सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १०

तपाईँले किन बप्तिस्मा गर्नुपर्छ?

तपाईँले किन बप्तिस्मा गर्नुपर्छ?

“तपाईँहरू हरेकले . . . बप्तिस्मा गर्नुहोस्‌।”—प्रेषि. २:३८.

गीत ३४ निष्ठामा हिँडौँ!

परिचय a

१-२. बप्तिस्माको बेला के-के हुन्छ र यस लेखमा के छलफल गर्नेछौँ?

 तपाईँले सम्मेलन वा अधिवेशनमा बप्तिस्मा गर्न लागेका प्रकाशकहरू देख्नुभएको छ होला। तिनीहरू बप्तिस्मा गर्नुअघि सोधिने दुइटा प्रश्‍नको जवाफ विश्‍वस्त भएर दिन्छन्‌। तिनीहरूको परिवारका सदस्यहरू र साथीहरू एकदमै खुसी देखिन्छन्‌। तिनीहरू बप्तिस्मा गरेर पानीबाट बाहिर निस्कँदा तालीको गडगडाहट सुनिन्छ र तिनीहरूको अनुहारमा छुट्टै चमक देखिन्छ। हरेक हप्ता सालाखाला हजारौँले बप्तिस्मा गर्छन्‌ र यहोवाको समर्पित सेवक बन्छन्‌।

तपाईँ पनि बप्तिस्मा गर्ने विचार गर्दै हुनुहुन्छ भने यहोवा तपाईँलाई विशेष ठान्‍नुहुन्छ किनभने तपाईँ यस दुष्ट संसारमा ‘उहाँलाई खोज्दै’ हुनुहुन्छ। (भज. १४:१, २) यो लेख तपाईँ जवान अनि वृद्ध सबैको लागि तयार पारिएको हो। तर हामी बप्तिस्मा गरिसकेकाहरू पनि सधैँभरि यहोवाको सेवा गर्ने सङ्‌कल्पलाई बलियो बनाउन चाहन्छौँ। त्यसैले आउनुहोस्‌, यहोवाको सेवा गर्न चाहनुका थुप्रै कारणमध्ये तीन वटा सँगै छलफल गरौँ।

तपाईँ सत्य र धार्मिकतालाई प्रेम गर्नुहुन्छ

हजारौँ वर्षदेखि सैतानले यहोवाको असल नामको बदनाम गर्दै आएको छ (अनुच्छेद ३-४ हेर्नुहोस्‌)

३. यहोवाका सेवकहरू किन सत्य र धार्मिकतालाई प्रेम गर्छन्‌? (भजन ११९:१२८, १६३)

यहोवाले आफ्ना मानिसहरूलाई ‘सत्यलाई प्रेम’ गर्न आज्ञा दिनुभयो। (जक. ८:१९) येसुले आफ्ना अनुयायीहरूलाई धार्मिकताको पछि लाग्न आग्रह गर्नुभयो। (मत्ति ५:६) यसको अर्थ हामीसित परमेश्‍वरको नजरमा जे सही, असल र शुद्ध छ, त्यो गर्ने बलियो इच्छा हुनुपर्छ। के तपाईँ सत्य र धार्मिकतालाई प्रेम गर्नुहुन्छ? पक्कै गर्नुहुन्छ। तपाईँ झूट अनि सबै प्रकारको गलत र दुष्ट कुरालाई घृणा गर्नुहुन्छ। (भजन ११९:१२८, १६३ पढ्‌नुहोस्‌।) झूट बोल्ने व्यक्‍तिले यस संसारको शासक सैतानको अनुकरण गरिरहेको हुन्छ। (युह. ८:४४; १२:३१) त्यसको एउटा लक्ष्य यहोवाको पवित्र नामलाई बदनाम गर्नु हो। अदनको बगैँचामा विद्रोह भएदेखि त्यसले हाम्रो परमेश्‍वरबारे झूटो कुरा फैलाउँदै आएको छ। त्यसले यहोवालाई स्वार्थी र मानिसहरूलाई असल कुराहरूदेखि वञ्चित गर्ने शासकको रूपमा चित्रण गरेको छ। (उत्प. ३:१, ४, ५) सैतानले यहोवाबारे फैलाएको झूटले मानिसहरूको मनमस्तिष्कलाई विषाक्‍त बनाउँदै आएको छ। मानिसहरूले ‘सत्यलाई प्रेम’ नगर्ने छनौट गर्दा सैतानले तिनीहरूलाई सबै प्रकारको कुकर्म र दुष्ट काम गर्न उक्साउन सक्छ।—रोमी १:२५-३१.

४. यहोवाले आफूलाई कसरी “सत्यका परमेश्‍वर” साबित गर्नुभएको छ? (चित्र पनि हेर्नुहोस्‌।)

यहोवा “सत्यका परमेश्‍वर” हुनुहुन्छ र उहाँ आफूलाई प्रेम गर्नेहरूलाई उदार भई सत्य सिकाउनुहुन्छ। (भज. ३१:५) यसरी उहाँ तिनीहरूलाई सैतानको झूटको बहकाउमा नपर्न मदत गर्नुहुन्छ। यहोवा आफ्ना सेवकहरूलाई इमानदार र धर्मी हुन पनि सिकाउनुहुन्छ। उहाँको स्तरअनुसार चल्दा तिनीहरूको आत्मसम्मान बढ्‌छ र तिनीहरूले मनोशान्ति पाउँछन्‌। (हितो. १३:५, ६) यहोवाले तपाईँको लागि गरिदिनुभएका यस्ता कुराहरू के तपाईँले बाइबल अध्ययन गर्दै गर्दा अनुभव गर्नुभएको छ? यहोवाको मार्गमा हिँड्‌नु नै तपाईँलगायत सबै मानिसको लागि सबैभन्दा उत्तम हो भनेर तपाईँले सिक्नुभयो। (भज. ७७:१३) त्यसैले तपाईँ परमेश्‍वरको धार्मिक स्तरअनुसार चल्न चाहनुहुन्छ। (मत्ति ६:३३) तपाईँ मानिसहरूलाई सत्य सुनाउन र हाम्रो परमेश्‍वर यहोवाबारे सैतानले भनेको कुरा झूटो हो भनेर प्रमाणित गर्न चाहनुहुन्छ। तपाईँ कसरी यसो गर्न सक्नुहुन्छ?

५. तपाईँ सत्य र धार्मिकतालाई प्रेम गरेको कसरी देखाउन सक्नुहुन्छ?

तपाईँले यहोवाको सेवा गर्ने छनौट गर्दा यसो भनिरहनुभएको हुनेछ: “म सैतानका झूटहरूलाई तिरस्कार गर्छु र सत्यअनुसार जिउँछु। म यहोवालाई आफ्नो सार्वभौम शासकको रूपमा स्विकार्छु र उहाँको धार्मिक स्तरअनुसार जीवन बिताउँछु।” तपाईँ कसरी यस्तो छनौट गर्न सक्नुहुन्छ? प्रार्थनामार्फत यहोवामा आफ्नो जीवन समर्पण गरेर अनि बप्तिस्माद्वारा त्यो समर्पण जनसमक्ष प्रकट गरेर। तपाईँ सत्य र धार्मिकतालाई प्रेम गर्नुहुन्छ भने त्यसले तपाईँलाई बप्तिस्मा गर्न ठूलो प्रेरणा दिनेछ।

तपाईँ येसुलाई प्रेम गर्नुहुन्छ

६. भजन ४५:४ मा येसुलाई प्रेम गर्नुका कस्ता सशक्‍त कारणहरू पाउँछौँ?

तपाईँ किन येसुलाई प्रेम गर्नुहुन्छ? भजन ४५:४ मा पाइने केही सशक्‍त कारण याद गर्नुहोस्‌। (पढ्‌नुहोस्‌।) येसु धार्मिकता, नम्रता र न्याय अर्थात्‌ सत्यलाई प्रेम गर्नुहुन्छ। तपाईँ सत्य र धार्मिकतालाई प्रेम गर्नुहुन्छ भने उहाँलाई पनि पक्कै प्रेम गर्नुहुन्छ। उहाँ कसरी साहसी भई सत्य र धार्मिकताको पक्षमा खडा हुनुभयो, सोच्नुहोस्‌ त। (युह. १८:३७) तर येसु हामीलाई कसरी नम्र हुन पनि सिकाउनुहुन्छ?

७. येसुले कुन तरिकामा नम्रता देखाउनुभएको तपाईँलाई मन पऱ्‍यो?

येसुले आफ्नो उदाहरणद्वारा नम्रताबारे सिकाउनुभयो। जस्तै, उहाँले सबै कुराको श्रेय आफ्नो बुबालाई दिनुभयो, कहिल्यै आफूले लिनुभएन। (मर्कु. १०:१७, १८; युह. ५:१९) उहाँको यस्तो नम्रता देख्दा तपाईँ कस्तो महसुस गर्नुहुन्छ? यसले तपाईँलाई परमेश्‍वरको छोरालाई प्रेम गर्न र उहाँको अनुकरण गर्न उत्प्रेरित गर्दैन र? पक्कै गर्छ। येसु किन नम्र हुनुहुन्छ? किनभने उहाँ बुबालाई माया गर्नुहुन्छ र बुबाको अनुकरण गर्नुहुन्छ, जो नम्र हुनुहुन्छ। (भज. १८:३५; हिब्रू १:३) के तपाईँ यहोवाका गुणहरू हुबहु अनुकरण गर्नुहुने येसुको नजिक हुन चाहनुहुन्‍न र?

८. हामी राजा येसुलाई किन प्रेम गर्छौँ?

हामी राजा येसुलाई प्रेम गर्छौँ किनभने उहाँ सर्वोत्कृष्ट शासक हुनुहुन्छ। यहोवा स्वयम्‌ले आफ्नो छोरालाई प्रशिक्षण दिनुभयो र राजा नियुक्‍त गर्नुभयो। (यसै. ५०:४, ५) येसुले देखाउनुभएको आत्मत्यागी प्रेमबारे पनि विचार गर्नुहोस्‌। (युह. १३:१) येसु हाम्रो राजा हुनुभएकोले उहाँ हाम्रो प्रेम पाउन लायक हुनुहुन्छ। उहाँलाई साँच्चै प्रेम गर्नेहरू उहाँका मित्रहरू हुन्‌ र तिनीहरू उहाँका आज्ञाहरू पालन गरेर आफ्नो प्रेम व्यक्‍त गर्छन्‌ भनेर उहाँले बताउनुभयो। (युह. १४:१५; १५:१४, १५) यहोवाको छोराको साथी बन्‍न पाउनु हाम्रो लागि ठूलो सम्मानको कुरा हो!

९. येसु र उहाँका अनुयायीहरूको बप्तिस्माबीच कस्तो समानता छ?

येसुले आफ्ना अनुयायीहरूलाई बप्तिस्मा गर्ने आज्ञा पनि दिनुभएको थियो। (मत्ति २८:१९, २०) यस सन्दर्भमा उहाँ आफैले उदाहरण बसाल्नुभयो। केही तरिकामा येसुको बप्तिस्मा उहाँका अनुयायीहरूको भन्दा फरक छ। (“ येसु र उहाँका अनुयायीहरूको बप्तिस्माबीच कस्ता भिन्‍नताहरू छन्‌?” भन्‍ने पेटी हेर्नुहोस्‌।) तर केही समानता पनि छन्‌। बप्तिस्मा गरेर येसुले आफू बुबाको इच्छाअनुसार गर्न तयार भएको देखाउनुभयो। (हिब्रू १०:७) त्यसैगरि येसुका अनुयायीहरूले बप्तिस्मा गरेर यहोवालाई आफ्नो जीवन समर्पण गरेको कुरा जनसमक्ष देखाउँछन्‌। त्यसपछि तिनीहरू आफ्नो होइन, यहोवाको इच्छाअनुसार जीवन बिताउनुलाई सबैभन्दा महत्त्वपूर्ण ठान्छन्‌। यसरी तिनीहरू आफ्नो मालिकको उदाहरण पछ्याउँछन्‌।

१०. येसुप्रतिको प्रेमले हामी किन बप्तिस्मा गर्न उत्प्रेरित हुन्छौँ?

१० तपाईँले येसुलाई यहोवाको एक मात्र छोरा र हाम्रो राजाको रूपमा स्विकार्नुभयो। येसु नम्र हुनुहुन्छ र आफ्नो बुबाको दुरुस्त नक्कल गर्नुहुन्छ भनेर तपाईँले बुझ्नुभयो। उहाँले भोकाहरूलाई खुवाउनुभयो, निराश भएकाहरूलाई सान्त्वना दिनुभयो र बिरामीहरूलाई निको पार्नुभयो भनेर पनि सिक्नुभयो। (मत्ति १४:१४-२१) साथै उहाँले आज मण्डलीहरूलाई कसरी डोऱ्‍याउँदै हुनुहुन्छ भनेर पनि याद गर्नुभयो। (मत्ति २३:१०) उहाँले भविष्यमा परमेश्‍वरको राज्यको राजाको रूपमा अझ ठूलो काम गर्नुहुनेछ भनेर तपाईँले सिक्नुभयो। तपाईँ येसुलाई प्रेम गर्नुहुन्छ भनेर कसरी देखाउन सक्नुहुन्छ? (युह. १४:२१) उहाँको उदाहरण अनुकरण गरेर। यसको लागि तपाईँले सबैभन्दा पहिला यहोवालाई आफ्नो जीवन समर्पण गर्नुपर्छ र बप्तिस्मा गर्नुपर्छ।

तपाईँ यहोवा परमेश्‍वरलाई प्रेम गर्नुहुन्छ

११. हामीले बप्तिस्मा गर्नुको सबैभन्दा मुख्य कारण के हो?

११ हामीले बप्तिस्मा गर्नुको सबैभन्दा मुख्य कारण के हो? परमेश्‍वरले दिनुभएको सबैभन्दा ठूलो आज्ञाबारे येसुले यसो भन्‍नुभयो: “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले, आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम गर्नू।” (मर्कु. १२:३०) के तपाईँको प्रेम पनि यस्तै छ?

तपाईँले लाभ उठाइरहनुभएको र पछि लाभ उठाउनुहुने हरेक असल कुराको स्रोत यहोवा नै हुनुहुन्छ (अनुच्छेद १२-१३ हेर्नुहोस्‌)

१२. तपाईँ किन परमेश्‍वरलाई प्रेम गर्नुहुन्छ? (चित्र पनि हेर्नुहोस्‌।)

१२ हामीले यहोवालाई प्रेम गर्नुका थुप्रै कारण छन्‌। जस्तै: तपाईँले यहोवा “जीवनको मूल” हुनुहुन्छ र “हरेक असल वरदान र हरेक उत्तम उपहार”-का दाता हुनुहुन्छ भनेर बुझ्नुभयो। (भज. ३६:९; याकु. १:१७) तपाईँले लाभ उठाइरहनुभएको हरेक असल कुराको स्रोत हाम्रा उदार र मायालु परमेश्‍वर नै हुनुहुन्छ।

१३. फिरौतीको बलिदान किन अनमोल उपहार हो?

१३ फिरौतीको बलिदान यहोवाले हामीलाई दिनुभएको अनमोल उपहार हो। किन? यहोवा र उहाँको छोराबीचको सम्बन्ध कत्तिको घनिष्ठ छ, विचार गरौँ। येसुले यसो भन्‍नुभयो: ‘बुबा मलाई प्रेम गर्नुहुन्छ’ र “म बुबालाई प्रेम गर्छु।” (युह. १०:१७; १४:३१) अरबौँ वर्षको दौडान उहाँहरूबीचको सम्बन्ध झनै बलियो हुँदै गयो। (हितो. ८:२२, २३, ३०) त्यसैले आफ्नो छोराले सास्ती भोग्नुपरेको अनि मृत्यु भएको देख्नुपर्दा परमेश्‍वरलाई कत्ति पीडा भयो होला, सोच्नुहोस्‌ त। यहोवा तपाईँ अनि सम्पूर्ण मानिसजातिलाई धेरै प्रेम गर्नुहुन्छ। त्यसैले तपाईँ र अरू मानिसले अनन्त जीवन पाऊन्‌ भनेर उहाँ आफ्नो प्यारो छोरालाई बलिदान दिन तयार हुनुभयो। (युह. ३:१६; गला. २:२०) हामीले परमेश्‍वरलाई प्रेम गर्नुको योभन्दा ठूलो कारण अरू के होला र!

१४. तपाईँले राख्न सक्ने सबैभन्दा उत्तम लक्ष्य कुन हो?

१४ तपाईँ यहोवाबारे जत्ति धेरै सिक्नुहुन्छ, उहाँप्रतिको तपाईँको प्रेम पनि बढ्‌दै जान्छ। तपाईँ अहिले अनि सधैँभरि उहाँसित नजिक हुन चाहनुहुन्छ। अनि यो सम्भव पनि छ। यहोवा तपाईँलाई उहाँको हृदय खुसी बनाउन प्रोत्साहन दिनुहुन्छ। (हितो. २३:१५, १६) तपाईँले आफ्नो बोलीबाट मात्र होइन, जीवनशैलीबाट पनि यहोवालाई साँच्चै प्रेम गरेको देखाउन सक्नुहुन्छ। (१ युह. ५:३) तपाईँले जीवनमा राख्न सक्ने सबैभन्दा उत्तम लक्ष्य यही हो।

१५. तपाईँ यहोवालाई प्रेम गरेको कसरी देखाउन सक्नुहुन्छ?

१५ तपाईँ यहोवालाई प्रेम गरेको कसरी देखाउन सक्नुहुन्छ? सबैभन्दा पहिला, तपाईँ यहोवालाई प्रार्थना गरेर उहाँलाई आफ्नो जीवन समर्पण गर्नुहुन्छ। (भज. ४०:८) त्यसपछि समर्पण गरेको कुरा बप्तिस्मा गरेर जनसमक्ष प्रकट गर्नुहुन्छ। यस लेखको सुरुमा छलफल गरेझैँ यो तपाईँको लागि निकै खुसी अनि महत्त्वपूर्ण क्षण हो। अब तपाईँ आफ्नो लागि होइन, यहोवाको लागि जिउनुहुन्छ। (रोमी १४:८; १ पत्रु. ४:१, २) तपाईँलाई यो जीवनको एकदमै ठूलो निर्णयजस्तो लाग्न सक्छ र वास्तवमा हो पनि। तर यस निर्णयले तपाईँको लागि सबैभन्दा उत्तम जीवनको बाटो खोलिदिन्छ। कसरी?

१६. भजन ४१:१२ अनुसार आफ्नो जीवन यहोवाको सेवामा समर्पण गर्नेहरूलाई उहाँ कस्तो इनाम दिनुहुन्छ?

१६ यहोवा सबैभन्दा उदार परमेश्‍वर हुनुहुन्छ। तपाईँले उहाँलाई जे दिए पनि उहाँले सधैँ तपाईँलाई १०० गुणा धेरै दिनुहुन्छ। (मर्कु. १०:२९, ३०) उहाँले तपाईँलाई यस दुष्ट संसारमा समेत सुखी, इनामदायी र सन्तोषजनक जीवन बिताउने मौका दिनुहुन्छ। यो त सुरुवात मात्र हो; तपाईँले बप्तिस्मा गरेसँगै सुरु गर्नुभएको यात्रा यत्तिकैमा टुङ्‌गिँदैन। तपाईँले आफ्नो मायालु बुबाको सधैँभरि सेवा गर्न सक्नुहुनेछ। तपाईँ र तपाईँको बुबाबीचको प्रेम बढ्‌दै जानेछ। वास्तवमा तपाईँ उहाँजत्तिकै लामो समयसम्म अर्थात्‌ सदाको लागि बाँच्न सक्नुहुनेछ।—भजन ४१:१२ पढ्‌नुहोस्‌।

१७. तपाईँ यहोवालाई उहाँसित नभएको कुन कुरा दिन सक्नुहुन्छ?

१७ समर्पण गरेर बप्तिस्मा गरेपछि तपाईँले यहोवा बुबालाई अमूल्य कुरा दिने सुअवसर पाउनुहुन्छ। तपाईँले अहिलेसम्म आनन्द उठाइरहनुभएको हरेक असल कुरा र हरेक खुसीका क्षणहरू उहाँले नै दिनुभएको हो। यसको बदलामा तपाईँले स्वर्ग र पृथ्वीका मालिकलाई उहाँसित नभएको एउटा कुरा दिन सक्नुहुन्छ। त्यो हो, राजीखुसीले चढाइने सेवा। (अय्यु. १:८; ४१:११; हितो. २७:११) यो नै तपाईँले बिताउन सक्ने सबैभन्दा उत्तम जीवन हो। तपाईँले बप्तिस्मा गर्नुपर्ने सबैभन्दा ठूलो कारण यहोवाप्रतिको प्रेम नै हो।

के तपाईँ बप्तिस्मा गर्न तयार हुनुहुन्छ?

१८. तपाईँ आफैलाई कस्ता प्रश्‍नहरू सोध्न सक्नुहुन्छ?

१८ त्यसोभए तपाईँ यस प्रश्‍नको जवाफ कसरी दिनुहुन्छ: के तपाईँ बप्तिस्मा गर्नुहुन्छ? यसको जवाफ तपाईँले मात्र दिन सक्नुहुन्छ। तपाईँले आफैलाई यो प्रश्‍न सोध्दा मदतकारी हुन सक्छ: ‘मलाई बप्तिस्मा गर्नदेखि कुन कुराले रोकिरहेको छ?’ (प्रेषि. ८:३६) हामीले छलफल गरेको तीन वटा कारण सम्झनुहोस्‌। पहिलो, सत्य र धार्मिकताप्रतिको प्रेम। आफैलाई सोध्नुहोस्‌: ‘के म सबै जना सत्य बोल्ने र परमेश्‍वरको धार्मिक स्तरअनुसार चल्ने दिनको प्रतीक्षामा छु?’ दोस्रो, येसुप्रतिको प्रेम। आफैलाई सोध्नुहोस्‌: ‘के म येसुलाई आफ्नो राजाको रूपमा स्विकार्न र उहाँको उदाहरण अनुकरण गर्न चाहन्छु?’ तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, यहोवाप्रतिको प्रेम। आफैलाई सोध्नुहोस्‌: ‘के म यहोवाको सेवा गरेर उहाँको हृदयलाई खुसी बनाउन चाहन्छु?’ तपाईँ यी प्रश्‍नहरूको सकारात्मक जवाफ दिनुहुन्छ भने बप्तिस्मा गर्न तुरुन्तै कदम चाल्नुभए कसो होला?—प्रेषि. १६:३३.

१९. तपाईँ बप्तिस्मा गर्न किन हिचकिचाउनुपर्दैन? उदाहरण दिनुहोस्‌। (युहन्‍ना ४:३४)

१९ तपाईँ बप्तिस्मा गर्न हिचकिचाउँदै हुनुहुन्छ भने येसुले बताउनुभएको एउटा उदाहरण विचार गरौँ। (युहन्‍ना ४:३४ पढ्‌नुहोस्‌।) उहाँले आफ्नो बुबाको इच्छाअनुसार गर्नुलाई भोजनसित तुलना गर्नुभयो। किन? भोजन स्वास्थ्यको लागि अत्यावश्‍यक छ। यहोवाले हामीबाट चाहनुभएको कुरा हाम्रै भलाइको लागि हो भनेर येसुलाई थाह थियो। हामीले आफ्नै हानि हुने कुनै पनि काम गरेको यहोवा चाहनुहुन्‍न। के यहोवा तपाईँले बप्तिस्मा गरेको चाहनुहुन्छ? पक्कै चाहनुहुन्छ। (प्रेषि. २:३८) त्यसैले बप्तिस्मा गर्ने यहोवाको आज्ञा पालन गर्दा तपाईँकै भलाइ हुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुनुहोस्‌। यदि तपाईँ स्वादिष्ठ खानेकुरा खान हिचकिचाउनुहुन्‍न भने बप्तिस्मा गर्न किन हिचकिचाउनुहुन्छ?

२०. हामी अर्को लेखमा के छलफल गर्नेछौँ?

२० बप्तिस्मा गर्न केले रोकिरहेको छ भनेर सोधिँदा धेरैजसोले “म तयार भइसकेको छैनँ” भन्‍ने जवाफ दिन सक्छन्‌। यहोवालाई आफ्नो जीवन समर्पण गर्ने र बप्तिस्मा गर्ने निर्णय सबैभन्दा महत्त्वपूर्ण निर्णय हो। त्यसैले यो निर्णय गर्नुअघि तपाईँले राम्ररी सोचविचार गर्नुपर्छ अनि त्यसको लागि योग्य हुन समय र अथक प्रयास चाहिन्छ। त्यो कदम चाल्न साँच्चै इच्छुक हुनुहुन्छ भने तपाईँ अहिल्यै के गर्न सक्नुहुन्छ? यस प्रश्‍नको जवाफ हामी अर्को लेखमा छलफल गर्नेछौँ।

गीत २८ यहोवाको मित्र बनौँ

a हरेक बाइबल विद्यार्थीको लागि बप्तिस्मा एउटा महत्त्वपूर्ण कदम हो। तिनलाई बप्तिस्मा गर्न केले उत्प्रेरित गर्न सक्छ? एक शब्दमा भन्‍नुपर्दा, प्रेमले। तर केप्रतिको वा कोप्रतिको प्रेमले? यस लेखमा हामी ती प्रश्‍नहरूको जवाफ पाउनेछौँ र बप्तिस्मा गरेपछि हाम्रो जीवन कस्तो हुन्छ भनेर छलफल गर्नेछौँ।