सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २१

“यस संसारको बुद्धि”-को बहकाउमा नपर्नुहोस्‌

“यस संसारको बुद्धि”-को बहकाउमा नपर्नुहोस्‌

“यस संसारको बुद्धि परमेश्‍वरको लागि मूर्खता हो।”—१ कोरि. ३:१९.

गीत ९८ धर्मशास्त्र—ईश्‍वर प्रेरित

परिचय *

१. परमेश्‍वरको वचनले हामीलाई के सिकाउँछ?

यहोवा हाम्रो महान्‌ शिक्षक हुनुहुन्छ, त्यसैले हामी जस्तोसुकै चुनौतीको सामना गर्न सक्छौँ। (यसै. ३०:२०, २१) उहाँको वचनले हामीलाई “पूर्णतया योग्य र हरेक असल कामका लागि पूर्ण रूपमा तयार” बन्‍न चाहिने सबै कुरा सिकाउँछ। (२ तिमो. ३:१७) बाइबलको शिक्षाअनुसार जीवन बिताउँदा “यस संसारको बुद्धि”-को गुणगान गाउने मानिसहरूभन्दा हामी बुद्धिमान्‌ भइरहेका हुन्छौँ।—१ कोरि. ३:१९; भज. ११९:९७-१००.

२. यस लेखमा हामी कुन कुरा विचार गर्नेछौँ?

संसारको बुद्धि झल्काउने कुराहरूले अक्सर हाम्रो शारीरिक इच्छालाई तृप्त पार्न खोज्छ। त्यसकारण यस संसारका मानिसहरूले जस्तै सोच्ने र तिनीहरूले जस्तै गर्ने दबाबको सामना गर्न हामीलाई गाह्रो लाग्न सक्छ। बाइबलले यसो भन्‍नु एकदमै उपयुक्‍त छ: “होसियार बस, कसैले तिमीहरूलाई मानव दर्शनका साथै खोक्रो अनि छली विचारधाराहरूद्वारा कैदी नबनाओस्‌।” (कल. २:८) यस लेखमा हामी दुई वटा छली विचारधारा अर्थात्‌ झूट कसरी जताततै फैलिए भनेर विचार गर्नेछौँ। साथै संसारको बुद्धि किन मूर्खता हो र संसारले दिने कुनै पनि कुराको तुलनामा परमेश्‍वरको वचनमा पाइने बुद्धि कता हो कता उत्कृष्ट छ भनेर किन भन्‍न सक्छौँ, त्यो पनि सँगसँगै छलफल गर्नेछौँ।

यौनबारे मानिसहरूको दृष्टिकोणमा आएको परिवर्तन

३-४. संयुक्‍त राज्य अमेरिकामा बिसौँ शताब्दीको सुरुतिर यौनबारे मानिसहरूको दृष्टिकोणमा कस्ता परिवर्तनहरू आए?

संयुक्‍त राज्य अमेरिकामा बिसौँ शताब्दीको सुरुतिर यौनबारे मानिसहरूको दृष्टिकोणमा ठूलो परिवर्तन आयो। त्यसअघि यौनसम्बन्ध भनेको विवाहित जोडीबीच मात्रै हुनुपर्छ भन्‍ने धारणा थियो र सार्वजनिक ठाउँमा यौनबारे कुरा गर्नुलाई अनुचित ठान्थे। तर ती स्तरहरू भताभुङ्‌ग भए अनि स्वच्छन्द विचार फैलिँदै गयो।

समाजमा आमूल परिवर्तन आएको समय भनेको १९२० को दशक थियो र त्यसको असर जताततै देखिन थाल्यो। एक अनुसन्धानकर्ता यसो भन्छन्‌: “चलचित्र, नाटक, गीत, उपन्यास र विज्ञापन सबैमा यौनसम्बन्धी कुराहरू छ्यासछ्यासती देखा पर्न थाले।” त्यही दशकको दौडान नृत्यका शैलीहरू यौन उत्तेजना जगाउने किसिमका हुँदै जान थाले अनि अभद्र किसिमको पहिरन लगाउने लहड चल्न थाल्यो। बाइबलले अन्तको दिनबारे भविष्यवाणी गरेझैँ “सुखविलासलाई प्रेम गर्ने” मानिसहरू प्रस्टै देखिने थाले।—२ तिमो. ३:४.

परमेश्‍वरका जनहरू संसारको खस्किएको नैतिक स्तरको बहकाउमा पर्दैनन्‌ (अनुच्छेद ५ हेर्नुहोस्‌) *

५. सन्‌ १९६० को दशकदेखि यता नैतिक स्तरप्रति संसारको दृष्टिकोणमा कस्तो परिवर्तन आएको छ?

सन्‌ १९६० को दशकमा विवाह नगरी सँगै बस्ने, समलिङ्‌गी सम्बन्ध राख्ने र पतिपत्नीले सजिलै सम्बन्धविच्छेद गर्ने जस्ता कुराहरू व्याप्त हुँदै जान थाले। मनोरञ्जनजगत्‌मा यौनसम्बन्धलाई पहिलेभन्दा झनै खुला रूपमा प्रस्तुत गर्न थालियो। यसरी खस्किएको नैतिक स्तरको थुप्रै नकारात्मक असर हालैका दशकहरूमा देखा परेका छन्‌। एक जना लेखकको भनाइअनुसार “अहिलेको समाजमा यौनसम्बन्धी नैतिक स्तरहरूको अवहेलना गरिएकोले” परिवारहरू टुक्रिएका छन्‌, आमा वा बुबा मात्र भएको परिवार धेरै भएका छन्‌, थुप्रैले भावनात्मक चोटहरू सहनुपरेको छ, थुप्रैलाई अश्‍लील सामग्री हेर्ने लत बसेको छ र यस्तै अन्य दुःखलाग्दा नतिजाहरू भोग्नुपरेको छ। यस संसारको बुद्धि मूर्खता हो भन्‍ने कुरा एड्‌सजस्ता यौनजन्य रोगहरू फैलिएको कुराबाट देखिन्छ र यो त एउटा मात्रै उदाहरण हो।—२ पत्रु. २:१९.

६. यौनबारे संसारले राख्ने दृष्टिकोणले कसरी सैतानको उद्देश्‍य पूरा गर्छ?

यौनबारे संसारले राख्ने दृष्टिकोणले सैतानको उद्देश्‍य पूरा गर्छ। मानिसहरू यौनसम्बन्धबारे परमेश्‍वरले दिनुभएको स्तरविपरीत चलेको अनि परमेश्‍वरले वरदानस्वरूप दिनुभएको वैवाहिक सम्बन्धको उनीहरूले अनादर गरेको देख्दा सैतान खुसी हुन्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। (एफि. २:२) मानिसहरूले सन्तान जन्माउन सकून्‌ भनेर परमेश्‍वरले दिनुभएको सुन्दर उपहारलाई अवैध यौनसम्बन्धले बिटुलो पार्ने मात्र होइन, यस्तो सम्बन्ध राख्नेहरू अनन्त जीवन पाउन अयोग्यसमेत हुन सक्छन्‌।—१ कोरि. ६:९, १०.

यौनबारे बाइबलको दृष्टिकोण

७-८. बाइबलले यौनसम्बन्धप्रति कस्तो मर्यादित र उचित दृष्टिकोण राख्न सिकाउँछ?

यस संसारको बुद्धिको पछि लाग्ने मानिसहरू बाइबलले तोकेका नैतिक स्तरहरू असाध्यै अव्यावहारिक छन्‌ भन्दै त्यसलाई ठट्टामा उडाउँछन्‌। कसै-कसैले यसो भन्लान्‌, ‘परमेश्‍वरले नै हामीलाई यौन इच्छासहित सृष्टि गर्नुभएको छ भने फेरि उहाँले नै त्यसलाई वशमा राख्ने आज्ञा किन दिनुहोला र?’ यस्तो सोचाइ भनेको मानिसले आफूलाई जे मन लाग्छ, त्यही गर्नुपर्छ भन्‍ने गलत धारणामा आधारित छ। तर बाइबलले फरक कुरा सिकाउँछ। मानिसहरूले आफ्नो मनमा आउने गलत इच्छाहरूलाई काबूमा राख्ने छनौट गर्न सक्छन्‌ भन्‍ने कुरा सिकाएर बाइबलले हाम्रो मर्यादा बढाएको छ। (कल. ३:५) साथै यहोवाले मानिसहरूलाई विवाहको वरदान पनि दिनुभएको छ, जुन प्रबन्धभित्र रहेर मानिसहरूले उचित किसिमले आफ्नो यौन चाहना पूरा गर्न सक्छन्‌। (१ कोरि. ७:८, ९) वैवाहिक प्रबन्धभित्र रहेर पति र पत्नीले यौनसम्बन्धको आनन्द उठाउन सक्छन्‌ र तिनीहरूले अवैध यौनसम्बन्ध राख्ने मानिसहरूले जस्तो पछुताउनुपर्ने वा चिन्ता गर्नुपर्ने हुँदैन।

संसारको बुद्धिले जस्तो नभई बाइबलले यौनसम्बन्धलाई उचित दृष्टिकोणले हेर्न सिकाउँछ। यौनसम्बन्ध आनन्दको स्रोत हुन सक्छ भनेर बाइबल बताउँछ। (हितो. ५:१८, १९) तर अर्कोतर्फ बाइबल यसो पनि भन्छ: “तिमीहरू हरेकले आफ्नो शरीरलाई पवित्रता र आदरसाथ वशमा राख्न सिक्नुपर्छ। तिमीहरू परमेश्‍वरलाई नचिन्‍ने ती अन्यजातिका मानिसहरूजस्तो नहोओ, जो लोभी र अनियन्त्रित भएर आफ्नो कामवासना पूरा गर्छन्‌।”—१ थिस्स. ४:४, ५.

९. (क) बिसौँ शताब्दीको सुरुतिरका यहोवाका जनहरूलाई परमेश्‍वरको वचनमा पाइने सर्वोत्कृष्ट बुद्धिअनुसार चलिरहन केले मदत गऱ्‍यो? (ख) पहिलो युहन्‍ना २:१५, १६ मा हामी कस्तो बुद्धिमानी सल्लाह पाउँछौँ? (ग) रोमी १:२४-२७ मा हामीले आफूमा विकास गर्न नहुने कस्ता अनैतिक कामहरूको सूची दिइएको छ?

बिसौँ शताब्दीको सुरुतिरका यहोवाका जनहरू छली विचारधारा राख्ने मानिसहरूबाट बहकिएनन्‌, जसले आफ्नो “सबै नैतिक चेतना गुमाइसकेका” थिए। (एफि. ४:१९) तिनीहरूले यहोवाका स्तरहरू पूर्णतया पालन गरिरहन प्रयत्न गरे। मे १५, १९२६ अङ्‌कको प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) यस्तो लेखिएको थियो: “कुनै पनि पुरुष वा स्त्रीले आफ्नो सोचाइ र व्यवहारलाई चोखो अनि पवित्र राख्नुपर्छ, खासगरि विपरीत लिङ्‌गको व्यक्‍तिसितको मामिलामा।” वरपर जस्तोसुकै परिवर्तन आइरहेको भए तापनि यहोवाका जनहरू भने परमेश्‍वरको वचनमा पाइने सर्वोत्कृष्ट बुद्धिअनुसार चलिरहे। (१ युहन्‍ना २:१५, १६ पढ्‌नुहोस्‌) परमेश्‍वरको वचन पाएकोमा हामी कत्ति आभारी छौँ! साथै नैतिकताको सन्दर्भमा संसारको बुद्धिको पछि लाग्ने दबाबको प्रतिरोध गर्न हामीलाई समय सुहाउँदो आध्यात्मिक भोजन दिनुभएकोमा पनि हामी यहोवाप्रति कृतज्ञ छौँ। *रोमी १:२४-२७ पढ्‌नुहोस्‌।

आफूलाई प्रेम गर्नेबारे मानिसहरूको दृष्टिकोणमा आएको परिवर्तन

१०-११. अन्तको दिनबारे बाइबलमा कस्तो चेतावनी दिइएको थियो?

१० अन्तको दिनमा मानिसहरू “आफैलाई मात्र प्रेम गर्ने” हुनेछन्‌ भनेर बाइबलले चेतावनी दिएको थियो। (२ तिमो. ३:१, २) त्यसैले अहिलेको संसारले आफूलाई अचाक्ली महत्त्व दिन सिकाएको देख्दा हामी छक्क पर्दैनौँ। एउटा किताबअनुसार १९७० को दशकतिर “आफ्नो जीवन कसरी सफल बनाउने भन्‍ने विषयमा सुझाव दिने किताबहरू अत्यधिक बिक्री भए।” केही किताबहरूले “पाठकहरूलाई आफैलाई चिन्‍न अनि आफू जे हो, त्यसलाई स्विकार्न अनि त्यसैमा रमाउन सिकाए।” उदाहरणको लागि, त्यस्तै एउटा किताबमा लेखिएको एउटा भनाइ विचार गर्नुहोस्‌: “आफैलाई प्रेम गर्नुहोस्‌ किनकि यस संसारमा सबैभन्दा सुन्दर, सबैभन्दा रोमाञ्चक अनि सबैभन्दा महत्त्वपूर्ण व्यक्‍ति तपाईँ नै हुनुहुन्छ।” साथै त्यस किताबले जोड दिएअनुसार “मानिसले आफ्नो धार्मिक स्तर आफैले निर्धारण गर्न सक्छ। यसको मतलब, कुनै मानिसले आफ्नो व्यवहार कस्तो हुनुपर्छ भन्‍ने कुरा आफ्नै अन्तस्करणको आधारमा अनि आफू बस्ने समाजको आफूलाई स्वीकार्य लाग्ने नियमको आधारमा निर्णय गर्न सक्छ।”

११ यस्तै धारणा पहिला पनि कता-कता सुनेको जस्तो तपाईँलाई लाग्यो कि? सैतानले हव्वालाई यस्तै सोचाइ राख्न उक्साएको थियो। सैतानले तिनी ‘परमेश्‍वरजस्तै हुनेछिन्‌ अनि असल र खराब थाह पाउनेछिन्‌’ भनेर बतायो। (उत्प. ३:५) आज थुप्रै मानिस आफूलाई यति धेरै महत्त्व दिन्छन्‌ कि तिनीहरूको विचारमा कसैसित पनि, यहाँसम्म कि परमेश्‍वरसित पनि तिनीहरूलाई के सही हो र के गलत हो भनेर बताउने अधिकार छैन। उदाहरणको लागि, विवाहबारे मानिसहरूको दृष्टिकोणमा खासगरि यो कुरा प्रस्टै देख्न सकिन्छ।

ख्रिष्टियनहरू अरूको आवश्‍यकतालाई प्राथमिकता दिन्छन्‌—खासगरि आफ्नो विवाहित जोडीको (अनुच्छेद १२ हेर्नुहोस्‌) *

१२. संसारले विवाहप्रति कस्तो दृष्टिकोण राख्न सिकाउँछ?

१२ बाइबलले पति र पत्नीलाई एकअर्काको आदर गर्न र विवाह वाचा नतोड्‌न सल्लाह दिएको छ। बाइबलले विवाहित जोडीलाई एकअर्काप्रति पूर्णतया समर्पित हुन प्रोत्साहन दिँदै यसो भनेको छ: “पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌छ अनि आफ्नी पत्नीसित बस्छ र तिनीहरू एउटै शरीर हुन्छन्‌।” (उत्प. २:२४) यसको विपरीत संसारको बुद्धिको पछि लाग्ने मानिसहरूले बेग्लै किसिमको सोचाइ राख्न सिकाउँछन्‌। पति र पत्नीले एकअर्काको नभई आ-आफ्नै आवश्‍यकतामा ध्यान दिनुपर्छ भनेर तिनीहरू सिकाउँछन्‌। सम्बन्धविच्छेदबारे एउटा किताब यसो भन्छ: “केही विवाह समारोहहरूमा ‘बाँचुन्जेल सँगै रहने’ भन्‍ने पहिलेदेखि गरिँदै आएको वाचालाई परिमार्जन गरेर ‘माया नमरुन्जेल सँगै रहने’ भनी फितलो बनाइएको छ।” विवाहलाई यसरी हल्कासित लिने प्रवृत्तिले गर्दा थुप्रै परिवार टुक्रिएका छन्‌ र धेरैले वर्णनै गर्न नसकिने भावनात्मक चोटहरू सहनुपरेको छ। विवाहको अनादर गर्ने संसारको दृष्टिकोण मूर्खतापूर्ण छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

१३. घमन्डी मानिसलाई यहोवाले घृणा गर्नुको एउटा कारण के हो?

१३ बाइबल भन्छ: “घमन्डी मानिसलाई यहोवा घृणा गर्नुहुन्छ।” (हितो. १६:५) घमन्डी मानिसलाई यहोवा किन घृणा गर्नुहुन्छ? यसको एउटा कारण, आफैलाई अचाक्ली प्रेम गर्ने र अरूलाई पनि त्यसै गर्न सिकाउने मानिसहरूले सैतानको जस्तै अहङ्‌कारी मनोभाव देखाइरहेका हुन्छन्‌। सैतान कत्तिसम्म अहङ्‌कारी छ, विचार गर्नुहोस्‌ त। येसु, जसलाई परमेश्‍वरले सबै थोक सृष्टि गर्न चलाउनुभएको थियो, उहाँले समेत घोप्टो परेर आफूलाई ढोगेको त्यो चाहन्थ्यो। (मत्ति ४:८, ९; कल. १:१५, १६) आफूलाई अचाक्ली महत्त्व दिने व्यक्‍तिहरूको मनोभावलाई विचार गर्दा संसारको बुद्धि परमेश्‍वरको लागि मूर्खता हो भन्‍ने कुरा अझै प्रस्ट हुन्छ।

आफूलाई बढ्‌तै महत्त्व दिनेबारे बाइबलको दृष्टिकोण

१४. रोमी १२:३ ले हामीलाई आफूप्रति सन्तुलित दृष्टिकोण राख्न कसरी मदत गर्छ?

१४ बाइबलले हामीलाई आफूप्रति सन्तुलित दृष्टिकोण राख्न मदत गर्छ। केही हदसम्म आफूलाई प्रेम गर्नु उचित छ भन्‍ने कुरालाई बाइबलले समर्थन गर्छ। येसुले भन्‍नुभयो: “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।” (मत्ति १९:१९) येसुको भनाइबाट हामीले आफ्नो आवश्‍यकता पूरा गर्न पनि उचित ध्यान दिनुपर्छ भनेर बुझ्न सक्छौँ। तर हामीले आफूलाई अरूभन्दा माथि उचाल्नुपर्छ भनेर चाहिँ बाइबलले सिकाउँदैन। बरु बाइबल यसो भन्छ: “वैमनस्यता वा फोस्रो घमन्डले केही नगर तर नम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान।”—फिलि. २:३; रोमी १२:३ पढ्‌नुहोस्‌।

१५. आफूप्रति सन्तुलित दृष्टिकोण राख्ने सन्दर्भमा बाइबलले दिएको सल्लाह तपाईँलाई किन व्यावहारिक लाग्छ?

१५ आज बुद्धिमान्‌ ठानिएका थुप्रै व्यक्‍ति आफूप्रति सन्तुलित दृष्टिकोण राख्ने सन्दर्भमा बाइबलले दिएको सल्लाहलाई हाँसोमा उडाउँछन्‌। यदि हामी अरूलाई आफूभन्दा श्रेष्ठ ठान्छौँ भने हामी अरूको अगाडि कमजोर देखिन सक्छौँ र अरूले हामीबाट नाजायज फाइदा उठाउन सक्छन्‌ भनेर तिनीहरू भन्छन्‌। तर वास्तविकताले के देखाउँछ? सैतानको संसारले फैलाएको स्वार्थी मनोभावले कस्तो नतिजा ल्याएको छ? तपाईँलाई कस्तो लाग्छ? के स्वार्थी मानिसहरू खुसी छन्‌? के तिनीहरूको परिवार खुसी छ? के तिनीहरूले साँचो साथीहरू पाउन सकेका छन्‌? के तिनीहरूले परमेश्‍वरसित घनिष्ठ सम्बन्ध गाँस्न सकेका छन्‌? आफूले देखेको कुरालाई विचार गर्दा तपाईँ कस्तो निष्कर्षमा पुग्नुहुन्छ—संसारको बुद्धिको पछि लाग्दा नतिजा राम्रो हुन्छ कि परमेश्‍वरको वचनमा पाइने बुद्धिअनुसार जिउँदा?

१६-१७. हामी कुन कुराको लागि कृतज्ञ छौँ? किन?

१६ संसारले बुद्धिमान्‌ ठानेका व्यक्‍तिहरूको सल्लाह पछ्याउने मानिस भनेको नयाँ ठाउँमा पुगेर बाटो बिराएको पर्यटकजस्तै हो, जसले बाटो पत्ता लगाउन आफूजस्तै हराएको अर्को पर्यटकसित मदत माग्छ। येसुले आफ्नो समयका बुद्धिमान्‌ भनौँदाहरूबारे यसो भन्‍नुभयो: “तिनीहरू अन्धा अगुवाहरू हुन्‌। यदि अन्धाले अन्धालाई डोऱ्‍याउँछ भने दुवै जना खाल्टोमा खस्नेछन्‌।” (मत्ति १५:१४) यस संसारको बुद्धि साँच्चै नै परमेश्‍वरको लागि मूर्खता हो।

परमेश्‍वरका सेवकहरू यहोवाको सेवामा आफूले बिताएको जीवनलाई फर्केर हेर्दा सन्तुष्ट छन्‌ (अनुच्छेद १७ हेर्नुहोस्‌) *

१७ बाइबलले दिने बुद्धिमानी सल्लाह “सिकाउन, सुधार्न, सच्याउन र परमेश्‍वरको स्तरबमोजिम अनुशासन दिनका लागि” सधैँ उपयोगी साबित भएको छ। (२ तिमो. ३:१६) यहोवाले आफ्नो सङ्‌गठनद्वारा हामीलाई यस संसारको बुद्धिबाट प्रभावित हुनदेखि जोगाउनुभएकोमा हामी कत्ति कृतज्ञ छौँ! (एफि. ४:१४) उहाँले हाम्रो लागि उपलब्ध गराउनुभएको आध्यात्मिक भोजनले हामीलाई उहाँको वचनका स्तरहरू पालन गरिरहन चाहिने बल दिन्छ। बाइबलमा पाइने अचूक बुद्धिको डोऱ्‍याइअनुसार चल्न पाउनु हाम्रो लागि कत्ति ठूलो सुअवसर!

गीत ५४ ‘यही हो बाटो’

^ अनु. 5 यस लेखले भरपर्दो डोऱ्‍याइको एक मात्र स्रोत यहोवा हुनुहुन्छ भनेर हामीलाई अझ विश्‍वस्त बनाउनेछ। साथै संसारको बुद्धिको पछि लाग्दा दुःखद नतिजा भोग्नुपर्ने हुन्छ तर परमेश्‍वरको वचनमा पाइने बुद्धिअनुसार चल्दा भने हाम्रै फाइदा हुन्छ भनेर पनि बुझ्नेछौँ।

^ अनु. 9 उदाहरणको लागि, युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ (अङ्‌ग्रेजी) किताबको खण्ड १, अध्याय २४-२६; खण्ड २, अध्याय ४-५ अनि युवाहरूको १० प्रश्‍नका जवाफहरू पुस्तिकाको प्रश्‍न ७ हेर्नुहोस्‌।

^ अनु. 50 चित्रको व्याख्या: एक विवाहित साक्षी दम्पतीको जीवनका केही पलहरू हामी चित्रमा देख्न सक्छौँ। सन्‌ १९६० को दशकको अन्ततिर तिनीहरू प्रचारकार्यमा भाग लिइरहेका छन्‌।

^ अनु. 52 चित्रको व्याख्या: सन्‌ १९८० को दशकमा पति आफ्नी पत्नीको ख्याल राख्छन्‌, जो बिरामी परेकी छिन्‌ र तिनीहरूकी सानी छोरीले हेरिरहेकी छिन्‌।

^ अनु. 54 चित्रको व्याख्या: अहिले तिनीहरू यहोवाको सेवामा बिताएका रमाइला पलहरू फर्केर हेर्दै छन्‌। तिनीहरूकी छोरी र उनको परिवार पनि तिनीहरूसँगसँगै आनन्दित छन्‌।