सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूको प्रश्‍न

पाठकहरूको प्रश्‍न

रुथको ‘नजिकका नातेदारले’ रुथसित विवाह गरेमा आफ्नो पैतृक सम्पत्ति “गुम्न सक्छ” भनेर किन भन्यो? (रुथ ४:१, ६)

बाइबलकालीन समयमा कुनै विवाहित पुरुष सन्तान नजन्माई मरे भने तिनको जग्गाजमिन के हुन्थ्यो? के तिनको वंश सदाको लागि मेटिने थियो? यी प्रश्‍नहरूको जवाफ मोसाको व्यवस्थामा पाउन सक्छौँ।

कुनै मानिसको मृत्यु भएमा वा गरिबीले गर्दा जमिन बेच्नुपरेमा के हुन्थ्यो? तिनको दाजुभाइ वा नजिकका नातेदारले मोल तिरेर जमिन फिर्ता गरिदिन सक्थ्यो। यसो गर्दा त्यो सम्पत्ति तिनीहरूकै कुलमा रहन्थ्यो।—लेवी २५:२३-२८; गन्ती २७:८-११.

व्यवस्थामा मृतकको वंश जोगाउन कस्तो प्रबन्ध गरिएको थियो? मृतकको दाजु वा भाइले मृतककी पत्नीसित विवाह गर्नुपर्थ्यो। रुथको पनि यही चलनअनुसार विवाह भएको थियो। यसरी विवाह भएपछि जन्मेको सन्तानले मृतकको वंश कायम गर्थ्यो र ऊ पुर्ख्यौली सम्पत्तिको हकवाला हुन्थ्यो। साथै यो विधवाहरूको लागि एउटा मायालु प्रबन्ध पनि थियो।—व्यव. २५:५-७; मत्ति २२:२३-२८.

नाओमीको उदाहरण विचार गरौँ। तिनको विवाह एलिमेलेकसित भएको थियो। एलिमेलेक र उनीहरूका दुई छोराको मृत्यु भएपछि नाओमी बेसहारा भइन्‌। (रुथ १:१-५) नाओमी यहुदा फर्केपछि तिनले आफ्नी बुहारी रुथलाई तिनीहरूको जमिन मोल तिरेर छुटाइदिन बोअजलाई आग्रह गर्न भनिन्‌। बोअज एलिमेलेकका नजिकका नातेदार थिए। (रुथ २:१, १९, २०; ३:१-४) तर बोअजलाई तिनीभन्दा पनि नजिकको अर्को नातेदार छ भनेर थाह थियो, जसको नाम बाइबलमा उल्लेख गरिएको छैन। त्यसैले त्यो अर्को नातेदार नै पहिलो हकवाला हुने थियो।—रुथ ३:९, १२, १३.

सुरुमा त नाओमीको त्यो नातेदार जमिन किन्‍न तयार भयो। (रुथ ४:१-४) हुनत जमिन किन्‍नको लागि उसले केही पैसा खर्च गर्नुपर्ने हुन्थ्यो। तर वृद्ध भइसकेकी नाओमीले बच्चा जन्माउन नसक्ने भएकोले एलिमेलेकको पुर्ख्यौली सम्पत्ति पनि त्यही नातेदारकै हुने थियो। त्यसैले उसलाई ‘यो त राम्रै लगानी हो’ जस्तो लागेको हुनुपर्छ।

तर रुथलाई पनि विवाह गर्नुपर्छ भनेर थाह पाएपछि उसले आफ्नो मन बदल्यो। उसले यसो भन्यो: “म त्यो जमिन किन्‍न सक्दिनँ। त्यो किनेँ भने मेरो आफ्नै पैतृक सम्पत्ति गुम्न सक्छ।” (रुथ ४:५, ६) उसले किन आफ्नो मन बदल्यो?

त्यस नजिकका नातेदार वा अरू कसैले रुथलाई विवाह गऱ्‍यो र रुथले छोरा जन्माइन्‌ भने ती छोराले नै एलिमेलेकको पैतृक सम्पत्ति पाउने थिए। यसले गर्दा त्यस नजिकका नातेदारको पैतृक सम्पत्ति कसरी “गुम्न” सक्थ्यो? त्यसबारे बाइबलमा केही बताइएको छैन। तर यसका केही सम्भावित कारण विचार गरौँ।

  • पहिलो, उसलाई आफ्नो लगानी खेर जान्छ जस्तो लागेको हुनुपर्छ किनकि एलिमेलेकको पैतृक सम्पत्ति उसले नभई रुथको छोराले पाउने थिए।

  • दोस्रो, नाओमी र रुथ दुवैलाई खुवाउने अनि हेरचाह गर्ने जिम्मा उसैको हुने थियो।

  • तेस्रो, यदि उसको पहिलाको पत्नीबाट पनि छोराछोरी थिए र रुथले पनि छोराछोरी जन्माइन्‌ भने उसले आफ्नो पैतृक सम्पत्ति दुवैपट्टिका सन्तानलाई भाग लगाउनुपर्ने हुन्थ्यो।

  • चौथो, त्यस नातेदारको अरू कुनै सन्तान थिएन भने रुथबाट जन्मेको छोराले नै एलिमेलेक र उसको पनि पैतृक सम्पत्ति पाउने थिए। यसरी उसको आफ्नै पैतृक सम्पत्ति पनि एलिमेलेकको वंश धान्‍ने छोरालाई जाने थियो। ऊ आफ्नो पैतृक सम्पत्ति दाउमा राखेर नाओमीलाई मदत गर्न तयार भएन। बरु ऊ आफूपछिको हकवाला बोअजले यो जिम्मेवारी वहन गरेको चाहन्थ्यो। बोअज यो जिम्मेवारी वहन गर्न तयार भए किनभने “महलोनको सम्पत्ति तिनकै सन्तानको नाममा” रहेको बोअज चाहन्थे।—रुथ ४:१०.

त्यस नजिकका नातेदारको ध्यान आफ्नो वंश कायम गर्नु र पैतृक सम्पत्ति जोगाउनुमा थियो जस्तो देखिन्छ। हो, ऊ स्वार्थी थियो। उसले आफ्नो नाम जोगाइराख्न धेरै प्रयास गरे तापनि इतिहासमा उसको नाम कतै पाइँदैन। साथै उसले एउटा विशेष सुअवसर पनि गुमायो, जुन पछि बोअजले पाए। त्यो थियो, मसीहको पुर्खा हुने सुअवसर। आफ्नो स्वार्थको लागि खाँचोमा परेको व्यक्‍तिलाई मदत नगर्दा त्यस नातेदारले कस्तो दुःखदायी नतिजा भोग्नुपऱ्‍यो!—मत्ति १:५; लुका ३:२३, ३२.