“विदेशीहरूलाई” “आनन्दसाथ परमप्रभुको सेवा” गर्न मदत गर्नुहोस्
“विदेशीहरूलाई परमप्रभुले जोगाउनुहुन्छ।”—भज. १४६:९.
गीत: ८४, ७३
१, २. (क) केही भाइबहिनीले कस्ता गाह्रा अवस्थाहरू सामना गरेका छन्? (ख) कस्ता प्रश्नहरू उठ्छन्?
लिजे नाम गरेका भाइ यसो भन्छन्, “हामी सम्मेलनमा बसिरहेको बेला बुरूण्डीमा गृहयुद्ध सुरु भयो। जताततै गोली चलिरहेको थियो, मानिसहरू भागाभाग गरिरहेका थिए। बुबाआमा अनि हामी ११ जना छोराछोरी आफ्नो ज्यान जोगाउन भाग्यौं। त्यहाँबाट भाग्दा हामीसित खासै केही थिएन। हाम्रो परिवारका कोही-कोही सदस्य १,६०० किलोमिटरभन्दा लामो यात्रा गरेर मलावीको एउटा शरणार्थी शिविर पुगे। बाँकी भने तितरबितर भयौं।”
२ युद्ध वा खेदोको कारण शरणार्थी हुनुपरेका मानिसहरूको सङ्ख्या अहिले संसारभर ६ करोड ५० लाखभन्दा धेरै छ। यति धेरै मानिस पहिला कहिल्यै शरणार्थी भएका थिएनन्। * त्यसमा हजारौं यहोवाका साक्षी पनि पर्छन्। थुप्रैले आफ्ना प्रियजन अनि आफूसँग भएको सबैजसो कुरा गुमाएका छन्। अनि अरूले कस्ता चुनौतीहरू सामना गरेका छन्? गाह्रो अवस्थामा परेका ती भाइबहिनीलाई “आनन्दसाथ परमप्रभुको सेवा” गर्न हामी कसरी मदत गर्न सक्छौं? (भज. १००:२) अनि यहोवाको बारेमा कहिल्यै नसुनेका शरणार्थीहरूलाई सुसमाचार सुनाउने सबैभन्दा राम्रो तरिका के हो?
शरणार्थी जीवन
३. येशू अनि उहाँका थुप्रै चेला किन शरणार्थी हुनुपऱ्यो?
३ राजा हेरोदले येशूलाई मार्न लागेका छन् भनेर स्वर्गदूतले यूसुफलाई बताए। यो सुनेपछि यूसुफ सानो बालक येशू र आफ्नी पत्नीलाई लिएर मिश्र भागे। हेरोद नमरुन्जेल तिनीहरूले त्यहाँ शरणार्थी जीवन बिताए। (मत्ती २:१३, १४, १९-२१) त्यसको धेरै वर्षपछि खेदोका कारण येशूका सुरुका चेलाहरू “यहूदिया र सामरियाका इलाकाभरि तितरबितर भए।” (प्रेषि. ८:१) थुप्रै चेलाले आफ्नो घरबार छोडेर भाग्नुपर्नेछ भनेर येशूलाई पहिल्यै थाह थियो। उहाँले यसो भन्नुभएको थियो: “जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा खेदो गर्छन्, तब भागेर अर्को सहरमा जाओ।” (मत्ती १०:२३) कारण जेसुकै होस्, आफ्नो घरबार छोडेर भाग्नु कहिल्यै सजिलो हुँदैन।
४, ५. यी अवस्थामा कस्ता खतराहरू आउँछन्: (क) घर छोडेर भाग्दा? (ख) शिविरमा जीवन बिताउँदा?
४ घर छोडेर भाग्दा वा शिविरमा जीवन बिताउँदा थुप्रै खतरा आउन सक्छन्। माथि उल्लेख गरिएका लिजेका भाइ गाद यसो भन्छन्, “सयौं मानिसहरूको लास छिचोल्दै हप्तौंसम्म हिंड्यौं। त्यतिबेला म १२ वर्षको थिएँ। खुट्टा एकदम सुन्निएकोले हिंड्नै सकिनँ। त्यसैले मलाई यहीं छोडेर जानुहोस् भनेर आमाबुबालाई भनें। तर उहाँहरूले मलाई विद्रोही सेनाहरूको हातमा छोडेर जान मान्नुभएन। बुबाले मलाई बोकेरै लानुभयो। यात्राको बेला हामीले भोलि के खाने होला भनेर कहिल्यै चिन्ता गरेनौं। बरु हरेक दिन यहोवालाई प्रार्थना गऱ्यौं अनि उहाँमाथि भरोसा गऱ्यौं। कहिलेकाहीं त खानेकुराको नाममा बाटोमा फलिरहेको आँप मात्र हुन्थ्यो।”—फिलि. ४:१२, १३.
५ लिजेको परिवारका थुप्रै सदस्य वर्षौंसम्म संयुक्त राष्ट्र सङ्घको शरणार्थी शिविरहरूमा बसे। तर त्यहाँ पनि तिनीहरू सुरक्षित थिएनन्। अहिले क्षेत्रीय निरीक्षकको रूपमा सेवा गरिरहेका भाइ लिजे यसो भन्छन्, “थुप्रै मानिसको काम थिएन। तिनीहरू गफ गरेर बस्थे, रक्सी पिउँथे, जुवा-तास खेल्थे, चोरी गर्थे अनि अनैतिक जीवन बिताउँथे।” यस्तो खराब कुराहरूको प्रभावदेखि जोगिन शिविरका साक्षीहरूले मण्डलीको गतिविधिमा पुरापुर भाग लिनु आवश्यक थियो। (हिब्रू ६:११, १२; १०:२४, २५) आध्यात्मिक रूपमा बलियो भइरहन तिनीहरूले समयको सदुपयोग गरे अनि थुप्रैले अग्रगामी सेवा गरे। उजाडस्थानमा यात्रा गरेका इस्राएलीहरूले सधैंभरि पालको जीवन बिताउन नपरे जस्तै आफू पनि शरणार्थी शिविरमा सधैंभरि बस्नुपर्नेछैन भन्ने कुरा ती भाइबहिनीले सम्झे। यसले तिनीहरूलाई सकारात्मक सोच राख्न मदत गऱ्यो।—२ कोरि. ४:१८.
शरणार्थीहरूलाई प्रेम गर्नुहोस्
६, ७. (क) गाह्रो अवस्थामा परेका भाइबहिनीलाई मदत गर्न “परमेश्वरको प्रेम”-ले कसरी जुरमुऱ्याउँछ? (ख) एउटा अनुभव बताउनुहोस्।
६ “परमेश्वरको प्रेम”-ले गर्दा हामी सङ्गी ख्रीष्टियनलाई प्रेम गर्न जुरमुरिन्छौं, विशेषगरि गाह्रो अवस्थामा परेका भाइबहिनीलाई। (१ यूहन्ना ३:१७, १८ पढ्नुहोस्) प्रथम शताब्दीमा यहूदियाका ख्रीष्टियनहरू अनिकालको चपेटामा परेको बेला सङ्गी ख्रीष्टियनहरूले तिनीहरूलाई राहत सामग्री पठाउन आवश्यक प्रबन्ध मिलाए। (प्रेषि. ११:२८, २९) प्रेषित पावल र पत्रुसले पनि अतिथि-सत्कार गर्न ख्रीष्टियनहरूलाई प्रोत्साहन दिए। (रोमी १२:१३; १ पत्रु. ४:९) यदि अरू ठाउँबाट घुम्न आएका भाइबहिनीलाई त अतिथि-सत्कार गर्नुपर्छ भने ज्यानै जाने खतरामा परेका वा विश्वासको कारण खेदोमा परेका भाइबहिनीलाई झन् कत्ति धेरै अतिथि-सत्कार गर्नुपर्ला!—हितोपदेश ३:२७ पढ्नुहोस्। *
७ हालै युद्ध अनि खेदोले गर्दा पूर्वी युक्रेनका हजारौं यहोवाका साक्षी आफ्नो घरबार छोडेर भाग्नुपरेको थियो। त्यसमा थुप्रै स्त्री अनि बच्चा पनि थिए। दुःखको कुरा, कोही-कोही मारिए। तर थुप्रैलाई भने युक्रेनको अरू ठाउँमा बस्ने भाइबहिनीले आफ्नो घरमा बस्न दिए अनि अरू कतिपयलाई भने छिमेकी देश रूसका साक्षी परिवारले आफ्नो घरमा बास दिए। यी दुवै देशका भाइबहिनीले राजनैतिक मामिलामा तटस्थ रहेर ‘यस संसारको’ भाग नभएको देखाए। अनि जोसिलो भई “परमेश्वरको वचनको सुसमाचार घोषणा” गरिरहे।—यूह. १५:१९; प्रेषि. ८:४.
विश्वास बलियो बनाउन शरणार्थीहरूलाई मदत गर्नुहोस्
८, ९. (क) नयाँ देशमा शरणार्थीहरूले कस्ता चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ? (ख) तिनीहरूलाई मदत गर्दा हामी किन धीरजी हुनुपर्छ?
८ कोही आफ्नै देशको अरू ठाउँमा बसाइँ सर्न बाध्य हुन्छन् भने अरू कतिपय चाहिं अर्कै देशमा बसाइँ सर्न बाध्य हुन्छन्, जहाँको वातावरण अनि रहनसहन बिलकुलै फरक अनि नयाँ हुन्छ। हुन त सरकारले गाँस, बास अनि कपासको प्रबन्ध गरिदेला तर आफूले पहिला खाने गरेको खानेकुरा भने नपाउन सक्छन्। गर्मी ठाउँबाट आएकाहरूलाई चिसो हावापानीको अनुभव नहुन सक्छ। त्यसैले एक्कासि चिसो ठाउँमा बस्नुपर्दा कस्तो लुगा लगाउने भनेर थाह नहुन सक्छ। दुर्गम इलाकाबाट आएका शरणार्थीहरूलाई आधुनिक घरायसी सरसामान चलाउने तरिका थाह नहुन सक्छ।
९ कुनै-कुनै सरकारले शरणार्थीहरूलाई नयाँ ठाउँमा घुलमिल गराउन विभिन्न तरिकाले मदत गर्छन्। तर केही महिनाभित्रै तिनीहरूले आफ्नो कामकुरा आफै मिलाउनुपर्ने हुन सक्छ। कल्पना गर्नुहोस् त, नयाँ भाषा सिक्न, नयाँ नियम-कानुनअनुसार चल्न, नयाँ रहनसहनमा घुलमिल हुन अनि तोकिएको समयमा कामकुरा गर्न सिक्न कत्ति गाह्रो होला! कर तिर्ने, बिल तिर्ने अनि बच्चालाई अनुशासन दिने तरिका बिलकुलै नयाँ हुन सक्छ। साथै त्यहाँको स्कुलको नियम पनि पहिलाको भन्दा फरक हुन सक्छ। यी सब कुरा एकै चोटि सिक्न कत्ति गाह्रो होला! के तपाईं यस्ता चुनौतीको सामना गरिरहेका भाइबहिनीप्रति धीरजी हुँदै अनि तिनीहरूलाई आदर गर्दै मदत गर्न सक्नुहुन्छ?—फिलि. २:३, ४.
१०. हामी कसरी आफ्नो इलाकामा आएका शरणार्थी भाइबहिनीको विश्वास बलियो बनाउन सक्छौं? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)
१० कहिलेकाहीं अख्तियारवालाहरूले शरणार्थी भाइबहिनीलाई स्थानीय मण्डलीसँग सम्पर्क गर्न गाह्रो बनाइदिएका छन्। सभा छुटाउनुपर्ने काम गर्न नमानेकोले केही संस्थाले हाम्रा भाइबहिनीलाई सहयोग नगर्ने, सुविधाहरू कटौती गर्ने अनि शरणार्थी भएर बस्न नदिने धम्की दिएका छन्। डराएर अनि निस्सहाय महसुस गरेर केही भाइबहिनीले ती संस्थाहरूले जे भन्छन्, त्यही गरेका छन्। त्यसैले शरणार्थी भाइबहिनी हाम्रो इलाकामा आएपछि जतिसक्दो चाँडो भेट्ने प्रबन्ध मिलाउनु आवश्यक छ। हामी तिनीहरूको ख्याल गर्छौं भन्ने कुरा तिनीहरूले महसुस गर्न सकून् भन्ने चाहन्छौं। हाम्रो माया र व्यावहारिक मदत पाएर तिनीहरूले आफ्नो विश्वास बलियो बनाउन सक्नेछन्।—हितो. १२:२५; १७:१७.
शरणार्थीहरूलाई व्यावहारिक मदत दिनुहोस्
११. (क) शरणार्थीहरूलाई सुरु-सुरुमा कस्तो मदत चाहिन्छ? (ख) शरणार्थीहरूले कसरी कृतज्ञता देखाउन सक्छन्?
११ सुरु-सुरुमा हामीले ती भाइबहिनीलाई खानेकुरा, लुगाफाटा वा अरू आधारभूत कुराहरू दिनुपर्ने हुन सक्छ। * तिनीहरूको लागि सानो सहयोग गरिदिंदा पनि तिनीहरू खुसी हुन सक्छन्। जस्तै: कुनै भाइलाई टाई दिंदा। शरणार्थी भाइबहिनीले पनि कुनै कुराको माग गर्नुको साटो आफूले पाएको कुराको लागि कृतज्ञता देखाउनुपर्छ। यसो गर्दा मदत गर्ने व्यक्तिले अरूलाई दिंदा पाइने आनन्द अनुभव गर्न सक्नेछन्। हुन त सुरु-सुरुमा अरूको मदत चाहिन्छ तर सधैं अरूको भरमा जीविका चलाउँदा आफ्नो आत्म-सम्मान गुम्न सक्छ वा भाइबहिनीसित खटपट पर्न सक्छ। (२ थिस्स. ३:७-१०) जेहोस्, तिनीहरूलाई हाम्रो मदत चाहिन्छ।
१२, १३. (क) हामी कसरी शरणार्थी भाइबहिनीलाई व्यावहारिक मदत दिन सक्छौं? (ख) एउटा अनुभव बताउनुहोस्।
१२ शरणार्थी भाइबहिनीलाई मदत गर्न धेरै पैसा होइन, बरु हाम्रो समय अनि मायालु चासो चाहिन्छ। साधारणजस्तो देखिने कुराहरूमा पनि हामी तिनीहरूलाई मदत गर्न सक्छौं। जस्तै: सार्वजनिक गाडी प्रयोग गर्न र सस्तो तर स्वास्थ्यवर्धक खानेकुरा किनमेल गर्न सिकाउने। खर्च जुटाउन कुनै सामग्री वा मेसिन किन्न मदत गर्ने, जस्तै: लुगा सिलाउने मेसिन वा घाँस काट्ने मेसिन। सबैभन्दा महत्त्वपूर्ण कुरा, मण्डलीको गतिविधिमा पुरापुर
भाग लिन मदत गर्नुहोस्। सकिन्छ भने तिनीहरूलाई गाडीमा सँगै सभामा लानुहोस्। अनि इलाकाका मानिसहरूलाई प्रचार गर्न कसरी कुराकानी सुरु गर्न सकिन्छ, बताउनुहोस्। तिनीहरूलाई आफूसँगै प्रचारमा लानुहोस्।१३ आफ्नो मण्डलीमा आएका चार जना शरणार्थी भाइलाई एल्डरहरूले गाडी चलाउन, कम्प्युटरमा टाइप गर्न अनि आफ्नो बायोडाटा बनाउन सिकाए। साथै यहोवाको सेवामा पुरापुर भाग लिन कसरी समय छाँटकाँट गर्न सकिन्छ भनेर पनि सिकाए। (गला. ६:१०) केही समय नबित्दै ती चारै जना जवान भाइले अग्रगामी सेवा सुरु गरे। एल्डरहरूको मदत पाएकोले अनि आध्यात्मिक लक्ष्य हासिल गर्न मेहनत गरेकोले तिनीहरूले प्रगति गरे र सैतानको संसारको चालढालमा चल्नदेखि जोगिए।
१४. (क) शरणार्थी भाइबहिनीले कस्ता प्रलोभनहरूको प्रतिरोध गर्नुपर्छ? (ख) एउटा अनुभव बताउनुहोस्।
१४ अरू ख्रीष्टियनले जस्तै शरणार्थी भाइबहिनीले पनि यहोवासितको सम्बन्धलाई भन्दा भौतिक कुरालाई पहिलो स्थान दिने प्रलोभन अनि दबाबको प्रतिरोध गर्नुपर्छ। * सुरुको अनुच्छेदमा उल्लेख गरिएका भाइ लिजे र तिनका दाजुभाइ दिदीबहिनीले आफ्नो बुबाबाट विश्वासबारे सिकेका महत्त्वपूर्ण पाठहरू अहिले पनि बिर्सेका छैनन्। तिनीहरूले यसो भने: “एक-एक गर्दै बुबाले झोलामा भएको नचाहिने कुराहरू फाल्नुभयो। अन्तमा खाली झोला देखाएर मुसुक्क हाँस्दै उहाँले यसो भन्नुभयो, ‘हेर त, हामीलाई खासै धेरै कुरा नचाहिने रहेछ!’ ”—१ तिमोथी ६:८ पढ्नुहोस्।
शरणार्थीहरूका महत्त्वपूर्ण आवश्यकताहरू पूरा गर्नुहोस्
१५, १६. (क) शरणार्थी भाइबहिनीलाई आध्यात्मिक रूपमा कसरी मदत गर्न सक्छौं? (ख) तिनीहरूलाई भावनात्मक रूपमा कसरी मदत गर्न सक्छौं?
१५ शरणार्थीहरूलाई भौतिक सहयोगभन्दा आध्यात्मिक अनि भावनात्मक मदतको आवश्यकता हुन्छ। (मत्ती ४:४) एल्डरहरूले ती भाइबहिनीकै भाषामा साहित्य मगाइदिन सक्छन् अनि तिनीहरूकै भाषा बोल्ने भाइ वा बहिनी भेट्न मदत गर्न सक्छन्। थुप्रै शरणार्थी भाइबहिनी ठूलो अनि मायालु परिवार, साथीभाइ र मण्डलीबाट टाढा हुनुपरेको छ। त्यसैले ख्रीष्टियन दाजुभाइ दिदीबहिनीसित बस्दा तिनीहरूले यहोवाको प्रेम अनि स्नेह महसुस गर्न सकोस् भन्ने हामी चाहन्छौं। नत्र तिनीहरू आफ्नो जस्तै रहनसहन भएका अनि आफूसँगै आएका नातेदार वा साथीहरूसँग मदत माग्न सक्छन्, जो यहोवाका साक्षी होइनन्। (१ कोरि. १५:३३) तिनीहरूलाई मण्डलीमा सबैले मनैदेखि स्वागत गरेको महसुस गराउँदा ‘विदेशीहरूलाई जोगाउन’ यहोवालाई साथ दिइरहेका हुन्छौं।—भज. १४६:९.
१ पत्रु. ३:८) पहिला खेदो भोगेका कोही-कोही शरणार्थी भाइबहिनी अरूसित कुरा गर्न चाहँदैनन् अनि आफूले भोगेको दुःखबारे कुरा गर्न पनि अप्ठ्यारो मान्न सक्छन्, विशेषगरि छोराछोरीको अगाडि। आफैलाई यस्तो प्रश्न सोध्नुहोस्, “म उहाँहरूको ठाउँमा भएको भए अरूले मसित कस्तो व्यवहार गरेको चाहन्थें?”—मत्ती ७:१२.
१६ बालक येशू अनि उहाँको परिवारलाई खेदो गर्नेहरूले शासन गरुन्जेल उहाँहरू आफ्नो जन्मथलो फर्कन सम्भव थिएन। त्यसैगरि शरणार्थी भाइबहिनी पनि आफूलाई अत्याचार गर्नेहरू शक्तिमा रहुन्जेल आफ्नो मातृभूमि फर्कन नपाउन सक्छन्। भाइ लिजे भन्छन्, “आफ्नो परिवारका सदस्यलाई बलात्कार गरेको अनि हत्या गरेको देख्ने आमाबुबा आफ्ना बच्चाहरूलाई फेरि त्यही ठाउँमा लैजाने कुरा सोच्न पनि सक्दैनन्।” यस्तो दर्दनाक पीडा सहनुपरेका भाइबहिनीलाई मदत गर्न हामीले ‘एक-अर्काको पीडा महसुस गर्नुपर्छ, भ्रातृस्नेह प्रकट गर्नुपर्छ, कोमलताले भरिएको करुणा देखाउनुपर्छ अनि नम्र मनोभाव राख्नुपर्छ।’ (बेग्लै धर्म मान्ने शरणार्थीहरूलाई प्रचार गर्नुहोस्
१७. प्रचारकार्यले शरणार्थीहरूलाई कसरी स्फूर्ति दिन्छ?
१७ अहिले शरणार्थी भएका धेरैजसो मानिस हाम्रो प्रचारकार्यमा पूर्ण वा आंशिक रूपमा प्रतिबन्ध लागेका देशहरूमा बस्थे। जोसिला साक्षीहरूको प्रचारकार्यले गर्दा त्यस्ता हजारौं शरणार्थीले पहिलो पटक “राज्यको वचन” सुन्न पाएका छन्। (मत्ती १३:१९, २३) “भारले दबिएका” शरणार्थीहरूले हाम्रा सभाहरूमा आध्यात्मिक स्फूर्ति पाउन सकेका छन् र सभा आउन थालेको केही समय नबित्दै यसो भन्छन्: “परमेश्वर साँच्चै तपाईंहरूमाझ हुनुहुँदो रहेछ।”—मत्ती ११:२८-३०; १ कोरि. १४:२५.
१८, १९. शरणार्थीहरूलाई प्रचार गर्दा कस्ता कुराहरूमा विचार पुऱ्याउनुपर्छ?
१८ शरणार्थीहरूलाई प्रचार गर्दा “चनाखो” अनि “चतुर” हुनु आवश्यक छ। (मत्ती १०:१६; हितो. २२:३) तिनीहरूले आफ्नो चिन्ताबारे बताउँदा ध्यान दिएर सुन्नुहोस् तर राजनीतिबारे कुरा नगर्नुहोस्। शाखा कार्यालय र स्थानीय अख्तियारवालाहरूले दिने निर्देशन पालन गर्नुहोस्। यसो गर्नुभयो भने तपाईं र अरूको सुरक्षा हुनेछ। शरणार्थीहरूको धार्मिक आस्था अनि रहनसहनबारे थाह पाउनुहोस् अनि त्यसको कदर गर्नुहोस्। जस्तै: स्त्रीहरूको पहिरनबारे कुनै-कुनै देशका मानिसहरूको कडा धारणा हुन्छ। त्यसैले शरणार्थीहरूलाई प्रचार गर्न जाँदा तिनीहरूलाई ठेस नपुऱ्याउने किसिमको पहिरन लगाउनुहोस्।
१९ हामी दुःख भोगिरहेका मानिसहरूलाई मदत गर्न चाहन्छौं, चाहे तिनीहरू बेग्लै धर्म मान्ने मानिस नै किन नहोऊन्। यसो गर्दा येशूले बताउनुभएको दृष्टान्तको मदतगार सामरीको अनुकरण गरिरहेका हुन्छौं। (लूका १०:३३-३७) मानिसहरूलाई मदत गर्ने सबैभन्दा राम्रो तरिका सुसमाचार सुनाउनु हो। थुप्रै शरणार्थीलाई मदत गरिसकेका एल्डर यसो भन्छन्, “हामी यहोवाका साक्षी हौं अनि हाम्रो मुख्य उद्देश्य आध्यात्मिक मदत दिनु हो, भौतिक होइन भनेर हामीले सुरुमै स्पष्ट पार्नुपर्छ। अन्यथा कोही-कोहीले आफ्नो स्वार्थको लागि मात्र हामीसँग सङ्गत गर्न सक्छन्।”
राम्रो नतिजा
२०, २१. (क) शरणार्थीहरूलाई साँचो प्रेम देखाउँदा कस्ता राम्रा नतिजा हासिल भएका छन्? (ख) अर्को लेखमा के छलफल गर्नेछौं?
२० ‘विदेशीहरूलाई’ साँचो प्रेम देखाउँदा राम्रा नतिजा हासिल भएका छन्। एरिट्रियाकी एक बहिनीको परिवार खेदो सहन गाह्रो भएकोले अर्को देशमा भाग्नुपऱ्यो। तिनका चार जना छोराछोरी मरुभूमिको बाटो हुँदै आठ दिन लामो यात्रा गरेर सुडान पुगे। तिनी भन्छिन्, “हाम्रा दाजुभाइ दिदीबहिनीले मेरा छोराछोरीलाई नजिकको नातेदारलाई जस्तै व्यवहार गर्नुभयो। उनीहरूको लागि खानेकुरा, लुगाफाटा अनि बासको प्रबन्ध गरिदिनुभयो। गाडी भाडाको लागि केही खर्च पनि दिनुभयो। एउटै भगवान्लाई मान्यो भन्दैमा नचिनेको मान्छेलाई कसैले आफ्नो घरमा बास दिन्छ र? यस्तो मान्छेहरू त यहोवाका साक्षीहरू मात्र हुन्।”—यूहन्ना १३:३५ पढ्नुहोस्।
२१ शरणार्थीहरू होऊन् या अरू कारणले बसाइँ सरेकाहरू, तिनीहरूका छोराछोरीलाई कसरी मदत गर्न सक्छौं? ती छोराछोरीलाई आनन्दित भई यहोवाको सेवा गर्न कसरी मदत दिन सक्छौं, त्यसबारे अर्को लेखमा छलफल गर्नेछौं।
^ अनु. 2 यस लेखमा “शरणार्थी” शब्दले सशस्त्र द्वन्द्व, खेदो अनि प्राकृतिक प्रकोपका कारण आफ्नै देशको कुनै ठाउँमा वा अर्कै देशमा विस्थापित भएकाहरूलाई बुझाउँछ। शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालयका (UNHCR) अनुसार आज संसारमा “११३ जनामा १ जना आफू बसेको ठाउँ छोड्न बाध्य भएका छन्।”
^ अनु. 6 अक्टोबर २०१६, प्रहरीधरहरा, पृष्ठ ८-१२ मा भएको “विदेशीहरूलाई दया देखाउन नबिर्सनुहोस्” भन्ने लेख हेर्नुहोस्।
^ अनु. 11 आफ्नो इलाकामा शरणार्थी भाइबहिनी आएपछि एल्डरहरूले जतिसक्दो चाँडो यहोवाको इच्छाबमोजिम गर्न सङ्गठित किताबको अध्याय ८ को अनुच्छेद ३० मा दिइएको निर्देशन पालन गर्नुपर्छ। ती भाइबहिनीको मण्डलीसित सम्पर्क गर्न एल्डरहरूले jw.org वेबसाइटमार्फत आफ्नो शाखा कार्यालयमा पत्राचार गर्न सक्छन्। त्यतिन्जेल ती भाइबहिनीको आध्यात्मिक अवस्थाबारे बुझ्न पहिलाको मण्डली र त्यहाँको प्रचारकार्यबारे तिनीहरूलाई केही प्रश्न सोध्न सक्छन्। तर अप्ठ्यारोमा पार्ने किसिमका प्रश्नहरू सोध्नु हुँदैन।
^ अनु. 14 अप्रिल १५, २०१४, प्रहरीधरहरा, पृष्ठ १७-२६ मा भएको “कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन” र “साहसी हुनुहोस्—यहोवा तपाईंको मदतगार हुनुहुन्छ!” भन्ने लेखहरू हेर्नुहोस्।