सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २२

तपाईँको अध्ययन गर्ने तरिकामा उन्‍नति गर्नुहोस्‌!

तपाईँको अध्ययन गर्ने तरिकामा उन्‍नति गर्नुहोस्‌!

“अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो तिमीहरूले पक्का गर्न सक।”—फिलि. १:१०.

गीत ३५ ‘अझ महत्त्वपूर्ण कुराहरू पक्का गर’

परिचय *

१. कसै-कसैसित किन अध्ययन गर्ने बलतागत नै बाँकी नरहन सक्छ?

अहिलेको समयमा जीविकोपार्जन गर्न अत्यन्तै कठिन छ। हाम्रा धेरैजसो दाजुभाइहरू आफ्नो परिवारको आधारभूत आवश्‍यकता मात्र पूरा गर्न पनि घण्टौँ काममा घोटिन्छन्‌। अरू थुप्रैचाहिँ काम गर्ने ठाउँसम्म आवतजावत गर्न दिनहुँ धेरै घण्टा यात्रा गर्छन्‌। अनि अरू थुप्रैले आफ्नो जीवन धान्‍न कडा शारीरिक श्रम गर्छन्‌। ती मेहनती दाजुभाइ दिदीबहिनी बेलुकी घर फर्कँदा लखतरान भइसकेका हुन्छन्‌। त्यसैले तिनीहरूसित अध्ययन गर्ने बलतागत नै बाँकी नरहन सक्छ।

२. तपाईँ अध्ययन गर्न कहिले समय निकाल्नुहुन्छ?

तर यथार्थ के हो भने, हामीले परमेश्‍वरको वचन र यसमा आधारित प्रकाशनहरू अध्ययन गर्न समय निकाल्नै पर्छ। हो, हामीले गहिरो अध्ययन गर्नुपर्छ। अध्ययन गर्नु या नगर्नुमा यहोवासितको हाम्रो सम्बन्ध र हाम्रो अनन्त जीवन निर्भर हुन्छ! (१ तिमो. ४:१५) कोही-कोही हरेक दिन बिहान सबेरै उठ्‌छन्‌ अनि घरको वातावरण शान्त भएको र रातभरि आराम गरेर दिमाग ताजा भएको बेला अध्ययन गर्छन्‌। अरू कतिले भने राती सुत्नुअघि अलमल्याउने कुरा केही नभएको समयमा आध्यात्मिक भोजन लिन र त्यसमा मनन गर्न केही मिनेट छुट्ट्याउँछन्‌।

३-४. हाम्रो लागि उपलब्ध सामग्रीहरूको सन्दर्भमा कस्ता छाँटकाँट गरिएका छन्‌ र किन?

अध्ययन गर्न समय निकाल्नु महत्त्वपूर्ण छ भन्‍ने कुरामा तपाईँ पक्कै सहमत हुनुहुन्छ होला। तर के अध्ययन गर्ने? तपाईँ भन्‍नुहोला, ‘पढ्‌ने कुरा कत्ति धेरै छन्‌। सबै कुरा पढ्‌न भ्याउँदै भ्याउँदिनँ।’ कसै-कसैले सबै आध्यात्मिक प्रबन्धको पूरापूर सदुपयोग गर्न समय मिलाउँछन्‌। तर हाम्रा धेरैजसो भाइबहिनीलाई त्यसरी समय मिलाउन गाह्रो छ। परिचालक निकायले यो अवस्थालाई राम्ररी बुझेको छ। त्यसैकारण हालै परिचालक निकायले छापिएको वा इन्टरनेटमा उपलब्ध सामग्रीहरूमा कटौती गर्ने निर्णय गऱ्‍यो।

उदाहरणको लागि, अहिले हामी यहोवाका साक्षीहरूको वार्षिक पुस्तक प्रकाशित गर्दैनौँ किनभने थुप्रै प्रोत्साहनदायी अनुभवहरू jw.org® र JW ब्रोडकास्टिङमा आउने मासिक कार्यक्रमहरूमा हेर्न वा पढ्‌न पाउँछौँ। प्रहरीधरहरा-को जनसंस्करण र ब्यूँझनुहोस्‌! पत्रिका अहिले वर्षको तीन चोटि मात्र प्रकाशित हुन्छन्‌। अरू गतिविधिमा भाग लिन हामीसित अझ धेरै समय होस्‌ भनेर यस्ता छाँटकाँट गरिएका होइनन्‌। हामीले “अझ महत्त्वपूर्ण कुराहरू”-लाई झन्‌ बढी ध्यान दिन सकौँ भनेर यस्ता छाँटकाँट गरिएका हुन्‌। (फिलि. १:१०) आउनुहोस्‌, अब हामी कसरी प्राथमिकता तय गर्न सक्छौँ र कसरी व्यक्‍तिगत बाइबल अध्ययनबाट पूरापूर लाभ उठाउन सक्छौँ भनेर छलफल गरौँ।

प्राथमिकता तय गर्नुहोस्‌

५-६. हामीले अध्ययन गर्न छुटाउनै नहुने प्रकाशनहरू कुन-कुन हुन्‌?

अध्ययन गर्ने सन्दर्भमा हामीले प्राथमिकता दिनुपर्ने सामग्रीहरू कुन-कुन हुन्‌? हामीले हरेक दिन परमेश्‍वरको वचन अध्ययन गर्न समय निकाल्नै पर्छ। अहिले मण्डलीको साप्ताहिक बाइबल पढाइको लागि छुट्ट्याइएका अध्यायहरूको सङ्‌ख्या कम गरिएको छ। यसले गर्दा आफूले पढेको कुरामा मनन गर्न र थप अनुसन्धान गर्न समय पाउँछौँ। बाइबल पढ्‌नुको उद्देश्‍य हप्ताभरिको लागि दिइएका अध्यायहरू सरसरती पढ्‌नु मात्र होइन तर बाइबलको सन्देश हाम्रो मनसम्म पुग्न दिनु हो, जसले गर्दा हामी यहोवासित अझ नजिक हुनेछौँ।—भज. १९:१४.

यसबाहेक हामीले अरू के-कस्ता विषयवस्तु पनि ध्यान दिएर अध्ययन गर्नुपर्छ? हामीले प्रहरीधरहरा अध्ययन र मण्डली बाइबल अध्ययनको लागि दिइएको विषयवस्तुका साथै मध्यहप्ताको सभाको लागि दिइएको अरू विषयवस्तु पनि तयारी गर्नुपर्छ। हामीले प्रहरीधरहरा ब्यूँझनुहोस्‌! पत्रिकाको हरेक अङ्‌क पनि पढ्‌नुपर्छ।

७. हाम्रो वेबसाइट र JW ब्रोडकास्टिङमा उपलब्ध सम्पूर्ण सामग्री हेर्न वा पढ्‌न भ्याउँदैनौँ भने के हामी निरुत्साहित हुनुपर्छ?

तपाईँ भन्‍नुहोला, ‘त्यो त ठीकै छ तर हाम्रो वेबसाइट jw.org र JW ब्रोडकास्टिङमा कत्ति धेरै कुराहरू आउँछन्‌! तीचाहिँ के गर्ने नि?’ यो उदाहरण विचार गर्नुहोस्‌: किराना पसलमा थरीथरीका सामानहरू राखिएका हुन्छन्‌। पसलमा आउने ग्राहकहरूले सबै कुरा किन्‍न सम्भवै हुँदैन। त्यसैले तिनीहरू छानीछानी आफूलाई चाहिने सामान मात्र किन्छन्‌। त्यसरी नै, इन्टरनेटमा उपलब्ध सबै सामग्री पढ्‌न वा हेर्न भ्याउनुहुन्‍न भने निरुत्साहित नहुनुहोस्‌। आफूले जति सक्नुहुन्छ, त्यति पढ्‌नुहोस्‌ वा हेर्नुहोस्‌। अब हामी अध्ययन गर्नु भनेको के हो र अध्ययनबाट पूरापूर लाभ उठाउन के गर्न सक्छौँ भनेर छलफल गर्नेछौँ।

अध्ययन गर्न प्रयास चाहिन्छ!

८. प्रहरीधरहरा अध्ययन गर्न हामी कस्तो तरिका अपनाउन सक्छौँ? यसरी अध्ययन गर्दा तपाईँले कस्तो लाभ उठाउनुहुनेछ?

अध्ययन गर्नु भनेको कुनै विषयलाई उद्देश्‍यसहित गहिरिएर पढ्‌नु हो; दिइएको विषयवस्तु सरसरती पढ्‌नु र जवाफमा धर्सो तान्‍नु मात्र होइन। उदाहरणको लागि, प्रहरीधरहरा अध्ययनको तयारी गर्दा सर्वप्रथम लेखको सुरुमा दिइने परिचयमा ध्यान दिनुहोस्‌। त्यसपछि लेखको शीर्षक, उपशीर्षकहरू र पुनरावृत्ति प्रश्‍नहरूबारे विचार गर्नुहोस्‌। अनि लेख बिस्तारै र ध्यान दिँदै पढ्‌नुहोस्‌। शीर्ष वाक्य पनि हेर्नुहोस्‌, जुन अक्सर प्रत्येक अनुच्छेदको पहिलो वाक्य हो। शीर्ष वाक्य पढेपछि तपाईँले उक्‍त अनुच्छेदमा कस्ता कुराहरू छन्‌ भनेर थाह पाउनुहुनेछ। लेख पढ्‌दै जाँदा हरेक अनुच्छेदले उपशीर्षकलाई कसरी समर्थन गर्छ अनि लेखको मूल विषयसित त्यो कसरी सम्बन्धित छ भनेर विचार गर्नुहोस्‌। पढ्‌दै जाँदा पछि थप अनुसन्धान गरेर बुझ्न चाहेको नौलो शब्द र बुँदा टिपेर राख्नुहोस्‌।

९. (क) प्रहरीधरहरा अध्ययन गर्दा हामीले बाइबल पदहरूमा किन विशेष ध्यान दिनुपर्छ र हामी कसरी त्यसो गर्न सक्छौँ? (ख) यहोसु १:८ अनुसार हामीले पदहरू पढ्‌नुका साथै के पनि गर्नुपर्छ?

प्रहरीधरहरा अध्ययन भनेको वास्तवमा बाइबलको अध्ययन हो। त्यसैले बाइबल पदहरूमा विशेष ध्यान दिनुहोस्‌, खासगरि मण्डलीमा उक्‍त लेख छलफल गरिँदा पढिने पदहरू। ती पदहरूमा भएका मुख्य शब्द वा वाक्यांशले अनुच्छेदमा भएको बुँदालाई कसरी समर्थन गर्छ, त्यसमा विशेष ध्यान दिनुहोस्‌। साथै पदहरू पढ्‌दा समय लगाएर मनन गर्नुहोस्‌। अनि त्यसमा दिइएका कुराहरू व्यक्‍तिगत रूपमा कसरी लागू गर्न सक्नुहुन्छ, सोच्नुहोस्‌।यहोसु १:८ पढ्‌नुहोस्‌।

आमाबुबा हो, आफ्ना छोराछोरीलाई अध्ययन गर्ने तरिका सिकाउनुहोस्‌ (अनुच्छेद १० हेर्नुहोस्‌) *

१०. हिब्रू ५:१४ अनुसार पारिवारिक उपासनामा आमाबुबाले आफ्ना छोराछोरीलाई अध्ययन गर्ने र अनुसन्धान गर्ने तरिका किन सिकाउनुपर्छ?

१० हरेक हप्ता पारिवारिक उपासना गर्दा आमाबुबाले त्यो समय छोराछोरीको लागि रमाइलो बनाउन चाहनु स्वाभाविकै हो। हुनत आमाबुबाले पारिवारिक उपासनामा अध्ययन गर्नको लागि कुनै खास विषयवस्तु छान्‍नु आवश्‍यक छ। तर त्यसो भन्दैमा तिनीहरूले हरेक हप्ता विशेष गतिविधिको प्रबन्ध मिलाउनुपर्छ भन्‍ने सोच्नु पर्दैन। पारिवारिक उपासनाको बेला JW ब्रोडकास्टिङमा आउने मासिक कार्यक्रम हेर्ने वा कहिलेकाहीँ नुहको जहाजको सानो नमुना बनाउनेजस्ता विशेष गतिविधिमा भाग लिने योजना बनाउन सकिन्छ। तर आमाबुबाले छोराछोरीलाई कसरी अध्ययन गर्ने भनेर सिकाउनु पनि महत्त्वपूर्ण छ। जस्तै, छोराछोरीले मण्डलीका सभाहरूको लागि कसरी तयारी गर्ने वा स्कुलमा उठेको कुनै प्रश्‍न वा समस्याबारे कसरी अनुसन्धान गर्ने भनेर सिक्नु जरुरी छ। (हिब्रू ५:१४ पढ्‌नुहोस्‌) तिनीहरूले घरमा बाइबलको कुनै खास विषयमा अध्ययन गर्ने बानी बसालेका छन्‌ भने मण्डलीका सभा, सम्मेलन वा अधिवेशनहरूमा प्रस्तुत गरिने विषयवस्तुमा ध्यान दिन तिनीहरूलाई सजिलो हुनेछ किनभने ती कार्यक्रमहरूमा सधैँ भिडियो मात्र देखाइँदैन। छोराछोरीसित अध्ययन गर्दा आमाबुबाले तिनीहरूको उमेर र स्वभावलाई विचार गरेर कति समय अध्ययन गर्ने भनी निर्णय गर्नुपर्छ।

११. हामीले आफ्ना बाइबल विद्यार्थीहरूलाई अर्थपूर्ण तरिकामा अध्ययन गर्न सिकाउनु किन महत्त्वपूर्ण छ?

११ हाम्रा बाइबल विद्यार्थीहरूले पनि अध्ययन गर्ने तरिका सिक्नुपर्छ। भर्खरै अध्ययन गर्न थाल्दा तिनीहरूले बाइबल अध्ययनको लागि वा मण्डलीका सभाहरूको लागि जवाफमा धर्सो तानेर तयारी गरेको देख्दा मात्रै पनि हामीलाई खुसी लाग्छ। तर हामीले बाइबल विद्यार्थीलाई कसरी अनुसन्धान गर्ने र उनीहरू आफैले कसरी गहिरो अध्ययन गर्ने भनेर सिकाउनुपर्छ। यसो गऱ्‍यौँ भने तिनीहरूले कुनै समस्या खडा हुँदा तुरुन्तै मण्डलीका अरू कसैसित मदत माग्नुको साटो व्यावहारिक सल्लाहको लागि हाम्रा प्रकाशनहरूमा आफैले अनुसन्धान गर्न सिक्नेछन्‌।

उद्देश्‍य राखेर अध्ययन गर्नुहोस्‌

१२. हामी कस्ता उद्देश्‍यहरू राखेर अध्ययन गर्न सक्छौँ?

१२ तपाईँलाई अध्ययन गर्न मन पर्दैन भने आफूमा अध्ययन गर्ने रुचि कहिल्यै जगाउन सकिँदैन जस्तो लाग्ला। तर त्यसो होइन, तपाईँ पक्कै सक्नुहुन्छ! सुरु-सुरुमा छोटो समय मात्र अध्ययन गर्नुहोस्‌। पछि बिस्तारै समय बढाउँदै लैजानुहोस्‌। कुनै खास उद्देश्‍य राखेर अध्ययन गर्नुहोस्‌। हुनत अध्ययन गर्नुको मुख्य उद्देश्‍य यहोवासित अझ नजिक हुनु हो। तर तत्कालको लागि भने कसैले सोधेको प्रश्‍नको जवाफ दिने वा आफूले सामना गरिरहेको समस्याबारे अनुसन्धान गर्ने उद्देश्‍य राख्न सक्छौँ।

१३. (क) स्कुलमा आफ्नो विश्‍वासको पक्षमा बोल्न किशोरकिशोरीले कस्ता कदमहरू चाल्न सक्छन्‌? (ख) कलस्सी ४:६ मा दिइएको सल्लाह तपाईँ कसरी लागू गर्न सक्नुहुन्छ?

१३ उदाहरणको लागि, के तपाईँ स्कुलमा पढ्‌दै गर्नुभएको किशोर वा किशोरी हुनुहुन्छ? तपाईँको कक्षाका सबै साथीहरू क्रमविकासको सिद्धान्तमा विश्‍वास गर्छन्‌ होला। सृष्टिबारे बाइबलले सिकाउने कुरामा आफूले विश्‍वास गर्नुको कारण तपाईँ साथीहरूलाई बताउन चाहनुहुन्छ होला। तर तपाईँलाई आफ्नो कुरा राम्ररी बताउन सक्दिनँ जस्तो लाग्छ कि? त्यसो हो भने अध्ययन गर्नु महत्त्वपूर्ण छ! अनि अध्ययन गर्दा यी दुइटा उद्देश्‍य राख्न सक्नुहुन्छ: (१) परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो भन्‍ने कुरामा आफ्नो विश्‍वास अझ बलियो बनाउने अनि (२) आफ्नो विश्‍वासको पक्षमा बोल्ने क्षमता तिखार्ने। (रोमी १:२०; १ पत्रु. ३:१५) सुरुमा आफूलाई यो प्रश्‍न सोध्न सक्नुहुन्छ, ‘मेरा साथीहरू किन क्रमविकासको सिद्धान्तमा विश्‍वास गर्छन्‌?’ त्यसपछि हाम्रा प्रकाशनहरूमा गहिरो अनुसन्धान गर्नुहोस्‌। आफ्नो विश्‍वासको पक्षमा बोल्न तपाईँले सोचेजस्तो गाह्रो नहुन सक्छ। धेरैजसोले आफूले आदर गर्ने व्यक्‍तिबाट क्रमविकास सही हो भनेर सुनेकोले मात्र क्रमविकासको सिद्धान्तमा विश्‍वास गरेका हुन सक्छन्‌। त्यसैले अरूलाई बताउन सकिने एक-दुइटा बुँदा मात्र तयार गर्नुभयो भने पनि साँच्चै बुझ्न चाहने व्यक्‍तिलाई चित्तबुझ्दो जवाफ दिन सक्नुहुनेछ।कलस्सी ४:६ पढ्‌नुहोस्‌।

आफ्नो चासो जगाउनुहोस्‌

१४-१६. (क) आफूलाई राम्ररी थाह नभएको बाइबलको किताबबारे तपाईँ कसरी अझ धेरै कुरा थाह पाउन सक्नुहुन्छ? (ख) अनुच्छेदमा उल्लिखित बाइबल पदहरूबाट तपाईँ आमोसको किताबबारे कसरी अझ विस्तृत जानकारी पाउन सक्नुहुन्छ? (“ बाइबललाई जीवन्त बनाउनुहोस्‌!” भन्‍ने पेटी पनि हेर्नुहोस्‌)

१४ मानिलिनुहोस्‌, मण्डलीको आगामी सभामा होसेदेखि मलाकिमध्ये कुनै एउटा किताब पढ्‌ने र छलफल गर्ने तालिका छ। अनि तपाईँलाई त्यो किताब लेख्ने भविष्यवक्‍ताबारे त्यति धेरै कुरा थाह छैन। अब तपाईँले चाल्नुपर्ने पहिलो कदम भनेको ती भविष्यवक्‍ताले के लेखे भनेर आफ्नो चासो जगाउनु हो। तपाईँ कसरी त्यसो गर्न सक्नुहुन्छ?

१५ सर्वप्रथम आफूलाई सोध्नुहोस्‌: ‘यस किताबको लेखकबारे मलाई के थाह छ? तिनी को थिए, कहाँ बस्थे र तिनको पेसा के थियो?’ ती लेखकको पृष्ठभूमिबारे थाह पाउनुभयो भने तिनले कुनै खास शब्द वा उदाहरणहरू प्रयोग गर्नुको कारण बुझ्न सक्छौँ। बाइबल पढ्‌दै जाँदा ती लेखकको व्यक्‍तित्व झल्किने वाक्यांशहरू याद गर्नुहोस्‌।

१६ त्यसपछि तिनले त्यो किताब कहिले लेखे भनेर पत्ता लगाउनु मदतकारी हुन्छ। यो जानकारी पवित्र बाइबल—नयाँ संसार अनुवाद-को पछाडिपट्टि “बाइबलका किताबहरूको सूची” भन्‍ने पृष्ठमा हेरेर सजिलै पत्ता लगाउन सक्नुहुन्छ। साथै अतिरिक्‍त लेख क६ मा भविष्यवक्‍ताहरू र राजाहरूको चार्ट हेर्न सक्नुहुन्छ। तपाईँले अध्ययन गरिरहनुभएको किताब भविष्यवाणीको किताब हो भने त्यो लेखिएको बेला परिस्थिति कस्तो थियो भनेर थाह पाउनु राम्रो हुन्छ। ती भविष्यवक्‍तालाई आम मानिसहरूको कस्तो गलत मनोभाव वा कामहरू सच्याउन पठाइएको थियो? तिनका समकालीनहरू को-को थिए? यस्तो विस्तृत जानकारी पाउन तपाईँले बाइबलका अरू किताबहरू पनि हेर्नुपर्ने हुन सक्छ। उदाहरणको लागि, भविष्यवक्‍ता आमोसको समयमा के भइरहेको थियो भनेर बुझ्न २ राजा र २ इतिहासका केही पदहरू पढ्‌नु मदतकारी हुन्छ। ती पदहरू आमोस १:१ अन्तर्गत दिइएका सम्बन्धित पदहरूको सूचीमा उल्लेख गरिएका छन्‌। साथै होसेले लेखेको किताब पनि पढ्‌न सक्नुहुन्छ, जो सम्भवतः आमोसका समकालीन थिए। यसरी विभिन्‍न स्रोतहरू केलाउँदा आमोसको समयबारे अझ राम्ररी बुझ्न सक्नुहुनेछ।—२ राजा १४:२५-२८; २ इति. २६:१-१५; होसे १:१-११; आमो. १:१.

स-साना जानकारीलाई ध्यान दिनुहोस्‌

१७-१८. स-साना जानकारीहरूलाई पनि ध्यान दिँदा व्यक्‍तिगत बाइबल अध्ययन रमाइलो हुन्छ भनेर बुझाउन अनुच्छेदहरूमा दिइएका वा आफ्नै उदाहरण बताउनुहोस्‌।

१७ बाइबल पढ्‌दा मनमा कौतूहलता जगाउँदै पढ्‌नु राम्रो हो। मानौँ, तपाईँ जकरियाको किताबको अध्याय १२ पढ्‌दै हुनुहुन्छ, जहाँ मसीहको मृत्युबारे भविष्यवाणी गरिएको छ। (जक. १२:१०) पद १२ मा मसीहको मृत्यु हुँदा “नातानको घरानाले” ठूलो रुवाबासी गर्नेछ भनेर लेखिएको छ। यो भागलाई सरसरती पढ्‌नुको साटो एकछिन रोकिनुहोस्‌ र आफूलाई सोध्नुहोस्‌: ‘नातानको घराना र मसीहबीच कस्तो सम्बन्ध छ? म यसबारे कसरी थप जानकारी पाउन सक्छु?’ अब तपाईँ “जासुसले जस्तै” खोजतलास गर्न थाल्नुहोस्‌। पद १२ अन्तर्गत सम्बन्धित पदहरूको सूचीमा २ समुएल ५:१३, १४ दिइएको छ। यी पदहरू पढ्‌दा नातान राजा दाउदका छोराहरूमध्ये एक जना थिए भनेर थाह पाउनुहुन्छ। पद १२ अन्तर्गत सम्बन्धित पदहरूको सूचीमा लुका ३:२३, ३१ पनि दिइएको छ। यी पदहरू पढ्‌दा येसु मरियमको वंशजअनुसार नातानको सन्तान हुनुहुन्थ्यो भनेर थाह पाउन सक्छौँ। (जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री, जून २०१८, पृष्ठ ४ मा भएको “यूसुफका बुबा को थिए?” भन्‍ने विषयवस्तु हेर्नुहोस्‌) अबचाहिँ तपाईँको चासो जाग्यो होला! हुनत येसु दाउदको वंशबाट आउनुहुनेछ भन्‍ने भविष्यवाणी तपाईँलाई थाह थियो। (मत्ति २२:४२) तर दाउदका २० जनाभन्दा धेरै छोरा थिए। त्यसैले जकरियाले तोकेरै नातानको घरानाले येसुको मृत्युमा शोक मनाउनेछ भनेर उल्लेख गर्नु रोचक छैन र?

१८ अब अर्को उदाहरण विचार गर्नुहोस्‌। लुकाको किताबको पहिलो अध्यायमा गब्रिएल स्वर्गदूत मरियमकहाँ आएर तिनले जन्माउने छोराबारे घोषणा गरेको विवरण पाउँछौँ। स्वर्गदूतले यस्तो घोषणा गरे: “उहाँ महान्‌ हुनुहुनेछ र सर्वोच्च परमेश्‍वरका छोरा कहलाइनुहुनेछ अनि यहोवा परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। उहाँले राजाको रूपमा याकुबको घरानामाथि सधैँभरि शासन गर्नुहुनेछ।” (लुका १:३२, ३३) गब्रिएलले घोषणा गरेको सन्देशको पहिलो भागमा हाम्रो ध्यान जानु स्वाभाविक हो। तिनले येसु “सर्वोच्च परमेश्‍वरका छोरा कहलाइनुहुनेछ” भने। तर येसुले ‘राजाको रूपमा शासन गर्नुहुनेछ’ भनेर पनि गब्रिएलले भविष्यवाणी गरे। त्यसैले गब्रिएलले भनेका ती शब्दहरू मरियमले कसरी बुझिन्‌ होला भनेर हामी आफैलाई सोध्न सक्छौँ। येसुले राजा हेरोद वा उनको कुनै उत्तराधिकारीलाई विस्थापित गरेर इस्राएलमा शासन गर्नुहुनेछ भनेर मरियमले सोचिन्‌ कि? यदि येसु इस्राएलको राजा हुनुभएको भए मरियम राजमाता हुने थिइन्‌ र तिनको परिवार दरबारमा बस्ने थियो। तर मरियमले गब्रिएललाई यस्तो सम्भावनाबारे सोधेको अलिकता पनि छनक हामी बाइबलमा पाउँदैनौँ। मरियमले परमेश्‍वरको राज्यमा एउटा विशेष स्थान पाऊँ भनेर येसुका दुई जना चेलाले जस्तो बिन्ती गरेको कुरा पनि हामी बाइबलमा पाउँदैनौँ। (मत्ति २०:२०-२३) यस्ता विवरणहरू पढ्‌दा मरियम असाध्यै नम्र स्त्री थिइन्‌ भन्‍ने कुरा अझ स्पष्ट हुन्छ!

१९-२०. याकुब १:२२-२५ र ४:८ मा बताइएअनुसार हामीले कस्ता उद्देश्‍यहरू राखेर अध्ययन गर्नुपर्छ?

१९ परमेश्‍वरको वचन र त्यसमा आधारित प्रकाशनहरू अध्ययन गर्नुको मुख्य उद्देश्‍य यहोवासित अझ नजिक हुनु हो भनेर हामीले बिर्सनु हुँदैन। साथै ‘आफू कस्तो मानिस हुँ’ भनेर अझ स्पष्टसित बुझ्न र परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन कस्ता छाँटकाँटहरू गर्नु आवश्‍यक छ भनेर थाह पाउन पनि हामी अध्ययन गर्छौँ। (याकुब १:२२-२५; ४:८ पढ्‌नुहोस्‌) त्यसैले हरेक चोटि अध्ययन गर्न थाल्नुअघि हामीले यहोवासित उहाँको पवित्र शक्‍ति माग्नुपर्छ। अध्ययन गर्न लागेको विषयवस्तुबाट पूरापूर लाभ उठाउन र आफूले के-कस्ता छाँटकाँट गर्नु आवश्‍यक छ भनेर थाह पाउन हामीले उहाँसित मदत माग्नुपर्छ।

२० हामी सबै जना भजनरचयिताले वर्णन गरेको परमेश्‍वरको सेवकजस्तै बन्‍न सकौँ, जसबारे तिनले यसो भने: “यहोवाको व्यवस्थामा ऊ प्रसन्‍न रहन्छ र दिनरात उहाँको व्यवस्था गुनगुनाएर पढ्‌छ। . . . उसले जे गर्छ, त्यसमा ऊ सफल हुन्छ।”—भज. १:२, ३.

गीत ८८ मलाई तपाईँको मार्ग सिकाउनुहोस्‌

^ अनु. 5 यहोवाले हामीलाई हेर्न, पढ्‌न र अध्ययन गर्न कुनै कन्जुस्याइँ नगरी प्रशस्त सामग्री दिनुभएको छ। यस लेखले तपाईँलाई के अध्ययन गर्ने भनी निर्णय गर्न मदत गर्नेछ। अनि अध्ययनबाट सकेसम्म धेरै लाभ उठाउन के गर्न सक्छौँ भनेर व्यावहारिक सुझावहरू पनि दिनेछ।

^ अनु. 61 चित्रको व्याख्या: आमाबुबा आफ्ना छोराछोरीलाई साप्ताहिक प्रहरीधरहरा अध्ययनको लागि कसरी तयारी गर्ने भनेर सिकाउँछन्‌।

^ अनु. 63 चित्रको व्याख्या: एक जना भाइ बाइबल लेखक आमोसबारे अनुसन्धान गर्छन्‌। पछाडिपट्टिको चित्रमा तिनले बाइबल पढ्‌दा र त्यसमा मनन गर्दा कल्पना गरेको दृश्‍य देखाइएको छ।