सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ”

“जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ”

“जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ, . . . बप्तिस्मा गराओ, मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।”—मत्ती २८:१९, २०.

गीत: १४१, ९७

१, २. मत्ती २४:१४ मा येशूले भन्नुभएका शब्दहरूलाई विचार गर्दा कस्ता प्रश्नहरू उठ्‌न सक्छन्‌?

प्रचार जाँदा कतिपयले यहोवाका साक्षीहरूको कुरा सुन्छन्‌ भने कतिपयले सुन्दैनन्‌। कसै-कसैले त घोर विरोधसमेत गर्छन्‌। तैपनि यहोवाका साक्षीहरू संसारभरि नै प्रचारको कामले चिनिन्छन्‌ भन्ने कुरामा दुई मत छैन। सायद तपाईंले पनि यस्तै अनुभव बटुल्नुभएको होला; प्रचारमा जाँदा हामीले विश्वास गर्ने कुरामा सहमत नभएपनि कसै-कसैले हाम्रो कामको प्रशंसा गरेको तपाईंले पाउनुभएको होला। हामीलाई थाह छ, येशूले राज्यको सुसमाचार सारा संसारभरि प्रचार गरिनेछ भनेर भविष्यवाणी गर्नुभएको थियो। (मत्ती २४:१४) तर हाम्रो कामले येशूको भविष्यवाणी पूरा गरिरहेको छ भनेर हामी कसरी पक्का हुन सक्छौं? यो काम गर्ने हामी मात्र हौं भन्दा के हामीले नचाहिने घमन्ड गरिरहेका हुन्छौं?

‘आफूले सुसमाचारको कुरा सुनाइरहेको छु’ भनेर थुप्रै धार्मिक समूहहरूले दाबी गर्छन्‌। तर तिनीहरूको यो प्रयास तिनीहरूको प्रवचन कक्ष, चर्च र टिभी-इन्टरनेटजस्ता सञ्चार माध्यमहरूको दायरामै सीमित छ। अरू कतिपयले भने आफूले स्वास्थ्य-उपचार वा शिक्षाको क्षेत्रमा गरेको दानपुण्यको बखान गर्छन्‌। येशूले आफ्ना चेलाहरूलाई दिनुभएको आज्ञासित यी कुराहरू कत्तिको मेल खान्छ?

३. मत्ती २८:१९, २० अनुसार येशूका चेलाहरूले चाल्नुपर्ने चारवटा कदम के-के हुन्‌?

के येशूका चेलाहरू ‘अरू मानिसहरू आफूकहाँ आएपछि मात्र प्रचार गरौंला नि’ भनेर बस्नुहुन्थ्यो? त्यसो त होइन। पुनर्जीवित भइसकेपछि येशूले आफ्ना सयौं चेलालाई सम्बोधन गर्दै यसो भन्नुभयो: “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ, . . . बप्तिस्मा गराओ, मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।” (मत्ती २८:१९, २०) यसमा चारवटा कदम चाल्न भनिएको छ। हामीले मानिसहरूलाई चेला बनाउनुपर्छ, बप्तिस्मा गराउनुपर्छ र सिकाउनुपर्छ। त्यसोभए हामीले चाल्नुपर्ने सबैभन्दा सुरुको कदम के हो त? हो, येशूले “जाओ” भन्ने शब्द चलाउनुभयो। यो आज्ञाबारे एक जना बाइबल विद्‌ले यसो भने: “‘जाओ’ भन्ने आज्ञा सबै विश्वासीले पालन गर्नुपर्छ, चाहे बाटोपारि जानुपर्ने होस् या समुद्रपारि।”—मत्ती १०:७; लूका १०:३.

४. “मानिसहरूको जलारी” बन्नुमा कुन कुरा समावेश छ?

यो आज्ञा दिंदा येशूले आफ्ना एक-एक चेलाले गर्नुपर्ने प्रयासबारे कुरा गर्दै हुनुहुन्थ्यो कि व्यवस्थित तरिकामा सुसमाचार प्रचार गर्ने सामूहिक अभियानलाई सङ्‌केत गर्दै हुनुहुन्थ्यो? एक जना मानिस “सबै जातिका मानिसहरू”-कहाँ पुग्नु त असम्भव छ, त्यसैले यो काम सम्पन्न गर्नको लागि धेरै जनाले व्यवस्थित हुँदै काम गर्नुपर्ने थियो। येशूले आफ्ना चेलाहरूलाई “मानिसहरूको जलारी” बन्ने निम्तो दिएको कुरामा हामी यसको छनक पाउँछौं। (मत्ती ४:१८-२२ पढ्‌नुहोस्) उहाँले यतिबेला बल्छी थापेर माछा मार्ने एक जना मछुवाको कुरा गरिरहनुभएको थिएन। उहाँले त जाल हानेर माछा मार्ने जलारीहरूको समूहबारे कुरा गर्दै हुनुहुन्थ्यो, जसले यो कामको लागि हाड घोट्‌नुपर्थ्यो र कहिलेकाहीं आपसमा तालमेल मिलाउँदै व्यवस्थित ढङ्‌गमा काम गर्नुपर्थ्यो।—लूका ५:१-११.

५. हामीले कुन चार प्रश्नको जवाफ थाह पाउनुपर्छ? किन?

येशूको भविष्यवाणीअनुसारै कसले सुसमाचार प्रचार गरिरहेका छन्‌, त्यो बुझ्न हामीले यी चार प्रश्नको जवाफ थाह पाउनु जरुरी छ:

  • हामीले केको विषयमा प्रचार गर्नुपर्छ?

  • प्रचार गर्दा हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ?

  • प्रचारको लागि हामीले कस्तो तरिका अपनाउनुपर्छ?

  • कतिको व्यापक रूपमा र कतिन्जेल प्रचार गर्नुपर्छ?

यी प्रश्नहरूको जवाफले हामीलाई जीवन बचाउने काम कसले गरिरहेको छ, त्यो थाह पाउन मात्र होइन, यो काममा लागिरहने बल पनि दिन्छ।—१ तिमो. ४:१६.

केको विषयमा प्रचार गर्ने?

६. यहोवाका साक्षीहरूले सही सन्देश सुनाउँदै छन्‌ भनेर तपाईं किन पक्का हुनुहुन्छ?

लूका ४:४३ पढ्‌नुहोस्। येशूले “परमेश्वरको राज्यको सुसमाचार”-बारे प्रचार गर्नुभयो अनि आफ्ना चेलाहरूले पनि त्यसै गरेको उहाँ चाहनुहुन्छ। यो सन्देश “सबै जातिका मानिसहरूलाई” सुनाउने काम कुन समूहले गरिरहेको छ? जवाफ स्पष्ट छ: यहोवाका साक्षीहरूले। यो कुरालाई कोही-कोही विरोधीहरूले समेत मानिलिएका छन्‌। एक जना मिसनरी पादरीले हाम्रो साक्षी भाइलाई के भने, ध्यान दिनुहोस्। ती पादरी थुप्रै देश पुगेका रहेछन्‌ र तिनले प्रत्येक देशका साक्षीहरूलाई ‘केको विषयमा प्रचार गर्नुहुन्छ?’ भनेर सोधेका रहेछन्‌। सबैले कस्तो जवाफ दिए? ती पादरीले यसो भने: “साक्षीहरू साह्रै बुद्धू रहेछन्‌। जसलाई सोधे पनि ‘राज्यको सुसमाचार’ भन्छन्‌।” वास्तवमा ती साक्षीहरू ‘बुद्धू’ होइनन्‌, उनीहरूले त एकताबद्ध भएर एउटै बोली बोलेका हुन्‌, जुन साँचो ख्रीष्टियनहरूले गर्नै पर्ने कुरा हो। (१ कोरि. १:१०) तिनीहरूले प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ भन्ने वाक्यमा लुकेको सन्देशअनुसारै एउटै कुरा बोलेका हुन्‌। यो पत्रिका २५४ भाषामा छापिन्छ अनि यसको प्रत्येक अङ्‌क सालाखाला ५ करोड ९० लाख प्रति छापिन्छ। यसरी यो पत्रिका संसारमा सबैभन्दा धेरै वितरण हुने पत्रिका हुन पुगेको छ।

७. चर्चका पादरीहरूले सही सन्देश सुनाइरहेका छैनन्‌ भनेर हामी किन भन्न सक्छौं?

चर्चका पादरीहरूले परमेश्वरको राज्यबारे प्रचार गरेका छैनन्‌। कसै-कसैले यसबारे बोलिहाले पनि यसलाई मनको भावना वा ख्रीष्टियनको मनमा हुने कुरा भनेर बताउँछन्‌। (लूका १७:२१) तिनीहरूले परमेश्वरको राज्यबारे सही कुरा बुझ्न मानिसहरूलाई मदत गर्दैनन्‌; यो राज्य स्वर्गीय सरकार हो, यसको राजा येशू ख्रीष्ट हुनुहुन्छ, यसले मानिसजातिको सबै समस्या हटाउनेछ र यसले चाँडै नै पृथ्वीमा भएको दुष्टता हटाउनेछ भनेर मानिसहरूलाई सिकाउँदैनन्‌। (प्रका. १९:११-२१) तिनीहरूलाई त क्रिसमस र इस्टरको दिन येशूलाई सम्झे पुग्छ। यस पृथ्वीको नयाँ शासकको रूपमा येशूले के गर्नुहुनेछ भनेर तिनीहरूलाई थाहै छैन जस्तो देखिन्छ। तिनीहरूले सुनाउनुपर्ने सन्देश नै सुनाएका छैनन्‌ भने सही मनोवृत्ति राखेर प्रचार गरेका छन्‌ भनेर कसरी भन्न सक्छौं र?

हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ?

८. प्रचार गर्दा कस्तो मनोवृत्ति राख्नु ठीक होइन?

प्रचार गर्दा हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ? हाम्रो उद्देश्य पैसा जम्मा गर्नु वा बडे-बडेमाको बिल्डिङ ठड्‌याउनु होइन। येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “तिमीहरूले सित्तैंमा पायौ, सित्तैंमा देओ।” (मत्ती १०:८) हामी परमेश्वरको वचनको व्यापारी हुनु हुँदैन। (२ कोरि. २:१७) प्रचारको काममा भाग लिने मान्छेले आफ्नो व्यक्तिगत फाइदा खोज्नु उचित होइन। (प्रेषित २०:३३-३५ पढ्‌नुहोस्) यस्तो स्पष्ट निर्देशन हुँदाहुँदै पनि धेरैजसो चर्चले पैसा उठाउँछन्‌ र आर्थिक सङ्‌कटबाट जोगिन भरपूर कोसिस गर्छन्‌। पादरीहरू अनि अरू थुप्रै कामदारलाई पैसा दिनुपर्ने भएकोले नै तिनीहरूले त्यसरी पैसा उठाएका हुन्‌। परिणामस्वरूप, चर्चका धेरैजसो अगुवाहरू मालामाल हुन पुगेका छन्‌।—प्रका. १७:४, ५.

९. सही मनोवृत्ति राखेर प्रचारकार्यमा लागेको कुरा यहोवाका साक्षीहरूले कसरी देखाएका छन्‌?

चन्दा सङ्‌कलन गर्ने सन्दर्भमा यहोवाका साक्षीहरूबारे के भन्न सकिन्छ? तिनीहरूको काम स्वेच्छाले चढाएको अनुदानद्वारा सञ्चालन हुन्छ। (२ कोरि. ९:७) राज्यभवन अनि अधिवेशन भवनहरूमा कुनै चन्दा उठाइँदैन। तैपनि गत वर्ष मात्र यहोवाका साक्षीहरूले प्रचारकार्यमा १ अरब ९३ करोड घण्टा बिताए अनि हरेक महिना ९० लाख मानिसहरूलाई सित्तैंमा बाइबल अध्ययन गराए। तिनीहरूले विना पैसा मात्र होइन तर आफैले खर्च बेहोरेर पनि यो कामलाई अघि बढाएका छन्‌। यहोवाका साक्षीहरूको कामबारे एक जना अनुसन्धानकर्ताले यसो भने: “[उनीहरूको] मुख्य उद्देश्य भनेकै प्रचार गर्नु र सिकाउनु हो . . . तिनीहरूकहाँ मनग्गे पैसा लिने पादरी हुँदैन।” त्यसोभए हामी कस्तो मनोवृत्ति राखेर यो काम गर्छौं त? सरल भाषामा भन्नुपर्दा, यहोवा र छिमेकीप्रतिको मायाले गर्दा हामी स्वेच्छासाथ यो काम गर्छौं। यसरी भजन ११०:३ मा राजीखुसीले परमेश्वरको सेवा गर्नेछन्‌ भनेर गरिएको भविष्यवाणी पूरा भएको छ। (पढ्‌नुहोस्)

कस्तो तरिका अपनाउनुपर्छ?

मानिसहरू भेटिने सबै ठाउँमा हामी प्रचार गर्छौं (अनुच्छेद १० हेर्नुहोस्)

१०. येशू र उहाँका चेलाहरूले प्रचार गर्न कस्ता तरिकाहरू अपनाउनुभयो?

१० सुसमाचार सुनाउन येशू र उहाँका चेलाहरूले कस्ता तरिकाहरू अपनाउनुभयो? मानिसहरू जहाँ-जहाँ भेटिन्छन्‌, उहाँहरू त्यहीं-त्यहीं जानुभयो; सार्वजनिक ठाउँहरू अनि घर-घरमा गएर उहाँहरूले प्रचार गर्नुभयो। हो, योग्य व्यक्तिहरूलाई खोज्नुमा घर-घर जानु पनि समावेश थियो। (मत्ती १०:११; लूका ८:१; प्रेषि. ५:४२; २०:२०) यस्तो व्यवस्थित तरिका अपनाएर प्रचार गर्दा सबै मानिसप्रति निष्पक्ष भएको देखियो।

११, १२. सुसमाचार प्रचार गर्ने सन्दर्भमा यहोवाका सेवकहरू र चर्चका मानिसहरूबीच कस्तो भिन्नता छ?

११ यस सन्दर्भमा चर्चका मानिसहरूबारे के भन्न सकिन्छ? चर्चका धेरैजसो सदस्यहरू ‘यो काम त पादरीहरूको हो, तिनीहरूले यसको लागि पैसा लिएका छन्‌’ भन्ने गर्छन्‌। तर चर्चका पादरीहरूलाई विचार गर्ने हो भने तिनीहरू “मानिसहरूको जलारी” बन्नुभन्दा पहिल्यैदेखि चर्चको सदस्य बनेका “माछा”-हरूलाई जोगाउन चिन्तित देखिन्छन्‌। हुन त हो, कहिलेकाहीं कुनै-कुनै पादरीले प्रचारको कामलाई अघि बढाउन निकै प्रयास गरेका छन्‌। उदाहरणका लागि, सन्‌ २००१ को सुरु-सुरुतिर पोप जोन पल द्वितीयले आफ्नो पत्रमा यस्तो लेखेका थिए: “वर्षौंदेखि मैले भन्दै आएको छु, प्रचारको काममा नयाँ जोस-जाँगर देखाउनुहोस् भनेर। फेरि पनि भन्छु . . . पावलले जस्तै प्रचारमा जल्दोबल्दो जोस देखाउनुहोस् जसले यसो भने: ‘सुसमाचार सुनाइनँ भने मलाई धिक्कार छ!’” ती पोपले यसो पनि लेखेका थिए: ‘यो काम कुनै “विशेष” व्यक्तिको मात्र होइन, परमेश्वरका सम्पूर्ण जनहरूको दायित्व हो।’ तर सोच्नुहोस् त, यो आग्रहअनुसारै कति जनाले काम गरेका छन्‌ र?

१२ यहोवाका साक्षीहरूबारे चाहिं के भन्न सकिन्छ? सन्‌ १९१४ देखि येशूले राजाको रूपमा शासन गर्दै हुनुहुन्छ भनेर प्रचार गर्ने तिनीहरू मात्र हुन्‌। येशूले आज्ञा गरेजस्तै तिनीहरू प्रचारको कामलाई एकदमै महत्त्व दिन्छन्‌। (मर्कू. १३:१०) विश्वासका खम्बा—अमेरिकी मण्डली र तिनीहरूका सहयोगीहरू भन्ने अङ्‌ग्रेजी किताबमा यस्तो लेखिएको छ: “यहोवाका साक्षीहरूको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा मिसनरी काम हो।” एक जना साक्षीको भनाइ उद्धरण गर्दै उक्त लेखक थप यसो भन्छन्‌: “कसैले भोक, एक्लोपन र कमजोर स्वास्थ्यको सामना गर्नुपर्दा तिनीहरू मदत गर्न अघि सर्छन्‌, . . . तर तिनीहरूको मुख्य काम यस संसारको आउँदै गरेको अन्त र उद्धार पाउनुपर्ने आवश्यकताबारे परमेश्वरको वचनमा आधारित सन्देश सुनाउनु हो भनेर तिनीहरू कहिल्यै बिर्संदैनन्‌।” यहोवाका साक्षीहरूले येशू र उहाँका चेलाहरूको तरिका अपनाउँदै त्यो सन्देश निरन्तर रूपमा सुनाइरहेका छन्‌।

कतिको व्यापक रूपमा र कतिन्जेल प्रचार गर्नुपर्छ?

१३. प्रचारकार्य कत्तिको व्यापक हुनुपर्छ?

१३ येशूले प्रचारकार्य कत्तिको व्यापक हुनेछ, त्यो पनि बताउनुभएको थियो। उहाँले सुसमाचार “सारा पृथ्वीभरि” प्रचार गरिनेछ भन्नुभएको थियो। (मत्ती २४:१४) हो, चेलाहरू “सबै जातिका मानिसहरू”-मध्येबाट हुनुपर्थ्यो। (मत्ती २८:१९, २०) त्यसको मतलब प्रचारको काम विश्वव्यापी हुनुपर्छ।

१४, १५. व्यापक रूपमा प्रचार गर्ने विषयमा येशूले गर्नुभएको भविष्यवाणी यहोवाका साक्षीहरूले पूरा गरिरहेका छन्‌ भनेर केले देखाउँछ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)

१४ येशूको भविष्यवाणी अनुरूपै यहोवाका साक्षीले कसरी व्यापक रूपमा प्रचार गरिरहेका छन्‌, त्यो बुझ्न हामी केही तथ्यहरू विचार गरौं। अमेरिकामा मात्र विभिन्न सम्प्रदायकागरि लगभग ६ लाख पादरीहरू छन्‌, तर त्यही ठाउँमा करिब १२ लाख यहोवाका साक्षीहरू छन्‌। रोमन क्याथोलिक चर्चको पादरीहरू विश्वभरि ४ लाखभन्दा अलिक धेरै छन्‌। अब यो सङ्‌ख्यालाई बाइबलआधारित राज्यको सुसमाचार सुनाउने साक्षीहरूको सङ्‌ख्यासित तुलनागरि हेर्नुहोस्। विश्वभरि करिब ८० लाख स्वयम्सेवकहरूले २४० मुलुकमा राज्यको सुसमाचार प्रचार गर्छन्‌। यहोवाको प्रशंसा र महिमा गर्ने कत्ति उदेकलाग्दो काम!—भज. ३४:१; ५१:१५.

१५ यहोवाको साक्षीको नाताले हामी यस संसारको अन्त हुनुअघि नै सकेसम्म धेरै मानिसलाई राज्यको सुसमाचार सुनाउन चाहन्छौं। यही कारणले गर्दा हामी अनुवाद गर्ने अनि बाइबलआधारित प्रकाशनहरू तयार पार्ने काममा अरूभन्दा निकै माथि छौं। लाखौं किताब, पत्रपत्रिका, पर्चा अनि अधिवेशन र स्मरणार्थको निम्तोपर्ची हामी मानिसहरूलाई सित्तैंमा बाँड्‌छौं। विभिन्न प्रकाशनहरू ७०० भन्दा धेरै भाषामा प्रकाशित गर्छौं। पवित्र बाइबल—नयाँ संसार अनुवाद-को लगभग २० करोडभन्दा धेरै प्रति १३० भन्दा धेरै भाषामा तयार पारिएको छ। गत वर्ष मात्र ४ अरब ५० करोड बाइबलआधारित प्रकाशनहरू तयार पारियो। अनि हाम्रो आधिकारिक वेबसाइटमा भएका जानकारीहरू ७५० भन्दा धेरै भाषामा उपलब्ध छन्‌। यस्तो काम हामीबाहेक अर्को कुनचाहिं समूहले गरेको छ र?

१६. यहोवाका साक्षीहरूसित परमेश्वरको पवित्र शक्ति छ भनेर हामी किन भन्न सक्छौं?

१६ येशूले भविष्यवाणी गर्नुभएको प्रचारको काम कतिन्जेल चल्नेछ? उहाँले विश्वव्यापी रूपमा गरिने यो काम अन्तको दिनसम्मै चल्नेछ र “त्यसपछि यस युगको अन्त हुनेछ” भन्नुभयो। अहिलेको यस्तो अन्तिम घडीमा अरू कुनचाहिं धार्मिक समूहले सुसमाचार प्रचार गरेको छ र? प्रचारकार्यमा भेट्‌ने कसै-कसैले हामीलाई यसो भन्न सक्छन्‌: “परमेश्वरको पवित्र आत्मा [शक्ति] हामीसित छ तर कामचाहिं तपाईंहरू गर्दै हुनुहुन्छ।” तर अहिलेसम्म निरन्तर रूपमा यो काममा लाग्न सकेको कुराले के हामीसित परमेश्वरको पवित्र शक्ति छ भन्ने प्रमाण दिंदैन र? (प्रेषि. १:८; १ पत्रु. ४:१४) कहिलेकाहीं कुनै-कुनै धार्मिक समूहले पनि यहोवाका साक्षीहरूले जस्तै गर्न खोजेका छन्‌, तर अन्तमा तिनीहरूको प्रयास बालुवामा पानी हालेसरह भएको छ; कोही-कोही भने केही समयको लागि विदेशमा गएर मिसनरी सेवा गर्ने भनेर तातेका छन्‌ तर पछि तिनीहरू बिस्तारै आफ्नै दिनचर्यामा फर्केका छन्‌। अरू कतिपयले भने साक्षीहरूले जस्तै घर-घरमा गएर प्रचार गर्ने प्रयास गरेका छन्‌ तर तिनीहरूले सुनाउने सन्देश परमेश्वरको राज्यसित सम्बन्धित छैन। यसकारण ख्रीष्टले सुरु गर्नुभएको कामलाई तिनीहरूले फिटिक्कै अघि बढाएका छैनन्‌ भनेर स्पष्ट हुन्छ।

अहिले वास्तवमा कसले सुसमाचार प्रचार गर्दै छ?

१७, १८. (क) परमेश्वरको राज्यको सुसमाचार सुनाउनेहरू यहोवाका साक्षीहरू मात्र हुन्‌ भनेर हामी किन भन्न सक्छौं? (ख) हामी कसरी यो काममा लागिरहन सकेका छौं?

१७ त्यसोभए राज्यको सुसमाचारबारे वास्तवमा कसले प्रचार गर्दै छ त? हामी दाबीका साथ भन्न सक्छौं: “यहोवाका साक्षीहरूले!” यो कुरामा हामी कसरी पक्का हुन सक्छौं? किनभने हामीले मात्र सही सन्देश अर्थात्‌ राज्यको सुसमाचार प्रचार गरिरहेका छौं। अनि मानिसहरूकहाँ पुग्न हामीले सही तरिका पनि अपनाइरहेका छौं। हामी सही मनोवृत्तिका साथ अर्थात्‌ पैसाको लागि नभई प्रेमले उत्प्रेरित हुँदै प्रचारको काम गर्छौं। सबै जातिका अनि भाषाका मानिसहरूकहाँ पुगेर हामीले व्यापक रूपमा प्रचार गरिरहेका छौं। अनि हामी यो काम हार नमानी अन्त नआउन्जेल वर्षौंवर्षसम्म पनि गरिरहनेछौं।

१८ अहिले हामी बाँचिरहेको निर्णायक घडीमा परमेश्वरका सेवकहरूले यत्ति ठूलो काम सम्पन्न गरेको देख्न पाउनु हाम्रो लागि साँच्चै अचम्मको कुरा हो। तर यो काम सफल हुनुको वास्तविक कारण के हो? प्रेषित पावलले फिलिप्पीका ख्रीष्टियनहरूलाई लेखेको पत्रमा यसको जवाफ पाउँछौं: “तिमीहरूले इच्छा गर्न र त्यसअनुसार काम गर्न सकोस् भनेर परमेश्वरले नै आफूले चाहेअनुसार तिमीहरूभित्र काम गरिरहनुभएको छ।” (फिलि. २:१३) त्यसैले सेवाको काममा दिलोज्यान दिन र त्यो पूरा गर्न हाम्रो मायालु बुबाको मदत लिंदै जोसिलो भइरहौं।—२ तिमो. ४:५.