सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १०

गीत १३ ख्रिष्ट—हाम्रो उदाहरण

बप्तिस्मापछि पनि ‘निरन्तर येसुको पछि लाग्नुहोस्‌’

बप्तिस्मापछि पनि ‘निरन्तर येसुको पछि लाग्नुहोस्‌’

“यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्‌, दिनहुँ आफ्नो यातनाको खम्बा उठाओस्‌ र निरन्तर मेरो पछि लागोस्‌।”​—लुका ९:२३.

सिक्न सकिने कुरा

यस लेखले हामीलाई समर्पणअनुसार जीवन बिताउनुको अर्थ के हो भनेर बुझ्न मदत गर्नेछ। साथै भर्खरै बप्तिस्मा गरेकाहरूलाई वफादार रहन पनि मदत गर्नेछ।

१-२. बप्तिस्मा गरेपछि कस्ता आशिष्‌हरू पाइन्छ?

 बप्तिस्मा गरेर यहोवाको परिवारको भाग बन्‍न पाउँदा हामी आनन्दित हुन्छौँ। यहोवासित घनिष्ठ सम्बन्ध गाँस्न पाउनु सम्मानको कुरा हो। हामी भजनरचयिता दाउदका यी शब्दहरूसित सहमत छौँ: “आनन्दित हो त्यो मानिस, जसलाई तपाईँ रोज्नुहुन्छ र तपाईँको चोकमा बास गराउन आफ्नो नजिक ल्याउनुहुन्छ।”​—भज. ६५:४.

यहोवा कस्ता मानिसहरूलाई आफ्नो चोकमा बास गर्न दिनुहुन्छ? अघिल्लो लेखमा सिकेझैँ उहाँसित नजिक हुन चाहनेहरूलाई। (याकु. ४:८) तपाईँले समर्पण र बप्तिस्मा गरेपछि तपाईँहरूबीच विशेष सम्बन्ध गाँसिन्छ। यी कदमहरू चालेपछि उहाँले तपाईँमाथि ‘कुनै कुराको कमी नै नहुने गरी आशिष्‌ बर्साउनुहुनेछ।’​—मला. ३:१०; यर्मि. १७:७, ८.

३. समर्पण र बप्तिस्मा गरेका ख्रिष्टियनहरूले कस्तो गम्भीर जिम्मेवारी बहन गर्नुपर्छ? (उपदेशक ५:४, ५)

बप्तिस्मा ख्रिष्टियन जीवनको सुरुवात मात्र हो। यो कदम चालेपछि तपाईँ समर्पणको वाचाअनुरूप जिउन सक्दो कोसिस गर्न उत्प्रेरित हुनुहुनेछ, चाहे जस्तोसुकै प्रलोभन वा परीक्षाको सामना किन गर्नु नपरोस्‌। (उपदेशक ५:४, ५ पढ्‌नुहोस्‌।) येसुको चेला भएकोले तपाईँले उहाँको पाइला पछ्याउन र उहाँका आज्ञाहरू पालन गर्न यथासक्दो कोसिस गर्नुहुनेछ। (मत्ति २८:१९, २०; १ पत्रु. २:२१) यस लेखले तपाईँलाई त्यसै गर्न मदत गर्नेछ।

परीक्षा र प्रलोभनको बाबजुद ‘निरन्तर येसुको पछि लाग्नुहोस्‌’

४. येसुका चेलाहरूले “यातनाको खम्बा” बोक्नुपर्छ भन्‍नुको अर्थ के हो? (लुका ९:२३)

बप्तिस्मा गरेपछि तपाईँको जीवन समस्यामुक्‍त हुन्छ भन्‍ने होइन। येसुले आफ्ना अनुयायीहरूले “यातनाको खम्बा” बोक्नुपर्नेछ भनेर बताउनुभयो, त्यो पनि “दिनहुँ।” (लुका ९:२३ पढ्‌नुहोस्‌।) के यहाँ येसुले आफ्ना अनुयायीहरूले खाली दुःखै मात्र भोगिरहनुपर्नेछ भन्‍न खोज्दै हुनुहुन्थ्यो? त्यसो त पटक्कै थिएन। बरु उहाँ तिनीहरूले आशिष्‌ पाउनेछन्‌ तर त्यो सँगसँगै चुनौतीहरूको पनि सामना गर्नुपर्नेछ भनेर बताउँदै हुनुहुन्थ्यो। तीमध्ये केही चुनौती पीडादायी हुने थिए।​—२ तिमो. ३:१२.

५. परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिन त्याग गर्नेहरूले कस्ता आशिष्‌हरू पाउनेछन्‌?

तपाईँले परिवारको विरोधको सामना गर्नुभयो होला अथवा परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिन धेरै पैसा कमाउने जागिर वा भौतिक कुराहरू त्याग्नुभयो होला। (मत्ति ६:३३) तपाईँका यस्ता त्यागहरू यहोवाले याद गर्नुभएको छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। (हिब्रू ६:१०) सायद तपाईँले येसुका यी शब्दहरू आफैले अनुभव गर्नुभएको होला: “मेरो र सुसमाचारको खातिर जसले घर वा दाजुभाइ वा दिदीबहिनी वा आमा वा बुबा वा छोराछोरी वा जग्गा-जमिन छोड्‌छ, उसले अहिले खेदोका साथै १०० गुणा घर, दाजुभाइ, दिदीबहिनी, आमा, छोराछोरी र जग्गा-जमिन पाउनेछ अनि आउने युगमा अनन्त जीवन पाउनेछ।” (मर्कु. १०:२९, ३०) हो, तपाईँले त्यागहरूको तुलनामा कता हो कता धेरै आशिष्‌ पाउनुभएको छ!​—भज. ३७:४.

६. तपाईँले किन बप्तिस्मापछि पनि “शरीरको अभिलाषा”-सित सङ्‌घर्ष गरिरहनुपर्छ?

बप्तिस्मापछि पनि तपाईँले “शरीरको अभिलाषा”-सित सङ्‌घर्ष गरिरहनुपर्नेछ। (१ युह. २:१६) किनकि बप्तिस्मापछि तपाईँ त्रुटिरहित हुनुहुनेछैन। तपाईँ कहिलेकाहीँ प्रेषित पावलले जस्तो महसुस गर्नुहुन्छ होला। तिनले यस्तो लेखे: “परमेश्‍वरको व्यवस्थामा म साँच्चै मनैदेखि आनन्दित हुन्छु। तर म आफ्नो शरीरमा बेग्लै खालको व्यवस्था पाउँछु, जसले मेरो दिमागको व्यवस्थासँग लडाइँ गर्छ। अनि मेरो शरीरमा बास गर्ने पापको व्यवस्थाले मलाई बन्दी बनाउने गर्छ।” (रोमी ७:२२, २३) पापी झुकावहरूले तपाईँलाई निराश बनाउन सक्छ। तर तपाईँले समर्पणको वाचा सम्झनुभयो भने प्रलोभनहरूविरुद्ध लड्‌ने तपाईँको सङ्‌कल्प अझै बलियो हुनेछ। अनि तपाईँलाई सही निर्णय गर्न धेरै हदसम्म सजिलो हुनेछ। कसरी?

७. समर्पणको अर्थ बुझ्दा यहोवाप्रति वफादार रहिरहन कसरी मदत पाउँछौँ?

यहोवालाई जीवन समर्पण गर्दा तपाईँले आफूलाई इन्कार गरिरहनुभएको हुन्छ। यसको अर्थ यहोवालाई दुःखी तुल्याउने इच्छा र लक्ष्यहरूलाई तिरस्कार गर्नु हो। (मत्ति १६:२४) त्यसैले कुनै परीक्षा आइपर्दा तपाईँ ‘के गर्ने कसो गर्ने’ भनेर अलमलिनुहुनेछैन। किनकि तपाईँले यहोवाप्रति वफादार रहने सङ्‌कल्प गरिसक्नुभएको छ। यहोवालाई खुसी तुल्याउने कुरामा तपाईँ अडिग रहनुहुनेछ। तपाईँ अय्युबजस्तै हुनुहुनेछ। तिनले एकदमै गाह्रा परीक्षाहरूको सामना गर्नुपर्दा समेत दृढ भई यसो भने: “म नमरुन्जेल आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।”​—अय्यु. २७:५.

८. समर्पणको वाचामा मनन गर्दा तपाईँ कसरी प्रलोभनको प्रतिरोध गर्न सक्नुहुन्छ?

समर्पणको वाचामा मनन गर्दा तपाईँले जस्तोसुकै प्रलोभनको प्रतिरोध गर्ने बल पाउनुहुनेछ। जस्तै: के तपाईँ अरूको जीवनसाथीसित तिनलाई मन पराएको जस्तो भान पर्नेगरि कुरा गर्नुहुन्छ? पक्कै गर्नुहुन्‍न! किनकि तपाईँले समर्पण गर्दा नै त्यस्तो नगर्ने वाचा गरिसक्नुभएको छ। कुनै अनुचित भावना आउनेबित्तिकै त्यसलाई हटाइहाल्नुभयो भने तपाईँ त्यस्तो भावनाले जरा गाडेपछि हुने पीडादेखि जोगिनुहुनेछ। तपाईँले ‘दुष्टको मार्गतिर हेर्दा पनि हेर्नुहुनेछैन।’​—हितो. ४:१४, १५.

९. समर्पणको वाचामा मनन गर्दा आध्यात्मिक गतिविधिलाई पहिलो स्थान दिन कसरी मदत मिल्छ?

नियमित रूपमा सभा जान बाधा दिने जागिरको प्रस्ताव आयो भने तपाईँ के गर्नुहुन्छ? तपाईँ ‘के गरूँ कसो गरूँ’ भनेर अलमलिनुहुनेछैन। किनकि तपाईँले त्यस्तो प्रस्ताव आएमा त्यसलाई तिरस्कार गर्ने निधो गरिसक्नुभएको छ। त्यसैले ‘मैले त्यो जागिर खाएँ भने पनि यहोवाको सेवालाई पहिलो स्थान दिन सकिहाल्छु नि’ भनेर तर्क गर्नुहुनेछैन। यस सन्दर्भमा तपाईँ येसुको उदाहरण अनुकरण गर्न सक्नुहुन्छ। उहाँ आफ्नो बुबालाई खुसी तुल्याउन कटिबद्ध हुनुहुन्थ्यो। परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने कुराहरूलाई येसुले जस्तै तुरुन्तै अनि दृढ भई तिरस्कार गर्न कटिबद्ध हुनुहोस्‌!​—मत्ति ४:१०; युह. ८:२९.

१०. ‘निरन्तर येसुको पछि लाग्न’ यहोवाले तपाईँलाई कसरी मदत गर्नुहुनेछ?

१० वास्तवमा परीक्षा र प्रलोभन आइपर्दा तपाईँले आफू ‘निरन्तर येसुको पछि लाग्न’ कटिबद्ध भएको देखाउने मौका पाउनुहुन्छ। ‘निरन्तर येसुको पछि लाग्न’ यहोवाले तपाईँलाई मदत गर्नुहुनेछ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। बाइबल यसो भन्छ: “परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ र तिमीहरूले सहन सक्नेभन्दा बाहिरको परीक्षामा उहाँले तिमीहरूलाई पर्न दिनुहुनेछैन बरु तिमीहरूले सहन सक भनेर परीक्षाका साथसाथै त्यसबाट उम्कने बाटो पनि खोलिदिनुहुनेछ।”​—१ कोरि. १०:१३.

निरन्तर येसुको पछि लाग्न तपाईँ के गर्न सक्नुहुन्छ?

११. निरन्तर येसुको पछि लाग्ने एउटा राम्रो तरिका के हो? (तस्बिर पनि हेर्नुहोस्‌।)

११ येसु यहोवाको सेवामा जोसिलो हुनुहुन्थ्यो र उहाँ प्रार्थनामार्फत यहोवासित नजिक भइरहनुभयो। (लुका ६:१२) बप्तिस्मापछि पनि निरन्तर येसुको पछि लाग्ने एउटा राम्रो तरिका भनेको यहोवासित नजिक हुन मदत गर्ने गतिविधिमा भाग लिने बानी बसाल्नु हो। बाइबल यसो भन्छ: “हामीले जुन हदसम्म प्रगति गरिसकेका छौँ, त्यहीबमोजिम व्यवस्थित ढङ्‌गमा अघि बढिरहौँ।” (फिलि. ३:१६) तपाईँले सेवा विस्तार गरेका भाइबहिनीको अनुभव सुन्‍नुहुनेछ। जस्तै: राज्य प्रचारकहरूका लागि स्कुलमा गएका अथवा आवश्‍यकता धेरै भएको ठाउँमा बसाइँ सरेका भाइबहिनीको अनुभव। यदि परिस्थितिले दिन्छ भने तपाईँ पनि त्यस्तो लक्ष्य राख्न सक्नुहुन्छ। यहोवाका सेवकहरूले पहिलादेखि नै सेवा विस्तार गर्ने इच्छा देखाउँदै आएका छन्‌। (प्रेषि. १६:९) तर तपाईँ सेवा विस्तार गर्न सक्ने अवस्थामा हुनुहुन्‍न भने नि? त्यस्तो लक्ष्य हासिल गरेका भाइबहिनीको तुलनामा आफू त केही कामको छैन भन्‍ने सोचाइ नराख्नुहोस्‌। किनकि महत्त्वपूर्ण कुरा भनेको अन्तसम्म सहनु हो। (मत्ति १०:२२) त्यसैले यो कुरा नबिर्सनुहोस्‌, आफ्नो क्षमता र परिस्थितिले दिएसम्म यहोवाको सेवा गर्दा तपाईँले उहाँलाई खुसी बनाइरहनुभएको हुनेछ। अनि तपाईँ निरन्तर येसुको पछि लागिरहन सक्नुहुनेछ।​—भज. २६:१.

बप्तिस्मापछि पनि यहोवासित नजिक हुन मदत गर्ने गतिविधिमा भाग लिने लक्ष्य राख्नुहोस्‌ (अनुच्छेद ११ हेर्नुहोस्‌)


१२-१३. आफ्नो जोस सेलाउन थालेको छ भने तपाईँ के गर्न सक्नुहुन्छ? (१ कोरिन्थी ९:१६, १७) (“ दौडिरहनुहोस्‌!” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

१२ तपाईँलाई आफ्नो प्रार्थना अनि साक्षीकार्य अर्थपूर्ण भइरहेको छैन जस्तो लाग्छ भने नि? अनि बाइबल पढाइबाट पहिलाजस्तै आनन्द उठाउन सकिरहनुभएको छैन भने नि? बप्तिस्मापछि यस्तो लाग्न थाल्यो भने यहोवाले तपाईँलाई पवित्र शक्‍ति दिन छोड्‌नुभयो भन्‍ने निष्कर्षमा नपुग्नुहोस्‌। तपाईँ त्रुटिपूर्ण हुनुहुन्छ। त्यसैले तपाईँको भावनामा उतारचढाव आउँछ। यदि तपाईँको जोस सेलाउन थालेको छ भने प्रेषित पावलको उदाहरणमा मनन गर्नुहोस्‌। तिनले येसुको अनुकरण गर्न सक्दो कोसिस गरे तैपनि कहिलेकाहीँ त्यसो गर्ने इच्छा कम हुन सक्छ भनेर तिनलाई थाह थियो। (१ कोरिन्थी ९:१६, १७ पढ्‌नुहोस्‌।) तिनले यसो भने: “नचाहँदा-नचाहँदै मैले यो काम गरेँ भने पनि मैले आफूलाई सुम्पिइएको भण्डारेको काम गरिरहेको हुन्छु।” अर्को शब्दमा भन्‍नुपर्दा आफ्नो भावनामा जस्तोसुकै उतारचढाव आए पनि तिनी सेवाको काम पूरा गर्न कटिबद्ध थिए।

१३ तपाईँ पनि आफ्नो भावनामा जस्तोसुकै उतारचढाव आए पनि सही कुरा गरिरहन दृढ हुनुहोस्‌, भावनामा बहेर निर्णय नगर्नुहोस्‌। जे सही छ, त्यो गर्ने कोसिस गरिरहनुभयो भने समयको दौडान यहोवाको सेवामा लागिरहने तपाईँको इच्छा बढ्‌नेछ। जस्तोसुकै अवस्थामा पनि आध्यात्मिक तालिका कायम राख्नुभयो भने बप्तिस्मापछि पनि निरन्तर येसुको पछि लागिरहन सक्नुहुनेछ। अनि तपाईँ सहनशील भई यहोवाको सेवामा लागिरहनुभएको देख्दा अरू भाइबहिनीले पनि प्रोत्साहन पाउनेछन्‌।​—१ थिस्स. ५:११.

“जाँचिरहो . . . साबित गरिरहो”

१४. तपाईँले नियमित रूपमा कस्ता कुराहरू जाँच्नुपर्छ र किन? (२ कोरिन्थी १३:५)

१४ बप्तिस्मापछि पनि नियमित रूपमा आफूलाई जाँच्नु मदतकारी हुन्छ। (२ कोरिन्थी १३:५ पढ्‌नुहोस्‌।) बेलाबेलामा तपाईँको प्रार्थना, सभाको उपस्थिति, साक्षीकार्य, बाइबल पढाइ अनि अध्ययन कस्तो भइरहेको छ, जाँच्नुहोस्‌। उपासनाका यी पक्षहरूलाई अझै अर्थपूर्ण बनाउने तरिकाहरू खोज्नुहोस्‌। जस्तै, आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘के म अरूलाई बाइबलको आधारभूत शिक्षाहरू राम्ररी बुझाउन सक्छु? साक्षीकार्यलाई अझै रमाइलो बनाउन म के गर्न सक्छु? के म तोकेरै प्रार्थना गर्ने गर्छु? मेरा प्रार्थनाहरूबाट म यहोवामा पूर्णतया भर परेको देखिन्छ? के म सभामा नियमित रूपमा उपस्थित हुन्छु? सभामा ध्यान दिने र भाग लिने सन्दर्भमा म कसरी अझै उन्‍नति गर्न सक्छु?’

१५-१६. प्रलोभनको प्रतिरोध गर्ने सन्दर्भमा रोबर्ट भाइको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१५ तपाईँले आफूमा के-कस्ता कमीकमजोरी छन्‌ भनेर थाह पाउनु पनि महत्त्वपूर्ण छ। यो कुरा बुझ्न रोबर्ट भाइको अनुभव विचार गरौँ। तिनले यसो भने: “म २० वर्षजतिको छँदा पार्ट-टाइम काम गर्थेँ। एकदिन अफिसको एउटी केटीले मलाई उनको घरमा बोलाइन्‌। उनले घरमा कोही हुँदैन, त्यसैले ‘मोज गर्नुपर्छ’ भनिन्‌। सुरुमा त मैले बहाना बनाएँ। तर अन्तमा मैले ‘नाइँ’ भनेँ र त्यसको कारण पनि बताएँ।” रोबर्टले त्यस प्रलोभनलाई तिरस्कार गरे। कत्ति प्रशंसनीय कुरा! तर पछि तिनले त्यस घटनाबारे सोच्दा त्यस अवस्थालाई अझै राम्रोसँग सम्हाल्न सकिन्थ्यो भनेर महसुस गरे। तिनी भन्छन्‌: “युसुफले पोतिफरकी पत्नीको प्रस्तावलाई दृढ भई अनि तुरुन्तै तिरस्कार गरे। तर मैले भने त्यसो गरिनँ। (उत्प. ३९:७-९) त्यो प्रस्ताव तिरस्कार गर्न त्यस्तो गाह्रो होला भनेर मैले सोचेकै थिइनँ। त्यस घटनापछि मैले यहोवासितको सम्बन्धलाई अझ बलियो बनाउनुपर्छ भनेर महसुस गरेँ।”

१६ तपाईँले पनि रोबर्टले जस्तै आफैलाई जाँच्नु मदतकारी हुन्छ। प्रलोभनको प्रतिरोध गर्न सफल हुनुभयो भने पनि आफैलाई सोध्नुहोस्‌: “मलाई ‘नाइँ’ भन्‍न कति समय लाग्यो?” उन्‍नति गर्नुपर्ने ठाउँ देख्नुभयो भने निरुत्साहित नहुनुहोस्‌। बरु आफ्नो कमजोरी थाह भएकोमा खुसी हुनुहोस्‌ किनकि अब भने तपाईँ त्यस कमजोरीलाई सुधार्न सक्नुहुन्छ। त्यसबारे प्रार्थना गर्नुहोस्‌ र यहोवाको आज्ञा पालन गर्ने इच्छालाई बलियो बनाउन कदम चाल्नुहोस्‌।​—भज. १३९:२३, २४.

१७. रोबर्टको जीवनमा घटेको घटनामा यहोवाको नाम कसरी मुछिएको थियो?

१७ रोबर्टको कथा यत्तिकैमा सिद्धिएन। तिनी भन्छन्‌: “मैले उनको प्रस्तावलाई तिरस्कार गरेपछि उनले मलाई ‘तिमी पास भयौ’ भनिन्‌। मैले उनको कुरै बुझिनँ। उनले आफ्नो एक जना साथीबारे बताइन्‌। ती साथी पहिला यहोवाको साक्षी रहेछन्‌। ती साथीले सबै जवान साक्षीहरू दोहोरो जीवन बिताउँछन्‌ अनि त्यस्तै अवस्थामा पऱ्‍यो भने आफ्नो विश्‍वासमा सम्झौता गरिहाल्छन्‌ भनेका रहेछन्‌। त्यसैले उनले आफ्नो साथीलाई ‘त्यसोभए त्यो केटा कस्तो रहेछ, म टेस्ट गरेर हेर्छु’ भनेकी रहेछिन्‌। त्यतिबेला यहोवाको नाममा कलङ्‌क लाग्ने कुनै काम नगरेकोमा मैले आफैलाई स्याबासी दिएँ।”

१८. बप्तिस्मा गरेपछि पनि तपाईँ के गर्न कटिबद्ध हुनुहुन्छ? (“ उपयोगी शृङ्‌खला” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

१८ समर्पण र बप्तिस्मा गर्दा तपाईँले जस्तोसुकै अवस्था आइपरे पनि यहोवाको नामलाई पवित्र पार्न चाहेको कुरा देखाइरहनुभएको हुन्छ। तपाईँले सामना गर्ने परीक्षा र प्रलोभनहरूबारे उहाँलाई थाह छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। वफादार रहन तपाईँले गर्ने प्रयासमा उहाँले आशिष्‌ दिनुहुनेछ। अनि पवित्र शक्‍तिमार्फत बल दिनुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुनुहोस्‌। (लुका ११:११-१३) यहोवाको मदत पाएर तपाईँ बप्तिस्मापछि पनि निरन्तर येसुको पछि लागिरहन सक्नुहुनेछ!

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • ख्रिष्टियनहरूले “दिनहुँ आफ्नो यातनाको खम्बा” बोक्नुपर्छ भन्‍नुको अर्थ के हो?

  • बप्तिस्मापछि पनि ‘निरन्तर येसुको पछि लाग्न’ तपाईँले के गर्नुपर्छ?

  • समर्पणको वाचामा मनन गर्दा तपाईँ कसरी वफादार रहन मदत पाउन सक्नुहुन्छ?

गीत ८९ सुनौँ, मानौँ र आशिष्‌ पाऔँ!