सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १२

यहोवाको सृष्टिबाट उहाँबारे अझ धेरै सिक्नुहोस्‌

यहोवाको सृष्टिबाट उहाँबारे अझ धेरै सिक्नुहोस्‌

“उहाँका अदृश्‍य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्‌गै देखिँदै आएका छन्‌।”—रोमी १:२०.

गीत ६ आकाशले परमेश्‍वरको महिमा गर्छ

परिचय a

१. अय्युबले यहोवालाई कसरी अझ राम्ररी चिन्‍न सके?

 अय्युबले आफ्नो जीवनकालमा धेरै जनासित कुराकानी गरे। तर तीमध्ये एउटा भने विशेष थियो—यहोवासितको कुराकानी। त्यस कुराकानीमा यहोवाले अय्युबलाई सृष्टिका अद्‌भुत कुराहरू हेर्न भन्‍नुभयो। यसले तिनलाई यहोवा बुद्धिमान्‌ हुनुहुन्छ र उहाँ आफ्ना सेवकहरूको ख्याल राख्नुहुन्छ भन्‍ने कुरामा अझ विश्‍वस्त हुन मदत गर्ने थियो। जस्तै: यहोवाले जीवजन्तुको हेरविचार गर्नुभएजस्तै अय्युबको पनि ख्याल राख्न सक्नुहुन्छ भनेर तिनलाई सम्झाउनुभयो। (अय्यु. ३८:३९-४१; ३९:१, ५, १३-१६) सृष्टिका यस्ता कुराहरू विचार गरेर तिनले परमेश्‍वरका गुणहरूबारे थुप्रै कुरा सिक्न सके।

२. यहोवाको सृष्टि नियाल्न किन सधैँ सजिलो नहुन सक्छ?

सृष्टिका कुराहरू नजिकबाट नियालेर हामी पनि परमेश्‍वरबारे अझ धेरै कुरा सिक्न सक्छौँ। तर यसो गर्न सधैँ सजिलो नहुन सक्छ। सहरमा बस्छौँ भने हामीले यहोवाको सृष्टिका कुराहरू देख्ने मौका त्यत्ति पाउँदैनौँ। यदि सहरबाहिर बस्छौँ भने पनि प्रकृतिलाई नजिकबाट नियाल्न समय नै छैन जस्तो लाग्न सक्छ। त्यसोभए सृष्टिका कुराहरू नियाल्न समय निकाल्नु र प्रयास गर्नु किन लाभदायी हुन्छ, छलफल गरौँ। साथै यहोवा र येसुले सृष्टिका कुराहरू प्रयोग गर्दै कसरी सिकाउनुभयो अनि प्रकृतिबाट अझ धेरै सिक्न के गर्न सक्छौँ, त्यसबारे छलफल गरौँ।

हामीले किन सृष्टिका कुराहरू नियाल्नुपर्छ?

आदमले सृष्टिबाट आनन्द उठाएको र जीवजन्तुको नाम राखेको यहोवा चाहनुहुन्थ्यो (अनुच्छेद ३ हेर्नुहोस्‌)

३. आदमले सृष्टि हेरेर आनन्द उठाएको यहोवा चाहनुहुन्थ्यो भनेर केले देखाउँछ?

यहोवा पहिलो मानिस आदमले उहाँको सृष्टि हेरेर आनन्द उठाएको चाहनुहुन्थ्यो। उहाँले तिनलाई बनाउनुभएपछि सुन्दर बगैँचामा राख्नुभयो अनि त्यसको रेखदेख गर्ने र त्यसलाई फैलाउँदै लैजाने काम दिनुभयो। (उत्प. २:८, ९, १५) बीउहरू अङ्‌कुराएको र फूलहरू फुलेको देख्दा आदम कत्ति खुसी भए होलान्‌! अदनको बगैँचाको रेखदेख गर्ने जिम्मेवारी पाउनु कत्ति ठूलो सुअवसर! यहोवाले आदमलाई विभिन्‍न जीवजन्तुको नाम राख्ने काम पनि दिनुभयो। (उत्प. २:१९, २०) हुनत उहाँ आफैले ती जीवजन्तुको नाम राख्न सक्नुहुन्थ्यो तर उहाँले त्यो काम आदमलाई दिनुभयो। तिनले पक्कै पनि कुनै जीवजन्तुको नाम राख्नुअघि तिनीहरूको गुण र स्वभाव होसियारीसाथ नियालेको हुनुपर्छ। आदमलाई त्यो काम निकै रमाइलो लागेको हुनुपर्छ। त्यस कामले तिनलाई यहोवा बुबा कत्ति बुद्धिमान्‌ र सृजनशील हुनुहुन्छ भनेर बुझ्न मदत गरेको हुनुपर्छ।

४. (क) हामीले सृष्टिका कुराहरू नियाल्नुपर्ने एउटा कारण के हो? (ख) तपाईँलाई सृष्टिको कुन कुरा धेरै मन पर्छ?

हामीले सृष्टिका कुराहरू नियाल्नुपर्ने एउटा कारण हो, यहोवा हामीले त्यसो गरेको चाहनुहुन्छ। उहाँले हामीलाई “आफ्नो आँखा उठाएर आकाशतिर हेर” भन्‍नुभएको छ। त्यसपछि उहाँ सोध्नुहुन्छ: “यी सब कसले बनाएका हुन्‌?” जवाफ स्पष्ट छ। (यसै. ४०:२६) यहोवाले आकाश, पृथ्वी र समुद्रमा भएका सम्पूर्ण कुरा सृष्टि गर्नुभयो र यी कुराहरूबाट हामी उहाँबारे सिक्न सक्छौँ। (भज. १०४:२४, २५) अनि उहाँले हामीलाई बनाउनुभएको तरिका पनि विचार गरौँ। उहाँले हामीलाई प्रकृतिका सुन्दर कुराहरू हेरेर आनन्द उठाउन सक्ने क्षमतासहित सृष्टि गर्नुभएको छ। उहाँले हामीलाई हेर्ने, सुन्‍ने, छुने, स्वाद लिने र सुँघ्ने क्षमता दिनुभएको छ, जसले गर्दा हामी सृष्टिका विभिन्‍न कुराबाट आनन्द उठाउन सक्छौँ।

५. रोमी १:२० अनुसार यहोवाको सृष्टिलाई नियाल्दा हामी कस्तो लाभ उठाउन सक्छौँ?

बाइबलमा हामीले सृष्टिका कुराहरू नियाल्नुपर्ने अर्को कारणबारे बताइएको छ। हामी सृष्टिका कुराहरूबाट यहोवाका गुणहरूबारे सिक्न सक्छौँ। (रोमी १:२० पढ्‌नुहोस्‌।) जस्तै: यहोवाले सृष्टि गर्नुभएका कुराहरूमा पाइने डिजाइनहरू याद गर्नुहोस्‌। के त्यसमा परमेश्‍वरको बुद्धि झल्किँदैन र? अनि थरीथरीको स्वादिष्ठ खानेकुराबारे पनि विचार गर्नुहोस्‌। यसबाट परमेश्‍वर मानिसहरूलाई कत्ति माया गर्नुहुन्छ भन्‍ने कुरा देखिन्छ। यहोवाको सृष्टिमा उहाँका के-कस्ता गुणहरू झल्किन्छ भनेर याद गर्दा हामीले उहाँलाई अझ राम्ररी चिन्‍न सक्छौँ र उहाँसित अझै घनिष्ठ हुन सक्छौँ। अब आउनुहोस्‌, यहोवा मानिसहरूलाई महत्त्वपूर्ण पाठहरू सिकाउन सृष्टिका कुराहरू कसरी प्रयोग गर्नुहुन्छ, विचार गरौँ।

परमेश्‍वर सृष्टिमार्फत आफूबारे सिकाउनुहुन्छ

६. बसाइँ सर्ने चराहरू हेरेर हामी कस्तो पाठ सिक्न सक्छौँ?

यहोवाको आफ्नै समयतालिका छ। इस्राएलीहरूले हरेक वर्ष फेब्रुअरीको अन्तदेखि मेको बीचसम्ममा आकाशमा गरुडहरूको बथान उत्तरतिर बसाइँ सरिरहेको देख्थे। परमेश्‍वरले इस्राएलीहरूलाई “गरुडले समेत समय थाह पाउँछ” भनेर बताउनुभयो। (यर्मि. ८:७) यहोवाले ती चराहरूको लागि समयतालिका तोक्नुभएजस्तै उहाँले आफ्नो न्याय कार्यान्वयन गर्ने समय पनि तोक्नुभएको छ। बसाइँ सर्ने चराहरू देख्दा यहोवाले आफ्नो “तोकिएको समयमा” यस दुष्ट संसारलाई नाश गर्नुहुनेछ भन्‍ने कुरामा हामी अझ विश्‍वस्त हुन सक्छौँ।—हब. २:३.

७. चराहरू उडिरहेको हेरेर हामी कस्तो पाठ सिक्न सक्छौँ? (यसैया ४०:३१)

यहोवा आफ्ना सेवकहरूलाई बल दिनुहुन्छ। यहोवाले यसैयामार्फत इस्राएलीहरूलाई तिनीहरू कमजोर वा निराश हुँदा ‘चीलझैँ पखेटा फिँजाएर माथि-माथि उड्‌न’ बल दिने प्रतिज्ञा गर्नुभयो। (यसैया ४०:३१ पढ्‌नुहोस्‌।) इस्राएलीहरूले आकाशमा चीलहरू तातो हावाको मदतले कावा खाइरहेको देख्थे। ती चराहरूलाई जस्तै यहोवाले हामीलाई पनि बल दिन सक्नुहुन्छ भन्‍ने कुरा यसले सम्झाउँछ। आकाशमा चीलहरू पखेटा नफटफटाईकन माथि-माथि उडिरहेको देख्दा यहोवाले तपाईँलाई समस्याहरूको सामना गर्न बल दिन सक्नुहुन्छ भन्‍ने कुरा सम्झनुहोस्‌।

८. परमेश्‍वरको सृष्टिबाट अय्युबले के सिके र हामी के सिक्न सक्छौँ?

यहोवा हाम्रो भरोसाको योग्य हुनुहुन्छ। यहोवाले अय्युबलाई उहाँमाथिको भरोसा बढाउन मदत गर्नुभयो। (अय्यु. ३२:२; ४०:६-८) उहाँले तिनीसित कुरा गर्नुहुँदा सृष्टिका थुप्रै पक्षबारे बताउनुभयो। जस्तै: तारा, बादल र बिजुली। यहोवाले जङ्‌गली साँढे र घोडाजस्ता जनावरहरूबारे पनि बताउनुभयो। (अय्यु. ३८:३२-३५; ३९:९, १९, २०) यी कुराहरूले परमेश्‍वरको असीमित शक्‍तिको मात्र होइन, उहाँको प्रेम र अथाह बुद्धिको पनि प्रमाण दिन्छ। यहोवासितको कुराकानीले गर्दा अय्युबले उहाँमाथि अझ धेरै भरोसा गर्न सिके। (अय्यु. ४२:१-६) त्यसैगरि हामीले सृष्टिबारे अध्ययन गर्दा यहोवा हामीभन्दा कता हो कता बुद्धिमान्‌ अनि शक्‍तिशाली हुनुहुन्छ भनेर सम्झन मदत पाउँछौँ। साथै उहाँले हाम्रा सबै परीक्षा हटाउन सक्नुहुन्छ र हटाउनु पनि हुनेछ। यस तथ्यले यहोवामाथिको भरोसालाई बलियो बनाउँछ।

येसुले सृष्टिमार्फत आफ्नो बुबाबारे सिकाउनुभयो

९-१०. हामी घाम र पानीबाट यहोवाबारे के सिक्न सक्छौँ?

यहोवाले ब्रह्‍माण्ड सृष्टि गर्नुहुँदा येसुले उहाँलाई “मुख्य कारिगरको रूपमा” सघाउनुभयो। (हितो. ८:३०) त्यसैले येसुलाई प्रकृतिबारे धेरै कुरा थाह थियो। पृथ्वीमा हुनुहुँदा येसुले चेलाहरूलाई आफ्नो बुबाबारे सिकाउन सृष्टिका कुराहरू प्रयोग गर्नुभयो। उहाँले सिकाउनुभएका केही पाठबारे विचार गरौँ।

१० यहोवा सबै मानिसलाई प्रेम गर्नुहुन्छ। डाँडाको उपदेशमा येसुले आफ्ना चेलाहरूलाई यहोवाको निष्पक्ष प्रेमबारे बुझाउन घाम र पानीबारे बताउनुभयो। यी कुराहरू मानिसको जीवनको लागि नभई नहुने कुरा हुन्‌। तर थुप्रै मानिस यी कुराहरू यादै गर्दैनन्‌। हुनत यहोवाले आफ्नो उपासना नगर्ने व्यक्‍तिहरूलाई यी कुराहरू नदिने निर्णय पनि गर्न सक्नुहुन्थ्यो। तर प्रेमले गर्दा उहाँले सबै मानिसलाई घाम र पानी दिनुभएको छ। (मत्ति ५:४३-४५) हामीले सबैलाई प्रेम गरेको यहोवा चाहनुहुन्छ भन्‍ने कुरा चेलाहरूलाई बुझाउन येसुले सृष्टिका यी कुराहरू प्रयोग गर्नुभयो। हामीले सूर्यास्तको मनमोहक दृश्‍य र पानी पर्दाको शितलताको आनन्द उठाउँदा यहोवाको निष्पक्ष प्रेमबारे मनन गर्न सक्छौँ। उहाँको उदाहरणले हामीलाई साक्षीकार्यमा भेटिने सबैलाई त्यस्तै प्रेम देखाउन उत्प्रेरित गर्छ।

११. चराचुरुङ्‌गीलाई नियाल्दा हामी कस्तो प्रोत्साहन पाउन सक्छौँ?

११ यहोवा हाम्रो भौतिक आवश्‍यकताको ख्याल राख्नुहुन्छ। सोही उपदेशमा येसुले यसो पनि भन्‍नुभयो: “आकाशका चराचुरुङ्‌गीलाई नियालेर हेर किनभने तिनीहरू न बिउ छर्छन्‌ न कटनी गर्छन्‌ न त भण्डारमै जम्मा गर्छन्‌ तैपनि स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले तिनीहरूलाई खुवाउनुहुन्छ।” त्यसपछि उहाँले आफ्ना श्रोताहरूलाई यस्तो प्रश्‍न सोध्नुभयो: “के तिमीहरू तिनीहरूभन्दा बहुमूल्य छैनौ?” (मत्ति ६:२६) यो प्रश्‍न सोध्नुहुँदा सायद तिनीहरूले आकाशमा चराहरू उडिरहेको देख्न सक्थे। यसरी यहोवा हाम्रो भौतिक आवश्‍यकताको ख्याल राख्नुहुन्छ भन्‍ने कुरा उहाँले मायालु तरिकामा बुझाउनुभयो। (मत्ति ६:३१, ३२) यस कुराबाट यहोवाका सेवकहरूले आज पनि बल पाइरहेका छन्‌। स्पेनकी एक जवान अग्रगामी बहिनीलाई विचार गरौँ। तिनी बस्नको लागि उपयुक्‍त ठाउँ नपाएकोले निराश थिइन्‌। तर चराले अन्‍नका दानाहरू अनि फलहरू खाँदै गरेको देखेपछि तिनी सकारात्मक हुन सकिन्‌। तिनी भन्छिन्‌: “ती चराहरू देख्दा यहोवा तिनीहरूको त ख्याल राख्नुहुन्छ भने मेरो पनि पक्कै ख्याल राख्नुहुन्छ भनेर सम्झन सकेँ।” त्यसको केही समयपछि ती बहिनीले बस्नको लागि राम्रो ठाउँ पाइन्‌।

१२. मत्ति १०:२९-३१ अनुसार भँगेराबाट यहोवाबारे के सिक्न सक्छौँ?

१२ यहोवा हामी प्रत्येकको मोल गर्नुहुन्छ। प्रेषितहरूलाई साक्षीकार्यमा पठाउनुअघि येसुले तिनीहरूलाई विरोधीहरूदेखि नडराउन प्रोत्साहन दिनुभयो। (मत्ति १०:२९-३१ पढ्‌नुहोस्‌।) यसको लागि उहाँले इस्राएलमा धेरैजसो पाइने भँगेराबारे बताउनुभयो। येसुको समयका मानिसहरू ती चराहरूलाई कुनै मोलको ठान्दैनथे। तर उहाँले चेलाहरूलाई यसो भन्‍नुभयो: “तीमध्ये एउटा पनि तिमीहरूका बुबाले थाह नपाई भुईँमा झर्दैन।” त्यसपछि उहाँले यसो भन्‍नुभयो: “तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ।” यसरी येसुले चेलाहरूलाई यहोवा तिनीहरू प्रत्येकको मोल गर्नुहुन्छ भनेर आश्‍वासन दिनुभयो। त्यसैले तिनीहरू विरोधीहरूदेखि डराउनुपर्ने कुनै कारण थिएन। सहर अनि गाउँहरूमा साक्षी दिँदै गर्दा भँगेराहरू देख्दा तिनीहरूले येसुका यी शब्दहरू सम्झेको हुनुपर्छ। ती साना चराहरू देख्दा यहोवा तपाईँको मोल गर्नुहुन्छ भन्‍ने कुरा सम्झनुहोस्‌ किनकि तपाईँ पनि “थुप्रै भँगेराभन्दा बहुमूल्य हुनुहुन्छ।” उहाँको मदत पाएर तपाईँ निर्धक्क भई विरोधको सामना गर्न सक्नुहुन्छ।—भज. ११८:६.

सृष्टिबाट परमेश्‍वरबारे अझ धेरै सिक्न के गर्न सक्छौँ?

१३. सृष्टिबाट पाठहरू सिक्न हामीले के गर्नुपर्छ?

१३ सृष्टिबाट यहोवाबारे हामी अरू थुप्रै पाठ सिक्न सक्छौँ। कसरी? सुरुमा हामीले सृष्टिलाई नियाल्न समय निकाल्नुपर्छ। त्यसपछि सृष्टिबाट यहोवाबारे के सिक्न सकिन्छ भनेर मनन गर्नुपर्छ। यी कदमहरू चाल्न सधैँ सजिलो नहुन सक्छ। क्यामरूनकी जेराल्डिन यसो भन्छिन्‌: “म सहरमा हुर्केकोले प्रकृतिलाई नियाल्न थप प्रयास गर्नुपर्थ्यो।” अल्फोन्सो भन्‍ने एल्डर यसो भन्छन्‌: “यहोवाको सृष्टिलाई नियाल्न र यसले उहाँबारे सिकाउने कुरामा मनन गर्न समय निकाल्नुपर्छ भनेर मैले सिकेँ।”

आफूवरपर भएका सृष्टिका कुराहरू नियालेर दाउदले यहोवाबारे के सिक्न सकिन्छ भन्‍ने कुरामा मनन गरे (अनुच्छेद १४ हेर्नुहोस्‌)

१४. परमेश्‍वरको सृष्टिमा मनन गर्दा दाउदले के सिके?

१४ दाउदले यहोवाको सृष्टिमा गहिरिएर मनन गरे। तिनले यहोवालाई यसो भने: “आकाशमा तपाईँको औँलाको कामलाई विचार गर्दा, तपाईँले बनाउनुभएका जून र तारालाई हेर्दा मानिस के हो र, जसलाई तपाईँ सम्झनुहुन्छ? मानिसका सन्तान के हुन्‌ र, जसको तपाईँ ख्याल राख्नुहुन्छ?” (भज. ८:३, ४) दाउदले राती आकाशमा टिलपिल गर्ने ताराहरू हेरेर त्यसबाट आनन्द मात्र उठाएनन्‌, तिनले ती ताराहरूबाट यहोवाबारे के सिक्न सकिन्छ भन्‍ने कुरामा मनन पनि गरे। तिनले यहोवा कत्ति महान्‌ हुनुहुन्छ भनेर सिके। दाउदले तिनी आमाको गर्भमा कसरी बढ्‌दै गए भन्‍ने कुरा पनि विचार गरे। आफू अचम्मलाग्दो तरिकामा बनिएको कुरामा मनन गर्दा तिनले यहोवा कत्ति बुद्धिमान्‌ हुनुहुन्छ भनेर बुझ्न सके।—भज. १३९:१४-१७.

१५. यहोवाको सृष्टिमा तपाईँले उहाँका कस्ता गुणहरू याद गर्नुभएको छ, केही उदाहरण बताउनुहोस्‌। (भजन १४८:७-१०)

१५ दाउदले जस्तै तपाईँले पनि आफूवरपर सृष्टिका थुप्रै कुरा देख्न सक्नुहुन्छ। यस्ता कुराहरूमा मनन गर्दा तपाईँले यहोवाका थुप्रै गुणबारे थाह पाउन सक्नुहुन्छ। जस्तै: न्यानो घाम ताप्दा यहोवाको शक्‍तिबारे सोच्नुहोस्‌। (यर्मि. ३१:३५) चराले गुँड बनाइरहेको देख्दा यहोवाको बुद्धिबारे विचार गर्नुहोस्‌। कुकुरको छाउरा आफ्नो पुच्छर समाउन फनफनी घुमिरहेको देख्दा यहोवा हँसीमजाक गर्न मन पराउनुहुन्छ भन्‍ने कुरा याद गर्नुहोस्‌। अनि आमा आफ्नो बच्चासित खेलिरहेको देख्दा यहोवाले मानिसलाई माया गर्ने क्षमता दिनुभएकोमा उहाँलाई धन्यवाद दिनुहोस्‌। हामीसित यहोवाबारे सिक्ने थुप्रै मौका छन्‌ किनकि सबै सृष्टिले उहाँको प्रशंसा गर्छ, चाहे ती ठूला होऊन्‌ या साना, हामीदेखि नजिक होऊन्‌ या टाढा।—भजन १४८:७-१० पढ्‌नुहोस्‌।

१६. हामीले के गर्ने सङ्‌कल्प गर्नुपर्छ?

१६ हाम्रो परमेश्‍वर सबैभन्दा बुद्धिमान्‌, मायालु, सृजनशील र शक्‍तिशाली हुनुहुन्छ। हामीले आफूवरपर भएका सृष्टिका कुराहरू ध्यान दिएर नियाल्यौँ भने यहोवाका यी तथा अन्य गुणहरूबारे थाह पाउनेछौँ। सृष्टिका कुराहरू हेरेर आनन्द उठाउन र यसले यहोवाबारे के सिकाउँछ भनेर विचार गर्न हामीले नियमित रूपमा समय निकाल्नुपर्छ। यसो गर्दा हामी सृष्टिकर्तासित अझ नजिक हुनेछौँ। (याकु. ४:८) आमाबुबाले छोराछोरीलाई यहोवासित नजिक हुन मदत गर्न सृष्टिका कुराहरू कसरी प्रयोग गर्न सक्छन्‌, त्यसबारे अर्को लेखमा छलफल गर्नेछौँ।

गीत ५ यहोवाका आश्‍चर्यजनक कामहरू

a यहोवाको सृष्टिले हामीमा श्रद्धाभाव जगाउँछ। सूर्यको अथाह शक्‍तिदेखि कोमल फूलहरू उहाँकै सृष्टि हुन्‌। त्यो देख्दा हामी अचम्मित हुन्छौँ। हामी सृष्टिबाट यहोवाको व्यक्‍तित्वका विभिन्‍न पक्षबारे धेरै कुरा सिक्न सक्छौँ। यस लेखमा सृष्टिलाई नियाल्न किन समय निकाल्नुपर्छ र यसो गर्दा हामी कसरी परमेश्‍वरको अझ नजिक हुन सक्छौँ भनेर छलफल गर्नेछौँ।