सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १४

“तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌”

“तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌”

“तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।”—युह. १३:३५.

गीत १०६ प्रेम विकास गरौँ!

परिचय a

यहोवाका साक्षीहरूमाझ भएको प्रेम देख्दा गैर-साक्षीहरूमा कस्तो प्रभाव परेको छ? (अनुच्छेद १ हेर्नुहोस्‌)

१. सभामा पहिलो चोटि आउनेहरूले कुन कुरा याद गर्छन्‌? (तस्बिर पनि हेर्नुहोस्‌।)

 कल्पना गर्नुहोस्‌, एउटा दम्पती यहोवाका साक्षीहरूको सभाभवनमा पहिलो चोटि आउँछ। मण्डलीका भाइबहिनीले न्यानो स्वागत गरेको र उनीहरूमाझ छाएको प्रेम देख्दा तिनीहरूको मनै छुन्छ। घर फर्कँदै गर्दा श्रीमतीले श्रीमान्‌लाई यसो भन्छिन्‌: ‘यहोवाका साक्षीहरू अरू मान्छेभन्दा कत्ति फरक छन्‌ है। उनीहरूलाई भेट्‌दा कस्तो आनन्द लाग्यो!’

२. कसै-कसैले किन ठेस खाएका छन्‌?

यहोवाका साक्षीहरूमाझ भएको प्रेम साँच्चै उल्लेखनीय छ! तर तिनीहरू गल्ती नै नगर्ने मानिसहरू होइनन्‌। (१ युह. १:८) त्यसैले हामी तिनीहरूलाई जत्ति चिन्दै जान्छौँ, तिनीहरूको कमीकमजोरी पनि त्यत्ति नै याद हुँदै जान्छ। (रोमी ३:२३) दुःखको कुरा, कसै-कसैले अरूको कमीकमजोरीले गर्दा ठेस खाएर यहोवाको सेवा गर्न छोडेका छन्‌।

३. ख्रिष्टका साँचो अनुयायीहरूको प्रमुख चिनारी के हो? (युहन्‍ना १३:३४, ३५)

यस लेखको मुख्य शास्त्रपद फेरि हेर्नुहोस्‌। (युहन्‍ना १३:३४, ३५ पढ्‌नुहोस्‌।) ख्रिष्टका साँचो अनुयायीहरूको प्रमुख चिनारी के हो? बाइबलमा तिनीहरू गल्ती नै नगर्ने मानिसहरू हुन्‌ भनेर बताइएको छैन बरु तिनीहरूको चिनारी प्रेम हुनेछ भनेर बताइएको छ। साथै येसुले यसो भन्‍नुभएन: ‘तिमीहरू मेरा चेलाहरू हौ भनी तिमीहरूले यसैबाट थाह पाउनेछौ।’ बरु उहाँले यसो भन्‍नुभयो: “तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।” हो, येसुका अनुयायीहरूबीच भएको निःस्वार्थ प्रेमले गर्दा तिनीहरूलाई मण्डलीभित्रका भाइबहिनीले मात्र होइन, मण्डलीबाहिरका मानिसहरूले पनि साँचो ख्रिष्टियन भनेर चिन्‍ने थिए।

४. केही मानिस साँचो ख्रिष्टियनहरूबारे कस्तो कुरा जान्‍न चाहन्छन्‌?

केही मानिसलाई यस्तो लाग्न सक्छ: ‘प्रेमले येसुका साँचो अनुयायीहरूलाई चिन्‍न कसरी मदत गर्छ? येसुले प्रेषितहरूलाई कसरी साँचो प्रेम देखाउनुभयो? आज हामी कसरी येसुको अनुकरण गर्न सक्छौँ?’ हामी यहोवाका साक्षीहरूले पनि यी प्रश्‍नहरूमा मनन गर्नुपर्छ। यसो गर्दा अरूले गल्ती गर्दा समेत प्रेम देखाइरहन मदत पाउनेछौँ।—एफि. ५:२.

प्रेमले येसुका साँचो अनुयायीहरूलाई चिन्‍न कसरी मदत गर्छ?

५. येसुले युहन्‍ना १५:१२, १३ मा बताउनुभएको कुराको अर्थ के हो?

येसुले उहाँका अनुयायीहरूलाई चिन्‍न मदत गर्ने एउटा विशेष प्रेमबारे बताउनुभयो। (युहन्‍ना १५:१२, १३ पढ्‌नुहोस्‌।) येसुले कस्तो आज्ञा दिनुभयो, याद गर्नुहोस्‌: “जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरू पनि आपसमा प्रेम गर।” यसको अर्थ के हो? त्यसपछिको पदमा येसुले बताउनुभएजस्तै यो आत्मत्यागी प्रेम हो। यस्तो प्रेमले हामीलाई परिआएको खण्डमा सङ्‌गी भाइबहिनीको लागि ज्यान दिन समेत उत्प्रेरित गर्छ। b

६. बाइबलमा प्रेमको महत्त्वलाई कसरी जोड दिइएको छ?

बाइबलमा प्रेमलाई धेरै जोड दिइएको छ। थुप्रैलाई मन पर्ने केही बाइबल पद यी हुन्‌: “परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ युह. ४:८) “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।” (मत्ति २२:३९) “प्रेमले असङ्‌ख्य पापहरू ढाक्छ।” (१ पत्रु. ४:८) “प्रेम कहिल्यै अन्त हुँदैन।” (१ कोरि. १३:८) यी तथा अन्य पदहरूले यो सुन्दर गुण विकास गर्नु र देखाउनु कत्ति महत्त्वपूर्ण छ भनेर प्रस्ट पार्छ।

७. सैतानले आपसमा साँचो प्रेम गर्ने विश्‍वव्यापी परिवार किन कहिल्यै बनाउन सक्दैन?

मानिसहरू यस्तो प्रश्‍न सोध्छन्‌: ‘साँचो धर्म कसरी चिन्‍न सकिन्छ? सबै धर्मले सत्य सिकाएको दाबी गर्छन्‌। तर ती धर्महरूले परमेश्‍वरबारे फरक-फरक कुरा सिकाउँछन्‌।’ सैतानले थुप्रै झूटा धर्मको सुरुवात गरेको छ। यसले गर्दा मानिसहरूलाई साँचो धर्म चिन्‍न गाह्रो भएको छ। तर सैतानले आपसमा साँचो प्रेम गर्ने विश्‍वव्यापी परिवार कहिल्यै बनाउन सक्दैन। यहोवाले मात्र यस्तो परिवार बनाउन सक्नुहुन्छ। किनभने साँचो प्रेमका मूल यहोवा हुनुहुन्छ भनेर हामीलाई थाह छ। अनि यहोवाको अनुग्रह र आशिष्‌ पाएकाहरूले मात्रै आपसमा साँचो प्रेम देखाउन सक्छन्‌। (१ युह. ४:७) त्यसैले येसुले आफ्ना अनुयायीहरूले मात्र निःस्वार्थ प्रेम देखाउनेछन्‌ भन्‍नु कुनै अचम्मलाग्दो कुरा होइन!

८-९. यहोवाका साक्षीहरूमाझ छाएको प्रेमले थुप्रै मानिसमा कस्तो प्रभाव पारेको छ?

येसुले भविष्यवाणी गर्नुभएझैँ उहाँका अनुयायीहरूले आपसमा देखाएको प्रेमले गर्दा मानिसहरूले तिनीहरूलाई साँचो ख्रिष्टियनको रूपमा चिन्‍न सकेका छन्‌। जस्तै: इयन भाइ आफू गएको पहिलो अधिवेशन सम्झिन्छन्‌। त्यो अधिवेशन तिनको घरनजिकैको रङ्‌गशालामा भएको थियो। तिनी यसो भन्छन्‌: “केही समयअघि म त्यही रङ्‌गशालामा म्याच हेर्न गएको थिएँ। त्यो म्याच र अधिवेशनबीच ठूलो फरक थियो। साक्षीहरू नम्र थिए, तिनीहरूले भद्र लुगा लगाएका थिए र तिनीहरूका छोराछोरी पनि ज्ञानी थिए।” तिनी अझै भन्छन्‌: “सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरू शान्त र सन्तुष्ट देखिन्थे। म पनि त्यही कुरा चाहन्थेँ। त्यस दिनको कुनै पनि भाषण मलाई याद छैन तर साक्षीहरूको व्यवहारले भने ममा अमेट छाप पाऱ्‍यो।” c एकअर्काप्रतिको साँचो प्रेमले गर्दा नै यो सम्भव भएको हो। हामी आफ्नो भाइबहिनीलाई प्रेम गर्छौँ। त्यसैले तिनीहरूसित दयालु व्यवहार गर्छौँ र तिनीहरूलाई आदर देखाउँछौँ।

जोन भाइले पनि पहिलो चोटि सभामा उपस्थित हुँदा यस्तै अनुभव गरेका थिए। तिनी यसो भन्छन्‌: “त्यहाँ सबै मानिस एकदमै मित्रैलो थिए। यो देखेर म निकै प्रभावित भएँ। त्यहाँ सबै जना भलादमी देखिन्थे। तिनीहरूबीच छाएको साँचो प्रेमले गर्दा यही नै साँचो धर्म हो भनेर म विश्‍वस्त भएँ।” d यी तथा अन्य अनुभवहरूबाट यहोवाका सेवकहरू नै साँचो ख्रिष्टियन हुन्‌ भनेर स्पष्ट हुन्छ।

१०. विशेषगरि कस्तो अवस्थामा हामी साँचो प्रेम देखाउन सक्छौँ? (फुटनोट पनि हेर्नुहोस्‌।)

१० यस लेखको सुरुमा बताइएझैँ हाम्रा भाइबहिनीहरू गल्ती नै नगर्ने मानिसहरू होइनन्‌। कहिलेकाहीँ तिनीहरूले भन्‍ने वा गर्ने कुराले हाम्रो चित्त दुख्न सक्छ। e (याकु. ३:२) यस्तो अवस्थामा हामी आफ्नो बोली र व्यवहारबाट तिनीहरूलाई साँचो प्रेम गरेको देखाउन सक्छौँ। यस सन्दर्भमा हामी येसुबाट कस्तो पाठ सिक्न सक्छौँ?—युह. १३:१५.

येसुले प्रेषितहरूलाई कसरी प्रेम देखाउनुभयो?

प्रेषितहरूले दुर्गुणहरू देखाउँदा येसुले तिनीहरूसित मायालु व्यवहार गर्नुभयो (अनुच्छेद ११-१३ हेर्नुहोस्‌)

११. याकुब र युहन्‍नाले कस्ता दुर्गुणहरू देखाए? (चित्र पनि हेर्नुहोस्‌।)

११ येसुले आफ्ना अनुयायीहरूबाट कुनै गल्ती नै हुँदैन भनेर आशा गर्नुभएन। बरु तिनीहरूले यहोवाको अनुमोदन पाऊन्‌ भनेर येसुले तिनीहरूको दुर्गुण हटाउन मायालुपूर्वक मदत गर्नुभयो। एकचोटि दुई जना प्रेषित याकुब र युहन्‍नाले आफ्नी आमालाई परमेश्‍वरको राज्यमा आफूहरूलाई महत्त्वपूर्ण स्थान दिन येसुलाई भनिदिन आग्रह गरे। (मत्ति २०:२०, २१) यसरी याकुब र युहन्‍नाले आफू घमन्डी भएको र अरूभन्दा ठूलो बन्‍न चाहेको देखाइरहेका थिए।—हितो. १६:१८.

१२. के याकुब र युहन्‍नाले मात्र दुर्गुण देखाएका थिए? व्याख्या गर्नुहोस्‌।

१२ त्यतिबेला दुर्गुण देखाउनेहरू याकुब र युहन्‍ना मात्र थिएनन्‌। अरू प्रेषितहरूले कस्तो प्रतिक्रिया देखाए, याद गर्नुहोस्‌: “जब बाँकी १० जनाले यो कुरा सुने, तब तिनीहरू ती दुई दाजुभाइसित असाध्यै रिसाए।” (मत्ति २०:२४) याकुब, युहन्‍ना र अरू प्रेषितहरूबीच चर्को भनाभन भएको हामी कल्पना गर्न सक्छौँ। अरू प्रेषितहरूले यसो भनेका हुन सक्छन्‌: ‘तिमीहरू आफूलाई के ठान्छौ हँ? परमेश्‍वरको राज्यमा ठूलो ओहदा खोज्ने? येसुसँगै रातदिन नभनी हामीले पनि काम गरेका छौँ। विशेष ओहदाको लागि तिमीहरूजस्तै हामी पनि योग्य छौँ!’ कुरा जेसुकै होस्‌, तिनीहरूले एकअर्कालाई प्रेम र दया देखाउनुपर्छ भन्‍ने कुरा बिर्से।

१३. प्रेषितहरूले दुर्गुणहरू देखाउँदा येसुले के गर्नुभयो? (मत्ति २०:२५-२८)

१३ यस्तो बेला येसुले के गर्नुभयो? उहाँ तिनीहरूदेखि रिसाउनुभएन। उहाँले अझै नम्र अनि आपसमा सधैँ प्रेम देखाउने अरू प्रेषितहरू खोज्छु पनि भन्‍नुभएन। बरु उहाँले तिनीहरूसित धीरजी हुँदै कुरा गर्नुभयो किनकि तिनीहरू जे सही छ, त्यो गर्न चाहन्छन्‌ भनेर उहाँलाई थाह थियो। (मत्ति २०:२५-२८ पढ्‌नुहोस्‌।) प्रेषितहरूले आफूहरूमध्ये को ठूलो हो भनेर बारम्बार विवाद गरे तापनि येसुले तिनीहरूसित सधैँ दयालु व्यवहार गर्नुभयो।—मर्कु. ९:३४; लुका २२:२४.

१४. प्रेषितहरू कस्तो वातावरणमा हुर्केका थिए?

१४ यसबाहेक येसुले प्रेषितहरूको पृष्ठभूमिलाई पनि विचार गर्नुभयो। (युह. २:२४, २५) तिनीहरू हुर्केको समाजमा धर्मगुरुहरू मानपदवीलाई धेरै महत्त्व दिन्थे। (मत्ति २३:६; यस पदको अध्ययन नोटमा भएको सभाघरमा सबैभन्दा अगाडिको स्थान [हिन्दी] भन्‍ने भिडियोसित तुलना गर्नुहोस्‌।) यहुदी धर्मगुरुहरू आत्मधर्मी पनि थिए। f (लुका १८:९-१२) यस्तो वातावरणमा हुर्केकोले प्रेषितहरूले आफू र अरूलाई हेर्ने दृष्टिकोणमा असर गर्न सक्छ भनेर येसुले बुझ्नुभएको थियो। (हितो. १९:११) आफ्ना चेलाहरूबाट कहिल्यै गल्ती नै हुँदैन भनेर उहाँले आशा गर्नुभएन र तिनीहरूले गल्ती गर्दा तिनीहरूसित धीरजी हुँदै व्यवहार गर्नुभयो। तिनीहरू जे सही छ, त्यो गर्न चाहन्छन्‌ भनेर उहाँलाई थाह थियो। त्यसैले उहाँले धीरजी हुँदै तिनीहरूलाई अरूभन्दा ठूलो हुन खोज्नुको सट्टा आपसमा प्रेम देखाउन अनि अझै नम्र हुन सिकाउनुभयो।

हामी कसरी येसुको अनुकरण गर्न सक्छौँ?

१५. याकुब र युहन्‍नाको घटनाबाट कस्तो पाठ सिक्न सक्छौँ?

१५ याकुब र युहन्‍नाको त्यस घटनाबाट अझ धेरै कुरा सिक्न सक्छौँ। तिनीहरूले परमेश्‍वरको राज्यमा ठूलो ओहदा खोज्नु गलत थियो। तर अरू प्रेषितहरू पनि गलत थिए किनकि तिनीहरूले त्यस अवस्थामा एकता कायम राख्न कोसिस गरेनन्‌। तैपनि येसुले १२ प्रेषितसित मायालु व्यवहार गर्नुभयो। यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? कुनै भाइबहिनीको गल्तीमा मात्र ध्यान दिनुको सट्टा तिनीहरूले त्यस्तो गल्ती गर्दा वा कमीकमजोरी देखाउँदा हामी कस्तो प्रतिक्रिया देखाउँछौँ, त्यसमा ध्यान दिनुपर्छ। कुनै भाइबहिनीदेखि रिस उठ्‌दा आफैलाई यस्ता प्रश्‍नहरू सोध्नु मदतकारी हुन सक्छ: ‘मलाई उहाँदेखि किन यत्ति धेरै रिस उठ्‌छ? मैले पो कुनै दुर्गुण हटाउनुपर्ने हो कि? उहाँलाई कुनै समस्या पो परिरहेको थियो कि? उहाँदेखि रिस उठ्‌नु जायजै लागे पनि के म उहाँलाई क्षमा दिएर प्रेम देखाउन सक्छु?’ हामी जत्ति अरूसित मायालु व्यवहार गर्छौँ, त्यत्ति नै हामी येसुका साँचो अनुयायी हौँ भनेर देखाइरहेका हुन्छौँ।

१६. येसुको उदाहरणबाट हामी अरू के सिक्न सक्छौँ?

१६ येसुको उदाहरणबाट हामीले सङ्‌गी भाइबहिनीलाई अझ राम्ररी चिन्‍ने कोसिस गर्नुपर्छ भनेर पनि सिक्न सक्छौँ। (हितो. २०:५) हुनत येसु मानिसको हृदय पढ्‌न सक्नुहुन्छ तर हामीसित भने त्यस्तो क्षमता छैन। भाइबहिनीले रिस उठाउँदा हामी तिनीहरूसित धीरजी भई व्यवहार गर्न सक्छौँ। (एफि. ४:१, २; १ पत्रु. ३:८) यदि हामीले तिनीहरूलाई अझ राम्ररी चिन्‍ने कोसिस गऱ्‍यौँ भने यसो गर्न अझ सजिलो हुनेछ। एउटा अनुभव विचार गरौँ।

१७. एक क्षेत्रीय निरीक्षकले सङ्‌गी भाइलाई अझ राम्ररी चिन्‍ने कोसिस गर्दा नतिजा कस्तो भयो?

१७ पूर्वी अफ्रिकामा सेवा गर्ने क्षेत्रीय निरीक्षक एक जना भाइलाई सम्झन्छन्‌। तिनलाई ती भाइ असाध्यै रुखो स्वभावका छन्‌ जस्तो लाग्थ्यो। ती क्षेत्रीय निरीक्षकले के गरे? तिनी भन्छन्‌: “ती भाइदेखि तर्किएर हिँड्‌नुको साटो मैले तिनलाई अझ राम्ररी चिन्‍ने कोसिस गरेँ।” यसो गर्दा ती निरीक्षकले ती भाइ कस्तो वातावरणमा हुर्केका थिए र त्यसले अरूसित गर्ने व्यवहारमा कस्तो असर पारेको छ भनेर बुझ्न सके। ती निरीक्षक अझै यसो भन्छन्‌: “अरूसित घुलमिल हुन ती भाइले कत्ति सङ्‌घर्ष गर्नुपरेको रहेछ भनेर बुझेपछि मैले अझै तिनको कदर गर्न सकेँ। हामी एकदमै मिल्ने साथी बन्यौँ।” हामीले भाइबहिनीलाई राम्ररी चिन्‍ने कोसिस गर्दा तिनीहरूलाई प्रेम देखाउन अझ सजिलो लाग्न सक्छ।

१८. कसैको कारण चित्त दुखेको छ भने आफैलाई कस्ता प्रश्‍नहरू सोध्न सक्छौँ? (हितोपदेश २६:२०)

१८ कहिलेकाहीँ हामीलाई आफ्नो चित्त दुखाएको भाइ वा बहिनीसित समस्याबारे कुरा गर्नुपर्छ जस्तो लाग्न सक्छ। तर सुरुमा आफैलाई यस्ता प्रश्‍नहरू सोध्नु बेस हुन्छ: ‘के मैले परिस्थितिलाई राम्ररी बुझेको छु?’ (हितो. १८:१३) ‘तिनले जानाजानी मेरो चित्त दुखाएका थिएनन्‌ कि?’ (उप. ७:२०) ‘मैले पनि त्यस्तै गल्ती गरेको थिएँ कि?’ (उप. ७:२१, २२) ‘तिनीसित कुरा गरेँ भने समस्या सुल्झिनुको साटो उल्टै ठूलो हुने हो कि?’ (हितोपदेश २६:२० पढ्‌नुहोस्‌।) हामीले समय लगाएर यस्ता प्रश्‍नहरूबारे विचार गऱ्‍यौँ भने भाइबहिनीप्रतिको प्रेमले हामीलाई क्षमा दिन उत्प्रेरित गर्छ भनेर बुझ्नेछौँ।

१९. तपाईँले कस्तो सङ्‌कल्प गर्नुभएको छ?

१९ यहोवाका साक्षीहरू समूहको रूपमा येसुको साँचो चेला भएको प्रमाण दिँदै छन्‌। हामी प्रत्येकले पनि भाइबहिनीको कमीकमजोरीको बाबजुद एकअर्कालाई निःस्वार्थ प्रेम देखाउँदा हामी येसुका साँचो अनुयायी हौँ भनेर प्रमाण दिइरहेका हुन्छौँ। यस्तो प्रेमले मानिसहरूलाई साँचो धर्म चिन्‍न र प्रेमका परमेश्‍वर यहोवाको उपासना गर्न उत्प्रेरित गर्न सक्छ। त्यसैले साँचो ख्रिष्टियनहरूको चिनारी दिने प्रेम आफ्नो जीवनमा देखाइरहने सङ्‌कल्प गरौँ!

गीत १७ “म इच्छा गर्छु”

a हामीमाझ भएको साँचो प्रेम देखेर थुप्रै मानिस सत्यतर्फ आकर्षित भएका छन्‌। तर हामी त्रुटिपूर्ण छौँ; त्यसैले कहिलेकाहीँ सङ्‌गी ख्रिष्टियनलाई प्रेम देखाउन गाह्रो हुन सक्छ। आउनुहोस्‌, प्रेम किन एकदमै महत्त्वपूर्ण छ र अरूले गल्ती गर्दा हामी कसरी येसुको उदाहरण अनुकरण गर्न सक्छौँ, विचार गरौँ।

b “आएर मेरो पछि लाग” (अङ्‌ग्रेजी) पुस्तकको अध्याय १७, अनुच्छेद १०-११ हेर्नुहोस्‌।

c jw.org को हाम्रो बारेमा > अनुभव > सबै हेर्ने > बाइबलले जीवनलाई नयाँ मोड दिन्छ—नोभेम्बर २०१२ अन्तर्गत “अहिले मेरो जीवन उद्देश्‍यपूर्ण भएको छ” भन्‍ने लेख हेर्नुहोस्‌।

d मे १, २०१२ अङ्‌कको प्रहरीधरहरा, (अङ्‌ग्रेजी) पृष्ठ १८-१९ मा भएको “मेरो जीवन राम्रै चलिरहेको थियो” भन्‍ने लेख हेर्नुहोस्‌।

e यस लेखमा एल्डरहरूले सम्हाल्नुपर्ने खालका गम्भीर पापहरूबारे छलफल गरिएको छैन। जस्तै: १ कोरिन्थी ६:९, १० मा उल्लिखित पापहरू।

f भनिन्छ, एक जना रब्बीले यसो भनेका थिए: “संसारमा अब्राहामजत्तिको धर्मी ३० जना पनि छैनन्‌। यदि ३० जना छन्‌ भने त्यसमध्ये दुई जना म र मेरो छोरा नै हौँ। यदि १० जना छन्‌ भने त्यसमध्ये दुई जना म र मेरो छोरा नै हौँ। यदि पाँच जना छन्‌ भने त्यसमध्ये दुई जना म र मेरो छोरा नै हौँ। यदि दुई जना मात्रै छन्‌ भने म र मेरो छोरा नै हौँ। यदि एक जना मात्रै छ भने त्यो मै हुँ।”