सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ११

बप्तिस्माको लागि तपाईँ कसरी तयार हुन सक्नुहुन्छ?

बप्तिस्माको लागि तपाईँ कसरी तयार हुन सक्नुहुन्छ?

“बप्तिस्मा गर्नदेखि मलाई केले रोक्छ र?”—प्रेषि. ८:३६.

गीत ५० समर्पणको प्रार्थना

परिचय a

संसारभरि जवानदेखि वृद्धहरू प्रगति गर्दै बप्तिस्माको लक्ष्यसम्म पुगेका छन्‌ (अनुच्छेद १-२ हेर्नुहोस्‌)

१-२. तपाईँ अझै बप्तिस्माको लागि तयार हुनुहुन्‍न भने किन निराश हुनुपर्दैन? (आवरण तस्बिर हेर्नुहोस्‌।)

 के तपाईँ बप्तिस्मा गर्न चाहनुहुन्छ? चाहनुहुन्छ भने यो एकदमै राम्रो लक्ष्य हो। तपाईँ अहिले नै यो कदम चाल्न तयार हुनुहुन्छ कि? तपाईँलाई आफू तयार छु जस्तो लाग्छ र एल्डरहरू पनि यस कुरासित सहमत छन्‌ भने ‘पछि गरौँला’ भनेर पर्खेर नबस्नुहोस्‌। बप्तिस्मा गरेपछि तपाईँले यहोवाको सेवामा इनामदायी जीवन बिताउन सक्नुहुनेछ।

अथवा के तपाईँलाई बप्तिस्माको लागि योग्य हुन अझै उन्‍नति गर्न भनिएको छ? अनि तपाईँलाई पनि त्यस्तै लाग्छ कि? लाग्छ भने निराश नहुनुहोस्‌। चाहे तपाईँ जवान हुनुहुन्छ या वृद्ध, तपाईँ उन्‍नति गर्न र त्यो महत्त्वपूर्ण लक्ष्यसम्म पुग्न सक्नुहुन्छ।

“मलाई केले रोक्छ र?”

३. इथियोपियाली अफिसरले फिलिपलाई के सोधे तर कस्तो प्रश्‍न उठ्‌छ? (प्रेषित ८:३६, ३८)

प्रेषित ८:३६, ३८ पढ्‌नुहोस्‌। इथियोपियाली अफिसरले राज्य उद्‌घोषक फिलिपलाई यसो भने: “बप्तिस्मा गर्नदेखि मलाई केले रोक्छ र?” ती अफिसर बप्तिस्मा गर्न चाहन्थे तर के तिनी त्यो महत्त्वपूर्ण कदम चाल्न साँच्चै तयार थिए?

इथियोपियाली अफिसरले यहोवाबारे अझ धेरै सिकिरहने सङ्‌कल्प गरे (अनुच्छेद ४ हेर्नुहोस्‌)

४. ती अफिसरले अझ धेरै सिक्न इच्छुक भएको कसरी देखाए?

ती इथियोपियाली पुरुष “यरुसलेममा उपासना गर्न गएका थिए।” (प्रेषि. ८:२७) त्यसैले तिनी धर्म परिवर्तन गरेर यहुदी बनेको हुनुपर्छ। तिनले पक्कै पनि हिब्रू धर्मशास्त्रबाट यहोवाबारे सिकेको हुनुपर्छ। तैपनि तिनी अझ धेरै सिक्न इच्छुक थिए। हामी किन यसो भन्‍न सक्छौँ? किनभने फिलिपले तिनलाई बाटोमा भेट्‌दा तिनी यसैयाको पुस्तक पढिरहेका थिए। (प्रेषि. ८:२८) तिनले पढिरहेको कुरा खँदिलो आध्यात्मिक भोजन थियो। ती अफिसर बाइबलका आधारभूत कुराहरूमै चित्त बुझाएर बसेनन्‌; तिनी अझ धेरै सिक्न चाहन्थे।

५. इथियोपियाली पुरुषले सिकेको कुरा कसरी लागू गरे?

ती अफिसर इथियोपिया देशकी महारानी कन्दाकीका उच्च अख्तियारवाला थिए र तिनलाई ‘महारानीको सारा सम्पत्तिको हेरविचार गर्ने जिम्मा सुम्पिइएको थियो।’ (प्रेषि. ८:२७) थुप्रै जिम्मेवारी भएकोले सायद तिनलाई सास फेर्ने फुर्सतसमेत थिएन। तैपनि तिनले यहोवाको उपासना गर्न समय निकाले। तिनले सत्य कुरा सिक्नुका साथै ती लागू पनि गरे। त्यसैले यहोवाको उपासना गर्न तिनले इथियोपियादेखि यरुसलेमसम्मको लामो यात्रा गरे। यस यात्राको लागि तिनले धेरै समय र पैसा खर्च गरेको हुनुपर्छ। तर यहोवाको उपासनाको लागि तिनी जस्तोसुकै त्याग गर्न पनि तयार थिए।

६-७. ती अफिसरले यहोवाप्रतिको प्रेमलाई कसरी बढाइरहे?

ती अफिसरले फिलिपबाट केही महत्त्वपूर्ण सत्य सिके। जस्तै, येसु नै मसीह हुनुहुन्छ। (प्रेषि. ८:३४, ३५) येसुले तिनको लागि गरिदिनुभएको कुराहरूबारे सिक्दा तिनको पक्कै मन छोएको हुनुपर्छ। त्यसपछि तिनले के गरे? मानिसहरूको आदर पाइरहेकोले तिनी कुनै प्रगति नगरी बस्ने छनौट पनि गर्न सक्थे। तर यहोवा र उहाँको छोराप्रतिको तिनको प्रेम बढ्‌दै गयो अनि तिनी बप्तिस्मा गरेर येसुको अनुयायी बन्‍न उत्प्रेरित भए। फिलिपले तिनी योग्य भएको देखेपछि तिनलाई बप्तिस्मा गराए।

ती अफिसरको उदाहरण अनुकरण गर्नुभयो भने तपाईँ पनि बप्तिस्माको लागि तयार हुन सक्नुहुन्छ। तपाईँले पनि विश्‍वस्त भएर “बप्तिस्मा गर्नदेखि मलाई केले रोक्छ र” भन्‍न सक्नुहुन्छ। ती अफिसरको कुरा विचार गर्ने हो भने तिनले सिकिरहे, सिकेअनुसार कदम चाले र यहोवाप्रतिको आफ्नो प्रेमलाई बढाइरहे। आउनुहोस्‌, तपाईँ ती कदमहरू कसरी चाल्न सक्नुहुन्छ, विचार गरौँ।

सिकिरहनुहोस्‌

८. युहन्‍ना १७:३ बाट हामी कस्तो प्रोत्साहन पाउँछौँ?

युहन्‍ना १७:३ र फुटनोट पढ्‌नुहोस्‌। के येसुका यी शब्दहरूले तपाईँलाई बाइबल अध्ययन सुरु गर्न मदत गरेको थियो? थुप्रैलाई मदत गरेको थियो। तर यही पदबाट हामीले सिकिरहने प्रोत्साहन पनि पाउँदैनौँ र? पक्कै पाउँछौँ। हामी ‘एक मात्र साँचो परमेश्‍वरको ज्ञान लिइरहन’ कहिल्यै छोड्‌नेछैनौँ। (उप. ३:११) हामी सधैँभरि उहाँबारे सिकिरहनेछौँ। हामी यहोवाबारे जत्ति धेरै सिक्छौँ, त्यत्ति नै उहाँसित नजिक हुनेछौँ।—भज. ७३:२८.

९. आधारभूत कुराहरू सिकेपछि हामीले के गर्नुपर्छ?

हुनत यहोवाबारे सिक्ने कुरा आधारभूत कुराहरूबाटै सुरु हुन्छ। हिब्रूहरूलाई लेखेको पत्रमा प्रेषित पावलले यसलाई “प्राथमिक शिक्षा” पनि भनेका छन्‌। तर तिनले प्राथमिक शिक्षा कम महत्त्वपूर्ण छ भन्‍न खोजिरहेका थिएनन्‌। बरु तिनले यसलाई साना बालकहरूलाई पोषण दिने दूधसित तुलना गरिरहेका थिए। (हिब्रू ५:१२; ६:१) तर तिनले सबै ख्रिष्टियनलाई प्राथमिक शिक्षालाई पछाडि छोडेर परमेश्‍वरको वचनका गहिरा कुराहरू सिक्न आग्रह गरे। के तपाईँले बाइबलका गहिरा कुराहरूको लागि भोक जगाउनुभएको छ? के तपाईँ यहोवा र उहाँका उद्देश्‍यहरूबारे सिकिरहन र परिपक्वतातर्फ अघि बढिरहन इच्छुक हुनुहुन्छ?

१०. कसै-कसैलाई पढ्‌न किन गाह्रो लाग्छ?

१० हामीमध्ये धेरैलाई पढ्‌न गाह्रो लाग्छ। तपाईँलाई नि? के तपाईँले स्कुलमा राम्ररी लेख्न-पढ्‌न सिक्नुभयो? के तपाईँलाई पढ्‌न रमाइलो लाग्थ्यो? के तपाईँलाई स्कुलबाट धेरै कुरा सिकेँ जस्तो लाग्छ? वा किताबमा पढेको कुरा दिमागले नै भ्याउँदैन जस्तो लाग्थ्यो कि? थुप्रैले यस्तै महसुस गर्छन्‌। तर यहोवाले तपाईँलाई मदत गर्न सक्नुहुन्छ। उहाँ त्रुटिरहित हुनुहुन्छ र सबैभन्दा उत्कृष्ट शिक्षक हुनुहुन्छ।

११. यहोवा “महान्‌ शिक्षक” हुनुहुन्छ भनेर किन भन्‍न सक्छौँ?

११ यहोवाले आफूलाई “महान्‌ शिक्षक”-को रूपमा चिनाउनुभएको छ। (यसै. ३०:२०, २१) उहाँ धीरजी, दयालु र समझदार शिक्षक हुनुहुन्छ। उहाँ आफ्ना विद्यार्थीहरूको असल कुराहरूमा ध्यान दिनुहुन्छ। (भज. १३०:३) साथै उहाँ कहिल्यै हामीले गर्न सक्नेभन्दा धेरै माग गर्नुहुन्‍न। नबिर्सनुहोस्‌, हाम्रो मस्तिष्क बनाउनुहुने उहाँ नै हुनुहुन्छ। (भज. १३९:१४) हामी स्वभावैले नयाँ कुरा सिक्न चाहन्छौँ। हाम्रो सृष्टिकर्ता हामीले सधैँभरि सिकेको र त्यसबाट आनन्द उठाएको चाहनुहुन्छ। त्यसैले अहिल्यैदेखि बाइबल सत्यको “तिर्सना” गर्नुहोस्‌। (१ पत्रु. २:२) आफूले हासिल गर्न सक्ने लक्ष्यहरू राख्नुहोस्‌ अनि दिनहुँ बाइबल पढ्‌ने र अध्ययन गर्ने बानी बसाल्नुहोस्‌। (यहो. १:८) यहोवाको मदत पाउँदा तपाईँलाई उहाँको विषयमा पढ्‌न र सिक्न झन्‌झन्‌ रमाइलो लाग्नेछ।

१२. येसुको जीवनी किन अध्ययन गर्नुपर्छ?

१२ येसुको जीवन र सेवाबारे नियमित रूपमा मनन गर्नुहोस्‌। विशेषगरि यस कठिन समयमा यहोवाको सेवामा लागिरहन येसुको पाइला पछ्याउनु महत्त्वपूर्ण छ। (१ पत्रु. २:२१) येसुले आफ्ना अनुयायीहरूलाई तिनीहरूले भोग्नुपर्ने चुनौतीहरूबारे स्पष्टसित बताउनुभयो। (लुका १४:२७, २८) तर आफ्ना साँचो अनुयायीहरू उहाँजस्तै वफादार रहनेछन्‌ भन्‍ने कुरामा येसु विश्‍वस्त हुनुहुन्थ्यो। (युह. १६:३३) येसुको जीवनी अध्ययन गर्नुहोस्‌ र दैनिक जीवनमा उहाँको अनुकरण गर्ने लक्ष्य राख्नुहोस्‌।

१३. हामीले यहोवासित कुन कुरा मागिरहनुपर्छ र किन?

१३ ज्ञान लिनु मात्र पर्याप्त छैन। यसले हामीलाई यहोवाबारे अझ धेरै सिक्न अनि उहाँप्रतिको प्रेम र भरोसाजस्ता गुणहरू विकास गर्न मदत गर्नुपर्छ। (१ कोरि. ८:१-३) तपाईँले अझ धेरै सिक्दै जाँदा यहोवालाई तपाईँको विश्‍वास बढाइदिन प्रार्थना गरिरहनुहोस्‌। (लुका १७:५) उहाँले यस्ता प्रार्थनाहरूको जवाफ दिनुहुन्छ। साँचो विश्‍वास परमेश्‍वरको सही ज्ञानमा आधारित हुन्छ र यस्तो विश्‍वासले हामीलाई प्रगति गर्न मदत गर्नेछ।—याकु. २:२६.

सिकेअनुसार कदम चालिरहनुहोस्‌

जलप्रलयअघि नुह र तिनको परिवारले सिकेअनुसार कदम चाले (अनुच्छेद १४ हेर्नुहोस्‌)

१४. सिकेअनुसार कदम चाल्नुको महत्त्वलाई प्रेषित पत्रुसले कसरी जोड दिए? (चित्र पनि हेर्नुहोस्‌।)

१४ प्रेषित पत्रुसले ख्रिष्टका अनुयायीहरूले सिकेअनुसार कदम चाल्नु महत्त्वपूर्ण छ भनेर जोड दिए। तिनले नुहको विवरण उल्लेख गरे। यहोवाले नुहलाई त्यतिबेलाका दुष्ट मानिसहरूलाई नाश गर्न जलप्रलय ल्याउनेछु भनेर बताउनुभयो। आफू र आफ्नो परिवारलाई जोगाउन नुहले जलप्रलय आउँदै छ भनेर थाह पाउनु मात्र पर्याप्त थिएन। याद गर्नुहोस्‌, पत्रुसले जलप्रलय आउनुअघिको समयबारे बताइरहेका थिए र तिनले “त्यसबेला जहाज पनि निर्माण हुँदै थियो” भनेर बताए। (१ पत्रु. ३:२०) हो, नुह र तिनको परिवारले यहोवाबाट सिकेअनुसारै कदम चाले र एउटा विशाल जहाज निर्माण गरे। (हिब्रू ११:७) त्यसपछि पत्रुसले नुहको कामलाई बप्तिस्मासित तुलना गर्दै यसो भने: “यस घटनाले बप्तिस्मालाई सङ्‌केत गर्छ, जसले . . . अहिले तिमीहरूलाई बचाउँदै छ।” (१ पत्रु. ३:२१) नुह र तिनको परिवारले जहाज बनाउन निकै समय र प्रयास खर्च गरेका थिए। त्यसैगरि बप्तिस्माको लागि तयार हुन तपाईँले पनि प्रयास गर्नुपर्ने हुन्छ। कस्तो प्रयास?

१५. साँचो पश्‍चात्ताप गर्नुमा के समावेश छ?

१५ पहिलो कुरा, हामीले आफ्ना पापहरूको लागि मनैदेखि पश्‍चात्ताप गर्नुपर्छ। (प्रेषि. २:३७, ३८) साँचो पश्‍चात्ताप गर्नुमा परिवर्तन गर्नु समावेश छ। के तपाईँले अवैध यौनसम्बन्ध, सुर्तीजन्य पदार्थहरूको प्रयोग वा दुर्वचन बोल्नेजस्ता यहोवालाई मन नपर्ने बानीहरू त्यागिसक्नुभएको छ? (१ कोरि. ६:९, १०; २ कोरि. ७:१; एफि. ४:२९) छैन भने त्यस्ता बानीहरू त्याग्न कोसिस गरिरहनुहोस्‌। आफ्नो बाइबल अध्ययन सञ्चालक वा एल्डरहरूसित मदत माग्नुहोस्‌। तपाईँ जवान हुनुहुन्छ र आमाबुबासँगै बस्नुहुन्छ भने बप्तिस्मा गर्नदेखि तपाईँलाई रोक्न सक्ने खराब बानीहरू त्याग्न उहाँहरूको मदत लिनुहोस्‌।

१६. राम्रो आध्यात्मिक तालिकाअनुसार चल्नुमा के समावेश छ?

१६ राम्रो आध्यात्मिक तालिकाअनुसार चल्नु पनि महत्त्वपूर्ण छ। यसमा सभाहरूमा उपस्थित हुनु र त्यसमा भाग लिनु समावेश छ। (हिब्रू १०:२४, २५) साक्षीकार्यमा भाग लिन योग्य भएपछि यसलाई पनि आफ्नो तालिकामा समावेश गर्नुहोस्‌। जीवन बचाउने यस काममा जत्ति धेरै भाग लिनुहुन्छ, तपाईँलाई त्यत्ति नै रमाइलो लाग्नेछ। (२ तिमो. ४:५) तपाईँ जवान हुनुहुन्छ र आमाबुबासँगै बस्नुहुन्छ भने आफैलाई सोध्नुहोस्‌: ‘सभाहरूमा उपस्थित हुन वा साक्षीकार्यमा भाग लिन के मलाई आमाबुबाले सम्झाइरहनुपर्छ वा म आफै अग्रसर हुन्छु?’ यसरी आफै अग्रसर हुँदा तपाईँले यहोवाप्रतिको विश्‍वास, प्रेम र कृतज्ञता देखाइरहनुभएको हुनेछ। “परमेश्‍वरप्रतिको भक्‍ति प्रकट हुने” यी कामहरू हामीले यहोवालाई दिने उपहारहरू हुन्‌। (२ पत्रु. ३:११; हिब्रू १३:१५) यस्ता उपहारहरू राजीखुसीले दिँदा हामीले उहाँलाई खुसी बनाइरहेका हुन्छौँ। (२ कोरिन्थी ९:७ तुलना गर्नुहोस्‌।) यहोवालाई सर्वोत्तम कुरा चढाउन चाहेकोले हामी यी कदमहरू चाल्छौँ।

यहोवाप्रतिको प्रेम बढाउँदै लैजानुहोस्‌

१७-१८. बप्तिस्माको लागि योग्य हुन तपाईँलाई कुन गुणले मदत गर्नेछ र किन? (हितोपदेश ३:३-६)

१७ बप्तिस्माको लागि अघि बढ्‌दा अनेक चुनौतीको सामना गर्नुपर्ने हुन्छ। कसै-कसैले तपाईँको गिल्ला गर्लान्‌। तिनीहरूले तपाईँको खेदोसमेत गर्न सक्छन्‌। (२ तिमो. ३:१२) खराब बानीहरू त्याग्न प्रयास गर्ने क्रममा कहिलेकाहीँ त्यही पुरानो बानी फर्किन सक्छ। अथवा बप्तिस्माको लक्ष्यसम्म पुग्न धेरै समय लागेको जस्तो महसुस हुँदा धीरजी हुन गाह्रो लाग्न सक्छ र दिक्क पनि लाग्न सक्छ। यस्तो बेला तपाईँलाई एउटा महत्त्वपूर्ण गुणले मदत गर्नेछ। त्यो हो, यहोवाप्रतिको प्रेम।

१८ तपाईँसित भएका गुणहरूमध्ये सबैभन्दा उत्कृष्ट गुण भनेको यहोवाप्रतिको प्रेम हो। (हितोपदेश ३:३-६ पढ्‌नुहोस्‌।) उहाँप्रतिको गहिरो प्रेमले समस्याहरू आइपर्दा पनि उहाँको सेवामा लागिरहन मदत गर्नेछ। बाइबलमा अक्सर आफ्ना सेवकहरूप्रतिको यहोवाको अटल प्रेमबारे चर्चा गरिएको छ। यही प्रेमले गर्दा उहाँ आफ्ना सेवकहरूलाई कहिल्यै त्याग्नुहुन्‍न। (भज. १००:५) परमेश्‍वरले तपाईँलाई आफ्नै स्वरूपमा बनाउनुभएको छ। (उत्प. १:२६) त्यसोभए तपाईँ अटल प्रेम कसरी देखाउन सक्नुहुन्छ?

तपाईँ यहोवालाई दिनदिनै कृतज्ञता व्यक्‍त गर्न सक्नुहुन्छ (अनुच्छेद १९ हेर्नुहोस्‌) b

१९. यहोवाले गरिदिनुभएका सबै कुराप्रति तपाईँ कसरी अझै कृतज्ञ हुन सक्नुहुन्छ? (गलाती २:२०)

१९ सबैभन्दा पहिला, यहोवाप्रति कृतज्ञ हुन सक्ने कुराहरूबारे सोच्नुहोस्‌। (१ थिस्स. ५:१८) प्रत्येक दिन आफैलाई सोध्नुहोस्‌: ‘यहोवाले मलाई कुन-कुन तरिकामा प्रेम देखाउनुभएको छ?’ त्यसपछि यहोवाले तपाईँको निम्ति गरिदिनुभएका कुराहरू उल्लेख गर्दै उहाँलाई प्रार्थनामा धन्यवाद चढाउनुहोस्‌। यहोवाले मानिसजातिको लागि थुप्रै असल कुरा गरिदिनुभएको छ। प्रेषित पावलले जस्तै ती कुराहरू यहोवाले तपाईँकै लागि गरिदिनुभएको हो भनेर महसुस गर्नुहोस्‌। (गलाती २:२० पढ्‌नुहोस्‌।) आफैलाई सोध्नुहोस्‌: ‘के म पनि यहोवालाई प्रेम गरेको देखाउँछु?’ उहाँप्रतिको प्रेमले हामीलाई प्रलोभनहरूको प्रतिरोध गरिरहन र चुनौतीहरूको सामना गरिरहन मदत गर्नेछ। साथै यसले तपाईँलाई आध्यात्मिक तालिका कायम राख्न र दिनदिनै यहोवाप्रतिको प्रेम देखाउन उत्प्रेरित गर्नेछ।

२०. यहोवालाई जीवन समर्पण गर्नुमा के समावेश छ र यो किन गम्भीर निर्णय हो?

२० यहोवाप्रतिको प्रेम बढ्‌दै गएपछि तपाईँ एकदिन एउटा विशेष प्रार्थना गर्न उत्प्रेरित हुनुहुनेछ। तपाईँले आफ्नो जीवन परमेश्‍वरलाई समर्पण गर्नुहुनेछ। त्यसपछि तपाईँले यो सुन्दर आशा पाउनुहुनेछ: तपाईँ सदाको लागि उहाँको हुनुहुनेछ। यहोवालाई आफ्नो जीवन समर्पण गर्दा जीवनमा जस्तोसुकै उतारचढाव आए पनि उहाँको सेवा गरिरहने वाचा गरिरहनुभएको हुन्छ। यो वाचा एक चोटि गरेपछि फेरि दोहोऱ्‍याएर गरिरहनुपर्दैन। हो, परमेश्‍वरलाई जीवन समर्पण गर्नु भनेको एउटा गम्भीर निर्णय हो। तर यो कुरा विचार गर्नुहोस्‌: तपाईँले जीवनमा थुप्रै असल निर्णय गर्नुहुनेछ तर योजत्तिको असल निर्णय अरू कुनै हुन सक्दैन। (भज. ५०:१४) सैतानले तपाईँको सत्यनिष्ठा तोड्‌न यहोवाप्रतिको तपाईँको प्रेमलाई कमजोर बनाउन खोज्नेछ। तर त्यसलाई जित्न नदिनुहोस्‌! (अय्यु. २७:५) यहोवाप्रतिको बलियो प्रेमले तपाईँलाई समर्पणको वाचाअनुसार जीवन बिताउन र उहाँसित अझै घनिष्ठ हुन मदत गर्नेछ।

२१. बप्तिस्मा सुरुवात मात्र हो, अन्त होइन, किन?

२१ यहोवालाई आफ्नो जीवन समर्पण गरेपछि अर्को महत्त्वपूर्ण कदम चाल्न मण्डलीका एल्डरहरूसित कुरा गर्नुहोस्‌। तर यो कुरा नबिर्सनुहोस्‌: बप्तिस्मा सुरुवात मात्र हो, अन्त होइन। बप्तिस्मा गरेपछि सधैँभरि यहोवाको सेवा गर्ने बाटो खुल्छ। त्यसैले अहिलेदेखि नै बुबाप्रतिको प्रेमलाई बलियो बनाउनुहोस्‌। दिनदिनै उहाँप्रतिको प्रेमलाई बलियो बनाउँदै लैजान लक्ष्यहरू राख्नुहोस्‌। यसो गर्दा तपाईँ बप्तिस्मा गर्न उत्प्रेरित हुनुहुनेछ। त्यो तपाईँको लागि साँच्चै अविस्मरणीय दिन हुनेछ। तर यो त सुरुवात मात्र हो। यहोवा र उहाँको छोराप्रतिको तपाईँको प्रेम सधैँभरि बढ्‌दै जाओस्‌!

गीत १३५ यहोवाको न्यानो आग्रह: “हे मेरो छोरा, बुद्धिमान्‌ होऊ”

a बप्तिस्माको लागि योग्य हुन हाम्रो मनसाय सही हुनुपर्छ भनेर अघिल्लो लेखमा सिक्यौँ। साथै हामीले आवश्‍यक कदमहरू पनि चाल्नुपर्छ। हामी यस लेखमा इथियोपियाली अफिसरको उदाहरण विचार गर्दै बप्तिस्माको लागि योग्य हुन बाइबल विद्यार्थीले के-कस्ता कदमहरू चाल्नुपर्छ भनेर छलफल गर्नेछौँ।

b तस्बिरको व्याख्या: एक जवान बहिनी प्रार्थनामा यहोवाले तिनलाई दिनुभएका कुराहरूको लागि धन्यवाद दिँदै छिन्‌।