सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १९

अन्तको समयमा “उत्तरका राजा”

अन्तको समयमा “उत्तरका राजा”

“अन्तको समयमा दक्षिणका राजा तिनीसित [अर्थात्‌ उत्तरका राजासित] भिड्‌नेछन्‌।”—दानि. ११:४०.

गीत १५० छुटकारा पाउन यहोवालाई खोजौँ!

परिचय *

१. बाइबल भविष्यवाणीले हामीलाई कुन कुरा बुझ्न मदत गर्छ?

निकट भविष्यमा यहोवाका जनहरूलाई के हुनेछ? यसको जवाफ स्पष्ट छ। बाइबल भविष्यवाणीहरू राम्ररी केलाउँदा हामी सबैलाई असर गर्ने ठूलठूला घटनाहरू हुनेछन्‌ भनेर बुझ्न सक्छौँ। खासगरि एउटा भविष्यवाणीले पृथ्वीका केही शक्‍तिशाली सरकारले के गर्नेछन्‌ भनेर बुझ्न मदत गर्छ। त्यो भविष्यवाणी दानिएलको अध्याय ११ मा पाइन्छ। त्यसमा उत्तरका राजा र दक्षिणका राजाबारे बताइएको छ, जो एकअर्काविरुद्ध लडिरहन्छन्‌। त्यो भविष्यवाणीको प्रायजसो भाग पूरा भइसकेको छ। त्यसैले बाँकी भाग पनि पूरा हुनेछ भनेर हामी ढुक्क हुन सक्छौँ।

२. उत्पत्ति ३:१५ अनि प्रकाश ११:७ र १२:१७ अनुसार दानिएलको भविष्यवाणी अध्ययन गर्दा हामीले कुन कुरा याद गर्नुपर्छ?

दानिएल अध्याय ११ मा रेकर्ड गरिएको भविष्यवाणी बुझ्न हामीले कुन कुरा याद गर्नुपर्छ भने, त्यसमा परमेश्‍वरका जनहरूलाई प्रत्यक्ष असर गर्ने शासक र सरकारहरूको चिनारी मात्र प्रकट गरिएको छ। हुनत विश्‍व जनसङ्‌ख्याको तुलनामा यहोवाका सेवकहरू थोरै मात्र छन्‌। तैपनि ती सरकारहरूले किन परमेश्‍वरका जनहरूलाई आफ्नो आक्रमणको तारो बनाएका छन्‌? किनभने सैतान र त्यसको पूरै संसारको एक मात्र लक्ष्य भनेको यहोवा र येसुको सेवा गर्नेहरूलाई नामेट पार्नु हो। (उत्पत्ति ३:१५ र प्रकाश ११:७; १२:१७ पढ्‌नुहोस्‌) साथै दानिएलले लेखेका भविष्यवाणीहरू परमेश्‍वरको वचनमा पाइने अरू भविष्यवाणीसित पनि मेल खानुपर्छ। वास्तवमा दानिएलको भविष्यवाणीलाई बाइबलका अरू विवरणसित दाँजेर हेऱ्‍यौँ भने मात्र त्यसबारे सही बुझाइ पाउन सक्छौँ।

३. यो र यसपछिको लेखमा हामी के छलफल गर्नेछौँ?

यी कुराहरूलाई मनमा राख्दै यस लेखमा हामी दानिएल ११:२५-३९ को विवरण केलाउनेछौँ। हामी यी प्रश्‍नहरूको जवाफ पाउनेछौँ: इस्वी संवत्‌ १८७० देखि १९९१ सम्म उत्तरका राजा र दक्षिणका राजा को थिए? अनि यस भविष्यवाणीको केही अंशको बुझाइमा छाँटकाँट गर्नु किन मनासिब देखिन्छ? यसपछिको लेखमा हामी दानिएल ११:४०–१२:१ छलफल गर्नेछौँ। साथै इस्वी संवत्‌ १९९१ देखि आरमागेडोनको युद्धसम्मको समयावधिबारे हाम्रो बुझाइमा छाँटकाँट गर्नुपर्ने यस भविष्यवाणीको अंशबारे स्पष्ट पार्नेछौँ। यी दुइटा लेख अध्ययन गर्दा “अन्तको समयमा प्रतिद्वन्द्वी राजाहरू” भन्‍ने चार्ट पनि सँगसँगै हेर्नुभयो भने बुझ्न अझ सजिलो हुनेछ। तर पहिला, हामीले यस भविष्यवाणीका दुई राजा को-को हुन्‌ भनेर बुझ्नुपर्छ।

उत्तरका राजा र दक्षिणका राजाको चिनारी

४. उत्तरका राजा र दक्षिणका राजाको चिनारी थाह पाउन हामीले कुन तीन वटा कुरा बुझ्नुपर्छ?

“उत्तरका राजा” र “दक्षिणका राजा” भन्‍ने पदवीले सुरुमा इस्राएल राष्ट्रबाट उत्तर र दक्षिण दिशामा पर्ने राजनैतिक शक्‍तिहरूलाई बुझाउँथ्यो। हामी किन त्यसो भन्‍न सक्छौँ? दानिएलकहाँ सन्देश ल्याउने स्वर्गदूतले के भनेका थिए, याद गर्नुहोस्‌: “म तिम्रा मानिसहरूलाई अन्तको दिनमा के हुनेछ भनेर बताउन आएको हुँ।” (दानि. १०:१४) इस्वी संवत्‌ ३३ पेन्तिकोससम्म वास्तविक इस्राएल राष्ट्र नै परमेश्‍वरका जनहरू थिए। तर त्यसपछि यहोवाले येसुका वफादार चेलाहरूलाई आफ्ना जनको रूपमा स्विकार्नुभएको प्रस्ट पार्नुभयो। त्यसैले दानिएल अध्याय ११ मा पाइने भविष्यवाणीको प्रायजसो अंश वास्तविक इस्राएल राष्ट्रसित नभई ख्रिष्टका चेलाहरूसित सम्बन्धित छ। (प्रेषि. २:१-४; रोमी ९:६-८; गला. ६:१५, १६) अनि उत्तरका राजा र दक्षिणका राजाको चिनारी समयको दौडान परिवर्तन भएको छ। तैपनि ती सबै शासकमा केही समानता पाइन्छ। पहिलो, ती राजाहरूले परमेश्‍वरका थुप्रै सेवक बसोबास गर्ने देशमा शासन गरे वा तिनीहरूको खेदो गरे। दोस्रो, तिनीहरूले परमेश्‍वरका जनहरूसित गरेको व्यवहारबाट तिनीहरूले साँचो परमेश्‍वर यहोवालाई घृणा गरेको प्रस्ट पारे। तेस्रो, आफू शक्‍तिशाली बन्‍न ती दुई राजाहरू एकअर्काविरुद्ध लडिरहे।

५. के हामी इस्वी संवत्‌ दोस्रो शताब्दीदेखि १८७० सम्म उत्तरका राजा र दक्षिणका राजा को थिए भनेर भन्‍न सक्छौँ? व्याख्या गर्नुहोस्‌।

इस्वी संवत्‌ दोस्रो शताब्दीतिर साँचो ख्रिष्टियन मण्डलीमा थुप्रै झूटा ख्रिष्टियन घुस्न थाले, जसले गैर-ख्रिष्टियन शिक्षाहरू स्विकार्नुका साथै परमेश्‍वरको वचनमा पाइने सत्य लुकाइरहेका थिए। त्यस समयदेखि १९औँ शताब्दीको अन्ततिरसम्म पृथ्वीमा परमेश्‍वरका सेवकहरूको कुनै व्यवस्थित समूह थिएन। झूटा ख्रिष्टियनहरू सामाजस्तै फस्टाए अनि साँचो ख्रिष्टियनहरूको चिनारी नै ओझेलमा पऱ्‍यो। (मत्ति १३:३६-४३) यो कुरा बुझ्नु किन महत्त्वपूर्ण छ? किनभने यसले उत्तरका राजा र दक्षिणका राजाबारे हामीले पढेका विवरणहरूले इस्वी संवत्‌ १०० देखि १८७० सम्म केही समयको लागि शक्‍तिशाली भएका राजा वा राज्यहरूलाई सङ्‌केत गरेको हुन सक्दैन भनेर देखाउँछ। अनि तिनीहरूले आक्रमण गर्नको लागि पृथ्वीमा परमेश्‍वरका जनहरूको कुनै व्यवस्थित समूह थिएन। * तर इस्वी संवत्‌ १८७० को केही समयपछि हामी उत्तरका राजा र दक्षिणका राजा फेरि देखा पर्ने आशा गर्न सक्छौँ? किन?

६. परमेश्‍वरका जनहरूको चिनारी फेरि कहिले प्रस्ट भयो? व्याख्या गर्नुहोस्‌।

इस्वी संवत्‌ १८७० देखि परमेश्‍वरका जनहरू एउटा समूहको रूपमा व्यवस्थित हुन थाले। त्यही साल चार्ल्स टेज रसल र तिनका सहयोगीहरूले एउटा बाइबल अध्ययन समूह गठन गरे। भाइ रसल र तिनका सहयोगीहरूले मसीही राज्य स्थापना हुनुअघि “बाटो तयार पार्ने” दूतको भूमिका निर्वाह गरे, जसबारे पहिल्यै भविष्यवाणी गरिएको थियो। (मला. ३:१) अब भने परमेश्‍वरका जनहरूको चिनारी फेरि प्रस्ट भयो! के त्यतिबेला परमेश्‍वरका जनहरूलाई खेदो गर्ने कुनै विश्‍वशक्‍ति अस्तित्वमा थियो? आउनुहोस्‌, निम्न तथ्यहरू विचार गरौँ।

दक्षिणका राजा को हुन्‌?

७. प्रथम विश्‍वयुद्धको दौडान निकै समयसम्म दक्षिणका राजा को थिए?

इस्वी संवत्‌ १८७० सम्ममा बेलायत संसारको सबैभन्दा विशाल साम्राज्य भइसकेको थियो र यससित सबैभन्दा शक्‍तिशाली सैन्य दल थियो। यस साम्राज्यलाई सानो सिङको रूपमा चित्रण गरिएको थियो, जसले अरू तीन वटा सिङ अर्थात्‌ फ्रान्स, स्पेन र नेदरल्याण्ड्‌सलाई परास्त गऱ्‍यो। (दानि. ७:७, ८) अनि यसले प्रथम विश्‍वयुद्धको दौडान निकै समयसम्म दक्षिणका राजाको भूमिका निर्वाह गऱ्‍यो। यही समयतिर संयुक्‍त राज्य अमेरिका संसारमा सबैभन्दा बलियो अर्थतन्त्र भएको देशको रूपमा देखा पऱ्‍यो र यसले बेलायतसित घनिष्ठ सम्बन्ध गाँस्न थाल्यो।

८. अन्तको समयको दौडान दक्षिणका राजाको भूमिका कसले निर्वाह गर्दै आएको छ?

प्रथम विश्‍वयुद्धको बेला अमेरिका र बेलायत मिलेर शक्‍तिशाली सैन्य गठबन्धन बनाए। त्यतिबेला बेलायत र यसले पहिला आफ्नो उपनिवेश बनाएको अमेरिका एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिको रूपमा देखा पऱ्‍यो। दानिएलले भविष्यवाणी गरेझैँ यी राजाले “अत्यन्तै विशाल सेना” जम्मा गरिसकेका थिए। (दानि. ११:२५) अन्तको समयको दौडान एङ्‌ग्लो-अमेरिकी गठबन्धनले नै दक्षिणका राजाको भूमिका निर्वाह गर्दै आएको छ। * त्यसोभए उत्तरका राजाको भूमिकाचाहिँ कसले निर्वाह गऱ्‍यो?

उत्तरका राजा फेरि देखा पर्छन्‌

९. उत्तरका राजा फेरि कहिले देखा परे? दानिएल ११:२५ कसरी पूरा भयो?

भाइ रसल र तिनका सहयोगीहरूले बाइबल अध्ययन समूह गठन गरेपछिको वर्ष अर्थात्‌ इस्वी संवत्‌ १८७१ मा उत्तरका राजा फेरि देखा परे। त्यही वर्ष ओटो भोन बिस्मार्कले जर्मन साम्राज्य स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेले। प्रसियाका राजा भिल्हेम प्रथम जर्मन साम्राज्यको पहिलो सम्राट्‌ बने र तिनले बिस्मार्कलाई पहिलो चान्सलर नियुक्‍त गरे। * त्यसपछिका केही दशकहरूमा जर्मनीले अफ्रिका र प्रशान्त महासागरका थुप्रै देशलाई आफ्नो उपनिवेश बनायो र बेलायतभन्दा शक्‍तिशाली बन्‍न खोज्यो। (दानिएल ११:२५ पढ्‌नुहोस्‌) जर्मन साम्राज्यले शक्‍तिशाली सैन्यदल बनायो र यससित विश्‍वको दोस्रो ठूलो जलसेना थियो। जर्मनीले प्रथम विश्‍वयुद्धमा यही सैन्यदलको आडमा आफ्ना शत्रुहरूविरुद्ध लड्यो।

१०. दानिएल ११:२५ख, २६ कसरी पूरा भयो?

१० त्यसपछि दानिएल जर्मन साम्राज्य र त्यसले बनाएको सैन्यदललाई के हुनेछ भनी बताउँछन्‌। दानिएलले उत्तरका राजा “टिक्नेछैनन्‌” भनी भविष्यवाणी गरे। किन? “किनभने तिनीहरूले तिनको विरुद्धमा षड्‌यन्त्र रच्नेछन्‌। तिनकै स्वादिष्ठ भोजन खानेहरूले तिनको पतन गराउनेछन्‌।” (दानि. ११:२५ख, २६क) दानिएलको समयमा ‘राजाको स्वादिष्ठ भोजन’ खानेहरूमा “राजाको सेवामा हाजिर” शाही अफिसरहरू पनि पर्थे। (दानि. १:५) यस भविष्यवाणीले कसलाई सङ्‌केत गर्छ? यसले जर्मन साम्राज्यका उच्च अफिसरहरू अर्थात्‌ सम्राट्‌का जर्नेलहरू र सैनिक सल्लाहकारहरूलाई सङ्‌केत गर्छ। वास्तवमा यी उच्च अफिसरहरूले गर्दा नै जर्मनीको राजतन्त्रको पतन हुन थाल्यो। * दानिएलको भविष्यवाणीमा त्यस साम्राज्यको पतनबारे मात्र नभई दक्षिणका राजासितको युद्धको परिणामबारे पनि बताइएको थियो। उत्तरका राजाबारे त्यस भविष्यवाणीमा यसो भनिएको छ: “तिनको सेनाचाहिँ परास्त हुनेछ र धेरै जना लडाइँमा मारिनेछन्‌।” (दानि. ११:२६ख) भविष्यवाणी गरिएझैँ प्रथम विश्‍वयुद्धमा जर्मन सेना “परास्त” भयो र साँच्चै ‘धेरै जना लडाइँमा मारिए।’ त्यतिबेलासम्मको मानव इतिहासमा प्रथम विश्‍वयुद्ध सबैभन्दा बीभत्स युद्ध साबित भयो।

११. उत्तरका राजा र दक्षिणका राजाले के गरे?

११ प्रथम विश्‍वयुद्ध सुरु हुनुअघिको समयमा उत्तरका राजा र दक्षिणका राजा “एउटै टेबुलमा बसेर एकअर्कासित झूट बोल्नेछन्‌” भनेर दानिएल ११:२७, २८ मा बताइएको छ। अनि उत्तरका राजाले “प्रशस्त मालसामान” जम्मा गर्नेछ पनि भनिएको छ। साँच्चै यस्तै भयो। जर्मनी र बेलायत दुवैले शान्ति चाहेको कुरा एकअर्कालाई बताए तर तिनीहरूको बोली झूट साबित भयो किनभने इस्वी संवत्‌ १९१४ मा तिनीहरूले एकअर्काविरुद्ध युद्ध गरे। इस्वी संवत्‌ १९१४ सम्ममा जर्मनी एकदमै धनी भएर आर्थिक हिसाबले विश्‍वको दोस्रो शक्‍तिशाली देश भइसकेको थियो। त्यसपछि दानिएल ११:२९ र पद ३० को पहिलो भागको पूर्तिअनुरूप जर्मनीले दक्षिणका राजाविरुद्ध युद्ध गऱ्‍यो तर यो पराजित भयो।

राजाहरू परमेश्‍वरका जनहरूविरुद्ध युद्ध गर्छन्‌

१२. प्रथम विश्‍वयुद्धमा उत्तरका राजा र दक्षिणका राजाले के गरे?

१२ इस्वी संवत्‌ १९१४ देखि यी दुई राजाले एकअर्काविरुद्ध र परमेश्‍वरका जनहरूविरुद्धको आक्रमणलाई झन्‌झन्‌ चर्काउँदै लगेका छन्‌। उदाहरणको लागि, प्रथम विश्‍वयुद्धमा जर्मन सरकार र बेलायती सरकार दुवैले परमेश्‍वरका सेवकहरूको खेदो गरे किनभने तिनीहरूले हातहतियार उठाउन इन्कार गरे। अनि प्रकाश ११:७-१० मा गरिएको भविष्यवाणीको पूर्तिस्वरूप अमेरिकी सरकारले प्रचारकार्यमा नेतृत्व लिइरहेकाहरूलाई झ्यालखानामा हालिदियो।

१३. इस्वी संवत्‌ १९३० पछि र दोस्रो विश्‍वयुद्धको बेला उत्तरका राजाले के गरे?

१३ इस्वी संवत्‌ १९३० पछि र खासगरि दोस्रो विश्‍वयुद्धको बेला उत्तरका राजाले परमेश्‍वरका जनहरूमाथि निर्ममतापूर्वक आक्रमण गरे। नाजीहरूले जर्मनीमा कब्जा जमाउँदा हिटलर र तिनका समर्थकहरूले परमेश्‍वरका जनहरूको काममाथि प्रतिबन्ध लगाए। ती विरोधीहरूले यहोवाका सयौँ सेवकहरूलाई मारे अनि हजारौँलाई यातना शिविरहरूमा पठाए। ती घटनाहरूबारे दानिएलले भविष्यवाणी गरेका थिए। जनसमक्ष यहोवाको नामको प्रशंसा गर्ने परमेश्‍वरका जनहरूको स्वतन्त्रतामा प्रतिबन्ध लगाएर उत्तरका राजाले ‘पवित्र स्थानलाई अपवित्र पारे’ अनि ‘नियमित रूपमा चढाइने बलिलाई हटाए।’ (दानि. ११:३०ख, ३१क) तिनीहरूका नेता हिटलरले परमेश्‍वरका जनहरूलाई जर्मनीबाट नामेट पार्ने कसमसमेत खाएका थिए।

उत्तरका नयाँ राजा देखा पर्छन्‌

१४. दोस्रो विश्‍वयुद्धपछि उत्तरका राजाको रूपमा को देखा पऱ्‍यो? व्याख्या गर्नुहोस्‌।

१४ दोस्रो विश्‍वयुद्धपछि सोभियत सङ्‌घको कम्युनिस्ट सरकारले पहिला जर्मनीले शासन गरेको थुप्रै इलाकामाथि आफ्नो कब्जा जमायो र उत्तरका राजाको रूपमा देखा पऱ्‍यो। तानाशाही नाजी शासनले जस्तै सोभियत सङ्‌घले पनि राष्ट्रप्रतिको आज्ञाकारिताभन्दा साँचो परमेश्‍वरको उपासनालाई पहिलो स्थान दिने जोकोहीलाई क्रूरतापूर्वक खेदो गऱ्‍यो।

१५. दोस्रो विश्‍वयुद्ध अन्त भएपछि उत्तरका राजाले के गरे?

१५ दोस्रो विश्‍वयुद्ध अन्त भएलगत्तै उत्तरका नयाँ राजा सोभियत सङ्‌घ र यसका समर्थकहरूले परमेश्‍वरका जनहरूमाथि आक्रमण गर्न थाले। प्रकाश १२:१५-१७ को भविष्यवाणीअनुरूप यस राजाले प्रचारकार्यमाथि प्रतिबन्ध लगाए र यहोवाका हजारौँ सेवकलाई निर्वासनमा पठाए। वास्तवमा अन्तको दिनको दौडान उत्तरका राजाले खेदोको “नदी” बगाएर परमेश्‍वरका जनहरूको काम रोक्ने प्रयास गरिरहेको छ तर सफल हुन सकेको छैन। *

१६. सोभियत सङ्‌घले दानिएल ११:३७-३९ को भविष्यवाणी कसरी पूरा गऱ्‍यो?

१६ दानिएल ११:३७-३९ पढ्‌नुहोस्‌। यस भविष्यवाणीको पूर्तिअनुरूप उत्तरका राजाले ‘आफ्ना पुर्खाहरूको ईश्‍वरको कुनै वास्ता गरेनन्‌।’ कसरी? सोभियत सङ्‌घले धर्मको नामोनिसान मेटाउने उद्देश्‍य राखेर पहिलेदेखि चल्दै आएका धार्मिक सङ्‌गठनहरूको अधिकार खोस्ने प्रयास गऱ्‍यो। त्यो उद्देश्‍य हासिल गर्न सोभियत सरकारले इस्वी संवत्‌ १९१८ मा नै एउटा आदेश जारी गरिसकेको थियो, जसले गर्दा स्कुलहरूमा नास्तिकवाद सिकाउने बाटो खुल्यो। यी उत्तरका राजाले कसरी “किल्लाका देवताको महिमा” गरे? सोभियत सङ्‌घले आधिपत्य जमाउने उद्देश्‍यले आफ्नो सेना विस्तार गर्न निकै पैसा खर्च गऱ्‍यो अनि हजारौँ आणविक हातहतियार उत्पादन गऱ्‍यो। उत्तरका राजा र दक्षिणका राजा दुवैले अरबौँ मानिसलाई मार्न पुग्ने शक्‍तिशाली हातहतियार जम्मा गरे!

दुई शत्रु राजा एकसाथ काम गर्छन्‌

१७. “उजाड पार्ने घृणित कुरा” के हो?

१७ उत्तरका राजाले एउटा मूलभूत प्रयासमा दक्षिणका राजालाई समर्थन गरेका छन्‌। तिनीहरू दुवै मिलेर “उजाड पार्ने घृणित कुरालाई खडा” गरेका छन्‌। (दानि. ११:३१) त्यो “घृणित कुरा” संयुक्‍त राष्ट्र सङ्‌घ हो।

१८. संयुक्‍त राष्ट्र सङ्‌घलाई किन “घृणित कुरा” भनिएको छ?

१८ संयुक्‍त राष्ट्र सङ्‌घलाई “घृणित कुरा” भनिएको छ किनभने यसले परमेश्‍वरको राज्यले मात्र गर्न सक्ने काम आफूले गर्न सक्छु भनेर फूर्ति लगाउँछ। त्यो हो, विश्‍वशान्ति ल्याउने। अनि उक्‍त भविष्यवाणीमा घृणित कुराले “उजाड” पार्छ भनिएको छ किनभने संयुक्‍त राष्ट्र सङ्‌घले सबै झूटो धर्मलाई विनाश गर्न प्रमुख भूमिका खेल्नेछ।—“अन्तको समयमा प्रतिद्वन्द्वी राजाहरू” भन्‍ने चार्ट हेर्नुहोस्‌।

हामीले यो इतिहास किन थाह पाउनुपर्छ?

१९-२०. (क) हामीले यो इतिहास किन थाह पाउनुपर्छ? (ख) अर्को लेखमा हामी कुन प्रश्‍नको जवाफ पाउनेछौँ?

१९ हामीले यो इतिहास थाह पाउनुपर्छ किनभने यसले उत्तरका राजा र दक्षिणका राजाबारे दानिएलले गरेको भविष्यवाणी इस्वी संवत्‌ १८७० देखि १९९१ सम्म पूरा भयो भनेर प्रमाणित गर्छ। त्यसैले यस भविष्यवाणीको बाँकी अंश पनि पूरा हुनेछ भनेर हामी विश्‍वास गर्न सक्छौँ।

२० इस्वी संवत्‌ १९९१ मा सोभियत सङ्‌घको विघटन भयो। त्यसोभए अहिले उत्तरका राजा को हुन्‌? यस प्रश्‍नको जवाफ अर्को लेखले दिनेछ।

गीत १२८ अन्तसम्म सहौँ!

^ अनु. 5 “उत्तरका राजा” र “दक्षिणका राजा”-बारे दानिएलले गरेको भविष्यवाणी अहिले पनि पूरा भइरहेको प्रमाणहरू हामी प्रशस्तै देख्छौँ। हामी किन यसमा पक्का हुन सक्छौँ? अनि हामीले यो भविष्यवाणी राम्ररी बुझ्नु किन महत्त्वपूर्ण छ?

^ अनु. 5 यहाँ दिइएको कारणले गर्दा “उत्तरका राजा” रोमी सम्राट अरेलियन (इ.सं. २७०-२७५) र “दक्षिणका राजा” रानी जेनोबिया (इ.सं. २६७-२७२) थिए भन्‍नु उपयुक्‍त देखिँदैन। यसकारण दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌! किताबको अध्याय १३ र १४ मा प्रकाशित जानकारीको बुझाइमा छाँटकाँट भएको छ।

^ अनु. 9 इस्वी संवत्‌ १८९० मा सम्राट्‌ भिल्हेम द्वितीयले बिस्मार्कलाई पदच्युत गरे।

^ अनु. 10 तिनीहरूका विभिन्‍न गतिविधिले गर्दा जर्मन साम्राज्यको पतन द्रुत गतिमा हुन थाल्यो। उदाहरणको लागि, तिनीहरूले सम्राट्‌लाई समर्थन गर्न छोडे, लडाइँमा बेहोर्नुपरेको क्षतिबारे गोप्य जानकारी प्रकट गरे अनि सम्राट्‌लाई आफ्नो पद त्याग्न बाध्य बनाए।

^ अनु. 15 दानिएल ११:३४ मा उल्लेख गरिएअनुसार उत्तरका राजाले शासन गर्ने इलाकामा बसोबास गरिरहेका ख्रिष्टियनहरूले खेदोबाट केही राहत पाए। जस्तै, इस्वी संवत्‌ १९९१ मा सोभियत सङ्‌घको विघटन हुँदा केही राहत मिल्यो।