सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं कसरी व्यक्तिगत निर्णय गर्नुहुन्छ?

तपाईं कसरी व्यक्तिगत निर्णय गर्नुहुन्छ?

“यहोवाको इच्छा के हो, सो बुझ।”—एफि. ५:१७.

गीत: ६९, ५७

१. बाइबलमा कस्ता आज्ञाहरू तोकेरै दिइएका छन्‌? ती पालन गर्दा हामीलाई कस्तो फाइदा हुन्छ?

यहोवा परमेश्वरले आफ्नो वचन बाइबलमार्फत कतिपय आज्ञाहरू तोकेरै दिनुभएको छ। उदाहरणको लागि, अवैध यौनसम्बन्ध नराख्नू, मूर्तिपूजा, चोरी नगर्नू अनि पियक्कड नहुनू भनेर उहाँले सीधै भन्नुभएको छ। (१ कोरि. ६:९, १०) उहाँको छोरा येशू ख्रीष्टले पनि आफ्ना चेलाहरूलाई तोकेरै यस्तो चुनौतीपूर्ण तर रमाइलो काम दिनुभयो “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ, तिनीहरूलाई बुबा, छोरा र पवित्र शक्तिको नाममा बप्तिस्मा गराओ, मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ। अनि हेर, यस युगको आखिरी समयसम्म म सधैंभरि तिमीहरूसितै छु।” (मत्ती २८:१९, २०) हो! यहोवा र येशूले दिनुभएको नियम अनि आज्ञाहरू पालन गर्दा हाम्रै भलाइ भएको छ। त्यसले हाम्रो आत्मसम्मान बढाएको छ, स्वस्थ रहन मदत गरेको छ अनि परिवार सुखी बनाउन टेवा पुऱ्याएको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, प्रचारकार्य लगायत यहोवाले दिनुभएका सबै आज्ञा वफादार भई पालन गर्दा हामीले यहोवाको अनुमोदन र आशिष्‌ पाउन सकेका छौं।

२, ३. (क) बाइबलमा किन सबै विषयमा तोकेरै आज्ञा दिइएको छैन? (ख) यस लेखमा हामी कस्ता प्रश्नहरू विचार गर्नेछौं? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)

तर धेरैजसो विषयमा बाइबलमा तोकेरै आज्ञा दिइएको छैन। उदाहरणको लागि, ख्रीष्टियनहरूको लागि कस्तो लुगा उपयुक्त हुन्छ भन्नेबारे बाइबलमा कुनै विस्तृत नियम दिइएको छैन। हामी यसमा कसरी यहोवाको बुद्धि देख्न सक्छौं? देशअनुसार भेष फरक हुने त भई नै हाल्यो, जमानाअनुसार पनि मानिसहरूको लवाइ परिवर्तन हुँदै जान्छ। अनि बाइबलमा पहिरन र कोरीबाटीसम्बन्धी सूची नै दिएको भए अहिले त्यो पुरानो जमानाको भइसक्थ्यो। यस्तै कारणले गर्दा परमेश्वरको वचन बाइबलमा ख्रीष्टियनहरूलाई जागिर, स्वास्थ्य उपचार अनि मनोरञ्जनसम्बन्धी नियमको ठेली दिइएको छैन। त्यसैले व्यक्ति विशेष वा परिवारको शिरले नै यस्ता कुराहरूबारे निर्णय गर्न सक्छन्‌।

के यसको अर्थ जीवनलाई असर गर्ने गम्भीर निर्णय गर्दा जस्तोसुकै छनौट गरे पनि यहोवालाई केही फरक पर्दैन भन्न खोजेको हो? बाइबलको नियम उल्लङ्‌घन नभएसम्म हामीले जस्तो निर्णय गरे पनि के यहोवाले त्यो स्वीकार्नुहुन्छ? बाइबलमा कुनै विषयमा तोकेरै आज्ञा दिइएको छैन भने पनि हामीले गरेको निर्णयमा यहोवा खुसी हुनुहुन्छ भनेर कसरी थाह पाउन सक्छौं?

के हाम्रो व्यक्तिगत निर्णयले अरूलाई फरक पार्छ?

४, ५. हामीले गर्ने निर्णयले हामी आफैलाई अनि अरूलाई कस्तो असर गर्छ?

आफूलाई जे मन लाग्यो, त्यही गर्दा केही फरक पर्दैन जस्तो कसै-कसैलाई लाग्न सक्छ। तर यहोवालाई खुसी पार्ने हो भने निर्णय गर्नुअघि बाइबलमा दिइएको नियम अनि सिद्धान्तहरू विचार गर्नै पर्छ अनि ती पालन गर्नै पर्छ। उदाहरणको लागि, परमेश्वरको अनुमोदन पाउने हो भने बाइबलमा रगतसम्बन्धी कस्तो नियम दिइएको छ भनेर विचार गर्नु र त्यसैअनुसार चल्नु आवश्यक छ। (उत्प. ९:४; प्रेषि. १५:२८, २९) अनि प्रार्थनाले पनि हामीलाई बाइबलमा दिइएको सिद्धान्त अनि नियमसित मेल खाने तरिकामा निर्णय गर्न मदत गर्छ।

गम्भीर विषयमा निर्णय गर्दा त्यसले हाम्रो आध्यात्मिक स्वास्थ्यलाई तलमाथि पार्न सक्छ। हो, हाम्रो छनौटले यहोवासितको हाम्रो सम्बन्धलाई असर गर्न सक्छ, चाहे राम्रो तरिकामा होस् या नराम्रो तरिकामा। सही निर्णय गर्दा परमेश्वरसित हाम्रो सम्बन्ध बलियो हुन्छ भने गलत निर्णय गर्दा उहाँसितको हाम्रो सम्बन्ध बिग्रन्छ। साथै गलत निर्णय गर्दा त्यसले अरूलाई पनि आध्यात्मिक प्रगति गर्न बाधा पुऱ्याउन सक्छ, यहाँ सम्म कि, तिनीहरूले ठेस खान सक्छन्‌ अथवा मण्डलीको एकतामा खलल पुग्न सक्छ। त्यसैले हामी भन्न सक्छौं, हाम्रो व्यक्तिगत निर्णयले अरूलाई अवश्य फरक पार्छ।—रोमी १४:१९; गलाती ६:७ पढ्‌नुहोस्।

६. हामीले कसरी निर्णय गर्नुपर्छ?

बाइबलले कुनै विषयमा तोकेरै आज्ञा दिएको छैन भने हामीले के गर्नुपर्छ? त्यतिबेला आफूलाई जे मन लाग्यो त्यही नभई यहोवाको अनुमोदन र आशिष्‌ पाउने तरिकामा निर्णय गर्न सम्बन्धित विषयमा खोज-अनुसन्धान गर्नु हरेक व्यक्तिको आफ्नै दायित्व हो।भजन ३७:५ पढ्‌नुहोस्।

यहोवाको इच्छा बुझ्नुहोस्

७. कुनै विषयमा बाइबलमा तोकेरै आज्ञा दिइएको छैन भने हामी कसरी यहोवाको इच्छा बुझ्न सक्छौं?

तपाईंलाई लाग्ला, ‘कुनै विषयमा यहोवाले तोकेरै आज्ञा दिनुभएको छैन भने हामीले कुन कुरा गरेको यहोवा चाहनुहुन्छ, कसरी थाह पाउने?’ एफिसी ५:१७ भन्छ, “यहोवाको इच्छा के हो, सो बुझ।” यसको मतलब के हो? हो, बाइबलमा तोकेरै कुनै विषयमा आज्ञा दिइएको छैन भने हामीले यहोवाको इच्छा बुझ्न प्रार्थना गर्न सक्छौं अनि पवित्र शक्तिको डोऱ्याइअनुसार चल्न सक्छौं।

८. येशूले यहोवाको इच्छा बुझेको कसरी देखाउनुभयो?

येशूले सधैं नै बुबाको इच्छा बुझेर मात्र आवश्यक कदम चाल्नुहुन्थ्यो। उदाहरणका लागि, बाइबलमा उल्लिखित दुइटा विवरणमा येशूले सुरुमा प्रार्थना गर्नुभयो र त्यसपछि चमत्कार गरेर भोकाएका मानिसहरूलाई खुवाउनुभयो भनेर लेखिएको छ। (मत्ती १४:१७-२०; १५:३४-३७) तर उजाडस्थानमा सैतानले प्रलोभन ल्याउँदा भने उहाँले आफू भोकै भए तापनि ढुङ्‌गालाई रोटी बनाउन मान्नुभएन। (मत्ती ४:२-४ पढ्‌नुहोस्) किन? किनकि उहाँ आफ्नो बुबाको विचार राम्ररी बुझ्नुहुन्थ्यो; ती ढुङ्‌गाहरूलाई रोटीमा परिवर्तन गर्नु हुँदैन भनेर उहाँले बुझ्नुभएको थियो। हो, आफूले पाएको शक्ति आफ्नै फाइदाको लागि प्रयोग गरेको परमेश्वर चाहनुहुन्न भन्ने कुरा येशूलाई थाह थियो। ढुङ्‌गालाई रोटीमा परिवर्तन गर्न अस्वीकार गरेर डोऱ्याइको लागि र भोजनको लागि यहोवामा भर पर्नुभएको कुरा उहाँले देखाउनुभयो।

९, १०. हामी कसरी बुद्धिमानी निर्णय गर्न सक्छौं? उदाहरण दिनुहोस्।

येशूले जस्तै बुद्धिमानी निर्णय गर्ने हो भने हामी डोऱ्याइको लागि यहोवामा भर पर्नुपर्छ। बुद्धिले भरिएका यी शब्दअनुसार हामी चल्नुपर्छ: “तेरो सारा भरोसा परमेश्वरमा राख्, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ। आफैलाई बुद्धिमान्‌ नसम्झी, तर परमप्रभुको भय मान्‌, र दुष्कर्मबाट अलग बस्।” (हितो. ३:५-७) बाइबल अध्ययन गरेर यहोवाको विचार बुझेका छौं भने कुनै खास परिस्थितिमा हामीले के गरेको उहाँ चाहनुहुन्छ भन्ने कुरा राम्ररी बुझ्न सक्छौं। यहोवाको विचार बुझ्दै गयौं भने उहाँले हाम्रो शरीरमा मासुको हृदय यानि परमेश्वरको डोऱ्याइ तुरुन्तै स्वीकार्ने मन हालिदिनुहुनेछ।—इज. ११:१९.

१० कल्पना गर्नुहोस्, एउटी महिला बजारमा किनमेल गर्दै छिन्‌। तिनले राम्रो जुत्ता देख्छिन्‌; तिनलाई त्यो एकदमै मन पर्छ तर त्यो जुत्ता धेरै महँगो छ। तिनी आफैलाई सोध्छिन्‌, ‘मैले यत्ति धेरै पैसा खर्च गर्दा श्रीमान्‌लाई कस्तो लाग्ला?’ हुन त अहिले तिनको श्रीमान्‌ सँगै छैनन्‌ तैपनि श्रीमान्‌लाई कस्तो लाग्ला भनेर तिनलाई थाह छ। तिनलाई कसरी थाह भयो? सँगै जीवन बिताइसकेकोले आफूसँग भएको पैसा कसरी खर्च गरेको श्रीमान्‌ चाहन्छ, तिनी सजिलै बुझ्न सक्छिन्‌। त्यसैगरि हामीले यहोवाको विचार र काम गर्ने तरिका राम्ररी बुझ्दा थुप्रै परिस्थितिमा हामीले के गरेको उहाँ चाहनुहुन्छ भनी बुझ्दै जान सक्छौं।

यहोवाको विचार कसरी बुझ्न सक्नुहुन्छ?

११. बाइबल पढ्‌दा वा व्यक्तिगत अध्ययन गर्दा हामीले आफैलाई कस्ता प्रश्नहरू सोध्नुपर्छ? (“ परमेश्वरको वचन अध्ययन गर्दा आफैलाई सोध्नुहोस्” भन्ने पेटी हेर्नुहोस्।)

११ यहोवाको विचार राम्ररी बुझ्ने हो भने हामीले व्यक्तिगत अध्ययनलाई प्राथमिकता दिनै पर्छ। परमेश्वरको वचन पढ्‌दा वा अध्ययन गर्दा हामीले आफैलाई यसरी सोध्न सक्छौं, ‘यो विवरणले यहोवाबारे, उहाँको सही मार्गबारे अनि उहाँको विचारबारे के बताउँछ?’ हाम्रो मनोवृत्ति भजनरचयिता दाऊदको जस्तै हुनुपर्छ जसले यसरी गाए: “तपाईंको मार्ग मलाई देखाउनुहोस्, हे परमप्रभु। तपाईंको बाटो मलाई दिनुहोस्। तपाईंको सत्यतामा मेरो अगुवा हुनुहोस्, र मलाई सिकाउनुहोस्। किनकि तपाईं नै मलाई उद्धार गर्ने परमेश्वर हुनुहुन्छ, दिनभरि म तपाईंकै बाटो हेर्दै रहन्छु।” (भज. २५:४, ५) बाइबलको कुनै विवरण मनन गर्दा यस्ता प्रश्नहरू विचार गर्न सक्नुहुन्छ: ‘यसमा भएको जानकारी परिवारमा कसरी लागू गर्न सक्छु? यो कुरा कहाँ लागू गर्न सक्छु? घरमा? काममा? स्कुलमा? अथवा प्रचारमा?’ पढेको कुरा कहाँ लागू गर्न सकिन्छ भनेर सोचिसकेपछि त्यसलाई कसरी लागू गर्न सक्छौं भनेर बुझ्न सजिलो हुन्छ।

१२. यहोवाको विचार बुझ्न प्रकाशनहरू अनि सभाहरूले कसरी मदत गर्छ?

१२ यहोवाको विचार अझ राम्ररी बुझ्ने अर्को तरिका भनेको उहाँको सङ्‌गठनले दिने बाइबल आधारित डोऱ्याइमा ध्यान दिएर हो। उदाहरणको लागि, विभिन्न परिस्थितिमा व्यक्तिगत निर्णय गर्दा यहोवाको विचार बुझ्न सजिलो होस् भनेर वाच टावर प्रकाशन सूची (अङ्‌ग्रेजी) अनि यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी-जस्ता प्रकाशनहरू तयार पारिएका छन्‌। सभामा ध्यान दिएर सुन्दा अनि भाग लिंदा पनि हामी धेरै लाभ उठाउन सक्छौं। हामीलाई सिकाइएको कुराहरूमा मनन गर्दा यहोवाको विचार बुझ्न सक्छौं र उहाँको सोचाइलाई आफ्नो सोचाइ बनाउन सक्छौं। आध्यात्मिक भोजन खुवाउन यहोवाले गर्नुभएको प्रबन्धको पूरापूर सदुपयोग गरेर हामी उहाँको कामकुरा गर्ने तरिकाबारे राम्ररी थाह पाउन सक्छौं। यसो गरेर हामी यहोवालाई मन पर्ने तरिकामा व्यक्तिगत निर्णय गर्न सक्नेछौं।

निर्णय गर्नुअघि यहोवाको विचार बुझ्नुहोस्

१३. यहोवाको विचार बुझेका छौं भने बुद्धिमानी निर्णय गर्न सजिलो हुन्छ भनेर बुझाउने एउटा अवस्था बताउनुहोस्।

१३ यहोवाको विचार थाह छ भने हामीलाई बुद्धिमानी निर्णय गर्न सजिलो हुन्छ भनेर बुझ्न एउटा अवस्था विचार गरौं। प्रकाशक भएकोले हामी नियमित अग्रगामीको रूपमा पूर्ण समय सेवा गर्न चाहन्छौं होला। यसरी सेवा गर्न आफ्नो जीवन सरल तरिकामा बिताउन हामी विभिन्न कदम चाल्छौं। तर थोरै कुरामा पनि ‘साँच्चै खुसी हुन सकिन्छ र’ भन्ने चिन्ताले हामीलाई खान सक्छ। हामीले अग्रगामी सेवा नै गर्नुपर्छ भनेर बाइबलमा आज्ञा दिइएको छैन; साधारण प्रकाशककै रूपमा पनि हामी वफादार भई यहोवाको सेवा गरिरहन सक्छौं। तर राज्यको लागि त्यागहरू गर्दा प्रशस्तै आशिष्‌ पाउन सक्छौं भनेर येशूले हामीलाई ढुक्क बनाउनुभएको छ। (लूका १८:२९, ३० पढ्‌नुहोस्) साथै हामीले “मुखको स्वेच्छा बलि” चढाउँदा र साँचो उपासनालाई अघि बढाउन खुसीसाथ यथासक्दो प्रयास गर्दा यहोवा खुसी हुनुहुन्छ भनेर बाइबलले देखाउँछ। (भज. ११९:१०८; २ कोरि. ९:७) यस्ता विषयमा प्रार्थना गर्दा अनि मनन गर्दा के हामी यहोवाको विचार बुझ्न सक्दैनौं र? हो, यी कुराहरू विचार गर्दा हामी व्यावहारिक तरिकामा अनि स्वर्गमा बस्नुहुने बुबाबाट आशिष्‌ पाउने तरिकामा निर्णय गर्न मदत पाउन सक्छौं।

१४. कुनै खास किसिमको पहिरन र कोरीबाटी यहोवालाई मन पर्छ कि पर्दैन, कसरी थाह पाउने?

१४ अर्को अवस्था विचार गरौं: मानिलिनुहोस्, तपाईंलाई एउटा स्टाइलको लुगा लगाउन मन लाग्यो तर त्यो लुगाले मण्डलीका केहीलाई ठेस पुऱ्याउन सक्छ। अनि ‘यस्तो लुगा लगाउनु हुँदैन’ भनेर बाइबलमा तोकेरै बताइएको छैन भन्ने कुरा तपाईंलाई थाह छ। अब यस्तो विषयमा यहोवाको विचार कस्तो होला? प्रेषित पावलले परमेश्वरबाट प्रेरित भएर यस्तो सल्लाह दिएका थिए: “स्त्रीहरूको सिंगार भद्र पोसाक, शालीनता र सुझबुझ होस्। नानाकिसिमले कपाल बाटेर, सुन वा मोतीको गरगहना लगाएर वा अत्यन्तै महँगो वस्त्र पहिरिएर होइन तर असल कामहरूद्वारा तिनीहरूले आफूलाई सिंगारून्‌, किनकि परमेश्वरको भक्ति गर्छु भनी दाबी गर्ने स्त्रीहरूलाई शोभा दिने कुरा यही हो।” (१ तिमो. २:९, १०) यहाँ दिइएको सल्लाह सिद्धान्तको रूपमा ख्रीष्टियन पुरुषहरूलाई पनि लागू हुन्छ। यहोवाको समर्पित सेवकको हैसियतमा आफूलाई कस्तो कुरा मन पर्छ, त्यो मात्र विचार गर्ने नभई हाम्रो पहिरन र कोरीबाटीले अरूलाई कस्तो असर गर्छ, त्यसबारे पनि हामी विचार गर्छौं। नम्रता र प्रेमजस्ता गुणले हामीलाई सङ्‌गी दाजुभाइ दिदीबहिनीको विचार बुझ्न उत्प्रेरित गर्छ, जसले गर्दा अरूको ध्यान नखलबल्याउन अनि अरूलाई ठेस नपुऱ्याउन हामी मदत पाउँछौं। (१ कोरि. १०:२३, २४; फिलि. ३:१७) बाइबलले के भन्छ भन्ने कुरा सधैं मनमा राख्दा यस विषयमा यहोवाको विचार कस्तो छ भनेर बुझ्न र उहाँलाई खुसी बनाउने तरिकामा निर्णय गर्न पनि मदत पाउँछौं।

१५, १६. (क) यौन अनैतिकतासम्बन्धी मनमा कुरा खेलाइरह्यौं भने यहोवालाई कस्तो लाग्छ? (ख) मनोरञ्जन छान्ने विषयमा हामी यहोवाको इच्छा कसरी बुझ्न सक्छौं? (ग) हामीले गम्भीर निर्णय कसरी गर्नुपर्छ?

१५ मानिसहरू दुष्ट मार्गमा हिंड्‌दा अनि तिनीहरूको “हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र” हुँदा यहोवा दुःखी हुनुहुन्छ भनी बाइबल बताउँछ। (उत्पत्ति ६:५, ६ पढ्‌नुहोस्) त्यसैले अश्‍लील कुरा मनमा खेलाउनु गलत हो भनी हामी बुझ्न सक्छौं किनकि यसले बाइबलमा निषेध गरिएको गम्भीर पापतर्फ हामीलाई धकेल्न सक्छ। साथै यस्तो कुरा यहोवाको विचारसित पनि मेल खाँदैन। चेला याकूबले यसरी लेखे: “माथिबाट आउने बुद्धि पाउने मानिस सर्वप्रथम पवित्र हुन्छ, त्यसपछि शान्तिप्रिय, व्यावहारिक र आज्ञाकारी हुनुका साथै ऊ कृपा अनि असल फलहरूले भरिपूर्ण हुन्छ र उसले कुनै किसिमको भेदभाव अनि ढोंग गर्दैन।” (याकू. ३:१७) यो कुरा मनमा राखेका छौं भने अशुद्ध विचार अनि झुकावलाई मलजल गर्ने मनोरञ्जन त्याग्न उत्प्रेरित हुनुपर्छ। यहोवाले घृणा गर्नुहुने कुराहरूबारे राम्ररी बुझेका ख्रीष्टियनलाई कुन किताब पढ्‌नुहुन्छ, कुन फिल्म हेर्नुहुन्छ वा कुन गेम खेल्नुहुन्छ भनेर निर्णय गर्न गाह्रो हुँदैन। परमेश्वरको वचन पढेको कारण तिनलाई यस्ता विषयमा उहाँ के सोच्नुहुन्छ भनेर राम्ररी थाह हुन्छ।

१६ एउटै विषयमा पनि यहोवालाई खुसी पार्ने तरिकामा फरक-फरक निर्णय गर्न सकिन्छ। तर गम्भीर विषयमा निर्णय गर्दा कहिलेकाहीं एल्डरहरू वा अनुभवी ख्रीष्टियनहरूबाट सल्लाह-सुझाव माग्नु बेस हुन्छ। (ती. २:३-५; याकू. ५:१३-१५) तर हामीले अरूले नै हाम्रो लागि निर्णय गरिदेओस् भनेर सोच्नु राम्रो होइन। ख्रीष्टियनहरूले आफ्नो सोच्ने बुझ्ने क्षमतालाई तालिम दिनुपर्छ र त्यसअनुसार निर्णय पनि गर्नुपर्छ। (हिब्रू ५:१४) हामी सबै जना प्रेषित पावलले दिएको यो सल्लाहअनुरूप चल्नुपर्छ: “हरेकले आफ्नो भारी आफै बोक्नेछ।”—गला. ६:५.

१७. परमेश्वरको विचार बुझेर निर्णय गर्दा हामीलाई कस्तो फाइदा हुन्छ?

१७ कुनै पनि विषयमा निर्णय गर्नुपर्दा यहोवाको विचार कस्तो छ, त्यो सोचेर निर्णय गऱ्यौं भने उहाँसित नजिक हुन सक्छौं। (याकू. ४:८) उहाँको अनुमोदन र आशिष्‌ पाउन सक्छौं। जसले गर्दा स्वर्गमा बस्नुहुने बुबामाथिको हाम्रो विश्वास बलियो हुन्छ। त्यसैले बाइबलका नियम र सिद्धान्तअनुसार चलौं किनकि यसले हामीलाई परमेश्वरको सोचाइ बुझ्न मदत गर्छ। हो, यहोवाको ज्ञानबारे सिकेर कहिल्यै सिद्धिदैन। (अय्यू. २६:१४) तर अथक प्रयास गऱ्यौं भने हामीले अहिल्यै पनि बुद्धिमानी निर्णय गर्न चाहिने बुद्धि, ज्ञान अनि समझ पाउन सक्छौं। (हितो. २:१-५) हामी त्रुटिपूर्ण मानिसहरूको सोचाइ र योजना सधैं परिवर्तन भइरहन्छ तर भजनरचयिताले हामीलाई यसरी सम्झाउँछन्‌: “परमप्रभुको सल्लाह [निर्णय] त सदा स्थिर रहन्छ, उहाँको हृदयका विचार पुस्तौंसम्म पुग्दछ।” (भज. ३३:११) स्पष्ट छ, हाम्रो विचार र कामकुरा गर्ने तरिका बुद्धिमान्‌ परमेश्वर यहोवाको विचारसित मेल खान्छ भने हामी व्यक्तिगत तवरमा सबैभन्दा राम्रो निर्णय गर्न सक्छौं।