सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १२

गीत ७७ अन्धकार संसारमा आशाको किरण

अन्धकारबाट निस्केर ज्योतिमा हिँडिरहनुहोस्‌

अन्धकारबाट निस्केर ज्योतिमा हिँडिरहनुहोस्‌

“कुनै बेला तिमीहरू अन्धकारमा थियौ तर . . . अहिले ज्योतिमा छौ।”​—एफि. ५:८.

सिक्न सकिने कुरा

एफिसी अध्याय ५ मा पावलले प्रयोग गरेका अन्धकार र ज्योति शब्दहरूबाट हामी के सिक्न सक्छौँ?

१-२. (क) पावलले एफिसीहरूलाई कुन अवस्थामा पत्र लेखे? (ख) हामी कुन-कुन प्रश्‍न छलफल गर्नेछौँ?

 प्रेषित पावल भाइबहिनीलाई प्रोत्साहन दिन चाहन्थे। तर तिनी रोममा नजरबन्दमा भएकोले भेटेरै प्रोत्साहन दिन सक्दैनथे। त्यसैले तिनले पत्रहरू लेखे। तिनले एफिसीहरूलाई पनि पत्र लेखेका थिए, जुन सायद तिनले इस्वी संवत्‌ ६० वा ६१ मा लेखेको हुनुपर्छ।​—एफि. १:१; ४:१.

लगभग १० वर्षअघि पावलले एफिससमा केही समय बसेर त्यहाँका मानिसहरूलाई सुसमाचार सुनाएका र सिकाएका थिए। (प्रेषि. १९:१, ८-१०; २०:२०, २१) त्यहाँका भाइबहिनीलाई धेरै प्रेम गर्ने भएकोले तिनी उनीहरूलाई यहोवाप्रति वफादार रहन मदत गर्न चाहन्थे। तर तिनले त्यहाँका अभिषिक्‍त ख्रिष्टियनहरूलाई किन अन्धकार र ज्योतिबारे लेखे? तिनले दिएको यस सल्लाहबाट सबै ख्रिष्टियनले कस्तो पाठ सिक्न सक्छन्‌? आउनुहोस्‌, यी प्रश्‍नहरूबारे छलफल गरौँ।

अन्धकारबाट ज्योतिमा

३. एफिसीहरूलाई लेखेको पत्रमा पावलले कस्ता शब्दहरू प्रयोग गरे?

पावलले एफिससका ख्रिष्टियनहरूलाई यस्तो लेखे: “कुनै बेला तिमीहरू अन्धकारमा थियौ तर . . . अहिले ज्योतिमा छौ।” (एफि. ५:८) तिनले यहाँ दुइटा बिलकुलै फरक अवस्थालाई बुझाउन अन्धकार र ज्योति शब्द प्रयोग गरे। तिनले किन उनीहरू “कुनै बेला . . . अन्धकारमा” थिए भने? आउनुहोस्‌, त्यसबारे विचार गरौँ।

४. एफिससका मानिसहरू कुन अर्थमा धार्मिक अन्धकारमा थिए?

धार्मिक अन्धकार। एफिससका ख्रिष्टियनहरू सत्य सिकेर येसुको चेला बन्‍नुअघि झूटो धर्म र अन्धविश्‍वासको दासत्वमा थिए। एफिसस सहरमा अर्तिमिस देवीको प्रख्यात मन्दिर थियो, जसलाई त्यसबेला संसारका सात आश्‍चर्यमध्ये एक मानिन्थ्यो। त्यहाँका मानिसहरू मूर्तिपूजामा लिप्त थिए। कारिगरहरू अर्तिमिस देवीका मूर्तिहरू र त्यसका साना मन्दिरहरू बनाएर धेरै पैसा कमाउँथे। (प्रेषि. १९:२३-२७) साथै त्यस सहरका मानिसहरूले जादुगरी गर्न सिपालु भन्‍ने नाम कमाएका थिए।​—प्रेषि. १९:१९.

५. एफिससका मानिसहरू कुन अर्थमा नैतिक अन्धकारमा थिए?

नैतिक अन्धकार। एफिसस सहर नैतिक रूपमा पतन भइसकेको थियो र निर्लज्ज आचरणमा चुर्लुम्म डुबेको थियो। मानिसहरू सहरका रङ्‌गमञ्चहरूमा मात्र नभई धार्मिक समारोहहरूमा समेत अश्‍लील ठट्टा गर्थे। (एफि. ५:३) त्यहाँका धेरैजसो मानिसले “नैतिक चेतना गुमाइसकेका” थिए, जसको शाब्दिक अर्थ “कुनै किसिमको पीडा महसुस नगर्नु” भन्‍ने हो। (एफि. ४:१७-१९) सही र गलतबारे यहोवाको स्तर सिक्नुअघि कुनै गलत काम गर्दा तिनीहरूलाई अन्तस्करणले घोच्दैन थियो। तिनीहरूको काम देखेर यहोवालाई कस्तो लागिरहेको छ भनेर तिनीहरूलाई वास्तै थिएन। त्यसैले पावलले “तिनीहरूको दिमाग अन्धकारमा छ अनि परमेश्‍वरले दिनुहुने जीवनबाट तिनीहरू टाढा भएका छन्‌” भनेर लेखे।

६. पावलले किन केही एफिसी ‘अहिले ज्योतिमा छन्‌’ भने?

तर केही एफिसी अन्धकारबाट निस्के। पावलले तिनीहरू ‘ख्रिष्टसित एकतामा भएकोले अहिले ज्योतिमा छन्‌’ भनेर लेखे। (एफि. ५:८) तिनीहरू परमेश्‍वरको वचनअनुसार जिउन थालेकोले एक अर्थमा तिनीहरूलाई ज्योतिले डोऱ्‍याइरहेको थियो। (भज. ११९:१०५) तिनीहरूले झूटो धर्मका रीतिथिति र अनैतिक आचरण त्यागे। तिनीहरू ‘परमेश्‍वरको देखासिकी गर्नेहरू’ भए अनि उहाँको उपासना गर्न र उहाँलाई खुसी तुल्याउन अथक प्रयास गरे।—एफि. ५:१.

७. हाम्रो अवस्था किन एफिससका ख्रिष्टियनहरूको अवस्थासित मिल्दोजुल्दो छ?

त्यसैगरि हामी पनि सत्य सिक्नुअघि धार्मिक र नैतिक अन्धकारमा थियौँ। हामीमध्ये केहीले झूटो धर्मका चाडपर्व मनाउँथ्यौँ अनि अरू कतिपयले चाहिँ अनैतिक जीवन बिताउँथ्यौँ। तर हामीले सही र गलतबारे यहोवाको स्तर सिकेपछि जीवनमा परिवर्तन गऱ्‍यौँ। हामी उहाँको धार्मिक स्तरअनुसार जिउन थाल्यौँ अनि यसो गर्दा हामीले थुप्रै लाभ उठाएका छौँ। (यसै. ४८:१७) हामी निस्केर आएको अन्धकारबाट टाढा रहन अनि “ज्योतिका सन्तानझैँ” हिँडिरहन सधैँ सजिलो भने हुँदैन। तर हामी कसरी त्यसो गर्न सक्छौँ?

Image digitally reproduced with the permission of the Papyrology Collection, Graduate Library, University of Michigan, P.Mich.inv. 6238. Licensed under CC by 3.0

पावलले एफिसीहरूलाई लेखेको मायालु सल्लाह आज हामी पनि लागू गर्न सक्छौँ (अनुच्छेद ७ हेर्नुहोस्‌) b


अन्धकारबाट टाढा रहनुहोस्‌

८. एफिसी ५:३-५ अनुसार एफिससका ख्रिष्टियनहरू केबाट अलग रहनुपर्थ्यो?

एफिसी ५:३-५ पढ्‌नुहोस्‌। एफिससका ख्रिष्टियनहरू नैतिक अन्धकारबाट टाढा रहन यहोवालाई दुःखी बनाउने कामहरूबाट पूर्णतया अलग रहनुपर्थ्यो। त्यसमा अवैध यौनसम्बन्धबाट मात्र नभई अश्‍लील ठट्टा पनि समावेश थियो। पावलले एफिससका ख्रिष्टियनहरूलाई तिनीहरू “ख्रिष्ट अनि परमेश्‍वरको राज्यको हकदार” हुन चाहन्छन्‌ भने ती घिनलाग्दा आचरणहरूबाट टाढा रहनुपर्छ भनेर सम्झाए।

९. हामी किन अवैध यौनसम्बन्धतर्फ डोऱ्‍याउने जुनसुकै कुराबाट अलग रहनुपर्छ?

हामी पनि “अन्धकारका निष्फल कामहरूमा” नअल्झिन सधैँ होसियार रहनुपर्छ। (एफि. ५:११) कुनै व्यक्‍तिले अशुद्ध वा अनैतिक कुराहरू हेर्ने, सुन्‍ने वा त्यसबारे कुरा गर्ने गर्छन्‌ भने तिनी सजिलै त्यस्तो काम गर्ने हदसम्म पुग्न सक्छन्‌। (उत्प. ३:६; याकु. १:१४, १५) एउटा देशमा भाइहरूको एउटा ठूलो समूहले सामाजिक सञ्जालमा जोडिएर एकअर्कासित कुराकानी गर्न थाले। सुरु-सुरुमा आध्यात्मिक कुराकानी हुने गर्थ्यो। तर समय बित्दै जाँदा तिनीहरूको कुराकानी यहोवालाई मन नपर्ने किसिमको हुन थाल्यो। तिनीहरू प्रायजसो यौनबारे कुरा गर्थे। यस्तो बानीले गर्दा तिनीहरूमध्ये धेरैले आफू अवैध यौनसम्बन्ध राख्ने हदसम्म पुगेको कुरा स्विकारे।

१०. सैतानले हामीलाई कसरी झुक्क्याउँछ? (एफिसी ५:६)

१० यहोवाले अनैतिक र अशुद्ध ठान्‍नुहुने कुराहरूमा कुनै खतरा छैन भन्‍ने कुरा सोच्न लगाएर सैतानको संसारले हामीलाई झुक्क्याउन खोज्छ। (२ पत्रु. २:१९) यो कुनै अचम्मलाग्दो कुरा होइन। किनभने दुष्ट सैतानले लामो समयदेखि यही पासो प्रयोग गरेर मानिसहरूलाई अलमल्याइरहेको छ, जसले गर्दा तिनीहरूले सही र गलतबीचको फरक छुट्ट्याउन सकेका छैनन्‌। (यसै. ५:२०; २ कोरि. ४:४) धेरैजसो चलचित्र, टिभी कार्यक्रम र वेबसाइटले यहोवाको धार्मिक स्तरसित बाझिने विचारधारालाई बढावा दिन्छ। धूर्त सैतान हामीले अशुद्ध काम र जीवनशैली स्वीकार्य हुनुका साथै रमाइलो र अहानिकारक छ भनेर सोचेको चाहन्छ।​—एफिसी ५:६ पढ्‌नुहोस्‌।

११. एफिसी ५:७ को सल्लाह लागू गर्नु महत्त्वपूर्ण छ भनेर एन्जेलाको अनुभवले कसरी देखाउँछ? (तस्बिर पनि हेर्नुहोस्‌।)

११ हामीले यहोवाको स्तरअनुसार चल्न बाधा पुऱ्‍याउने मानिसहरूसित सङ्‌गत गरेको सैतान चाहन्छ। त्यसैले पावलले एफिससका ख्रिष्टियनहरूलाई यहोवाको नजरमा गलत काम गर्ने मानिसहरूका “कामको भागीदार नबन” भनेर आग्रह गरे। (एफि. ५:७) हामीले याद गर्नुपर्ने कुरा के हो भने सङ्‌गत भनेको कसैसित प्रत्यक्ष भेटेर समय बिताउनु मात्र त होइन। यसमा कसैसित सामाजिक सञ्जालमा कुराकानी गर्नु पनि समावेश छ। त्यसैले हामी प्राचीन एफिससका ख्रिष्टियनहरूभन्दा अझ होसियार हुनुपर्छ। एसियामा बस्ने एन्जेलाले a सामाजिक सञ्जाल कत्ति खतरनाक हुन सक्छ भनेर बुझिन्‌। तिनी भन्छिन्‌: “यो एउटा पासो नै हो र यसले चालै नपाई तपाईँको सोचाइलाई बङ्‌ग्याइदिन सक्छ। म पनि बाइबलका सिद्धान्तहरूको कदर नगर्ने मानिसहरूलाई साथी बनाउने हदसम्म पुगेँ र मलाई त्यसो गर्नुमा कुनै खतरा छैन जस्तो लागेको थियो। समय बित्दै जाँदा मैले यहोवालाई मन नपर्ने तरिकामा जीवन बिताउनुमा कुनै खराबी छैन भन्‍ने सोचाइ राख्न थाले।” तर खुसीको कुरा, मायालु एल्डरहरूले एन्जेलालाई आफ्नो सोचाइ परिवर्तन गर्न मदत गरे। तिनी भन्छिन्‌: “अहिले म सामाजिक सञ्जाललाई भन्दा आध्यात्मिक कुरालाई धेरै महत्त्व दिन्छु।”

असल सङ्‌गतले हामीलाई यहोवाको स्तरअनुसार चलिरहन मदत गर्छ (अनुच्छेद ११ हेर्नुहोस्‌)


१२. सही र गलतसम्बन्धी यहोवाको स्तरअनुसार चलिरहन हामीले के गर्नुपर्छ?

१२ हामीले अनैतिक आचरण स्वीकार्य छ भन्‍ने संसारको सोचाइलाई तिरस्कार गर्नुपर्छ किनभने यो गलत सोचाइ हो। (एफि. ४:१९, २०) त्यसैले हामीले आफैलाई यी प्रश्‍नहरू सोध्नुपर्छ: ‘के म यहोवाको धार्मिक स्तरको कदर नगर्ने सहकर्मी, सहपाठी वा अरूसित ज्यादै हिमचिम नबढाउन सतर्क छु? अरूले मलाई कट्टर भने पनि के म साहसी भई यहोवाको स्तरअनुसार चल्छु?’ दोस्रो तिमोथि २:२०-२२ मा बताइएझैँ हामी मण्डलीभित्र पनि घनिष्ठ साथी बनाउने सन्दर्भमा होसियार हुनु आवश्‍यक छ। कसै-कसैले हामीलाई वफादार भई यहोवाको सेवामा लागिरहन बाधा पुऱ्‍याउन सक्छ भन्‍ने कुरा मनमा राख्नुपर्छ।

“ज्योतिका सन्तानझैँ हिँड”

१३. “ज्योतिका सन्तानझैँ” हिँड्‌नुको अर्थ के हो? (एफिसी ५:७-९)

१३ पावलले एफिससका ख्रिष्टियनहरूलाई अन्धकारबाट टाढा रहिरहन मात्र होइन, “ज्योतिका सन्तानझैँ” हिँडिरहन पनि प्रोत्साहन दिए। (एफिसी ५:७-९ पढ्‌नुहोस्‌।) यसको अर्थ के हो? सरल शब्दमा भन्‍नुपर्दा, यसको अर्थ हामी साँचो ख्रिष्टियन हौँ भनेर सधैँ आफ्नो आचरणद्वारा देखाउनु हो। यसको लागि हामीले नियमित रूपमा बाइबल र बाइबलआधारित प्रकाशनहरू पढ्‌नुपर्छ र अध्ययन गर्नुपर्छ। हामीले यस “संसारको ज्योति” येसु ख्रिष्टले बसाल्नुभएको उदाहरण र उहाँको शिक्षामा ध्यान दिनु पनि उत्तिकै महत्त्वपूर्ण छ।​—युह. ८:१२; हितो. ६:२३.

१४. पवित्र शक्‍तिले हामीलाई कसरी मदत गर्छ?

१४ “ज्योतिका सन्तानझैँ” हिँडिरहन हामीलाई परमेश्‍वरको पवित्र शक्‍ति पनि चाहिन्छ। किन? किनभने यस अनैतिक संसारमा चोखो रहिरहन सजिलो छैन। (१ थिस्स. ४:३-५, ७, ८) पवित्र शक्‍तिले हामीलाई यस संसारको सोचाइविरुद्ध लड्‌न मदत गर्छ, जसमा परमेश्‍वरको सोचाइसित मेल नखाने मानव दर्शन र खोक्रा विचारधारा समावेश छन्‌। साथै पवित्र शक्‍तिले हामीलाई ‘हरकिसिमका भलाइ अनि धार्मिकताको फल’ फलाउन पनि मदत गर्छ।​—एफि. ५:९.

१५. हामी कसरी पवित्र शक्‍ति पाउन सक्छौँ? (एफिसी ५:१९, २०)

१५ हामीले पवित्र शक्‍ति पाउने एउटा तरिका त्यसको लागि प्रार्थना गर्नु हो। यहोवाले ‘उहाँसित माग्नेहरूलाई पवित्र शक्‍ति दिनुहुन्छ’ भनेर येसुले बताउनुभएको थियो। (लुका ११:१३) साथै हामीले सभामा सँगै मिलेर यहोवाको प्रशंसा गर्दा पनि पवित्र शक्‍ति पाउन सक्छौँ। (एफिसी ५:१९, २० पढ्‌नुहोस्‌।) यसले हाम्रो जीवनमा प्रभाव पार्दा हामीले यहोवालाई मन पर्ने तरिकामा जीवन बिताउन सक्नेछौँ।

१६. हामीलाई बुद्धिमानी निर्णय गर्न केले मदत गर्छ? (एफिसी ५:१०, १७)

१६ हामीले कुनै महत्त्वपूर्ण निर्णय गर्नुपर्दा “यहोवा परमेश्‍वरको इच्छा के हो,” त्यो बुझ्नुपर्छ र त्यसअनुसार कदम चाल्नुपर्छ। (एफिसी ५:१०, १७ पढ्‌नुहोस्‌।) हामी आफ्नो अवस्थासित मिल्ने बाइबल सिद्धान्तहरू खोज्दा परमेश्‍वरको सोचाइ बुझ्ने प्रयास गरेको देखाइरहेका हुन्छौँ। ती सिद्धान्तहरू लागू गर्दा हामीले सही निर्णय गर्न सक्नेछौँ।

१७. समयको पूर्ण सदुपयोग गर्नुमा के समावेश छ? (एफिसी ५:१५, १६) (चित्र पनि हेर्नुहोस्‌।)

१७ पावलले एफिससका ख्रिष्टियनहरूलाई आफ्नो समयको पूर्ण सदुपयोग गर्न पनि सल्लाह दिए। (एफिसी ५:१५, १६ पढ्‌नुहोस्‌।) “दुष्ट” सैतानले हामीलाई व्यस्त राख्न संसारका थोकहरू चलाउँछ, जसले गर्दा हामीसित परमेश्‍वरको सेवा गर्ने समय नै नहुन सक्छ। (१ युह. ५:१९) ख्रिष्टियनहरूसमेत यहोवाको सेवालाई भन्दा भौतिक कुरा, शिक्षा र करिअरलाई बढी महत्त्व दिने हदसम्म पुग्न सक्छन्‌। त्यसो गर्ने व्यक्‍ति यस संसारको सोचाइबाट प्रभावित भएको देखिन्छ। हुनत यी कुराहरू आफैमा गलत छैनन्‌ तर हामीले त्यस्ता कुराहरूलाई जीवनमा कहिल्यै पनि प्राथमिकता दिनु हुँदैन। “ज्योतिका सन्तानझैँ” हिँड्‌न हामीले साँच्चै महत्त्वपूर्ण कुराहरूमा ध्यान दिएर “समयको पूर्ण सदुपयोग” गर्नुपर्छ।

एफिससका ख्रिष्टियनहरूलाई समयको पूर्ण सदुपयोग गर्न आग्रह गरिएको थियो (अनुच्छेद १७ हेर्नुहोस्‌)


१८. डोनाल्डले समयको पूर्ण सदुपयोग गर्न कस्ता कदमहरू चाले?

१८ यहोवाको सेवा गर्ने विभिन्‍न तरिकाहरू खोज्नुहोस्‌। दक्षिण अफ्रिकामा बस्ने डोनाल्डले पनि त्यसै गरे। तिनी भन्छन्‌: “मैले आफ्नो परिस्थिति विचार गरेँ अनि क्षेत्र सेवामा अझ फलदायी हुन सकूँ भनेर यहोवालाई व्यग्र बिन्ती गरेँ। म साक्षीकार्यमा धेरै समय बिताउन चाहन्थेँ। त्यसैले उपयुक्‍त काम भेट्टाउन मदत गरिदिनुहोस्‌ भनेर पनि प्रार्थना गरेँ। उहाँको मदतले ठ्याक्कै त्यस्तै काम पाएँ। त्यसपछि म र मेरी पत्नीले सँगै पूर्ण-समय सेवा थाल्यौँ।”

१९. हामी कसरी “ज्योतिका सन्तानझैँ” हिँडिरहन सक्छौँ?

१९ पावलले एफिससका ख्रिष्टियनहरूलाई लेखेको पत्रले तिनीहरूलाई यहोवाप्रति वफादार रहन पक्कै मदत गऱ्‍यो। परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको त्यो पत्र आज हाम्रो लागि पनि उत्तिकै उपयोगी छ। हामीले सिकेझैँ त्यसले हामीलाई मनोरञ्जन र सङ्‌गत छान्‍ने सन्दर्भमा सही निर्णय गर्न मदत गर्छ। साथै हामीलाई नियमित रूपमा बाइबल अध्ययन गरेर सत्यको ज्योतिमा हिँडिरहन उत्प्रेरित गर्छ। त्यस पत्रले पवित्र शक्‍तिको महत्त्व बुझ्न मदत गर्छ, जुन शक्‍ति पाएर हामी असल गुणहरू विकास गर्न सक्छौँ। पावलका सल्लाहहरू लागू गऱ्‍यौँ भने यहोवाको सोचाइसित मेल खाने निर्णय गर्न सक्नेछौँ। यसो गऱ्‍यौँ भने यस संसारको अन्धकारबाट टाढा रहन र ज्योतिमा रहिरहन सक्नेछौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • एफिसी ५:८ मा उल्लेख गरिएको “अन्धकार” र “ज्योति”-ले केलाई बुझाउँछ?

  • हामी कसरी “अन्धकार”-बाट टाढा रहन सक्छौँ?

  • हामी कसरी “ज्योतिका सन्तानझैँ” हिँडिरहन सक्छौँ?

गीत ९५ ज्योति झनै चहकिलो भयो

a केही नाम परिवर्तन गरिएका छन्‌।

b चित्रको व्याख्या: पावलले एफिसीहरूलाई लेखेको पत्रको एउटा पुरातन प्रतिलिपि।