नेहरूले आत्मसम्मान र साँचो आनन्द पाउँछन्‌ अनि तिनीहरूको जीवन अर्थपूर्ण हुन्छ। (भज. १९:७-११) अर्कोतर्फ शरीरका काम गर्नेहरूले दुःखद परिणाम भोग्छन्‌। यो कुरा बुझ्न एलीको अनुभव विचार गरौँ। तिनका आमाबुबाले यहोवालाई प्रेम गर्थे। त्यसैले तिनले सानैदेखि यहोवाको स्तरबारे सिकेका थिए। तर किशोरावस्थामा पुग्दा तिनी खराब सङ्‌गतमा फसे। त्यसपछि तिनले लागूपदार्थ सेवन गर्न, अनैतिक सम्बन्ध राख्न र चोर्न थाले। समय बित्दै जाँदा एली झन्‌झनै रिसाहा र हिंस्रक भए। तिनी भन्छन्‌: “भनौँ भने, यहोवाको साक्षीले जे-जे गर्नु हुँदैन भनेर मैले सानोमा सिकेको थिएँ, ती सबै गर्न थालेँ।” तर एलीले सानोमा सिकेको कुरा भने कहिल्यै बिर्सेनन्‌। तिनले फेरि बाइबल अध्ययन गर्न थाले। तिनले नराम्रो आनीबानी हटाउन निकै सङ्‌घर्ष गरे र २००० मा बप्तिस्मा गरे। यहोवाको स्तरअनुसार जीवन बिताउँदा तिनलाई कस्तो फाइदा भयो? एली भन्छन्‌: “यसले गर्दा मनमा शान्ति छ अनि सफा अन्तस्करण राख्न सकेको छु।” * यो अनुभवले देखाएझैँ यहोवाको स्तरअनुसार जीवन नबिताउँदा आफैले दुःख भोग्नुपर्छ। तैपनि आफ्नो जीवन परिवर्तन गर्न चाहनेहरूलाई मदत दिन यहोवा इच्छुक हुनुहुन्छ।

११. यहोवा कस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ?

११ यहोवाले घृणा गर्नुहुने कुरालाई घृणा गर्न सिक्नुहोस्‌। (भज. ९७:१०) बाइबलमा यहोवा “घमन्डी आँखा, झूट बोल्ने जिब्रो र निर्दोष मानिसको रगत बगाउने हात”-लाई घृणा गर्नुहुन्छ भनेर बताइएको छ। (हितो. ६:१६, १७) उहाँ “हिंस्रक अनि छली मानिसहरूलाई” पनि घृणा गर्नुहुन्छ। (भज. ५:६) यस्तो मनोवृत्ति र व्यवहारलाई असाध्यै घृणा गर्ने भएकोले नै यहोवाले नुहको समयमा दुष्ट मानिसहरूको नामोनिसान मेटाउनुभयो किनकि तिनीहरूको कारण पृथ्वी हिंसाले भरिएको थियो। (उत्प. ६:१३) अर्को उदाहरण विचार गर्नुहोस्‌। यहोवाले भविष्यवक्‍ता मलाकिमार्फत विश्‍वासघात गरेर आफ्नो निर्दोष पति वा पत्नीसित सम्बन्धविच्छेद गर्न षड्यन्त्र रच्नेहरूलाई घृणा गर्छु भनेर बताउनुभयो। उहाँ तिनीहरूको उपासना स्विकार्नुहुन्‍न र तिनीहरूलाई सजाय दिनुहुन्छ।—मला. २:१३-१६; हिब्रू १३:४.

यहोवाले घृणा गर्नुहुने कामहरूलाई हामीले कुहिएको खानेकुरालाई जस्तै घृणा गर्नुपर्छ (अनुच्छेद ११-१२ हेर्नुहोस्‌)

१२. “जे कुरा दुष्ट छ, त्यसलाई घृणा” गर्नु भनेको के हो?

१२ “जे कुरा दुष्ट छ, त्यसलाई घृणा” गरेको यहोवा चाहनुहुन्छ। (रोमी १२:९) “घृणा” शब्दले कुनै कुरालाई मनभित्रदेखि तिरस्कार गर्नु वा त्यसलाई हेर्न समेत नचाहनु भन्‍ने बुझाउँछ। यो कुरा बुझ्न एउटा उदाहरण विचार गर्न सक्छौँ। कसैले कुहिएको खानेकुरा खान दियो भने तपाईँलाई कस्तो लाग्छ? त्यो कुरा सोच्दा मात्र पनि तपाईँलाई बान्ता आउँछ होला। त्यसरी नै यहोवाले जे कुरा दुष्ट छ भन्‍नुभएको छ, त्यस्तो कुरा गर्नु त परै जाओस्‌, त्यस्तो सोचाइलाई समेत हामीले घृणा गर्नुपर्छ।

१३. हामीले किन आफ्नो सोचाइलाई नियन्त्रणमा राख्नुपर्छ?

१३ आफ्नो सोचाइलाई नियन्त्रणमा राख्नुहोस्‌। हामी जे सोच्छौँ, त्यस्तै काम गर्छौँ। येसुले गलत सोचाइलाई हटाइहाल भन्‍नुभयो किनभने त्यस्तो सोचाइले गर्दा हामी गम्भीर पाप गर्ने हदसम्म पुग्न सक्छौँ। (मत्ति ५:२१, २२, २८, २९) हामी सधैँ यहोवालाई खुसी बनाउन चाहन्छौँ। त्यसैले हाम्रो दिमागमा गलत सोचाइ आयो भने त्यसलाई तुरुन्तै हटाइहाल्नुपर्छ।

१४. हाम्रो बोलीले हामीबारे के प्रकट गर्छ? हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

१४ आफ्नो बोलीलाई काबूमा राख्नुहोस्‌। येसुले भन्‍नुभयो: “हृदयमा जे छ, त्यो मुखबाट बाहिर निस्कन्छ।” (मत्ति १५:१८) हाम्रो बोलीले हामी वास्तवमा कस्तो मानिस हौँ भनेर धेरै हदसम्म प्रकट गर्छ। त्यसैले आफैलाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: ‘सत्य बोल्दा हानि बेहोर्नुपर्छ भनेर थाह भए तापनि के म सधैँ सत्य बोल्छु? विवाहित हुँ भने विपरीत लिङ्‌गको व्यक्‍तिसित गलत मनसायले नजिस्किन होसियार हुन्छु? के म कुनै पनि हालतमा फोहोर बोली नबोल्न प्रयास गर्छु? कसैले मेरो चित्त दुखाउँदा पनि के म नरिसाइकन जवाफ दिन्छु?’ यी प्रश्‍नहरूमा मनन गर्नु राम्रो हो। तपाईँको बोली लुगाको टाँकजस्तै हो। टाँक खोल्यो भने लुगा फुकाल्न सजिलो हुन्छ। त्यसरी नै तपाईँले छाडा बोली र झूट बोल्न छोड्‌नुभयो भने पुरानो व्यक्‍तित्वलाई फुकालेर मिल्काउन सजिलो हुन्छ।

१५. पुरानो व्यक्‍तित्वलाई ‘खम्बामा टाँग्नु’ भनेको के हो?

१५ ठोस कदम चाल्न इच्छुक हुनुहोस्‌। प्रेषित पावलले हामीले जीवनमा परिवर्तन गर्नु एकदमै आवश्‍यक छ भनेर बुझाउन एउटा सशक्‍त उदाहरण प्रयोग गरे। तिनले हाम्रो पुरानो व्यक्‍तित्वलाई ‘खम्बामा टाँग्नुपर्छ’ भने। (रोमी ६:६) भन्‍नुको मतलब हामीले येसुको उदाहरण अनुकरण गर्नुपर्छ। यहोवालाई खुसी बनाउन येसु खम्बामा टाँगिन इच्छुक हुनुभयो। त्यसरी नै पुरानो व्यक्‍तित्वलाई खम्बामा टाँग्न अर्थात्‌ यहोवालाई मन नपर्ने मनोवृत्ति र कामहरू त्याग्न हामी इच्छुक हुनुपर्छ। यसो गऱ्‍यौँ भने अन्तस्करण सफा राख्न सक्नेछौँ र अनन्त जीवनको आशा पाउनेछौँ। (युह. १७:३; १ पत्रु. ३:२१) एउटा कुरा कहिल्यै नबिर्सौँ, यहोवाले हाम्रो लागि आफ्नो स्तर परिवर्तन गर्नुहुनेछैन। बरु उहाँको स्तरअनुसार जीवन बिताउन हामी आफैले छाँटकाँट गर्नुपर्छ।—यसै. १:१६-१८; ५५:९.

१६. तपाईँले किन कुइच्छाहरू हटाउन सङ्‌घर्ष गरिरहनुपर्छ?

१६ कुइच्छाहरू हटाउन सङ्‌घर्ष गरिरहनुहोस्‌। बप्तिस्मा गरिसकेपछि पनि तपाईँले यस्तो सङ्‌घर्ष गरिरहनुपर्छ। मरिसियोको अनुभव विचार गरौँ। तिनले जवान छँदादेखि समलिङ्‌गी सम्बन्ध राख्न थाले। पछि तिनले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरे र आफ्नो जीवनशैली परिवर्तन गरेर २००२ मा बप्तिस्मा गरे। मरिसियो यहोवाको साक्षी भएको धेरै वर्ष भइसक्यो तर तिनी भन्छन्‌: “म अझै पनि बेलाबेलामा कुइच्छाहरू हटाउन सङ्‌घर्ष गर्दै छु।” तर तिनले हार मानेका छैनन्‌। तिनी भन्छन्‌: “मैले ती कुइच्छाहरू हटाउन सङ्‌घर्ष गरिरहेँ भने यहोवालाई खुसी बनाउन सक्छु भन्‍ने कुरामा ढुक्क छु।” *

१७. नविहाको अनुभव पढ्‌दा तपाईँलाई कुन कुराले मन छोयो?

१७ मदतको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌ र उहाँको पवित्र शक्‍तिमा भर पर्नुहोस्‌, आफैमा होइन। (गला. ५:२२; फिलि. ४:६) पुरानो व्यक्‍तित्वलाई फुकालेर मिल्काउन धेरै प्रयास गर्नुपर्ने हुन्छ। नविहाको अनुभव विचार गरौँ। तिनी छ वर्षकी हुँदा तिनको बुबा घर छोडेर गए। त्यसले गर्दा तिनले ठूलो भावनात्मक चोट भोगिन्‌। हुर्कँदै जाँदा तिनी एकदमै रिसाहा स्वभावकी भइन्‌। पछि तिनले लागूपदार्थ बेच्न थालिन्‌। त्यसले गर्दा तिनी पक्राउ परिन्‌ र तिनले केही वर्ष जेल सजाय भोग्नुपऱ्‍यो। जेलमै छँदा यहोवाका साक्षीहरूसित तिनको भेट भयो र तिनले बाइबल अध्ययन गर्न थालिन्‌। तिनले जीवनमा आमूल परिवर्तन गरिन्‌ र कतिपय दुर्गुणहरू हटाउन सफल भइन्‌। तर तिनलाई चुरोट छोड्‌न भने असाध्यै गाह्रो भयो। चुरोट छोड्‌न तिनलाई एक वर्षभन्दा बढी समय लाग्यो। तर तिनी कसरी सफल भइन्‌? तिनी भन्छिन्‌: “मलाई सबैभन्दा धेरै मदत गरेको चाहिँ अटुट प्रार्थनाले नै थियो। त्यसैले म ढुक्क भएर भन्‍न सक्छु, यहोवालाई खुसी बनाउन मैले त परिवर्तन गर्न सकेँ भने अरू जो-कोहीले पनि सक्छन्‌।” *

तपाईँ बप्तिस्माको लागि योग्य हुन सक्नुहुन्छ!

१८. पहिलो कोरिन्थी ६:९-११ अनुसार यहोवाका थुप्रै सेवकले के गर्न सकेका छन्‌?

१८ प्रथम शताब्दीमा ख्रिष्टका सह-शासक हुन नियुक्‍त भएका कतिपय पुरुष तथा स्त्री पहिला नराम्रो आनीबानीको वशमा परेका थिए। तिनीहरूमध्ये कोही-कोही व्यभिचारी, समलिङ्‌गी र चोर थिए। यहोवाको पवित्र शक्‍तिको मदत पाएर तिनीहरूले परिवर्तन गर्न सके। (१ कोरिन्थी ६:९-११ पढ्‌नुहोस्‌।) आज पनि थुप्रैले बाइबल अध्ययन गरेपछि आफ्नो जीवनमा परिवर्तन गर्न सकेका छन्‌। * तिनीहरूले गहिरोसित जरा गाडेका नराम्रा आनीबानी हटाएका छन्‌। त्यसैले तपाईँ पनि परिवर्तन गर्न र नराम्रो आनीबानी हटाएर बप्तिस्माको लागि योग्य हुन सक्नुहुन्छ।

१९. हामी अर्को लेखमा के छलफल गर्नेछौँ?

१९ बप्तिस्मा गर्न चाहनेहरूले पुरानो व्यक्‍तित्वलाई फुकालेर मिल्काउन प्रयास गर्नुका साथै नयाँ व्यक्‍तित्व धारण गर्न पनि कोसिस गर्नुपर्छ। हामी कसरी यसो गर्न सक्छौँ र अरूले कसरी मदत गर्न सक्छन्‌ भन्‍नेबारे अर्को लेखमा छलफल गर्नेछौँ।

गीत ४१ मेरो बिन्ती सुनिदिनुहोस्‌

^ बप्तिस्माको लागि योग्य हुन हामी आफ्नो व्यक्‍तित्वमा परिवर्तनहरू गर्न इच्छुक हुनुपर्छ। यस लेखमा पुरानो व्यक्‍तित्वमा कस्ता दुर्गुणहरू पर्छन्‌, हामीले ती दुर्गुणहरू किन फुकालेर मिल्काउनुपर्छ अनि हामी कसरी त्यसो गर्न सक्छौँ भनेर छलफल गर्नेछौँ। अर्को लेखमा बप्तिस्मा गरिसकेपछि पनि कसरी नयाँ व्यक्‍तित्व धारण गरिरहन सक्छौँ भनेर बुझ्नेछौँ।

^ थप व्याख्या: ‘पुरानो व्यक्‍तित्वलाई फुकालेर मिल्काउनु’ भनेको यहोवालाई मन नपर्ने मनोवृत्ति र कुइच्छाहरू हटाउनु हो। यो काम हामीले बप्तिस्मा गर्नुअघि नै थाल्नुपर्छ।—एफि. ४:२२.

^ थप जानकारीको लागि जुलाई १, २०१२ अङ्‌कको प्रहरीधरहरा-मा प्रकाशित “बाइबलले जीवनलाई नयाँ मोड दिन्छ—‘म यहोवाकहाँ फर्कनुपर्थ्यो’” भन्‍ने लेख हेर्नुहोस्‌।

^ थप जानकारीको लागि मे १, २०१२ अङ्‌कको प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) प्रकाशित “बाइबलले जीवनलाई नयाँ मोड दिन्छ—‘उहाँहरूले मसित दयालु व्यवहार गर्नुभयो’” भन्‍ने लेख हेर्नुहोस्‌।

^ थप जानकारीको लागि अक्टोबर १, २०१२ अङ्‌कको प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) प्रकाशित “बाइबलले जीवनलाई नयाँ मोड दिन्छ—‘म रिसाहा र झगडालु भएँ’” भन्‍ने लेख हेर्नुहोस्‌।

^ बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” भन्‍ने पेटी हेर्नुहोस्‌।

^ चित्रको व्याख्या: गलत मनोवृत्ति र कामहरू त्याग्नु भनेको पुरानो लुगा फुकालेर मिल्काउनुजस्तै हो।