सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १३

गीत १२७ म कस्तो मानिस बनूँ?

के तपाईँमाथि यहोवाको अनुमोदन छ?

के तपाईँमाथि यहोवाको अनुमोदन छ?

“मैले तिमीलाई स्विकारेको छु।”​—लुका ३:२२.

सिक्न सकिने कुरा

यहोवाको अनुमोदन पाएको छु कि छैनँ भन्‍ने शङ्‌का कसरी हटाउन सक्छौँ?

१. यहोवाका केही वफादार सेवक किन निरुत्साहित हुन सक्छन्‌?

 यहोवा आफ्ना मानिसहरूलाई समूहको रूपमा अनुमोदन दिनुहुन्छ भनेर थाह पाउनु साँच्चै आश्‍वासनदायी छ! बाइबल भन्छ: “यहोवा आफ्ना मानिसहरूसित खुसी हुनुहुन्छ।” (भज. १४९:४) तर कहिलेकाहीँ कोही-कोही यत्ति धेरै निराश हुन्छन्‌ कि तिनीहरू यस्तो सोच्ने गर्छन्‌: ‘के यहोवा मसित साँच्चै खुसी हुनुहुन्छ?’ बाइबलकालीन समयका यहोवाका केही वफादार उपासक पनि यस्तै भावनाले गर्दा निरुत्साहित भएका थिए।​—१ समु. १:६-१०; अय्यु. २९:२, ४; भज. ५१:११.

२. यहोवाको अनुमोदन कसले पाउन सक्छन्‌?

त्रुटिपूर्ण मानिसहरूले यहोवाको अनुमोदन पाउन सक्छन्‌। तर कसरी? हामीले येसु ख्रिष्टमाथि विश्‍वास गरेको आफ्नो कामद्वारा देखाउनुपर्छ र बप्तिस्मा गर्नुपर्छ। (युह. ३:१६) यसो गरेर हामीले आफ्नो पापको पश्‍चात्ताप गरेको र यहोवाको इच्छाअनुसार जीवन बिताउन वाचा गरेको जनसमक्ष देखाइरहेका हुन्छौँ। (प्रेषि. २:३८; ३:१९) हामीले यहोवासित घनिष्ठ सम्बन्ध गाँस्न यस्ता कदमहरू चाल्दा उहाँलाई खुसी लाग्छ। आफ्नो समर्पणको वाचाअनुसार जीवन बिताउन यथासक्दो गरिरह्‍यौँ भने हामी यहोवाको अनुमोदन पाउँछौँ र उहाँ हामीलाई आफ्नो घनिष्ठ मित्र बनाउनुहुन्छ।​—भज. २५:१४.

३. अब हामी के छलफल गर्नेछौँ?

तर कसै-कसैलाई आफूले यहोवाको अनुमोदन पाएको छैनँ जस्तो किन लाग्न सक्छ? यहोवाले हामीमाथि उहाँको अनुमोदन छ भनेर कसरी देखाउनुहुन्छ? उहाँको अनुमोदन पाएको कुरामा कुनै ख्रिष्टियन कसरी विश्‍वस्त हुन सक्छन्‌?

कसै-कसैलाई आफूले यहोवाको अनुमोदन पाएको छैनँ जस्तो किन लाग्छ?

४-५. आफू बेकामको छु भन्‍ने भावनाले सताए तापनि हामी कुन कुरामा विश्‍वस्त हुन सक्छौँ?

हामीमध्ये कोही-कोही सानैदेखि आफू बेकामको छु भन्‍ने भावनासित लड्‌दै आएका छौँ। (भज. ८८:१५) एड्रियन नाम गरेका भाइ यसो भन्छन्‌: “म सधैँ आफूलाई बेकामको ठान्छु। मलाई अझै पनि याद छ, म सानो छँदा मेरो परिवार प्रमोदवनमा जान सकोस्‌ भनेर प्रार्थना गर्ने गर्थेँ तर म आफू भने त्यहाँ जान योग्य छैनँ जस्तो लाग्थ्यो।” गैर-ख्रिष्टियन परिवारमा हुर्केका टोनि यसो भन्छन्‌: “मेरो आमाबुबाले मलाई कहिल्यै ‘म तिमीलाई माया गर्छु’ वा ‘तिमीमा गर्व गर्छु’ भन्‍नुभएन। मैले जत्ति गरे पनि उहाँहरूलाई खुसी बनाउन सक्दिनँ जस्तो लाग्थ्यो।”

आफू बेकामको छु भन्‍ने भावनाले सताउँदा हामी यो कुरा सम्झन सक्छौँ: यहोवाले नै हामीलाई उहाँतर्फ खिच्नुभएको हो। (युह. ६:४४) हामीले आफूमा भएका असल गुणहरू नदेखे तापनि यहोवाले भने देख्नुहुन्छ किनकि उहाँ हाम्रो हृदयको कुरा जान्‍नुहुन्छ। (१ समु. १६:७; २ इति. ६:३०) त्यसैले यहोवाले हामी उहाँको नजरमा अनमोल छौँ भन्‍नुहुँदा त्यस कुरामा ढुक्क हुन सक्छौँ।​—१ युह. ३:१९, २०.

६. प्रेषित पावलले विगतमा गरेका पापहरूको कारण कस्तो महसुस गरे?

सत्य सिक्नुअघि हामीमध्ये केहीले गम्भीर पाप गरेका थियौँ होला, जसले गर्दा हामीलाई अझै पनि दोषी भावनाले सताइरहेको हुन सक्छ। (१ पत्रु. ४:३) वफादार ख्रिष्टियनहरू समेत पापी झुकावविरुद्ध लड्‌नुपर्छ। के तपाईँलाई पनि कहिलेकाहीँ आफू यहोवाको क्षमा पाउन योग्य छैनँ जस्तो लाग्छ? त्यस्तो लाग्छ भने विगतका वफादार सेवकहरूलाई समेत यस्तो भावनाले सताएको थियो भन्‍ने कुरा थाह पाउँदा तपाईँले पक्कै सान्त्वना पाउनुहुनेछ। उदाहरणको लागि, प्रेषित पावलले पनि आफ्ना कमीकमजोरीले गर्दा लाचार महसुस गरेका थिए। (रोमी ७:२४) हुनत तिनले पश्‍चात्ताप गरेर बप्तिस्मा गरेका थिए तैपनि तिनले आफूलाई “प्रेषितहरूमध्ये . . . सबैभन्दा सानो” र पापीहरूमध्ये “मुख्य” भने।​—१ कोरि. १५:९; १ तिमो. १:१५.

७. हामीले विगतमा गरेका पापहरूको सन्दर्भमा कुन कुरा मनमा राख्नुपर्छ?

हामीले आफ्नो पापको पश्‍चात्ताप गऱ्‍यौँ भने यहोवाले हामीलाई क्षमा दिने प्रतिज्ञा गर्नुभएको छ। (भज. ८६:५) त्यसैले आफ्नो पापको लागि मनैदेखि क्षमा माग्दा यहोवाको यस प्रतिज्ञामा भरोसा गरेको देखाइरहेका हुन्छौँ र उहाँले क्षमा दिनुभयो भनेर ढुक्क हुन सक्छौँ।​—कल. २:१३.

८-९. यहोवालाई कहिल्यै खुसी बनाउन सक्दिनँ भन्‍ने भावनालाई हामी कसरी जित्न सक्छौँ?

हामी सबै जना यथासक्दो यहोवाको सेवा गर्न चाहन्छौँ। तर कसै-कसैलाई यहोवाको अनुमोदन पाउन सक्नेगरि कहिल्यै उहाँको सेवा गर्न सक्दिनँ जस्तो लाग्न सक्छ। एमाण्डा नाम गरेकी बहिनी यसो भन्छिन्‌: “हुनत म सकेजति यहोवाको सेवा गर्छु तर मलाई अझै पनि केही अपुग छ जस्तो लागिरहन्छ। म अक्सर आफूबाट बढ्‌तै माग गर्छु। आफूले चाहेजति गर्न नसक्दा म निराश हुन्छु र मैले यहोवालाई पनि दुःखी बनाएँ जस्तो लाग्छ।”

यहोवालाई कहिल्यै खुसी बनाउन सक्दिनँ भन्‍ने भावनालाई हामी कसरी जित्न सक्छौँ? यो कुरा मनमा राख्नुहोस्‌: यहोवा कठोर वा अव्यावहारिक हुनुहुन्‍न। उहाँ हाम्रो क्षमताले भ्याएजति गरेको चाहनुहुन्छ। हामीले उहाँको सेवामा सक्दो गर्दा उहाँ त्यसको कदर गर्नुहुन्छ। तनमनले यहोवाको सेवा गरेका बाइबल पात्रहरूबारे पनि विचार गर्नुहोस्‌। पावलबारे फेरि सोच्नुहोस्‌। तिनले वर्षौँसम्म जोसिलो भई साक्षीकार्यमा भाग लिए। तिनले सुसमाचार फैलाउन हजारौँ किलोमिटर यात्रा गरे र ठाउँ-ठाउँमा मण्डलीहरू स्थापना गरे। तर पछि तिनको परिस्थिति परिवर्तन भएकोले साक्षीकार्यमा पहिलाजति भाग लिन सकेनन्‌। त्यतिबेला के तिनले यहोवाको अनुमोदन गुमाए? गुमाएनन्‌। बरु तिनले सकेजति गरिरहे र यहोवाबाट आशिष्‌ पाए। (प्रेषि. २८:३०, ३१) हामी पनि सधैँ एकैनासले यहोवाको सेवा गर्न सक्दैनौँ होला। तर उहाँको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उहाँको सेवा गर्नुपछाडिको हाम्रो मनसाय हो। यहोवाले हामीमाथि उहाँको अनुमोदन छ भनेर कसरी देखाउनुहुन्छ? आउनुहोस्‌, केही तरिका छलफल गरौँ।

यहोवाले हामीमाथि उहाँको अनुमोदन छ भनेर कसरी देखाउनुहुन्छ?

१०. हामी कसरी यहोवाको कुरा “सुन्‍न” सक्छौँ? (युहन्‍ना १६:२७)

१० बाइबलद्वारा। यहोवाले आफ्ना सेवकहरूप्रतिको माया थुप्रै तरिकामा व्यक्‍त गर्नुभएको छ। बाइबलमा यहोवाले येसुलाई प्यारो छोरा भनेर सम्बोधन गर्नुभएको दुई वटा घटना उल्लेख गरिएको छ। (मत्ति ३:१७; १७:५) यहोवाले उहाँ तपाईँदेखि खुसी हुनुहुन्छ भनेर बताउनुभयो भने तपाईँलाई कस्तो लाग्छ? हुनत यहोवा हामीसित सीधै कुरा गर्नुहुन्‍न तर आफ्नो वचनद्वारा हामीलाई माया गरेको कुरा व्यक्‍त गर्नुहुन्छ। हामीले सुसमाचारका पुस्तकहरूमा येसुले भन्‍नुभएका कुराहरू पढ्यौँ भने एक अर्थमा यहोवाको कुरा सुनिरहेका हुन्छौँ। (युहन्‍ना १६:२७ पढ्‌नुहोस्‌।) येसुले दुरुस्त आफ्नो बुबाको व्यक्‍तित्व झल्काउनुभयो। त्यसैले उहाँले आफ्ना त्रुटिपूर्ण तर वफादार अनुयायीहरूलाई माया व्यक्‍त गर्नुभएको विवरण पढ्‌दा यहोवाले नै ती शब्दहरू हामीलाई भनिरहनुभएको कल्पना गर्न सक्छौँ।​—युह. १५:९, १५.

यहोवाले हामीमाथि उहाँको अनुमोदन छ भनेर थुप्रै तरिकामा देखाउनुहुन्छ (अनुच्छेद १० हेर्नुहोस्‌)


११. के हामीमाथि परीक्षा आइपर्नुको मतलब हामीले यहोवाको अनुमोदन गुमायौँ भन्‍ने हो? किन? (याकुब १:१२)

११ कामद्वारा। यहोवा हामीलाई मदत गर्न इच्छुक हुनुहुन्छ। जस्तै: उहाँ हाम्रा भौतिक आवश्‍यकताहरू पूरा गरिदिनुहुन्छ। उहाँले धर्मी अय्युबमाथि जस्तै हामीमाथि पनि कहिलेकाहीँ कठिनाइहरू आइपर्न दिनुहुन्छ। (अय्यु. १:८-११) तर हामीमाथि परीक्षा आइपर्नुको मतलब हामीले यहोवाको अनुमोदन गुमायौँ भन्‍ने त होइन। बरु त्यसलाई यहोवाप्रतिको प्रेम र उहाँमाथिको भरोसा देखाउने मौकाको रूपमा लिनुपर्छ। (याकुब १:१२ पढ्‌नुहोस्‌।) यहोवाले परीक्षाहरू सहन मदत दिनुहुँदा हामीले उहाँको माया र साथ पाएको महसुस गर्न सक्नेछौँ।

१२. डिमित्रिको अनुभवबाट हामी के सिक्न सक्छौँ?

१२ एसियामा बस्ने डिमित्रि भाइको अनुभव विचार गरौँ। तिनले आफ्नो जागिर गुमाए र महिनौँसम्म कुनै काम पाएनन्‌। त्यसैले तिनले परमेश्‍वरमाथि भरोसा राख्दै साक्षीकार्यमा अझ धेरै भाग लिने निर्णय गरे। महिनाहरू बित्दै गए तर तिनले अझै पनि काम भेट्टाएनन्‌। त्यसपछि तिनी बिरामी परे र अवस्था झन्‌झन्‌ नाजुक हुँदै गएकोले ओछ्यानमै थलिनुपऱ्‍यो। तिनलाई पति र बुबाको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको महसुस भयो र आफूले यहोवाको अनुमोदन गुमाएँ कि जस्तो पनि लाग्यो। एक साँझ तिनकी छोरीले यसैया ३०:१५ का यी शब्दहरू एउटा कागजमा छापेर ल्याइन्‌ र बुबालाई दिइन्‌: “शान्त होऊ र ममाथि भरोसा गर, तब तिमीहरूले बल पाउनेछौ।” त्यसपछि उनले बुबालाई यसो भनिन्‌: “ड्याडी, तपाईँ निराश हुँदा यो पद पढ्‌नुस्‌ न है!” त्यसपछि डिमित्रिले यहोवाको कृपाले गर्दा आफ्नो परिवारलाई गाँस, बास र कपासको अभाव भएको छैन भन्‍ने कुरा बुझे। तिनी भन्छन्‌: “अब म शान्त रहनुपर्थ्यो र मेरा परमेश्‍वरमाथि भरोसा राख्नुपर्थ्यो।” तपाईँले पनि त्यस्तै परीक्षा सहिरहनुभएको छ भने यहोवा तपाईँको ख्याल राख्नुहुन्छ र परीक्षा सहने बल दिनुहुन्छ भन्‍ने कुरामा भरोसा गर्नुहोस्‌।

यहोवाले हामीमाथि उहाँको अनुमोदन छ भनेर थुप्रै तरिकामा देखाउनुहुन्छ (अनुच्छेद १२ हेर्नुहोस्‌) a


१३. यहोवाले हामीमाथि उहाँको अनुमोदन छ भनेर देखाउन कसलाई चलाउनुहुन्छ र कसरी?

१३ भाइबहिनीद्वारा। यहोवाले हामीमाथि उहाँको अनुमोदन छ भनेर देखाउन भाइबहिनीलाई पनि चलाउनुहुन्छ। जस्तै: उहाँले तिनीहरूलाई ठीक समयमा प्रोत्साहनदायी कुरा बोल्न उत्प्रेरित गर्न सक्नुहुन्छ। यो कुरा एसियाकी एउटी बहिनीले असाध्यै तनावपूर्ण परिस्थितिको सामना गर्नुपर्दा आफैले अनुभव गरिन्‌। तिनले आफ्नो जागिर गुमाइन्‌ र सिकिस्त बिरामी परिन्‌। त्यसपछि तिनको पतिले गम्भीर पाप गरेकोले एल्डरको जिम्मेवारी गुमाए। तिनले यसो भनिन्‌: “यो सबै किन भइरहेको छ भनेर मैले बुझ्नै सकिनँ। मैले नै केही गल्ती गरेकीले यहोवाको अनुमोदन गुमाएँ जस्तो लाग्थ्यो।” ती बहिनीले यहोवाको अनुमोदन पाएको कुरामा आफू ढुक्क हुन सकूँ भनेर व्यग्र बिन्ती गरिन्‌। उहाँले तिनको प्रार्थनाको जवाफ कसरी दिनुभयो? तिनी भन्छिन्‌: “मण्डलीका एल्डरहरूले मसित कुरा गर्नुभयो र यहोवा मलाई अझै पनि माया गर्नुहुन्छ भनेर ढुक्क बनाउनुभयो।” पछि तिनले फेरि त्यसरी नै प्रार्थना गरिन्‌। तिनी भन्छिन्‌: “मैले त्यही दिन मण्डलीका केही भाइबहिनीबाट एउटा चिठी पाएँ। त्यस चिठीमा लेखिएका सान्त्वनादायी कुराहरू पढेपछि यहोवाले मेरो प्रार्थना सुन्‍नुभयो भनेर महसुस गर्न सकेँ।” हो, यहोवाले भाइबहिनीको दयालु बोलीद्वारा पनि हामीमाथि उहाँको अनुमोदन छ भनेर देखाउनुहुन्छ।​—भज. १०:१७.

यहोवाले हामीमाथि उहाँको अनुमोदन छ भनेर थुप्रै तरिकामा देखाउनुहुन्छ (अनुच्छेद १३ हेर्नुहोस्‌) b


१४. यहोवाले हामीमाथि उहाँको अनुमोदन छ भनेर अर्को कुन तरिकामा देखाउनुहुन्छ?

१४ यहोवाले भाइबहिनीमार्फत हामीलाई चाहिएकै सल्लाह दिनुभएर पनि हामीमाथि उहाँको अनुमोदन छ भनेर देखाउनुहुन्छ। उदाहरणको लागि, प्रथम शताब्दीमा यहोवाले प्रेषित पावललाई भाइबहिनीको लागि १४ वटा पत्र लेख्न उत्प्रेरित गर्नुभयो। पावलले ती पत्रहरूमार्फत तिनीहरूलाई कडा सल्लाह पनि दिए तर मायालु तरिकामा। त्यस्तो सल्लाह दिन यहोवाले तिनलाई किन उत्प्रेरित गर्नुभयो? यहोवा असल बुबा हुनुहुन्छ र उहाँ “जसलाई माया गर्नुहुन्छ, उसैलाई सुधार्नुहुन्छ।” (हितो. ३:११, १२) त्यसैले हामीले पनि बाइबलआधारित सल्लाह पाउँदा त्यसलाई यहोवाको अनुमोदन गुमाएको नभई उहाँको अनुमोदन पाएको प्रमाणको रूपमा हेर्नुपर्छ। (हिब्रू १२:६) हामीमाथि यहोवाको अनुमोदन छ भन्‍ने कुराको अरू के-कस्ता प्रमाण छन्‌?

हामीमाथि यहोवाको अनुमोदन छ भन्‍ने कुराको अरू प्रमाण

१५. यहोवा कसलाई पवित्र शक्‍ति दिनुहुन्छ र हामीमाथि उहाँको अनुमोदन छ भन्‍ने कुरामा कसरी ढुक्क हुन सक्छौँ?

१५ यहोवा आफूले स्विकारेको वा अनुमोदन दिएको व्यक्‍तिलाई पवित्र शक्‍ति दिनुहुन्छ। (मत्ति १२:१८) हामी आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छौँ, ‘के मैले आफ्नो जीवनमा परमेश्‍वरको पवित्र शक्‍तिको फलका पक्षहरू देखाउन सकेको छु?’ तपाईँले यहोवालाई चिनेपछि आफू अझ धीरजी हुन सकेको महसुस गर्नुभएको छ होला। वास्तवमा तपाईँ पवित्र शक्‍तिको फलका पक्षहरू देखाउन जत्ति प्रयास गर्नुहुन्छ, आफूमाथि यहोवाको अनुमोदन छ भन्‍ने कुरामा त्यत्ति नै ढुक्क हुनुहुनेछ।​—“ पवित्र शक्‍तिको फल” भन्‍ने पेटी हेर्नुहोस्‌।

तपाईँमाथि यहोवाको अनुमोदन छ भनेर कसरी थाह पाउन सक्नुहुन्छ? (अनुच्छेद १५ हेर्नुहोस्‌)


१६. यहोवा सुसमाचार सुनाउन कसलाई प्रयोग गर्नुहुन्छ? यो कुरा थाह पाउँदा तपाईँलाई कस्तो लाग्यो? (१ थिस्सलोनिकी २:४)

१६ यहोवा आफूले अनुमोदन दिएको व्यक्‍तिलाई सुसमाचार सुनाउने जिम्मेवारी दिनुहुन्छ। (१ थिस्सलोनिकी २:४ पढ्‌नुहोस्‌) ज्यास्लिन नाम गरेकी बहिनीले सुसमाचार सुनाएकीले कस्तो लाभ उठाउन सकिन्‌, विचार गरौँ। एकदिनको कुरा हो, बिहान उठेदेखि नै तिनी निराश थिइन्‌। तिनी भन्छिन्‌: “मलाई खोक्रो महसुस भइरहेको थियो अनि ममा केही गर्ने बल नै थिएन। म अग्रगामी सेवा गर्दै थिएँ अनि हप्ताको त्यो दिन म साक्षीकार्यमा भाग लिने गर्थेँ। त्यसैले मैले प्रार्थना गरेँ र सुसमाचार सुनाउन निस्केँ।” त्यस बिहान तिनको भेट मेरीसित भयो र उनले बाइबल अध्ययनको प्रस्ताव स्विकारिन्‌। केही महिनापछि ज्यास्लिनले तिनी पहिलो पटक मेरीको घरमा जाँदा उनी परमेश्‍वरलाई मदतको लागि प्रार्थना गर्दै थिइन्‌ भनेर थाह पाइन्‌। ज्यास्लिन भन्छिन्‌: “मलाई यहोवाले ‘म तिमीसित खुसी छु’ भनिरहनुभएको जस्तो लाग्यो।” सबैले हाम्रो सुसमाचार सुन्छन्‌ भन्‍ने त छैन। तर हामीले सुसमाचार सुनाउन यथासक्दो गर्दा यहोवा हामीसित खुसी हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुन सक्छौँ।

तपाईँमाथि यहोवाको अनुमोदन छ भनेर कसरी थाह पाउन सक्नुहुन्छ? (अनुच्छेद १६ हेर्नुहोस्‌) c


१७. भिक्टोरियाले भनेको कुराबाट तपाईँले फिरौतीबारे के सिक्नुभयो? (भजन ५:१२)

१७ यहोवा आफूले अनुमोदन दिएको व्यक्‍तिलाई फिरौतीको प्रबन्धबाट लाभ उठाउन मदत गर्नुहुन्छ। (१ तिमो. २:५, ६) हामी फिरौतीमा विश्‍वास गर्छौँ होला र बप्तिस्मा पनि गरिसकेका छौँ होला। तर हाम्रो हृदयले भने हामीमाथि यहोवाको अनुमोदन छ भनेर स्विकार्दैन भने नि? यो कुरा नबिर्सनुहोस्‌, हामी सधैँ आफ्नो हृदयलाई भरोसा गर्न सक्दैनौँ तर यहोवालाई भने पूर्णतया भरोसा गर्न सक्छौँ। किनभने उहाँले फिरौतीमा विश्‍वास गर्नेहरूलाई धर्मी ठान्‍नुहुन्छ र तिनीहरूलाई आशिष्‌ दिने प्रतिज्ञा गर्नुभएको छ। (भजन ५:१२ पढ्‌नुहोस्‌; रोमी ३:२६) भिक्टोरिया नाम गरेकी बहिनीको अनुभव विचार गरौँ। एकदिन फिरौतीबारे गहिरो मनन गरेपछि तिनले यो कुरा बुझिन्‌: “यहोवाले मलाई वर्षौँदेखि धीरजी हुँदै माया देखाइरहनुभएको रहेछ भनेर महसुस गरेँ। तर मचाहिँ उहाँलाई यसो भनिरहेकी थिएँ, ‘मलाई तपाईँको प्रेमले केही गर्न सक्दैन। तपाईँको छोराको बलिदानले पनि मेरो पाप मेटाउन सक्दैन।’” यहोवाले उपहारस्वरूप दिनुभएको फिरौतीबारे मनन गर्दा उहाँ तिनलाई कत्ति धेरै माया गर्नुहुन्छ भनेर तिनले महसुस गर्न थालिन्‌। फिरौतीबारे मनन गऱ्‍यौँ भने हामीले पनि यहोवाको प्रेम र अनुमोदन पाएको महसुस गर्न सक्छौँ।

तपाईँमाथि यहोवाको अनुमोदन छ भनेर कसरी थाह पाउन सक्नुहुन्छ? (अनुच्छेद १७ हेर्नुहोस्‌)


१८. यहोवालाई प्रेम गरिरह्‍यौँ भने हामी कुन कुरामा विश्‍वस्त हुन सक्छौँ?

१८ यस लेखमा छलफल गरिएका सुझावहरू लागू गर्न जति नै कोसिस गरे तापनि हामी कहिलेकाहीँ निराश हुन सक्छौँ र हामीमाथि यहोवाको अनुमोदन छ कि छैन भनेर शङ्‌का लाग्न सक्छ। तपाईँलाई पनि त्यस्तै लाग्छ भने “यहोवा परमेश्‍वरले उहाँलाई प्रेम गरिरहनेहरूलाई” अनुमोदन दिनुहुन्छ भन्‍ने कुरा सम्झनुहोस्‌। (याकु. १:१२) यहोवासित नजिक भइरहनुहोस्‌ र तपाईँले के-कस्ता तरिकामा उहाँको अनुमोदन पाउनुभएको छ भनेर मनन गर्नुहोस्‌। यो कुरा सधैँ मनमा राख्नुहोस्‌, यहोवा “हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न।”​—प्रेषि. १७:२७.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • कसै-कसैलाई आफूले यहोवाको अनुमोदन पाएको छैनँ जस्तो किन लाग्न सक्छ?

  • यहोवाले हामीमाथि उहाँको अनुमोदन छ भनेर के-कस्ता तरिकामा देखाउनुहुन्छ?

  • हामीमाथि यहोवाको अनुमोदन छ भनेर हामी किन पक्का हुन सक्छौँ?

गीत ८८ मलाई तपाईँको मार्ग सिकाउनुहोस्‌

a तस्बिरको व्याख्या: पुनःअभिनय

b तस्बिरको व्याख्या: पुनःअभिनय

c तस्बिरको व्याख्या: पुनःअभिनय